#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
४४.सवाल
मनोमय कोशले मनुष्यको मनोदशा तथा भावदशाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान
सिकाउछ ।
जवाफ
मनुष्यको जीवनका विविध आयामहरुमा अन्नमय कोश र प्राणमय कोश भन्दा भित्रको परतमा मनोमय कोश रहेको छ । कोश विज्ञानका अनुसार मनोमय कोश अन्तर्गत मनुष्यको मन, वुद्धि, चित्त, अहंकारलाई एकसाथ राखिएको तथा व्याख्या गरिएको छ । मनोमय कोशमा नै मनुष्यका सारा सोच, विचार, भावना, तर्क, वुद्धि, विवेक, स्वामित्व तथा म–मेरो–मैले–मलाई, इच्छा, कल्पना तथा जीवनका योजना, उद्देश्य, लक्ष्यहरु रहेका हुन्छन् किनकी मनोमय कोश मनुष्यको मनोदशा, भावदशा, वुद्धिमता, सचेतनाको क्षेत्र हो जसले मनुष्यको जीवनमा प्रत्यक्ष रुपमा अत्यन्तै महत्वपूर्ण प्रभाव पार्दछ । मनुष्यको मनेमय कोशका विषयहरुलाई प्राणमय कोश र अन्नमय कोशले वाहिरी संसारमा सहज ढंगले अभिव्यक्त हुन मद्धत गर्दछन् । सनातन अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका अनुसार मोटामोटी रुपमा मनोमय कोशमा मनका तीन तह तथा प्रकारहरु रहेकाछन्– (१)चेतन मन(कन्सिओस माइन्ड), (२)अर्धचेतन मन(सबकन्सिओस माइन्ड), र (३)पूर्णचेतन मन(सुपर कन्सिओस माइन्ड) । मनोमय कोश तथा मनका यिनै तीन तहहरुमा मनुष्यको अन्तःकरण– मन, वुद्धि, चित्त, अहंकारको संगम रहेको हुन्छ अर्थात मनुष्यको अन्तःकरण नै उसको मनोमय कोश हो र मनोमय कोश यिनै अन्तःकरणका अन्तरविषयहरु भित्र रहेर निरन्तर चलिरहेको तथा आफ्नो काम गरिरहेको हुन्छ । मनुष्यको मनले कल्पना गर्छ; वुद्धिले तर्क, विवेचना गर्छ र निर्णय लिन्छ; चित्त तथा भावमा मनुष्यका जन्म–जन्मका जीवनका सुचना, जानकारीहरु तथा तिनका आधारमा निर्माण भएका अनुभवहरु र अनुभवका आधारमा निर्माण भएका आदत तथा बानीहरु संग्रहित भएर रहेका हुन्छन् जसलाई सनातन अध्यात्म विज्ञानले मनुष्यको संस्कारका रुपमा व्याख्या, विश्लेषण गरेकोछ । मनुष्यको मनोमय कोशमा संग्रहित भएर रहेका यस्ता सूचना, अनुभव तथा संस्कारहरुले यस जन्म र यसभन्दा पूर्वका जन्म–जन्मदेखि निरन्तरता पाइरहेका हुन्छन् क्रियमाण कर्म, संचित कर्म र प्रारव्ध कर्मका रुपमा । मनुष्यको अहंकारले चित्तमा संग्रहित भएर रहेका यिनै संस्कारहरुको स्वामित्व ग्रहण गर्दछ र आफूलाई त्यस स्वरुपमा वाहिरी संसारमा प्रकट गर्दछ म, मेरो, मैले, मलाई भन्ने अभिव्यक्तमा ।
अन्तःकरण (मन, वुद्धि, चित्त, अहंकार)
मनुष्यको मन विचारहरुको समुह हो, विचारहरु मस्तिष्कमा उत्पन्न हुन्छन् । मन र मस्तिष्क दुई फरक विषय हुन्, मस्तिष्क देख्न सकिने स्थुल पदार्थ हो र यो मनुष्यको शिरको माथिल्लो भागमा करिव ३०० ग्राम तौलमा रहेको हुन्छ तर मन देख्न नसकिने सुक्ष्म तत्व हो । मनुष्यको मस्तिष्क अर्बौं(८४ बिलियन) कोषिकाहरु मिलेर बनेको अत्यन्तै शक्तिशाली तन्त्रिका प्रणाली(नर्भस सिस्टम) हो । जव यी तन्त्रिका प्रणालीहरुमा ज्ञान इन्द्रियहरुबाट प्राप्त भएका सूचना तथा जानकारीहरु प्रवेश गर्दछन तथा ठोक्किन्छन् तव त्यहाँ एकप्रकारको प्रज्वलन(फाइरिगं) तथा तरंग(भाइब्रेसन) उत्पन्न हुन्छ र यसले मस्तिष्कमा सोच तथा विचार उत्पन्न गराउँछ, जस्तो आँखाले रातो रंग देख्यो भने त्यो सूचना तथा जानकारी मस्तिष्कको कोषिका तथा तन्त्रिकाहरुमा ठोक्किएर त्यो रंग र त्यो रंगको वस्तुप्रति विचार बन्न प्रारम्भ हुन्छ, फिका तथा गाडा रातो, आफूले खोजेको रातो, मनपर्ने रातो तथा मन नपर्ने रातो, यही रातो किन्छु तथा अर्को रंगको किन्छु, यही रंगको प्रयोग गर्छु तथा अर्को रंगको प्रयोग गर्छु आदि धेरै प्रकारका विचारहरु मस्तिष्कमा चल्न प्रारम्भ गर्दछन् यस सन्दर्भमा र यी विचारहरु विस्तारै मस्तिष्कबाट मनमा संचारित भएर मनका तहहरुमा संग्रहीत भएर बस्दछन् । त्यस्तै कानले सुनेका आवाज तथा संगीतहरु; नाकले थाहापाएका गन्धहरु; जिब्रोले थाहापाएका स्वादहरु; छालाले महसुस गरेका अनुभवहरुबारे विभिन्न प्रकारका विचारहरु मस्तिष्कमा चल्न प्रारम्भ गर्दछन् र विस्तारै मस्तिष्कबाट मनमा संचारित भएर मनका तहहरुमा संग्रहीत भएर बस्दछन् अनुभव तथा सिकाइका रुपमा र यिनै संग्रहीत विचारले बनेका मनका तहहरु नै मनुष्यको संस्कारका रुपमा स्थाइ भएर रहन्छन् संधैंकालागि । मनका तहहरुमा संग्रहित भएर रहेका यिनै संस्कारहरुको आधारमा मनुष्यको मनोदशा तथा मनोविज्ञान बन्दछ, मनोदशाको अवस्था अनुसार उसको भावदशा निर्माण हुन्छ र त्यसैअनुसार भावनात्मक संवेगहरु प्रष्फुटित हुन्छन्- त्यसबखत म खुशी हुनेकि, प्रेमल हुनेकि, शान्त हुनेकि दुःखी हुनेकि, रिसाउनेकि, प्रतिक्रियात्मक हुनेकि आदि । भावदशा तथा भावनात्मक संवेगहरुमा उत्पन्न हुने प्रेम, दया-करुणा, सदभाव, समभाव, इर्ष्या, क्रोध, घृणा अनुसार यो अवस्थालाई वुद्धिले तर्क–वितर्क गरेर आफ्नोलागि उपयुक्त-अनुपयुक्त तथा राम्रो–नराम्रो छुट्याउछ र कसरी प्रस्तुत हुने भन्ने निर्णय प्रदान गर्दछ । वुद्धिले गरेको निर्णयलाई अहंकारले स्वामित्व ग्रहण गर्दछ र वाहिरको संसारमा बोली तथा शरीरका हाउभाउहरुका माध्यमबाट प्रकट गर्दछ म, मेरो, मैले, मलाई, यस्तो, त्यस्तो, यसरी, त्यसरी... आदि भाषा तथा अभिव्यक्तिहरुमा ।
लामो समयको जीवन यात्रामा मनुष्यको मनोमय कोश उसको जीवनको वास्तविक अवस्था, परिस्थिति, साथीसंगत तथा जीवनशैली अनुसार सकारात्मक तथा नकारात्मक दिशातिर उन्मुख हुने संभावना प्रवल रहन्छ । विविध आन्तरिक तथा वाहिय कारणहरुले मनुष्यको अन्तःकरण तथा मनोमय कोशले नकारात्मक दिशा पक्डियो भने मनुष्य मन, मस्तिष्क तथा इन्द्रियहरुको नियन्त्रणमा हुन्छ र यस्तो मनुष्यको जीवन समग्रतामा आध्यात्मिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता तथा वैज्ञानिक तौरतरिका भन्दा फरक प्रकारले तथा चुनौतिपूर्ण ढंगले अगाडि बढ्छ र उसको जीवनमा आत्मा अर्थात चेतनाको विकास तथा आध्यात्मिक प्रगति हुने संभावना कम रहन्छ । तर यसको विपरित मनुष्यको अन्तःकरण तथा मनोमय कोशले सकारात्मक दिशा पक्डियो भने मन, मस्तिष्क तथा इन्द्रियहरु उसको नियन्त्रणमा रहन्छन् र यस्तो मनुष्यको जीवन समग्रतामा सहज, सरल हुन्छ, आध्यात्मिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता तथा वैज्ञानिक तौरतरिका अनुसारनै अगाडि बढ्छ र उसको जीवनमा आत्मा अर्थात चेतनाको विकास तथा आध्यात्मिक प्रगति हुदैजान्छ । सनातन अध्यात्म दर्शनको अत्यन्तै महत्वपूर्ण र प्रभावकारी विद्या योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरु(यम, नियम, योगासन, प्राणायाम, बन्द, मुद्रा, क्रिया, प्रत्यहार, धारणा, ध्यान, समाधि)को प्रयोगात्मक अभ्यास गरेर मनोमय कोश लगायत सबै कोशहरुको विकास गर्न सकिन्छ । मनुष्यको मनलाई वुद्धिले मार्गनिर्देश गर्दछ किनकी वुद्धिसंग लाभ–हानि, राम्रो–नराम्रो, सकारात्मक–नकारात्मक अवस्था छुट्याउन सक्ने तर्क, जुक्ति, विवेक, अन्तरज्ञानको क्षमता विद्यमान हुन्छ र यी सारा प्रक्रियाहरु मनोमय कोश भन्दा माथिल्लो तथा भित्रको अर्को अत्यन्तै महत्वपूर्ण विज्ञानमय कोश अन्तर्गत पर्दछन् ।
छिट्टै,
विज्ञानमय कोशले मनुष्यको वुद्धि-विवेक तथा प्रज्ञाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment