Monday, 2 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४९

                                     #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५५.सवाल

शरीरका ग्रन्थीहरु सन्तुलित अवस्थामा रहनुनै वास्तविक स्वास्थ्य हो

जवाफ

विषय प्रवेश

मानव सभ्यता विकासको सन्दर्भमा भौतिक विज्ञान तथा आधूनिक विज्ञानका आफ्नै प्रकारका अध्ययन र परिभाषाहरु रहेकाछन् र सनातन अध्यात्म विज्ञानका आफ्नै प्रकारका अध्ययन र परिभाषाहरु रहेका छन् । आधूनिक भौतिक विज्ञानले मानव सभ्यताको विकासक्रमलाई भौतिक विकासवादको दृष्टिकोणबाट अध्ययन गरेर यो विषयलाई भौतिक(फिजिकल) तत्वहरु तथा मनुष्यको स्थुल शरीरको विकाससंग जोडेर अध्ययनका नतिजाहरु उजागर गरेको छ भने सनातन अध्यात्म विज्ञानले मानव सभ्यताको विकासक्रमलाई मनुष्यको भौतिक विकासका साथसाथ पराभौतिक तथा सुक्ष्म शरीरका सुक्ष्म तत्वहरुको विकासको दृष्टिकोणबाट अध्ययन गरेर यो विषयलाई पराभौतिक(मेटाफिजिकल) तत्वहरु तथा मनुष्यको आत्मिक अर्थात चेतनात्मक विकासवादसंग जोडेर अध्ययनका नतिजाहरु उजागर गरेको छ । सनातन अध्यात्म चिकित्सा विज्ञान तथा आयुर्वेद चिकित्सा विज्ञानले मनुष्यको स्थुल शरीर र सुक्ष्म शरीर दुवैलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित, व्यवस्थित तथा विकसित बनाउनका लागि शरीरमा रहेका चक्रहरु, तत्वहरु, कोषहरु, ग्रन्थीहरु शुद्ध, स्वस्थ र व्यवस्थित हुनुपर्नेमा विशेष जोड दिएको छ । यिनै सनातन ज्ञान, विज्ञानहरुबाट निसृत हुदै विकास भएको आधूनिक चिकित्सा विज्ञानले पनि मनुष्यको स्वास्थ्य, शरीर र समग्र जीवन सन्तुलित, व्यवस्थित तथा विकसित गर्नकालागि शरीरमा रहेका सबैप्रकारका ग्रन्थिहरु शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित रहनु अत्यावश्यक हुनुपर्नेमा प्राथमिकता प्रदान गर्दै आइरहेको छ ।


ग्रन्थि विज्ञान र मनुष्यको स्वास्थ्यका आयामहरुको सन्तुलन  

ग्रन्थि मनुष्यको शारीरिक शरीरमा रहेको शरीरका वाहिरी तथा आन्तरिक अंगहरुको काम सक्रियताकासाथ सूचारु राख्न र शरीर तथा स्वास्थ्यलाई स्वस्थ तथा व्यवस्थित राख्नकालागि शरीरले निर्माण गरेका अत्यावश्यक रस तथा द्रव्यहरु– हर्मोन्स तथा एन्जाइम्सलाई संग्रह गरेर सुरक्षित राख्ने शरीरभित्र रहेको एकप्रकारको मांसपेशीको थैलो हो । मनुष्यको शरीरमा तीन पकारका ग्रन्थिहरु हुन्छन्– (१)अन्तः श्राबित ग्रन्थि (इन्डोक्राइन ग्ल्याण्ड), (२)वहिर श्राबित ग्रन्थि (एक्जोक्राइन ग्ल्याण्ड), र (३)मिश्रित ग्रन्थि (मिक्सड ग्ल्याण्ड) ।


