Saturday, 21 February 2026

चेतना चैतन्य भएपछि ब्रम्हाण्डको अन्तिम सत्य अन्तरज्ञानमा आउछ

डा. सिर्जना भण्डारी         

                                  #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

७०.चेतना चैतन्य भएपछि ब्रम्ह ब्रम्हाण्डको अन्तिम सत्य अन्तरज्ञानमा आउछ


मनुष्यको पुरै जीवननै योग हो र उसले जीवनभरि गर्ने सबैप्रकारका क्रियाकलापहरु साधना हुन् । योग-ध्यान साधनाको माध्यमबाट हासिल गरिएको कुण्डलिनी उर्जा तथा जीवन उर्जा क्रमशः तहगत रुपमा मनुष्यका शरीरका आयामहरु तथा सुक्ष्म शरीरमा स्थित ब्रम्हाण्डिय उर्जाका मूलकेन्द्र प्रमुख ७ चक्रहरु (मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)मा तलका चक्रहरुलाई भेदन गर्दै क्रमशः उर्ध्वगमन भएर आज्ञा चक्रमा पुगेपछि मनुष्यको आत्मा अर्थात चेतनाको विकास हुन प्रारम्भ हुन्छ र चेतना एक निश्चित अवस्थामा अवतरित भएपछि उसको चेतना चैतन्यतामा उपलव्ध हुन्छ . मनुष्यको चेतना चैतन्यतामा उपलव्ध भएपछि ब्रम्ह र ब्रम्हाण्डको अन्तिम सत्य उसको विवेकशील प्रज्ञा तथा अन्तरज्ञानमा आउन प्रारम्भ हुन्छ । उसलाई ब्रम्हाण्डका परालौकिक तथा पराभौतिक दिव्य रहस्यहरु ज्ञात हुन प्रारम्भ हुन्छ- ब्रम्ह अर्थात परब्रम्ह अर्थात परमात्मा र वहाँले सिर्जना गर्नुभएको सृष्टिकाबारे, सृष्टि कसरी बन्यो, किन बन्यो तथा बनाइयो, आफू को हो, अरु मनुष्य, प्राणी, वनस्पति तथा पदार्थहरु को हुन् र किन यस स्वरुपमा तथा अस्तित्वमा रहेकाछन् आदिबारे साश्वत सत्य अन्तरज्ञानमा आउछ ।


ब्रम्हाण्डको उत्पति निराकार परमात्माको करुणा अवतार हो

 

निराकार परमात्मा अर्थात सदाशिवका आकार स्वरुप भगवान शिव अर्थात देवहरुका पनि देव देवादीदेव महादेव र जगज्जननी माता पारवतीको शुभविवाहको अवसरमा भगवान श्रीहरी विष्णुले बडो श्रद्धापूर्वक वहाँहरुको वन्दना तथा स्तुति गर्नुभएको महामन्त्र कर्पूर गौरं करुणा अवतारंको मूलसारले यही पुष्टि गर्छ कि निराकार दिव्य ज्योतिस्वरुपमा स्थित रहनुभएका अव्यक्त तथा निर्गुण परमात्मा सदाशिव आकार स्वरुपमा भगवान शिव, देवादीदेव महादेव तथा संहार अर्थात नविनताका देवता महेश्वर करुणा अवतारका रुपमा प्रकट हुनुभएको हो वहाँका संन्तानहरुको पालनपोषण खातिर ब्रम्हाण्ड अर्थात ब्रम्हाण्डका सृष्टिहरुको मूलश्रोत पंचतत्व आकाश, वायु, अग्नि, जल, पृथ्वीका) रुपमा कणकणमा समान रुपले सर्बव्यापक भएर । ब्रम्हाण्डका हरेक प्राणी, वनस्पति तथा पदार्थहरुमा भगवान शिव पुरुष अर्थात परमात्मा अर्थात चेतना अर्थात उर्जा अर्थात सुक्ष्म शरीरको स्वरुपमा विराजमान हुनुभएको छ र भगवती पारवती अर्थात प्रकृति अर्थात पदार्थ अर्थात स्थुल शरीरको स्वरुपमा विराजमान हुनुभएको छ ।

 

कर्पूर गौरम करुणावतारं मंत्रको अर्थ

कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्।
सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि।।

कर्पूरगौरं- हे प्रभु ! हजूर कपूर समान कंचन सेतो तथा प्रज्वलित गोरो वर्णका निराकार सदाशिव स्वयं परमात्मा हुनुहुन्छ ।

करुणावतारं- हे प्रभु ! हजूर आफ्ना संन्ताहरुको हेरविचार तथा पालनपोषणका लागि निराकारबाट आकार स्वरुपमा करुणा अवतार लिएर अवतरित हुनुभएको

संसारसारं- हे प्रभु ! हजूर समुच्चा ब्रम्हाण्ड तथा संसारको मूलसार तथा प्रमुख श्रोत हुनुहुन्छ ।

भुजगेन्द्रहारम्- हे प्रभु ! हजूरले गलामा आफैंले सृष्टि गर्नुभएका आफ्नै सन्तान सर्पको हार अत्यन्तै प्रेमपूर्वक धारण गर्नुभएको

सदा बसन्तं हृदयारबिन्दे- हे प्रभु ! हजूर सदासवर्दा आफ्ना सन्तानहरुको अन्तरहृदयमा निवास गर्नुहुन्छ ।

भवं भवानी सहितं- हे प्रभु ! हजूर भवं र भवानी अर्थात शिव र शक्ति अर्थात पुरुष र प्रकृति अर्थात अर्धनारेश्वर स्वरुपमा आद्ययशक्ति भवानी सहित अवतरित हुनुभएको छ ।

नमामि- हे प्रभु ! यस्ता परम तथा दिव्य स्वरुपहरुले विभूषित रहनुभएका, निराकारबाट आकार हुनुभएका यस्ता परम करुणादायि, परम कृपालु अत्यन्तै सुन्दर, जगमग ज्योति समान हजूरलाई बारबार अन्तरहृदयबाट नमन अर्पण गर्दछु



सनातन अध्यात्म दर्शनका अनुसार प्रारम्भमा परमात्मा निराकार ज्योति तथा ज्योर्तिलिंग स्वरुपमा अव्यक्त, निर्गुण रुपमा एक्लै हुनुहुन्थो, सबैतिर अन्धकार(ब्ल्याकहोल) मात्र थियो तथा कतैपनि अन्धकारबाहेक केहीपनि थिएन । निराकार, अव्यक्त, निर्गुण स्वरुप एक्लो परमात्मालाई ‘एकोऽहं बहुस्याम ।’ ९छान्दोग्योपनिषद० अर्थात आफू एकबाट अनेक हुने इच्छा भयो र वहाँले आफ्नो रहस्यमय हिरण्य गर्भ(दि गोल्डेन वोम्ब)मा विज स्वरुपमा रहेका वहाँका सन्तानहरु हामी सबै प्राणी, वनस्पति तथा पदार्थहरुलाई आफ्नो हिरण्य गर्भबाट चमत्कारिक किसिमले सबैलाई एकैपटक वाहिर प्रकट गराउनु भयो तथा जन्माउनु भयो र यस ब्रम्हाण्डको सृष्टि गर्नुभयो । निराकार परमात्माले आफ्नो निराकार गर्भभित्र निराकार तथा सुक्ष्म विज स्वरुपमा रहेका हामी सबै प्राणी, वनस्पति तथा पदार्थहरुलाई वाहिर प्रकट गर्नुहुदा ती सबै आकार तथा गुण स्वरुपमा ग्रह, तारा, नक्षेत्र, प्राणी, वनस्पति, हिमाल, पहाड, नदि, माटो, चट्टान तथा पदार्थहरुका रुपमा अत्यन्तै विशाल आवाज तथा महाविष्फोट(विगव्यांग) र अत्यन्तै विशाल प्रकाश निकाल्दै स्थुल स्वरुपमा अभिव्यक्त भए । परमात्माले ब्रम्हाण्डको सृष्टि गर्नुहुदा निस्किएको त्यही विशाल आवाजनै प्रणव ध्वानि ॐकार नाद हो जो त्यसबेलादेखि आज पर्यन्त ब्रम्हाण्मा ॐ ध्वनिमा नित्य निरन्तर गुञ्जायमान भैरहेको छ परमात्माको नाद स्वरुपमा । ॐकार प्रणव ध्वनि अनआहद अर्थात बिना घर्षण गुञ्जिहरने प्रकृतिको छ, यो तथ्या प्रमात्र विज्ञान(क्वान्टम साइन्सले) पनि प्रमाणित गरिसकेको छ र ॐकार अनआहद प्रणव ध्वनि को तरंगलाई रेकर्ड समेत गरिसकेको छ , यसकारण परमात्मा नै ॐकार हुनुहुन्छ र ॐकारनै परमात्मा हुनुहुन्छ । ब्रम्हाण्डको सृष्टिसंगै निराकार परमात्माले ब्रमहाण्ड र यहाँस्थित प्राणी, वनस्पति तथा पदार्थहरुलाई सहि ढंगले संचालन तथा परिचालन गर्न एक अलग्ग नियम आफू स्वयंले नै एकसाथ प्रकट गर्नुभयो जसलाई आजपर्यन्त सनातन वेद(समग्र ज्ञान तथा विज्ञान)का रुपमा हामी पुज्दै, मान्दै र जान्दै आइरहेका छौं । यसकासाथै निराकार परमात्माले ब्रमहाण्ड र यहाँस्थित सबै प्राणी, वनस्पति तथा पदार्थहरुलाई सहि ढंगले संचालन तथा परिचालन गर्नुका साथै तिनको प्रेमपूर्वक हेरविचार गर्न आफू स्वयं आकार तथा गुण स्वरुपमा अवतार पुरुष(परमात्मा) भएर युगयुगमा करुणा अवतारमा भगवान श्रीशिव तथा भगवती पारवतीमाता, भगवान श्रीराम तथा भगवती सितामाता, भगवान श्रीकृष्ण तथा भगवती राधामाता, तथा परमात्माका अन्य अवतारहरु र ३३ कोटी(प्रकार) देवी, देवताका रुपमा प्रकट हुदै आउनु भयो तथा आइरहनु भएको छ र परम करुणा स्वरुप हामी सबैको सर्वकल्याण गरिरहनु भएकोछ ।  



यसप्रकार मनुष्यको चेतना विकसित भएर चैतन्यतामा अर्थात परमचेतना(सुपरकन्सस)मा उपलव्ध भएपछि अर्थात परमात्मामा एकाकार तथा योगस्थ भएपछि निराकार परमात्मा, परब्रम्ह तथा ब्रम्हाण्डका नायक तथा सर्जक र ब्रम्हाण्डका सबै सृष्टिहरुका सबै परालौकिक तथा पराभौतिक, रहस्यमय, चमत्कारिक तथा दिव्य ज्ञान तथा विज्ञानहरु र आफ्ना संन्तानहरुको पालन तथा हेरविचारका खातिर परमात्माले धारण गर्नुभएको करुणा अवतार तथा भगवान, भगवती, देवी, देवता, योगी, सन्त, सदगुरुहरुको अवतरण आदिबारे सम्पूर्ण ज्ञानहरु मनुष्यको अन्तरज्ञान तथा उसको विवेकशील प्रज्ञामा स्वस्फुर्त रुपमा प्रकट हुन्छ र उ बुद्धत्वमा उपलव्ध हुन्छ । 



छिट्टै, 

 शिवोहम् योगपीठ

No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...