#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
६४.सवाल
सनातन धर्म विज्ञान अन्तर्गत के–के विषयहरु पर्दछन् ?
जवाफ
सनातन धर्म विज्ञानको पृष्ठभूमि
प्राचीन भाषा संस्कृत वांगमयको वजनदार शव्द धर्म वास्तविकतामा अध्यात्मकै पर्यायवाची शव्द हो भन्दा फरक पर्दैन किनकी सनातन अध्यात्म विज्ञान र सनातन धर्म विज्ञान दुवै महान विद्याको मूल उद्देश्य मनुष्यलाई परमात्मामा योगस्थ गराएर मोक्ष तथा निर्वाणमा उपलव्ध गराउनु हो र सनातन धर्म विज्ञान अन्तर्गत समग्र मानवीयता तथा सर्वकल्याणका सबै कर्महरु पर्दछन् । धर्म शव्दको भावार्थ मानवीयता हो, मानव त्यो हो जसले आफू लगायत सबैको हित गर्ने तथा सबैलाई सक्दो धेरै सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्ने उद्देश्यले सर्वकल्याण हुने दया, करुणा, सेवा, दान, पुण्यका सतकर्महरु र अध्यात्म साधना तथा योग–ध्यान साधनाका विधि तथा पद्धतिहरुको अनुशरण गरेर आफ्नो स्थुल शरीर र सुक्ष्म शरीर शुद्ध गर्दै स्वास्थ्य, शरीर र समग्र जीवनका सबै आयामहरु अर्थात सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर आफूलाई परमात्मा साक्षातकारको मार्गमा अग्रसर तथा समर्पित गर्दछ । यहीनै मानव धर्म मानवीयता हो र हरेक मनुष्यको नैसर्गिक गुण तथा उसको प्राकृतिक स्वभाव पनि यही हो जुन उसले जन्मदै लिएर आएको हुन्छ किनकी सबै मनुष्यका चेतनाहरु मर्त्यलोक(पृथ्वी ग्रह)मा जिवात्माका रुपमा आउदा तथा जन्म लिदा उसले त्यस जन्मभरि आफूले गर्ने तथा गर्नुपर्ने सबै सर्वकल्याणका कर्महरु, आफूले चुक्तारा गर्नुपर्ने कर्मबन्धनका कर्महरु र परमात्मा साक्षातकारका लागि उसले गर्ने तथा गर्नुपर्ने साधनाका कर्महरु आफैंले तय गरेर आफ्नै निर्णयमा विशेष लिंग, रंग, परिवार, समाज, समुदाय, सम्प्रदाय, राज्य तथा भूगोलमा अवतरित भएको तथा जन्म लिएर आएको हुन्छ र उसको चेतनाले उसलाई जीवनभर बारबार ती कर्महरु गर्न झकझकाइरहेको हुन्छ ।
सनातन अध्यात्म शव्दको हुबहु अर्थ लाग्ने अंग्रेजी शव्द नभए जस्तै सनातन धर्म शव्दको पनि हुबहु अर्थ लाग्ने अंग्रेजी शव्द छैन । केही शताव्दी यता अंग्रेजीको रिलिजन शव्दलाई धर्मको अर्थमा प्रयोग गर्दै आइएको छ तर रिलिजन शव्दको अर्थ धर्म नभएर सम्प्रदाय हो– हिन्दु, बौद्ध, जैन, यहुदि, इसाइ, इस्लाम, शिख आदि जसले एउटा निश्चित वर्ग, समुह तथा समुदाय र तिनीहरुले मान्दै आएका संस्कार, संस्कृति, कर्मकाण्ड, परम्परा, रहनसहन, रीतिरिवाज, खानपान तथा यी गतिविधिहरुसंग सम्वन्धित मूल्य र मान्यताहरुलाई प्रतिनिधित्व गर्दछ । तर धर्म सर्वव्यापक(युनिभर्सल) तथा सबैकालागि एक समान हुन्छ अर्थात समुदाय तथा सम्प्रदाय अनुसार धर्मको अर्थ तथा परिभाषा बद्लीदैन यो गर्नुपर्छ, यो गर्नु हुदैन, यसरी गर्नुपर्छ, यसरी गर्नु हुदैन आदि किनकी धर्म हरेक मनुष्यले आफ्नो जीवनकालमा आफ्नो र अरुको भलाईका लागि गर्नुपर्ने तथा नगरिनहुने उसका कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारीहरु हुन् जुन मानवीयता तथा सर्वकल्याणका कार्यहरु अन्तर्गत पर्दछन् ।