(१)अन्तः श्राबित ग्रन्थि

मनुष्यको शरीरभित्र रहेका ग्रन्थिहरुमा उत्पन्न भएर कुनै नशा तथा नलिकाहरुको सहाराबिना सिधै रगतमा प्रवेश गर्ने ग्रन्थिरसहरु अन्तः श्राबित ग्रन्थि अतर्गत पर्दछन् । अन्तः श्राबित ग्रन्थिहरुबाट हर्मोन्स श्राबित हुन्छन् र सिधै रगतमा प्रवेश गरेर तथा मिसिएर शरीरभरि फैलिएर शरीरलाई हरप्रकारले शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न आ–आफ्ना प्रकारका कार्यहरु गर्दछन् । ग्रन्थि विज्ञानका अनुसार स्वास्थ्य र शरीरका सबै आयामहरुलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित र विकसित राख्नकालागि मनुष्यको शरीरमा रहेका क्रमशः तलदेखिमाथि जाने क्रममा निम्न सात प्रकारका अन्तः श्राबित ग्रन्थि तथा ग्ल्याण्डहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ- (१)प्रजनन् ग्रन्थि(गोनाड्स ग्ल्याण्ड) नितम्ब क्षेत्रमा, (२)अधिवृक्क ग्रन्थि(एडरनल ग्ल्याण्ड) नाभिमुनिको क्षेत्रमा, (३)अग्नासय ग्रन्थि(पेंक्रियाज ग्ल्याण्ड) नाभिमाथिको क्षेत्रमा, (४)वक्ष ग्रन्थि(थाइमस ग्ल्याण्ड) छाति क्षेत्रमा, (५)अवटु ग्रन्थि(थाइरोइड ग्ल्याण्ड) गला क्षेत्रमा, (६)चक्षु ग्रन्थि(पिनियल ग्ल्याण्ड) ललाट क्षेत्रमा, (७)पियूष ग्रन्थि(पिटियोटरी ग्ल्याण्ड) शिर क्षेत्रमा । यी ग्रन्थिहरुबाट निस्कने ग्रन्थिरस अर्थात हार्मोन्स र एन्जाइम्सले मनुष्यको स्वास्थ्य लगायत शरीर र जीवनका सबै आयामहरुका प्रणाली, तन्त्र, क्रिया, प्रक्रिया तथा गतिविधिहरुलाई सहि ढंगले सुचारू हुन, व्यवस्थित तथा विकसित हुन मद्धत गर्दछन् । ग्रन्थि विज्ञानका अनुसार यी ग्रन्थिहरुको सन्तुलन, व्यवस्थापन तथा सक्रियता राम्रो छ भने मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित, विकसित हुन्छन् र हरप्रकारले उसको जीवन सहज, सरल, सुखी, खुशी, शान्त, आनन्दित, सफल बन्दछ ।


(२)वहिर श्राबित ग्रन्थि

मनुष्यको शरीरभित्र रहेका ग्रन्थिहरुमा उत्पन्न भएर विशेष प्रकारका नशा तथा नलिकाहरुको माध्यमबाट रगतसंग कत्तिपनि सम्पर्क नभइकन शरीरभरि फैलिएर काम गर्ने ग्रन्थिरसहरु वहिर श्राबित ग्रन्थि अतर्गत पर्दछन् । वहिरः श्राबित ग्रन्थिहरुबाट एन्जाइम्स श्राबित हुन्छन् र विशेष प्रकारका नशा तथा नलिकाहरुबाट संचारित भई शरीरभरि फैलिएर शरीरलाई हरप्रकारले शुद्ध, स्वस्थ, सन्तुलित तथा व्यवस्थित राख्न आ–आफ्ना प्रकारका कार्यहरु गर्दछन् । ग्रन्थि विज्ञानका अनुसार शरीर र स्वास्थ्यका सबै आयामहरुलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित र विकसित राख्नकालागि मनुष्यको शरीरमा निम्न प्रकारका प्रमुख वहिर श्राबित ग्रन्थि तथा ग्ल्याण्डहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ-

(१)सेरुमम ग्रन्थि तथा ग्ल्याण्ड (कान क्षेत्रमा)– यो ग्रन्थिले कानको क्षेत्रमा सन्तुलन तथा व्यवस्थापन गर्दछ र शरीरका लागि अनावश्यक तत्वहरु कानेगुजीबाट शरीरको फोहरको रुपमा वाहिर निस्कासित गर्दछ ।

(२)लेक्राइमल ग्रन्थि तथा ग्ल्याण्ड (आँखाको क्षेत्रमा)– यो ग्रन्थिले आँखाको क्षेत्रमा सन्तुलन तथा व्यवस्थापन गर्दछ र शरीरका लागि अनावश्यक तत्वहरु कचेरा र आँशुबाट शरीरको फोहरको रुपमा वाहिर निस्कासित गर्दछ ।

(३)मेइबोमेन ग्रन्थि तथा ग्ल्याण्ड (आँखा–नाक–कान–गलाको क्षेत्रमा)– यो ग्रन्थिले आँखा–नाक–कान–गला क्षेत्रको सन्तुलन तथा व्यवस्थापन गर्दछ र शरीरका लागि अनावश्यक तत्वहरु तत् तत् प्रकारका अंगहरुबाट शरीरको फोहरको रुपमा वाहिर निस्कासित गर्दछ ।

