Monday, 15 December 2025

शिवोहम् योगपीठ: योग साधना - चौथो कक्षा

                                          #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



योग साधना - चौथो कक्षा

सवालकर्ता तथा सहभागीलाई धन्यवाद साथै शुभकामना !

२१. आजको विषय तथा सवाल:

सनातन अध्यात्म दर्शनमा मनुष्य जीवनको मूल्य कसरी बुझाइएको छ ?

 

जवाफ तथा प्रारम्भ:

योग साधनाको चौथो दिनको कक्षामा हार्दिक स्वागत छ कुञ्जना !

सर्वप्रथम १० मिनेट जीवन व्यवस्थापनका सन्दर्भमा केही सनातन ज्ञान, विज्ञानका विषयहरुबारे बुझौं त्यसपछि योग साधनाको चौथो दिनको प्रयोगात्मक अभ्यासमा प्रवेश गर्नेछौं । 

 

सनातन अध्यात्म दर्शनमा मनुष्य जीवनको मूल्य

ब्रम्हाण्डिय महाउर्जा तथा महाचेतना नै समुच्चा सृष्टिको मूल श्रोत हो र यही नै परमात्मा अर्थात परब्रम्ह अर्थात इश्वर अर्थात अस्तित्व हो । मनुष्यको जीवन प्राण उर्जाबाट चलेको हुन्छ, प्राण उर्जालाई जीवन उर्जा तथा कुण्डलिनी उर्जा पनि भनिन्छ जो ब्रम्हण्डिय सर्वशक्तिमान, सर्वव्यापक समष्टि महाउर्जाको व्यष्टि तथा सानो रुप हो । मनुष्यको जीवनको मूलआधार प्राण उर्जा तथा जीवन उर्जा दृश्य तथा अदृश्य रुपमा प्रमुख पाँच श्रोतबाट प्राप्त हुन्छ– (१)पंचतत्व तथा पंचमहाभूत, (२)ध्यान साधना तथा योग निद्रा, (३)आराम तथा गहिरो निद्रा, (४)व्यायाम तथा योग साधना, (५)मनोदशा तथा भावदशा (प्रेम, सम्वन्ध, विचार, भाव, वुद्धि, चेतना, नियत, व्यवहार, आचरण, कर्म, सेवा, दान, सुख, खुशी, शान्ति, आनन्द, व्यक्तित्व, नेतृत्व, मानप्रतिष्ठा... आदि)

 

१.पंचतत्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश)

सनातन अध्यात्म विज्ञानका अनुसार पंचतत्व तथा पंचमहाभूत नै समष्टि तथा ब्रम्हाण्ड हो । पंचतत्व नै समुच्चा प्रकृति, सृष्टि, ब्रम्हाण्ड, अस्तित्व तथा स्वयं परमात्मा हो र मनुष्य तथा प्राणी, वनस्पति, पदार्थ सबै यसैका अभिन्न अंश तथा अंग हुन् । ब्रम्हाण्डमा स्थित– कालो छिद्र, तारापुञ्ज, आकाशगंगा, ग्रह, उपग्रह, नक्षेत्र, तारा, पिण्ड, भूगोल, सागर, वन, पहाड, खनिज, प्राणी, पशुपंक्षी, किटपतंग, वनस्पति, पदार्थ आदि सबै प्रकृति हुन् तथा पंचतत्व हुन् । पंचतत्व निरन्तर आफ्नो चक्र तथा पारिस्थिकीय प्रणाली(इकोसिस्टम) तथा सिर्जन–संहार, लय–प्रलय, जन्म–मृत्युको नियम अनुसार चल्दछ । सनातन अध्यात्म दर्शका सैद्धान्तिक तथा व्यवहारिक साधनाबाट प्राप्त ज्ञान, विज्ञानका अनुभवहरुका आधारमा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले मनुष्य जीवनको मूल्यलाई प्रयोगात्मक तथा प्रमाणिक रुपमा बडो निकटबाट अनुभव गरेर आउने पुस्ताहरुको भविश्य सुनिश्चित गर्नकालागि यी ज्ञान, विज्ञानहरुलाई बडो कुशलातापूर्वक लिपिवद्ध गरेर अत्यन्तै मूल्यवान अनेकौं ग्रन्थहरु प्रतिपादन गर्नुभएको छ । सनातन अध्यात्म विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित यी महान ग्रन्थहरुका अनुसार मनुष्य दृश्य रुपमा स्थुल तथा भौतिक शरीरको प्रामाणिक स्वरुपमा रहेको छ तर उसको अदृश्य स्वरुप पनि उत्तिकै प्रामाणिक, सत्य र अझ बढि सशक्त रहेकोछ । मनुष्यको शरीरका प्रमुख दुई स्वरुप रहेका छन्– (१)स्थुल तथा भौतिक शरीर, र (२)सुक्ष्म तथा अभौतिक शरीर । मनुष्यको समग्र शरीरलाई पंचभौतिक शरीरका रुपमा संवोधन गर्ने गरिन्छ किनकी उसको स्थुल शरीर र सुक्ष्म शरीर दुवै पंचतत्वबाट निर्मित भएका हुन् र यी दुईवटै शरीरको शुद्धता, आरोग्यता, सक्रियता, सन्तुलन तथा व्यवस्थापन दृश्य तथा अदृश्य र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पंचतत्वको सक्रियताबाट नै प्रक्रियागत रुपमा निरन्तर भैरहेको हुन्छ । पंचतत्पको सक्रियताबाट प्राण उर्जाको आपूर्ति हुन्छ र यही प्राण उर्जाले नै मनुष्यको जीवन शुद्ध, आरोग्य, सक्रिय, सन्तुलित तथा व्यवस्थित रहेको हुन्छ । मनुष्यको शरीरमा पंचतत्व तथा पंचतत्वबाट प्राप्त हुने प्राण उर्जाको उपलव्धता तथा मात्रा संतुलनमा छ भने उसका दुवै स्थुल र सुक्ष्म शरीर शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुन्छन् तर पंचतत्व तथा पंचतत्वबाट प्राप्त हुने प्राण उर्जाको उपलव्धता तथा मात्रा संतुलनमा छैन भने मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक अवस्थाहरुमा अस्वस्थता, रोग, समस्या, चुनौति तथा कठिनाइहरु देखा पर्दछन् ।

पंचतत्वहरु मध्य पृथ्वी, जल, अग्नि, दृश्यमा तथा स्थुल स्वरुपमा छन् र वायु, आकाश अदृश्य तथा सुक्ष्म स्रुपमा छन् । मनुष्यको पंचभौतिक शरीरलाई पंचतत्वकै आधारमा पाँच कोष तथा पाँच शरीरमा विभाजन गरिएको छ– (१)अन्नमय कोष तथा शारीरिक शरीर, (२)प्राणमय कोष तथा प्राणीक शरीर, (३)मनोमय कोष तथा मानसिक र भावनात्मक शरीर, (४)विज्ञानमय कोष तथा वौद्धिक शरीर, र (५)आनन्दमय कोष तथा आत्मिक अर्थात चेतनात्मक शरीर । मनुष्यको पहिलो अन्नमय कोष तथा शारीरिक शरीर पृथ्वी तत्वबाट निर्मित भएको हुन्छ, पृथ्वी तथा माटोमा उब्जिएका, फलेका अन्न, फल, तरकारी खाएर मनुष्यलाई अत्यन्तै महत्वपूर्ण प्राण उर्जाको प्राप्ति तथा आपूर्ति हुन्छ । दोस्रो प्राणमय कोष तथा प्राणीक शरीर जल र अग्नि तत्वबाट निर्मित भएको हुन्छ, जल तथा पानीको सेवन तथा उपयोग गरेर, सूर्यबाट प्राप्त ताप, प्रकाश तथा किरणको सेवन तथा उपयोग गरेर मनुष्यलाई अत्यन्तै महत्वपूर्ण प्राण उर्जाको प्राप्ति तथा आपूर्ति हुन्छ । 

 

तेस्रो मनोमय कोष तथा मानसिक र भावनात्मक शरीर वायु र आकाश तत्वबाट निर्मित भएको हुन्छ, वायु अर्थात श्वासको माध्यमबाट र आकाशबाट मनुष्यलाई अत्यन्तै महत्वपूर्ण प्राण उर्जाको प्राप्ति तथा आपूर्ति हुन्छ । चौथो विज्ञानमय कोष तथा वौद्धिक शरीर आकाश तत्वबाट निर्मित भएको हुन्छ, आकाशबाट मनुष्यलाई अत्यन्तै महत्वपूर्ण प्राण उर्जाको प्राप्ति तथा आपूर्ति हुन्छ । पाँचौं आनन्दमय कोष तथा आत्मिक अर्थात चेतनात्मक शरीर पनि आकाश तत्वबाट निर्मित भएको हुन्छ, आकाशबाट मनुष्यलाई अत्यन्तै महत्वपूर्ण प्राण उर्जाको प्राप्ति तथा आपूर्ति हुन्छ । आकाश तत्वबाट मनुष्यलाई अदृश्य रुपमा सिधै जगत उर्जा तथा ब्रम्हाण्डिय उर्जा तथा प्राण उर्जा प्राप्त भैरहेको हुन्छ मनुष्यको सुक्ष्म शरीरमा रहेका असंख्य नाडी र चक्रहरुको माध्यमबाट । ध्यान साधनाबाट सबैभन्दा बढि र यसपछि योग निद्रा र गहिरो निद्राबाट प्रभावकारी ढंगले जगत उर्जा तथा ब्रम्हाण्डिय उर्जा तथा प्राण उर्जाको उपलव्धता हुन्छ । मनुष्यको शरीरका सबै आयामहरु तथा यी पाँच प्रकारका कोष तथा शरीरहरु आ–आफनै निर्माणका श्रोतहरु तथा तत् पंचतत्वहरुबाट प्राप्त प्राण उर्जा तथा जीवन उर्जाबाट स्वतः शुद्ध, आरोग्य, सक्रिय, सन्तुलिन तथा व्यवस्थित रहेका हुन्छन् । 

 

हामीले हाम्रो जीवनशैली सहि राखेर पंचतत्वहरुबाट प्राण उर्जा तथा जीवन उर्जा सन्तुलित तथा व्यवस्थित मात्रामा प्राप्त गर्न सक्नु पर्दछ । जीवन व्यवस्थित गर्ने विभिन्न उपाय, प्रक्रिया, विधि पद्धतिहरु निष्ठापूर्वक जीवनमा अनुशरण गरेर पंचतत्वहरुबाट प्राण उर्जा तथा जीवन उर्जा आवश्यक तथा पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ र यही नै हो मनुष्यको जीवनको वास्तविक साधना । मनुष्यको शरीरमा प्राण उर्जाको सन्तुलन मिलाउन योग तथा ध्यान साधनाले अत्यन्तै व्रभावकारी ढंगले मद्धत गर्दछ । मनुष्यको शरीरमा प्राण उर्जाको सन्तुलन मिलाउनकै लागि योग तथा ध्यान साधना गर्ने तथा गराउने गरिन्छ र मनुष्य जीवनको वास्तविक मूल्य पनि यही नै हो । सनातन अध्यात्म दर्शनका अनुसार वास्तविक मानव धर्म पनि यही नै हो, आफ्नो सेवासंगसंगै अरुको पनि सेवा गर्नु, समाज, राष्ट्र, मानवीयता, प्रकृतिको सेवा गर्नु, सबैको जीवन उस्तै हो, सबै म जस्तै हुन् भनेर बुझ्नु, आफूमा अरुलाई र अरुलाई आफूमा देख्नु तथा अनुभव गर्नु नै वास्तविक मानव मूल्यको बुझाइ हो ।

 

२.ध्यान साधना तथा योग निद्रा

सनातन योग विज्ञानको प्रमुख तथा अत्यन्तै महत्वपूर्ण विषय ध्यान साधना र योग निद्राका विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनाको शुद्धता, आरोग्यता, सक्रियता तथा सन्तुलनका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति बढाएर आफ्नो जीवन हरप्रकारले व्यवस्थित गर्न सकिन्छ ।

 

३.आराम तथा गहिरो निद्रा

आफ्नो अवस्था र आवश्यकता अनुसार पर्याप्त आराम र अटुट तथा सपनाबिहिन गहिरो निद्राबाट मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनाको शुद्धता, आरोग्यता, सक्रियता तथा सन्तुलनका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति बढाएर आफ्नो जीवन हरप्रकारले व्यवस्थित गर्न सकिन्छ ।

 

४.व्यायाम तथा योग साधना

भनिन्छ व्यायाम तथा योगासनबाट प्राप्त हुने बल तथा उर्जा स्थुल शरीर र शरीरका वाहिरी तथा आन्तरिक अंगहरुको मूल भोजन हो जसले शरीरलाई स्वस्थ तथा सक्रिय राख्न मद्धत गर्नुका साथै हरीरमा प्रतिरोधात्मक क्षमता पनि बढाउछ । आफ्नो प्रकृति तथा अवस्था अनुसार शरीरकालागि आवश्यक पर्ने पर्याप्त व्यायाम, योगासन तथा प्राणायामका प्रयोगात्मक अभ्यासहरु नियमित रुपमा गर्दा शरीरमा शुद्धता, आरोग्यता, सक्रियता तथा सन्तुलन कायम गर्न आवश्यक पर्ने प्राण उर्जा शरीर आफैंले उत्पादन र आपूर्ति गर्दछ । व्यायामबाट प्राप्त भएको प्राण उर्जाले शरीर, मन, भाव, वुद्धि, चेतनाको शुद्धता, आरोग्यता, सक्रियता तथा सन्तुलनका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति बढाएर आफ्नो जीवन हरप्रकारले व्यवस्थित गर्न सकिन्छ ।

 

५.मनोदशा तथा भावदशा 

प्रेम, सम्वन्ध, विचार, भाव, वुद्धि, चेतना, नियत, व्यवहार, आचरण, कर्म, सेवा, दान, सुख, खुशी, शान्ति, आनन्द, व्यक्तित्व, नेतृत्व, मानप्रतिष्ठा... आदि प्रत्यक्ष रुपमा मनुष्यको मनोदशा तथा भावदशासंग सम्वन्धित रहेका विषयहरु हुन् । मनुष्यको जीवन हरप्रकारले सन्तुलित तथा व्यवस्थित रहनकालागि उसको शारीरिक लगायत मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक शुद्धता, आरोग्यता, सक्रियताको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । मनोदशा तथा भावदशामा सन्तुलनता छैन भने शरीर जतिसुकै वलवान तथा स्वस्थ भएपनि मनुष्यको जीवन व्यवस्थित तगर्नकालागि आवश्यक पर्ने प्राण उर्जाको कमी रहीरहन्छ र व्यक्ति जीवनमा सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित हुन सक्दैन । मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक अवस्थामा सहजता तथा शान्ति प्रदान गर्ने प्रकारका क्रियाकलापहरु– आफ्नो रुचि अनुसारको काम, निकटता, भेटघाट, रमाइलो, घुमघाम, सकारात्मक भाव, पसतविचार, सतकर्म, सहयोग, प्रेम भाव, सेवा भाव, सर्वकल्याण भाव, द्रव्यदान, श्रमदान, पुण्य, उपकार, परोपकार, क्षमा, कृतत्तता, प्रशंशा, धन्यता आदि सेवामूलक काम गरेर मनुष्यको मनोदशा तथा भावदशा सन्तुलित गराएर शरीर, मन, भाव, वुद्धि, चेतनाको शुद्धता, आरोग्यता, सक्रियता तथा सन्तुलनका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति बढाएर आफ्नो जीवन हरप्रकारले व्यवस्थित गर्न सकिन्छ । यस विषयसंग सान्दर्भिक तपाईंलाई केही जिज्ञासा लागेको छ भने सोध्नु होला कुञ्जना, कृपया ।  

 

प्रश्नः प्राण उर्जाको कमी हुदा के–कस्ता समस्या तथा लक्षणहरु देखन्छिन् ? 

अत्यन्तै सान्दर्भिक जिज्ञासा कुञ्जना, धन्यवाद ! कतिपय मनुष्यहरु अत्यन्तै आलस्य तथा अल्क्षि प्रकारका हुन्छन्, उनीहरुको बोलि रुखो र व्यवहार असहज प्रकृतिको हुन्छ । यो अवस्था कसैले जानीजानी गरेका हुन्छ आफ्नो खराव नियतका कारण भने कसैको बानी, व्यवहारमा उसले नचाहेरै पनि यस्तो भैरहेको हुन्छ । यस्तो अवस्थाले उ स्वयंलाई समेत ग्लानी भैरहेको हुन्छ, असहज लागिरहेको हुन्छ र यो अवस्थाले अरु लगायत उ स्वयंलाई समेत नकारात्मक किसिमले प्रभाव पारिरहेको हुन्छ तर उसले चाहेर पनि आफनो यस्तो असहज बोलि, बानी, व्यवहार तथा आचरणहरुमा सूधार गर्न सक्दैन किनकी यस्तो अवस्था उसको शरीर, मन, भाव, चित्त, वुद्धि, चेतनाको शुद्धता, सक्रियता तथा सन्तुलनका लागि आवश्यक पर्ने प्राण उर्जाको कमी, अपर्याप्तता तथा अभावका कारण भएको हो । यस्तो अवस्थाका मनुष्यहरु हेपाइ तथा घृणाका पात्र होइनन् दया, करुणा र सहयोगका पात्र हुन, विचरा हुन् । उनीहरुले आफ्नो शरीर, मन, भाव, चित्त, वुद्धि, चेतनामा प्राण उर्जा बढाउने र जीवन व्यवस्थि तगर्ने सहि तरिका नजानेर पर्याप्त प्राण उर्जाको अभावका कारण उनीहरुको बोलि, बानी, व्यवहार तथा आचरण असहज, आलस्य तथा स्वार्थी भएको हो । यस्तो अवस्थामा रहेका जोकोही व्यक्तिलाई प्राण उर्जा बढाउने उपाय, प्रक्रिया, विधि तथा पद्धतिहरु सिकाएर उनीहरुको जीवन व्यवस्तिथ गर्न मद्धत गर्नुपर्दछ । योग साधना तथा ध्यान साधना मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनाको शुद्धता, सक्रियता तथा सन्तुलनका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति बढाउने सबैभन्दा भरपर्दो, प्रभावकारी, परिणाममुखी, उपलव्धिमूलक, सहज, सहज तथा व्यवहारिक अतिउत्तम अभ्यास हो । तसर्थ उनीहरुलाई योग साधना तथा ध्यान साधनाका कायक्रमहरुमा सहभागि गराउन पहल गर्नु पर्दछ, योग विज्ञानका अनुसार वास्तविक मानव धर्म तथा सबैभन्दा उत्कृष्ट सेवा तथा सर्वकल्याणको काम यही नै हो कि आफू पनि योग तथा ध्यान साधना गरौं र अरुलाई पनि योग तथा ध्यान साधनाका प्रयोगात्मक अभ्यासहरुमा सहभागि हुन उत्साह तथा उत्प्रेरणा जगाऔं र योग तथा ध्यान साधनाका उपयुक्त प्रक्रिया, विधि तथा पद्धतिहरु सिकाइदिउँ ताकि अरुको जीवन पनि हरप्रकारले व्यवस्थित होस् ।


प्रश्नः कब्जियतबाट कसरी बच्ने ? उपायहरु केके हुन सक्छन् ?

उत्तर: अत्यन्तै सान्दर्भिक जिज्ञासा कुञ्जना, धन्यवाद ! कब्जियत आफैंमा एउटा रोग हो र यो अरु धेरै रोगहरुको कारण पनि हो, समयै यसको समाधान गर्नु अत्यावश्यक हुन्छ । पहिलो समाधानको उपाय त आफ्नो जीवनशैली तथा आहार–विहार–विचार नै सात्विक र सकारात्मक हुनु अत्यावश्यक हुन्छ । राति ढिलोसम्म नखाने, ढिलोसम्म जागा नबस्ने, विहान चाँढै उठ्ने, ताजा र मौसमी प्राकृतिक आहारहरुको सेवन गर्ने, धेरै प्रशाधित गरिएका तथा फ्याक्ट्रीमा उत्पादन गरिएका कुराहरु कम खाने तथा नखाने, शरीरको तनदुरुस्तीका लागि आवश्यक व्यायाम तथा योग साधना गर्ने, मन, भाव, वुद्धि तथा चेतनाको स्वाथ्यका लागि सतविचार, राम्रो व्यवहार, राम्रो सम्वन्ध, सतकर्महरु गर्ने आफू र अरुको समेत भलाई हुने गरि । यस्ता सामान्य साबधानी तथा बदलावहरुले जीवनका धेरै प्रकारका असन्तुलन तथा अव्यवस्थाहरु स्वतः सन्तुलित तथा व्यवस्थित हुन्छन् । सहज तथा सरल जीवनशैलीबाट पनि कब्जियत ठीक भएन भने एकपटक आयुर्वेदिक चिकित्सक कहाँ देखाउनुस् आफ्नो शरीरको प्रकृति वाथ, कफ, पित्त के हो पत्ता लगाउनुस्, त्यही अनुसारको जीवनशैली अपनाउनुस तथा उपाय गर्नुस् । तर स्पष्ट हुनुसकि मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनाका सबै असन्तुलनहरु उसको अव्यवस्थित जीवनशैलीको कारणले आउने गर्दछन्, तसर्थ सबै भन्दा पहिला जीवन व्यवस्थित गर्नु अपरिहार्य हुन्छ र यसकालागि जीवनशैली तथा आफ्ना दैनिक गतिविधिहरु सन्तुलित गराउनु अनिवार्य हुन्छ अर्थात जे गर्न हुन्छ भन्ने सर्वसम्मत छ त्यो गर्नुस् जे गर्नु हुदैन भन्ने सर्वसम्मत छ त्यो नगर्नुस् । स्वास्थ्य असन्तुलन हुनुका अरु धेरै प्रकारका कारणहरु हुन सक्छन्, हामी ती विषयहरुका अन्तरवस्तुहरुमा पनि आउने छौ विस्तारै, अव आजको योग साधनाको व्यवहारिक अभ्यास प्रारम्भ गरौं, आज हामी ४० मिनेट योग साधनाको प्रयोगात्मक अभ्यास गर्नेर्छौं– 


 ४० मिनेटको योग साधना प्रारम्भ

(क)१२ मिनेट योगासान

रुतुतुतु रुतुतुतु सांतगीतिक धून योगासन गर्नुअघि शरीर तताउन र खुलाउनका लागि

https://www.youtube.com/watch?v=B_bI_nffLLo


(१)शरीर तताउन २ मिनेट शरीरलाई मज्जाले उफारौं तथा नाचौं उच्च नृत्य तरंग तथा उच्च बास भएको संगीत बजाएर ।

(२) शरीर खुलाउन २ मिनेट उभिएर घुँडा, कम्मर, कुम, हात, गर्धन घुमाउँ, दुई हातका हत्केला भुईंतिर फर्काएर छाति अगाडि राखौं र शरीरलाई दायाँ-बायाँ घुमाउँ तथा बटारौं कम्मरसम्म जोड पर्ने गरेर । हत्केला झनन्न हुनेगरि अगाडि र पछाडि छिटोछिटो ताली बजाउँ । उच्च बास भएको संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

(३)शरीर तन्काउन ३ मिनेट घोप्टो परेर भुजंग आसन गर्नेछौं । पेटको बलमा घोप्टो परेर दुवै हातलाई खप्टेर चिउडोमूनि राखौं  र खप्टिएका हातमाथि चिउडो अड्याउँ र दुवै गोडा तनक्क तन्काउँ । दुवै हातका हत्केला छातिको दायाँ-बायाँ टेकौं र हत्केलाको बलले विस्तारै शिर र छाति उठाउँ कम्मरसम्म दवाव पर्नेगरि । अव श्वास छोड्दै शिरलाई देब्रेतिर फर्काएर आफ्नो पैताला र हिप हेर्ने प्रयास गरौं, दुवै हत्केला टेकिरहेकै अवस्थामा श्वास भर्दै अगाडि फर्कौं, यही प्रक्रिया तथा विधि दाहिनेपट्टि पनि गरौं र पालैपालो दुवैतिर ३-३ पटक जम्मा ६ पटक गरौं । यो एक चक्र भयो जम्मा ३ चक्र गरौं । अव श्वास भर्दै विस्तारै बज्र आसनमा बसेर सहज बनौं तथा पूर्ववत अवस्थामा आउँ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

(४)शरीर तन्काउन ३ मिनेट दुवै हत्केला र घुँडा टेकेर घोप्टो परेर चार हातपाउमा खडा होउँ, अव विस्तारै जतिसक्दो एकपटक ढाड गहिरो, हिप चुच्चो बनाएर र शिर आकाशतिर फर्काएर गौ आसन गरौं र अर्कोपटक ढाड जतिसक्दो आकाशतिर उचालेर, शिर भुईंतिर झुकाएर मार्जर आसन गरौं । गौ(गाई) र मार्जर(बिरालो) आसनको यो प्रक्रिया तथा विधि ५-५ पटक गरि जम्मा १० पटक गरौं । अव श्वास भर्दै विस्तारै बज्र आसनमा बसेर सहज  बनौं तथा पूर्ववत अवस्थामा आउँ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ, अव प्राणायामको लागि तयार बनौं ।  


(ख)१२ मिनेट प्राणायाम 

()श्वान प्राणायाम- कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र हातका हत्केला घुँडामाथि राखौं घोप्टो पारेर । अव हल्का शिर अगाडितिर झुकाएर जोडले श्वास वाहिर फ्याक्दै जिब्रो सकेसम्म धेरै वाहिर निकालौं र एक श्वासभरि जिब्रो वाहिरै राखिराखौं । यो प्रक्रिया तथा विधि १० पटक तथा अझ बढि पटकसम्म गर्न सकिन्छ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

()अ-ऊ-म ॐकार प्राणायाम- कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर ज्ञान मुद्रा बनाएर आकाशतिर फर्काएर घुँडामाथि राखौं । अव लामो लय तानेर एक-एक श्वासभरि अ-उ-म अक्षर ॐकार उच्चाहरण प्राणायाम छुट्टा-छुट्टै गरि ३ पटक तथा अझ बढि पटक गरौं । यसपछि अ-उ-म तीनबटै अक्षर ॐकार उच्चाहरण प्राणायाम एउटै श्वासमा एकसाथ गरौं र यसपछि लामो लयमा आधा श्वासमा ओ... र आधा श्वासमा म्... हुनेगरि ॐकार उच्चाहरण गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

(३)पूरक-कुम्भक-रेचक प्राणायाम- पूरक-कुम्भव-रेचक प्राणायाम स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिन्छ । यसकालागि कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर ज्ञान मुद्रा बनाएर आकाशतिर फर्काएर घुँडामाथि राखौं । लामो श्वास भित्र लिनु पूरक क्रिया हो; श्वास भित्र रोक्नु अन्तर कुम्भक क्रिया हो; गहिरो श्वास वाहिर फाल्नु रेचक क्रिया हो; र श्वासलाई वाहिर फालेर रोक्नु वहिर कुम्भक हो । सबैभन्दा पहिला लामो श्वास भित्र लिएर ४-५ सेकेण्ड वा बढि समय श्वासलाई भित्र रोकौं र गहिरो श्वास वाहिर फालौं लिएको भन्दा डेढ गुणा बढि तथा ४-६ को अनुपातमा । गहिरो श्वास वाहिर फ्याकेपछि ४-५ सेकेण्ड वा बढि समय श्वासलाई वाहिरै रोकौं । फेरी यही प्रक्रिया अनुसार लामो श्वास भित्र लिउँ, रोकौं, गहिरो श्वास वाहिर फालौं र फेरी श्वास वाहिर रोकौं । यही प्रक्रिया तथा विधि आफ्नो अवस्था र आवश्यकता अनुसार दोहोर्याइ राखौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ, अव ध्यान साधनाको लागि तयार बनौं ।


(ग)१५ मिनेट ध्यान साधना 

आधा समय मैले बजाएको सात चक्रको विज मन्त्र एकसाथ लयमा उच्चाहरण गरौं र बाँकी आधा समय प्राण उर्जा सफागर्ने तरंग ध्वनि सुनौं र बाँकी समय प्राण उर्जा सफा गर्ने लयात्मक तरंग ध्वनिलाई ध्यान दिएर सुनिरहनुस् मन कतै नभड्काइकन आफ्नो श्वास-प्रश्वासमा मनलाई टिकाएर, मन भड्कियो भने लामो श्वास भित्र तान्नुहोस् र गहिरो श्वास वाहिर फाल्नुहोस्, मन तुरुन्तै प्राण उर्जा सफा गर्ने तरंग ध्वनिको लयमा तथा वर्तमानमा फर्किनेछ... । 

‘लं~~’ उच्चाहरणमा जनेन्द्रियको साथमा रहेको रातो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा मूलाधार चक्र तथा पृथ्वी तत्वलाई याद गरौं ।

‘वं~~’ उच्चाहरणमा नाभि भन्दा २-३ इन्च तल रहेको सुन्तला रंगको बिजुलीको चम्किलो बल्बको रुपमा स्वाधिष्ठान चक्र तथा जल तत्वलाई याद गरौं ।

‘रं~~’ उच्चाहरणमा नाभि भन्दा २-३ इन्च माथि रहेको पहेंलो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा मणिपुर चक्र तथा अग्नि तत्वलाई याद गरौं ।

‘यं~~’ उच्चाहरणमा छातिको विचमा रहेको हरियो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा अनाहद चक्र तथा वायु तत्वलाई याद गरौं ।

‘हं~~’ उच्चाहरणमा गलामा रहेको फिका निलो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा विशुद्धि चक्र तथा आकाश तत्वलाई याद गरौं ।

‘उं~~’ उच्चाहरणमा आँखीभौंको विचमा रहेको गाडा निलो तथा प्याजी रंगको बिजुलीको चम्किलो बल्बको रुपमा आज्ञा चक्र तथा आत्मा तत्वलाई याद गरौं ।

‘ॐ~~’ उच्चाहरणमा शिरको माथिल्लो भागमा रहेको फिका गुलाबी तथा क्रिम रंगको सूर्य जस्तो चम्किलो ठूलो प्रकाश पुञ्जको रुपमा सहश्रार चक्र तथा परमात्मा तत्वलाई याद गरौं ।


 

लं-वं-रं-यं-हं-उं-ॐ विज मन्त्र लयात्मक तरंग ध्वनि

https://www.youtube.com/watch?v=FaHdaOS6CBY


उर्जा सफा गर्ने घण्टको तरंग ध्वनि

https://www.youtube.com/watch?v=VJEY_X_VqNI



हाम्रो साधनाको समय पूरा भएको छ, अव विस्तारै ध्यान साधनाबाट वाहिर आउन मन र शरीरलाई तयार गरौं…, ३ पटक लामो-गहिरो श्वास लिउँ र ३ पटक लामो लयमा एक श्वासभरि नादब्रम्ह ॐकारको उच्चाहरण गरौं; ॐकारं वन्दना गरौं; हरिगुरु वन्दना गरौं; र सारा जगतको सुख र शान्तिका लागि सर्वकल्याण भाव व्यक्त गरौं-

                                    ॐकारं बिंदुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः।

कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥

                                     गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।

गुरुः साक्षात्‌ परब्रह्म तस्मै श्री गुरवे नमः॥

 

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।

सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

 

दुवै हातका हत्केलालाई एकआपसमा रगडौं, घर्षणबाट न्यानो भएका हत्केला को दिव्य उर्जालाई हल्कासंग आँखामाथि राखौं र हत्केला का रेखाहरु हेर्दैहेर्दै विस्तार आँखा खोलौं र सामान्य बनौं, विस्तारै गोडा खोलौं, पसरौं तथा पूरै शरीर चलाउँ । 


४० मिनेटको छोटो योग साधना सकेपछि साधकको अनुभव


प्रश्नः कस्तो अनुभव भयो ४० मिनेटको योगासनप्राणायाम  ध्यान साधनापछि ?

उत्तरः शरीरमा एकदम फरक प्रकारको अनुभव भैरहेको आरामको महसुस भैरहेको श्वास-प्रश्वासमा सजिलो भएको छ, मन अलि सहज भएको छ । एउटा जिज्ञासा छ, मलाई भोक नभएपनि भोक लागेको जस्तो के खाउँ के खाउँ जस्तो भैरहन्छ तर मेरो मोटोपनसंग डर लाग्छ र जबरजस्ती मनलाई बाध्छु र सकेसम्म नखाने प्रयास गर्छु, के भएको होला, अर्को कक्षामा यसबारे सल्लाह पाउने अपेक्षा गर्दछु… 


उत्तरः अवश्य कुञ्जना ! वास्तवमा तलतल भोक होइन रोग हो, यस्तै भोक नभएपनि भोक तथा तलतल लागिरहने समस्या समाधान गर्नकैलागि वैदिक धर्ममा प्राचीन वैज्ञानिक तथा हाम्रा पुर्खा ऋषिमुनिहरुले व्रतको संस्कृति र व्रतका प्रकारहरुको व्यवस्था चलाउनु भएको हो, यस सन्दर्भ तथा विषयलाई भोलिको कक्षामा स्पष्ट गरौंला । आजको योग साधनाको चौथो कक्षा यहीं सम्पन्न भएको छ । आजकै समयमा भोलि जुम अनलाइमा फेरी भेटौंला पाँचौं कक्षामा योग साधनाको सैद्धान्तिक ज्ञानको श्रवण १० मिनेट र प्रयोगात्मक अभ्यास ५० मिनेट गरि एक घण्टा योग साधना गर्ने छौं । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सम्पन्नता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो र क्रमिक रुपमा तपाईंको स्वास्थ्य र शरीर व्यवस्थित हुदै गैरहेको छ, सबै सहि हुन्छ अव विस्तारै, आस्था राख्नुस् । शुभदिन !



हस्शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!

 

हरि  तत्सत् !

हे ॐकार स्वरुप हरिकेवल तिमी सत्य छौ !!

 

 

                                                                   शिवोहम् !

                                               डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ



No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...