सम्प्रदायलाई किन र कसरी धर्म मान्न थालियो
धर्मको केन्द्रिय भाव हरेक मनुष्यले आफ्नो जीवनका सबै आयामहरुलाई हरप्रकारले सरल, सहज, सन्तुलित तथा व्यवस्थित बनाउन अपनाउनुपर्ने सहि आचरण, व्यवहार, अनुशासन, नैतिकता तथा कर्तव्यपरायणता र यी अवस्थाहरुलाई हासिल गर्न नलडखडाएकन हिड्नु पर्ने मूलमार्ग हो । मनुष्यले आफू जन्मेर हुर्कने क्रममा आफूले अनुशरण गर्दै आइरहेको सम्प्रदाय(रिलिजन)ले अवलम्वन गर्दै आइरहेका संस्कार, संस्कृति, कर्मकाण्ड, परम्पराका मूल्य मान्यताहरुले मनुष्यलाई धर्मको मूलभाव मानवीयताका मूल्य-मान्यताहरुलाई अनुशरण गर्दै धर्मको मूलमार्गमा हिड्न सहयोग गर्दछन्, प्रेरित गर्दछन् तथा सिकाउछन् । समुदाय तथा संप्रदायहरुले सबैको हित तथा सर्वकल्याणको भावलाई केन्द्रमा राखेर लामो समयको सांस्कृतिक तथा संस्कारिक अभ्यासपछि सबैकालागि उपयुक्त हुने सामाजिक तथा सांस्कृतिक मुल्य-मान्यता पाइसकेका संस्कार तथा संस्कृतिहरुको माध्यमबाट धर्मका नियमहरुको पालना गर्न सक्ने भएकोले विस्तारै सम्प्रदायका मूल्य-मान्यताहरुलाई र सम्प्रदायलाईनै धर्मको रुपमा र धर्मलाई सम्प्रदायको पर्यायवाचीको रुपमा बुझ्न थालियो, यही बुझाइ व्यापक रुपमा गरिदिदै गयो, पुस्तानतरण हुदैहुदै जाने क्रममा यही मान्यता स्थापित भयो तथा स्थापित गराइयो र मानवीयता तथा सर्वकल्याणका लागि गरिने सतकर्महरुको प्रधानता रहदै आएको आध्यात्मिकताको पर्यायबाची धर्म तथा धार्मिकतालाई साम्प्रदयिकताको पर्यायवाची बनाइयो तथा यही प्रकारले बुझाइयो मानव सभ्यता विकासका क्रममा आएका नयाँ पुस्ताहरुलाई र यो बुझाइले यति गहिराई, यति उचाई र फैलाई लियोकि त्यति सजिले धर्म र सम्प्रदाय तथा धार्मिकता र साम्प्रदायिकतालाई पर्यायवाची ठान्ने समुदायहरुलाई धर्म र सम्प्रदाय अलग भाव भएका विषयहरु हुन्, धर्म तथा धार्मिकता साम्प्रदायिकताको पर्यावाची नभएर आध्यात्मिकताको पर्यावाची हो भन्ने शाश्वत ज्ञान बुझाउन मुस्किल भयो र यसप्रकार धर्म शव्द र धर्मको अर्थ तथा भाव सम्प्रदाय तथा साम्प्रदायिकताको अतिक्रमणमा पर्यो तथा धर्म शव्दलाई हाइज्याक गरियो । धर्म तथा धार्मिकता अध्यात्म तथा आध्यात्मिकताको पर्यायवाची किन हो भने वास्ताविकतामा अध्यात्म साध्य तथा अन्तिम गन्तव्य(परमात्मा साक्षातकार) हो जहाँ मनुष्य हरहालमा पुग्नुपर्नेछ कुनैनकुनै जन्ममा र धर्म पनि साध्य(परमात्मा साक्षातकार) हो जहाँ मनुष्य हरहालमा पुग्नुपर्नेछ कुनैनकुनै जन्ममा र सम्प्रदाय तथा यस अन्तर्गतका संस्कार, संस्कृति, कर्मकाण्ड(देवकार्य, पित्रीकार्य), परम्परा, चालचलन, रहनसहन तथा यी गतिविधिहरु अन्तर्गत रहेका मुल्य-मान्यताहरु साधन हुन् जसले मनुष्यलाई धर्मको मार्गमा हिड्न तथा धर्ममा स्थित गराउन मद्धत गर्दछन् र साध्य तथा अन्तिम गन्तव्य परमात्मा साक्षातकारमा पुर्याउन मद्धत गर्दछन्, उदाहरणका रुपमा जसरी हामीलाई कुनै निश्चित स्थानमा पुग्नु पर्नेछ र त्यहाँ पुग्नकालाथि हामीले सवारी साधनको प्रयोग गर्दछौं, यस उपमा अनुसार पुग्नुपर्ने स्थान परमात्मा साक्षातकार हो र त्यहाँसम्म पुर्याउने बाटा तथा राजमार्गहरु धर्म र अध्यात्म साधना हुन् र पुग्न मद्धत गर्ने सवारी साधनहरु सम्प्रदायहरुले अनुशरण गर्दै आइरहेका संस्कार, संस्कृति र तिनका मूल्य-मान्यताहरु हुन् । सारमा भन्नुपर्दा गन्तव्य; राजमार्ग; सवारी अर्थात परमात्मा साक्षातकार; अध्यात्म तथा धर्म; संस्कार तथा संस्कृतिहरु ।
मनुष्यले अनुशरण गर्नुपर्ने धर्मका प्रकार
सनातन अध्यात्म विज्ञानका सबैजसो महान ग्रन्थहरुमा मनुष्यको धर्म तथा मनुष्यले मानव भएर अनुशरण गर्नुपर्ने आचरणहरु तथा मानव भएर निर्वाह गर्नुपर्ने कर्तव्य, उत्तरदायित्व तथा अनिवार्य जिम्मेदारीहरुका बारेमा अत्यन्तै गहन ढंगले व्याख्या तथा विश्लेषण गरिएका छन् र यी शास्त्रहरुमा हरेक मनुष्यले मानव भएर पालना गर्नुपर्ने प्रमुख पाँच प्रकारका धर्महरु निर्धारण गरिएका छन्– (१)आफूप्रतिको धर्म, (२)परिवारप्रतिको धर्म, (३)समाजप्रतिको धर्म, (४)भूमि तथा प्रकिृतिप्रतिको धर्म, र (१)परमात्माप्रतिको धर्म । मनुष्यलाई उत्कृष्टतम जीवन जिउन सिकाउने सनातन शास्त्रहरुमा हरेक मनुष्यले आफूप्रति गर्नुपर्ने धर्मलाई सबैभन्दा विशेष र प्रमुख मान्यता प्रदान गरिएको छ र सबै धर्महरुको गणनामा ८० प्रतिशत भार आफूप्रतिको धर्म पालनालाई नै मानिएको छ किनकी मनुष्यले आफू तथा आफ्ना समग्र आयामहरुलाई बुझेपछि सबैलाई बुझ्न सक्षम हुन्छ, सबैको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतना तथा जीवनको संरचना पनि उस्तै आफ्नै जस्तो रहेको थाहा पाउछ । मनुष्यमा समग्रतामा आफूले आफूलाई र आफू भन्दा वाहिरका सबैलाई बुझ्न सक्ने अवस्था धर्मको मार्गमा हिडेर मात्र प्राप्त गर्न सक्दछ र धर्मको मार्गमा हिड्न मनुष्यलाई सम्प्रदायहरुले अनुशरण गर्दै आइरहेका संस्कार तथा संस्कृतिका मूल्य-मान्यताहरुले सहयोग प्रदान गर्दछन् निश्चित दिशा तथा मार्गदर्शन निर्देश गरेर । धर्मको मार्गमा हिडेको मनुष्यले पुरै सृष्टिका प्राणी र आफूलाई समान ठान्दछ सबैमा आफूलाई र आफूलाई सबैमा देख्दछ, उभित्र सदभाव तथा समभावको विकास हुन्छ र यहीनै परमात्मा साक्षातकारको मार्ग हो, अध्यात्म तथा धर्मको मूल भावको पालना हो र मोक्षमा उपलव्ध हुन आवश्यक पर्ने पात्रताको विकास हो ।
छिट्टै,
सनातन अध्यात्म विज्ञान, धर्म विज्ञान, संस्कृति विज्ञान अन्तर्गत के–के विषयहरु पर्दछन् ?
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment