#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सनातन दर्शन तथा विज्ञानका तीन प्रमुख आयामहरु रहेकाछन्- (१)अध्यात्म विज्ञान, (२)धर्म विज्ञान, र (३)संस्कृति विज्ञान । मोटामोटी रुपमा 'दर्शन' र 'विज्ञान' एकैप्रकारको अर्थ लाग्ने शब्दावलीहरू हुन् तर सुक्ष्म रुपमा यी दुई शव्दावलीको भावार्थमा केही अत्यन्तै गहन भिन्नताहरु रहेकाछन् । 'दर्शन' अन्तर्गत इन्द्रियजनीत र इन्द्रियातीत दुवै प्रकारका ज्ञान, विज्ञानहरु पर्दछन् तर विज्ञान अन्तर्गत इन्द्रियजनीत अर्थात प्रयोगशालामा प्रमाणित गरिएका मनुष्यको ज्ञानइन्द्रियहरुको पकडमा आउने ज्ञान, विज्ञानहरु मात्र पर्दछन् । हिजोआज दर्शनलाई अंग्रेजी भाषामा 'फिलोसोफी' शव्दले सम्वोधन गर्दै आइएको छ तर सुक्ष्म रुपमा यी दुई शव्दावलीको भावार्थ पनि एकै होइन किनकी फिलोसोफी विज्ञान अन्तर्गत नै पर्दछ । 'दर्शन' विज्ञान र फिलोसोफी दुवै हो अर्थात अझ जोडदिएर भन्नुपर्दा दर्शन यी दुवै भन्दा माथि रहेको महाफिलोसोफी र महाविज्ञान हो किनकी दर्शन र फिलोसोफीको मूलश्रोत तथा आधारस्तम्व दर्शननै हो । तथ्यांक शास्त्रका अनुसार दर्शन संख्यात्मकता(क्वान्टीटेटीभ) र गुणात्मकता(क्वालीटेटीभ)को अध्ययन हो तर विज्ञान र फिलोसोफी संख्यात्मकता मात्रको अध्ययन हो, फिलोसोफीले केही मात्रमा गुणात्मकतालाई समेट्ने प्रयास गर्छ तर त्यो पनि गुणात्मकता पनि विज्ञान तथा लौकिक विषय अन्तर्गत नै पर्दछ परालौकिक विषय अन्तर्गत पर्दैन । हिजोआजको ज्ञान, विज्ञानको संसारमा अध्यात्म र स्प्रिचुवालिटीविच पनि यस्तै प्रकारको अलमल तथा अअस्पष्टता रहदै आएकोछ । मोटामोटी रुपमा अध्यात्म र स्प्रिचुवालिटीको अर्थ एकै रुपमा लगाएइको भएपनि सुक्ष्म रुपमा यी दुईविचको भावार्थ फरक रहेकोछ किनकी अध्यात्म परमात्मा(सुपरकन्सस)का विषयहरुको अध्ययन गर्ने दर्शन तथा विज्ञान हो र स्प्रिचुवालिटी आत्मा(स्प्रिट तथा कन्सस) मात्रको अध्ययन गर्ने दर्शन तथा विज्ञान हो ।
अध्यात्म विज्ञान
दर्शन र विज्ञान तथा फिलोसोफी प्रमुख रुपमा दुई प्रकारका रहेकाछन्- (१)भौतिक विज्ञान(फिजिक्स) र (२)पराभौतिक विज्ञान(मेटाफिजिक्स) । स्थुल, दृश्य, अनुभवमा आउनसक्ने तथा मनुष्यका ज्ञान इन्द्रियहरुद्वारा प्रामाणित गरिएका विषयका वास्तविकताहरु भौतिक विज्ञान अन्तर्गत पर्दछन् र सुक्ष्म, अदृश्य तथा इन्द्रियातीत तर प्रामाणिक वास्तविकताका विषयहरु पराभौतिक विज्ञान तथा अध्यात्म विज्ञान अन्तर्गत पर्दछन् । पराभौतिक तथा अध्यात्म विज्ञान सबै विज्ञानहरुको पनि विज्ञान महाविज्ञान(साइन्स अफ दि साइन्सेस) हो किनकी मानव सभ्यताको विकासको क्रममा प्राचीन समयदेखि वर्तमान समयसम्म विश्वमा प्रचलनमा रहेका जतिपनि