Sunday, 4 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २७

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      

    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !


३२.सवाल

योग दर्शनका विषयहरु– चक्र विज्ञान, तत्व विज्ञान, कोष विज्ञान, ग्रन्थि विज्ञानले जीवन व्यवस्थित गर्दछ ।

जवाफ

सनातन अध्यात्म विज्ञानका गहन ज्ञान तथा विज्ञानहरुको व्याख्या, विश्लेषण गर्नेक्रममा श्रद्धेय ओशो रजनीशले भन्नुभएको छ, “परब्रम्हको हिरण्य गर्भ फुटेर तथा महाविश्फोट भएर अर्थात प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का अनुसार विगव्यांग(महाविश्फोट) भएर ब्रमहाण्डको सिर्जन भएयता दुई लाखको हाराहारीमा यो सृष्टिमा लय र प्रलय तथा सिर्जन र संहारका श्रृंखलाहरु भइसकेका छन् र हरेक प्रलयपछि ब्रम्हाण्डमा पुनः क्रमिक रुपमा हरप्रकारका सभ्यताहरुको विकास हुदै आइरहेका छन् किनकी सृष्टिमा लय र प्रलय तथा सिर्जन र संहारपछि पुनः सभ्यताको विकास प्रारम्भ हुनु नियमित प्रक्रिया हो ।” वर्तमान समयमा विकसित भैरहेको मानव सभ्यताको विकासक्रमको समय र अवस्थाको एकिन जानकारी नभएको भएपनि विभिन्न समयमा गरिएका खोज, अध्ययन तथा अनुसन्धानहरुले मानव समाजको सभ्यता विकासका तत्कालीन अवस्थाका अनुमानित तथा वास्तविक सूचना, जानकारी तथा ज्ञानहरु थोर–बहुत पुस्तानतरण हुदै आइरहेका छन् र हामीले तिनै ज्ञानहरुका आधारमा आ–आफ्नो जीवनका आयामहरुलाई निरन्तर अगाडि बढाइरहेका छौं । मानव सभ्यता विकासको सन्दर्भमा भौतिक विज्ञान तथा आधूनिक विज्ञानका आफ्नै प्रकारका अध्ययन र परिभाषाहरु रहेकाछन् र सनातन अध्यात्म विज्ञानका आफ्नै प्रकारका अध्ययन र परिभाषाहरु रहेका छन् । आधूनिक भौतिक विज्ञानले मानव सभ्यताको विकासक्रमलाई भौतिक विकासवादको दृष्टिकोणबाट अध्ययन गरेर यो विषयलाई भौतिक(फिजिकल) तत्वहरु तथा मनुष्यको स्थुल शरीरको विकाससंग जोडेर अध्ययनका नतिजाहरु उजागर गरेको छ भने सनातन अध्यात्म विज्ञानले मानव सभ्यताको विकासक्रमलाई पराभौतिक तथा सुक्ष्म तत्वहरुको विकासवादको दृष्टिकोणबाट अध्ययन गरेर यो विषयलाई पराभौतिक(मेटाफिजिकल) तत्वहरु तथा मनुष्यको आत्मिक अर्थात चेतनात्मक विकाससंग जोडेर अध्ययनका नतिजाहरु उजागर गरेको छ ।


सनातन अध्यात्म विज्ञान र मानव सभ्यताको विकासक्रम

विभिन्न समयमा वैज्ञानिकतामा आधारित प्रविधि तथा उपकरणहरुको प्रयोग गरेर गरिएका धेरै प्रकारका पुरातात्विक तथा ऐतिहासिक अध्ययनहरुले प्रामाणिक रुपमा उजागर गरिसकेका छन् कि पृथ्वीको पुर्वी भूगोलमा रहेका सनातन वैदिक मानव समाजहरु हजारौं वर्ष अघिदेखिनै हरप्रकारले विकसित थिए र धेरै प्रकारका वैज्ञानिक कारण र तर्क सहितका संस्कार तथा संस्कृतिहरुले सुसम्पन्न थिए । पृथ्वीको पूर्वी भूगोलमा रहेका वैदिक मानव समाजहरुमा सभ्यता विकासका क्रमममा तत्कालीन समयका मनुष्यहरुको जीवन सहज, सरल, सफल, व्यवस्थित तथा विकसित बनाउनका लागि समयक्रमसंगै तत्कालीन मानव समाजको अवस्था र आवश्यकता अनुसार क्रमिक रुपमा समय सान्दर्भिक जीवन तथा जगत दर्शनका ज्ञान, विज्ञानका विषयहरुको विकास गर्दै जाने क्रममा प्रमुख छ प्रकारका दर्शन तथा विज्ञानहरु प्रतिपादन गरिए थिए, क्रमशः (१)न्याय दर्शन, (२)वैशेषिक दर्शन, (३)पूर्व मिमांशा(कर्मकाण्ड) दर्शन, (४)सांख्य दर्शन, (५)योग दर्शन, र (६)उत्तर मिमांशा(वेदान्त) दर्शन ।


पूर्वीय सनातन अध्यात्म दर्शनका यी छ प्रकारका प्रमुख दर्शन तथा विज्ञानहरुका आ–आफ्नै प्रकारका आस्था, तर्क र सिद्धान्तहरु रहेका भएपनि ब्रम्हाण्ड, ब्रम्हाण्डको सर्जक परब्रम्ह, ब्रम्हाण्डको मूलश्रोत तथा ब्रम्हाण्डको अन्तिम सत्यको सन्दर्भमा सबै दर्शनहरुको मतऐक्यता रहेको पाइन्छ । मानव र मानव सभ्यताको सहज तथा उच्चतम विकासका लागि यी छ प्रकारका दर्शनहरु मध्य योग दर्शनलाई सर्वाधिक व्यवहारिक दर्शन तथा विज्ञानको रुपमा मानव समाजले तत्कालीन समयदेखि वर्तमान समयसम्म अनुशरण गर्दै आइरहेको छ । सनातन अध्यात्म विज्ञान मनुष्यलाई उत्कृष्ट जीवन जिउन सिकाउने कला(दि आर्ट अफ लिभिगं)को विज्ञान हो । उत्कृष्ट जीवन जिउन सिकाउने कलाका ज्ञान तथा विज्ञानका विषयहरु सिकाउने क्रममा सनातन अध्यात्म दर्शनको प्रमुख तथा सर्वाधिक व्यवहारिक र दैनिक जीवनकालागि अत्यन्तै उपयोगी महान विद्या योग दर्शनमा ‘चक्र विज्ञान’को प्रतिपादन गरियो र यही विज्ञानका आधारमा मनुष्यको जीवनको विकास गर्ने विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको विकास र तिनका सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा विज्ञानहरुको अनुशरण तथा प्रयोगात्मक अभ्यास गर्ने प्रक्रिया प्रारम्भ भएको पाइन्छ । चक्र विज्ञान पश्चात ज्ञान, विज्ञानका विषयहरुलाई अझ गहन बनाउन र सहजै सबैले बुझ्न सक्ने बनाउन क्रमशः कोष विज्ञान, तत्व विज्ञान, ग्रन्थी विज्ञानका सैदान्तिक र व्यवहारिक ज्ञान, विज्ञानका विषयहरु प्रतिपानद गरिए र मनुष्यको जीवनका सबै आयामहरुको उच्चतम विकास गर्न र यी ज्ञान, विज्ञानका विषयहरुलाई अझ व्यवहारिक र उपयोगी बनाउन प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गर्दै आएको पाइन्छ । पछिल्लो चरणमा यिनै सनातन सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुलाई निरन्तरता दिदै र समय सान्दर्भिक हुनेगरि परिमार्जन तथा विकास गरेर आधूनिक चिकित्सा विज्ञान, आधूनिक मनोविज्ञान तथा अन्य नयाँ विज्ञानका नयाँ–नयाँ विद्याहरु विकास गरिएका छन् र यी सबै ज्ञान, विज्ञानका विषयहरुको मूल उद्देश्य एउटै हो, मनुष्यको जीवनका हरेक आयामहरुलाई हरप्रकारले सन्तुलित, व्यवस्थित र विकसित बनाउनु । कुनै पनि ज्ञान, विज्ञानका घटना तथा विषयहरुका सकारात्मक र नकारात्मक दुवै पाटा अवश्य हुन्छन्, मनुष्यको विवेकले यो अन्तर छुट्याउन सक्नुपर्दछ ताकि सभ्यता विकासका क्रममा भएका सकारात्मक सफलता तथा उपलव्धिहरुको जतन, परिमार्जन गरि अझ व्यवहारिक बनाउदै र विकास गर्दै लान सकियोस र हानि पुर्याउने विषयका प्रभाव तथा परिणामहरुलाई न्युनिकरण, सुधार गर्दै तथा परिमार्जन गर्दै लान सकियोस् र हरसम्भव मानवीयताको विकासका लागि उपयोगमा आउन सकोस् । 


चक्र विज्ञान र मनुष्यको जीवनका आयामहरुको विकास  

चक्र विज्ञानले मनुष्यको शरीरमा रहेका प्रमुख सातवटा चक्रहरु– (१)मूलाधार चक्र, (२)स्वाधिष्ठान चक्र, (३)मणिपुर चक्र, (४)अनाहद चक्र, (५)विशुद्धि चक्र, (६)आज्ञा चक्र, (७)सहश्रार चक्र र यी चक्रहरुको मनुष्यको जीवनका विविध आयामहरुसंग रहेका प्रत्यक्ष तथा अप्रत्यक्ष सम्वन्ध र यिनको जाग्रित र निष्क्रिय तथा सन्तुलित र असन्तुलित तथा शुद्ध र अशद्ध अवस्थाहरुले मनुष्यको शरीर तथा जीवनका आयामहरुमा पार्ने सकारात्मक र नकारात्मक तथा प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरुको बारेमा गहनतापूर्वक अध्ययन गर्दछ । चक्र विज्ञानले यिनै सात चक्रहरुका अनुसार मनुष्यका शरीरका सातवटा आयामहरु विभाजन गरेकोछ– (१)भौतिक शरीर, (२)मनस शरीर, (३)प्राणिक शरीर, (४)भावनात्मक शरीर, (५)वौद्धिक शरीर, (६)आत्मिक तथा चेतनात्मक शरीर, (७)आध्यात्मिक तथा पारमार्थिक शरीर । मनुष्यका शरीरका दुई प्रमुख शरीरमा भौतिक शरीर ‘स्थुल शरीर’ अन्तर्गत पर्दछ र बाँकी सबै शरीरहरु ‘सुक्ष्म शरीर’ अन्तर्गत पर्दछन् । योग साधना(योगासन, प्राणायाम, ध्यान)को माध्यमबाट सात चक्रहरु सन्तुलित, सक्रिय र जाग्रित गराएर मनुष्यको स्थुल शरीर, सुक्ष्म शरीर र उसको जीवनका सबै आयामहरुलाई स्वस्थ, सक्रिय, सन्तुलित, व्यवस्थित तथा विकसित बनाएर मनुष्यलाई पूर्ण मानव बनाउन सकिन्छ भन्ने विषय चक्र विज्ञानको मूल ज्ञान हो । 


कोष विज्ञान र मनुष्यको जीवनका आयामहरुको विकास   

कोष विज्ञानले मनुष्यको शरीरका पाँच प्रकारका कोषहरु र यी कोषहरुसंग सम्वन्धित शरीर तथा उसको जीवनका विविध आयामहरुको स्थुल तथा सुक्ष्म अर्थात सांसारिक तथा पारमार्थिक गतिविधिहरुको उच्चतम विकासका सन्दर्भमा गहनतापूर्वक अध्ययन गर्दछ । मनुष्यको शरीर तथा जीवनका आयामहरु पाँच प्रकारका कोष– (१)अन्नमय कोष, (२)प्राणमय कोष, (३)मनोमय कोष, (४)विज्ञानमय कोष, (५)आनन्दमय कोषको समिश्रणबाट निर्माण भएका हुन्छन् । मनुष्यको शरीर तथा जीवनका आयामहरुमा यी कोषहरुको सन्तुलन तथा व्यवस्थापन, सक्रियता राम्रो छ भने उसको शरीर र जीवनका सबै आयामहरु स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित र विकसित हुन्छन् भन्ने विषय कोष विज्ञानको मूल ज्ञान हो ।

   

तत्व विज्ञान र मनुष्यको जीवनका आयामहरुको विकास  

तत्व विज्ञानले मनुष्यको पंचभौतिक शरीर तथा उसको जीवनका विविध आयामहरुको गहनतापूर्वक अध्ययन गर्दछ । मनुष्यको शरीर तथा जीवनका आयामहरु पाँच प्रकारका तत्वहरु– (१)पृथ्वी तत्व, (२)जल तत्व, (३)अग्नि तत्व, (४)वायु तत्व, (५)आकाश तत्व, र छैठौं आत्मा तत्व तथा सातौं परमात्मा तत्वको समिश्रणबाट निर्माण भएको हुन्छ । मनुष्यको शरीर तथा जीवनका आयामहरुमा यी तत्वहरुको सन्तुलन तथा व्यवस्थापन, सक्रियता राम्रो छ भने उसको शरीर र जीवनका सबै आयामहरु स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित र विकसित हुन्छन् भन्ने विषय तत्व विज्ञानको मूल ज्ञान हो ।


ग्रन्थि विज्ञान र मनुष्यको जीवनका आयामहरुको विकास   

ग्रन्थि विज्ञानका अनुसार शरीरका सबै आयामहरुलाई सन्तुलित, स्वस्थ, शुद्ध, सक्रिय, व्यवस्थित र विकसित राख्न मनुष्यको शरीरमा रहेका सात प्रकारका ग्रन्थि तथा ग्ल्याण्डहरु- (१)प्रजनन् ग्रन्थि(गोनाड्स ग्ल्याण्ड), (२)अधिवृक्क ग्रन्थि(एडरनल ग्ल्याण्ड), (३)अग्नासय ग्रन्थि(पेंक्रियाज ग्ल्याण्ड), (४)वक्ष ग्रन्थि(थाइमस ग्ल्याण्ड), (५)अवटु ग्रन्थि(थाइरोइड ग्ल्याण्ड), (६)चक्षु ग्रन्थि(पिनियल ग्ल्याण्ड), (७)पियूष ग्रन्थि(पिटियोटरी ग्ल्याण्ड) को महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी ग्रन्थीहरुबाट निस्कने ग्रन्थिरस तथा हार्मोन्सले मनुष्यको शरीर र जीवनका सबै आयामहरुका प्रणाली तथा गतिविधिहरुलाई सहि ढंगले चल्न र व्यवस्थित हुन मद्धत गर्दछन् । मनुष्यको शरीर तथा जीवनका आयामहरुमा यी ग्रन्थीहरुको सन्तुलन तथा व्यवस्थापन, सक्रियता राम्रो छ भने मनुष्यको शरीर र जीवनका सबै आयामहरु स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित, व्यवस्थित र विकसित हुन्छन् भन्ने विषय ग्रन्थि विज्ञानको मूल ज्ञान हो ।

(चक्र विज्ञान, कोष विज्ञान, तत्व विज्ञान, ग्रन्थि विज्ञानका विषयहरु पछिल्ला लेखहरुमा अझ विस्तारमा ल्याइनेछ ।)


छिट्टै,

सनातन योग दर्शनको मूलविषय चक्र विज्ञानले जीवनका सबै आयाहरुको विकास गर्न मद्धत गर्दछ ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

 








No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...