(४)सेलेबरी ग्रन्थि तथा ग्ल्याण्ड(मुख क्षेत्रमा)– यो ग्रन्थिले मुखमा र्याल उत्पादन गरेर खाना चपाउन, निल्न र पचाउन सहज बनाउछ ।

(५)ग्यास्ट्रिक ग्रन्थि तथा ग्ल्याण्ड– यो ग्रन्थिले जठर अर्थात पेट क्षेत्रको सन्तुलन तथा व्यवस्थापन गर्दछ र उक्त क्षेत्रमा हुने गतिविधिहरु पाचन तन्त्र तथा पाचन क्रियाको काम सहि ढंगले गर्दछ ।

(६)म्युकस ग्रन्थि तथा ग्ल्याण्ड– यो ग्रन्थिले शरीरभरि चिपचिपे पदार्थ तथा लुब्रिकेन्ट उत्पादन गरेर शरीरलाई सहि ढंगले चल्न तथा लचक रहन मद्धत गर्दछ ।

(७)सेबेक्स ग्रन्थि तथा ग्ल्याण्ड– यो ग्रन्थिले छालामा तेल उत्पादन गरेर छालालाई व्यवस्थित गर्दछ तथा सन्तुलनमा राख्दछ र मुलायम तथा आकर्षक बनाइराख्दछ । साथै शरीरका लागि अनावश्यक तत्वहरु डण्डिफोर, घाउ, खटिराहरु आदिको माध्यमबाट शरीरको फोहरको रुपमा वाहिर निस्कासित गर्दछ ।

(८)स्वेट ग्रन्थि तथा ग्ल्याण्ड– यो ग्रन्थिले त्वचामा पसिना निकालेर शरीरको त्वचालाई पानीको पर्याप्तता पुर्याउने, ठण्डा राखिराख्ने र पसिनाको माध्यमबाट शरीरका फोहरहरु वाहिर निस्कासन गर्ने काम गर्दछ ।


(३)मिश्रित ग्रन्थि

वहिर श्राबित ग्रन्थिहरुबाट उत्पादन हुने एन्जाइम्स र अन्तः श्राबित ग्रन्थीहरुबाट उत्पादन हुने हर्माेन्स दुवै प्रकारका ग्रन्थिरसहरु उत्पादन गर्ने ग्रन्थि मिश्रीत ग्रन्थि अन्तर्गत पर्दछ । अग्नासम तथा पेनक्रियाज मिश्रित ग्रन्थि हो जसले पेट क्षेत्रमा पाचन प्रणाली तथा पाचन क्रिया गर्ने क्रममा  एन्जाइम्स तथा हर्मोन्स दुवै उत्पादन गर्दछ र मनुष्यका स्वास्थ्य र शरीरलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यी तीनवटै प्रकारका ग्रन्थिहरुबाट उत्पादन हुने ग्रन्थिरस अर्थात एन्जाइम्स तथा हमोन्सले शरीरमा चिकित्सक र औषधिको रुपमा काम गर्दछन् । एन्जाइम्सले हरप्रकारले शरीर र शरीरको स्वास्थ्यलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित, व्यवस्थित र विकसित गर्दछन् । शरीर शुद्ध र स्वस्थ गर्ने क्रममा एन्जाइम्सले शरीरमा रहेका आवश्यक तत्वहरुको प्रक्रिया तथा प्रशोधन गरेर तिनको व्यवस्थापन गर्दछन् र शरीरकालागि आवश्यक नभएका तत्वहरु फोहर अर्थात मल, मुत्र, पसिना, कानेगुजी, कचेरा, सिंगान आदिको रुपमा शरीरबाट वाहिर निस्कासित गरेर शरीरलाई शुद्ध र स्वस्थ बनाउने काम गर्दछन् । हर्मोन्सले हरप्रकारले शरीर र शरीरको स्वास्थ्यलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित, व्यवस्थित र विकसित गर्दछन् यसकालागि शरीरलाई पूर्णरूपमा सन्तुलित, व्यवस्थित तथा विकसित गर्न अत्यावश्यक पर्ने धेरै प्रकारका हर्माेन्सको उत्पादन गरेर शरीरभरि संचारीत गर्दछन्... । आगामी विषयहरुमा मनुष्यको शरीरभित्र रहेका ग्रन्थिहरुबाट उत्पन्न हुने ग्रन्थिरसहरु अर्थात हर्मोन्स र एन्जाइम्सको बारेमा चर्चा गरिनेछ ।


छिट्टै,

प्रजनन् ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका आयामहरुमा यसको भूमिका


                                                                         शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ



 

 




No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...