Sunday, 8 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ५४

               #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

अवटु ग्रन्थि  मनुष्यको स्वास्थ्यशरीर तथा जीवनमा यसको भूमिका

जवाफ

अवटु ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका

मनुष्यको शारीरिक शरीरको गलामा रुद्रघण्टी र श्वास फेर्ने नलिको नजिक विशुद्धि चक्रको क्षेत्रमा स्थमसको माध्यमबाट एकआपसमा जोडिएका दुई वटा पिंड(लोव) भएको पुतली आकारको अवटु ग्रन्थि तथा थाइरोइड ग्ल्याण्ड स्थित रहेको हुन्छ । करिव २५ ग्राम तौल रहेको थाइरोइड ग्रन्थि अन्तः श्राबित ग्रन्थिहरु मध्य आकारमा सबैभन्दा ठूलो ग्रन्थि हो । थाइरोइड ग्रन्थिमा रहेका टाइरोसिन र आयोडिन तत्वको मद्धतबाट ३ प्रकारका हर्मोन्स उत्पादन हुन्छन्– (१)थाइरोग्जिन तथा टी४, (२)ट्राइ–आयो–थाइरोनिन तथा टी३, र (३)क्यासिटोनिन । यी हर्मोन्सको उत्पादनमा खाने नुन तथा ताजा तरकारीहरुमा पाइने नुनिलो तत्व आयोडिनको महत्वपूर्ण भुमिका रहेको हुन्छ । थाइरोइड ग्रन्थिले रगतबाट आफूलाई आवश्यक पर्ने नुनिलो तथा आयोडिन तत्व सोसेर लिन्छ र त्यसको उपयोग गरेर माथि उल्लेखित तीन प्रकारका हर्मोन्सको निर्माण गर्दछ । थाइरोइड ग्रन्थिबाट उत्पादन हुने थाइरोग्जिन तथा टी४ हर्मोन निस्क्रिय अवस्थामा रहन्छ र ट्राइ–आयो–थाइरोनिन तथा टी३ सक्रिय अवस्थामा रहन्छ । थाइरोइड ग्रन्थिबाट उत्पन्न हुने ८० प्रतिशत थाइरोग्जिन हर्मोन टी४ मा हुन्छ र टी४ नै पछि गएर तथा आवश्यता परेको अवस्थामा टी३मा रुपान्तरण हुन्छ कलेजो र मृगौलाका कोषिकाहरुको माध्यमबाट ।  


थाइरोइड ग्रन्थिले शरीरमा काम गर्ने प्रक्रिया

शरीरका सबै कोषिकाहरुमा ट्राइ–आयो–थाइरोनिन तथा टी३ हर्मोनको उपस्थिति रहेको हुन्छ किनकी टी३ हर्मोन शरीरको अत्यन्तै महत्वपूर्ण उर्जा हो । जव कोषिकाहरुमा टी३ तथा उर्जाको कमी हुन्छ तव यसले मस्तिष्कमा रहेको पुरै शरीरको नियन्त्रण गर्ने मूल ग्रन्थि हाइपोथलामस ग्रन्थि(मास्टर ग्ल्याण्ड)मा यो खवर पुर्याउछ केमिकल न्युरो ट्रान्समिरटर(ग्रन्थीरस अर्थात हर्मोन्स)को माध्यमबाट, यसपछि हाइपोथलामस ग्रन्थिले टी.आर.एच हर्मोन उत्पन्न गरेर पिटियोटरी ग्रन्थिलाई सूचना पुर्याउछ र पिटियोटरी ग्रन्थिले टी.एस.एच हर्मोन उत्पन्न गरेर थाइरोइड ग्रन्थिमा पुर्याउछ र थाइरोइड ग्रन्थिलाई टी३ र टी४ निर्माण गर्न सूचना प्रदान गर्दछ तथा आदेश दिन्छ र थाइरोइड ग्रन्थिले टी३ र टी४को निर्माण कार्य प्रारम्भ गर्दछ । थाइरोइड ग्रन्थिबाट उत्पन्न हुने टी३ र टी४ हर्मोन्सले शरीरमा निम्न प्रकारका महत्वपूणए कामहरु गर्दछन्– 

(१)शरीरको चयापचय(मेटाबोलिजम) क्रिया तथा प्रक्रियाहरु घटाउन र बढाउन तथा तोडफोड र निर्माण गर्न मद्धत गर्दछ जसलाई आयुर्वेद चिकित्सामा अष्टधातु बन्ने क्रिया तथा प्रक्रिया भनिन्छ अर्थात शरीरमा रहेका पौष्टिक तत्वहरु जस्तो कार्बोहाइड्रेडलाई तोडफोड गरेर त्यसबाट ग्लोकोज निर्माण गर्नु, प्रोटिनलाई तोडफोड गरेर एमिनो एसिड निर्माण गर्नु आदि । शरीरको मेटाबोलिजम प्रक्रिया अन्तर्गत निर्माणको काम इन्सुलिन हर्मोन र ग्रोथ हर्मोनले गर्दछन् भने तोडफोड तथा नष्ट गरेर नयाँ कुरा निर्माण गर्ने काम थाइरोग्जिन हर्मोन तथा विशेषगरि शरीरका कोषिकाहरुमा रहेको ट्राइ–आयो–थाइरोनिन तथा टी३ ले गर्दछ;

(२)शरीरको सन्तुलित वृद्धि तथा विकासमा मद्धत गर्दछ; 

(३)मस्तिष्कको विकास गर्न खासगरि आमाको गर्भमा रहेको भू्रणको मस्तिष्कको तिब्र गतिमा विकास गर्न मद्धत गर्दछ; 

(४)मुटुको धड्कन बढाएर आवश्यक संख्या पुर्याएर सन्तुलित रहन र मुटुको शरीरमा ताजा रक्त प्रवाह तथा धमनीहरु(आर्टरीज)मा रगत पठाउने प्रवाहमा सन्तुलन राख्न मद्धत गर्दछ; 

(५)अवस्था र मौसम अनुसार शरीरको तापक्रम सन्तुलनमा राख्न मद्धत गर्दछ; 

(६)रक्तचाप सन्तुलनमा सन्तुलनमा राख्न मद्धत गर्दछ; 

(७)प्रोटिन निर्माण र यसको संश्लेषण(सिन्थेसिस)मा मद्धत गर्दछ; 

(८)शरीरका कोष तथा मांसपेसीहरुको सन्तुलित वृद्धि, विकासमा मद्धत गर्दछ; 

(९)क्यासिटोनिनले रगतमा आवश्यकता भन्दा बढि क्यालसियमको तह बढ्न नदिएर तथा मात्रा कम गरेर क्यालसियमको मात्रामा सन्तुलन कायम राख्न मद्धत गर्दछ । हड्डीको घनात्व(डेनसिटी) बढाउछ, सन्तुलित विकास गर्छ, हड्डीलाई मजबुत रहिरहन मद्धत गर्दछ र हरप्रकारले संरक्षण प्रदान गर्दछ । 


प्यारा थाइरोइड ग्रन्थि र पि.टि.एच. हर्मोन

थाइरोइड ग्रन्थिका पिंडसंगै ४ वटा प्यारा–थाइरोइड ग्रन्थिहरु रहेका हुन्छन्, प्यारा थाइरोइड ग्रन्थिबाट प्यारा थाइरोग्जिन तथा पि.टी.एच. हर्मोन उत्पादन हुन्छ र यसको मुख्य काम रगतमा क्यालसियम र शरीरमा फस्फोरसको मात्रा सन्तुलन गर्नु रहेको हन्छ । थाइरोइड ग्रन्थि तथा अरु सबै ग्रन्थिहरु शरीरमा बन्ने सबै हर्मोन्स शिरमा रहेको पिटियोटरी तथा पियूस ग्रन्थिको नियन्त्रणमा रहेका हुन्छन् तर प्यारा थाइरोइड ग्रन्थि तथा प्यारा थाइरोग्जिन हर्मोन पिटियोटरी ग्रन्थिको नियन्त्रणमा रहेको हुदैन ।


थाइरोइड ग्रन्थिबाट उत्पन्न हुने हर्मोन्स कम तथा बढि र प्रभाव

शरीरमा टी३ र टी४ को मात्रा असन्तुलन भयो तथा कमी भयो भने हाइपोथलामस ग्रन्थिबाट उत्पन्न हुने टी.आर.एच र पिनियल ग्रन्थिबाट उत्पन्न हुने टी.एस.एच बढ्छ र टी.आर.एच र टी.एस.एच घट्दा टी३ र टी४ बढ्छ, यिनीहरुमा विपरित सम्वन्ध रहेको हुन्छ । यदि शरीरमा टी३ हर्मोनको उत्पादन कम भयो भने उर्जाको प्रवाहमा असन्तुलन आउछ र यसको परिणाम स्वरुप सुस्ती, आलस्य, मोटोपन हुने, मुटुको धड्कनमा कमी, रक्तचापमा कमी, रक्तसंचारमा असन्तुलन, त्वचामा रुखोपन तथा चाउरी, कपाल सुख्खाहुने जस्ता समस्याहरु आउछन्, महिलाहरुमा रजश्वलामा गडबडी हुने, गर्भ नरहने तथा गर्भ नअडिने समस्या हुन्छन् र यो अवस्थालाई हाइपो थाइरोडिजमको बिमारी भनिन्छ । शरीरमा टी३ हर्मोनको उत्पादन बढ्यो भने बिनाकारण डराउने, भित्रैदेखि हात गोडा काम्ने, बेचैन हुने तथा आत्तिने, मुटुको धड्का बढ्ने, उच्च रक्तचाप हुने, दुब्लो हुने, हाइपर टेन्सन हुने, आँखा वाहिर निस्कने, अटो इम्युन डिजिजको समस्या हुने, पसिना आउने, महिलाहरुमा रजश्वलामा गडबडी हुने, गर्भ नरहने तथा गर्भ नअडिने समस्या हुन्छन् र यो अवस्थालाई हाइपर थाइरोडिजमको बिमारी भनिन्छ । प्यारा थाइरोग्जिन हर्मोनमा कमी तथा असन्तुलन आयो भने शरीरमा क्याल्सियमको कमी हुन्छ र क्याल्सियमको कमीले शरीरका आन्तरिक र वाहिय अंगहरुको वृद्धि सुस्त हुन्छ तथा रोकिन्छ । मोटामोटी रुपमा थाइरोइड ग्रन्थिसंग सम्वन्धित ३ प्रकारका बिमारीहरु बढि देखिने गरेको पाइन्छन्– (१)टाइरोसिन र आयोडिनको कमीले घाँटीमा गलगाँड आउछ युवा उमेर पश्चात किनकी सानो उमेरमा टाइरोसिन र आयोडिनको कमीले गलगाँड आउदैन, प्राय बच्चामा सुस्त तथा मन्द वुद्धि, लठेप्रो, ग्वांग्रो तथा अस्वाभिक मोटो हुने समस्या तथा अस्वस्थताहरु देखा पर्दछन्; (२)हाइपो तथा हाइपर थाइरोडिजम हन्छ; र (३)क्यालसियमको कमी तथा असन्तुलनका कारण शरीरको स्वाभाविक वृद्धि, विकास रोक्निछ र यसबाट अनेक प्रकारका सास्या तथा अस्वस्थताहरु देखा पर्दछन् ।  


हरेक मनुष्यको स्वास्थ्य तथा शरीरका गतिविधिहरु सन्तुलित बनाउनमा थाइरोइड ग्रन्थिबाट उत्पन्न हुने सबै हर्मोन्स र विशेष गरि टी३ हर्मोनको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ किनकी यसमा आउने सामान्य असन्तुलनले सम्पूर्ण शरीरका आन्तरिक गतिविधिहरुमा असन्तुलन आउछ र यसको प्रत्यक्ष नकारात्मक प्रभाव पूरै स्वास्थ्य तथा शरीरमा देखा पर्दछ । यस्ता प्रकारका असन्तुलनका कारण स्वास्थ्य तथा शरीरमा आइपर्ने समस्या तथा अस्वस्थताका अवस्थाहरुलाई योग–ध्यानका प्रयोगात्मक अभ्यासहरु गरेर, जीवनशैली सुधारेर तथा सक्दो सात्विक बनाएर, शरीरको उर्जाका प्रमुख केन्द्र विशुद्धि चक्र, विज्ञानमय कोषहरु, आकाश तत्वहरुलाई सन्तुलित, सक्रिय तथा जाग्रित गरेर थाइरोइड र प्याराथाइरोइड अन्तः श्राबित ग्रन्थिहरुलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित गरेर आफ्नो स्वास्थ्य, शरीर र समग्र जीवनलाई सहज, सरल तथा विकसित बनाउन सकिन्छ ।


छिट्टै,

चक्षु ग्रन्थि र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनमा यसको भूमिका


                                                                शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...