Friday, 20 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ६४

                                      #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

६९.सवाल
चेतनाको विकास गर्दै चैतन्य चेतनामा उपलव्ध हुन उर्जाको विज्ञानले मद्धत गर्दछ ।

जवाफ

जिवीत मनुष्यले दैनिक रुपमा गर्ने सबै गतिविधिहरुमा निरन्तर रुपमा उसको उर्जा खपत भैरहेको हुन्छ । मनुष्यसंग उर्जाको प्रकार एउटै हुन्छ जसलाई कुण्डलिनी उर्जा(भाइटल फोर्स), प्राण उर्जा, तथा जीवन उर्जा(लाइफ इनर्जी) भनिन्छ र यही जीवन उर्जानै शरीरको बलको रुपमा शारीरिक क्रियाकलापहरुमा, मनको बलको रुपमा मानसिक क्रियाकलापहरुमा, त्यस्तै भावको बलको रुपमा भावनात्मक, वुद्धिको बलको रुपमा वौद्धिक तथा चेतनाको बलको रुपमा चेतनात्मक क्रियाकलापहरुमा निरन्तर खपत भैरहेको हुन्छ । मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यवस्थित गर्न यसरी निरन्तर खपत भैरहेको उर्जाको तह निरन्तर बढाइरहनु अत्यावश्यक हुन्छ उर्जाको आपूर्ति गरेर । मनुष्यको जीवन उर्जा खपत हुने विभिन्न क्षेत्रका क्रियाकलापहरु भएजस्तै उसलाई उर्जा प्राप्त हुने श्रोतहरु पनि विभिन्न प्रकारका रहेकाछन्– (१)आहार तथा पोषणयुक्त खानपान, (२)विहार, व्यायाम तथा योगासन, (३)विचार तथा सकारात्मक सोच, (४)मनोदशा तथा स्थिर मन, (५)भावदशा तथा शान्त भावना, (६)आराम तथा स्वास्थ्य र शरीरका समग्र आयामहरुमा सहजता, (७)निद्रा तथा प्राकृतिक उपचार, (८)योग निद्रा तथा प्राकृतिक र नियोजित उपचार, (९)धारणा तथा पूर्णतः जाग्रित एकाग्रता, (१०)ध्यान तथा परम चैतन्यताको अनुभूतिको अवस्था आदिबाट तहगत किसिमले मनुष्यले उसको सहज, सरल, व्यवस्थित जीवनकालागि अत्यावश्यक उर्जा प्राप्त गरिरहेको हुन्छ । मनुष्यलाई सबैभन्दा बढि प्राण तथा जीवन उर्जाको उपलव्धता क्रमशः ध्यान, धारणा, योग निद्रा, निद्रा, आराम, भावदशा, मनोदशा, विचार, विहार, आहारबाट हुन्छ । मनुष्यको स्वास्थ्य तथा शरीरका ७ आयामहरु रहेकाछन्– (१)शारीरिक स्वास्थ्य तथा शरीर(मूलाधार चक्र), (२)मानसिक स्वास्थ्य तथा शरीर(स्वाधिष्ठान चक्र), (३)प्राणिक स्वास्थ्य तथा शरीर(मणिपुर चक्र), (४)भावनात्मक स्वास्थ्य तथा शरीर(अनाहद चक्र), (५)वौद्धिक स्वास्थ्य तथा शरीर(विशुद्धि चक्र), (६)आत्मिक स्वास्थ्य तथा शरीर(आज्ञा चक्र), र (७)पारमार्थिक स्वास्थ्य तथा शरीर(सहश्रार चक्र) । हरेक स्वास्थ्य तथा शरीरका आयामहरु मनुष्यको सुक्ष्म शरीरमा रहेका ७ चक्रहरुसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेका हुन्छन् र यी चक्रहरु मनुष्यले विभिन्न क्षेत्रहरुबाट प्राप्त गरेको उभित्र संचित रहेको प्राण जीवन उर्जालाई उसको स्वास्थ्य तथा शरीरका सबै आयामहरुमा वितरण गर्ने मूलकेन्द्रहरु(मेन इनर्जी सेन्टर्स) हुन् । मनुष्यका दैनिक जीवनका हरेक प्रकारका गतिविधिहरु यिनै चक्रहरुबाट निर्देशित र नियन्त्रित रहेका हुन्छन् । 
 