ज्ञान, विज्ञान, आविस्कार, सिद्धान्त, सुत्रहरु विकास भएका तथा गरिएका छन् ती सबै सनातन अध्यात्म दर्शनका महान शास्त्रहरु वेद तथा उपविषदहरुबाट नै निसृत अर्थात प्रतिपादित भएका ज्ञानहरु हुन् । सनातन अध्यात्म दर्शनका प्रमुख आस्थिक ६ प्रकारका दर्शनहरु(सांख्य, न्याय, वैशेषिक, पूर्व मिमांसा, उत्तर मिमांसा अर्थात वेदान्त) र नास्थिक ३ प्रकारका दर्शनहरु(बौद्ध, जैन, चार्वाक)मा उल्लेखित ज्ञान, विज्ञानहरुकै अध्ययन, सोध, खोज तथा अनुसन्धानहरु हुदै तथा गरिदै आइरहिएका छन् आजसम्म आधूनिक भौतिक विज्ञान तथा अत्याधूनिक भौतिक विज्ञान(क्वान्टम साइन्स)का विषयहरुका रुपमा । सांख्य दर्शनको 'तत्व विज्ञान'; न्याय दर्शनको 'प्रामाणिकताको विज्ञान'; वैशेषिक दर्शनको 'अणु-परमाणूको विज्ञान'; पूर्व मिमांशा दर्शनको 'निराकार महाशक्ति अर्थात अस्तित्वको विज्ञान'; उत्तर मिमांसा अर्थात वेदान्तको अद्वेत(एकत्व) सर्वव्यापक महाशक्ति अर्थात 'परमचेतना(सुपरकन्सस)को विज्ञान'; बौद्ध दर्शनको 'व्यवहारिक मानवीयताको विज्ञान'; जैन दर्शनको 'आफू स्वयंनै महाशक्ति बन्नसक्ने विज्ञान'; र चार्वाक दर्शनको 'भौतिक विज्ञान तथा पदार्थ विज्ञान' नै आजको आधूनिक तथा अत्याधूनिक भौतिक विज्ञानले गर्दैआइरहेका अध्ययन, सोध, खोज, अनुसन्धानका मूल विषयहरु रहदै आएकाछन् ।
अध्यात्म दर्शन तथा विज्ञान ब्रम्हाण्डको सबैभन्दा माथिल्लो स्तरको ज्ञान, विज्ञानको अध्ययन, सोध, खोज, अनुसन्धान गर्ने महानतम विद्या भएकोले सर्वप्रथम हामी सनातन अध्यात्म दर्शन तथा अध्यात्म विज्ञान र यसका आयामहरुलाई छाताको उदाहरणले स्पष्ट बुझ्ने प्रयास गरौं । 'अध्यात्म विज्ञान' समग्र छाता हो, 'धर्म विज्ञान' छाताको समाउने डण्डी हो र 'संस्कृति विज्ञान' छाताका करंगहरु हुन् अर्थात धर्म विज्ञान र संस्कृति विज्ञान अध्यात्म विज्ञानका अभिन्न अंग तथा आयामहरु हुन् । अध्यात्म आफूभित्र अन्तरयात्रा गरेर आफ्नो आत्माको माध्यमबाट परमात्मा तथा ब्रम्हाण्डको प्रमुख श्रोत तथा अन्तिम सत्यलाई खोज्न सिकाउने साधनाको विज्ञान हो । 'अधि' र 'आत्म' दुई शव्द मिलेर बनेको 'अध्यात्म' संयुक्त शव्द स्वयं 'परमात्मा' हो किनकी 'अधि'को अर्थ 'परम' हो 'आत्मा' जोडेर अध्यात्म अर्थात परमात्मा बनेको हो अर्थात सबै प्राणीहरुको आत्माहरुको पनि आत्मा 'परम आत्मा' अर्थात 'मुख्य आत्मा' परमात्मा हो । परमात्मा, परब्रम्ह, पुरुसोत्तम, गड–खुदा–अल्ला–इश्वर, परमेश्वर, पुरुष सबै अलङ्कारहरु उही अव्यक्त, निराकार, निर्गुण, सर्वव्यापक, सर्वशक्तिमान, सबैको मूलश्रोत तथा ब्रम्हाण्डको अन्तिम सत्य परमपिताका उपनाम तथा उपमाहरु हुन् र भगवान, भगवती, देवी, देवता, योगी, साधु, सन्त, ऋषि, महर्षि, सदगुरुहरु सबै उही प्रभुका व्यक्त, आकार तथा गुण स्वरुप हुन् । सनातन धर्म मान्ने तथा सनातन दर्शनलाई अनुशरण गर्ने सबै सनातनीहरुले जीवनमा प्राप्त गर्ने अन्तिम लक्ष्य र उपलव्धि मोक्ष तथा निर्वाणमा उपलव्ध हुनु हो र मोक्ष तथा निर्वाण भनेको आत्मा र परमात्माको योग तथा योगस्थ हुनु, जोडिनु तथा परमात्मा साक्षातकार गर्नु हो । हाम्रो आत्मा र परमात्माको योग भएपछि हामीलाई मोक्ष अर्थात निर्वाण अर्थात अमरत्व अर्थात अन्तिम मुक्ति(इटरनल लिवरेसन) प्राप्त हुन्छ र मनुष्य बारबार जन्मिने र मर्ने जन्म–मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्त हुन्छ । मोक्षकालागि अति अत्यावश्यक आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमात्माज्ञान सिकाउने एकमात्र ज्ञान तथा विज्ञान सनातन अध्यात्म विज्ञान हो ।
धर्म विज्ञान
सनातन अध्यात्म विज्ञानका दुई मूल अंग धर्म विज्ञान र संस्कृति विज्ञान मनुष्यको मोक्ष मार्गका प्रमुख सहायक साधन अर्थात उपकरणहरु हुन् । सर्वप्रथम हामी यो व्यवहारिक सत्यप्रति स्पष्ट बनौंकी धर्म भनेको कर्मकाण्ड, संस्कार, व्रत, तीर्थ गर्नु हुदैहोइन । धर्मको वास्तविक परिभाषा मनुष्यले मानव(हरप्रकारले सदगुणी) भएर आफ्नो जीवनकालभरि उसले निभाउनु पर्ने सबैप्रकारका कर्तव्य, उत्तरदायित्व तथा अनिवार्य जिम्मेदारीहरु हुन् । सनातन हिन्दुहरुको मूलग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले मानवका पाँच प्रकारका मूलधर्महरु उल्लेख गर्नुभएको छ– (१)आफूप्रतिको धर्म, (२)परिवारप्रतिको धर्म, (३)समाजप्रतिको धर्म, (४) भूमि तथा प्रकृतिप्रतिको धर्म, र (५)परमात्माप्रतिको धर्म । आफूप्रतिको धर्मलाई स्वधर्म भनिन्छ र परमात्माप्रतिको धर्मलाई परमधर्म भनिन्छ तर पाँचै प्रकारका धर्महरु परमधर्म अन्तर्गत नै पर्दछन् किनकी आफू लगायत हामी सबै मनुष्य, जीव, वनस्पति, पदार्थ तथा प्रकृति परमात्माकै अभिन्न अंश हौं । आफु र अरुप्रतिका धर्महरुको पालना गर्नु उनै परमात्माको सेवा गर्नु हो अर्थात पाँचौं धर्म परमधर्मको पालना गर्नु हो तथा आफूले मानव भएर नगरीनहुने कर्तव्य, उत्तरदायित्व तथा अनिवार्य जिम्मेदारीहरु निभाउनु हो ।
हामी आफूतिर फर्केर हेरौं त, के मैले आफूप्रतिको धर्म निभाएको छु ? के मैले आफूलाई शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक रुपले आरोग्य र व्यवस्थित राखेको छु ? के मैले आफूलाई मेरा प्राकृतिक स्वाभाव(नेचुरल इन्टेलिजेन्स)मा फूल्न, फक्रिन, फल्न दिएको छु ? के मैले मेरो स्वाभाव तथा रुची अनुसारको अध्ययन, पेशा, व्यवसाय गरेको छु ? सनातन दर्शनका ग्रन्थहरुमा विशेष जोड दिएर उल्लेख गरिएको छ कि सर्वप्रथम आफूप्रतिको धर्म निभाउनु नै मनुष्यको सबैभन्दा ठूलो धर्म तथा मूल धर्म हो । मैले आफूप्रतिको धर्म सहीढंगले निभाउन सकें भने मेरो जीवनको सबैभन्दा ठूलो धर्म, कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारी पूरा हुन्छ । भनिन्छ यदि मैले मेरो शरीर, मन, भावना, वुद्धि, आत्मा अर्थात चेतना, स्वाभाव, रुचीलाई राम्ररी चिनें, यीनलाई कसरी आरोग्य, शुद्ध, चुस्त, सक्रिय, सन्तुलित, ब्यवस्थित राख्ने भनेर जानें भनें मेरो धर्म पालनाको ८० प्रतिशत काम सकिन्छ किनकी सबैको शरीर, मन, भावना, वुद्धि, आत्मा अर्थात चेतनाको बनाबट पनि मेरो जस्तै–जस्तै हुनेहुनाले अव यसपछि मैले सजिलै परिवार, समाज, प्रकृति, परमात्मा सबैलाई बुझ्न सक्छु र सबैप्रतिको मेरो धर्म, कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारी सही ढंगले सजिलोसंग निभाउन सक्छु । फेरी हामीले आफूलाई नै हेरौं त, के मैले मेरो परिवारप्रतिको धर्म निभाएको छु आमा–बुवा, छोरा–छोरी, श्रीमान–श्रीमती, दाजु–भाइ, दिदी–बहिनीको रुपमा ? जुन परिवारले मलाई मेरो जीवनमा यहाँसम्म आइपुग्न काँध तथा मद्धत दियो र अप्ठ्यारा अवस्था तथा परिस्थितिहरुमा ढाडस तथा सहयोग गर्यो । त्यस्तै के मैले मेरो समाजप्रतिको धर्म निभाएको छु एक समझदार सामाजिक प्राणीको रुपमा ? जुन समाजले मलाई कुल, परम्परा, रीतिरीवाज, संस्कार, संस्कृति सिकायो; शिक्षा, ज्ञान, विज्ञान, नीति, नियम, कानून सिकायो; देशप्रेम, भूमि प्रेम, प्रकृति प्रेम गर्न सिकायो; कोरा मानिसबाट व्यवहारिक, वुद्धिमानी बन्न प्रेरणा प्रदान गर्यो; मलाई यसलायक. गरीखाने तथा आफ्नै गोडामा उभिनसक्ने पेशाकर्मी तथा व्यवसायि बनायो; वाहिरका अप्ठ्यारा, समस्या, पस्थिति तथा चुनौतीहरुसंग लड्न सिकायो; मलाई हर परिस्थितमा खारेर मानिसबाट मानव बनायो । समाजले मलाई यति धेरै कुराहरु दिएको छ त्यसैले मेरो पनि समाजप्रति धर्म, कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारी बन्छ की म पनि समाजलाई आफूले सक्दो केही सर्वकल्याण हुने प्रकारका शिक्षा विकास, स्वास्थ्य विकास, अर्थतन्त्रको विकास हुने जस्ता विषयहरुमा योगदान दिउँ किनकी यो मेरो धर्म हो ।
त्यस्तै के मैले मेरो प्रकृतिप्रतिको धर्म निभाएको छु एक चेतनशील प्राकृतिक प्राणीको रुपमा ? जुन प्रकृति सबैकी माता हुन् तथा जननी हुन् जसले दिन्छिन् मात्र कहिल्यै माग्दिनन् तर म विवेकशील नागरीक तथा चेतनशील प्राकृतिक प्राणी हुँ भने प्रकृति माताले नमागे पनि मैले उनलाई सक्दो दिनुपर्छ किनकी यो मेरो धर्म, कर्तव्य, उत्तरदामित्व तथा अनिवार्य जिम्मेदारी हो । हामी सबैको जीवन तथा अस्तित्व प्रकृतिको पंचतत्व(पंचमहाभूत) पृथ्वी, जल, वायु, अग्नि, आकास अर्थात माटो, पानी, हावा, सूर्य, आकाशको समिश्रणबाट बनेको छ । माटोमा उब्जिएका अन्न, फल, तरकारी, सागपात, जडीबुटीहरुको सेवन गरेर हाम्रो भौतिक शरीर, अभौतिक मन तथा भावना बनेको छ । यी पंचतत्व माटो, पानी, हावा, सूर्यको ताप तथा प्रकाश र आकाशको खुल्लापन भएन भने हामी हुर्कन र बाच्न सक्दैनौं तर विडम्वना, वर्तमान समयमा हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण सारथी तथा मूलआधार प्रकृति तथा पंचतत्वको हामीले आज के हाल बनाएका छौं मनन् गरौं त एकपटक ! माटो, पानी, हावा, सुर्यको ताप तथा प्रकाश, आकाश सबै तत्वहरु हदैसम्म प्रदुषित, असन्तुलित र सबै प्राणी तथा वनस्पतिहरुका लागि हानिकारक भएकाछन् । जानेर या नजानेर प्रकृतिलाई प्रदुषित र असन्तुलित गर्ने हामी स्वयं नै हौं, यसमा हामी सबै जिम्मेदार र दोषि छौं । यही पंचतत्वमा आएको असन्तुलन तथा खरावीका कारण आज विश्वभरिनै प्राणघातक नयाँ–नयाँ प्रकारका रोगका महामारी, मौसमको महामारी, पृथ्वीको बढ्दो तापक्रम आदि सबै कारणले हामी पृथ्वीवासी सारा रोगी, असन्तुलि र अस्थिर भएका छौं किनकी हाम्रो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको जननी तथा मूलश्रोत तथा मूल कच्चा पदार्थ यही पंचतत्व नै हो, हाम्रो रोमरोम, कणकण प्रत्यक्ष रुपमा प्रकृति तथा पंचतत्वबाट प्रभावित हुन्छ, यसबाट हामी चाहेर पनि वच्न तथा अलग हुन सक्दैनौं, यो हाम्रो साझा भविश्य हो । यसकारण हामी सबैले आफ्नो भूमि तथा प्रकृतिप्रतिको धर्म इमान्दनरीपूर्वक निभाउनु पर्दछ ताकि हामी सबै यसबारे जागरुक बन्न सकौं र आफू र प्रकृति दुवैलाई स्वस्थ र सन्तुलित राख्न सकौं । एकपटक फेरी आफूतिर फर्कौं त, हाम्रो जीवन तथा अस्तित्वकालागि अत्यन्तै महत्वपूर्ण प्रकृति तथा पंचतत्वबाट हामीले यति धेरै कुराहरु पाइरहदा हामीले चाहिं प्रकृतिलाई के दिएका छौं त ? के हामीले खेतबारी, खाली जमीनमा हरीयाली तथा बृक्षारोपण गरेका छौं ? के प्लास्टीक प्रयोग नगर्न, कम गर्न तथा त्यसको पुनरप्रयोग तथा सही व्यवस्थापन गर्न कुनै पहल गरेका छौं ? के जैविक र अजैविक फोहोर व्यवस्थापनका लागि केही पहल गरेका छौं ? के अत्यधिक रासायनिक मल, किटनासक हरुको दुरुपयोग घटाएर माटो, पानी, हावा, आकाश, सूर्यको प्रकाश तथा तापलाई स्वस्थ राख्न कुनै पहल गरेका छौं ? के रासायनिक मल, किटनासक प्रयोग गरिएका खाद्य सामग्रीहरुको प्रयोग घटाउने अभियानमा सघाएका छौं ? के प्रकृतिको पारिस्थिकीय प्रणाली(इकोसिस्टम) सही गर्न हामीले अन्य जीव–जन्तु, वनस्पति, हिमाल–पहाड, नदिनालाहरुको संरक्षणकालागि केही पहल गरेका छौं ? यो अत्यन्तै गहन सवाल हो जो हामी मनुष्य लगायत सबै जीव–जन्तु, वनस्पति, पदार्थ तथा समग्र प्रकृतिको अस्तित्व र स्थाइत्वसंग प्रत्यक्ष रुपमा जोडिएको छ । सनातन दर्शनको महान विरासत धर्म विज्ञानले मनुष्यलाई कर्तव्यनिष्ठ, उत्तरदायि, नैतिकवान, अनुसाशित, धार्मिक मानव बन्न प्रेरित गर्दछ र सबैलाई धर्म परायण बनाउछ, यसकारण सबैले धर्म विज्ञानका मूल्य-मान्यताहरुको अनुशरण गरौं र आफूलाई धार्मिक बनाऔं किनकी धार्मिक हुनुनै परमधर्म अर्थात परमात्माप्रतिको धर्म पालना गर्नु हो र आफ्नो मोक्षको मार्ग सहज तथा सुश्चित गर्नु हो ।
संस्कृति विज्ञान
संस्कृति मनुष्यलाई धर्मको मार्गमा हिड्न सिकाउने र धार्मिक बनाएर उसको
जन्मको अन्तिम लक्ष्य तथा गन्तव्य अधि+आत्म अर्थात परमात्मासम्म पुर्याउन मद्धत गर्ने
अत्यन्तै महत्वपूर्ण सहायक मार्ग तथा प्रभावकारी प्रक्रिया तथा विधिको विज्ञान हो ।
हामीले हाम्रो दैनिक जीवनमा परम्परादेखि मान्दै आएका संस्कार, कर्मकाण्ड, पूजा, यज्ञ,
ब्रत, तीर्थ, सेवा, दान, पुण्य, परोपकार हाम्रा संस्कृतिहरु हुन् । संस्कृति धर्म र
अध्यात्मसंग कसरी योग भएको हुन्छ यसलाई उदाहरणले बुझौं, हामी पूजा-यज्ञ-अनुष्ठान(देवकार्य),
श्राद्ध-तर्पण(पित्रीकार्य) गर्ने,
व्रत बस्ने, तीर्थ गर्ने दिन तथा त्यो समयावधिभरि विहान सबेरै उठेर आफ्नो शरीरको सरसफाई
गर्छौं; कोठा, घर, आगन, वरिपरि सबैतिर सफा गर्छौं । पूजा-यज्ञ-अनुष्ठानमा विविध महत्व
भएका सामग्रीहरुको प्रयोग गर्छौं; ताजा, सात्विक आहार ग्रहण गर्छौं, अल्पआहार गर्छौं;
सफा र सादगी पहिरनहरु लगाउँछौं, झुठ बोल्दैनौं; नकारात्मक सोच, विचार तथा हिंसाका कर्महरु
गर्दैनौं पाप लाग्छ भन्छौं; सक्दो सेवा, दान, पुण्य गर्ने प्रयास गर्छौं । यी सांस्कृतिक
गतिविधिहरुमा पवित्रता तथा सादगी अपनाएर मैले हामीले शरीर र वरपरको प्राकृतिक वातावरणको
सरसफाइ गरिरहेका हुन्छौं; व्रत बसेर, अल्पाहार ग्रहण गरेर तथा सात्विक आहार ग्रहण गरेर
हामीले आफ्नो पेटको सफाइ गरिरहेका हुन्छौं; झुठ नबोलेर तथा नकारात्मक सोच, विचार, कर्म,
आचरणहरु नगरेर हामीले आफ्नो मन, भावना, वुद्धि, आत्मा अर्थात चेतनाको सफाइ गरिरहेका
हुन्छौं; सेवा, सहयोग, उपकार, दान, पुण्य गरेर हामीले आफ्नो धनको शुद्धीकरण तथा सफाइ
साथै परिवार तथा समाजप्रतिको धर्म, कर्तव्य, उत्तरदायित्व, जिम्मेदारीको पालना गरिरहेका
हुन्छौं । संस्कार तथा कर्मकाण्ड गर्दा संस्कृतका शक्तिशाली मन्त्र तथा स्त्रोत्रहरु
पाठ गराइन्छ जसबाट ब्रम्हाण्डमा तैरिरहेका सकारात्मक उर्जाका सहयोग प्रदान गर्ने तरंगहरु
उच्च आवृत्तिमा उत्पन्न हुने गर्दछन् र यस्तो उर्जा तरंगले मनुष्यको शरीर, मन, भावना,
आत्मा अर्थात चेतनाको सफाइ गर्दछ; अनुष्ठान तथा जग्गेमा प्रयोग गरिने पवित्र वस्तुहरु–
तुलसी, आँप, वर, पिपल, जौ, कुश, तिल, नरिवल, दुवो, सुगन्धित पुष्प, धूप, शंख, घण्ट,
चम्मर, पंचामृत, नैवेध, पंचगव्य, चरु, समिदा, अग्नि, माटो आदि सबै औषधिजन्य प्राकृतिक
सामग्रीहरु हुन् । यी औषधिजन्य प्राकृतिक सामग्रीहरुको प्रयोग हाम्रो शारीरिक, मानसिक,
भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्यसंग प्रत्यक्ष तथा अप्रत्यक्ष
रुपमा सम्विन्धत रहेका हुन्छन् । औषधिजन्य प्राकृतिक सामग्रीहरुले हाम्रो वरपरको वातावरण
स्वस्थ राख्छन्; हामीले यी सामग्रीहरु खाँदा, छुदा, सुंघ्दा, हेर्दा, नजिकै रहदा हामीलाई
प्रत्यक्ष रूपमा शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक शरीरमा
स्वास्थ्य लाभ हुन्छ । भनिन्छ, यज्ञको अग्निकुण्डमा चढाईएको तथा हवन गरिएको चरुको धूवाँले
समुच्चा ब्रम्हाण्डको वातावरणलाई समेत शुद्ध तथा सफा र सन्तुलित राख्न मद्धत गर्दछ
। कर्मकाण्ड(देवकार्य तथा पित्रीकार्य) गर्दा जग्गेमा अनिवार्य रुपमा प्रयोग गरिने
यस्ता औषधिजन्य वनस्पति तथा प्राकृतिक सामग्रीहरु रोप्ने, हुर्काउने, संरक्षण गर्ने
तथा उत्पादन गर्ने गरिन्छ, यसो गर्नाले प्राकृतिक वातावरणमा सन्तुलनता आउछ र यसको प्रत्यक्ष
फाइदा मनुष्य लगायत सम्पूर्ण जीव, वनस्पति, पदार्थ तथा समग्र प्रकृतिलाई हुने गर्दछ
। यो विषय सनातन दर्शन तथा सनातन धर्मको आयुर्वेद चिकित्सा विज्ञान अन्तर्गत पर्दछ
। आयुर्वेद चिकित्सा विज्ञान पनि सनातन अध्यात्म दर्शनको अर्को अत्यन्तै महत्वपूर्ण
विषय हो जसको उल्लेख सनातन ऋगवेदमा गरिएको छ ऋगवेदको उपवेदका रुपमा एक अलग्ग र अत्यन्तै
महत्वपूर्ण विद्याका रुपमा ।
समग्रमा
अध्यात्म विज्ञान, धर्म विज्ञान, र संस्कृति विज्ञान अन्तर्गत पर्ने
माथि उल्लेखित सबै विषय तथा गतिविधिहरु गरेर हामीले श्रीमद भगवद् गीतामा भगवान श्रीकृष्णले
मनुष्यका लागि सुझाउनु भएका मनुष्यका प्रमुख पाँच प्रकारका धर्महरुको पालना गरिरहेका
छौं- अध्यात्म साधना, धर्मको पालना, र संस्कृतिको अनुशरणका रुपमा । हाम्रा सबै दैनिक
गतिविधिहरु अध्यात्म विज्ञान, धर्म विज्ञान, र संस्कृति विज्ञानका महत्वपूर्ण विषय
तथा अभिन्न अंगहरु हुन् । सांस्कृतिक मनुष्य नै धार्मिक बन्नसक्छ; धार्मिक मनुष्य नै
आध्यात्मिक बन्नसक्छ; आध्यत्मिक मनुष्य नै वास्तविक मानव बन्नसक्छ र परमात्मा साक्षातकार,
मोक्ष तथा निर्वाणको अधिकारी हुन्छ । मनुष्यका सकारात्मक विचार, कर्म तथा हरप्रकारका
गतिविधिहरुले उसलाई क्रमशः संस्कारी तथा सांस्कृतिक, धार्मिक, आध्यात्मिक मानव बन्न
मद्धत गर्दछन् र परमात्मा साक्षतकार तथा मोक्ष प्राप्तिको मार्गमा सहजता प्रदान गर्दछन्
।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment