Tuesday, 27 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४६

                #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       

    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५१.सवाल

शरीरमा वायु तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ ।

जवाफ 

वायु तत्वबारे संक्षिप्त जानकारी

वायु तत्व हरेक मनुष्य तथा प्राणीहरुको श्वास–प्रश्वासको गतिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । सनातन आयुर्वेद चिकित्सा विज्ञानका अनुसार मनुष्यको शरीरमा १० वर्षको उमेरदेखि १२ वर्षसम्म वायु तत्व चल्छ, १२ वर्षदेखि ३६ वर्षसम्म अग्नि तत्व चल्छ, ३६ वर्षदेखि ४८ वर्षसम्म पृथ्वी तत्व चल्छ, ४८ वर्षदेखि ६० वर्षसम्म आकाश तत्व चल्छ, र ६० वर्षदेखि १०० वर्षसम्म जल तत्व चल्छ । जुन उमेरमा जुन तत्वको अधिकता रहेको हुन्छ मनुष्यको स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा त्यही तत्व अनुसारका गुण भएका अवस्था तथा अस्वस्थताहरु देखिन्छन् ।  शारीरिक शरीरमा वायु तत्व मनुष्यको तन्त्रिका प्रणाली तथा मस्तिष्कसंग सम्वन्धित रहेको हुन्छ र मस्तिष्कले नै मनुष्यका सबैप्रकारका गतिविधिहरुलाई चलाउने हुनाले वायु तत्वको विशेष महत्व रहेको छ । वायु स्थिर हुदैन एक ठाउँबाट अर्को ठाउँ निमेसभित्रै पुग्ने तथा चलिरहने भएजस्तै मनुष्यको मस्तिष्क पनि विद्युतीय आवेग(इलेक्ट्रोनिक इम्पल्सेस)को आधारमा पूरै शरीरभरि तिव्र गतिमा दोहोरो किसिमले चलिरहन्छ । यी विद्युतीय आवेगहरुद्वारा मस्तिष्कले शरीरबाट(ज्ञान तथा कर्म इन्द्रियहरुबाट) सूचना लिने र शरीरलाई सूचना दिने कार्य निरन्तर चलिरहन्छ । 


हावा सामान्य अवस्थामा चलेको छ भने यो अवस्थालाई हावा भनिन्छ तर यही हावा तिब्रगतिमा चलेको छ भने वायु तथा पवन भनिन्छ, तेज वायुको गति अत्यन्तै धेरै तथा त्रिव्र हुन्छ । सनातन अध्यात्म दर्शनका अनुसार वायु तथा पवन देवताको रुपमा पूजा–उपासना गरिन्छ । सनातन शास्त्रहरुमा भनिएको छ, भगवान लक्ष्मी–नारायण जता–जता जानुहुन्छ वायु तथा पवनदेव पनि वहाँकै साथ त्यतै–त्यतै जानुहुन्छ । मनुष्यको शरीर जीवन वायुसंग वहने ब्रम्हाण्डिय उर्जा तथा प्राण उर्जा अर्थात जीवन उर्जाको आधारमा टिकेको तथा बाँचेको हुन्छ, शरीरबाट प्राण निस्कियो भने वायु तथा श्वास–प्रश्वासको क्रिया पनि वन्द हुन्छ अर्थात प्राण र वायु तत्व एकैपटक निस्किन्छन् र मनुष्य मृत हुन्छ किनकी मनुष्यको शरीरमा वायु तत्वकै कारण अन्य तत्वहरुले आ–आफ्ना कार्यहरु गर्दछन् । कुल दश प्रकारका वायुहरु रहेकाछन् र ती सबै हाम्रो शरीरभित्र सुक्ष्म रुपले रहेका हुन्छन् । १० प्रकार मध्य पाँच प्रकारका वायुहरुको मनुष्य शरीरमा विशेष भूमिका र महत्व रहेको हुन्छ । (१)प्राण वायु शिरबाट गलासम्म रहेको हुन्छ र प्राण वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, (१)उदान वायु गलाबाट हृदयसम्म रहेको हुन्छ र उदान वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, (३)समान वायु हृदयबाट नाभिसम्म रहेको हुन्छ र समान वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, (४)अपान नाभिबाट मूलाधारसम्म रहेको हुन्छ र अपान वायुले यस क्षेत्रका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ, र (५)व्यान सम्पूर्ण शरीरभरि फैलिएको हुन्छ र अपान वायुले शरीरभरिका सबै गतिविधिहरुलाई नियन्त्रण गर्दछ । व्यान वायुले मनुष्यलाई चेतनशील राखिराख्छ जाग्रित अवस्थामा पुर्याउछ । पवन तथा वायु तत्व मनुष्यको शरीरमा बल, वुद्धि, विवेक, वुद्धिमता, सोच, विचार, भावको कारक हो । वायु तत्वले मनुष्यका दैनिक गतिविधिहरु हिडडुल गर्न, खेल्न, चल्न, काम गर्न, दौडिनकालागि आवश्यक पर्ने क्षमता प्रदान गर्दछ । मनुष्यको मनमा विचार आउने तथा जाने, स्थिर तथा अस्थिर रहने, नियन्त्रित तथा अनियन्त्रित हुने, शुन्य तथा चन्चल हुने सबै वायु तत्वमा निर्भर गर्दछ । विचार मनुष्यको मस्तिष्क तथा मनमा आउछ तर यसलाई कहिले, कसरी, कहाँ पुर्याउनु पर्छ यो सबै कार्य वायु तत्वले गर्दछ । 


संक्षिप्त– वायु तत्व आकाश तत्वबाट बन्छ, यसको रंग निलो र हरियो मानिएको छ । हरियो रंग प्रेम, सदभाव, दया, करुणा सेवाको प्रतिक हो र निलो रंग ज्ञान, प्रज्ञा, वुद्धि, विवेक, गहिराई, रहस्य, कुनै विषयमा गहिरो जानु आदिको प्रतिक हो खासगरि योग–ध्यान साधनामा गहिरिनु ।  औंला– तर्जनि, स्वाद– तितो, स्थान– छाति, चक्र– अनाहद, लम्बाई– ८ अम्मल, दिशा– उत्तर(धन र वुद्धिको दिशा), तनमात्रा– स्पर्श, गुण– शव्द र स्पर्श(देख्न सकिदैन तर प्रत्यक्ष सुन्न र महसुस गर्न सकिन्छ) । ज्ञान इन्द्रिय– त्वचा, कर्म इन्द्रिय– हात, आकार– षटकोण, मूलस्थान– नाभी, मन्त्र– यं, दोष– वाथ, गुण– रजो, वायु– प्राण, स्वभाव– शत्रुता, शरीरमा तत्वको अंश– ६ देखि ८ प्रतिशत, वायुका पाँच गुण हुन्छन् बस्नु, हिंड्नु, दौडिनु, फैलिनु, साँघुरिनु ।  


सन्तुलित वायु तत्व

शरीरमा वायु तत्व सन्तुलित भएको मनुष्यको शारीरिक शरीरमा वायु जनित शारीरिक अस्वस्थता वाथ, सर्दी–रुखा–खोकी–ज्वरो, दम, फोक्सोको टि.बी., छोटो श्वास–प्रश्वासका समस्या तथा अस्वस्थताहरु कम हुन्छन् तथा हुदैनन् । छाति तथा छातिमा स्थित आन्तरिक अंगहरु मुटु, फोक्सो, श्वास नलि, खाना निल्ने नलि, मुटुबाट शरीरमा रगत प्रवाह गर्ने धमनी तथा रगत मुटुमा फर्काउने नशाहरु स्वस्थ हुन्छन् । यस्तो व्यक्ति जति मेहनेत गरेपनि थाक्दैन, म्याराथुन, शारीरिक बल प्रयोग हुने खेलकुदका गतिविधिहरु तथा कामहरुमा राम्रो गर्नसक्छ । यस्तो व्यक्तिको जीवनमा सक्रियता धेरै हुन्छ, उसको मन, भावना हलुका र छिटो, छरितो हुन्छ, उसको शरीर, मन, भाव कोमल हुन्छ, आफ्नो र अरुका लागि सकारात्मक उद्देश्य राखेर सर्वकल्याण तथा सेवाका कार्यहरु गर्न अग्रसर हुन्छ । वायु तत्व विशेषगरि छाति क्षेत्रका अंगहरु र अदृश्य अंग हृदय लगायत मनुष्यको सोच, विचार, मन, भावनाको कारक भएकोले शरीरमा वायु तत्व सन्तुलित छ भने मनुष्यमा आफ्नो मन र भावमाथि आफूले चाहे अनुसार नियन्त्रणमा राख्न सक्ने क्षमता रहेको हुन्छ र यस्तो अवस्थामा  उसका सोच, विचार, मन, भावनात्मक संवेगहरु सौम्य र स्थिर हुन्छन् । भनिन्छ युद्ध जित्ने मनुष्य वीर कहलाउछ तर आफ्नो मन तथा भावनालाई जित्ने र जीवनलाई सकारात्मक मार्गमा लगाउने मनुष्य महावीर कहलाउछ किनकी जसले आफ्नो मन तथा भावनालाई जित्न सक्छ तथा नियन्त्रणमा राख्न सक्छ उसले संसार जित्न सक्छ । सन्तुलित वायु तत्वले हामीलाई जीवन दिन्छ, शान्ति दिन्छ, आनन्द दिन्छ । शरीरमा वायु तत्व शुद्ध तथा सन्तुलित छ भने मनुष्यको मन शुद्ध हुन्छ, वुद्धि तिक्ष्ण हुन्छ, प्रेम, दया, करुणा, भावुकता, सहयोग, सेवा, दान गर्ने, शान्तिप्रिय, राम्रो चरित्र, बोली, व्यवहार, आचरण भएको राम्रो तथा सकारात्मक प्रकारको व्यक्ति हुन्छ । स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरुमा वायुको माध्यमबाट शरीरमा प्रवेश गर्ने प्राण उर्जा तथा जीवन उर्जाको आपूर्ति पर्याप्त हुनेहुनाले मनुष्य शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक सम्पूर्ण रुपमा स्वस्थ रहन्छ । वायुले आफ्ना सबै कामहरु स्वतन्त्र रुपमा गर्दछ, यसलाई कसैले बाध्न तथा रोक्न सक्दैन, यसकारण शरीरमा वायु तत्व सन्तुलित तथा मजबुत भयो तथा सकारात्मक किसिमले बढ्यो भने (प्राय सबै तत्वहरुको मात्रा कमी नै हुन्छ अधिकांश मनुष्यहरुको शरीरमा) मनुष्य आफूलाई अरु केहीबाट नबाधिएको, स्वतन्त्र, हलका महसुस गर्दछ । 


वायु तत्वको गुण शव्द पनि भएकोले यदि हाम्रो शरीरमा वायु तत्व सन्तुलित रहेको छ भने यसले हामीभित्र अरुसंग मिठासपूर्ण तथा प्रभावकारी ढंगले वातचित गर्नसक्ने कला र क्षमता प्रदान गर्दछ, हाम्रो सोच, विचार, भावना, ज्ञान, वुद्धि, विवेक स्पष्ट बनाउछ र यी आयामहरुको क्षमता पूर्णतामा बढाइदिन्छ । आफ्ना कुरा अरुलाई स्पष्ट रुपमा बुझाउन सक्ने र अरुका कुरा आफूले सहजै बुझ्न र सुन्न सक्ने सक्षमता आउछ । हिजोआजको समयमा सपष्ट र सौहार्दपूर्ण संवाद नै सबैभन्दा महत्वपूर्ण विषय बन्दै गैरहेको छ हरेक मनुष्यको जीवनमा । मनुष्यका हरेक प्रकारका कला, सिर्जनशिलता, रचनात्मकता तथा ट्यालेन्टको क्षेत्र मनुष्यको सोच, विचार, भावना, ज्ञान, वुद्धि, विवेक, वुद्धिमतासंग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । शरीरमा वायु तत्व सन्तुलित छ भने आफ्नो कलालाई अझ तिखार्न, बढाउन र सबैमाझ लोकप्रिय बनाउन सक्षम हुन्छ, प्रसिद्धि कमाउन सक्छ, वायुको गुण जस्तै उसको कलाकारिताको यस र महत्व पनि टाढा–टाढासम्म फैलिन्छ । वायु जस्तै संसारभरि फैलिएर सबैको प्यारो, लोकप्रिय, प्रेरणाको श्रोत तथा अरुको रोलमोडल समेत बन्नसक्छ । यसकासाथै वायु तत्वको सन्तुलनताले मनुष्यलाई समुहमा रहेर कामगर्ने क्षमताको विकास गराउछ । यस्तो मनुष्यमा अरुलाई आफ्ना कुरा बताएर, बुझाएर, सन्तुष्ट गरेर आफ्नो काम निकाल्ने अदभूत क्षमता हुन्छ । 


शरीरमा वायु तत्व सन्तुलित छ भने मनुष्यमा सांसारिक सुख, सुविधाका विषय तथा चिजहरु प्राप्त गर्ने, भोग गर्ने र त्यसको आनन्द लिने क्षमता प्रवल हुन्छ । वास्तविक प्राप्ति, भोग र भोगको आनन्द सर्वाधिक महंगा, गतिला, सर्वश्रेष्ठ सामग्रीहरु संग्रह गर्नु तथा आफूसंग त्यसको पर्याप्तता तथा मौजदात हुनु, धनी हुनु, उपाधि पाउनु, मान बढ्नु तथा बढाउनुसंग हुदैन, ती सामग्रीहरुको सदुपयोगबाट आनन्द लिनसक्नुसंग हुन्छ र यो वास्तविक भोग हो, ती सामग्रीहरुको सदुपयोग गरेर तीबाट आनन्द लिन नसक्नु भोग होइन । आफ्नो र अरुको खुशी, भलाइ तथा विकासका लागि आफूसंग भएका चिजवस्तु तथा सुख सुविधाहरुको सदुपयोग गर्नु र त्यसबाट खुशी तथा आनन्द लिन सक्नु वास्तविक भोग हो । त्यस्ता प्रकारका चिज–वस्तुहरु चाहे त्यसको मूल्य सस्तो नै होस्, सित्तैमा पाइयोस्, जताततै उपलव्ध हुने प्रकारको होस् तर आफूलाई तीनको प्रयोग गर्दा सुख, खुशी, शान्ति आनन्द आउछ भने त्यो वास्तविक भोग र आनन्द हो जुन वायु तत्वको सन्तुलनताबाट प्राप्त हुन्छ । एक कप कफीमा पनि मनुष्यले असीम आनन्द लिन सक्छ, आफूलाई मनपरेको पहिरन लगाउदा, रुचि भएको स्थानमा घुमघाम गर्न जाँदा, एकान्तमा बसेर खुल्ला प्रकृतिको अवलोकन गर्दा, संगीत सुनेर त्यसको भावमा झुम्दा, साहित्य सिर्जनामा डुव्दा, गहिरो प्रेम भएको व्यक्तिसंगको संवाद, सानिध्यतामा रहदा आदिबाट शव्दमा अव्यक्त आनन्द लिनसक्छ । जे कुराले आफ्नो मन, भावनालाई आनन्द दिन्छ त्यसको सहि सदुपयोग नै वास्तविक भो भएकोले यस्तो व्यक्ति साना–साना कुरा तथा उपलव्धिहरुमा पनि खुशी र आनन्दित हुनसक्छ । 


वायु तत्वको सम्वन्ध शनि ग्रह(न्याय, सेवा), वुध ग्रह(वुद्धि, विवेक), शुक्र ग्रह(सुन्दरता, सम्पन्नता), राहु ग्रह(सिर्जनशीलता, आविस्कार)संग पनि रहेकोछ । यसकारण वायु तत्व सन्तुलित भएको मनुष्यको स्वभाव, बानी–व्यवहार तथा प्रकृतिमा यी ग्रहहरुको सकारात्मक प्रभावहरु देखिन्छन् । वायु तत्व मनुष्यको वुद्धि, विवेक, वुद्धिमता, सोच, विचार, भावको कारक भएकोले वायु तत्व सन्तुलित भएको मनुष्यको स्वास्थ्य, शरीर, सांसारिक जीवन र पारमार्थि जीवनका अधिकांश आयामहरु व्यवस्थित र विकसित हुन्छन् । यसकारण खासगरि मनुष्यको प्रगतिको पमुख आधार रचनात्मकता, सिर्जनशीलता, व्यापार–व्यवसाय, सेवाका कामहरु तथा व्यक्तित्व विकास र नेतृत्व विकास गर्नकालागि मनुष्यको वायु तत्व मजबुत हुनु अत्यावश्यक हुन्छ । यी अवस्था तथा कार्यहरु अरुसंग सम्वन्ध बनाउने तथा सम्वन्धको संजाल बढाउने र सामजिकीकरण गर्ने कार्यहरु हुन् जसमाथि वायु तत्व, अनाहद चक्र तथा भावनात्मक संवेगहरुको प्रत्यक्ष भूमिका रहेको हुन्छ । मनुष्यले बोल्ने शव्दमा जादु हुन्छ, शव्दले नै उसको जीवन माथि उचाइमा उठाउछ, अरुको नजरमा राम्रो र नराम्रो छवि पनि मनुष्यले बोद्यने शव्दले नै तय गर्दछ, यसकारण बोल्दा सावधानी अपनाइएन भने शव्दले नै मनुष्यलाई पातालमा धसाइदिन्छ । आफ्नो जीवन र अरुको जीवनमा दुरगामी परिवर्तन पार्छ, सम्वन्धमा गहिरो उतार–चढाव ल्याउछ । आफूले बोल्ने शव्दमा आफूलाई महत्वमा राख्दा तथा अहंकार देखाउदा त्यसले आफ्नो मानसम्मान बढाउनुको साटो घटाउछ । मनुष्यको शव्द तथा वाणिको कारक वुधग्रह हो, वायु र बुध ग्रहको नजिकको सम्वन्ध रहेको हुन्छ, मनुष्यलाई सोचेर सहि शव्द, सहि भाव र सहि हाउभाउमा बोल्ने क्षमता वायु तत्व र बुध ग्रहले प्रदान गर्दछ । वायु तत्वमा शनि ग्रहको निकटता रहेकोले शरीरमा वायु तत्व सन्तुलित भएको मनुष्यमा शनि ग्रहको गुणहरु– लगनशील भएर कर्म गर्ने क्षमता, धैर्यता, न्याय, सेवा भाव तथा सहयोगको गुण आउछ । सबै काम सोचे अनुरुप सहजै र छिटा सम्पन्न हुदैनन्, कतिपय कामहरु सम्पन्न हुन वर्षौं लाग्न सक्छ, धैर्यताको आवश्यकता पर्दछ, लामो समयसम्म निरन्तर काम गरिरहने उर्जा, सहनशिलता सन्तुलित वायु तत्वले प्रदान गर्दछ । धैर्य रहनसक्ने मनुष्यको जीवनमा आफूले इच्छा अपेक्षा गरेका जीवनका सबै चाहनाहरु ढिलो–चाँढो पूरा हुन्छन् । यसकारण मनुष्यको शरीरमा वायु तत्व सन्तुलित हुनु अत्यावश्यक हुन्छ ।


असन्तुलित वायु तत्व 

शरीरमा वायु तत्व असन्तुलित भएको छ भने वायु तत्व कारक रहेका वाहिरी तथा आन्तरिक शारीरिक अंगहरुमा विभिन्न प्रकारका ज्ञात–अज्ञात अस्वस्थता तथा समस्याहरु देखा पर्दछन् किनकी वायुको गुण, वेग र प्रभाव अदृश्य हुन्छ । छातिका अस्वस्थताहरु, श्वास–प्रश्वास छोटो हुने, दम, शरीरमा अक्सिजनको कमी हुने, मस्तिष्कका सबै प्रकारका अस्वस्थताहरु, टाउको दुख्ने, अधा तथा माइग्रेनको दुखाइ, रक्तचापको असन्तुलन(उच्च तथा न्यून रक्तचाप), रगतसंग सम्वन्धित अस्वस्थता तथा विकारहरु, वाथ तथा हाडजोर्नीका दुखाइहरु, पेट सफा नहुने, शरीरको अस्वाभाविक संरचना(डिफोरमिटीज), कम्मर तथा ढाडको दुखाई, प्यारालाइसिसको अधिक सम्भावना आदि अस्वस्थता समस्या तथा असहजताहरु देखिन्छन् । वायु तत्वको अधिक सक्रियताले मनुष्यमा हृदयधात पनि आउन सक्छ किनकी वायु तत्वले वुद्धिलाई बढाउछ, वुद्धि धेरै तेज छ भने खराव नियत भएको मनुष्य जालसाजी, धोकाधडी गर्न, अरुलाई ठग्ने कर्ममा लाग्छ, अरुलाई सताएपछि प्राकृति न्यायको सिद्धान्त अनुसार त्यसको पहिलो शिकार मनुष्य आफैं हुन्छ र आफ्नो विनास आफैंले गर्छ । शरीरमा वायु तत्व बढ्यो तथा ज्यादा सक्रियता भयो भने ग्यासको प्रकोप बढ्छ यसका कारण धेरै प्रकारका अस्वस्थता तथा असहजताका लक्षणहरु शरीर, मन, भाव, वुद्धि, चेतनामा देखा पर्दछन् । यसको नकारात्मक परिणामका कारण शारीरिक रुपमा शिरमा रिंगटा लाग्छ, मानसिक रुपमा मनमा बेचैनी तथा दिक्क लाग्छ, भावनात्मक रुपमा भावना अशान्त हुन्छ, वौद्धिक रुपमा वुद्धि भ्रष्ट हुन्छ, चेतनात्मक रुपमा सचेतना वोधो हुन्छ र यस्तो अवस्थामा कोहीपनि व्यक्ति थाहानै नपाएकन शारीरिक अस्वस्थता, मानसिक तनाव, अशान्ति, चिन्तामा जान सक्छ । यस्तो अवस्थामा सबैभन्दा बढि नकारात्मक प्रभाव मस्तिष्कका तन्त्रिका प्रणालीहरुमा, शरीरको रोगप्रतिरक्षा प्रणालीमा पर्दछ किनकी वायु समष्टि ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि रुवरुप प्राण उर्जा तथा जीवन उर्जा तथा कुण्डलिनी उर्जाको संवाहक भएकोले शरीरका सबै आयामहरुको पूरै उर्जा प्रणाली असन्तुलित हुन्छ तथा बिग्रिन्छ । 


वायु तत्व मनुष्यको मानसिक तथा भावनात्मक शरीरका आयामहरु सोच, विचार, भावनात्मक संवेगहरुको कारक भएकोले बेचैनी, तनाव, चिन्ता, एकाग्रताको कमी, अशान्ति, बेखुशी, असन्तोष, क्रोध, घृणा, वदला, गुनासो, अनिद्रा, विषाद, अवषाद, विक्षिप्तता, एकोहोरोपन, पागलपन आदि मनुष्यको मन तथा भावनासंग सम्वन्धित सबैप्रकारका अस्वस्थताहरु तथा समस्याहरु देखा पर्दछन् । शरीरमा वायु तत्व सन्तुलित छैन भने शरीर र विशेषगरि रगतमा सन्तुलनता आउदैन, रगतको तापक्रम उचनीच हुने कारणले उच्च हुदा तथा रगतमा गर्मी बढ्दा मनुष्य छिटो रिसाउछ तथा प्रतिक्रियात्मक हुन्छ, धैर्यता तथा स्थिरता रहदैन र तुरुन्तै तनाव तथा तनावजनित अस्वस्थताहरुले ग्रसित हुन्छ र यसको विपरित रगतमा तापक्रम न्यून छ भने व्यक्ति आलस्य हुन्छ, उसको शरीर, मन, भावमा केही गर्ने बल, उत्साह, जोश, प्रेरणा हुदैन, उसलाई तमसले घेर्छ र यस्तो अवस्थामा वायु तत्व अझ असन्तुलित हुन्छ । वायु तत्वको अर्को गुण ग्यास भएकोले शरीरमा वायु तत्व सन्तुलनमा छैन भने शरीरभरि वायु घुम्ने र घरि कता घरि कता दुख्ने, शरीर असहज हुने, अस्वाभाविक डकार आउने प्रकारका अस्वस्थता तथा अप्ठ्याराहरु आइपर्छन र यसरी दुखाइ एकैठाउँमा नभई सरी–सरी दुख्ने हुनाले लक्षणहरुका आधारमा शरीरको कुन अंगमा कस्तो प्रकारको अस्वस्था भएको भनेर आधूनिक चिकित्सा विज्ञानका अत्याधूनिक उपकरणहरुलाई समेत पत्ता लगाउन मुस्किल पर्छ, अनुमानको भरमा चिकित्सकहरु औषधि तथा उपायहरु बताउन बाध्य हुन्छन् जसको शारीरक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्दछ । 


वायु तत्वको असन्तुलनले मनुष्यको विचार र भावनात्मक संवेगहरुलाई असन्तुलित गरिदने हुनाले मनुष्य सहि किसिमले सोच्न र उचित निर्णय लिन तथा दिन असक्षम हुन्छ । निर्णय लिए पनि त्यसलाई व्यवहारमा उतार्न हिचकिचाउछ, अलमलिन्छ, मुस्किल हुन्छ, हिम्मत गर्दैन, पछाडि हट्छ पछि गर्छु भनेर काम पन्साइ रहन्छ र पन्साउने बहाना बनाइरहन्छ तथा खोजिरहन्छ । निर्णय सहि छ भन्ने थाहा हुदाहुदै पनि वायु तत्वको असन्तुलनताका कारण उ आफ्नो निर्णयमा स्थिर भएर अडिन सक्दैन किनकी उसको मन, मनका विचारहरु, भाव, भावनात्मक संवेगहरु उसको नियन्त्रणमा हुदैन, यस्तो अवस्थामा निर्णय कार्यान्वयन गर्यो भनेपनि विचारको वेगमा तथा भावनात्मक संवेगहरुमा बहेर गर्दछ र आफू र अरुलाई समेत हानि गर्ने व्यवहार तथा कामहरु गर्दछ । यसकासाथै शरीरमा वायु तत्वको असन्तुलन तथा ज्यादा सक्रियता भएको तथा वायु तत्व असन्तुलित किसिमले बढेको अवस्थामा मस्तिष्क, मन तथा भावनामा उठ्ने सोच, विचार तथा भावनात्मक संवेगहरुले हाम्रो मन, भाव, वुद्धि, चेतना, शरीरमा नसोचेको उतार–चढाव ल्याउछ र मनुष्यमा काम, क्रोध, लोभ, मोह, कपट, बदला, घृणा, षडयन्त्र, जालसाजी जस्ता मानवीय विकार, क्लेश तथा दुर्गुणहरु आउने गर्दछन् । यस्ता मानवीय विकार, क्लेश तथा दुर्गुणहरुले मनुष्यको स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा आफूले नसोचेको उथल–पुथल ल्याइदिन्छ र मनुष्यको जीवन थाहानै नपाइकन कहाँबाट कहाँ पुयाइदिन्छ । 


शरीरमा वायु तत्व असन्तुलित छ भने आफूसंग भएका सर्वोत्कृष्ट मानिएका चिज वस्तुहरुको भोग गर्न, जीवनका ठूला ठूला उपलव्धिहरुबाट समेत खुशी, आनन्द लिन सक्दैन । हडबढ, अधैर्य निद्रामा असन्तुलन, सानोसानो कुरामा रिसाउनु, विचार मनमा नअडिनु प्याच्च बोदिहाल्नु, समयमै निर्णय दिन तथा दिन नसक्नु, अनुशरणमा ल्याउन नसक्नु, वुध ग्रहको प्रभाव भएकोले तत्व खराव छ भने कुवुद्धि, कुतर्क, भाँड्न् प्रवृत्ति हुन्छ ।  असन्तुलित छ भने हिड्न, दौडिन, सक्रिय हुन, खेलकुद गर्न सक्दैन, आलस्य हुन्छ । बल र वुद्धि दुवैले गर्ने कार्य गर्न सक्दैन, नबोल्नु परे हुन्थ्यो, अरु मान्छेहरुलाई नभेट्नु परे हुन्थ्यो, केही जिम्मा नलिनुपरे हुन्थ्यो भन्छ, काम टाल्ने बहाना गर्छ, उत्तरदायित्व पूरा गर्नबाट पछाडि हट्छ र मानसिहरु तथा समुहबाट दुर भाग्छ । अधिक अमिलो मनपर्नु, अरुले नबुझ्नेगरि बोल्नु, नरोकिइकन बोलेको बोल्यै गर्नु, के बोलेको भनेर आफैंले थाहा नपाउनु, भकभकाउनु, बोल्नु पर्ने कुरा समयमै याद नआउनु, पछि सम्झेर यसो भन्नु पथ्र्यो भन्ने याद हुनु, दुःखमा आत्तिनु, सुखमा मात्तिनु, सानो–सानो कुरामा तनाव लिनु, बेचैन हुनु, उमेर तथा समयअघि कपाल झर्नु, कपाल फुल्नु, शरीको छाला र शारीरिक अंगहरु उमेर अगावै परिपक्व तथा बुढो देखिनु, धैर्यता, स्थिरता नहुनु, संवाद गर्न नजान्नु, अरुले बोलेको कुरा निधो नपाउनु, दोहोर्याएर सोधिरहनु, नयाँ सम्वन्ध बनाउन र भएका सम्वन्धहरु टिकाउन नसक्नु शरीरमा वायु तत्व असन्तुलित लक्षणहरु हुन् । 


वायु तत्व असन्तुलन हुनुको कारण

दिनभरिमा अधिकांश ताजा वायु, सुर्यको ताप तथा प्रकाश, खुल्ला आकाशमुनिको वातावरण, प्रकृतिदेखि टाढा रहने र धेरै समय टेवल, कुर्शिमा बसेर काम गर्ने मनुष्यहरुमा प्रकृति तथा पंचतत्वसंगको सानिध्यता र शरीरका गतिविधिहरु कम हुने हुनाले उनीहरुमा श्वास–प्रश्वास छोटो हुने समस्या देखिन्छ । श्वास–प्रश्वासमा आएको असन्तुलनताको कारण शरीरमा शरीरमा वायु तत्व असन्तुलित हुन्छ र पुरै शरीरको उर्जा प्रणाली प्रभावित हुन्छ तथा बिग्रिन्छ । हिजोआजको अव्यवस्थित शहरीकरण र औधोगिकीकरणले निम्त्याएको अति वायु प्रदुषणका कारण हामीलाई आवश्यक पर्ने ताजा तथा अक्सिजन पर्याप्त भएको वायुको मात्रा श्वास–प्रश्वासको लय तथा आयाममा जतिनै सावधानी अपनाएपनि प्राप्त हुन सक्दैन । प्रदुषित पर्यावरणमा लिइएको श्वाससंग वायुमा रहेका धूलो, धूवा, शिशाका कण तथा प्रदुषणका हानिकारक फोहोरहरु फोक्सोमा जान्छन् र यिनले फोक्सोका श्वास फेर्ने छिद्रहरु टालिदिन्छ, विश्व स्वाथ्य संगठनको एक प्रतिवेदन अनुसार वर्तमान समयमा खासगरि भौतिक संरचनाका आधारमा विकसित शहरहरुमा बस्ने अकिांश मनुष्यहरुको फोक्सोका छिद्रहरु ५० देखि ९० प्रतिशतसम्म टार्लिएका छन् र ३–४ लिटर वायु अट्ने फोक्सो साघुरिएर डेढ–दुई लिटरमा सीमित भएको छ । यसको नकारात्मक परिणामस्वरुप शरीरमा वायु तत्व हदैसम्म असन्तुलित भएका कारण श्वास–प्रश्वासका अनेक प्रकारका ज्ञात–अज्ञात अस्वस्थता र केही हदसम्म स्वास्थ्यका दृष्टिकोणले महामारीको अवस्था आइपरेको छ । यस्तो अवस्थामा फोक्सो कमजोर हुन्छ र शरीरमा लाग्ने अन्य प्रकारका अस्वस्थाता तथा बिमारीहरुलाई बढावा मिल्छ र वायु तत्व अझ असन्तुलित हुन्छ र यससंगसंगै शरीरका अरु तत्वहरु पनि असन्तुलित हुन शुरु हुन्छन् किनकी वायु तत्वबाटै अग्नि तत्व, अग्नि तत्वबाट जल तत्व र जल तत्वबाट पृथ्वी तत्वको निर्माण भएको हुन्छ प्राकृतिक रुपमा र वायु तत्व आकाश तत्वबाट निर्मित भएको हुन्छ । 


झुठ बोलेर, ज्यादा चलाखी तथा जालसाजी तथा षडयन्त्र, घृणा, निन्दा गरेर अरुलाई दुःख दिदा तथा सताउदा यो मानवीय विकार तथा दुर्गुणको प्रभाव सबैभन्दा पहिला आफैंमाथि पर्ने हुनाले शरीरमा वायु तत्व असन्तुलित हुन्छ । घरको कक्ष, कार्यालयको कक्ष तथा संरचनाको वास्तु नमिलेको तथा वास्तु दोष परेको कारणले पनि वायु तत्व असन्तुलित हुन्छ । उत्तरतिर सिरानी गरेर सुत्दा वायु तत्व असन्तुलित हुन्छ, सनातन अध्यात्म विज्ञानले नगर्नु भनेका कुराहरु वास्ता नगर्दा तथा पालना नगर्दा शरीरमा वायु तत्व असन्तुलित हुन्छ।  जन्म कुण्डलीमा वायु तत्वको कारक ग्रह राहुको अवस्था कमजोर छ तथा कुण्डलीमा राहु दोष देखिएको छ भने पनि शरीरमा वायु तत्व असन्तुलित हुन्छ । 


वायु तत्व सन्तुलित गर्ने उपाय

शरीरमा वायु सन्तुलन गर्न सबैभन्दा पहिलो र अत्यन्तै भरपर्दो उपाय होसपूर्वक श्वास लिनुपर्दछ र सकेसम्म श्वास–प्रश्वासको लय तथा प्राणको आयाम निलाउने प्रयास गर्नुपर्दछ । यसकारण  शरीरमा वायु तत्व सन्तुलन गर्ने मुख्य र अत्यन्तै भरपर्दो योगीक साधना विधि श्वास–प्रश्वासको लय तथा प्राणको आयाम ‘प्राणायाम’को प्रयोगात्मक अभ्यासलाई अनुशरण गर्दै आइएको छ सनातन योग विज्ञानमा । वायुका गति तीन प्रकारका हुन्छन्– तिब्र, सामान्य र सुस्त र प्राणायाम योगी साधनाका क्रियाहरुका गति पनि तीन प्रकारकै हुन्छन् र प्राणायामका प्रयोगात्मक अभ्यासहरु तीन प्रकारले नै गर्ने गरिन्छ– तिब्र, सामान्य र सुस्त । सकेसम्म खुल्ला आकाशमुनि, खुल्ला स्थान, स्वच्छ पर्यावरण तथा प्राकृतिक वातावरणमा प्राणायामका प्रयोगात्मक अभ्यासहरु गर्नुपर्दछ ताकि ताजा हावाको साथमा प्रसस्त अक्सिजन र ब्रम्हाण्डिय महाउर्जा(ग्रह–तारा, वनस्पति, खनिज, पदार्थहरुका औषधिय गुण) शरीरभित्र प्रवेश गर्न सकोस्, वायु तत्व पूर्णरुपमा सन्तुलनमा आओस्  र स्वास्थ्य र शरीरका सबै आयामहरु स्वस्थ, सक्रिय र व्यवस्थित हुन सकुन् । 


दुवै हातमा तर्जनि औंला हत्केलातिर दोबारेर औंठाले थिचेर वायु मुद्रा लगाएर यं विज मन्त्रोच्चाहरण गर्दै तथा मनमनै स्मरणमा दोहोर्याएर हृदयमा रहेको अनाहद चक्रको ध्यान गर्नु पर्दछ । वायु मुद्रा सूर्यको उपस्थितिमा मात्र लगाउनु पर्दछ । विशेष गरि बज्र आसनमा बसेर वायु मुद्रा, अन्य आसनमा पनि गर्न सकिन्छ । वायु तत्व संतुलित गर्न ध्यान साधना दिनमा तथा सूर्यको उपस्थितिमा मात्र गर्नुपर्दछ । साँझ परेपछि वायु तत्वको गति बढ्ने भएकोले अदृश्य राम्रा तथा नराम्रा रहस्यमयि उर्जाहरुको उपस्थिति बढ्न थाल्छ र यस्तो समयमा वायु तत्वसंग सम्वन्धित ध्यान साधनामा अनेक अनेक प्रकारका रहस्यमय र डरलाग्दा दृश्यहरु आउन सक्छन् र वायु तत्वमा अझ असन्तुलन बढ्नसक्छ । विहानको समयमा गरिने प्रातः भ्रमण गर्दा; खुल्ला वातावरणमा प्राकृतिक रमण गर्दा; जंगल सफारी गर्दा; फूलविरुवा लगाउदा, हुर्काउदा, हेरविचार गर्दा; हरियालीमा सयर गर्दा; लामो गहिरो श्वास–प्रश्वास लिदा र छोड्दा; प्रकृतिमै विद्यमान प्राकृतिक सुगन्धहरु(सुगन्धित फूल, वनस्पतिहरु) सुघ्दा; घर तथा कोठा वाहिर खुल्ला ठाउँमा, स्वच्छ वातावरणमा बसेर योग–ध्यान साधना गर्दा; खासगरि आफू र आफ्नो परिवारसंग प्रत्यक्ष रुपमा सम्वन्धित स्थानहरुको वास्तु दोषको उचित उपचार तथा व्यवस्थापन गर्दा; जन्म कुण्डलीमा राहु ग्रहलाई मजबुत, सकारात्मक बनाउने उपायहरु गर्दा शरीरमा वायु तत्व सन्तुलित हुन्छ । गुलाफी रंगको सानो बललाई दुई हत्केलाको विचमा दिनमा पटक–पटक एक पटकमा कम्तिमा दुई मिनेट गोलोगोला घुमाउदा शरीरमा वायु तत्व सन्तुलनमा आउछ । गुलाफी बलको उपचारले शरीरमा वायु तत्व सकारात्मक किसिमले बढ्छ तथा सन्तुलनमा आउछ र असन्तुलित वाुय तत्वका कारण स्वास्थ्य, शरीर र जीवनका विविध आयामहरुमा भएका नयाँ, पुराना शारीरिक अस्वस्थता, मानसिक तनाव, चिन्ता, भावनात्मक अशान्तिहरु नियन्त्रण आउछन् । वायु तत्वको सन्तुलनसंगै मनुष्यको निर्णय लिने तथा दिने क्षमतामा वृद्धि हुन्छ र जीवन व्यस्थित र विकसित हुन्छ ।


                                                                 शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...