उर्जा विज्ञानका अनुसार मनुष्यको कुण्डलिनी, प्राण तथा जीवन उर्जाको प्राकृतिक गुण तथा नैसर्गिक स्वभाव उसको स्वास्थ्य तथा शरीरका आयामहरुमा तहगत रुपमा जहाँजहाँ जीवन उर्जाको अपर्याप्तता तथा आवश्यकता छ त्यहाँत्यहाँ उर्जाको आपूर्ति पुर्याएर त्यस क्षेत्रसंग सम्वन्धित समस्या तथा अस्वस्थताहरुको समाधान गरेर त्यस क्षेत्रबाट उध्र्वगमन हुनु हो । मनुष्यको स्वास्थ्य तथा शरीरका आयामहरुमा पहिलो तह उसको शारीरिक स्वास्थ्य तथा स्थुल शरीर हो । मनुष्यको कुण्डलिनी उर्जा तथा जीवन उर्जा शारीरिक तथा स्थुल शरीरसंग सम्वन्धित रहेका समस्या तथा अस्वस्थताहरुको समाधान गरेर त्यस क्षेत्रबाट उध्र्वगमन भएर मानसिक स्वास्थ्य तथा शरीरको तहमा प्रवेश गर्दछ र मानसिक शरीरसंग सम्वन्धित रहेका समस्या तथा अस्वस्थताहरुको समाधान गरेर त्यस क्षेत्रबाट उध्र्वगमन भएर मनुष्यको प्राणिक स्वास्थ्य तथा शरीरको तहमा प्रवेश गर्दछ । यसैगरि क्रमिक रुपमा प्राणिकपछि भावनात्मक, भावनात्मकपछि वौद्धिक तहमा प्रवेश गर्दछ र यी शरीरहरुसंग सम्वन्धित रहेका समस्या तथा अस्वस्थताहरुको समाधान गरेर त्यस क्षेत्रबाट उध्र्वगमन भएर मनुष्यको आत्मिक अर्थात चेतनात्मक शरीरको तहमा र यसपछि पारमार्थिक तथा आध्यात्मिक शरीरको तहमा प्रवेश गर्दछ । जव मनुष्यको कुण्डलिनी उर्जा तथा जीवन उर्जा उसको स्वास्थ्य तथा शरीरका विविध आयामहरु हुदै, तत् तत् क्षेत्रहरुमा जीवन उर्जाको अपर्याप्तताका कारण उत्पन्न भएका समस्या तथा अस्वस्थताहरु समाधान गर्दै तहगत रुपमा तलबाट माथितिर उध्र्वगमन हुदै आत्मिक अर्थात चेतनात्मक आयाम तथा आज्ञा चक्रमा पुग्दछ तव मनुष्यको आत्मा अर्थात चेतनाको विकास हुन प्रारम्भ हुन्छ । यस प्रक्रियामा माथि उल्लेखित विभिन्न माध्यमहरुबाट जतिजति मनुष्यको कुण्डलिनी उर्जा तथा जीवन उर्जाको आपूर्ति बढ्दै जान्छ र आत्मिक अर्थात चेतनात्मक शरीरमा पर्याप्त कुण्डलिनी उर्जा तथा जीवन उर्जाको निरन्तर प्रवाहले काम गर्दैजान्छ तव उसको आत्मा अर्थात चेतना विकसित हुदै एक निश्चित अवस्थापछि चैतन्य चेतनामा उपलव्ध हुन्छ । पर्याप्त कुण्डलिनी उर्जा तथा जीवन उर्जा आपूर्तिका कारण मनुष्यको आत्मा अर्थात चेतनाको विकास हुने क्रम एकैपटक नभएर तहगत तथा शिलशिलेबार रुपमा हुने गर्दछ । मनुष्यको आत्मा अर्थात चेतनाको विकास हुने क्रममा सर्वप्रथम उसलाई आफू नाशवान, अनित्य तथा मिथ्या शरीर, मन, भाव, वुद्धि, अहंकार नभएर अमर र सदा मुक्त, शुद्ध, वुद्ध आत्मा हुँ भन्ने आत्मवोध हुन्छ र उ आफ्नो आत्मासंग साक्षातकार हुन्छ तथा उसलाई आत्मसाक्षातकार घटित हुन्छ अर्थात उ आफूले आफैंलाई ऐनामाझैं देख्न थाल्छ र आफ्ना पूर्वजन्महरु पनि देख्न थाल्छ । यसपश्चात क्रमशः उसलाई ब्रम्हाण्ड र ब्रम्हाण्ड सिर्जित भएको मुल तत्वबारे अन्तरज्ञान अर्थात तत्वज्ञान हुन्छ र क्रमशः उसको अन्तरज्ञान तथा विवेकशील प्रज्ञामा परालौकिक, चमत्कारिक दिव्य जानकारीहरु आउदै जान्छन् ब्रम्हाण्डको सिर्जना आकाश तत्वबाट भएको हो र यही आकाश तत्वनै ब्रम्ह हो अर्थात ब्रम्हाण्डको अन्तिम श्रोत तथा परमसत्य हो र यहीनै अस्तित्व अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात परमचेतना(सुप्रिम कन्सस) अर्थात इश्वर–गड–अल्ला हो । 


यसप्रकार क्रमशः आहार, विहार, विचार, मनोदशा, भावदशा, आराम, निद्रा, योग निद्रा, धारणा, ध्यान अर्थात समग्रमा योग साधना(यी सबैनै योग साधनाका अन्तरविषहरु हुन्)का गतिविधिहरु सन्तुलित, व्यवस्थित तथा विकसित रहेका हुन्छन् उसको प्राण तथा जीवन उर्जाको आपूर्ति पर्याप्त मात्रामा हुन्छ र उसको स्वास्थ्य तथा शरीरका तहहरुका समस्या तथा अस्वस्थथताहरु छिट्टै समाधान तथा उपचार हुदै जान्छन् र उसको कुण्डलिनी तथा जीवन उर्जा उर्जाको विज्ञान र उर्जाको प्राकृतिक तथा नैसर्गिक गुण अनुसार उध्र्वगमन हुदै आत्मिक अर्थात चेतनात्मक शरीर तथा आज्ञा चक्रसम्म पुग्दछ र उसको आत्मा अर्थात चेतनाको विकास चैतन्यतातर्फ हुन प्रारम्भ हुन्छ र उ विस्तारै आत्मवोध, आत्मसाक्षातकार, तत्वज्ञान हुदै ब्रम्हज्ञान तथा मोक्ष(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ ।        

छिट्टै, 


                                                                 शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...