Friday, 9 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३२

                                #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

३६.सवाल
अनाहद चक्र मनुष्यको भावनात्मक स्थिरता तथा आन्तरिक शान्तिको मूल आधारशिला हो ।

जवाफ

ब्रम्हाण्डिय उर्जाका मूलशक्ति केन्द्र  प्रमुख सात चक्रहरुलाई सन्तुलित, सक्रिय र जाग्रित गरेर भौतिक र पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मुक्ति र पारमार्थिक मोक्ष दुवै हासिल गर्न सकिन्छ । मनुष्यको प्रेम केन्द्रित सकारात्मक भाव तथा सबैसंग सुमधूर, प्रेमपूर्ण, मैत्रीपूर्ण सम्वन्ध, सदभाव, मिलेर काम गर्नसक्ने क्षमता, शान्त र आनन्दित जीवनकालागि अनाहद चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ र अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । 


अनाहद चक्रको परिचय

संस्कृत वांगमयको 'अनाहद' शव्द अन+आहद दुई शव्दको संयोगले बनेको छ । अनाहद शव्दको शाव्दिक अर्थ केलाउदा 'अन' को अर्थ बिना तथा अभाव हो र 'आहद'को अर्थ टकराव, स्पर्श तथा घर्षण हो अर्थात 'बिनाकुनै टकराव' । मनुष्यको शरीरको छाति क्षेत्र तथा दुई स्तनको विच भागको सिधा पछाडि मेरुदण्डमा स्थित रहेको अनाहद चक्रमा बिना कुनै आहद तथा टकराव निरन्तर एकप्रकारको दिव्य ध्वनि गुञ्जिरहन्छ जसलाई नाद भनिन्छ । बिना कुनै आहद तथा टकराव आफैं सिर्जित भएर गुञ्जिरहने ध्वनि भएकोले यो ध्यनिलाई 'अन आहद नाद' अर्थात अनाहद नाद भनिएको हो । यही नाद तथा ध्वनिलाई 'नाद ब्रम्ह', 'शव्द ब्रम्ह' तथा ‘अक्षर ब्रम्ह’ को रुपमा पूर्वीय अध्यात्म दर्शनका सनातन शास्त्र तथा ग्रन्थहरुमा बारबार ब्याख्या गरिएको पाइन्छ । अनाहद नाद ब्रम्हाण्डको चारैतिर नित्य निरन्तर अविरल रुपमा गुञ्जिरहने ब्रम्हाण्डको दिव्य ध्वनि हो । सबै प्रकारका ध्वनिहरू एक वस्तुमा अर्को वस्तु ठोकिएपछि, टकराएपछि तथा आहद भएपछि मात्र सिर्जित हुन्छन् तर अनाहद नाद बिना कुनै टकराव तथा आहद आफैं स्वत:स्फुर्त रुपमा गुञ्जिरहने हुनाले यसलाई अनाहद नाद भनिएको हो । दिव्य अनाहद नाद सामान्य मनुष्यको श्रवणमा आउदैन, ध्यान साधनामा अभ्यस्त सिद्ध योगी तथा नाद योगी, सन्त, तवस्वीहरुलाई मात्र यो दिव्य नादको इन्द्रियातीत श्रवण तथा अनुभूति हुन्छ । अनाहद चक्र हृदय क्षेत्रमा स्थित भएकोले यसलाई हृदय चक्र पनि भनिन्छ । जिवात्मा(जिवमा स्थित आत्मा)को निवास स्थान अनाहद तथा हृदय चक्रमै रहेको मानिन्छ र मनुष्यको अन्तःकरणको प्रमुख स्थान पनि हृदय क्षेत्र तथा अनाहद चक्र नै हो । 


अनाहद चक्र सात चक्रहरुमध्ये विचमा पर्छ अर्थात यो भन्दा माथि तीनवटा चक्र र यो भन्दा तल तीनवटा चक्र रहेका छन् । हृदय चक्र भन्दा तल रहेका तीनवटा चक्रहरु(मूलाधार, स्वधिष्ठान, मणिपुर) विशेषगरि मनुष्यको भौतिक तथा शारीरिक आवश्यकताहरूसंग तथा सांसारिक जीवन संग बढि सम्वन्धित छन् र यो भन्दा माथिका तीनवटा चक्रहरु(विशुद्धि, आज्ञा, सहश्रार) शान्ति, आनन्द, परमानन्द, सतचितानन्द, आत्मज्ञान, तत्वज्ञान, व्रम्हज्ञान प्राप्तिका मूलकेन्द्र मानिन्छन् तथा मनुष्यको पारमार्थिक जीवनसंग बढि सम्वन्धित छन् । माथिका तीन चक्रहरुको साधनाबाट मनुष्यको आन्तरिक तथा आध्यात्मिक प्रगति हुन्छ । माथिका तीन चक्रहरु ब्रह्माण्डीय तत्त्व, ब्राह्मी चेतना तथा विशिष्ट ऊर्जाका केन्द्र हुन् र अध्यात्म साधना पूर्णतः ब्रम्हाण्डिय शक्ति तथा ब्रम्हाण्डिय दिव्य महाउर्जाको साधना हो । केवल अध्यात्म साधनाबाट साधक ब्रम्हाण्डको अन्तिम सत्य तथा ब्रम्हज्ञानसम्म पुग्न सक्छ । अनाहद चक्रले तल र माथिका चक्रहरुविच सन्तुलन कायम राख्ने सन्तुलन केन्द्रको रुपमा काम गर्दछ । तलका तीन चक्रहरूसंग सम्वन्धित विषयहरूमा यो अन्तिम चक्र हो र माथिका तीन चक्रहरुसंग सम्बन्धित विषयहरुमा यो पहिलो चक्र हो जसले मनुष्यको भौतिक र पराभौतिक अर्थात सांसारिक र आध्यात्मिक जीवनमा सन्तुलन बनाउने काममा मद्दत गर्दछ । अनाहद चक्र इच्छापूर्तिको केन्द्र हो । यस चक्रलाई कल्पवृक्ष (सबै इच्छा पूरा गर्ने वृक्ष)को स्थान पनि मानिन्छ । यो चक्र सन्तुलित तथा सक्रिय छ भने आफ्ना सानाठूला सबै प्रकारका इच्छाहरू पूर्ति हुन्छन् । अनाहद चक्रलाई बाह्रवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र 'यं' हो । अनाहद चक्रले सात प्रमुख योगमध्य भक्ति योग; पंचकोषमा मनोमय कोष; पंचतत्वमध्य वायु तत्व; नवग्रहमध्य चन्द्रमा ग्रह; बाह्र राशिमा वृष र तुला राशि; स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमध्य थाइमस ग्रन्थी(ग्ल्यान्ड)को र भावनात्मक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । अनाहद चक्रको स्वरूप षटकोण आकारको हुन्छ र यस चक्रको रङ्ग हरियो हुन्छ । मुख्य रूपमा मनुष्यको प्रेम केन्द्रित भावनात्मक शक्ति अर्थात भाव शक्ति यस चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । मनुष्यले अरु समक्ष पकट गर्ने प्रेमका अनेक स्वरुपहर- सानालाई स्नेह, समकक्षीलाई मैत्रीभाव, जीवनसाथीलाई मायाँ, ठूलालाई श्रद्धा, निमुखाहरुलाई दया तथा करुणा र इश्वरप्रति भक्ति तथा परमभक्ति प्रकट गर्ने व्यवहार तथा क्षमतामा अनाहद चक्रको प्रत्यक्ष नियन्त्रण रहेको हुन्छ । शारीरिक अंगहरुमा गर्धन भन्दा तल तथा मध्यमाग(डायफ्राम) भन्दा माथिको ढाडको तथा छातिको क्षेत्र र छाति क्षेत्रका आन्तरीक अंगहरु करगं, फोक्सो, मुटु, रक्तवाहिनी प्रमुख नलीहरु, श्यासप्र-श्वासका प्रमुख नलीहरु, ठोस तथा तरल भोजन निल्ने नली आदि अनाहद चक्र अन्तर्गत पर्दछन् ।


(१) अनाहद चक्रको असन्तुलित अवस्थाका परिणामहरु

अनाहद चक्र असन्तुलित तथा निष्क्रिय भएको व्यक्ति काम, क्रोध, लोभ, मोह, अहंकार, प्रमाद, आलस्य जस्ता मानवीय विकार तथा क्लेशहरुका कारण शरीर, मन, भावना, चेतनामा उत्पन्न हुने हरप्रकारका समस्या, अस्वस्थता तथा रोगहरु- मुटु तथा मुटुसंग सम्वन्धित रोगहरु, फोक्सो तथा फोक्सोसंग सम्वन्धित रोगहरु, अनिद्रा, भाव परिवर्तन(मुड स्वीङ), बेखुशी, वेचैनी, अविश्वास, खराब सम्बन्धहरू, अशान्ति, घृणा, कुण्ठा, तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्पता आदिबाट ग्रसित हुन्छ । अनाहद चक्र असन्तुलित तथा निष्क्रिय अवस्थामा छ भने व्यक्तिमा आन्तरिक रूपमा भित्रबाट बेखुशी, उदाषी, अशान्ति, प्रेममा कमी, सम्वन्धहरु बिग्रिने, जीवनमा खालीपन महसुस हुने हुन्छ । विगतमा भोगेका चोटिला अनुभव तथा अनुभूतिहरू, चित्त दुखेका घटनाहरू जस्तो प्रेममा धोखा, सम्बन्धमा असन्तुलन, विश्वासघात, घाटा, असुरक्षाको महसुस आदि नकारात्मक विषयहरू बारबार स्मृतिमा आइरहन्छन् र परिणामस्वरुप कसैसँग बोल्न मन नलाग्ने, घर वाहिर निस्कन मन नलाग्ने, हाँस्न, खुशी हुन तथा रमाउन मन नलाग्ने, अरुलाई विश्वास गर्न नसक्ने, रुन मन लागिरहने, नयाँ सम्वन्ध बनाउन डर लाग्ने, बिनाकारण भय तथा असुरक्षा महसुस गरिरहने जस्ता समस्या तथा अस्वस्थताहरु देखा पर्दछन् । लगातार यस्ता नकारात्मक भाव तथा विकारहरु, बेचैनी तथा दुःखहरू आफूभित्र गुम्स्याएर तथा दबाएर राख्ने प्रवृत्ति बढ्दै जान्छ । यस्तो अवस्थामा व्यक्तिको मानसिकता तथा भावनामा कुण्ठा बढ्दै जान्छ र अनाहद चक्रमा यसको नकारात्मक प्रभाव पर्छ र चक्र असन्तुलित तथा निष्क्रिय हुदै जान्छ । अनाहद चक्र अझ बढि असन्तुलित तथा अति निष्कृय भयो भने व्यक्तिमा दबिएर रहेका कुण्ठित भावनाहरूका कारण शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक शरीर तथा स्वास्थ्यमा विभिन्न प्रकारका समस्या, विकार, अस्वस्थता तथा रोगहरू देखा पर्न थाल्छन् र यस्तो अवस्थाले कहिलेकाहीं व्यक्तिलाई आत्महत्याको सोच तथा आत्महत्या जस्तो जघन्य दुर्घटनासम्म नै पुर्याउँछ र यस्तो अवस्थाले परिवार, समाज, राज्य, विश्व, प्रकृति सबैतिर अस्तव्यस्तताको अवस्था ल्याउछ ।


अनाहद चक्र असन्तुलित तथा अति सक्रिय अवस्थामा छ भने यसले व्यक्तिमा आवश्यकता भन्दा बढि उदार हुने, भावनामा बहेर निर्णय लिने, परिणामको ख्यालै नगर्ने, अरुको भावको विचारै नगरिकन निर्णय लिने तथा कामहरु गर्ने, परिवार साथीसंगी, समाजका जो कोहीसंग चाहिने भन्दा बढि नजिकको सम्बन्ध बनाउने, असमन्धित वस्तु तथा व्यक्तिसंग ज्यादा घनिष्टता राख्ने, अरुमाथि चाहिने भन्दा बढि विश्वास गर्ने, आफ्ना प्रियजनहरूलाई थोरै मात्र कष्ट भयो, चोट पुग्यो, समस्या पर्यो भने आफू अत्यन्त समवेदनशील हुने, भावनात्मक रुपमा चाढै असन्तुलित हुने जस्ता समस्या तथा विकारहरु देखा पर्दछन् । यस्तो व्यक्ति आफ्नो व्यक्तिगत जीवन र परिवारको जिम्मेदारी तथा उत्तरदायित्वलाई एकातिर पन्साएर तथा वास्ता नगरेर अरुको भलाई तथा समाजसेवाको काममा आफ्नो सबै समय, धनसम्पत्ति तथा पुरै जीवन नै समर्पित गरिदिन्छ र एक किसिमले गैर जिम्मेदार, सन्की, अहंकारी, आडम्बरी जस्तो व्यवहार देखाउदै जान्छ आफन्त तथा घरपरिवारप्रति । व्यक्तिमा यसप्रकारको भावना बढ्दै जाँदा यसले आफैंलाई, आफ्नो परिवारलाई, नातासम्बन्ध र समाजलाई समेत अप्ठ्यारो पार्न सक्छ । यस्तो व्यक्तिमा अरुले आफूप्रति दुर्व्यवहार गर्यो, बेइज्जत गर्यो, अन्याय गर्यो भने पनि सहने प्रवृत्ति बढ्दै जान्छ । यस्ता अन्याय सहने प्रवृत्तिहरुले व्यक्ति लगायत, परिवार, समाज, राज्य तथा पुरै प्रकृतिलाई नै नकारात्मक प्रभाव पार्न सक्छ ।


(२) अनाहद चक्रको सन्तुलित अवस्थाका परिणामहरु

प्रेम केन्द्रित अन्तर भावनाको मूलकेन्द्र अनाहद चक्र सन्तुलित, सक्रिय तथा जाग्रित अवस्थामा रहेकोछ भने व्यक्ति सत्यनिष्ठ, कर्तव्यनिष्ठ, उत्तरदायी, जिम्मेदार तथा मिलनसार हुन्छ । उसको हृदयमा सबै मनुष्य तथा प्राणीहरूप्रति समानभाव, प्रेमभाव, स्नेह, मैत्री, मायाँ, श्रद्धा, दया तथा करुणा जस्ता महान, मानवीय तथा सर्वकल्याण भाव सदा बनिरहन्छ । इश्वरप्रति आस्था, भक्ति तथा परमभक्ति र समर्पण भाव बनिरहन्छ । उसको सोच तथा विचार पारमार्थ र त्याग तथा वितराग(स्वीकापूर्ण त्याग)को भावनाले ओतप्रोत हुन्छ र सदा अरुको भलाई हुने सर्वकल्याणका काममा आफ्नो समय र जीवन व्यतीत गर्दछ तथा समर्पित गर्दछ । अनाहद चक्र सन्तुलित तथा सक्रिय भएको व्यक्तिका सबै नाता र सम्बन्धहरू निस्वार्थ भावनामा आधारित हुन्छन् र अत्यन्तै विश्वासले भरिएका, गहिरा सम्बन्धहरु हुन्छन् । यस्तो व्यक्ति सदा अरुको भलाइकालागि सहयोग, उपकार, परोपकार, दान, पुण्य, सेवा गर्न तत्पर हुन्छ तथा रुचाउछ, अरुको पिडामा दुःखी हुन्छ र अरुको खुशीमा हाँस्छ  । अत्यन्तै कमलो मन तथा हृदय भएको दयालु तथा करुणादायी हुन्छ । सेवा तथा परोपकारका पुण्य कार्यहरु गर्न पाउदा आफूलाई भाग्यमानी महसुस गर्छ, आफू सदा खुशी, शान्त र आनन्दित रहन्छ र अरुलाई पनि सक्दो प्रसन्न बनाउने प्रयास गर्छ । यस्तो व्यक्ति दिमागबाट भन्दा हृदयबाट सञ्चालित हुन्छ र हृदयबाट नै जीवनका हरप्रकारका निर्णयहरु गर्दछ । यस्तो व्यक्तिले आफ्ना र अरुका भावना तथा संवेदनाहरूलाई गहिराईमा महसुस गर्छ र हरप्रकारले आवश्यक सबैलाई आफ्नो दक्षताले भ्याएसम्म सहयोग गर्न तत्पर हुन्छ । अनिद्रा, भाव परिवर्तन, बेखुशी, वेचैनी, अविश्वास अशान्ति, घृणा, कुण्ठा, तनाव, चिन्ता, अवसाद, खराब सम्बन्धहरू आदिबाट उ सदा मुक्त हुन्छ र यस्तो व्यक्ति मानसिक तथा भावनात्मक रुपले स्वस्थ तथा तन्दुरुस्त, प्रेमल, सुखी, खुशी, सन्तोषी, स्वीकार भावले भरिएको, सबैसंग सुमधूर सन्बन्ध भएको, विश्वसनिय, कर्तब्यनिष्ठ, उत्तरदायी, शान्त र आनन्दित हुन्छ र सदा अरुलाई पनि यही सकारात्मक भाव तथा उर्जा गरेर सबैलाई सुख, शान्ति प्रदान गर्दछ ।

(३)अनाहद चक्र सन्तुलित गर्ने उपाय

योगासन– चक्र आसन, अर्धचक्र आसन, सर्वांग आसन, हलासन, मार्जर आसन, गौ आसन, भुजंग आसन आदिको अभ्यास गर्नु पर्दछ । 
प्राणायाम– अनुलोम–विलोम प्राणायाम, भ्रामरी प्राणायाम, पुरक–रेचक–कुम्भक प्राणायाम आदिको अभ्यास गर्नु पर्दछ ।
मुद्रा– पद्यम मुद्रा, हृदय मुद्रा, वायु मुद्रा आदिको अभ्यास गर्नु पर्दछ ।
बन्द– जालन्धर बन्द, गहिरो श्वास भित्र लिएर चिउडोलाई गलामा टाँसेर श्वास सकेसम्म लामो समय भित्र रोक्ने अभ्यास गर्नु पर्दछ । 
ध्यान– ‘यं’ वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ । 
चक्रको रंगको कल्पना– हरियो रंग, हरियो रंगका फूल–फल–तरकारी, हरियो रंगका पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ ।
आनापान सती– लामो श्वास अनाहद चक्रसम्म लिनु पर्दछ चक्रलाई याद गरेर र अनाहद चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।
जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नुका साथै सफा पर्यावरण र ताजा हावाको सम्पर्कमा आउनु पर्दछ विभिन्न प्रकारका काम तथा गतिविधिहरु गर्दै तथा फुर्सद निकालेर प्राकृतिक सयरमा निस्किनु पर्दछ । संधै सकारात्मक सोच, विचार, भाव, नियत बोलि, कर्म, व्यवहार, चरित्र तथा आचरण गर्नु पर्दछ । 
 
तीन 'स'को परिपालन
अनाहद चक्र प्रत्यक्ष रुपमा मनुष्यको प्रेम केन्द्रित भावनाहरु- स्नेह, मैत्री, मायाँ, दया, करुणा, श्रद्धा, भक्तिसंग सम्वन्धित भएको र प्रेम केन्द्रित भावनाहरुबाट शान्ति प्राप्त हुने भएकोले जीवनमा दिगो शान्ति ल्याउनका लागि अनाहद चक्र सन्तुलित, सक्रिय, स्वस्थ राख्नु तथा जाग्रित गर्नु अत्यन्तै आवश्यक हुन्छ । व्यक्तिको मानसिकता तथा भावनामा दिगो शान्ति खासगरी तीन 'स'- (१)सत्संग, (२)साधना, र (३)सेवाबाट प्राप्त गर्न सकिन्छ जसले अनाहद चक्रलाई सन्तुलित, सक्रिय, स्वस्थ तथा जाग्रित गर्न मद्दत गर्दछ । 

सतसंग- सतसंग गर्नाले जीवन र जगत जीवन तथा जीवन र जगत दर्शनका विषयहरुबारे सान्दर्भिक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञान हासिल हुन्छ । जीवनमा शान्ति तथा आनन्द प्राप्त गर्नकालागि के-कस्ता कर्महरु गर्नु पर्छ, के-कस्ता कर्महरु गर्नु हुदैन भन्ने विषयका ज्ञान सतसंगबाट हासिल गर्न सकिन्छ र त्यही लयमा आफ्नो जीवनयापनको दैनिकीलाई ढालेर जीवनमा भावनात्मक शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ ।

साधना- निष्ठापूर्वक अध्यात्म विज्ञान तथा योग विज्ञानका सतप्रतिशत वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको निष्ठापूर्वक साधना गर्नाले शरीर र स्वास्थ्यका साथै मनुष्यको जीवनका सबै आयामहरु- शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक विकासमा सकारात्मक प्रभाव पर्दछ र यस्तो अवस्थामा व्यक्तिमा मानसिक तथा भावनात्मक स्थाइत्व कायम रहिरहन्छ । 

सेवा- निस्वार्थ भावले अरुको सेवा गर्नाले मानसिक तथा भावनात्मक शान्ति प्राप्त हुन्छ । हरेकदिन निस्वार्थ भावले आवश्यक वर्गहरुकालागि दया तथा करूणाका सेवायुक्त कार्यहरु गर्नाले व्यक्तिभित्र प्रेम केन्द्रित भावहरुको ऊर्जाको प्रवाह बढ्छ र अनाहद चक्र सन्तुलित, सक्रिय, स्वस्थ तथा जाग्रित हुन मद्दत गर्दछ । दया, करुणाका कार्यहरु जस्तो अरुमा आश्रित तथा निमुखा वर्गहरु(गर्भवती, वालवालिका, बिरामी, अशक्त, वृद्ध-वृद्धा, जनावर, पशुपन्छी, प्राणी, वनस्पति)को सेवा तथा उचित हेरचाह हुने सेवा प्रदान गरेर अनाहद चक्रमा प्रेम केन्द्रित भावना, सद्भावको भावना तथा समभावको भावना बढाउन सकिन्छ । यसरी बढेको प्रेम केन्द्रित भावनाहरुले अनाहद चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछ । सतसंग, साधना र सेवावाट प्राप्त भएका सबै उपलव्धिहरुले अनाहद चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्धत गर्दछन ।

छिट्टै,
विशुद्धि चक्र मनुष्यको वौद्धिक क्षमताको मूल आधारशिला हो ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...