Thursday, 11 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -१२

                                            #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



 सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

१७. सवालः D
ध्यान सहजै लाग्दैन, ध्यान नलाग्नुका कारणहरु केके हुन सक्छन् ?

जवाफः

ध्यान ‘न’लाग्नु भन्ने शव्दमा ‘न’ अक्षर आएको छ र यसको अर्थ नकारात्मक तथा असहज अवस्था हो । जीवनमा केही नकारात्मक तथा असहज अवस्थाहरु आएका कारणले ध्यान नलागेको हो, जीवनबाट ती ‘न’ अर्थात नकारात्मकता तथा असहजताहरुलाई हटाएपछि ध्यान सहजै लाग्न प्रारम्भ हुन्छ, तसर्थ ध्यान नलाग्नु तथा ध्यान साधनामा एकाग्रतामा जान नसक्नुका कारणहरु धेरै हुन सक्छन् किनकी मनुष्यको जीवनमा धेरै प्रकारका असहजताहरु हुन सक्दछन् । हरेक मनुष्यको जीवनको प्रमुख लक्ष्य तथा उद्देश्य सुखको प्राप्ति र दुःखहरुबाट निवृत्ति तथा मुक्ति हो । यसकारण हरेक मनुष्यले आफ्नो जीवनमा सुख प्राप्त गर्न र दुःखबाट मुक्त हुन सर्वप्रथम केके विषयहरुले आफूलाई सुख प्रदान गर्दछन् र केके विषयहरुले दुःख दिन्छन् त्यो पत्ता लगाउनु अत्यावश्यक हुन्छ । हामी सबैलाई थाहा छ कि सबै मनुष्यहरु आफ्नो जीवनमा पंचप्रगति– (१)स्वास्थ्य, (२)सम्वन्ध, (३)समृद्धि, (४)मानप्रतिष्ठा, र (५)शान्ति हासिल गर्न चाहन्छन् यी अवस्थाहरुले मनुष्यको जीवनमा सुख, खुशी, सम्पन्नता, शान्ति, आनन्द प्रदान गर्दछन् । ध्यान साधनामा एकाग्रता हासिल गर्न नसक्नु तथा ध्यानमा गहिरन नसक्नु तथा ध्यान नलाग्नुका धेरै कारणहरु मध्य माथि उल्लेखित यिनै पंचप्रगतिमा भएका असहजता, असन्तुलनता तथा अभावको अवस्था हो । अभाव अर्थात (१)अस्वस्थता तथा स्वास्थ्यको अभाव, (२)खराव सम्वन्ध तथा सुव्यवहारको अभाव, (३)बिपन्नता तथा समृद्धिको अभाव, (४)मानहानि तथा जीवन मूल्यको अभाव, र (५)अशान्ति तथा मनको स्वभाव अर्थात सन्तोष र स्वीकारको अभावलाई प्रमुख मानिएको छ किनकी हरेक मनुष्यको जीवनअधिकांश समय मुख्यतया यिनै पाँच आयामहरुका घटना तथा विषयहरुको वरिपरि नै घुमिरहेको हुन्छ । सामान्य परिभाषा अनुसार जीवनका यी प्रमुख आयामहरुमा मनुष्यले सहजताको अनुभव गर्न सक्यो भने उसको जीवन सुखपूर्ण हुन्छ, यस्तो अवस्थामा उसकालागि सबै अवस्था र कामहरु सहज हुन्छन् र ध्यान साधना पनि सहज हुन्छ तथा उसलाई ध्यान लाग्छ तर यसको विपरित यी प्रमुख आयामहरुमा मनुष्यले सहजताको अनुभव गर्न सकेन भने उसको जीवन तनावपूर्ण हुन्छ, यस्तो अवस्थामा उसकालागि सबै अवस्था र कामहरु असहज हुन्छन् र ध्यान साधना पनि असहज हुन्छ, ध्यान साधनामा एकाग्रता हासिल गर्न मुस्किल हुन्छ तथा उसलाई ध्यान लाग्दैन । यसकारण जीवनमा तनाव दिने सबै अवस्थाहरुलाई सकेसम्म सहि ढंगले सन्तुलन तथा व्यवस्थापन गर्ने प्रयास गर्नुपर्दछ ध्यान साधनालाई सहज बनाउनका लागि । ध्यान नलाग्नुका प्रमुख कारणहरु निम्नानुसार रहेकाछन्-

(१)स्वस्थता र अस्वस्थता

मनुष्यको स्वास्थ्यका प्रमुख पाँच आयामहरु रहेकाछन्– (१)शारीरिक स्वास्थ्य, (२)मानसिक स्वास्थ्य, (३)भावनात्मक स्वास्थ्य, (४)वौद्धिक स्वास्थ्य, र (५)आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य । स्वास्थ्यका यी आयामहरु मध्य कुनै एक वा बढि आयामहरुमा अस्वस्थता छ भने मनुष्यको दैनिक जीवनयापन असहज तथा कष्टकर हुन्छ । खासगरि शारीरिक अस्वस्थताका कारण अधिकांश ध्यान साधकहरुलाई ध्यान साधनामा टिकेर बस्न शरीरले साथ नदिने, विभिन्न अंगहरुमा दुख्ने, पोल्ने, निदाउने कारण असहज हुने हुनाले ध्यान साधनाले निरन्तरता पाउन सक्दैन, यसकारण ध्यानमा एकाग्रता आउनदैन  र ध्यान लाग्दैन । त्यस्तै धेरै साधकहरुमा मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक अस्वस्थता तथा असन्तुलनका कारण मनको एकाग्रतामा कमी, भावनात्मक अशान्ति, कमजोर वौद्धिकता तथा कमजोर आत्मविश्वासका कारण मन तथा भावनाको चन्चलता, बेचैनी, अस्थिरता हुने तथा एकाग्र हुन नसक्ने स्वाभावका कारण ध्यान साधकहरुलाई ध्यान साधनामा टिकेर बस्न असहज हुने हुनाले ध्यान साधनाले निरन्तरता पाउन सक्दैन, यसकारण ध्यानमा एकाग्रता तथा स्थिरता आउनदैन र ध्यान लाग्दैन ।कुनैनकुनै प्रकारका साना तथा ठूला कारणहरुले शरीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक रुपमा अस्वस्थ व्यक्तिहरुलाई ध्यान साधनामा एकाग्रता तथा स्थिरता हासिल गर्न मुस्किल हुन्छ  यस्तो अवस्थामा मनुष्यको जीवनशैली कष्टकर हुन्छ, जीवनमा तनावको अवस्था बन्दछ र शरीरका आयामहरुमा भएको अस्वस्थताको तनावका कारण उसलाई ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुने हुनाले साधकलाई ध्यान लाग्दैन ।

 
(२)सम्वन्ध र खराव सम्वन्ध

मनुष्य सामाजिक प्राणी भएकोले बिना सम्वन्ध उ एक्लै रहन सक्दैन तर हामी मध्य थोरैले मात्र आफ्ना सम्वन्धहरुलाई सहज, सुमधूर, प्रेमल  तथा सौहार्दपूर्ण राख्न सकेका छौ । आधूनिक मनोविज्ञानका वैज्ञानिक अध्ययनका तथ्यांकहरुका अनुसार हिजोआजका अधिकांश मनुष्यहरुको जीवनको तनावको कारणको ८० प्रतिशत हिस्सा खराव सम्वन्ध रहेको देखिएको छ । जीवनका नजिक तथा टाढाका सम्वन्धहरुमा आएका असन्तुलनका कारण मनुष्यको जीवनशैली असहज बनेकोछ भने उसको जीवनमा तनावको अवस्था बनेकोछ । खराव सम्वन्धहरुको तनावका कारण साधकलाई ध्यान साधनामा एकाग्रता तथा स्तिरता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ र यसको परिणाम रुवरुप उसलाई सहजै ध्यान लाग्दैन ।
 

(३)समृद्धि  बिपन्नता

हिजोआजको प्रतिस्पर्धात्मक तथा देखसेखीले नियन्त्रणता लिएको जीवनशैलीमा समृद्धि तथा सम्पन्नताको परिभाषा गर्न अलि मुस्किल भएकोछ । सम्पन्नताको प्रतिस्पर्धा तथा होडनै अधिकांश मनुष्यको जीवनको तनावको प्रमुख कारणहरु मध्य एक असरदार कारण बनिरहेको आजको वास्तविक तथ्यलाई नकार्न सकिदैन र यसबाट कोही पनि व्यक्ति अछुतो छैन  केही मनुष्यहरुमा बिपन्नता तथा दरिद्रताका कारण आफ्नो तथा परिवारको आधारभूत तथा न्यूनतम आवश्यकताहरु समेत परिपूर्ति गर्न नसकेर उसको जीवनमा तनावको अवस्था बन्ने गरेको छ । यस्तो सम्पन्नताको होड तथा बिपन्नताको तनावका कारण मनुष्यको जीवनशैली असहज बनेको छ भने उसको जीवनमा तनावको अवस्था बन्दछ र उसलाई ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।


(४)मानप्रतिष्ठा  मानहानि 

सामान्यतया मानप्रतिष्ठा सात्विक व्यवहार तथा सतविचार, सतकर्म, सेवा भावसंग आफैं स्वस्फुर्त प्राप्त हुने उपलव्धि हो तर मानप्रतिष्ठा हिजोआज सबैभन्दा बढि दुरुपयोग र अतिक्रमणमा परेको विषय बनेको छ । आजको समय यस्तो भएको छ तथा हिजोआजका मनुष्यष्हरुको मन, भाव, नियत, वुद्धि, चेतना यतिविधि दुषित भएको छ कि उनीहरु मानप्रतिष्ठा कमाउन सात्विक व्यवहार तथा सतविचार, सतकर्म, सेवा गर्नुको साटो आफूले मानप्रतिष्ठा कमाउन र अर्काको मानप्रतिष्ठामा मानहानि गर्न समेत आफ्नो धन, शक्ति, वुद्धि, श्रम लगाइरहेका छन् घृणा, द्वेश, बदला, अहंकारको भावले । यस्ता अरुलाई हानि पुर्याउने खराव नियत; मानप्रतिष्ठाको अति अपेक्षा तथा जानेर नजानेर आफ्नै तथा अरुको मानहानिका कारण मनुष्यको जीवनशैली असहज बनेकोछ  उसको जीवनमा तनावको अवस्था बनेकोछ र स्तो अवस्थामा यिनै तनावका कारण उसलाई ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।


(५)शान्ति  अशान्ति

हिजोआजका मनुष्यको जीवनमा शान्तिका कारण तथा अवस्थाहरु तिब्रगतिमा कम हुदै गैरहेका छन् र अशान्तिका अवस्थाहरु जताततै बनिरहेका छन् । बदलिदो समयसंगै मनुष्यका सोच, विचार, भाव, नियत पनि बदलिदै गैररहेका छन् र यस्ता बद्लावहरु जिम्मेदार भन्दा गैरजिम्मेदार, दिने भन्दा लिने भाव मात्र, सहयोग गर्ने भन्दा सताउने नियत तथा समग्रमा सकारात्मकता भन्दा नकारात्मकता बढि रहदै आएका छन् । मनुष्यका अपेक्षाहरु बढिरहेका छन्, अपेक्षासंगै असन्तोष, अस्वीकार, अन्तिुष्टी, गुनासाहरु पनि बढ्दै गैरहेका छन् जसका कारण उसको शान्ति बिथोलिएको छ, उ अति साना र सामान्य घटना तथा विषयहरुमा अत्यन्तै अशान्त हुन थालेको छ । यस्तो अशान्त अवस्थाका कारण मनुष्यको जीवनशैली असहज बनेकोछ भने उसको जीवनमा तनावको अवस्था बन्दछ र अशान्तिको अवस्थाबाट आउने तनावका कारण उसलाई ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।


ध्यान नलाग्नुका अन्य कारणहरु

मनुष्यको जीवनका माथि उल्लेखित प्रमुख पाँच आयामहरुको असन्तुलित अवस्थाको अलावा पनि उसलाई ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुने तथा ध्यान नलाग्ने कारणहरु धेरै हुन सक्छन्-

@दैनिक जीवनयापनमा आहार–विहार–व्यवहार तथा समग्र जीवनशैलीमा सन्तुलनता छैन भने यस्तो अवस्थामा उसलाई ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@खाना भर्खर खाएको छ र पेट भारी छ; आवश्यकता भन्दा बढि खाना खाएर शरीर आलस्य भएको तथा निद्रा लागेको जस्तो भएको छ; खानामा हिंसा तथा तमसजन्य आहारहरु समावेस भएका छन् भने ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@शरीरलाई आराम तथा निद्रा राम्रोसंग पुगेको छैन र शरीर, मन, भाव, वुद्धि, चेतनामा कुनै प्रकारको थकान छ, तथा पर्याप्त उर्जाको कमी भएको छ भने ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@उमेर तथा शरीरको अवस्था र प्रकृति अनुसार व्यायाम तथा योगीक साधना(योगासन, प्राणायाम, धारणा) पर्याप्त पुगेको छैन भने शरीरमा प्राण उर्जा तथा जीवन उर्जाको अपर्याप्तताका कारण आलस्य, गरुंगो तथा भद्दापनको महसुस हुन्छ । यदि यस्तो अवस्था छ भने ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन । 

@शरीर तथा मनको अस्वस्थताका कारण औषधि सेवन गरिरहेको अवस्था छ भने औषधिको अतिरिक्त प्रभावका(साइड इफेक्ट) उत्पन्न हुने शारीरिक तथा मानसिक असहजताका कारण  ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@ध्यान साधना गर्ने स्थानको अवस्था प्राकृतिक किसिमको छैन भने; मौसम अनुसार तातो-चिसो मिलेको छैन भने; आवश्यकता अनुसारको सुविधायुक्त छैन भने;  वरिपरिको वातावरण प्रदुषित तथा अशान्त छ भने ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@सनातन योग विज्ञानका मनुष्यलाई जीवनमा अनुशासन, कर्तव्य, नैतिकताका सैद्धान्तिक ज्ञान, विज्ञान सिकाउने यम, नियम, प्रत्याहार, धारणाको सैद्धान्तिक तथा मानसिक अभ्यासमा अभ्यस्त छैन भने ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@शरीर, मन, भाव, चित्त, वुद्धि, सचेतनामा पंचतत्व र प्रकृति तथा पर्यावरण- पानी, हावा, सूर्य, आहार, विहार, विचारको सहि सन्तुलन तथा व्यवस्थापनबाट प्राप्त हुने प्राण उर्जाको कमी भएकोछ भने शारीरिक तथा मानसिक कमजोरीका कारण ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

@'ध्यान' योगीक साधना हो अष्टांग योगका अंगको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गरेपछि मात्र हासिल गर्न सकिने । यसकारण ध्यान साधनाका प्रक्रिया, विधि तथा प्रद्धतिहरु सहि भएनन् तथा साधकको वास्तविक आवश्यकता र स्वाभावसंग मिल्दो प्रकारका भएनन् भने पनि ध्यान साधनामा एकाग्रता हासिल गर्न तथा ध्यानमा गहिरिन मुस्किल हुन्छ तथा ध्यान लाग्दैन ।

                                                                       शिवोहम् !
                                                     डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ





No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...