Saturday, 31 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४८

                                   #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५४.सवाल

शरीरमा पंचतत्व असन्तुलनका कारण हुने अस्वस्थताहरु

जवाफ

सनातन अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान दुवैको मतानुसार ब्रम्हाण्डमा जम्मा दुईवटा तत्वहरु मात्र रहेकाछन्– (१)प्रकृति तथा म्याटर(पदार्थ), र (२)पुरुष तथा इनर्जी(उर्जा) र यी दुई तत्व अन्तर्गत पाँच प्रकारका दृश्य तथा अदृश्य तत्वहरु(इलिमेन्ट्स) रहेका छन् जसलाई पंचमहाभूत तथा पंचतत्व भनिन्छ– (१)आकाश, (२)वायु, (३)अग्नि, (४)जल, र (५)पृथ्वी । यिनै पाँच तत्वहरुको समिश्रणबाट सबै प्राणि, वनस्पति तथा पदार्थहरुको स्थुल शरीर, प्रकृति अर्थात म्याटर बडी र सुक्ष्म शरीर, पुरुष–आत्मा–चेतना अर्थात इनर्जी बडी निर्मित भएको हुन्छ । पंचतत्व अर्थात पंचमहाभूतसंग मनुष्यको स्थुल र सुक्ष्म दुवै शरीरको सिधा सम्वन्ध रहेकोले शरीरमा यी तत्वहरुको आवश्यक मात्रा सन्तुलनमा छ भने उसको स्वास्थ्य र शरीरका सबै आयामहरु स्वस्थ तथा सक्रिय रहन्छन् तर यदि शरीरमा पंचतत्वको आवश्यक मात्रा सन्तुलनमा छैन भने मनुष्यको स्वास्थ्य र शरीरका सबै आयामहरु अस्वस्थ तथा निष्क्रिय हुन्छन् र परिणामस्वरुप विभिन्न प्रकारका शारीरिक, मानसिक, प्राणिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक अवस्थासंग सम्वन्धित अस्वस्थता तथा समस्याहरु देखिन्छन् । मनुष्यको शरीरमा पंचतत्वहरुको असन्तुलन हुदा अधिकांश अवस्थाहरुमा प्राय कमी हुने तथा तत्वको निश्क्रियता रहने गरेको पाइएको छ । पंचतत्वहरु एकआपसमा मिलेर शरीरमा काम गर्ने हुनाले एउटा मात्र तत्व असन्तुलित भयो भने त्यसले बाँकी चारवटा तत्वहरु लगायत शरीरका अन्य क्रिया तथा प्रणालीहरुलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असन्तुलित गर्दछ । कुन तत्वको आवश्यक मात्र असन्तुलित अर्थात कम सक्रिय तथा बढि सक्रिय भएको अवस्थामा कस्ता–कस्ता प्रकारका अस्वस्थताहरु देखा पर्दछन् भन्नेबारे संक्षिप्त जानकारी यसप्रकार रहेको छ–



(१)आकाश तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

आकाश तत्व अर्थात शुन्यता तथा खालिपन सबै तत्वहरुको मूलश्रोत हो, सबै तत्वहरु आकाश तत्वको आधारमा एकअर्काको समिश्रणवाट निर्मित भएका हुन्छन् । सबैभन्दा पहिला आकाश तत्वको उत्पति भएको हो, क्रमशः आकाश तत्वबाट निसृत भएर वायु तत्वको निर्माण भएको हो; वायु तत्वबाट निसृत भएर अग्नि तत्वको निर्माण भएको हो; अग्नि तत्वबाट निसृत भएर जल तत्वको निर्माण भएको हो; र जल तत्वबाट निसृत भएर पृथ्वी तत्वको निर्माण भएको हो । यसकारण सबै तत्वहरुमा सबै तत्वहरुको मूलश्रोत आकाश तत्व र निर्माणका कारक तत्वहरुको अंश रहेको हुन्छ । मनुष्यको समग्र स्वास्थ्य र शरीरका आयामहरुमा यी पाँचै प्रकारका तत्वहरुले एकअर्कोसंग मिलेर काम गर्दछन् र शरीरको प्रकृति(वाथ, कफ, पित्त) अनुसारको लक्षण देखाउछन् स्वस्थता तथा अस्वस्थताका अवस्थाहरु ।


आकाश तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा आकाश तत्व बढेको अवस्थामा पाँच ज्ञान इन्द्रियहरुका सुन्ने, बोल्ने, सुघ्ने, स्वाद लिने तथा अनुभव गर्ने क्षमतामा कमी आउछ; व्यक्ति विस्तारै लाटो, वहिरो, अलभेस्स्रो, गंध थाहा नपाउने, खानाको स्वाद थाहा नपाउने, रंगहरु नचिन्ने, आफ्नो वरिपरि भैरहेका गतिविधिहरु थाहा नपाउने प्रकारको होस नभएको अपांग जस्तो हुन्छ; शरीरमा कफ जम्मा हुन्छ; गला थाइरोइड तथा प्याराथाइरोइड ग्रन्थिको क्रियामा गडबडी आउछ र थाइरोइड हर्मोन असन्तुलित हुन्छ; बोली भकभकाउने, शव्द फडकालेर उच्चाहरण गर्न नसक्ने, अरुले सुन्नेगरि आवाज वाहिर ननिस्कीने समस्या हुन्छ; अरुले बोलेको कुरा सुन्न र बुझ्न नसक्ने समस्या हुन्छ; आफूलाई अरु समक्ष प्रस्तुत गर्ने र आफ्ना कुरा अरुलाई बुझाउने संवाद क्षमतामा कमी हुन्छ; सानो बच्चाको बोली ढिलो फुट्छ; कान दुख्ने, अमलपित्त, बारबार ज्वरो आइरहने आदि अस्वस्थता तथा समस्याहरु हुन्छन् ।  


आकाश तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

आकाश तत्वले वायु तत्वसंग मिलेर शिरको क्षेत्रमा काम गर्ने हुनाले आकाश तत्वको कमीले मस्तिष्क तथा चेहरा सम्वन्धि अस्वस्थता आउछ– कमजोर स्मरण शक्ति, कमजोर दृष्टि, टाउको दुख्ने, पिनास हुने समस्या हुन्छ; आकाश तत्वले वायु तत्वसंग मिलेर हाडजोर्नीहरुमा कामगर्ने हुनाले वाथरोग(जोर्नीको दुखाइ) तथा हड्डी कमजोर हुने समस्या हुन्छ; हड्डीमा क्यालसियमको कमी हुन्छ; आकाश तत्वले अग्नि तत्वसंग मिलेर मुटुको क्षेत्रमा काम गर्ने हुनाले मुटुसंग सम्वन्धित रक्तचाप, रक्तसंचार, मुटुको धड्कन आदि अस्वस्थताहरु देखिन्छन्; आकाश तत्वले जल तत्वसंग मिलेर पेटको क्षेत्रमा काम गर्ने हुनाले पेटसंग सम्वन्धित मन्दाग्नि, भोक नलाग्ने, अरुची हुने, खाना नमिठो हुने, अपच तथा कव्जियत हुने जस्ता अस्वस्थताहरु देखिन्छन्; आकाश तत्वले पृथ्वी तत्वसंग मिलेर नितम्ब(हिप)को क्षेत्रमा काम गर्ने हुनाले हिप क्षेत्रसंग सम्वन्धित मृगौला, पिसाव, पाठेघर, प्रजनन् अंगमा अस्वस्थताहरु देखिन्छन् ।

आकाश तत्वको मूल स्वाभाव गति हो, बिनागति शरीरका कुनैपनि क्रिया, प्रक्रिया तथा प्रणालीहरु सुचारु तथा सक्रिय हुन सक्दैनन् । रक्तसंचार, मुटुको धड्कन, श्वास–प्रश्वासको आयाम, पाचन–पोषण–निस्कासन जस्ता शरीरका अत्यन्तै महत्वपूर्ण गतिहरु आकाश तत्वको अवस्था सन्तुलित भएमात्र स्वस्थ र सक्रिय हुन सक्दछन् । योग चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा विज्ञानका अनुसार आकाश तत्व सन्तुलित भएको मनुष्यको शरीर लचिलो हुन्छ र शरीरको लचकता नै स्वास्थ्यको मूलआधार हो, यी चिकित्सा विज्ञानका अनुसार भनिएको छ कि मनुष्यको शरीरमा लाग्ने ९९ प्रतिशत शारीरिक तथा मानसिक अस्वस्थताहरु आकाश तत्वको असन्तुलित अवस्थाबाट आउने गर्दछन् किनकी आकाश तत्वबाटै अरु तत्वहरु निर्माण भएका छन् र आकाश तत्वकै सहयोगमा शरीरमा अरु तत्वहरुले आ–आफ्नो काम गर्ने गर्दछन् । 


(२)वायु तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

वायु तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता
शरीरमा वायु तत्वको अधिकताले ग्याँस बन्ने प्रक्रिया तिब्र हुन्छ र ग्याँसजनित अस्वस्थताहरु देखिन्छन् । शरीरमा ग्याँस बढ्यो भने सबैभन्दा पहिला शरीरका खालि स्थान– हाडका जोर्नीहरु, पेट, नशा, मांसपेशीहरुमा ग्यास भरिन्छ र यी अंगहरुमा दुखाईको अनुभव हुन्छ, दुखाई भेरै भएको अवस्थामा सुन्निने तथा फुल्ने, चिलाउने, इन्फेक्सन हुने अस्वस्थताहरु आउछन्; यस्तो अवस्थामा पेट क्षेत्रको खुकुलोपन, रक्तसंचारको प्रवाह, जोर्नीहरुको खुकुलोपन तथा मांसपेसीको लचकतामा वाधा हुने हुनाले यससंग सम्वन्धित अरुप्रकारका अस्वस्थताहरु पनि थपिदै जान्छन् । हाडका जोर्नीहरुमा वायु तथा ग्यास भरिदा जोर्नीहरुको संस्तुलन बिग्रिने हुनाले कम्मरमा दुखाई, साइटिका तथा कम्मरदेखि तलको भागमा दुखाइ; सर्भाइकल, पोलियो, मांसपेसी जकडन(फ्रोजन) तथा दुखाई; मुटुमा दुखाई; हर्टअट्याक, प्यारालाइसिस जस्ता अस्वस्थताहरु देखिन्छन् ।  


वायु तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा वायु तत्वको कमी तथा कम सक्रियता हुदा छाति तथा श्वास–प्रश्वाससंग सम्वन्धित दम, श्वास–प्रश्वास छोटो हुने, श्वास भित्र तान्न कठिन हुने तथा निसास्सिने हुन्छ; शरीरमा अक्सिजनको कमी हुन्छ; रक्तचाप उच–निच भैरहने र रगतमा विकार आउने हुन्छ; रिंगटा लाग्ने; जठराग्नि मन्द हुने कारण पेट सफा नहुने र पेटका अनेक अस्वस्थताहरु हुन्छन्; मुटुका समस्या तथा हृदयघातको अवस्था आउनसक्छ; स्नायु तन्त्र तथा प्रणालीमा असन्तुलन आउने हुनाले स्मरण शक्ति कमजोर हुने, अनियन्त्रित विचार, बेचैनी, चन्चलता, मानसिक तनाव, विषाद, अवषाद जस्ता मानसिक तथा भावनात्मक अस्वस्थताहरु आइपर्दछन् ।


(३)अग्नि तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

अग्नि तत्व बढि सक्रिय हुदा हुने शारीरिक अस्वस्थता

शरीरमा अग्नि तत्वको सक्रियता बढि हुदा त्वचा(छाला) सम्वन्धि एग्जिमा, सोराइसिस अर्थात घाउ, खटिरा, दाद, चिलाउने, दाग, धब्वा आदि सबै प्रकारका अस्वस्थताहरु हुन्छन्; पेटको तापक्रम बढ्ने हुनाले पेट फुल्ने, पोल्ने तथा अटसपटस हुने, छाति पोल्ने, मुखमा अमिलो पानी आउने अस्वस्थता हुन्छ; शरीरमा गर्मीको महसुस् हुन्छ; छिटो–छिटो ज्वरो आइरहने; उच्च रक्तचाप हुने; क्रोध, बेचैनी, अधैर्यता, मानसिक तनाव जस्ता अस्वस्थताहरु देखिन्छन् । 

 
अग्नि तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा अग्नि तत्वको कमी हुदा तथा शरीर ठण्डा भैरहने, हात, गोडा, छाला नतात्ने; शरीरमा पसिना नआउने; ठण्डी बढि लाग्ने र ठण्डीसंग सम्वन्धित रुघा, खोकी, पिनास, कफ, दम, ब्रोंकाइटिस, निमोनिया, उर्जाको कमी, आलस्य, थकान हुने; मन्दाग्नि(पेट तथा जठराग्निको सुस्तता); ग्यमस्ट्रिक बढ्ने, अपच हुने, भोक नलाग्ने, कव्जियत हुने, पेट र शरीरमा फोहोर जम्ने; न्यून रक्तचाप हुने; रगतमा विकार आउने; इन्सुलिन हर्मोनमा गडबडी आउने र डाइभिटिज हुने; शरीरमा मोटोपन तथा बोसो जम्ने; रक्तचाप न्युन हुने, शरीरमा रगतको कमी हुने; पहेंले रोग(जन्डिस) लाग्ने सम्भावना बढि हुने; ग्रन्थीरसमा(हर्मोन्स) गडबडी हुने, भिटामिन डी को कमी हुने, नेत्र ज्योति कमजोर हुने; आलस्यता, तनाव, इच्छा शक्तिमा कमी, मनोबल, आत्मविश्वास, जोश, जाँगर, उत्साह, उत्प्रेरणामा कमी जस्ता समस्याहरु देखिन्छन् ।   
 
  
(४)जल तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

जल तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा जल तत्वको सक्रिता बढ्यो भने शरीरका अंगहरु– फोक्सो, पेट, मस्तिष्क, घुँडा, हात, गोडामा पानी भरिन्छ तथा जम्छ; शरीर तथा निश्चित अंगहरु सुन्निन्छन्, नाक र आँखाबाट पानी बगिरहन्छ; शरीर भारी र असहज हुन्छ; जाडोको अनुभूति हुने, सर्दी तथा ठण्डी लागिरहने समस्याहरु हुन्छन् ।
  
जल तत्व कम सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा जल तत्वको कमी हुदा मस्तिष्कमा सुस्तता आउछ; डिहाइड्रेसन, त्वचामा सुख्खापन तथा फुस्रो छाला, छालामा दाग, धब्बा, डण्डिफोर आउछ; चेहरामा चाउरी, ओठ फुट्ने, आँखा, नाक, कान, मुख, गला सुख्खा हुने, थुक बाक्लो हुने, र्याल पर्याप्त नबन्ने हुन्छ; छाला छिप्पेको तथा उमेर भन्दा पाको देखिने हुन्छ; कपाल सुख्खा हुने, खस्ने, चाँढै फुल्ने हुन्छ; शरीरका द्रव्यहरुमा असन्तुलन आउछ; एन्जाइम्स र हर्मोनहरुको उत्सर्जनमा असन्तुलन हुन्छ; प्रजनन् शक्तिमा कमी तथा यौन दुर्वलता आउछ; मृगौला, मुत्रथैली, पित्तथैलीमा पत्थरी बन्ने; पिसाव नअडिने; पाठेघर तथा ओभरीमा शिष्ट पलाउने आदि अस्वस्थताहरु देखिन्छन् । 


(५)पृथ्वी तत्वको असन्तुलनबाट हुने अस्वस्थताहरु

पृथ्वी तत्व बढि सक्रिय हुदा हुने अस्वस्थता

शरीरमा पृथ्वी तत्व बढि सक्रिय हुदा बोसो जम्ने र मोटोपन अत्यधिक बढ्ने र शरीर भद्धा हुन्छ; अति खुकुलो तथा फस्के मांसपेशी हुन्छस शरीरमा बलको कमी हुन्छ र आलस्यता आउछस मोटोपनसंग सम्वन्धित कोलेस्ट्रोल, टि.जी., मधुमेह जस्ता दिर्घ अस्वस्थताका लक्षणहरु देखिन्छन्; मनमा चन्चलता, बेचैनी, अस्थिरता आउने र मानसिक तनाव बढेसंगै विषाद, अवषादको समस्या बढ्दै जान्छ र जीवन शारीरिक तथा मानसिक दुवै किसिमले कष्टकर हुदै जान्छ । 


पृथ्वी तत्व कम सक्रिय हुदा हुने मानसिक अस्वस्थता

पृथ्वी तत्व कम सक्रिय हुदा शरीरमा पोषण, भिटामिन तथा खनिज पदार्थहरुको कमी हुन्छ; शारीरिक बलमा कमी तथा कमजोरीपन आउछ; अति दुब्लोपन, रक्तअल्पता, हेमोग्लोविनमा कमी आउछ; हड्डी तथा मांसपेसीहरु कमजोर हुन्छन्; आलस्यता तथा थकानको अनुभव भैरहन्छ; मांसपेसी तथा पुरै शरीरमा दुखाईको अनुभव हुनछ; हर्नियाको समस्या हुनु, बालबालिकाहरुको शारीरिक विकासमा अवरोध हुन्छ; अंगहरुको सामान्य वृद्धि विकासमा अवरोध आउछ; शरीरको अस्वाभविक आकार तथा पुड्कोपन हुन्छ; कपाल झर्ने, फुल्ने, नंग फुल्ने, भाँचिने तथा नंगको सतह उबडखावड हुन्छ; शरीरको रोग प्रतिरोधात्मक क्षमता क्षिण हुन्छ र वाहिरका सरुवा रोगहरुको प्रकोपले सताउछ ।

शरीरमा पंचतत्व सन्तुलन गर्ने सबै भन्दा प्रभावकारी उपाय व्यवस्थित जीवनशैली तथा तीन ‘र’ आहार–विहार–विचारमा सन्तुलनता, र तीन ‘स’ सतसंग–साधना–सेवामा सन्तुलनता ल्याउनु हो । 

                                                               शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...