Saturday, 13 December 2025

शिवोहम् योगपीठ: योग साधना - दोस्रो कक्षा

                                     #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



योग साधना - दोस्रो कक्षा

सवालकर्ता तथा सहभागीलाई धन्यवाद साथै शुभकामना !

१९. आजको विषय तथा सवाल:

अव्यवस्थित जीवनशैली व्यवस्थापनका लागि योग साधना कसरी सहयोगी हुनसक्छ? 

 

जवाफ तथा प्रारम्भ:

योग साधनाको दोस्रो दिनको कक्षामा हार्दिक स्वागत छ कुञ्जना !

सर्वप्रथम १० मिनेट जीवन व्यवस्थापनका सन्दर्भमा केही सनातन ज्ञान, विज्ञानका विषयहरुबारे बुझौं त्यसपछि योग साधनाको दोस्रो दिनको प्रयोगात्मक अभ्यासमा प्रवेश गर्नेछौं । 


जीवनका आयामहरु र व्यवस्थापन

सनातन अध्यात्म दर्शन जीवन जिउने कलाको विज्ञान (दि आर्ट अफ लिभिंग) हो । जीवन जिउने कलाको विज्ञान अध्यात्म दर्शनको मूल ध्यय तथा उद्देश्य मनुष्यलाई उत्कृष्टतम जीवन जिउने कलाका ज्ञान, विज्ञानका विषयहरु सिकाउनु हो । जीवन व्यवस्थापन एक कला हो, जीवनका आयामहरु जति धेरै कलाहरुले भरिन्छन् जीवन उतिनै सहज, सरल, सफल, आकर्षक, उत्साहजनक, रमाइलो र व्यवस्थित हुन्छ । जीवनलाई आफूले चाहे जस्तो कलात्मक ढाँचामा लय गर्न सक्नु व्यवस्थित जीवन हो जस अन्तर्गत जीवनका धेरै प्रकारका आयामहरु पर्दछन् । जीवनका केही प्रमुख आयामहरुमा– (१)शरीर विज्ञान, (२)स्वास्थ्य विज्ञान, (३)मनोविज्ञान, (४)ज्ञान विज्ञान, (५)चेतना विज्ञान, (६)विचार विज्ञान, (७)खुशी विज्ञान, (८)व्यवहार विज्ञान, (९)सम्वन्ध विज्ञान, (१०)लक्ष्य विज्ञान, (११)व्यक्तित्व विज्ञान, (१२)नेतृत्व विज्ञान, (१३)कर्म विज्ञान, (१४)उर्जा विज्ञान, (१५)योग विज्ञान, (१६)ध्यान विज्ञान, (१७)अध्यात्म विज्ञान, (१८)प्रकृति विज्ञान, (१९)जीवन विज्ञान, (२०)जगत विज्ञान आदि पर्दछन् । यी सबै आयामहरुले मनुष्यको जीवनमा कुनैनकुनै प्रकारले प्रत्यक्ष तथा अप्रत्यक्ष सम्वन्ध राखेका हुन्छन् र प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेका हुन्छन् । तसर्थ समग्र जीवन व्यवस्थापन गर्नकालागि हरेक मनुष्यले यी फरक–फरक आयामहरुमा कलात्मक ढंगले काम गर्नुपर्दछ । हामी यी आयामका अन्तरवस्तुहरुमा विस्तारै प्रवेश गर्नेछौं, केही जिज्ञासा लागेको छ भने सोध्नु होला कुञ्जना, कृपया ।

प्रश्नः हजूरले ध्यान साधना गराउनु हुदा मेरो शरीर त्यति अस्थिर हुदैन र मन पनि त्यति भड्किदैन तर म आफैं ध्यान साधनामा बस्दा शरीर पनि स्थिर हुदैन र मन पनि पूराना कुराहरु– कसले मलाई के गर्यो, कसले मलाई के भन्यो, आफूले सोचे जस्तो भोलि भैदिएन भने म कहाँ जाने होला, के गर्ने होला भन्नेतिर गैरहन्छ, आफूले ती कुराहरुबारे सोच्न नचाहेको भएपनि... । म ध्यान साधनामा पाँच मिनेट पनि टिक्न सक्दिन, मैले नचाहे पनि यी विचारहरु मेरो मन, मस्तिष्कमा दौडिरहन्छन्, कसरी यी विचारहरुलाई नियन्त्रण गर्न सकिन्छ ?

उत्तरः सर्वप्रथम त तपाईं आफ्नो मन, मस्तिष्कमा विचार चल्यो भनेर दिक्क नमान्नुस् कृपया किनकी  विचार  र शरीर दुवैको प्राकृतिक गुण तथा नैसर्गीक स्वरुप चल्नु हो । विचारहरुको समुह मन र जिवीत शरीर चलेन भने त मनुष्य बेकार भैहाल्यो नि, मृतक व्यक्ति तथा सबको मात्र मन र  शरीर चल्दैन र उ यस संसारमा फेरी फर्केर पनि आउदैन । त्यसैले ध्यानमा बस्दा शरीर, मन, भाव, वुद्धि, सोच, विचार, भावनात्मक संवेगहरु चलिरहे, मेरो ध्यान साधना राम्रो भएन, मलाई ध्यान लागेन तथा मेरो ध्यान भंग भयो भनेर ग्लानी गर्नु हुदैन । ध्यान साधना हो र ध्यानको प्रमुख उद्देश्य नियमित प्रयोगात्मक अभ्यासको माध्यमबाट मनुष्यको शरीर, मन, भाव, वुद्धि, चित्त, अहंकारलाई संतुलनमा ल्याएर तथा व्यवस्थित गर्दै मनुष्यको आत्मा अर्थात चेतनाको उच्चतम विकास गरेर उसलाई सांसारिक जीवन हुदै पारमार्थिक तथा आध्यात्मिक जीवनमा प्रवेश गराएर आफ्नो वास्तविक जन्मदाता परमपिता तथा आफ्नो वास्तविक मूलस्वरुप आत्माहरुको पनि आत्मा परमआत्मामा योग तथा योगस्थ गराउनु हो तथा जन्म–मृत्युको चक्रबाट मुक्त गराएर मनुष्यलाई मोक्षमा उपलव्ध गराउनु हो... ।

प्रश्नः परमात्मा, इश्वर, भगवान भनेको त बुझ्छु तर परमात्मामा योग तथा योगस्थ गर्ने अनि मोक्षमा उपलव्ध गराउने भनेको के हो गुरुवर ?

उत्तरः अत्यन्तै सुन्दर जिज्ञासा ! धन्यवाद, कुञ्जना !! 

पहिला म तपाईंको पहिलो जिज्ञासा शरीर र मनको अस्थिरताको जवाफ पूरा गरेर दोस्रो जिज्ञासामा आउछु है, ध्यान दिएर सुन्नु होला–

शव्दको पछाडि ‘गर्नु’ जोडिएका क्रियापद(भर्ब)हरु सबै कर्म गर्नु तथा केही न केही सक्रियताको काम गर्नु भन्ने अर्थका हुन्छन् तर ‘ध्यान गर्नु’ क्रियापद मात्र यस्तो हो जसमा केही कर्म नगर्नु चुपचाप सबै इन्द्रियहरु निश्क्रिय गराएर, शान्त भएर, स्थिर रहनु र आफूभित्र र आफूवाहिरका गतिविधिहरु सबै थाहा पाइराख्नु भन्ने अर्थमा रहेको छ । सामान्यतया धेरैजसो मनुष्यहरु शरीरलाई सक्रिय बनाएर गरिने कामहरु गर्न मुस्किल हुन्छ भन्ने ठान्छन् र उनीहरुलाई फुर्सद तथा निष्कृय बस्न खुव जाँगर लाग्छ, मजा आउछ तर यही फुर्सद तथा निष्कृयतालाई स्थिर बनाएर तथा सबै इन्द्रियहरुलाई निष्कृय गराएर, शान्त भएर, स्थिर रहनु तथा ध्यान साधनामा बस्नु र आफूभित्र र आफूवाहिर भैरहेका सबै गतिविधिहरुलाई थाहा पाइरहनु केपछि के भयो भनेर भनियो भने त्यसो गर्न मुस्किल पर्छ । ध्यान साधनामा उनीहरु शरीर स्थिर राख्न पनि सक्दैनन्, मन एकाग्र, भाव शान्त र वुद्धि तर्कशुन्य अवस्थामा राख्न पनि सक्दैनन् । तर यो अत्यन्तै स्वभाविक अवस्था हो, शरीर, मन, भाव, वुद्धि चल्यो, मेरो ध्यान भंग भयो भनेर ग्लानी गर्ने तथा आत्तिने अवस्था हुदैहोइन किनकी यो ध्यानकै एउटा अनिवार्य प्रारम्भिक प्रक्रिया हो । प्रारम्भमा सबैलाई ध्यानमा यस्ता प्रकारका असहजताहरु आउछन् नै, विस्तारै आफ्नो प्रकृति, स्वभाव, आवश्यकता अनुसार योग तथा ध्यान साधनाका सहि प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण तथा प्रयोगात्मक अभ्यासमा अभ्यस्त हुदै गएपछि ध्यान साधनामा शरीर स्थिर, मन एकाग्र, भाव शान्त र वुुद्धि सिर्जनशीलतामा स्थित हुदै जान्छ, ध्यान साधना सहज तथा गहन हुदै जान थाल्छ तथा ध्यान लाग्छ । पक्कै पनि जिज्ञासा उठेको होला शरीर र मन चल्नु ध्यान साधनाकै प्रारम्भिक प्रक्रिया हो भने यस्तो किन हुन्छ र समाधान को हो त भनेर ? 


मनुष्यको जीवन प्राण उर्जाले चलेको हुन्छ जो नियमित श्वास–प्रश्वाससंग वहने गर्दछ । मनुष्यका दैनिक गतिविधिहरुमा प्राण उर्जाको प्राप्ति र खपतको प्रक्रिया निरन्तर चलिरहन्छ जन्मेदेखि मृत्युपर्यन्त । हरक्षण मनुष्यका एघारवटै इन्द्रियहरु– पाँच स्थुल तथा दृश्य ज्ञान इन्द्रियहरु(आँखा, कान, नाक, छाला, जिब्रो) र पाँच स्थुल तथा दृश्य कर्म इन्द्रियहरु(हात, गोडा, मुख, मलद्वार, जनेन्द्रिय)का गतिविधिहरु निरन्तर चलिरहेको समयमा उसको प्राण उर्जाको सक्रियता ज्ञान तथा कर्म इन्द्रियहरुका क्रियाकलापहरुमा व्यस्त रहेको हुन्छ र त्यतैतिर खपत भैरहेको हुन्छ । तर जव मनुष्य आफ्ना सम्पूर्ण इन्द्रियहरुलाई निष्कृय गराएर, शरीरलाई पूर्णतः स्थिर गरेर ध्यान साधनामा बस्छ तव उसको प्राण उर्जा ज्ञान तथा कर्म इन्द्रिय र स्थुल शरीरलाई छोडेर एघारौं अनस्थुल तथा अदृश्य इन्द्रिय मन (मन, भाव, बुद्धि, चित्त, अहंकार अर्थात अन्तःकरण)मा प्रवेश गर्दछ र मनको सक्रिता बढाइदिन्छ । यसकारण मनुष्यले आफूले चाहे पनि नचाहे पनि उसको मन, मस्तिष्क, भाव, वुद्धिमा अनगिन्ती सोच, विचार, भावनात्मक संवेग, दया, प्रेम, घृणा, बदला, तर्क, जुक्ति, उद्देश्य, लक्ष्य, योजना, पुराना सुख, दुःखका स्मृतिहरु, भविश्यका सुनिश्चितता, असुरक्षा, डर, चिन्ता आदि भएभरका विषयहरुको मेला, झमेला, असन्तुलन, अस्तव्यस्तता तथा अव्यवस्था शुरु हुन्छ र उ त्यसैमा रुमल्लिन्छ, उल्झिन्छ तथा हराउछ । तर यस्तो अवस्था आउनु सामान्य हो र यो अवस्था ध्यान साधनाकै एक अनिवार्य प्रक्रिया हो । मनुष्यको मन, मस्तिष्क, भाव, वुद्धिमा चल्ने विचार, संवेग तथा तर्कहरुका मुख्यतया तीन प्रकारका श्रोतहरु रहेका हुन्छन्– (१)ज्ञान इन्द्रियहरुबाट प्राप्त हुने चेतन मनका सूचनाहरु, (२)अर्धचेतन तथा पूर्णचेतन मनमा संग्रहीत पूराना तथा जन्म–जन्मका स्मृतिहरु, र (३)भविश्यमा आफूले गर्ने कामको लक्ष्य र लक्ष्य हासिल गर्ने कल्पना तथा योजनाहरु । चेतन मनमा सूचना पठाउने ज्ञान तथा कर्म इन्द्रियहरुलाई स्थिर गर्ने वित्तिकै प्राण उर्जा अर्धचेतन तथा पूर्णचेतन मनमा प्रवेश गरेर मनका पूराना तहहरुलाई सक्रिय गराइदिने हुनाले त्यहाँ संग्रहित भएर रहेका नयाँ–पूराना सबै सिकाइ तथा जन्म-जन्मका स्मृतिका अनुभव तथा अनुभूतिहरु सूचनाका रुपमा वाहिर प्रष्फुटित भएर आउन थाल्छन् र साधकलाई ध्यान साधनामा रहेको समयमा अरु समयमा भन्दा अत्यन्तै धेरै अनियन्त्रित विचार तथा संवेगहरु चलेको अनुभवमा आउछ । मनुष्यको जीवनमा उसको मन, मस्तिष्क, भाव, वुद्धिमा अनावश्यक, अनियन्त्रित रुपमा चलिरहने विचार, संवेग तथा तर्कहरुले ल्याएका यस्तै शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक अस्तव्यस्तताका अवस्थाहरुलाई व्यवस्थित गर्नकालागि नै सनातन मानव सभ्यतामा योग साधना तथा ध्यान साधना गर्ने तथा गराउने संस्कृतिको प्रारम्भ गराउनु भएको हो हाम्रा वैज्ञानिक पुर्खा ऋषिमुनिहरुले । योग विज्ञान तथा ध्यान विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित सहि प्रक्रिया, विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गरेर तथा उतारेर तिनको प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट मनुष्यको जीवनमा आइपरेका यस्ता अव्यवस्थित, चुनैतिपूर्ण तथा कठिन अवस्थालाई व्यवस्थित गर्न योग तथा ध्यान साधना अत्यन्तै प्रभावकारी तथा सहयोगी माध्यम बनेको वैज्ञानिक तथ्यमा आधारित रहेर गरिएका धेरै खोजमूलक अध्ययनहरुले उजागर गरिसकेका छन् ।


परमात्मामा योगस्थ हुनु तथा मोक्षमा उपलव्ध हुनु भनेको के हो ?

सनातन अध्यात्म दर्शनको यो अलि गहन विषय हो । सनातन अध्यात्म दर्शनका प्राचीन शास्त्रहरुमा उल्लेख भए अनुसार हामी सबै प्राणी, वनस्पति तथा पदार्थहरु ब्रम्हाण्डको उत्पत्ति हुनुपूर्व निराकार, निर्गुण, अव्यक्त परमात्माको गर्भमा थियौं जसलाई हिरण्य गर्भ भनिन्छ । आफ्नो गर्भमा सबै कुरा लिएर बसेको एक्लो परमात्मालाई आफू निराकारबाट आकार स्वरुप, निर्गुणबाट गुण स्वरुप र अव्यक्तबाट व्यक्त स्वरुपमा प्रकट हुने तथा एकबाट अनेक हुने विचार भयो र परमात्माले आफ्नो हिरण्य गर्भमा रहेका सबै प्राणी, वनस्पति तथा पदार्थहरुलाई एकैपटक आफ्नो गर्भबाट वाहिर निकाल्नु भयो तथा यो सृष्टि जन्माउनु भयो अर्थात ब्रम्हाण्डको सिर्जना गर्नुभयो । सनातन अध्यात्म दर्शनले भन्दै आइरहेको परमात्माबाट सृष्टि जन्मिएको क्षण तथा त्यो प्रक्रिया भैरहदा प्रष्फुटन भएको ध्वनि तथा कम्पनलाई आधूनिक भौतिक विज्ञानको नवीनतम शाखा तथा अत्याधूनिक प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)ले विगव्यांग थेयौरी तथा महाविस्फोटको सिद्धान्तको रुपमा व्याख्या, विश्लेषण गर्दै आइरहेको छ ब्रम्हाण्डको उत्पत्तिको सन्दर्भमा । ब्रम्हाण्डको उत्पत्ति तथा हामी सबैको जन्मपछि हामी आफ्नो मूलश्रोत परमात्माबाट अलग तथा वियोग भयौं । सृष्टिको उत्पत्तिपछि नयाँ जन्मने र पूरानो मर्ने तथा जन्म-मृत्युको प्रक्रिया निरन्तर चल्न प्रारम्भ भयो, यसक्रममा मनुष्यले आफ्नो जीवन राम्ररी जिउन नजानेका कारण आफ्ना कर्महरु बिगार्दै गयो र उ विभिन्न कठिनाइहरुमा उल्झिदै तथा फस्दै गयो र झनझन जन्म–मृत्युको चक्रमा घुम्दै गयो, आफ्नो वास्तविक जन्मदमता परमात्मालाई भुल्दै गयो, अझ वियोगको अवस्था तथा दुरी बढ्दै गयो र मनुष्य झनझन दुःखको दलदल तथा नर्कमा फस्दै गयो । 


मनुष्यको जीवनमा आइपरेका यस्ता दुःखहरुको निवारण कसरी गर्न सकिएला भनेर प्राचीन मानव सभ्यताका अग्रज तथा प्राचीन वैज्ञानकि ऋषिमुनि तथा हाम्रा पुर्खाहरुले यसबारे विभिन्न तरिकाले खोज, अनुसन्धान तथा अध्ययन गर्न लाग्नु भयो र पत्ता लगाउनु भयो कि आफ्नो वास्तविक जन्मदाता तथा आफ्नो मूलश्रोत परमात्माबाट लामो समयदेखि वियोग भएको कारण मनुष्यले जीवनमा दुःख पाएको तथा जन्म–मृत्युको चक्रमा घुमिरहेको हो । मनुष्यले सतविचार र सतकर्म गरेर र आफ्नो शरीर, मन, भाव, वुद्धि, चेतनालाई शुद्ध गर्ने उपयुक्त साधना विधिहरुको प्रयोगात्मक अभ्यास गरेर पुनः आफ्नो वास्तविक जन्मदाता परमात्माको हिरण्य गर्भमा प्रवेश पाउन तथा परमात्मामा योग तथा योगस्थ हुन सक्दछ । प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले आफ्नो वास्तविक जन्मदाता मरमात्मामा पुनः योग तथा योगस्थ हुनसक्ने साधना विधि पत्ता लगाउनु भएकोले वहाँहरुलाई 'योगी' भनियो र वहाँहरुले पत्ता लगाउनु भएको तथा प्रतिपादन गर्नुभएको साधना विधिलाई 'योग साधना' भनियो । त्यतिबेलादेखि आजपर्यन्त पुस्तान्तरण हुदै आइरहेको यो सनातन योग साधनाको ज्ञान, विज्ञानलाई आजका हामी नयाँ पुस्ताहरुले योग साधना तथा ध्यान साधना भनेर अनुशरण गर्दै र आफ्नो जीवनमा यसका अनन्त लाभहरु लिदै आइरहेका छौं । योग साधना मनुष्यलाई उत्कृष्टतम जीवन जिउन सिकाउने कलाको विज्ञान सनातन अध्यात्म दर्शनको एउटा अत्यन्तै महत्वपूर्ण विषय 'योग विज्ञान'का रुपमा स्थापित भएको छ र सारा मनुष्य जगतले यो परम ज्ञान तथा विज्ञानलाई आफ्नो जीवनमा अनुशरण गर्दै आइरहेको छ । योग विज्ञान तथा ध्यान विज्ञान पुर्णतः प्रामाणिक प्रयोगात्मक विज्ञान हुन् । योग विज्ञानका पुर्णतः वैज्ञानिकतामा आधारित योग तथा ध्यान साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण तथा प्रयोगात्मक अभ्यास गरेर आफ्नो जीवनमा अस्तव्यस्त भएका सबै आयामहरु व्यवस्थित गरेर आफ्नो शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक विकास गरेर परमचेतना अर्थात हाम्रो वास्तविक जन्मदाता परमात्मामा पुनः योग तथा योगस्थ  हुन सकिन्छ र योग तथा ध्यान साधनाको प्रमुख उद्देश्य तथा लक्ष्य नै यही हो । 


राति सुत्ने र विहान उठ्ने नियम

प्रश्नः निद्रा हरेक मनुष्यको प्राकृतिक स्वभाव र अनिवार्य आवश्यकता भएकोले र समग्र स्वास्थ्यका लागि निद्रा पर्याप्त र सन्तुलित हुनु अपरिहार्य हुन्छ । निद्रा बिग्रियो भने शरीर र स्वास्थ्यका सबै आयामहरु विग्रिन्छन् त्यसैले अर्को दिन तथा अर्को हप्ता निद्रा पुर्याउछु अहिले फुर्सद छैन भनेर हुदैन । निद्रा पानीको तिर्खा जस्तै हो जुनबेला लाग्यो जतिसक्दो त्यतिनै बेला शरीरलाई निद्रामा जाने अवसर प्रदान गर्नुपर्दछ । सामान्य व्यक्तिले बेलुका सकेसम्म ९ देखि १० बजेसम्म सुतिसक्नु पर्दछ र विहान ५ देखि ६ बजेसम्म उठिसक्नु पर्दछ । आज निद्राको यो नियम अनुशरण गर्नुभयो कुञ्जना ?

उत्तरः अनुशरण गरें । 


पानी पिउने र सूर्य नमस्कार गर्ने नियम

प्रश्नः हातले बनाएको तामाको जगमा रातभरि राखेको पानी मनतातो बनाएर कम्तिमा ५०० मिलिलिटर शुद्ध पानी पिउनुअघि पानीमा एकटकले हेरेर “हे ब्रम्हाण्डको दिव्य र शुद्ध उर्जा जल, तिमी अमृत हौ, तिमी औषधि हौ, तिमी जीवन उर्जा हौ, तिम्रो कारण म स्वस्थ छु, तिमीलाई नमस्कार छ, धेरै धन्यावाद छ ।” भनेर पानी ग्रहण गर्नु भयो र सूर्य नारायणको किरण शरीरमा ग्रहण गरेर यस्तै भावले नमस्कार गर्नुभयो ? 

उत्तरः त्यसै गरें ।


आहार तथा खानपिनको नियम

प्रश्नः विहान सादा आयुर्वेदिक चिया पिउनुभयो ?

प्रश्नः पिइन, मसंग आयुर्वेदिक चिया छैन, कसरी बनाउने ?

उत्तरः आफ्नो बारी, बगैचा तथा कौशीमा लगाइएका आयुर्वेदिक गुण भएका खानयोग्य जुनसुकै वनस्पतिका पात, फूल, फल, बोक्रा, जरा जेपनि उपलव्ध छ तिनलाई संकलन गरेर, राम्ररी धोएर तत्कालको लागि हरियोनै तथा आलै उमालेर पिउनुस् र पछिकोलागि पंखा, एसि तथा फ्रिजको सुख्खा हावामा सुकाएर झुरुम्म भएपछि त्यसलाई हल्का माडेर हावा कस्सिने बट्टामा राख्नुस् चिसो ठाउँमा र आयुर्वेदिक औषधिको रुपमा आफ्नो स्वाद अनुसार पाँच मिनेट उमालेर, अदुवा, मरिच, गरम मसला हालेर सादा तथा कागति र मह घोलेर विहान र राति पिउनुस् । यो अमृत पेयले विस्तारै शरीरका सबैप्रकारका विकार, खराव रसायन तथा विषाक्तताहरु सफा गर्दछ र शरीर शुद्ध बनाउन मद्धत गर्दछ । अव, योग साधनाको दोस्रो कक्षा शुरु गरौं, आज हामी २० मिनेट योग साधना गर्नेर्छौं– 


२० मिनेटको योग साधना प्रारम्भ

(क)६ मिनेट योगासान

रुतुतुतु रुतुतुतु सांतगीतिक धून योगासन गर्नुअघि शरीर तताउनलागि

https://www.youtube.com/watch?v=B_bI_nffLLo


(१)शरीर तताउन २ मिनेट शरीरलाई मज्जाले उफारौं तथा नाचौं उच्च नृत्य तरंग तथा उच्च बास भएको संगीत बजाएर ।

(२)शरीर खुलाउन २ मिनेट गोडा, घुँडा, कम्मर, कुम, हात, नारी, गर्धन घुमाऔं, उच्च बास भएको संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

(३)शरीर तन्काउन २ मिनेट दुवै हात कम्मरमा राखेर घुँडा नखुन्च्याइकन श्वास वाहिर छोड्दै ढाड र शिर कोप्रो नपारीकन सकेसम्म अगाडि भुईंतिर झुकौं; विस्तारै श्वास भर्दै उठौं तथा सिधा बनौं; कम्मर पछाडि दुवै हात राखेर कम्मरलाई हातले थेगौं र श्वास वाहिर छोड्दै सकेसम्म शरीरलाई पछाडि झुकाउँ; अगाडि र पछाडि ३-३ पटक तथा अझ बढि पटक शरीरलाई झुकाउँ । अव, दुवै हातलाई शिरमाथि लगेर तनक्क तन्काएर एकअर्कोमा औंला फसाउँ र कम्मरदेखि शिरसम्म झुक्ने गरि श्वास वाहिर छोड्दै देब्रेतिर ३ पटक झुक्दै सिधा हुदै र दाहिनेतिर ३ पटक झुक्दै सिधा हुदै पालैपालो शरीरलाई झुकाएर सिधा गरौं । अव, दुवै हात अगाडि तनक्क तन्काएर १० पटक लगातार उठवस गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ, अव प्राणायामको लागि तयार बनौं ।  


(ख)६ मिनेट प्राणायाम 

(१)कपालभाति प्राणायाम
२ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका विचका दुईवटा माझी, साहिंली र बुढी औंलाका टुप्पा जोडेर आकाशतिर फर्काएर घूँडामाथि राखौं र अव मुख बन्द गरेर नाभि क्षेत्रलाई याद गर्दै नाकबाट जोडले फालेको श्वास-प्रश्वाससंगै पेट वाहिर आएको र भित्र पसेको अनुभव गदै कपालभाति प्राणायाम गरौं १ समयमा  ३० पटक । अव ३ पटक लामो श्वास भित्र लिउँ र गहिरो प्रश्वास वाहिर छोडौं । लामो श्वास भित्र लिने र गहिरो श्वास वाहिर फाल्ने विज प्राणायाम शरीरका लागि आरामको अवस्था हो । यसपछि फेरी ३० पटक उही प्रक्रिया तथा विधिले कपालभाति प्राणायाम गरौं, यो प्रक्रिया तथा विधि ३-५ पटक तथा अझ बढि पटक गर्न सकिन्छ । अव फेरी ३-५ पटक लामो-गहिरो श्वास-प्रश्वास गरेर सामान्य बनौं । मधूरो ध्वनिमा सुमधूर, सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

(२)भ्रामरी प्राणायाम
२ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बस्नुस् र दुवै हातका विचका चोरी र बुढी औंलाका टुप्पा र नंग जोडेर हत्केलालाई आकाशतिर फर्काएर घूँडामाथि रा खौं । अव लामो श्वास भित्र लिएर, मुख बन्द गरेर भमराको जस्तो आवाज निकालेर लामो मंमंमंमं... भ्रामरी प्राणायाम गरौं शिर तथा छाति सबैतिर तरंगीत हुनेगरि र आफ्नो आवाज आफैंले ध्यानपूर्वक सुनौं । यो प्रक्रिया तथा विधि ३-५ पटक तथा अझ बढि पटक गर्न सकिन्छ । मधूरो ध्वनिमा सुमधूर, सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।

(३)अनुलोम–विलोम प्राणायाम
२ मिनेट अनुलोम–विलोम प्राणायम दुई प्रकारले गर्ने गरिन्छ । जताट्टिको नाकबाट लामो श्वास लिएको हो त्यतैबाट गहिरो श्वास वाहिर फालेर र एकापट्टिको नाकबाट लिएर अर्को पट्टिको नाकबाट फालेर । जहिलेपनि अनुलोम–विलोम प्राणायाम गर्दा दाहिने नाक तथा तातो पिंगला नाडी दाहिने हातको बुढी औंलाले बन्द गरेर देब्र नाक तथा शितल इडा नाडीबाट लामो श्वास भित्र लिनु पर्दछ र उही नाकबाट लिएको भन्दा अझ लामो पारेर तथा ४ सेकेण्ड भित्र श्वास लिएको छ भने ६ सेकेण्ड वाहिर फाल्नु पर्दछ । कम्तिमा ७-१० पटक देब्र नाकबाट श्वास लिएर देब्रे नाकबाटै श्वास वाहिर फालौं र दाहिने नाकबाट श्वास लिएर दाहिने नाकबाटै श्वास वाहिर फालौं । अव अर्को प्रकारको अनुलोम–विलोम प्राणायाम गरौं, शुरुमा दाहिने हातको बुढी औंलाले दाहिने नाक थुनेर देब्रेबाट लामो श्वास लिउँ र अव देब्रे नाक साहिंली तथा औंठी लगाउने औंलाले थुनेर दाहिने नाकबाट गहिरो श्वास वाहिर फालौं । कम्तिमा ७-१० तथा अझ बढि पटक यही प्रक्रिया तथा विधिबाट अनुलोम–विलोम प्राणायम गर्न सकिन्छ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ, अव ध्यान साधनाको लागि तयार बनौं ।

(ग)८ मिनेट ध्यान साधना 
अव, ८ मिनेटमा आधा समय मैले बजाएको लामो लयमा रहेको ॐकार संगीतको सुमधूर तरंग संगसंगै ॐकार उच्चाहरण गरौं र बाँकी ४ मिनेट ॐकारको लामो सुमधूर तरंग ध्यान दिएर सुनिरहनुस् मन कतै नभड्काइकन, मन भड्कियो भने लामो श्वास भित्र तान्नुहोस् र लामै वाहिर फाल्नुहोस्, मन तुरुन्तै ॐकारको तरंगमा तथा वर्तमानमा फर्किनेछ... । 

लामो लयमा ॐकार संगीतको लयात्मक सुमधूर तरंग
हाम्रो साधनाको समय पूरा भएको छ, अव विस्तारै ध्यान साधनाबाट वाहिर आउन मन र शरीरलाई तयार गरौं…, ३ पटक लामो-गहिरो श्वास लिउँ र ३ पटक लामो लयमा एक श्वासभरि नादब्रम्ह ॐकारको उच्चाहरण गरौं; ॐकारं वन्दना गरौं; हरिगुरु वन्दना गरौं; र सारा जगतको सुख र शान्तिका लागि सर्वकल्याण भाव व्यक्त गरौं-


ॐकारं बिंदुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः।

कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥

                                     गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।

गुरुः साक्षात्‌ परब्रह्म तस्मै श्री गुरवे नमः॥

 

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।

सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

 

दुवै हातका हत्केलालाई एकआपसमा रगडौं, घर्षणबाट न्यानो भएका हत्केला को दिव्य उर्जालाई हल्कासंग आँखामाथि राखौं र हत्केला का रेखाहरु हेर्दैहेर्दै विस्तार आँखा खोलौं र सामान्य बनौं, विस्तारै गोडा खोलौं, पसरौं तथा पूरै शरीर चलाउँ ।  


२० मिनेटको छोटो योग साधना सकेपछि साधकको अनुभव

प्रश्नः कस्तो अनुभव भयो २० मिनेटको योगासन, प्राणायाम र ध्यान साधनापछि ?
उत्तरः फोक्सोमा श्वास भरिएको महसुस भयो र शरीरमा अत्यन्तै आरामको अनुभव भयो । हिजो पहिलो दिनमा जस्तै शिरमा, आँखामा, नाकमा, गलामा, छातिमा र पेटमा आराम र शितलताको अनुभव भयो र पूरै शरीरभरि सजिलो भएको महसुस भयो, हल्का निद्राले झुम्म पनि भयो तर आज म सुत्दिन गुरुवर किनकी हिजो राति अरुदिन भन्दा निकै चाँढै सुतेको थिएं हजूरले सुत्ने समय नियमित गर्नु भन्नु भएकोले, अव संधै नियमित गर्छु ।

अत्यन्तै सुन्दर कुञ्जना, जो व्यक्तिको शरीर, मन, भाव, वुद्धि, चेतनाको अवस्था जति बढि अव्यस्थित छ उनीहरुलाई उतिनै छिटो र बढि योग साधनाबाट आराम, शितलता तथा फाइदा भएको महसुस हुन्छ । तपाईंको पनि आराम र शान्ति दिनदिनै अझै बढ्दै जानेछ । आजको योग साधनाको दोस्रो कक्षा यहीं सम्पन्न भएको छ । आजकै समयमा भोलि जुम अनलाइमा फेरी भेटौंला तेस्रो कक्षामा योग साधनाको सैद्धान्तिक ज्ञानको श्रवण १० मिनेट र प्रयोगात्मक अभ्यास ३० मिनेट गर्नेगरि र विस्तारै हामी योग साधनाको समय बढाएर एक घण्टा पुर्याउनेछौं । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सफलता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो, यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको सुख, खुशी, शान्ति र आनन्द पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो कुञ्जना र तपाईंको जीवन अस्तव्यस्त तथा अव्यवस्थित भएको हो, अव सबै सहि हुन्छ विस्तारै, आस्था राख्नुस् र नियमित योग साधना गरिरहनुस् । शुभदिन !

उत्तरः हस्, शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!

हरि ॐ तत्सत् !
हे ॐकार स्वरुप हरि, केवल तिमी सत्य छौ !!



                                                              शिवोहम् !
                                         डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ





No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...