Thursday, 19 February 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ६३

                                          #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

६८.सवाल
ब्रम्हाण्डका सबै चिजवस्तुहरु चैतन्य छन् 

जवाफ

सनातन अध्यात्म विज्ञानका अनुसार ब्रम्हाण्डमा जम्मा दुईवटा महाशक्तिहरु रहेका छन्– (१)उर्जा अर्थात इनर्जी अर्थात पुरुष अर्थात चेतना अर्थात सुक्ष्म शरीर, र (२)पदार्थ अर्थात म्याटर अर्थात प्रकृति अर्थात भौतिक शरीर । ब्रम्हाण्डका यी दुई महाशक्ति पंचतत्व(आकाश, वायु, अग्नि, जल, पृथ्वी)को समिश्रणबाट निर्माण भएकाछन् । उर्जा र पदार्थ अर्थात पुरुष र प्रकृतिको बनाबटलाई आधार मानेर पंचतत्वहरुलाई पनि दुई रुवरुपमा विभाजित गरेर बुझिएको तथा बुझाइएको छ । आकाश तत्व सबै तत्वहरुको मूलश्रोत तथा मूलतत्व रहेको र यो निराकार, अनन्त र अत्यन्तै रहस्यमयि तत्वको रुपमा रहेको छ, आकाश तत्व वाँकी चार तत्वहरुको मूलआधार हो, यी चार तत्वहरु आकाश तत्वमै अडिएका छन् तथा सबै तत्वहरु आकाश तत्व अन्तर्गत पर्दछन् । आकाश तत्वलाई नै सबैको सार, मूलश्रोत तथा अन्तिम सत्य अर्थात निराकार परमचेतना अर्थात परमात्मा अर्थात इश्वर अर्थात पुरुषका रुपमा मानिएको छ र अरु तत्वहरु यही अदृश्य आकाश अर्थात निराकार परमचेतना अर्थात परमात्मा अर्थात इश्वर अर्थात पुरुषको आकार स्वरुप प्रकृति अर्थात ब्रम्हाण्डको रुपमा मानिएको छ । समुच्चा ब्रम्हाण्डका सृष्टिहरु अर्थात प्राणी, वनस्पति तथा पदार्थहरु सबै यिनै दुई महाशक्ति उर्जा अर्थात आकाश तत्व अर्थात परमचेतना अर्थात पुरुष र चारतत्व अर्थात पदार्थ अर्थात प्रकृतिको समिश्रणबाट निर्मित भएकाछन् सुक्ष्म शरीर(चेतनात्मक शरीर) र स्थुल शरीर(भौतिक शरीर)का रुपमा स्थुल तथा भौतिक शरीरको निश्चित आयु लिएर अदा अमर रहने सुक्ष्म तथा चेतनात्मक शरीका रुपमा । सनातन अध्यात्म विज्ञान र प्रमात्रा भौतिक विज्ञान दुवैका प्रामाणिक तथ्यांकहरुका अनुसार ब्रम्हाण्डमा स्थित सबै प्राणी, वनस्पति तथा पदार्थहरु चैतन्य छन् आ–आफ्नो प्रकारले, सबैसंग स्थुल अर्थात भौतिक शरीरको समवेदनाहरु र सुक्ष्म अर्थात चेतनात्मक शरीरको भावका तरंगहरु सुन्ने तथा बुझ्ने, अभिव्यक्त गर्ने, अनुभव तथा अनुभूति गर्ने क्षमताहरु रहेका हुन्छन् आ–आफ्नो प्रकारले । सबैले पिडाका, खुशीका, प्रेमका, प्रशंशाका, धन्यवाद भावबाट फैलिएका उर्जाका तरंगहरु अनुभव तथा अनुभूति गर्दछन् र सोही भाव तरंग अनुरुप व्यक्त पनि गर्दछन् । तर सबै मनुष्यहरुले ब्रम्हाण्डमा स्थित अन्य प्राणी, वनस्पति तथा पदार्थहरुको चेतनाको भाव सुन्न, बुझ्न, अनुभव तथा अनुभूति गर्न सक्दैनन्, अध्यात्म साधना तथा योग–ध्यान गर्ने योगी, सन्त, भिक्षुहरु जसले योग–ध्यान साधनाको माध्यमबाट आफ्नो चेतनालाई परमचेतना अर्थात चैतन्नय चेतनामा एकाकार गराइसकेका हुन्छन् उनीहरुले सहजै ब्रम्हाण्डमा रहेका अरु प्राणी, वनस्पति तथा पदार्थहरुको चेतनाको भाव स्पष्ट रुपमा सुन्न, बुझ्न, अनुभव तथा अनुभूति गर्न सक्दछन् र त्यसै अनुसार आफ्नो अभिव्यक्ति तथा प्रतिक्रिया उनीहरुलाई फर्काउन पनि सक्दछन् । यो विषयलाई सनातन अध्यात्म विज्ञानका वैज्ञानिक अध्ययन तथा खोजका तथ्यांकहरु र प्रमात्रा भौतिक विज्ञानका वैज्ञानिक अध्ययन तथा खोजका तथ्यांकहरु दुवैले प्रमाणित गरेकाछन् स्पष्टताका साथ नतिजाहरु सार्वजनिक गरेकाछन् कि ब्रम्हाण्डमा भएका सबै चिजवस्तु तथा तत्वहरु चैतन्य अर्थात चेतनशील छन् । 


अध्यात्म विज्ञानले दशौंहजार वर्षअघिदेखि नै ब्रम्हाण्डका सबै चिजवस्तुहरु तथा तत्वहरु चैतन्य तथा चेतनशील छन् भन्ने प्रामाणिक तथ्यहरु उजागर गरिसकेको छ र सनातन अध्यात्म विज्ञानको यिनै तथ्यहरुलाई पछिल्लो समय पूर्णतः वैज्ञानिक मूल्य–मान्यताहरुमा आधारित रहेर आधूनिक भौतिक विज्ञानले विभिन्न प्राणी, वनस्पति तथा पदार्थहरुमाथि गरेका तथ्यांकहरुले पनि यस्तै नतिजाहरु उजागर गरेका छन् । यी तथ्यांकका नतिजाहरुका अनुसार सबै प्राणी, वनस्पति तथा पदार्थहरुसंग पनि उनीहरुको स्थुल शरीरको साथसाथ सुक्ष्म शरीर अर्थात चेतनात्मक शरीर रहेको हुन्छ र तिनले हामी मनुष्यहरुले व्यक्त गरेका शव्द तथा शरीरका हाउभाउहरु नबुझे पनि हाम्रा सकारात्मक तथा नकारात्मक भावका तरंगहरु आफ्नै प्रकारले सुन्छन्, बुझ्छन्, अनुभव गर्छन् र आफ्नै प्रकारले अभिव्यक्त पनि गर्दछन् । यस सन्दर्भमा पछिल्लो समय पानीमा गरिएका वैज्ञानिक अध्ययनका धेरै नतिजाहरु सार्वजनिक भएका छन्; वनस्पतिहरुमा गरिएका वैज्ञानिक अध्ययनका धेरै नतिजाहरु पनि सार्वजनिक भएका छन्; साथै आफूले दैनिक रुपमा प्रयोग गर्ने दारी काट्ने ब्लेड तथा मेसिनदेखि ठूला–ठूला साधन, उपकारण तथा यन्त्रहरु, शरीरमा लगाउने पहिरनहरुमाथि गरिएका वैज्ञानिक अध्ययनका धेरै प्रकारका नतिजाहरु सार्वजनिक भएका छन् ।


चैतन्यताको सन्दर्भमा गरिएको पुर्वीय वैज्ञानिक अध्ययनको नतिजा 

ब्रम्हाण्डमा सबै चैतन्य छ भन्ने सन्दर्भमा अन्य सामग्रीहरु पनि धेरै छन् तर सबैले थाहा पाउन तथा सजिलै बुझ्न सक्नेगरि श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तकको अध्ययाय आठमा श्रद्धेय योगीले वैज्ञानिकतामा आधारित रहेर अत्यन्तै सुक्ष्म तवरले जानकारी दिने प्रयास गर्नुभएको छ भारतीय वनस्पति विज्ञ तथा वैज्ञानिक श्री जगदीशचन्द्र बोसको वैज्ञानिक आविस्कार क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले देखाएका प्रामाणिक नतिजाहरु अन्तर्गत रहेर । यो सुक्ष्मसंवेदी तथा सुक्ष्मदर्शक यन्त्रले आश्चर्यजनक ढंगले ‘जड र चेतन’ पदार्थहरु अलग हुन् भन्ने सिमाना तोड्दछ र एकै हुन्, सबै जीवित छन्, सबैमा चेतना छ, कुनै भिन्नता छैन भन्ने मिलापका विन्दुहरु पुष्टि गर्दछ । यो वैज्ञानिक तथ्यांकले जीव, वनस्पति र पदार्थहरुलाई एकसमान नियम अन्तर्गत ल्याएको छ । यी सबैले निश्चित रुपले समान प्रकारले थकाइ, निराशा, सम्भावित आरोग्य लाभ, आनन्द, पिडावोध, प्रतिक्रिया, मृत्युका लक्षणहरु प्रदर्शन गर्दछन् । पुस्तकमा भनिएको छ,  

“वनस्पतिहरुमा पनि संवेदनशील स्नायुतन्त्र र विविध प्रकारका भावनात्मक समवेदनाहरु भएको जीवन हुन्छ । प्रेम, सुख, खुशी, आनन्द, डर, दुःख, घृणा, उत्तेजना, मोह तथा अन्य असंख्य भावनात्मक प्रतिक्रियाहरु वनस्पतिहरुमा त्यत्तिकै सत्यताकासाथ विद्यमान छन् जति जीवजन्तुहरुमा छन् ।”

क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले वैज्ञानिक प्रयोगशालाहरुमा वनस्पतिमाथि गरिएका प्रयोगका नतिजाहरुले सामान्य अवस्थामा सुचारु रुपले वनस्पतिको वृद्धि–विकास भैरहेको तथा वनस्पतिका कोषहरुमा विद्युतिय तरंगहरु चलिरहेको देखिएको थियो । केही वाहिरी हस्तक्षेप तथा अवरोध खडा गरिदिदा कोषहरुको वृद्धि–विकास रोकिएको देखिएको थियो र अवरोध हटाइदिएपछि फेरी वृद्धि–विकास हुन तथा कोषहरुमा विद्युतिय तरंगहरु चल्न शुरुभएको देखिएको थियो । वनस्पतिको डाँठमा तिखो वस्तुले घोच्दा पिडा वोध गरेर छटपटाएको, बोटबाट डाँठ काटेर अलग गर्दा केहीबेर प्राणीझैं छटपटाएर पछि मृत भएको तथा वृद्धि–विकास पूर्णतः रोकिएको देखिएको थियो । यसले यो सिद्ध गर्दछकी वनस्पतिहरुमा पनि रससंचार प्रक्रिया हुन्छ र यो क्रिया जीवहरुमा हुने रक्तसंचार प्रक्रियासंग ठ्याक्कै मिल्छ । वनस्पतिको गोलाकार नली नशा हो जसले मुटुको काम गर्छ, नलीको माध्यमबाट पाचन तरंगहरुले जरादेखि टुप्पोसम्मलाई जोडेको हुन्छ र यसैले वनस्पतिको भोजन ग्रहण, पाचन प्रक्रिया, वृद्धि–विकासका कामहरु सुचारु गरिरहेको हुन्छ । 

क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले पदार्थमा गरेको प्रयोगको नतिजामा पनि त्यस्तै नतिजा देखिएको थियो । सामान्य अवस्थामा पदार्थका सुक्ष्म कण तथा अणुका विद्युतिय तरंगहरु चलिरहेका देखिएका थिए र केही वाहिरी हस्तक्षेप तथा अवरोध खडा गरिदिदा तरंगहरु रोकिएका र अवरोध हटाइदिएपछि फेरी तरंगहरु उसैगरि चलेका देखिएका थिए र पदार्थमा विषादीको प्रयोग गर्दा केहीबेर पिडावोधको कम्पन गर्दै पछि मृत अवस्थामा देखियो अर्थात सुक्ष्म कण तथा अणुका तरंगहरु चल्न पूर्णतः बन्द भएको देखिएको थियो । यो वैज्ञानिक अध्ययनले देखाए अनुसार मनुष्य तथा जीवहरुभित्र जीवन र चेतनाको जस्ता प्रक्रियाहरु छन् वनस्पति र पदार्थहरुभित्र पनि ठिक त्यस्तै प्रकारका प्रक्रियाहरु छन् । सनातन अध्यात्म विज्ञानको षट्दर्शन मध्यको पनि सबैभन्दा महत्वपूर्ण उत्तर मिमांसा अर्थात वेदान्त दर्शनले हजारौं वर्ष अघिदेखि प्रामाणिक रुपमा भन्दै आइरहेको विषय, ‘ब्रम्हाण्डका सबै चिज तथा वस्तुहरु चैतन्य छन्’ भन्ने शाश्वत सत्यलाई अस्वीकार गर्ने आधूनिक भौतिक विज्ञानलाई जवाफ दिने दरिलो आधार हो यो क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रका प्रयोगका वैज्ञानिक प्रामाणिक नतिजाहरु जुन इशापूर्वका पूर्वीय महाविद्याकेन्द्र तथा विश्वविद्यालयहरु तक्षशिला, नालन्दाले गर्दै तथा गराउदै आएका अध्यात्म विज्ञानका विषयहरुको अध्ययनको निरन्तरता हो । वेदान्त दर्शन र क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले देखाएका नतिजाहरु मेल खाएपछि आधूनिक भौतिक विज्ञानका पश्चिमी वैज्ञानिकहरुले सम्मान प्रकट गर्दै प्राच्य तथा पूर्वीय सनातन अध्यात्म दर्शनको सम्मानमा शिर झुकाएका थिए किनकी यो वैज्ञानिक प्रयोगले ब्रम्हाण्डमा स्थित सबै चिज तथा वस्तुहरु चैतन्य छन् भनेर सबैलाई मान्य हुने ठोस सबुत सबै समक्ष प्रस्तुत गरेको थियो ।

प्रकृतिमा रहेका सबैप्रकारका जीवहरुमा जीवन र चेतना हुन्छ, यो कुरा हामी सबैलाई थाहा छ । वनस्पति र पदार्थहरुमा पनि यस्तै प्रकारको जीवन र चेतना हुन्छ भन्ने विषयलाई पछिल्ला वैज्ञानिक खोजका नतिजाहरुले पुष्टि गरिसकेका छन् । विभिन्न समयमा गरिएका प्रयोगात्मक अभ्यास तथा अध्ययनका तथ्यांकहरुले प्रमाणित गरिसकेका छन् कि सुमधूर संगीत, मिठो बोलि, प्रेम भाव, सुन्दरता जस्ता सकारात्मक अवस्थाहरु मनुष्य लगायत सबै जीव, वनस्पति र पदार्थहरुलाई पनि मनपर्छ किनकी उनीहरु पनि आ–आफ्नै प्रकारले आवाज सुन्न सक्दछन्, सुन्दरता देख्न सक्छन्, हेरचाह, प्रेमका भावहरु बुझ्न तथा अनुभूति गर्न सक्दछन् । यसप्रकारको सकारात्मक अवस्थामा सबै जीव, वनस्पति र पदार्थहरु पनि आ–आफ्नो प्रकारले खुशी हुन्छन्, सुखको अनुभव गर्छन्, नाच्छन्, स्त्री पशुहरुले दुध धेरै दिन्छन्, वनस्पति राम्रो फस्टाउछन् र उब्जनी तथा फसल राम्रो र धेरै दिन्छन् । 

विशेष प्रकारको क्षमता भएका व्यक्तिहरुले भौतिक रुपमा पशु, पंक्षी तथा प्राणीहरुलाई आफ्नो सन्देश पठाएको; उनीहरुको सन्देश ग्रहण गरेको; उनीहरुलाई विभिन्न प्रकारका ध्वनिहरु निकालेर समुहमा आफ्नो वरिपरि बोलाएर जम्मा गरेको; उनीहरुसंग खेलेको, छोएको, उनीहरुकै लवजको आवाज निकालेर भाषा आदान–प्रदान तथा दोहोरो संवाद गरेको जस्ता घटनाहरु हामीले सुन्दै, देख्दै र अनुभव गर्दै आइरहेका छौं । यो प्रामाणिक भौतिक संसारको भौतिक विज्ञानको एउटा फरक पाटो हो र अनौठो तथा आश्चर्य लाग्छ यस्ता कुराहरु सुन्दाखेरी । पराभौतिक संसार अन्तर्गत पर्ने अध्यात्म विज्ञानमा अझ आश्चर्य र अपत्यारिलो लाग्ने अर्को चमत्कारिक पाटो पनि छ तर यो चमत्कार तथा जादु नभएर शुद्ध विज्ञान हो र भौतिक तथा इन्द्रियजनित विज्ञान भन्दा अलि फकर इन्द्रियातीत विज्ञान हो जो भौतिक रुपमा दृश्यमा छैन, सुन्न, छुन, सुघ्न, स्वाद लिन तथा कुनै प्रकारले अनुभव गर्न सकिदैन तर छ, अत्यन्तै सशक्त रुपमा अस्तित्वमा छ । आत्मा अर्थात चेतनाको विकास भएका चैतन्य मनुष्यहरुले आन्तरिक रुपमा अर्थात बिना कुनै भौतिक गतिविधि मौन अवस्थामै रहेर आफ्नो अन्तरहृदयमा निरन्तर तरंगीत भैरहेने विद्युतिय तरंगहरु तथा आभामण्डल अर्थात अंग्रेजीमा क्वान्टम फिल्डको माध्यमबाट सबैप्रकारका जीव, वनस्पति र पदार्थहरुसंग साक्षातकार र दोहोरो संवाद गर्न सक्दछन् । 

क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रका आविस्कारक श्री जगदीशचन्द्र बोसले स्थापित गर्नुभएको वैज्ञानिक तथ्यांक सहितको मान्यताका अनुसार, पदार्थमा चेतनाको गति सबैभन्दा सुस्त हुन्छ, पदार्थमा भन्दा वनस्पतिमा चेतनाको गति अलि तिब्र हुन्छ तर जीवहरुको भन्दा निकै सुस्त हुन्छ । जीवहरु मध्यमा मनुष्यमा चेतनाको गति अत्यन्तै तिब्र हुन्छ र योग विज्ञानको साधनाको माध्यमबाट मनुष्यले चेतनाको विकासको गतिलाई अझ तिब्र बनाएर उ चैतन्य स्वरुप भएर सतचितआनन्दमा स्थित हुनसक्दछ, परमचेतना अर्थात सुपरकन्ससका मूलस्पवरुप परमात्मामा एकाकार हुनसक्दछ र यसक्रममा उसलाई विविध प्रकारका दिव्य परालौकिक विषयहरुको अनुभव तथा अनुभूतिहरु हुन सक्दछन् । यस सन्दर्भमा योगीक साधना अन्तर्गत विशेषगरि श्वास तथा प्राणको आयाम ‘प्राणायाम’को साधनाबाट परमचेतना अर्थात चैतन्य चेतना अर्थात चैतन्यतामा उपलव्ध हुन सकिन्छ र ब्रम्हाण्डमा स्थित सबै प्राणी, वनस्पति तथा पदार्थहरुको चेतनाको भाव सुन्न, बुझ्न तथा थाहा पाउन सकिन्छ, उनीहरु समक्ष आफ्नो भाव तथा प्रतिक्रिया व्यक्त गर्नुका साथै उनीहरुसंग दोहोरो संवाद समेत गर्न सकिन्छ र यससन्दर्भमा पंक्तिकार स्वयं(म सिर्जना भण्डारी) को पनि अनेक अलौकिक अनुभव तथा अनुभूतिहरु रहेकाछन् विगत डेढ दशकयतादेखि निरन्तर कुण्डलिनी योग साधना गर्ने क्रममा समयसमयमा घटित भएका पराभौतिक जगतका परालौकिक रहस्यमय ज्ञानहरुमा उपलव्ध हुनेक्रममा ।


छिट्टै,

चेतनाको विकास गर्दै चैतन्य चेतनामा उपलव्ध हुन योग–ध्यान साधनाले मद्धत गर्दछ ।


                                                                    शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...