Saturday, 10 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३३

                  #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान              


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

३८.सवाल

विशुद्धि चक्र मनुष्यको वौद्धिक क्षमताको मूल आधारशिला हो

जवाफ

प्रमुख रुपमा मनुष्यको सिर्जनशिलता; नवप्रवद्र्धन तथा नविनताको क्षमता; वाक पटुता तथा संवाद गर्ने क्षमता; आफूलाई अरु समक्ष व्यक्त गर्न सक्ने क्षमता; आफ्ना विचार तथा भावहरु अरु समक्ष  प्रभावकारी ढंगले सम्प्रेषण गर्न सक्ने क्षमता तथा दक्षता; अरुका कुरा सुन्न र बुझ्न सक्ने क्षमता; वुद्धिमत्ता, लेखपढ, ज्ञान आर्जन, प्रज्ञावान तथा विवेकशीलतामा विशुद्धि चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र पांचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।


विशुद्धि चक्रको परिचय

संस्कृत वांगमयको ‘विशुद्धि’ विष+शुद्धि दुई शव्दको संयोगले बनेको छ । विशुद्धि शव्दको शाव्दिक अर्थ केलाउदा, ‘विष’को अर्थ बिख अर्थात जहर हो र ‘शुद्धि’को अर्थ अशुद्धलाई हटाउनु तथा शुद्ध गर्नु हो । तलबाट माथितिरको क्रमसंख्यामा पांचौं चक्र विशुद्धि चक्रलाई कण्ठ(थ्रोट) चक्र पनि भनिन्छ । गलाको खाल्डो(एडम एप्पल)को सिधा पछाडिपट्टि गर्धनको मेरुदण्डमा विशुद्धि चक्र स्थित हुन्छ । विशुद्धि चक्रमा मन तथा चित्त एकाग्र गर्दा मनुष्यको तन, मन, भाव र चेतनामा जमेका विकार तथा अशुद्धिहरु शुद्धि हुने भएकोले यो चक्रलाई विशुद्धि चक्र भनिएको हो । विशुद्धि चक्र मूलरुपमा मनुष्यको वाकपटुता र सिर्जनशीलताको केन्द्रविन्दु हो । विशुद्धि चक्रलाई सोह्रवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र ‘हं’ हो । विशुद्धि चक्रले सात प्रमुख योगमध्य ज्ञान योग; पंचकोषमा विज्ञानमय कोष; पंचतत्वमा आकाश तत्व; त्रिगुणमा रजस गुण; नवग्रहमा वुध ग्रह; बाह्र राशिमा मिथुन र कन्या राशि; स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुममा थाइरोइड ग्रन्थी(ग्ल्यान्ड) र वौद्धिक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । विशुद्धि चक्रको रङ्ग फिका निलो हुन्छ, शरीरका अङ्गहरूमा गर्धन, काँध, मुख, गला, घाँटी, श्वास-प्रश्वासको प्रमुख नली, ठोस तथा तरल भोजन निल्ने नली, थाइरोइड ग्रन्थी आदि विशुद्धि चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । यस चक्रकी देवी सरस्वती माता हुन् र यस चक्रको यन्त्रमा देवी गङ्गा नदीको वास रहेको विश्वास गरिन्छ जसले मनुष्यको अशुद्धि र पापलाई शुद्ध तथा पवित्र गर्दछिन । मनुष्य शरीरलाई गतिमान बनाउने पांच प्रकारका वायुहरुमध्ये उदान वायु विशुद्धि चक्रसंग सम्वन्धित छ । श्वास-प्रश्वास आउने-जाने क्रममा शरीरमा रहेका विषयुक्त पदार्थ तथा तत्वहरुलाई उदान वायुले शुद्ध गर्दछ अर्थात नकारात्मक तत्वहरुलाई शुद्ध गरेर तथा सकारात्मकतामा परिवर्तन गरेर शरीरका अंगहरुमा प्रवाह गर्दछ । सनातन तान्त्रिक दर्शन अनुसार मनुष्यको मस्तिष्कको सहश्रार चक्र(पियूष तथा पिटियोटरी ग्ल्याण्ड)बाट एकप्रकारको अमृत रसको प्रवाह तथा वर्षात भैरहन्छ जसलाई ऋषिहरूले सोमरस भन्दछन् । व्यक्तिको विशुद्धि चक्र सन्तुलित तला सक्रिय छ भने वर्षिएको अमृत रस यही चक्रमा आएर संग्रहित भएर बस्छ । जव साधकमा आध्यात्मिक पात्रताको विकास हुन्छ र उसले खासगरि खेचरी मुद्रा तथा योग विज्ञानका यससंग सम्वन्धित अन्य वैज्ञानिक विधि तथा पद्धतिहरुको अभ्यास एवं साधनाका गरेर विशुद्धि चक्र जाग्रित गर्छ तव अमृत तथा सोम रसको पान गर्न तथा स्वाद लिन सक्षम हुन्छ । अमृत पानको अवस्थामा साधकलाई असिम आनन्दको प्राप्ति हुन्छ । अमृत तथा सोमरस पानबाट साधकलाई शक्ति, स्वास्थ्य, दिर्घायु, चीर यौवन, ज्ञान, प्रज्ञा, विवेक प्राप्त हुन्छ । सनातन धर्मका प्राचीन वैज्ञानिक तथा ऋषिमुनिहरू सदा शक्तिवान, स्वस्थ, दिर्घायु, यूवा, ज्ञानवान, प्रज्ञावान, विवेकशील रहनुको प्रमुख कारण अमृतरस पानकै कारण भएको हो ।


