#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
३५.सवाल
स्वाधिष्ठान चक्र मनुष्यको खुशीको मूल आधारशिला हो ।
जवाफ
स्वाधिष्ठान चक्रको परिचय
मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)लाई ब्रम्हाण्डका समस्त शक्तिहरुको केन्द्र मानिन्छ । उर्जाका मूलशक्ति केन्द्र यी सात चक्रहरुलाई सन्तुलित, सक्रिय र जाग्रित गरेर भौतिक र पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मुक्ति र पारमार्थिक मोक्ष दुवै हासिल गर्न सकिन्छ । मनुष्यको सहज, सरल, सफल तथा सुखी, खुशी, शान्त र आनन्दित जीवनयापनका लागि स्वाधिष्ठान चक्रको फरक प्रकारको महत्व र विशेष प्रकारको सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ भने दोस्रो स्वाधिष्ठान चक्र मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । संस्कृत वांगमयको स्वा+धिष्ठान = ‘स्वाधिष्ठान’ दुई शव्दको संयोगले बनेको छ । ‘स्वा’को अर्थ स्वयं र हो ‘धिष्ठान’ अर्थ स्थित भएको स्थान हो अर्थात ‘स्वयं रहेको स्थान’ स्वाधिष्ठान चक्र हो । स्वाधिष्ठान दोस्रो चक्र हो, यो मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र सबैभन्दा तल रहेको पहिलो मूलाधार चक्र भन्दा चार अम्मल माथि र नाभि भन्दा दुई अम्मल तल रहेको भागको सिधा पछाडि मेरुदण्डको विचमा स्थित हुन्छ । स्वाधिष्ठान चक्रलाई छवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र ‘वं’ हो । स्वाधिष्ठान चक्रले सात प्रमुख योगमध्य तन्त्र योग; पंचतत्वमा जल तत्त्व र जल तत्वको गुण रस; पंचकोषमा प्राणमय कोष; नवग्रहमा शुक्र ग्रह; बाह्र राशिमा धनु र मीन राशि; स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरु मध्य एडरनल ग्रन्थी(ग्ल्यान्ड)को प्रतिनिधित्व गर्दछ । स्वाधिष्ठान चक्रको स्वरूप अर्धचन्द्र आकारको हुन्छ । प्राकृतिक गुण स्वाद र स्पर्श भएको स्वाधिष्ठान चक्र वहिरमुखी चक्र हो यसकारण यस चक्रलाई तामसिक गुण भएको चक्र मानिन्छ । यो चक्रको रङ्ग सुन्तला हो, सुन्तला रङलाई सिर्जनशीलता, आकर्षण, इच्छापूर्ति तथा सफलता, खुशी, मस्ती, मनोरञ्जन, आमोद-प्रमोद आदिको प्रतिकको रुपमा मानिन्छ ।
शरीर र स्वाधिष्ठान चक्रको अन्तर-सम्वन्ध
स्वाधिष्ठान चक्र मनुष्यको मनस तथा मानसिक शरीरसंग सम्वन्धित रहेकोछ । मुख्य रूपमा मनुष्यका विचार, भावना, सिर्जनशीलता तथा नविनता यस चक्रसँग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । मनुष्यको खुशीयाली, मनोरञ्जन, रतिसुख, इच्छा, भावना, नाता-सम्वन्ध, सपना, योजना, रुचि तथा शोख आदिमा स्वाधिष्ठान चक्रको प्रत्यक्ष नियन्त्रण रहेको हुन्छ । शारीरिक अंगहरुमा ढाडको तल्लो भाग, पेटको तल्लो भाग, मृगौला, मुत्रथैली, पाचनक्रिया, प्रजनन् प्रक्रियाका अंगहरु(यौन तथा प्रजनन क्रिया चाहिं मूलाधार चक्र अन्तर्गत पर्दछ) आदि स्वाधिष्ठान चक्र अन्तर्गत पर्दछन् ।
(१)स्वाधिष्ठान चक्र असन्तुलित अवस्थाका परिणामहरु
स्वाधिष्ठान चक्र मनुष्यको स्थुल र मनस शरीरको स्वास्थ्य, सन्तुलन तथा व्यवस्थापनका लागि आफूलाई स्वमा तथा आफूमा स्थित गराउने अत्यन्तै महत्वपूर्ण चक्र भएकोले यस चक्रमा आएका असन्तुलनताले मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका सबै आयामहरुमा प्रत्यक्ष प्रभाव पर्दछ किनकी मनुष्यको सहज,
सरल जीवनकालागि सबैभन्दा महत्वपूर्ण अंग उसको शारीरिक र मानसिक शरीरनै हो । शारीरिक मानसिक शरीर स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित छन् भने मात्र मनुष्यको भावनात्मक,
वौद्धिक, र आत्मिक अर्थात चेतनात्मक शरीर पनि स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित रहन्छन् । स्वाधिष्ठान चक्र असन्तुलित हुदा निम्न प्रकारका असहज परिणामहरु देखा पर्दछन्–
शारीरिक तथा मानसिक स्वास्थ्य र अवस्थाहरुमा असामान्य लक्षणहरु देखा पर्दछन् । स्वाधिष्ठान चक्रले शरीरको जल तत्वलाई प्रतिनिधित्व गर्ने हुनाले यस चक्रको असन्तुलन तथा निष्कृयताले सर्वप्रथम जल तत्वमा सअन्तुलन पैदा हुन्छ र शरीर, मन, भावनामा जल तत्वसंग सम्बन्धित शारीरिक तथा मानसिक समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् । मानव शरीरमा ७० प्रतिशत र मस्तिष्कमा ८५ जलको मात्रा रहेको हुन्छ । जल तत्त्वमा आएको गडबडीको प्रत्यक्ष नकारात्मक प्रभाव मस्तिष्क तथा यसका सुक्ष्म स्नायु प्रणालीहरुमा पर्दछ किनकि मस्तिष्क पूर्णरुपमा शरीरमा जलको सन्तुलन तथा असन्तुलन अवस्था अनुसार सकारात्मक तथा नकारात्मक किसिमले चल्दछ । जल तत्वको गडबडीले मस्तिष्कमा आएको असन्तुलनका कारण मनुष्यको सोच, विचार, मन, भावनामा खुशी हुन तथा रमाउन नसक्ने आदि विकारहरु जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखापर्न थाल्छन् । यस्तो व्यक्ति आफू स्वयंको, परिवारको, घरको, समाजको न्यूनतम जिम्मेदारी, उत्तरदायित्व तथा कर्तव्य निभाउन समेत असक्षम हुन्छ र यहीकारणले उसका पारिवारीक तथा सामाजिक सम्बन्धहरु बिग्रिन्छन् किनकि यी सबै जिम्मेदारीहरु पूरा गर्न व्यक्तिमा उत्साह, जाँगर, प्रसन्नता, समभावको विकास भएको हुनु पर्दछ र व्यक्तिमा यस्तो अवस्था आउन तथा बनिरहनकालागि स्वाधिष्ठान चक्रको ऊर्जा सन्तुलित तथा सक्रिय हुनु अति आवश्यक हुन्छ । यदि मनुष्यको ऊर्जा स्वाधिष्ठान चक्रमा निष्कृय तथा असन्तुलित अवस्थामा एकिकृत भएर तथा अड्कीएर(व्लक) रहेको छ भने उसको जीवनमा आमोद-प्रमोद, मनोरञ्जन, घुमघाम, हल्ला-खल्ला, सबैप्रकारका(जायज, नाजायज) मोजमस्ती गर्ने प्रधानता रहन्छ र यस्तै गतिविधिहरुमा उसको सारा जीवन व्यतित हुन्छ । जीवनमा मनोरञ्जन जरुरी छ, यसले मनुष्यलाई सुख, खुशी, शान्ति र आनन्द प्रदान गर्छ तर आवश्यकता भन्दा बढि मनोरञ्जनले जीवनमा असहजता र कहिलेकाहीं बरवादी पनि ल्याउन सक्छ ।
शरीरमा स्वाधिष्ठान चक्र असन्तुलित भएर जल तत्वमा गडबडी तथा कमी भयो भने शारीरिक स्वास्थ्यमा विशेषगरि पाचनक्रिया तथा पाचन प्रणाली गडबड हुने; पिसाब सम्वन्धि, रगत तथा रक्तचाप सम्वन्धि(हाइ प्रेसर, लो प्रेसर) विकारहरु देखिने; तल्लो पेट तथा तल्लो ढाड दुख्ने; महिलाहरूको रजश्वलामा गडबडी हुने; गर्भधारणमा गडबडी हुने तथा गर्भ नअडिने; पुरुषको, प्रोस्टेट ग्रन्थी, वीर्य तथा शुक्रकीटमा गडवडी आउने; यौन आनन्द तथा यौन इच्छामा गडबडी(यौन दुर्बलता, अरुचि तथा ज्यादा रुचि) आदि समस्याहरु देखा पर्दछन् । पाचनक्रियामा गडबडी भएपछि सबै रोगहरुको जननी मधुमेह जस्तो घातक रोग हुने सम्भावना बढ्छ ।जीवनमा सैयम ल्याएर योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गरेर स्वाधिष्ठान चक्र सन्तुलित, सक्रिय तथा जाग्रित गर्न सकिन्छ ।
(२)स्वाधिष्ठान चक्र सन्तुलित अवस्थाका परिणामहरु
एकपटक स्वाधिष्ठान चक्र राम्रोसंग तथा पूर्णरूपमा सन्तुलनमा आयो, सक्रिय तथा जाग्रित भयो भने व्यक्तिमा यस चक्रसंग सम्वन्धित सकारात्मक गुणहरूमा गहिराई र परिपक्वता आउन थाल्छ र यसका धेरै लाभहरू शरीर र स्वास्थ्यका सबै आयामहरूलाई पूर्णरुपमा मिल्न थाल्छ र यसका साथै पराभौतिक संसारका परालौकिक दिव्य अनुभूतिहरु पनि हुन थाल्छन् । व्यक्तिको मनमा, भावनामा परिपक्वता आउन थाल्छ र उसको जीवनशैलीमा प्रभवाकारी परिवर्तन आउँछ र उसको वाहिय व्यक्तित्वमा र आन्तरिक जीवनमा अद्भुत विकास हुन थाल्छ । स्वाधिष्ठान चक्र सन्तुलित तथा सकृय भएको मानिस सिर्जनशील कार्यहरु गर्न, नविनतम खोजहरु गर्न रुचाउने जागरुक प्रकारको हुन्छ, जस्तो कि साहित्य रचना तथा सिर्जना, नयाँ फेसन डिजाइन, नयाँ पकवान तथा परिकार, नयाँ आविस्कारहरु आदि कामहरु गर्नमा रुचि राख्छ र यस्तो व्यक्तिमा यी गुणहरु स्वतः स्फुरित हुदै जान्छन् । आफू, परिवार, साथीसंगी, समाज, राज्यसंगको सम्बन्ध राम्रो तथा सुमधूर प्रकारको हुन्छ । जस्तोसुकै परिस्थितिमा अरु व्यक्ति, समुह तथा समाजमा सहजै र छिट्टै घुलमिल गर्न सक्ने, खुला हृदय तथा मन(ओपन माइन्डेड) भएको हुन्छ; सबै व्यक्ति, वस्तु, परिस्थितिलाई सहजै स्वीकार भावले अपनाउन सक्छ; सबैका विचार तथा भावलाई सम्मानपूर्वक आफ्नै बराबर स्थान दिन्छ; मिलनसार हुन्छ र सबैसंग सहज रूपमा प्रस्तुत हुन्छ । जे कुराले आफूलाई नरमाइलो लाग्छ, चोट लाग्छ त्यो कुराले अरुलाई पनि त्यस्तै अनुभूति हुन्छ भन्ने समझदारीको भाव राख्छ र अरुलाई पनि आफू सरह ठान्दछ, बरु अझ सदभाव तथा सम्मान प्रकट गर्दछ । स्वाधिष्ठान चक्र सन्तुलित तथा सक्रिय भएको व्यक्तिको मन तथा भावनामा स्वतः स्फुर्त सकारात्मक सोचको प्रवाह हुने भएकोले हरपल खुशी रहिरहन्छ, कसैप्रति गुनासो गर्दैन र अरुलाई पनि खुशी बनाउने प्रयास गर्छ । आफ्नो जीवनमा केही अप्रिय अवस्था आयो भने त्यसलाई सहजै स्वीकार गर्छ, त्यसको दोषी अरुलाई ठान्दैन, अरुप्रति गुनासो भाव राख्दैन र त्यस्तो अवस्था कसरी आयो भनेर आफ्नै कमीकमजोरीप्रति चिन्तन, मनन गर्छ । नियमित रुपमा व्यक्तिको मन तथा भावनामा यसप्रकारको सकारात्मक बानी, व्यवहारहरुको प्रवाह भइरहदा उसमा सकारात्मक उर्जाको प्रवाह बढ्न थाल्छ र उसका माथि उल्लेखित सकारात्मक गुणहरूमा अझ बढि निखरता तथा परिपक्वता आउन थाल्छ र यस्तो अवस्थामा उत्पन्न हुने सकारात्मक उर्जाले स्वाधिष्ठान चक्र लाई सन्तुलित, सकृय तथा जागृत हुन मद्धत गर्दछ । स्वाधिष्ठान चक्र सन्तुलित तथा सकृय अवस्थामा भएको व्यक्तिका यस चक्रसंग सम्वन्धित शारीरिक अंगहरु- ढाडको तल्लो भाग, पेटको तल्लो भाग, मृगौला, मुत्रथैली, पाचनक्रिया, प्रजनन् प्रक्रियाका अंगहरु आदि स्वस्थ हुन्छन् ।
योगासन– सेतुबन्द आसन, भुजंग आसन, वीरभद्र आसन, उत्कट आसन, धनुर आसन, नौका आसन, पादहस्त आसन, भद्र आसन आदि ।
प्राणायाम– कपालभाति, उज्जायी, अनुलोम विलोम, नाडीसोधन प्राणायामको अभ्यास गर्नु पर्दछ ।
मुद्रा– जल मुद्रा, शक्ति मुद्राको अभ्यास गर्नु पर्दछ ।
बन्द– उडियान बन्द, पेटलाई भित्र खिचेर एक श्वासभरि त्यही अवस्थामा रहेर छोड्ने अभ्यास गर्नु पर्दछ ।
ध्यान– ‘वंं’ वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ ।
चक्रको रंगको कल्पना– सुन्तला रंग, सुन्तला रंगका फूल–फल–तरकारी, सुन्तला रंगका पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ ।
आनापान सती– लामो श्वास स्वाधिष्ठान चक्रसम्म लिनु पर्दछ चक्रलाई याद गरेर र स्वाधिष्ठान चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।
जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नुका साथै जलको पर्याप्त सेवन, जलका कृत्रिम तथा प्राकृतिक श्रोतहरुसंग निकटता राख्नु पर्दछ । संधै सकारात्मक सोच, विचार, भाव, बोलि, कर्म, व्यवहार तथा आचरण गर्नु पर्दछ ।
अन्त्यमा
मनुष्यको विचार अत्यन्तै महत्वपूर्ण र सर्वशक्तिमा उर्जा भएकोले संधै आफ्नो विचारलाई वसमा राखौं किनकी विचार नै हाम्रो वाणि बन्छ । आफ्नो वाणिलाई वसमा राखौं किनकी वाणि नै हाम्रो कर्म बन्छ । आफ्नो कर्मलाई वसमा राखौं किनकी कर्म नै हाम्रो आदत बन्छ । आफ्नो आदतलाई वसमा राखौं किनकी आदत नै हाम्रो चरित्र बन्छ । आफ्नो चरित्रलाई वसमा राखौं किनकी चरित्र नै हाम्रो भाग्य बन्छ । भाग्य भनेको हाम्रो विगत+वर्तमान+भविश्य हो र भविश्य भनेको यस जन्मका आउने दिनहरु र अर्को–अर्को–अर्को पूनरजन्मका आउने दिनहरु हुन् किनकी हामी आत्मा हौं, आत्माले शरीर फेरीरहन्छ र नयाँ–नयाँ जन्महरुमा यात्रा गरिरहन्छ र अघिल्लो जन्मका राम्रा नराम्रा सबै विचार, वाणि, कर्म, आदत, चरित्र, भाग्य सबै मृत्यु हुदा आत्मासंगै जान्छन् र पुनरजन्म हुदा आत्मसंगै आउछन् किनकी यी सबै कामहरु शरीरको माध्यमबाट आत्माले नै गरेको हो र ती सबै विचार, वाणि, कर्म, आदत, चरित्र, भाग्य हाम्रो हरेक जन्मका जीवनशैली बन्छन् ।
छिट्टै,
मणिपुर चक्र मनुष्यको आत्मविश्वासको मूल आधारशिला हो ।
मणिपुर चक्रको परिचय
(१)असन्तुलित अवस्थाका परिणामहरु–
(२)सन्तुलित अवस्थाका परिणामहरु–
(३)सन्तुलित गर्ने उपायहरु–
योगासन–
मुद्रा–
बन्द–
प्राणायाम–
ध्यान–
विज मन्त्र जप–
चक्रको रंगको कल्पना–
आनापान सती–
जीवनशैली–
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment