Tuesday, 3 March 2026

पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु- १

 डा. सिर्जना भण्डारी                                                      

                                    #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

८०.पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु

(१)वैदिककालको अन्त्यमा वर्णव्यवस्था र जातियताका चुनौतिहरु आइपरे 

(लगभग इशापूर्व १५००–१०००)


पश्चिमी समाज तथा पाश्चात्य दर्शन(वेस्टर्न फिलोसोफी)मा दर्शन र धर्मलाई अलग–अलग विषयका रुपमा हेर्ने तथा व्याख्या गर्ने गरिन्छ तर पूर्वीय सनातन समाजमा दर्शन र धर्ममाविच निकटको सम्वन्ध रदहै आएकोछ, जुन दर्शन प्रतिपादन भयो त्यसका अन्तरविषय तथा मूल्य–मान्यताहरु अनुशरण गरेर जीवन जिउने कला तथा जीवनशैली सहज गर्न सिकाइन्छ, जस्तो हिन्दु दर्शनकै मूल्य–मान्यताहरुमा आधारित रहेर हिन्दु धर्म अगाडि बढिरहेको छ, बौद्ध दर्शनकै मूल्य–मान्यताहरुमा आधारित रहेर बौद्ध धर्म अगाडि बढिरहेको छ, त्यस्तै जैन दर्शन र जैन धर्म, शिख दर्शन र शिख धर्म अगाडि बढिरहेका आ–आफ्नो दर्शनमा आधारित रहेर । सनातन दर्शन तथा सनातन धर्म भन्नासाथ वेद र उपनिषदका अन्तरविषय तथा यसका मूल्य–मान्यताहरुलाई अनुशरण गरेर प्रतिपादन गरिएका अवधारणा, दर्शन तथा धर्म भन्ने बुझिन्छ । सनातन दर्शन तथा धर्मलेको ऐतिहासिक पृष्ठभूमि लामो, गहन र विविधतायुक्त रहेकोले यसले विभिन्न कालखण्डहरुमा धेरैप्रकारका उतारचढाव, कठिनाइ तथा चुनौतिहरुको सामना गर्दै आइरहेको छ प्राचीन इतिहासदेखि वर्तमानसम्म नै । यसकारण सनातन दर्शन तथा धर्मले किन यति धेरै उतारचढाव, कठिनाइ तथा चुनौतिहरुको सामना गर्नुपर्यो भन्ने सन्दर्भ राम्ररी बुझ्नकालागि सर्वप्रथम सनातन दर्शन तथा सनातन धर्मको पृष्ठभूमि र समय–समयमा यसउपर उठ्ने गरेका सवालहरुबारे जान्नु अत्यावश्यक हुन्छ, जस्तोकि– (१)के सनातन दर्शन तथा धर्म र हिन्दु धर्म एकै हो, हो भने किन सनातन धर्ममा र हिन्दु धर्ममा प्रकृति, देवी–देवता, भगवान, इश्वर जस्ता विषयहरुमा फरक–फरक व्याख्या गरिएको छ ? (२)सनातन दर्शन तथा धर्म जीवन जिउने शैली हो तर के हिन्दु धर्म जीवन जिउने शैलीको मूल्य–मान्यतामा आधारित छ ? (३)के वेद र उपनिषद शास्त्रहरुमा उल्लेखित विषयहरुले नै हिन्दु धर्मका पछिल्ला ग्रन्थहरुमा निरन्तरता पाइरहेका छन् ? (४)के हिन्दु धर्मले जीवन जीवन जीउने कला, व्यक्तिको स्वतन्त्रता, समानतामा जोड दिएको छ ? (५)के हिन्दु धर्ममा अनेकतामा एकता समेट्ने संस्कार रहेको छ ? यी केही अत्यन्तै गहन र महत्वपूर्ण सवालहरुको जवाफ हिन्दु धर्मका अन्तरविषयहरु भित्र प्रवेश गरेर खोज्ने क्रममा सनातन दर्शन तथा सनातन धर्मले विभिन्न काखण्डहरुमा किन त्यति धेरै उतारचढाव, कठिनाइ तथा चुनौतिहरुको सामना गर्नुपर्यो भन्ने सन्दर्भ राम्ररी बुझ्न सकिन्छ, यसकारण सामना गर्नुपरेका उतारचढाव, कठिनाइ तथा चुनौतिहरु भन्दाअघि सनातन दर्शन तथा धर्मको ऐतिहासिक पृष्ठभूमि जान्नु विषय सान्दर्भिक हुन्छ किनकी यही सन्दर्भबाट नै उतारचढाव, कठिनाइ तथा चुनौतिहरु सामाना गर्नुपरेका कारणहरुबारे विभिन्न जानकारीहरु हासिल हुन्छन् ।   


सनातन दर्शन, सनातन धर्म र हिन्दु धर्मको अन्तरसम्वन्ध 

सनातनको शव्दको भावार्थ तथा शाव्दिक अर्थ हो कहिल्यै शुरु नभएको र कहिल्यै अन्त्य नहुने तथा कहिले शुरु भएको हो भन्ने थाहा नभएको र कहिले अन्त्य हुन्छ भन्ने पनि थाहा नभएको अवस्था हो अर्थात न आदि न अन्त्य दुवै अवस्थाको जानकारी नभएको परिस्थिति हो । सनातन दर्शनको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा सनातन धर्मबाट हिन्दु धर्ममा रुपान्तरण भएको इतिहास र ती कालखण्डमा भएका गतिविधिहरु बडो रोचक रहेका छन् । लगभग आजभन्दा ४००० वर्ष अघितिरको कालखण्डमा सनातन दर्शन तथा धर्मका मूल्य–मान्यताहरुका आधारमा जीवनयापन गरिरहेका सनातन समाजको सभ्यता विकसित थियो, मनुष्यहरु समृद्ध थिए, यसकारण संसारका अरु समाजका मनुष्यहरु यसप्रति आकर्षित थिए । तत्कालीन समयमा सनातन समाजको स्थाइ बसोवास वर्तमान समयमा दक्षिण एशियाली मुलुक पाकिस्तानको भौगोलिक सिमानाभित्र पर्ने सिन्धुनदि(इन्डुस रिभर पनि भनिन्छ)को आसपास रहेको सिन्धु उपत्यका(इन्डुस भ्याल्ली पनि भनिन्छ)मा रहेको थियो । फारसी(पर्सियन वर्तमामा इरानी)हरुले सिन्ध उपत्यकामा रहेको समृद्ध सनातन मानव समाज र उक्त भौगोलिक क्षेत्रलाई हत्याउने दृष्टिकोणले आक्रमण गर्यो र तहसनहस तथा अस्थिर पारिदियो । तत्कालीन युद्धकालमा पहिलो पटक फारसीहरुले हिन्दु शव्दको प्रयोग गरेका थिए किनकी उनीहरुको भाषामा ‘स’ अक्षर तथा उच्चाहरण थिएन ‘ह’ उच्चाहरण गर्थे । उनीहरुले सिन्धु नदि आसपास रहेको सिन्धु उपत्यकालाई ‘हिन्दु’ उपत्यका भनेर उच्चाहरण गरे र त्यस क्षेत्र तथा स्थानलार्ई हिन्दुस्थान उच्चाहरण गरे, यसैकारण भारतको अर्को नाम हिन्दुस्तान रहेको भनिन्छ र इन्डुस उपत्यकासंग सम्वन्धित रहेको छ इन्डिया र इन्डियन उच्चाहरण चलनचल्तीमा रहनुमा । फारसीहरुले हिन्दुस्थानमा बसोवास गर्ने मानव समुदायलाई हिन्दुस्थानी उच्चाहरण गरे र उनीहरुले अनुशरण गर्दै आइरहेका सनातन मूल्य–मान्यताहरुलाई हिन्दु मूल्य–मान्यता तथा हिन्दु धर्मको नामले उच्चाहरण तथा सम्वोधन गरे । यसप्रकार सनातन धर्म हिन्दु धर्ममा रुपान्तरण भयो । यो रुपान्तरणमा केवल नाम मात्र परिर्वतन नभएर क्रमिक रुपमा सनातन दर्शन तथा धर्मका मूल्य–मान्यताहरुमा पनि रुपान्तरण आउदै गयो । कतैकतै अपुष्ट रुपमा सुन्नमा आएको पनि पाइन्छकि फारसीहरुले हिन्दु शव्द प्रयोग गर्नुअघिनै सनातन शास्त्रहरुमा हिन्दु शव्द लेखिएको छ भनेर तर यसको ऐतिहासिक प्रामाणिकता पाइएको छैन । फारसीहरुले सनातनीहरुलाई हिन्दु शव्दले सम्वोधन गरेपश्चात विस्तारै मुगल, अरवी, अंग्रेज तथा पुरै विश्वले सनातनीहरुलाई हिन्दु र उनीहरुका मूल्य–मान्यता तथा जीवनशैलीका प्रवृत्ति तथा प्रकृतिहरुलाई हिन्दु धर्मका रुपमा सम्वोधन गर्न प्रारम्भ गरे । यसप्रकार वर्तमान समयमा हिन्दु शव्दनै बढि प्रचलन तथा लोकप्रियतामा रहेको छ र कतिपय मनुष्यहरुलाई खासगरि आफूलाई आधूनिक भन्न रुचाउने युवा पुस्ताहरुलाई सनातन शव्दको अर्थ, स्वामित्व, उपादयताबारे थाहा नहुन सक्छ र कतिपयले त सनातन शव्दनै नसुनेको पनि हुनसक्छ ।


सनातन दर्शन, सनातन धर्मको प्राचीन पृष्ठभूमि  

वर्तमान समयसम्म उपलव्ध भएका धेरै–थोरै ऐतिहासिक प्रमाणहरुका अनुसार आजभन्दा करिव ५५०० तथा ५०००(कतैकतै १०,००० वर्षअघि पनि भनिएको पाइन्छ) वर्षअघिको कालखण्डलाई वैदिक काल मानिएको छ र यो समयमा ऋषिमुनि तथा ब्रम्हणहरुलाई मुखाग्र कण्ठ रहेका तथा श्रुतीका रुपमा रहेका र पुस्तानतरण हुदै आइरहेका सनातन वेदका ज्ञान तथा विज्ञानहरुलाई मानव सभ्यताको विकासक्रम संगै लिपिवद्ध गर्ने प्रक्रिया प्रारम्भ गरिएको थियो । आज भन्दा ४००० वर्षअघि पहिलो लिखित सनातन वेदका रुपमा ऋगवेद प्रतिपादन गरिएको थियो । ऋगवेदमा उल्लेख भए अनुसार आज भन्दा ५००० वर्ष अघिसम्म सनातन मानव समुदायमा धर्म, भगवान, मूर्ति, मन्दिर, पूजापाठ केहीको पनि प्रचलन थिएन, सिर्फ प्रकृति थियो(प्राणी, वनस्पति, पदार्थ, सूर्य–चन्द्र–ग्रह–तारा–नक्षेत्र), प्रकृतिलाई नै सबैथोक मानिन्थ्यो र तत्काली अवस्था अनुसार त्यहीताकाको संस्कारका आधारमा प्रकृतिको उपासना गरिन्थ्यो । तत्कालीन समाजका जान्ने–सुन्ने–बुझ्ने व्यक्तिहरु ऋषिमूनिहरु हुन्थे, लिपिवद्ध भएको ऋगवेदमा उल्लेख गरिएका ज्ञान तथा विज्ञानका विषयहरु ऋषिमूनिहरुका आफ्नै प्रकारका अध्ययन र साधनाबाट हासिल गरिएका स्वअनुभव तथा स्वअनुभूतिहरु थिए र ती प्रकृतिका गहन नियमहरुबारे थिए । प्रकृतिका नियमहरु बुझ्ने र आम मनुष्यहरुलाई सहज ढंगले बुझाउने काम ऋषिमूनिहरुले गनेगर्थे जसलाई प्राचीन वैज्ञानिकका रुपमा पनि सम्वोधन गर्ने गरिन्छ । ऋषिमूनिहरुले आफ्नो जीवनका भोगाई, तप तथा साधनाहरुबाट जे अनुभव गरे, जे बुझे त्यसलाई आफ्नो मन, मस्तिष्कमा याद राख्दै गए र आगामी पुस्ताहरुलाई त्यही बोलेर, संकेत गरेर, गाएर, सुनाएर सिकाउदै गए । यसरी सुनाएर दिने तथा लिने ज्ञानलाई श्रुती ज्ञान भनियो अर्थात सुनेर लिइएको ज्ञान । यही श्रुती ज्ञानलाई सभ्यताको विकास हुदैजाने क्रममा कागज, कलम, मसीको आविस्कार भएपछि पछिल्लो चरणमा विस्तारै लिपिवद्ध गर्दै लेखियो र यही लिपिवद्ध लेखाइको संकलनलाई सनातन वेद शास्त्र भनियो । पहिलो र सबैभन्दा पूरानो सनातन शास्त्र ऋगवेद हो जो उपलव्ध भएका ऐतिहासिक तथ्यांकहरुका अनुसार आजभन्दा ४००० वर्षअघि लिपिवद्ध गरेर वैदिक संस्कृति भाषामा लेखिएको तथा प्रतिपानदन गरिएको थियो । 


ऋगवेदमा ब्रम्हाण्ड र जीवनको रहस्यका विषयहरुबारे लेखिएका छन् र केवल अग्नि, इन्द्र, वरुण, सोम आदि देवताहरुका स्तुतिहरु मात्र उल्लेख गरिएका छन् । पहिलो ऋगवेदपछि दोस्रो यजुरवेद लिपिवद्ध गरेर लेखियो, यजुरवेदमा यज्ञ र हवनका विषयहरुबारे उल्लेख गरिएका छन् । यसपछि तेस्रो वेदको रुपमा सामवेद लिपिवद्ध गरेर लेखियो, सामवेदमा संगीत र स्तुति तथा मन्त्रहरुको छन्दवद्ध ध्वनि तथा उच्चाहरणका विषयहरुमा जोड दिइएको छ । र अन्त्यमा अथर्ववेद लिपिवद्ध गरेर लेखियो, अथर्ववेदमा बहुआयामिक किसिमले जीवन जिउने नियम तथा कला र औषधोपचारका विषयहरु उल्लेख गरिएका छन् । सनातन दर्शन तथा सनातन धर्मले किन धेरै प्रकारका उतारचढाउ, कठिनाइ तथा चुनौतिहरुको सामना गर्नुपर्यो भन्ने सन्दर्भमा बुझ्नुपर्ने विषय यही विन्दु तथा वेदहरुको रचना पछिको समयबाट प्रारम्भ हुन्छ । सनातन दर्शन तथा धर्मले विभिन्न कालखण्डहरुमा पटक–पटक किन विभिन्न प्रकारका उतारचढाउ, कठिनाइ तथा चुनौतिहरुको सामना गर्नुपर्यो भन्ने सवालका कारणहरु यहींबाट प्रारम्भ हुन्छन् किनकी शुरुआतमा श्रुतिमा रहेका र पछि लिपिवद्ध गरिएका तथा शास्त्रका रुपमा प्रतिपादित भएका सनातन शास्त्रहरु वेदमा भगवान, मूर्ति, मन्दिर आदिको उल्लेख भएको पाइदैन सिर्फ देवताहरु मात्र उल्लेख गरिएका छन् । तत्कालीन सनातन समाजका मनुष्यहरुलाई थाहा थिएन भगवान जस्तो कुनै तत्वको अस्तित्व छ भनेर तर उनीहरु मान्थे र आस्था राख्थेकि कुनै अदृश्य शक्ति(डिभाइन फोर्स) रहेको छ जसले उनीहरुको जीवन तथा समग्र प्रकृति(समस्त प्राणी, वनस्पति, पदार्थ, आकाश) लाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित गरिरहेको छ । यसैकारण संसारका सबै प्राचीन सभ्यताहरु– सिन्धुघाटी, मिश्र, हरप्पा, ह्वांग हो, मेसोपोटामिया आदिमा सूर्य, चन्द्रमा, वायु, अग्नि, जल, पृथ्वी आदि सबै तत्वहरुलाई देवता मानेर प्रकृति पूजाको प्रचलन तथा संस्कृति बनाइएको थियो । 

वैदिककाल र चुनौतिको पहिलो कारण वर्णव्यवस्था

वैदिककालको प्रारम्भिक समय लगभग ४००० वर्षअघिसम्म समाजमा जन्मका आधारमा वर्णव्यवस्था र जातिप्रथाको कुनै प्रावधान नै थिएन तर वैदिककालकै दौरान आजभन्दा ३५०० – ३००० वर्षअघि तत्कालीन समाजमा जातिय व्यवस्था तथा जातिप्रथा प्रारम्भ भैसकेको थियो र वर्णव्यवस्था जन्मको आधारमा कायम हुन प्रारम्भ भैसकेको थियो । ऋगवेदको मण्डल– १०, सूक्त– ९० को १२औं मन्त्रमा वर्ण व्यवस्थाको सबैभन्दा पुरानो सन्दर्भ भेटिन्छ(यसलाई पुरुष सुक्त भनिन्छ) । ऋगवेदमा उल्लेखित वर्णव्यवस्था अन्तर्गत मनुष्यले आफ्नो जीवनकालमा गर्ने कर्मका आधारमा समाजलाई चारवर्ण(ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र)मा विभाजन गरिएको विषय समावेश गरिएको छ । तत्कालीन समयमा सनातन समाजमा वर्णव्यवस्था जन्ममा आधारित थिएन, ब्राम्हणहरु वेदको अध्ययन गर्थे र समाजमा मनुष्यहरुलाई वेदका ज्ञान तथा विज्ञानहरुको ज्ञान दिन्थे, शिक्षा प्रदान गर्थे तथा सिकाउथे उनीहरुले बुझ्ने लवज तथा सहज, सरल भाषाशैलीमा । क्षेत्रीहरु राज्य, शासन, युद्ध गर्थे र राज्य तथा आफ्ना नागरिक र धन–सम्पत्तिहरुको संरक्षण गर्थे । वैश्यहरु कृषि, पशुपालन तथा व्यापार गर्थे र शुद्रहरु अरुकालागि सेवाका कार्यहरु गर्थे । वैदिककालमा आफ्नो भैरहेको वर्ण बदल्न सम्भव थियो, आफ्नो योग्यता, कर्म र कार्य क्षमताका आधारमा आफूलाई रुचि लागेको वर्ण तथा वर्णव्यवस्थामा जुनसुकै उमेर तथा अवस्थामा प्रवेश गर्नसक्ने अनुमति तथा सुविधा थियो र उनीहरुलाई पर्याप्त अवसर समेत प्रदान गर्ने गर्दथ्यो तत्कालीन समाज व्यवस्थाले । ऋषि वालमिकी र महर्षि विश्वामित्र प्राचीन वर्णव्यवस्थाका ज्वलन्त उदाहरण हुनुहुन्छ । वहाँहरुले आफ्नो वर्ण बदलेर ब्राम्हण तथा ऋषिहरुले गर्ने वेदको अध्ययनमा रुपान्तरण गर्नुभएको थियो । तर वैदिककालको अन्त्यसम्ममा यसअघि कर्ममा आधारित वर्णव्यवस्था विस्तारै जन्ममा आधारित हुनलाग्यो र वर्णहरुविचको सामाजिक भेदभाव तथा दुरी बढ्दै गयो, यसकै आडमा जातिय भेदभाव तथा जातियताका उत्पिडनहरु बढ्दै जानथाले र प्राचीन समाजबाट नै द्वन्दको शुरुआत भयो कर्ममा आधारित वर्ण व्यवस्थालाई तत्कालीन समाजका शक्तिशाली तथा प्रभावशाली वर्गहरुले जन्ममा आधारित गराएर मनुष्यहरुले आफ्नो कर्म, योग्यता तथा कार्य क्षमताको आधारमा वर्ण परिवर्तन तथा वर्णव्यवस्थामा  प्रवेश गर्न पाउने नैसर्गिक अधिकार खोसेर सीमित गरिएको कारण विद्रोह र द्वन्द प्रारम्भ भयो सनातन समाज भित्रैबाट प्राचीन तथा वैदिक युगको उत्तरार्धतिर । पछिपछि समाजमा वर्णव्यवस्था बिथोलिएको र जातियतावाद र जातिय भेदभावमा अझ विकृति बढ्दै जानथाल्यो र यसबाट असन्तुष्ट भएका पिडित पक्षहरुले भित्रभित्रै विद्रोहका गतिविधिहरु बढाउदै लगे । वैदिक युगपछिको कर्मकाण्ड विस्तारको युगमा सनातन समाजमा अझ बढि अनियमितता तथा विकृतिहरु आएका कारण सनातन दर्शन तथा धर्मले झन बढि उतारचढाउ, कठिनाइ तथा चुनौतिहरु बेहोर्नु पर्यो वैदिक विषयका मूल्य–मान्यताहरुको विरोधमा असन्तुष्ट वर्ग तथा सनातन वेदका विषयहरुलाई प्रामाणिक नमान्ने नास्तिकहरुले जोडतोडले आवाज उठाएका तथा विद्रोह गरेका कारण ।   


छिट्टै, विस्तारमा

(२)कर्मकाण्ड विस्तारका कारण आइपरेका चुनौतिहरु (लगभग इशापूर्व ६००–७००)


(३)इस्लामको हमलाका कारण आइपरेका चुनौतिहरु (लगभग सन् ७००–१८००)

(४)इशाईको चलखेलका कारण आइपरेका चुनौतिहरु (लगभग सन् १७५७–१९४०)

(५)आधूनिक सांस्कृतिक विस्तारवाद कारण आइपरेका चुनौतिहरु (लगभग १९५० देखि यता...)


                                                        शिवोहम् योगपीठ




Monday, 2 March 2026

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको छैठौं लहर: आधूनिक युग

 डा. सिर्जना भण्डारी                                                      

                                    #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको छैठौं लहर: आधूनिक युग

सन् १९४७ मा दक्षिण एशियाको सनातन समाज अंग्रेजहरुको झण्डै २००(सन् १७५७–१९४७) वर्ष लामो निरंकुश औपनिबेसिक हस्तक्षेपबाट स्वतन्त्र भएपछि तथा स्वतन्त्र हुने प्रक्रियामा पूर्वीय सनातन दर्शनको विकासक्रमले फरक प्रकारको लय लियो, केही लोकप्रिय दार्शनिकहरुका दर्शनले विशेष मान्यता तथा स्थान पाउदै गए, समाजमा तिनको प्रभाव बढ्दै गयो र सनातन समाज नयाँ स्वरुपमा अगाडि बढ्न प्रारम्भ गर्यो । पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनका लागि कालखण्डमा भएका तथा वर्तमान समयमा हुदैआएका सबै गतिविधिहरु छैठौं लहर अन्तर्गत रहेका मान्दै आइएको छ यद्धपि दार्शनिकहरुको जन्म र दर्शनको प्रभाव १९औं शताव्दिमै प्रारम्भ भएर स्वतन्त्रतापछि उपलव्ध भएको सहज अवस्थामा २०औं र २१औं शताव्दीको समयावधिमा अझ बढि चर्चामा आए र तिनको प्रभाव केवल पूवी एशियामा मात्र नभएर पाश्चात्य मुलुकहरु सम्म विस्तार भयो र हुदै गैरहेकोछ । स्वतन्त्रतापछि पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा धेरै–थोरै योगदान गर्ने व्यक्तित्व तथा दार्शनिकको नाम र काम तथा योगदानहरु चर्चामा रहेकाछन् विश्वव्यापि रुपमा, ती मध्य केही नामहरु संक्षिप्तमा निम्नानुसार रहेकाछन्– रमण महर्षि (१८७९); डा. अमबेडकर (जन्म– १८९१); परमहंश योगानन्द (१८९३); जे. कृष्णमूर्ति (१८९५); श्री प्रभुपाद (१८९६); स्वामी चिन्मयानन्द सरस्वती (१९१६); महेश योगी (१९१८); स्वामी सत्यानन्द सरस्वती (१९२३); सत्य साइबाबा (१९२६); आचार्य रजनीश (१९३१); वर्तमान समयमा शरीरमै रहनुभएका श्री श्री रवीशंकर; जग्गी वासुदेव; नेपालको सन्दर्भमा स्वामी आनन्द अरुण, डा. योगी विकासानन्द; डा. स्वामी राजकुमार प्याकुरेल; स्वामी एल.पि. भानु शर्मा; स्वामी रमेश नेपाल; स्वामी चैतन्य कृष्ण आदि व्यक्तित्वहरुको नाम र वहाँहरुले पूर्वीय सनातन दर्शनको विकासको क्षेत्रमा गर्नुभएका तथा गरिरहनु भएका काम तथा योगदानहरु चर्चामा रहेकाछन् । 


डा. अमबेडकर  

स्वतन्त्रतापछिको कालखण्डमा पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासका क्रममा योगदान दिने पहिलो दार्शनिक डा. अमबेडकर हुनुहुन्छ । वहाँले धेरै दर्शनहरुको अध्ययन, विचार, विमर्स गर्नुभयो, नव वेदान्त तथा नव हिन्दुवादको कालखण्ड तथा पाँचौ लहरमा राष्ट्रियतावाद र समानतावादको अभियान चलाइएको र यी अभियानहरुको मुख्य उद्देश्य नै जातिप्रथा, छुवाछुत तथा वर्गविभेदलाई हटाउने भएको भएपनि वहाँले सनातन समाजमा जातिप्रथा र जातियताका नाममा गरिने भेदभाव तथा छुवाछुतका गतिविधिहरुमा खासै सकारात्मक परिवर्तन आएको पाउनु भएन र सनातन हिन्दु धर्मलाई अंगिकार गर्नुभएन । वहाँले सबै सनातन दर्शनका साथसाथ पूर्वीय दर्शन र पाश्चात्य दर्शनहरु र यस अन्तर्गतका समुदाय तथा सम्प्रदायहरुको पनि गहन अध्ययन गर्नुभयो तर आफूले व्यक्तिगत तथा आन्तरिक रुपमा कुनैपनि दर्शन तथा सम्प्रदायको अनुशरण गर्नुभएन । एकपटक वहाँलाई शिख धर्म तथा सम्प्रदायमा अलिक रुचि भएको भएपनि पछि फेरी रुचि परिवर्तन गर्नुभयो र आफ्नो मृत्यु भन्दा दुई महिनाअघि (सन् १९५६) आफ्नै अवधारणा अनुसार नयाँ प्रकारको बौद्ध दर्शन तथा धर्म खडा गर्नुभयो बौद्ध दर्शनमा पूराना मूलधार शाखा हिनियान र महायानका मूल्य–मान्यताहरु भन्दा फरक रहेर किनकी डा. अमबेडकर परालौकिकता तथा निर्वाणमा आस्था राख्नुहुन्नथ्यो तर हिनियान र महायान दुवैमा निर्वाणको अवधारणा रहेकोछ जो मनुष्यको कर्म सिद्धान्तमा आधारित रहेको मानिन्छ तर वहाँलाई कर्म सिद्धान्तमा पनि आस्था थिएन त्यसैले वहाँले आफूले गर्नुभएका दर्शनहरुको अनुभव तथा सिकाइबाट आफैंले एउटा छुट्टै नयाँ अवधारणा तथा दर्शन प्रतिपादन गरेर बौद्ध दर्शनमा अर्को नयाँ शाखा ‘नवयान’ तथा ‘नियो बुद्धिजम’ खडा गर्नुभयो । नवयानका अन्तरविषयहरुमा पुस्तकहरु लेख्नुभयो, वहाँको सिद्धान्तलाई अनुशरण गर्ने नवयानी अनुयायिहरुको संख्या पनि ठूलो थियो । आजपर्यन्त बौद्ध दर्शनको सबैभन्दा कान्छो दर्शन नवयान एक अलग धारको रुपमा रहदै आएकोछ सनातन समाजमा र नवयान तथा नियो बुद्धिजम २०औं शताव्दीको बौद्ध दर्शनको नव परम्परा मानिन्छ किनकी यसले सबैको अनुभवमा आउन नसक्ने विषय परलोक, निर्वाण, कर्मका विषय र अवस्थाहरुलाई खारेज गरेर बौद्ध दर्शनलाई अझ व्यवहारिक, सम्यक बनाएर वास्तविक धरातलसंग जोड्ने प्रयास गरेको थियो । नवयानको प्रादुर्भावअघि तथा स्वत्रन्त्रता भन्दा केहीअघि पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा एक चिन्तनशील व्यक्तित्व अजित केश कम्बलीको नाम आएको थियो । वहाँको अवधारणा सनातन वेदका वियष तथा मूल्य–मान्यताहरुलाई प्रामाणिक नमान्ने तथा सनातन समाजले नास्तिकको रुपमा मान्ने चार्वाक दर्शनसंग नजिक रहेको तथा भौतिकवाद अर्थात सांसारिकवादमा बढि केन्द्रित रहेको थियो र वहाँकै चिन्तन तथा अवधारणाको एक विन्दुलाई आधार बनाएर नवयान बौद्ध दर्शनको प्रतिपादन गरिएको थियो डा. अम्बेडकरको नेतृत्वमा ।  


जे. कृष्णमुर्ति

यसपछि पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमा अत्यन्तै प्रखर व्यक्तित्व हुनुभएका अर्का महान दार्शनिक जिद्दु (जे.) कृष्णमूर्तिको नाम अत्यन्तै सम्मानकासाथ जोएिको पाइन्छ । वहाँ भारतीय अमेरीकन हुनुहुन्थ्यो अर्थात वहाँको जन्मभूमि भारत र कर्मभूमि अमेरीका थियो । सन् १८७५ मा बेलायतमा थियोसोफिकल(अध्यात्म ज्ञान) समाजको स्थापना गरिएको थियो, यो समाज तथा संस्थाको मूल उद्देश्य संसारका मनुष्यहरुमा आध्यात्मिक चिन्तनको माध्यमबाट ब्रम्हाण्डको अन्तिम सत्यको खोज गर्ने; विश्वबन्धुत्वको भावना राख्ने; समुदाय तथा सम्प्रदायलाई भन्दा मनुष्यको मूलधर्म, कर्तव्य, उत्तरदायित्व तथा मानवीयतामा जोडदिने ब्रम्हविद्या अर्थात इश्वरिय ज्ञान(डिभाइन विजडम)का मूल्य–मान्यताहरुलाई अनुशरण गर्नु तथा गराउनु रहेको थियो । तत्कालीन समयमा भारतमा पनि थियोसोफिकल(ब्रम्हविद्या) अभियान चलिरहेको थियो । यस्तो प्रकारको अध्यात्म विद्याका अन्तरवस्तुहरुमा काम गर्ने संस्थाको अभियानमा लागेकी अमेरीकी नागरिक डा. एनिबेसन्तले अत्यन्तै तिक्ष्ण तथा प्रखर १५ वर्षका वालक जे. कृष्णमुर्तिलाई सन् १९१० मा कानूनी रुपमा धर्मपुत्र बनाएर अमेरीका लगेकी थिइन् । आध्यत्मिक पृष्ठभूमि रहेको परिवार तथा समाजमा जे. कृष्णमुर्तिको हुर्काइ र अध्ययन भएको कारण पछि गएर वहाँको व्यक्तित्व आध्यात्मिक छवि भएको दार्शनिक प्रकारको बन्यो । वहाँले आफ्ना दर्शनहरुमा पूराना मूल्य–मान्यताहरुलाई खारेज गरेर नयाँ प्रकारका आध्यात्मिक ज्ञानहरु पस्किनुभयो, नयाँ प्रकारका अवधारणाहरुमा आधारित दर्शनका पुस्तकहरु रचना र प्रतिपादन गनुैभयो । आम मानिसहरुले वहाँको नयाँ अवधारणामा आधारित नव दर्शनलाई धेरै रुचाए र अनुशरण पनि गरे खासगरि दक्षिण भारतको समाजमा, दार्शनिक जे. कृष्णमूर्ति दक्षिण भारतमा जन्मििनु भएका तथा दक्षिण भारतकै नागरिक हुनुहुन्थ्यो ।  


सत्य साइबाबा

सत्य साइबाबाको नाम, व्यक्तित्व, नेतृत्व र दविक तथा परालौकी शक्ति र पूर्वीय सनातन दर्शन तथा सनातन समाजमा वहाँको परालौकिक प्रभाव र सांसारिक जीवनको उन्नती तथा परामार्थिक जीवनको विकासमा अभूतपूर्व योगदानबाट हामी सबै राम्रोसंग परिचित रहेकाछौं । 


आचार्य ओशो रजनीस     

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा अर्को अत्यन्तै लोकप्रिय र प्रसिद्ध नाम आचार्य ओशो रजनीशको आउछ । वहाँका दार्शनिक मूल्य–मान्यताहरु जे. कृष्णमूर्तिका अवधारणाहरु तथा दर्शनसंग निकै निकट रहेकाछन् । आधूनिककालमा पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा फरक प्रकारका अवधारणाहरु जोडेर तथा प्रतिपादन गरेर आचार्य ओशो रजनीशले आफूलाई विश्वसामु फरक प्रकारका आध्यात्मिक साधनाहरु खासगरि ध्यान साधनाका विभिन्न प्रकारहरुमा फरक प्रकारले स्थापित गराउनुभयो र वहाँद्वारा प्रतिपादित नयाँ प्रकारका योग–ध्यानका साधना विधिहरु विश्वव्यापि गराउनु भयो । आचार्य ओशो रजनीशले सनातन दर्शन संगसंगै विश्वभरिका सबै दर्शनहरु र दर्शनका विषय तथा अन्तरवस्तुहरु गहन ढंगले अनुसन्धानात्मक किसिमले अध्ययन गर्नुभयो र ती दर्शनहरुका अन्तरपषियहरु उपर गहन चिन्तन गर्नुभयो, थुप्रै दर्शनहरुको बारेमा भाष्य गर्नुभयो, केही दर्शन उपर भाष्य लेख्नुभयो र ती सबै ज्ञानहरुको निखारताबाट आफ्नो छुट्टै प्रकारको अवधारणा तथा दर्शन खडा गर्नुभयो ओशो दर्शनका रुपमा । विशौं शताव्दीका सबैभन्दा बढि पुस्तक(कतै सवालाख, कतै डेढलाख भनिएको पाइन्छ) पढेका अध्ययनशील व्यक्तित्वको रुपमा विश्वकै तथ्यांक राख्ने गिनिजबुकमा रेकर्ड समेत राखिएको छ र यो रेकर्डमा अधावधिक वहाँनै कायम रहिरहनु भएकोछ । अत्यन्तै तार्किक र प्रखर व्यक्तित्व हुनुभएका आचार्य ओशो रजनीशले सनातन धर्म, ज्ञान तथा दर्शनलाई रुढीवादी तथा अतार्किकताबाट वाहिर निकालेर उच्चतम विन्दुमा पुर्याउन निकै महत्वपूर्ण योगदान पुर्याउनु भयो । समग्र पूर्वीय दर्शन तथा सनातन दर्शनहरुमा योग–ध्यानका धेरै परम्परा तथा धेरै प्रकारका विधिहरु रहेकाछन् तर आचार्य ओशोले रजनीशले युग सान्दर्भिक हुने प्रकारले बेग्लै परम्परा स्थापित गर्नुभयो उर्जा ध्यान(डाइनामिक मेडिटेसन)का रुपमा र वहाँको यो फरक प्रकारको अवधारणा तथा नयाँ प्रयोग निकै लोकप्रिय बन्यो विश्वव्यापि रुपमा । पूर्वीय सनातन दर्शनका विषय र मूल्य–मान्यताहरुलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको क्रममा आधूनिककाल तथा छैठौं लहरमा आचार्य ओशो रजनीशले सनातन ज्ञान योग तथा ध्यान साधना विज्ञानलाई विश्वव्यापि रुपमा व्यापक प्रचार र व्यवहार तथा प्रयोगात्मक अभ्यासमा ल्याउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।          


साथै रमण महर्षि; परमहंश योगानन्द; श्री प्रभुपाद; स्वामी चिन्मयानन्द सरस्वती; महेश योगी; स्वामी सत्यानन्द सरस्वती; र वर्तमान समयमा शरीरमै रहनुभएका श्री श्री रवीशंकर; जग्गी वासुदेव; नेपालको सन्दर्भमा वोदिसत्व स्वामी आनन्द अरुण, डा. योगी विकासानन्द; डा. स्वामी राजकुमार प्याकुरेल; स्वामी एल.पि. भानु शर्मा; स्वामी रमेश नेपाल; स्वामी चैतन्य कृष्ण आदि व्यक्तित्वहरुको नाम र वहाँहरुले पूर्वीय सनातन दर्शनको विकासको क्षेत्रमा गर्नुभएका तथा गरिरहनु भएका ऐतिहासिक काम तथा योगदानहरुले विश्वव्यापि रुपमा सकारात्मक प्रभाव पारिरहेका तथा उच्चतम योगदान गरिरहेका गैर नाफामूलक आध्यत्मिक अभियानमा समर्पित आध्यात्मिक तथा सामाजिक संस्थाहरुका रुपमा चर्चामा रहेकाछन् विश्वाव्यापि सन्दर्भमा ।


छिट्टै, विस्तारमा

पूर्वीय सनातन दर्शनले सामना गरेका चुनौतिहरु

(१)प्रारम्भिक अवस्था तथा देव र दानव प्रवृत्ति(समग्र प्रचीन कालखण्ड)

(२)नास्तिकवादको विस्तार(लगभग इशापूर्व ६००–७००)

(३)इस्लामको कहर(लगभग सन् ७००–१८००)

(४)इशाईको कहर(लगभग सन् १८००–१९५०)

(५)विस्तारवादको कहर(लगभग १९५० देखि यता...)



                                                               शिवोहम् योगपीठ





Sunday, 1 March 2026

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

 डा. सिर्जना भण्डारी                                                      

                                        #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना ! D

७८.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

इशाको १८औं शताव्दीको उत्तरार्धदेखि १९औं र २०औं शताव्दीमा दक्षिण एशिया क्षेत्रका भारत, नेपालका सनातन हिन्दु धर्म तथा सम्प्रदायमा पूनरजागरण(रेनेशा) तथा नवजागरणको युग प्रारम्भ भयो र यही कालखण्डलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहरका रुपमा मानिएको छ । यूरोपमा १४औं शताव्दीमै आएको पूनरजागरण कालखण्ड दक्षिण एशिया खासगरि नेपाल र भारतमा किन १९औं शताव्दीमा यति ढिलो आयो भन्ने सवाल जोडिन पनि सक्छ । सबैभन्दा पहिला यूरोपको इटलीमा राजनीतिमा अत्यन्तै धेरै धर्म हावी भएको कारण राजनीतिलाई धर्मबाट अलग राख्न र धर्मलाई अलि उदारवादतिर ढाल्नका लागि पुनरजागरण अभियान प्रारम्भ भएको थियो । तर दक्षिण एशियाको सन्दर्भ यो भन्दा अलि फरक रहेको छ, अंग्रेजहरुको राजनीतिकका साथसाथ सांस्कृतिक विस्तारवाद तथा इशाइहरुको धर्म परिवर्तन गराउने बदनियत विरुद्ध लड्नका लागि दक्षिण एशियामा पुनरजागरणको अभियान प्रारम्भ भएको थियो । सर्वप्रथम व्यापार व्यवसाय गर्ने बहानामा अंग्रेजहरु दक्षिण एशियाको भूमिमा आएका थिए र यस क्षेत्रको सरलताको फाइदा उठाउदै ृनीहरुले आफ्नो प्रभाव तथा कब्जा बढाउदै लगे र विस्तारै आधूनिक आणविक र सैन्यशक्तिको बलले अधिकांस क्षेत्रफल हडपेर पूरै दक्षिण, दक्षिण–पूर्वी एशिया र पश्चिम एशियाका केही क्षेत्रहरुमा समेत आफ्नो औपनिबेसिक विस्तारवाद फैलाए र त्यस क्षेत्रका स्थाइ वासिन्दाहरुमाथि दमनको राजनीति बढाउदै क्रमशः राजनीतिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक औपनिवेशिक अभिष्ट बढाउदै पूर्वीय सनातन समाजमा अनियमितता, शोषण र अत्याचार बढाउदै लगे । सनातनीहरुमाथि अनियमितता, शोषण र अत्याचार गर्ने काममा विशेषगरि यस क्षेत्रमा आएका इशाइ मिसनरीहरुले इसाइ अर्थात क्रिश्चियन धर्मका गतिविधिहरुलाई सक्रिय बनाउदै लगे कल–छल–बल–प्रलोभनको रणनीति अपनाएर सनातन हिन्दुहरुलाई इशाइ धर्ममा रुपान्तरण गराएर । यसप्रकारको शक्ति र बदनियतको राजनीतिमा सनातन धर्मावलम्विहरु म्ुस्किलमा परे कि अव कसरी इशाइ बलमिच्याइपूर्ण हस्तक्षेपबाट आफू, आफ्ना नयाँ पुस्ता र आफ्नो आदर्श, धर्म–संस्कृति, आफ्ना मूल्य–मान्यताहरुलाई बचाउने र आफ्नो समुदाय तथा सम्प्रदायमा स्थापित गरिराख्ने भन्ने सन्दर्भमा । अंग्रेजहरुको चरम दबदबाका कारण तत्कालीन समयमा हरप्रकारले शक्तिशाली रहेको इशाइ धर्मसंग आफ्नो रक्षार्थ कसरी लड्ने, भिड्ने र आफ्ना सनातन धारणा, सिद्धान्त, दर्शनहरुलाई कसरी निरन्तरता दिरहने भन्ने अत्यन्तै ठूलो चुनौति तथा चिन्ता अगाडि आएको थियो सनातन समुदाय तथा सम्प्रदाय समक्ष र उपयुक्त चिन्तनको आवश्यकता थियो । इशाइहरुले सनातन समाजका विभिन्न जात–जाति, समुह, समाज तथा सम्प्रदायका मानिसहरुलाई निरन्तर भडकाइरहेका थिए हिन्दु धर्मबाट इशाइ धर्ममा धर्म परिवर्तन गराउनका लागि । यसक्रममा उनीहरुको पहिलो बदनियतपूर्ण रणनीति रहेको थियो तत्कालीन सनातन समाजको अनेकता अर्थात विभिन्न पन्थ तथा सम्प्रदायमा विभाजित रहेको अवस्था; ३३ कोटी देवीदेवता मान्ने तथा धर्म विभाजित रहेको तथा धर्ममा एकता नभएको अवस्था; जातिभेद, छुवाछुत, लिंगभेद, वर्गभेद आदि विषयहरु व्याप्त रहेको अवस्थामा विभिन्न तर्क तथा कुतर्कहरु गरेर सोझासादा सनातनीहरुलाई उनीहरुकै सनातन धर्म र सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताहरु विरुद्ध अनावश्यक रुपमा भड्काएर; नभड्कीनेहरुलाई नगद तथा जिन्सीको प्रलोभन दिएर; प्रलोभनमा नआउनेहरुलाई दण्डीत गर्ने धम्की दिदै तर्साएर; धम्की तथा तसाईबाट पनि प्रभावित नहुनेहरुलाई हिंसा प्रयोग गरेर तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा दण्डित गरेर; सनातन धर्मका भगवान तथा देवी–देवतहरुको मौखिक र व्यवहारिक रुपमा अपमान गरेर; वैदिक यज्ञ तथा अनुष्ठानहरु विथोलेर; सनातन शास्त्रहरु च्यातेर तथा यज्ञमा डढाइदिएर नोक्सान पुर्याउदै उनीहरुले गर्नसक्ने जति सबैप्रकारका विनासकारी हतकण्डाहरु अपनाएर अत्यन्तै त्रासको अवस्था निर्माण गरेर क्रुर ढंगले सनातनीहरुलाई धमाधम हिन्दु धर्मबाट इशाई धर्ममा परिवर्तन गराइरहेका थिए तिब्रताकासाथ किनकी राजनीतिक विस्तारवादमा उत्रिएका अंग्रेज तथा इशाइहरुको मुख्य उदेश्य संसारभरि आफ्नो दबदबा बढाउनु र इशाइ अर्थात क्रिश्चियन धर्म तथा सम्प्रदायलाई विश्वभरि विस्तार गर्नु तथा फैलाएर अरु धर्महरुलाई निस्तेज गर्नु थियो । 


यस्तो अत्यन्तै मुस्किल घडिमा केही ज्ञानी तथा वौद्धिक बुज्रुक सनातनीहरुले सनातन धर्मलाई यस्तो अवस्थाबाट बचाएर आफ्ना मूल्य–मान्यताहरु अरुलाई मास्न दिनु हुदैन भन्ने दृढ संकल्पकासाथ सनातन धर्मलाई एउटा नयाँ स्वरुप प्रदान गर्ने ऐतिहासिक साहसिक निर्णय गरे ताकि पश्चिमी इशाइधर्मी, अंग्रेज तथा पाश्चात्य दर्शनको सामुन्य आफ्नो सनातन धर्म तथा सम्प्रदायका मूल्य–मान्यताहरु र आफ्ना धार्मिक तथा सांस्कृतिक विषयहरु राम्ररी, स्पष्टसंग, मजबुत ढंगले राख्न सकियोस् । सनातन धर्म तथा सम्प्रदायमाथि आएको यस्तो चुनौतिपूर्ण अवस्थाको सामना गर्न निर्माण गरिएका सनातनीहरुले सामुहिक रुपमा प्रारम्भ गरेका रणनीतिहरुलाई नव वेदान्त(नियो वेदान्त) तथा नव हिन्दुवाद(नियो हिन्दुइजम) शव्दावलीहरुले सम्वोधन गर्न थालियो । ‘नियो वेदान्त’ शव्दले सम्वोधन पहिलोपटक पश्चिमी विद्वान पौल हेकरले दिएका थिए व्यंग्यको रुपमा किनकी उनी सनातनीहरुको एकता तथा एकरुपताको गठबन्धनसंग रिसाएका थिए र रिसाएर खिस्याएको शैलीमा सनातनीहरुको तत्कालीन पुनरजागरण अभियानलाई नव वेदान्त तथा नव वेदान्तवाद भनेका थिए । यसप्रकारको एकजुटले इशाईहरुलाई सनातन हिन्दुहरुलाई इशाइमा धर्मान्तरण गर्न मुस्किल परिरहेको थियो अर्थात उनीहरुको अभिष्टमा ठेस लागिरहेको थियो । किनकी छरिएको अवस्थामा रहेका सनातन हिन्दुधर्मीहरुमा प्रभाव पार्न र धर्म परिवर्तन गर्न इशाईहरुलाई सजिलो थियो । पूनरजागरण तथा नव वेदान्त अभियानको सबैभन्दा पहिलो समुह ‘ब्रम्ह समाज’ थियो र यस समुहको नेतृत्व राममोहन रायले गर्नुभएको थियो । राम मोहन राय र वहाँले नेतृत्व गर्नुभएको ब्रम्ह समाज समुहमा इसाइ धर्म तथा सम्प्रदायको पनि प्रभाव रहेको थियो, वहाँले हिन्दु र इशाई धर्मका मूल्य–मान्यताहरु लिएर एउटा नयाँ सिद्धान्त बनाउनु भएको थियो र यस सिद्धान्त तथा अवधारणा अन्तर्ग रहेर ब्रम्ह समाज समुहले इशाई तथा अंग्रेजहरुले बारबार नकारात्मक किसिमले आवाज उठाइरहेका तथा उछालिरहेका सनातन हिन्दु धर्मका विषयहरु– सनातन समाज अनेकता अर्थात विभिन्न पन्थ तथा सम्प्रदायमा विभाजित रहेको; ३३ कोटी तथा करोड देवीदेवता मान्ने; धर्म विभाजित रहेको तथा धर्ममा एकता नभएको; जातिभेद, छुवाछुत, लिंगभेद, वर्गभेद व्यापक रहेको आदि भेदभाव, कुरीति तथा अन्धविश्वासका विषयहरुलाई क्रमशः खारेज गर्ने र त्यसमा सक्दो सुधार ल्याउने प्रयास प्रारम्भ गर्यो । यसपछि देबेन्द्रनाथ टैगोरले पुरनरजागरण अभियानलाई अगाडि बढाउनु भयो । समय बितेसंगै यो अभियान पुस्तानतरण हुदैगयो र पछिल्लो पुस्तामा केशव चन्द्र सेनको प्रादुर्भाव भयो जो यस पूनरजागरण अभियानका निकै प्रभावशाली र लोकप्रिय अभियन्ता बन्नुभयो । नव वेदान्तवाद तथा पूनरजागरणका यी तीन महानायकहरुको गठबन्धनको अभियानले बंगालमा पहिलो पटक एउटा सांगठनिक अवधारणा प्रतिपादन गर्यो जसले महान वक्तव्य जारी गर्दै भन्यो, सनातन समाजमा जतिपनि अलग–अलग समाज, समुदाय तथा सम्प्रदायहरु छन् ती अलग–अलग नभएर सबै एउटै सनातन हिन्दु धर्मका अभिन्न अंग हुन् । यसप्रकारको तर्कका कारण यो अभियानलाई नव हिन्दुवादको संज्ञा प्रदान गरियो । सबै समाज, समुदाय तथा सम्प्रदायहरुलाई एकत्वमा ल्याएर नव हिन्दुवादको अभियानमा समेटेपछि यसअघि रहदै आएका जात–जाति, लिंग–लैंगिकता, उच–निच तथा छुवाछुत जस्ता भेदभावहरु हटाएर सबैलाई समान व्यवहार गर्ने र सम्मान प्रदान गर्ने रणनीति प्रारम्भ गरियो ताकि सनातन हिन्दु धर्ममा कुनै छुवाछुत, भेदभाव, असमानता, कुरीति तथा अन्धविश्वास देखाएर तथा यिनै अवस्थाहरुलाई कारण बनाएर भड्काएर, झुक्याएर, प्रलोभन दिएर इशाईहरुले कोही सनातनीहरुलाई आफ्नो धर्म–संस्कृति त्यागेर इशाई धर्म धारण गर्न बाध्य बनाउने अवस्था अव आइन्दा नबनोस् किनकी यो समयमा अनेक हतकण्डाहरु अपनाएर इशाईहरुले सनातनीहरुको धर्म परिवर्तन गर्ने अभियानलाई तिब्र बनाएका थिए र यस नव हिन्दुवाद अभियानको मूल लक्ष्य यसरी जथाभावी किसिमले भैरहेको धर्म परिवर्तन रोक्नु थियो । नव हिन्दुवादको अवधारणा र प्रभावकारी कार्यसंगै सनातन समाजमा एकत्व बढ्दै गयो र देशभरिका सबै समुह, समाज, समुदाय तथा सम्प्रदायहरुले आफूहरु सबै एक रहेको र समग्र सनातन हिन्दु धर्मको अभिन्न अंग रहेको स्वीकार गरे र यस अभियानमा दृढ संकल्पकासाथ जोडिए र यो अभियान अझ जोडतोडको अभियान लिएर अगाडि बढ्यो । 



स्वामी विवेकानन्दको प्रादुर्भाव

पछिल्लो पुस्तामा नव वेदान्त तथा नव हिन्दुवादमा अर्को महत्वपूर्ण कडिका रुपमा यस अभियानका अत्यन्तै प्रखर अभियन्ता बनेर नरेन्द्रनाथ दत्तको प्रादुर्भाव भयो र वहाँले पुनरजागरण तथा नव वेदान्त अभियानमा निकै महत्वपूर्ण योगदान पुर्याउनु भयो । वहाँनै पछि गएर विश्वको पश्चिम भूगोलमा पूर्वीय सनातन दर्शनको विगुल फुक्ने र पाश्चात्य जगतमा पूर्वीय सनातन दर्शनको विस्तार गर्ने महान नायक तथा अभियन्ता स्वामी विवेकानन्दका रुपमा परिचित हुदै विश्वविख्यात र लोकप्रिय सनातनी एवं नव वेदान्त तथा नव हिन्दुवादका प्रमुख प्रतिकका रुपमा सावित हुनुभयो विदेशी तथा पश्चिमाहरुका लागि समेत । शुरुका दिनमा नरेन्द्रनाथले पुनरजागरण अभियानका समुहहरुसंग मिलेर काम गर्नुभयो र पछि सनातन हिन्दु धर्मका महान व्यक्तित्व परमहंस रामकृष्णसंग सहकार्य गरेर, वहाँका शिष्य स्वामी विवेकानन्दका रुपमा सनातन समाजको पुनरजगरण तथा पुनरउत्थानको अभियानमा समर्पित अवधारण नव वेदान्त तथा नव हिन्दुवाद अन्तर्गत रहेर पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुभयो । आफ्ना गुरु परमहंस रामकृष्णसंग भेटदाको पहिलो संवाद नै निकै दार्शनिक शैलीबाट प्रारम्भ भएको वहाँहरुविच भएको दार्शनिक संवादको रोचक प्रसंग निकै चर्चित रहेको छ सनातन समाजमा । नव वेदान्त अवधारणमा स्वामी विकानन्दले अझ महत्वपूर्ण र धेरै सान्दर्भिक विषयहरु थप्नु भयो र पछि गएर वहाँलाईनै नव वेदान्त दर्शनका प्रणेताको श्रेय दिइयो र सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहरमा प्रतिपादित भएको नयाँ अवधारणा तथा सिद्धान्त नव वेदान्त दर्शनको रुपमा लोकप्रिय बन्यो । यसपश्चात पुनरजागरणबाट प्रारम्भ भएको नव हिन्दुवाद तथा नव वेदान्तमा धेरै व्यक्तित्वहरु जेडिनुभयो । सनातन समाजको उच्च व्यक्तित्व तथा स्वाधितनता संग्रामका नेतृत्वकर्ता स्वामी अरविन्द घोष नव वेदान्त अभियानमा जोडिनुभयो । वहाँको स्वाभाव दार्शनिक प्रकृतिको भएकोले पछि वहाँ आफैंले नयाँ अवधारणा तथा दर्शनको प्रतिपादन गर्नुभयो जुन ‘पूर्ण योग दर्शन’को नामबाट चिनिन्छ, कतैकतै वहाँको यो दर्शनलाई ‘पूर्ण अद्वेत दर्शन’ पनि भनिएको छ । यसपछि अर्को महान व्यक्तित्व सन्त राजनीतिज्ञ महात्मा गान्धी यस नव वेदान्त अभियानमा जोडिनु भयो । श्रीमद भगवद् गीताका अनन्य सेवक र यसउपर विभिन्न भाष्यहरु लेख्नुभएका प्रखर आध्यात्मिक तथा धार्मिक व्यक्तित्व महात्मा गान्धी दार्शनिक व्यक्तित्व हुनुहुन्छ र नव वेदान्त र वैष्णव वेदान्त दुवै दर्शनको सेवक रहनु भएको हुनाले वहाँको दर्शनले पनि नव वेदान्त दर्शनमा एक महत्वपूर्ण स्थान ओगटेको छ । यस पंतिmमा अर्को नाम जोडिन्छ डा. सवपली राधा कृष्णनको, वहाँको अवधारण तथा दर्शन पनि नव वेदान्तनै हो । केही हदसम्म ‘आर्य समाज’का संस्थापक र ‘सत्यार्थ प्रकाश’का प्रणेता दयानन्द सरस्वतीको दर्शन पनि नव वेदान्त तथा नव हिन्दुवादसंग निकट रहेको पाइन्छ ।


पूनरजागरणबाट प्रारम्भ भएको सनातन अभियान नव हिन्दुवाद तथा नव वेदान्तसम्म आइपुग्दा यसका सबै उपलव्धिहरुको नतिजास्वरुप अत्यन्तै महत्वपूर्ण विषय तथा नयाँ शव्दावली राष्ट्रियतावाद(नेसनालिजम) तथा समानतावाद(इक्वालिजम)को उदय भयो र यो तत्कालीन समाजको उत्थान तथा विकासका ालागि अत्यन्तै महत्वपूर्ण अवधारण थियो र स्वतन्त्रता संग्राममा विजयको महत्वपूर्ण सारथी पनि बन्न सफल भयो । यी सबै अभियान, अवधारणा तथा दर्शनहरुको मूल उद्देश्य अलग–अलग रुपमा छरिएर रहेका सबै सनातन हिन्दु धर्मावलम्विहरुलाई एकसुत्रमा ल्याएर आफ्नो समुह, समुदाय, समाज, सम्प्रदाय, धर्म, संस्कृति, संस्कार, परम्परालाई वाहिरीयाहरुको स्वार्थपूर्ण नजरबाट जोगाउनु र बलियो बनाउनु थियो र यहाँसम्म आइपुग्दा पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा सनातन समाजको यो महान र महत्वपूर्ण उद्देश्य पूरा भयो ।     
       

नव वेदान्तको आवश्यकता किन भयो

आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनलाई अनुशरण गर्ने धेरै अनुयायीहरु आफू जीवनयापन गरिहेको यस जीवन र जगतलाई भ्रम, माया, मिथ्या, निस्सार तथा बिना अर्थको मान्दथे । यदि यो जीवन र जगत सबै मिथ्या छ, असत्य छ, यसको कुनै अर्थ छैन भने जीवनमा केकोलागि मेहनेत गर्ने, किन संघर्ष गर्ने, व्यक्ति, समाज, धर्म–संस्कृति, देशलाई किन स्वन्त्रता चाहियो, किन विकास चाहियो, केको पीर, किन चिन्ता, के विदेशी, के स्वदेशी, के जात, के वर्ण, के वर्ग, के प्रगति, के सफलता, के साथीसंगत, के प्रेम, के परिवार, के सन्तान, के देश, के प्रकृति, के मानवीयता... आदिका विषयमा सबैतिर उदाषी तथा निराशा छायो किनकी जव केही पनि सत्य छैन भने जीवनमा केकोलागि दुःख तथा संघर्ष गर्ने, किन गर्ने । मानिसहरुको सोच तथा जीवन यस्तो निराशाजनक तथा लक्ष्यविहिन हुदैगएकोले सनातन समाजमा युग सान्दर्भिक हुनेगरि सुधारीएको अवधारणा नव वेदान्त दर्शनको आवश्यकता महसुस भयो किनकी जीवनमा स्वतन्त्रताको लडाइ लड्न, जीवनमा केही प्राप्तिको लागि अध्ययन गर्न, पेशा–व्यवसाय गर्न, मेहनत गर्न यो संसार तथा जगतमा जीवन जिउने हामी मनुष्यलाई आफ्नो जीवन र जगत सत्य लाग्नुपर्छ अनि बल्ल हरकोहीमा केही गर्ने जोश र प्रेरणा जाग्दछ, झूठो संसार, झुठो जीवनका लागि मेहनत तथा संघर्ष गर्न अन्तरमनदेखि अपनत्व भावका साथ कोही पनि तयार हुदैन । यसकारण सनातन समाजका सबै सनातनीहरुमा तत्कालीन परिस्थितिमा स्वतन्त्रताकालागि लड्न, सबैमा सन्तुलनता, समानता तथा व्यवस्थापन मिलाउनकालागि मानिसहरुमा जोश, प्रेरणा तथा आत्मवल जगाउन नव हिन्दुवाद, नव वेदान्तवाद, राष्ट्रियतावाद तथा समानतावादको अवधारणा तथा आवश्यकता महसुस भयो र यसको प्रादुर्भाव भयो । नव हिन्दुवाद, नव वेदान्तवाद, राष्ट्रियतावाद तथा समानतावादले देशको स्वतन्त्रता संग्रामको सफलतामा निकै बल पुर्यायो र देश तथा देशका नागरीकलाई २०० वर्ष पुरानो विस्तारवादी निरंकुश अंग्रेज सत्ता र मौका परस्त इशाईहरुको कुनियतबाट सदाकालागि स्वतन्त्रता मिल्यो र यो उपलव्धि संगै पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर यहीं समाप्त भयो र नयाँ प्रकारको छैठौं लहरको प्रारम्भ भयो स्वतन्त्र भएको नयाँ समाज संगसंगै ।    


छिट्टै, विस्तारमा

(६)छैठौं लहर– नवयान, जे. कृष्णमूर्ति, ओशो रजनीश लगायत (अंग्रेजबाट स्वतन्त्र भएपछि वर्तमानसम्म, सन् १९५० यता...)

                                                               शिवोहम् योगपीठ



   


पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु- १

  डा. सिर्जना भण्डारी                                                                                              #अध्यात्म_विज्ञान  # धर्म...