Tuesday, 6 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २९

                                         #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

३४.सवाल

मूलाधार चक्र मनुष्यको जीवनको मूल आधाशिला हो ।

जवाफ

मूलाधार चक्रको परिचय

शव्दबाट नै अर्थ स्पष्ट हुन्छ कि ‘मूल’को अर्थ जग हो र ‘आधार’को अर्थ जेमा स्थित छ अर्थात अडिएको छ भन्ने हो, तसर्थ मूलाधार चक्र मनुष्यको शरीर, मन, भाव तथा चेतनाको मूल आधार हो भन्ने स्पष्ट हुन्छ । मनुष्यको स्थुल शरीरको प्रत्यक्ष सम्बन्ध उसको सुक्ष्म तथा स्थुल शरीरको मेरुदण्डको सबैभन्दा तल पुछार(टेलबोन)मा रहेको मूलाधार चक्रसँग सम्बन्धित मूलाधार चक्र मनुष्यको भौतिक शरीरको केन्द्र हो मूलाधार चक्रका दुईवटा सम्भावना रहेका छन्- ()प्राकृतिक सम्भावना, यो गुण हरेक मनुष्यलाई उसको जन्मसंगै वंशानुगत गुण(जेनेटिक प्रोपर्टी)का रुपमा मिल्दछ। ()साधनाको सम्भावना, यो गुण मनुष्यले आध्यात्मिक साधना अर्थात योग साधनाबाट प्राप्त गर्न सक्दछ दैनिक रुपमा निष्ठापूर्वक योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरूको अनुशरण गर्ने साधकलाई मात्र साधनाबाट हासिल गर्न सकिने उपलव्धिहरु मिल्दछन् साधना नगर्ने आम मनुष्यलाई साधनाको गहिराईमा अनुभूतिमा आउने दिव्य दृश्य, पल, विषय तथा घटनाहरू अनुभूतिमा आउदैनन् मनुष्यभित्र अन्तःकरण (मन, भाव, वुद्धि, अहंकार)मा उठ्ने इच्छा, कामना, वासनाहरु भौतिक शरीरका प्रमुख प्राकृतिक गुणहरु हुन् यसप्रकारका प्राकृतिक गुणहरुको अनुभवबाट हरेक मनुष्य गुज्रिएका हुन्छन् तथा गुज्रिनुनै पर्दछ किनकी यो प्रकृतिको अकाट् नियम हो मनुष्य शरीरका अकाट्य प्राकृतिक गुणहरुबाट गुज्रिने क्रममा कोही मनुष्यमा भौतिक संसारका वस्तु तथा सेवाहरुको सुख भोगप्रति अति इच्छा, कामना, वासना, लिप्तता तथा भोगको असन्तुलित तथा अव्यवस्थित अवस्था देखिन्छ, कोहीमा ठिक्क तथा मध्यम स्तरमा भोगवृत्तिका इच्छा, कामना, बासना देखिन्छ भने कोहीमा सन्तुलित तथा न्यून देखिन्छ भौतिक संसारका वस्तु तथा सेवाहरुको सुख भोगप्रतिको इच्छा, कामना, वासना मनुष्यको वर्तमान जन्मको संस्कार पूर्वजन्मका संचित संस्कारमा निर्भर गर्दछ । मूलाधार चक्र मनुष्यको सुक्ष्म शरीरमा रहेको इडा नाडी र पिंगला नाडीको मध्यमा रहेको सुषुम्ना नाडीको मूलमा मलद्वारभन्दा दुई अम्मल अगाडि र जनेन्द्रिय भन्दा दुई इन्च पछाडि मेरुदण्डको पुच्छारमा स्थित रहेको छ । सांकेतिक रुपमा मूलाधार चक्रलाई चारपात भएको कमलको फूल जस्तो देखाइन्छ । कमलका चारपातले मनुष्यका अन्तःकरण(मन, बुद्धि, चित्त, अहंकार)को प्रतिनिधित्व गर्दछन् । मूलाधार चक्रको वीज मन्त्र ‘लं’ हो जुन यसको वीज ध्वनिको सूचक हो । यो चक्रको रङ्ग रातो हुन्छ । मूलाधार चक्रले कर्म योग, पृथ्वी तत्त्व, मंगल ग्रह, मकर र कुम्भ राशि, स्थुल शरीरमा सबैभन्दा तल रहेको गोनाड्स ग्ल्यान्डको प्रतिनिधित्व गर्दछ । यो चक्रको वाहन ऐरावत हात्ती हो जसमा इन्द्र देवता विराजमान रहेकाछन् । यो चक्रको अधिपति देवता चतुर्भुज ब्रम्हा हुन् र चक्रका अधिकारी भगवान गणेश हुन् ।


शरीर र मूलाधार चक्रको अन्तर-सम्वन्ध

मानवीय विकारहरू काम, क्रोध, मोह, ईर्ष्या, घृणा, राग, द्वेष, कामुकता, प्रजनन्, माया आदि सबै मूलाधार चक्रको प्रभावको अन्तर्गत आउँछन् । स्वास्थ्य, बल, बुद्धि, स्वच्छता तथा पाचन शक्ति यही चक्रसँग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । शरीरका अष्ट धातु, उपधातु पनि यही चक्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित छन् । शारीरिक समस्या तथा रोगहरुको सिधा तथा प्रत्यक्ष सम्बन्ध मूलाधार चक्रको अशुद्धता, असन्तुलन तथा निष्कृयतासँग नै रहेको हुन्छ । यसकासाथै सांसारिक प्रगति र आन्तरिक विकास गराएर  मनुष्यलाई देवत्वतिरको यात्रामा अघि बढाउन र चैतन्यतासम्म पुर्याउन पनि प्रमुख आधार हो मूलाधार चक्र किनकी मनुष्यको चैतन्य शक्तिलाई मूलधार चक्रबाट नै शक्ति मिलिरहेको हुन्छ । मूलाधार चक्र मनुष्यको स्थुल शरीरमा रहेका मांसपेशी, हड्डी, रगत, नसा, बोसो आदिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । समग्रमा भन्नुपर्दा मूलाधार चक्र मुख्यरुपमा मनुष्यको स्थुल शरीरको स्वास्थ्यसंग प्रत्यक्ष र मानसिक, भावनात्मक तथा चेतनात्मक स्वास्थ्यसंग अप्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । यसकासाथै विश्वास गर्ने क्षमता, शारीरिक बलको क्षमता, आफ्नो बल तथा क्षमतामाथि विश्वास राख्ने, शरीर स्वस्थ राख्ने क्षमता, आफूले थालेको तथा आँटेको कार्य पूर्ण गर्ने संकल्प र क्षमता आदि मूलाधार चक्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित छन् । मूलाधार चक्र मनुष्यको शरीरको तल्लो भागका अङ्गहरू (गोडा, पिडौला, घुँडा, जांग, नितम्ब, कम्मरका गतिविधिहरु, स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेको हुन्छ । मूलाधार चक्र र स्थुल शरीरका अंगहरुविचको सम्बन्ध दोहोरो नै हुन्छ अर्थात मूलाधार चक्र असन्तुलित, कमजोर तथा निष्कृय अवस्थामा छ भने शरीरका यी अंगहरू र यीनको स्वास्थ्य अवस्था, सक्रियता तथा शुद्धतामा कमीकमजोरी देखिन्छ र शरीरको तल्लो भागका यी अङ्गहरू अस्वस्थ तथा कमजोर छन् भने मूलाधार चक्रको शक्ति पनि कमजोर हुन्छ ।


(१)मूलाधार चक्र असन्तुलित हुदाका परिणामहरु

मूलाधार चक्र मनुष्यको स्थुल शरीरको स्वास्थ्य, सन्तुलन तथा व्यवस्थापनका लागि सबैभन्दा महत्वपूर्ण तथा आधारभूत चक्र भएकोले यस चक्रमा आएका असन्तुलनताले मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका सबै आयामहरुमा प्रत्यक्ष प्रभाव पर्दछ किनकी मनुष्यको सहज, सरल जीवनको मूलआधार उसको शारीरिक शरीरनै हो, शारीरिक शरीरको माध्यमबाट मनुष्यका मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक शरीर अभिव्यक्त हुने गर्दछ । मूलाधार चक्र असन्तुलित हुदा निम्न प्रकारका असहज परिणामहरु देखिन्छन्–

अस्वस्थता– तत्लो कम्मरको दुखाई, गोडा, पिडौला, जांग, हिपमा दुखाई, हड्डी तथा जोर्नी दुख्ने, जोर्नीमा गाँठा पर्ने (आर्थराइट्स); हड्डि पातलो हुने र सानो दख्खलले पनि भाँचिने (ओस्टोपोरिस); यौन योग, यौन चाहनामा असन्तुलन, अति चाहना तथा चाहानानै नहुने; प्रजनन् क्षमतामा दुर्वलता; पिसावमा इन्फेक्सन, पिसाव चुहिने, नअडिने तथा बारबार बाथरुम जानुपर्ने समस्या । शरीरको बनावट अस्वाभाविक देखिने– उमेर भन्दा बुढदो देखिने तथा छिप्पेको चेहरा, होचो, बन्ठो, मोटो, धेरै अग्लो, बांगो टेढो तथा षष्टाबक्री । शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुने आदि ।

असुरक्षा– चिन्ता, डर, भय, असुरक्षाको महसुस हुने; नराम्रो सपना आउने; अधैर्य, हडवड तथा हतार गर्ने; शारीरिक बलको कमी हुने; असमर्थता तथा सक्दिन भन्ने भाव, यो काम मेरो वसको होइन, म कहाँ यस्तो गर्न सक्छु र भन्ने भाव आउने; प्रयासनै नगर्ने, आसल्य गर्ने आदि । 

खानपान– खानामा लोभि, मन थाम्नै नसक्ने, धेरै खाने, खाइरहने, भोक नलागे पनि तलतल हुने र भोक नै लागे जस्तो लाग्ने, मोटो, भद्दा तथा नसुहाउदो शरीर आदि । 

वुद्धि– तर्क तथा वुद्धिमा कमजोर, बलको काम गर्न अगाडि सर्ने तर वुद्धिको काम गर्न पछाडि हट्ने ।

भौतिकवादी– धन कमाउन तथा सुख सुविधा जोड्नमा लागिपर्ने; लोभ, मोह, इष्र्या बढि गर्ने; अरुसंग तुलना गर्ने, अर्कोले गर्यो म पनि त्यही गरेरै छाड्छु जसरी भएपनि भन्ने भाव राख्ने आदि । 


(२)मूलाधार चक्र सन्तुलित हुदाका परिणामहरु 

मूलाधार चक्र सन्तुलित, तथा सक्रिय अवस्थामा भएको व्यक्ति आफूलाई संधै सुरक्षित, स्थिर, मजबुत, धैर्य, भयमुक्त, शारीरिक रुपले स्वस्थ, बलवान, उर्जावान रहेको महसुस गर्दछ र सुखमा नमात्तिने तथा दुःखमा नआत्तिने हरप्रकारले सन्तुलित र व्यवस्थित हुन्छ । योग साधना गरेर मूलाधार चक्र जाग्रित भएकोछ भने पराभौतिक संसारका परालौकिक अनुभूतिहरु पनि साधकको अनुभवमा आउन सक्दछन् । जसरी कुनै भवनको स्थायित्व त्यसको जगमा अडिएको हुन्छ त्यसैगरि मनुष्यको सम्पूर्ण शरीर र स्वास्थ्यका आयामहरूको स्थायित्व मूलाधार चक्रको अवस्थामा निर्भर गर्दछ किनकि मूलाधार चक्र भवनरुपी मनुष्य शरीर र शरीरको स्वास्थ्यको जग हो तसर्थ मनुष्यको जीवनमा मूलाधार चक्र अत्यन्तै महत्वपूर्ण छ । यसकारण हरेक मनुष्यले सर्वप्रथम मूलाधार चक्र सन्तुलित, व्यवस्थित तथा जागृत गर्नु अति आवश्यक हुन्छ । यदि मूलाधार चक्र बलियो, सन्तुलित र व्यवस्थित, सक्रिय तथा जागृत छ भने मनुष्यको वाहिय तथा आन्तरीक विकास राम्रोसंग हुन्छ । वाहिरको संसारमा तथा भित्रको अर्थात आन्तरीक संसारमा घट्ने कुनै पनि राम्रा तथा नराम्रा घटनाहरुले उसलाई खासै प्रभाव पार्दैनन्, सुख र दुःखमा मातिने र आतिने गर्दैन तथा बिचलित हुदैन । जीवनमा आइपर्ने सबै सकारात्मक तथा नकारात्मक घटनाहरुलाई प्राकृतिक चक्रको रुपमा सहजै स्वीकार गर्दछ र आफू सदा स्थिर, स्वस्थ, शान्त र आनन्दित भएर जीवन व्यतित गर्दछ । सबै चक्र, सबै शरीर र सबै स्वस्थ्यका आयामहरुको मूल आधार मूलाधार चक्र सन्तुलित, सक्रिय तथा जागृत भएको छ भने बाँकी कुरा तथा विषयहरुलाई बिस्तारै आफ्नोअनुकूल, सन्तुलित तथा व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरा उसलाई राम्रोसंग ज्ञात हुन्छ र उसले आफ्नो जीवनलाई त्यसै अनुरुप अगाडि बढाउँछ जीवन वाहिर समृद्धि र मित्र शान्ति हासिल गर्दछ । 


(३)मूलाधार चक्र सन्तुलित गर्ने उपाय

योगासन– मल आसन, वीरभद्र आसन, उत्कट आसन, सेतुवन्ध आसन, अधोमुख आसन, नौका आसन, पादहस्त आसन आदि । 
प्राणायाम– कपालभाति, अनुलोम विलोम प्राणायामको अभ्यास गर्नु पर्दछ ।
मुद्रा– पृथ्वी मुद्रा, अश्विनी मुद्राको अभ्यास गर्नु पर्दछ ।
बन्द– मूल बन्द, मलद्वारलाई माथितिर खिचेर एक श्वासभरि त्यही अवस्ग.थामा रहेर छोड्ने अभ्यास गर्नु पर्दछ । 
ध्यान– लं वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ । 
चक्रको रंगको कल्पना– रातो रंग, रातो फूल-फल-तरकारी, रातो पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ । 
आनापान सती– लामो श्वास मूलाधार चक्रसम्म लिनु पर्दछ चक्रलाई याद गरेर र मूलाधार चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।
जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नु पर्दछ । भूमि, हरियाली, प्रकृति तथा पर्यावरणसंग जोडिइरहनु पर्दछ ।



छिट्टै,

स्वाधिष्ठान चक्रको परिचय

(१)असन्तुलित अवस्थाका परिणामहरु–

(२)सन्तुलित अवस्थाका परिणामहरु–

(३)सन्तुलित गर्ने उपायहरु–

योगासन– 

मुद्रा–

बन्द–

प्राणायाम– 

ध्यान– 

विज मन्त्र जप–

चक्रको रंगको कल्पना–  

आनापान सती–

जीवनशैली–


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

 

No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...