(१)विशुद्धि चक्रको असन्तुलित अवस्थाका परिणामहरु

नयाँनयाँ कुराहरु जान्न तथा नयाँनयाँ विषयहरुबारे ज्ञान लिन जागर नलाग्ने; आफूमा ज्ञान, वुद्धि, प्रज्ञा, विवेक, सिर्जनशीलता जस्ता क्षमता बढाउन अल्छी गर्ने तथा नसक्ने; अरुको प्रभावमा आउने, आफ्नो प्राकृतिक स्वभावलाई बिर्सिने, मूल्य नदिने तथा प्रयोग नगर्ने व्यक्तिहरूको विशुद्धि चक्र असन्तुलित तथा निष्क्रिय हुन्छ । विशुद्धि चक्र असन्तुलित तथा निष्क्रिय अवस्थामा छ भने यस्तो व्यक्तिले आफूमा ज्ञान, वुद्धि, प्रज्ञा, विवेक, सिर्जनशीलना जस्ता क्षमताहरु बढाउन सक्दैन र यस्तो व्यक्ति स्वाभाविक रुपमा नविनता, नवप्रवर्तनमा, रचनात्मकता तथा सिर्जनशीलता कमजोर क्षमता भएको तथा दुर्वल हुन्छ । अरु समक्ष आफूलाई खुलेर व्यक्त गर्न सक्दैन; आफ्नो मन तथा भावमा भएका आफ्ना विचार तथा भावनाहरु राम्ररी व्यक्त गर्न सक्दैन; भन्न खोजेका कुरा तथा विषयहरु सहि शब्द, आवाज, लवज तथा तरीकाले व्यक्त गर्न सक्दैन तथा जान्दैन, समय बितिसकेछ पनि ए मैले यसो भन्नु पर्नेथ्यो भन्ने ढिलो ज्ञान हुन्छ । आफ्ना कुराहरु भन्न लाज, धक लाग्ने तथा साहस नहुने हुन्छ । विशुद्धि चक्र अझ असन्तुलित तथा अति निष्क्रिय छ भने यस्तो अवस्थामा बोल्न नसक्ने; कुराको शुरुआत गर्न नसक्ने; बोल्दा लडखडाएर तथा भकभकाएर बोल्ने;  अत्यन्तै विस्तारै सानो स्वरमा बोल्ने; आवाज पुरै वाहिर नआउने; शिर तथा आँखा झुकाएर बोल्ने; एउटै कुरा दोहोर्याइ रहने; त्यसअघि बोल्नुपर्ने कुरा बिर्सिने; असहज मान्ने; वौद्धिक रुपमा आफूलाई अत्यन्तै कमजोर ठान्ने हुन्छ; बोल्न चाहेको कुरा आधा तेज स्वरमा बोल्ने र आदि कमजोर स्वरमा बोल्ने जस्ता समस्याहरु हुन्छन् । बोल्दाबोल्दै चुप लाग्ने, आवाज हराउने, विषय नै हराउने तथा बिर्सिने, आत्तिने, श्वास बढ्ने, हात तथा शरीर काम्ने र बोल्न नसकेर पछाडि हट्ने तथा बोल्नै छोडिदिने जस्तो अवस्था हुन्छ । विशुद्धि चक्र असन्तुलित तथा अति निष्क्रिय भएको व्यक्तिमा सिर्जनशीलता, संवाद तथा वाक पटुतामा दुर्बलता हुनुका साथसाथ उ श्रोता पनि कमजोर किसिमको हुन्छ । उसको श्रवण शक्तिमा पनि दुर्बलता हुन्छ; अरुले बोलेको तथा व्यक्त गरेको कुरा राम्ररी सुन्न, बुझ्न तथा निधो लिन सक्दैन; उसले दोहोर्याएर सोधेर फेरि निधो लिन्छ र त्यसउपर आवश्यक विश्लेषण गरेर अत्यन्तै कमजोर प्रकारले ढिलो  आफ्नो निर्णय दिन्छ ।


जव व्यक्तिले आफूले व्यक्त गर्न र सुन्न चाहेका विचार तथा भावहरु सहि समयमा, सहि ढंगले अरु समक्ष व्यक्त गर्न र आफूले श्रवण गर्न सक्दैन र त्यसउपर समयमै निर्णय लिन सक्दैन तव उ आफ्नो वौद्धिक क्षमतालाई धिकार्न र आफ्ना कमी-कमजोरीहरुप्रति पछुताउन थाल्छ मैले यो भन्नु पर्ने थियो, यसरी भन्नु पर्ने थियो, यसरी गर्नु पर्ने थियो तर गरिन, गल्ती भयो, मौका चुक्यो, अवसर गुम्यो, बेइज्जत भयो भन्ने खालको कमजोर भावनाले उसलाई सताउन थाल्छ र यस किसिमका विचार तथा भावनाहरुले उसमा चिन्ता, तनाव, विषाद, अवषाद जस्ता समस्याहरु उत्पन्न गराउछन् । व्यक्तिको जीवनमा यस्तो परिस्थिति आयो भने आफू स्वयंमा आफूप्रति आत्मविश्वास, आत्मसम्मान घट्दै जाने हुन्छ, साथै  परिवार, साथीसंगी, समाजमा उसको मानसम्मान घट्ने, विश्वास गुम्ने, अवसर गुम्ने जस्ता समस्या तथा चुनौतीहरु आउछन् जसले व्यक्तिमा बेखुशी, अषन्तोष, उदाषी, चिन्ता, तनाव जस्ता अवस्थाहरु निम्त्याउछ । यस्तो अवस्थाले व्यक्तिको शरीर, मन, भावना तथा चेतनामा यस्ता अवस्थाहरुसंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन थाल्छन् । विशुद्धि चक्र असन्तुलित तथा निष्क्रिय भएको व्यक्तिमा यस चक्रसंग सम्वन्धित शारीरिक अंगहरु गर्धन, गला तथा कण्ठ क्षेत्र, घाँटी, मुख, ठोस तथा तरल आहार निल्ने नली, श्वासप्र-श्वासको नली आदिमा समस्या देखिन्छ र मानसिक तथा भानात्मक रुपमा वौद्धिकताको कमजोरीले गर्दा जीवनमा आइपर्ने चुनौति, चिन्ता, तनाव झेल्न नसक्ने कारणले मानसिक तथा भानात्मक समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन्छन् । 

विशुद्धि चक्र असन्तुलित तथा अति सक्रिय छ भने यस्तो अवस्थामा व्यक्तिमा अति धेरै बोल्ने तथा चाहिने नचाहिने गफ हाँक्ने प्रवृत्ति हुन्छ । असम्यमित किसिमले अति छिटोछिटो पतरपतर बोल्ने; के बोलिरहेको छु भन्ने समेत थाहा नपाउने; बोल्दा मुखबाट थुक उछिट्टिने; आफैं मात्र एकोहोरो आफ्ना कुरा बोलिरहने; अरुको कुरा नसुन्ने; अरुको कुरा र समयलाई वास्ता नगर्ने; अरु बोलिरहेको समयमा विचैमा कुरा काट्ने तथा हस्तक्षेप गर्ने; बोल्दाबोल्दै कठोर, नमिठा तथा नकारात्मक शब्दहरु बोल्ने; बोल्दै जादा उत्तेजित हुने तथा आवेशमा आउने; अराजक तथा अभद्र शैलीमा बोल्ने तथा पेश आउने; अरुको उचित सम्मान नराखी बोल्ने; चाहिने नचनहिने कुरा बोलेर अरुको मन दुखाइदिने, दिक्क बनाइदिने; अरुले सहन नसक्ने गरी अर्काको आलोचना तथा नकारात्मक कुराहरु गर्ने प्रकारको अत्यन्तै नराम्रो र अपाच्य बानी हुन्छ । विशुद्धि चक्र अझ असन्तुलित तथा अतिनै ज्यादा सक्रिय अवस्थामा छ भने व्यक्तिमा हरबातमा अरु भन्दा म जान्नेछु भन्ने; अत्यन्तै अहङ्कारले भरिने; ज्ञान तथा सिर्जनशीतलाको क्षमता न्यून हुने तर नजानेको कुरामा पनि आफू बाठो पल्टेर अघि सरेर बोल्ने; नजानीनजानी अन्ठसन्ठ तथा असान्दर्भिक कुरा बोलेर माहोल नै प्रदुषित बनाउने नकारात्मक प्रवृत्ति हुन्छ । विशुद्धि चक्र असन्तुलित तथा अति सक्रिय भएको अवस्थामा व्यक्तिको स्थुल शरीरमा शारीरिक समस्या, अस्वस्थता तथा रोगहरु देखिन्छन् । यस्तो व्यक्तिको स्थुल शरीरका अंगहरु गर्धनको मेरुदण्डमा सरभाइकलको समस्या हुने; गलामा खसखस हुने तथा गला सम्बन्धि अन्य समस्याहरु हुने; टन्सिल बढ्ने; कानको सुन्ने क्षमता कमजोर हुने तथा कानमा इन्फेक्सन हुने; गलामा थाइरोइडको समस्या हुने; श्वास-प्रश्वास नली र खाना निल्ने नलीमा समस्या हुने; मुख, दाँत, जिब्रो, गिजासंग सम्वन्धित गम्भीर प्रकारका समस्या तथा रोगहरु लाग्ने अवस्था हुन्छ । साथै मानसिक तथा भावनात्मक शरीरमा चिन्ता, तनाव, अवसाद जस्ता अप्ठ्यारा समस्या तथा रोगहरु लाग्ने अवस्था हुन्छ । अज्ञान, अविवेक, अशुद्ध चित्त, अखाद्य तथा दुषित आहार, खराव संगत, खराव आदत, प्रदुषित वातावरण आदिले विशुद्धि चक्रलाई असन्तुलित, निष्क्रिय तथा अति सक्रिय गर्दछ ।


(२)विशुद्धि चक्रको सन्तुलित अवस्थाका परिणामहरु

मनुष्यको सहज तथा सरल जीवयापनका लागि ज्ञान र वौद्धिक तथा शारीरिक स्वास्थ्य नै अत्यन्तै महत्वपूर्ण सम्पत्ति भएकोले विशुद्धि चक्रको विशेष महत्व रहेको छ । विशुद्धि चक्र ज्ञान, प्रज्ञा, वुद्धि, विवेक, सिर्जनशीलताको मूलकेन्द्र भएकोले यी गुणहरूलाई उचित किसिमले जीवनमा अनुशरण गरी यीनको लाभ लिनकालागि यो चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्नु अति आवश्यक हुन्छ । विशुद्धि चक्रसंग सम्वन्धित शरीरका सबै आयामहरु(शारीरीक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक) का समस्या, विकार, अस्वस्थता, रोग तथा सबै प्रकारका नकारात्मक अवस्थाहरुलाई विशुद्धि चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गरेर शरीर, मन, भावना, चेतना तथा जीवनबाट नै सबै प्रकारका विष तथा अशुद्धिहरु नष्ट तथा शुद्ध गरेर आफ्नो जीवन विकसित बनाउन सकिन्छ ।विशुद्धि चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित अवस्थामा छ भने यस्तो व्यक्तिले आफूलाई राम्रोसंग अरु समक्ष व्यक्त गर्न सक्छ; आफ्नो विचार तथा भाव प्रष्टसंग अरुलाई बुझाउन सक्छ; उसमा राम्रो वाक पटुता तथा संवाद गर्ने क्षमता हुन्छ; उ प्रभावशाली वक्ता तथा सम्वादकर्ता हुन्छ; उसको बोली तथा लवजमा मिठास, मधूरता, चतुर्याइ, तार्किकता हुन्छ । बोल्नुको साथसाथ उसको सुन्ने, बुझ्ने तथा विषयवस्तुलाई ग्रहण गर्ने क्षमता र उक्त विषयवस्तुमाथि चिन्तन्, मनन् गर्ने क्षमता पनि राम्रो हुन्छ । यस्तो व्यक्ति स्वभावैले ज्ञानवान, प्रज्ञावान तथा विवेकशील र अत्यन्तै सिर्जनशील हुन्छ । नयाँनयाँ कुरा जान्न, खोज्न, थाहा पाउन तथा नयाँनयाँ सिर्जनाहरु गर्न तथा आविष्कार गर्न रुचाउछ, सिर्जनशीत तथा रचनात्मक प्रकृति भएको हुन्छ । आफूलाई केही न केही सिर्जनशील तथा नवप्रवर्तनका कामहरुमा व्यस्त राखिरहन्छ । सबै विषयवस्तुहरुलाई चिन्तन्, मनन् गरेर र बुझेर मात्र व्यवहारमा अनुशरण गर्दछ । लेखन, साहित्य, संगीत, गायन तथा व्यवस्थापन विशुद्धि चक्रसंग सम्वन्धित विषयहरु भएकोका विशुद्धि चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित भएको व्यक्तिमा उपयोक्त क्षेत्रहरुमा अत्यन्तै राम्रो प्रगति गर्न सक्ने सम्भावना हुन्छ र लेखन तथा गीतसंगीतको क्षेत्रमा निकै राम्रो उचाइ लिन तथा सफलता हासिल गर्न सक्छ । विशुद्धि चक्र सन्तुलित सक्रिय, स्वस्थ तथा जाग्रित भएको व्यक्तिमा विस्तारै क्रमिक रूपमा पराभौतिक जगतका परालौकिक दिव्य अनुभूतिहरु पनि हासिल हुदै जान्छन् र उसलाई वाक सिद्धि प्राप्त हुन्छ ।


(३)विशुद्धि चक्र सन्तुलित गर्ने उपाय

योगासन– मत्स्य आसन, सिंह आसन, मार्जर आसन, गौ आसन, भुजंग आसन, सर्वांग आसन, हल आसन, गर्धन तथा घाँटीका आसन आदिको अभ्यास गर्नु पर्दछ । 
प्राणायाम– उज्जायी, भ्रामरी प्राणायाम आदिको अभ्यास गर्नु पर्दछ ।
मुद्रा– शुन्य तथा आकाश मुद्रा, शंख मुद्रा, ग्रंथित मुद्रा, खेचरी मुद्रा आदिको अभ्यास गर्नु पर्दछ ।
बन्द– जालन्धर बन्द, गहिरो श्वास भित्र लिएर चिउडोलाई गलामा टाँसेर श्वास सकेसम्म लामो समय भित्र रोक्ने अभ्यास गर्नु पर्दछ । 
ध्यान– ‘हं’ वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ । 
चक्रको रंगको कल्पना– फिका निलो रंग, निलों कालोंप्याजी रंगका फूल–फल–तरकारी, फिका निलो रंगका पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ ।
आनापान सती– लामो श्वास विशुद्धि चक्रसम्म लिनु पर्दछ चक्रलाई याद गरेर र विशुद्धि चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।
जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नुका साथै खुल्ला आकाश, सूर्य, चन्द्रमा, तारा, नक्षेत्र, प्रकृतिको सम्पर्कमा आउनु पर्दछ विभिन्न प्रकारका काम तथा गतिविधिहरु गर्दै तथा फुर्सद निकालेर प्रकृतिको सयर गरेर । संधै सकारात्मक सोच, विचार, भाव, बोलि, कर्म, व्यवहार, चरित्र तथा आचरण गर्नु पर्दछ र आफूलाई संधै सिर्जनशील काममा लगाउनु पर्दछ ।

छिट्टै,
आज्ञा चक्र मनुष्यको अन्तरज्ञान र संकल्पशक्तिको मूल आधारशिला हो ।

शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ





No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...