#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
४०.सवाल
सहस्रार चक्र मनुष्यको अध्यात्म जागरण तथा मोक्षको मूल आधारशिला हो ।
जवाफ
प्रमुख रुपमा आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञान हासिल गर्नमा सहस्रार चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; पाँचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; छैठौं आज्ञा चक्र मनुष्यको इच्छापूर्ति, संकल्पशक्ति र कार्यसिद्धिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र सातौं सहस्रार चक्र आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञान हासिल गर्ने पराभौतिक तथा परालौकिक विषयसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।
सहस्रार चक्रको परिचय
संस्कृत वांगमयमा सहस्रारको शाव्दिक अर्थ हजारको संख्या हो त्यसैले हजार कमलपत्र सहस्रार चक्रको प्रतिकको रुपमा देखाइन्छ र सबै कमलपत्रहरु कुनै न कुनै दिव्य शक्ति तथा सिद्धिहरुसंग जोडिएका छन् । सहस्रार चक्र जाग्रित भएको मनुष्यले चक्र जागरणको तह तथा अवस्था अनुसार यस चक्रसंग सम्वन्धित शक्ति तथा सिद्धिहरु प्राप्त गर्दै जान्छ । तलबाट माथितिरको क्रमसंख्यामा सातौं तथा अन्तिम सहस्रार चक्रलाई हजार कमलपत्र भएको मुकुट(क्राउन) चक्र र भ्रमरन्द्र पनि भनिन्छ । शास्त्रीय परिभाषा अनुसार भ्रमरन्द्रको अर्थ मोक्षको द्वार, ईश्वर प्राप्तिको मार्ग, आध्यात्मिक संसारमा प्रवेश गर्ने द्वार को रुपमा लिने गरिन्छ । ऋषिहरूको मत अनुसार सहस्रार चक्र र आज्ञा चक्रलाई सनातन अध्यात्म दर्शनमा दशौं द्वारको रुपमा मानिएको छ जहाँबाट मनुष्यले आध्यात्मिक जगतमा प्रवेश पाउछ । मनुष्यको मृत्यु पश्चात दाहसंस्कार कर्ममा गरिने शिर तथा भ्रमरन्द्र फुटाउने संस्कार दशौं द्वारसंग सम्वन्धित विषय हो । मनुष्यको प्राण नौ वटा द्वार(दुई कान, दुई नाक, दुई आँखा, दुई मल-मुत्र निश्काषन र एक मुख)मध्ये जहाँबाट गएको भएपनि शरीरमा अचेतन रुपमा प्राण थोरै पनि शेष रहेको छ भने भ्रमरन्द्रबाट जाओस र मृत व्यक्तिले मोक्ष प्राप्त गरोस भन्ने उद्देश्यले शिरको माथिल्लो भाग तथा भ्रमरन्द्रमा चिताको दाउराले हानेर चोट लगाइन्छ तथा टाउको फुटाइन्छ । सहस्रार चक्र मनुष्यको सुक्ष्म शरीरमा मेरुदण्डको अन्तिम बिन्दु तथा शिरको सबैभन्दा माथिल्लो भाग पुरुषहरुले टुप्पी राख्ने भुमरी परेको स्थान अर्थात भ्रमरन्द्रमा स्थित हुन्छ । सनातन शास्त्रहरूमा सहस्रार चक्रलाई अमृतको कलश(घडा) पनि भनिएको छ किनकि यही चक्र तथा यो चक्रसंग सम्वन्धित मनुष्यको भौतिक शरीरमा रहेको ग्रन्थीहरु मध्य सबैभन्दा सानो पियूष ग्रन्थी(पिटियोटरी ग्ल्याण्ड)बाट ऋषिहरूले नामाकरण गरेको दिव्यरस, अमृत तथा सोमरस निरन्तर टप्किन्छ र विशुद्धि चक्रमा गएर जम्मा भएर बस्छ । यही अमृत अर्थात सोमरसलाई सुधापान गरेर देवताहरू अजर-अमर भएका हुन् र ऋषिमुनिहरू पनि यही अमृत तथा सोमरसको सुधापान गरेर ज्ञानवान, प्रज्ञावान, विवेकशील, चिर यौवन, स्वस्थ तथा दीर्घायु, प्रकाशित, वुद्धत्व प्राप्त, ब्रम्हज्ञानी बनेका हुन् ।
आधुनिक चिकित्सा विज्ञानले पनि मानेको तथा पत्ता लगाएको छ कि मनुष्यको मस्तिष्कमा एक प्रकारको विशेष द्रव्य रहेको हुन्छ जसलाई अंग्रेजीमा 'शेरिबो स्पाइनल फ्ल्युड' भनिन्छ, यो एक प्रकारको शरीरकालागि अति आवश्यक हर्मोन हो । यही द्रव्यले मस्तिष्कका विभिन्न केन्द्र, अङ्ग तथा स्नायु प्रणालीहरूलाई पोषण तथा संरक्षण प्रदान गर्दछ । यो अमृत, सोमरस, दिव्यरस, द्रव्य तथा हर्मोन सहस्रार चक्र स्थित पियूष ग्रन्थीबाट निरन्तर उत्पादन भइरहन्छ र सुषुम्ना नाडीको माध्यमबाट सूक्ष्म शरीरका सम्पूर्ण नाडीहरूमा सञ्चारित हुन्छ । यही द्रव्य तथा हर्मोनको माध्यमबाट मनुष्य शरीर र स्वास्थ्यका सबै आयामहरू स्वस्थ, सक्रिय, स्वच्छ र स्फुर्त रहन्छन् किनकी मनुष्यको पुरै शरीरलाई मस्तिष्कले सञ्चालन गर्दछ अथवा अर्को शव्दमा भन्नुपर्दा मस्तिष्कबाट आउने सन्देश तथा आदेशहरुलाई शरीरका विभिन्न अङ्गहरुले हुबहु अनुसरण गर्दछन् र शरीरका सबै नियमित प्रक्रियाहरु सुचारु हुन्छन् तर महत्वपूर्ण तथ्य यो हो कि मस्तिष्कलाई सञ्चालन गर्ने र सन्देश तथा आदेश दिने काम सहस्रार चक्रले गर्दछ । स्थुल शरीरका अङ्गहरूमा टाउको, मस्तिष्क, स्नायु प्रणाली, पियूष तथा तेस्रो चक्षु ग्रन्थी आदि सहस्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् र मानसिक, भावनात्मक तथा चेतनात्मक रुपमा ज्ञान, प्रज्ञा, विवेक, स्वतन्त्र तथा खुल्ला सोच, खुशी, शान्ति, आनन्द, आस्थिकता, आध्यात्मिकता, परब्रम्ह तथा बम्हाण्डसंग्र एकाकार आदि सहश्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । सहस्रार चक्रले पुरै मस्तिष्क र मस्तिष्कका स्नायु प्रणालीहरुलाई एकसाथ जोडेर राख्छ, सबैतिर पोषण तथा संरक्षण प्रदान गर्छ र मनुष्यको शरीर, मन, भावना, चेतना सहि प्रकारले चल्न तथा व्यवस्थित हुन आवश्यक सन्देशहरु प्रवाह गर्दछ । सहस्रार चक्र मूलरुपमा मनुष्यको पारमार्थिक सत्यसंग सम्वन्धित आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञानको केन्द्रविन्दु हो । सहस्रार चक्रले परमात्मा तत्व तथा परमज्योति, परमप्रकाशको प्रतिनिधित्व गर्दछ । सहस्रार चक्रको अलग्ग वीज मन्त्र उल्लेख नगरिएको भएपनि यस चक्रकालागि स्वयं परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(अ+उ+म) ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार कै उच्चाहरण गर्ने गरिन्छ र सहस्रार चक्रका देवता स्वयं भगवान शिव हुन् । सहस्रार चक्रले सात प्रमुख योगमध्य सांख्य योग, पंचकोषमा आनन्दमय कोष, त्रिगुणमा सत्व गुण, नवग्रहमा वृहस्पति ग्रह, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमा पियूष ग्रन्थी(पिटियोटरी ग्ल्यान्ड) र चेतनात्मक तथा परम स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । सहस्रार चक्रको रङ्ग निखरा सेतो, क्रिमी, फिका वैजनि तथा फिका गुलाफी रंगमा देखाइन्छ । पराभौतिक विषयहरुमा आध्यात्मिक विकास, परमानन्दको प्राप्ति, ब्रम्हज्ञान हासिल सहस्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् ।
(१)सहस्रार चक्रको असन्तुलित अवस्थाका परिणामहरु
सहस्रार चक्र असन्तुलित, निष्क्रिय तथा संकुचन(ब्ल्क्ड)भएको छ भने यस्तो व्यक्तिलाई नियमित रूपमा रिंगटा लाग्ने; पुरै टाउको तथा आधा टाउको(माइग्रेन) दुख्ने; टाउको सम्वन्धि अन्य प्रकारका समस्याहरु हुने; तन्त्रिका प्रणाली (न्युरो सिस्टम) तथा नशनाडी प्रणाली (नर्भस सिस्टम)मा समस्या आउने; निन्द्रामा गडबडी आउने; छिट्टै थकान महसुस हुने; बेचैनी, उदासी, चिन्ता, तनाव, विषाद, अवषादको अवस्था हुने; स्मरण शक्तिमा कमी आउने; बारबार भ्रमित(कन्फ्युजन) हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् । यसकासाथै उत्साह तथा प्रेरणाशक्तिमा कमी आउने; असन्तुष्टि, बेखुसी भैरहने, दिक्क लाग्ने, नरमाइलो लाग्ने; जीवनमा आउने नियमित तथा प्राकृतिक परिवर्तनप्रति असन्तुष्टि तथा असहमति राख्ने; निराशा र नास्तिक भावको विकास हुने; अध्यात्म तथा धर्ममा रुचि नहुने; अरुप्रति सेवा उपकार, दया, करुणा भाव नजाग्ने; अरुको भलाई हुने कार्यहरु गर्नमा रुचि नहुने; आफ्नै जीवनप्रति उदाषिन हुने तथा वास्ता नहुने, रुचि घट्ने; नाता-सम्वन्धप्रति गैर जिम्मेदार हुने जस्ता असहज अवस्थाहरु देखिन्छन् ।
(२)सहस्रार चक्रको सन्तुलित अवस्थाका परिणामहरु
सहस्रार चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएको व्यक्तिको टाउकोका सबै अंगहरु, मस्तिष्क, स्नायु प्रणाली, पुरै शरीरका नसनाडी प्रणाली(नर्भस सिस्टम), मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक रुपले स्वस्थ, प्रवल स्मरण शक्ति, नयाँ कुरा सिक्ने तथा जान्ने उत्साह, स्वयंबाट प्रेरणा प्राप्ति, अत्यन्तै सिर्जनशील, सबै वातावरणमा मिल्न सक्ने खुल्ला सोच तथा विचार भएको प्रभावशाली व्यक्तितित्व हुन्छ । छान्दोग्य उपनिषदमा उल्लेख गरिएको छ, "सहस्रार चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएको मनुष्यलाई सबै प्रकारका शक्ति, सिद्धि तथा निधिहरु हासिल हुन्छन् ।" सन्त कविरले भन्नु भएको छ, "हृदयवीच अनहद बाजे मस्तकवीच फवारा ।" यहाँ फवाराको मतलब सहस्रार चक्रका सिद्धिहरूको सन्दर्भमा भनिएको हो । सहस्रार चक्र जागरण भएपछि साधकलाई आत्मज्ञान, तत्वज्ञान, ब्रह्मज्ञानको अनुभूति हुन्छ र ब्रम्हाण्डिय सर्वोच्च चेतना(सुपर कन्सिवसनेस अफ युनिभर्स)मा साधकको चेतना अर्थात् आत्मा पूर्णरूपमा एकाकार तथा समाहित हुन्छ । यसपश्चात ऊ सबै प्रकारका कर्मबन्धनहरूबाट मुक्त हुन्छ र मोक्षमा उपलव्ध हुन्छ अर्थात परमात्मामा सदाकालागि योगस्थ हुन्छ । सहस्रार चक्र जाग्रित भएको व्यक्ति जीवित अवस्थामै अर्थात भौतिक शरीरमा रहदा रहदै उसलाई मर्त्यलोक र ब्रह्मलोकको अनुभव तथा अनुभूति हुन्छ र उ भौतिक र पराभौतिक दुवै प्रकारका जीवन एकैसाथ जिइरहेको हुन्छ ।
सहस्रार चक्र प्रत्यक्ष रुपमा ब्रह्माण्डिय महाशक्तिसंग जोडिएको चक्र हो त्यसैले अस्तित्व तथा ब्रह्माण्डबाट पठाइएका सबै सन्देशहरु यही चक्रको माध्यमबाट साधकलाई प्राप्त हुन्छ । यही चक्रको ध्यान साधना गरेर ध्यान र समाधिको मार्ग हुदै साधकको व्यक्तिगत चेतना सर्वोच्च चेतना(सुपर कन्सिवस)संग एकाकार हुन्छ । त्यसैले मनुष्यको सहस्रार चक्रलाई सर्वोच्च चेतनाको केन्द्र तथा स्थान पनि भनिन्छ । जव मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा सबैभन्दा तल रहेको मूलाधार चक्रमा रहेको कुण्डलिनी शक्ति तथा ऊर्जा तलका सबै छ चक्रहरुलाई भेदन गर्दै सहस्रार चक्रमा पुग्छ तव साधकको कुण्डलिनी शक्ति पूर्णरुपमा जागृत हुन्छ र यही सहश्रार चक्रको जागृत अवस्था तथा कुण्डलिनी शक्ति जागरणको अवस्था हो, यसपश्चात साधमलाई मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ । सहस्रार चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएपछि साधक आफूलाई ब्रह्माण्ड र ब्रह्माण्डका सबै प्राणी, जीव, वनस्पति तथा पदार्थहरूसंग जोडिएको तथा एकाकार भएको, सबैमा आफू समाहित भएको तथा आफूमा सबै समाहित भएको प्रत्यक्ष रुपमा अनुभव तथा अनुभूति गर्न थाल्छ । प्राणी, जीव, वनस्पति, पदार्थ हरेकसंग उ संवाद गर्न, तिनीहरुको समवेदना आफूले सुन्न र आफ्नो समवेदना तिनीहरूलाई सुनाएर प्रत्यक्ष दोहोरो संवाद गर्नसक्छ । उसलाई राम्रोसंग पूर्ण ज्ञात हुन्छ कि जुन चेतना अर्थात आत्माको ऊर्जा उभित्र छ सबैभित्र त्यही चेतना अर्थात आत्माको ऊर्जा छ र सबैमा भएको उर्जा परमात्माको उर्जा हो, हामी सबै परमात्मा हौं अर्थात अद्वेत छौं, यहाँ कोहीबाट कोही पनि कत्तिपनि अलग छैन, सबै एउटै उर्जाबाट निर्मित भएका हौं ।
शारीरिक रुपमा शिरको सवभन्दा माथिल्लो भाग अर्थात भ्रमरन्द्रमा केही सलबलाए जस्तो तथा कमिला हिडेको जस्तो महसुस हुनु; स्पन्दन तथा धड्कन भएको जस्तो महसुस हुनु; टिकटिक आवाज आएको जस्तो महसुस हुनु; शिरमा तातो, चिसो भएको जस्तो महसुस हुनु; शिर पछाडि खिचिनु तथा पछाडि झुक्नु आदि लक्षणहरु सबै सहस्रार चक्रमा भएका सकारात्मक गतिविधिहरु हुन्, सहस्रार चक्र सक्रिय तथा जाग्रित भइरहेको अवस्था हो । मानसिक रुपमा सांसारिक कुराहरूसंग अलगाव हुनु; नाता, सम्बन्ध, मित्रहरूबाट दूर भएर एकान्तमा बस्न मन लाग्नु; निन्द्रामा परिवर्तन हुनु तथा कम निद्रामा पनि शरीर सन्तुलित हुनु; आहार, विहार, व्यवहारमा सकारात्मक परिवर्तन तथा बदलाव आउनु; असहजता तथा तनावपूर्ण अवस्थामा पनि शान्त भएर बस्नु; हरसमय आनन्दित तथा मस्त-मगन हुनु; अस्तित्वद्वारा निरन्तर दिशानिर्देश प्राप्त हुनु; आफूमा त्याग, सेवा, परोपकार, दया, करुणाको भावना जाग्रित हुनु आदि सबै चक्रमा सहस्रार जाग्रित आइरहेको कारण देखापर्ने सकारात्मक लक्षणहरु हुन्, यदि यस्तो अवस्था अनुभवमा आइरहेको छ तथा अनुभूति भैरहेको छ भने सहस्रार चक्र सन्तुलित छ र यसमा क्रमिक रुपमा सक्रियता तथा जाग्रिति आइरहेको छ भनेर बुझ्नुपर्छ ।
(३)सहस्रार चक्र सन्तुलित गर्ने उपाय
सहस्रार चक्र मनुष्यको शरीर, मन, भाव, वुद्धिसंग भन्दा चेतनासंग प्रत्यक्ष सम्वन्धित चक्र भएकोले यसलाई सक्रिय तथा जाग्रित गर्नकालागि विशेष प्रकारका योगासन तथा प्राणायाम अलग्ग रुपमा व्यवस्था गरिका नभएपनि उधोमुन्टो लगाउने प्रकारका योगासनहरु नभएपनि र मस्तिष्कमा पर्याप्त अक्सिजन पुर्याउने तथा रत्त,संचार बढाउने प्रकारका साधना विधिहरुले चक्रको अवस्था सन्तुलन गर्न मद्धत गर्दछन् । सहस्रार चक्र चैतन्यता केन्द्रित भएकोले साधनामुखी गतिविधिहरु(धारणा, ध्यान, समाधि)को प्रयोगात्मक अभ्यासबाट र अन्य सानासाना गतिविधिहरुलाई निष्ठापूर्वक अनुशरण गरेर सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न सकिन्छ ।
ॐकारको जप गरेर- सहस्रार चक्रको अलग्ग वीज मन्त्र उल्लेख नगरिएको भएपनि यस चक्रकालागि स्वयं परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(अ+उ+म) ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार कै उच्चाहरण गर्ने गरिन्छ । ध्यान साधनामा बस्नु र ॐकारको उच्चाहरण शुरु गर्नु भन्दा पहिला सहस्रार चक्र तथा शिरको माथिल्लो भागमा चार औंलाले केहीबेर थपथपाउदा उक्त स्थानमा रक्तसंचार र उर्जाको प्रवाह बढ्छ र यसपश्चात ॐकारको उच्चाहरण शुरु गर्दा सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह अझ तेजीले बढ्छ । ॐकारको जप मन्त्रोच्चाहरण गर्दा उत्पन्न हुने तरंगहरुले शिर तथा मस्तिष्कका अंग-अंग र स्नायु प्रणालीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्दत मिल्छ ।
ध्यान साधनाका फरक-फरक विधिहरूको अभ्यास गरेर- ध्यान साधनाका फरक-फरक विधिहरूको अभ्यास गरेर सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन सकिन्छ । प्रमुखरुपमा ध्यानका मूल दुइ विधिहरु रहेका छन्- (१)साक्षी ध्यान(माइन्डफुलनेस), र (२)विषय केन्द्रित ध्यान । साक्षी ध्यान वर्तमान समयमा आफू वरपर भैरहेका समग्र गतिविधिहरुप्रति जागरुग भएर तथा ती सबै गसितविधिहरुको साक्षी भएर गर्ने गरिन्छ भने विषय केन्द्रित ध्यान विविध प्रकारका धारणाहरु- मन्त्रोच्चाहरण, तथ्य साधना(शरीरका अंगमा केन्द्रित), कथ्य साधना(कुनै स्थान, वस्तु, छविमा केन्द्रित), सत्य साधना(परमात्मा, आराध्य तथा इष्टदेव केन्द्रित) आदिमा ध्यान साधना गरिन्छ । ध्यानका फरकपरक विधिहरुबाट उत्पन्न हुने तरंगहरुले शिर तथा मस्तिष्कका अंग-अंग र स्नायु प्रणालीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्दत मिल्छ ।
आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिएर- ध्यान साधनामा आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिनु अत्यन्तै प्रभावकारी हुन्छ । जस्तो कि म स्वस्थ छु..., म सुखी छु..., म खुशी छु..., म शान्त छु..., म आनन्दित छु..., म भाग्यमानी छु, म परमात्माप्रति समर्पित छु..., म परमात्माको साथ एकाकार छु..., मलाई परमात्माको आशिर्वाद प्राप्त छ आदि सकारात्मक सन्देशहरु बारबार दोहोर्यारहदा यी सबै सन्देशहरु मस्तिष्कमा गएर अवचेतन मनमा संचित हुन्छन्, यस्ता सकारात्मक सन्देशहरुले अवचेतन मनमा सकारात्मक सोच, विचार तथा व्यवहारहरु निर्माण गर्दछन् र त्यही अनुसार मनुष्यको व्यवहार, मन, भाव, कर्म निर्माण हुदै जान्छ र सबै सकारात्मक बन्दै जान्छ । यसरी सकारात्मक कर्महरूमा मनुष्यको जीवन संलग्न हुदै जान्छ र स्वतः सुख, खुशी, शान्ति र आनन्दको भाव बढ्दै जान्छ । आफूमा आएका सकारात्मक व्यवहार तथा कर्महरुबाट प्राप्त आनन्दले सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र चक्रलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछन् ।
पूर्ण तथा अर्ध उपवास बसेर- आफ्नो दैनिक अवस्था तथा व्यवस्था मिलाएर पूर्ण उपवास, अर्ध उपवास(इन्टरमिटेन्ट फस्टीगं) राख्नु सहस्रार चक्र सन्तुलित राख्नकालागि अत्यन्त लाभदायक हुन्छ । उपवास राख्दा शरीरमा भोजनको भार कम हुन्छ र शरीरले पाचन प्रणालीमा लाग्ने समय तथा उर्जा बचत गर्दछ । शरीरको प्राकृतिक नियम अनुसार यसरी वचत भएको उर्जा उर्ध्वगमन भएर मस्तिष्कमा पुग्छ, शिरका अंगहरु तथा सहस्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढ्न थाल्छ र सहस्रार चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन मद्दत मिल्छ ।
योग विज्ञानको साधना गरेर- योग विज्ञानको साधना अन्तर्गत योगासनमा शीर्षासन, सर्वाङ्गासन, हलासनको प्रयोगात्मक साधना गर्नु लाभदायक हुन्छ । यस्ता उधोमुन्टो लगाउने प्रकारका योगासनहरुले शिर तथा शिरका हरेक अंगहरु र स्नायु प्रणालीमा रक्तसंचार बढाउँछन् । शिरका सबै अंग तथा भागहरुमा बढेको रक्तसंचारले सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्दै जान्छ र चक्रका संकुचन तथा जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित हुन थाल्छ । अनुलोम-विलोम प्राणायामले मस्तिष्कमा प्राणवायु तथा अक्सिजनको मात्रा बढाएर सहस्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछ । सिद्ध योगगुरुको सानिध्यमा रहेर तथा गुरु ज्ञानको निष्ठापूर्वक अनुशरण गरेर खेचरी मुद्राको अभ्यासको माध्यमबाट अमृत तथा सोमरसको सुधापान गर्दा साधकमा परमानन्द बढ्दै जान्छ र यसरी बढेको परमानन्दले सहस्रार चक्रलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछ ।
प्राकृतिक वातावरणको आनन्दमा रमेर- सूर्यको प्रकाश तथा तापमा बस्नु, ताजा हावा तथा वातावरणमा श्वाश-प्रश्वास फेर्नु, सादा तथा ताजा पानीमा समय लगाएर आनन्दको अनुभूति गर्दै स्नान गर्नु, प्राकृतिक सुन्दरता खासगरी हरियाली, निलो आकाश तथा जलाशयहरूको सुन्दर दृश्यको अवलोकन गर्नु, साहसिक भ्रमण गर्नु, खुल्ला प्राकृतिक वातावरण तथा स्थानमा यात्रा गर्नु, प्रकृतिको भरपुर आनन्द लिनु जस्ता साहसिक, रमणीय तथा रोमाञ्चक गतिविधिहरुबाट प्राप्त हुने सुख, खुशी, शान्ति तथा आनन्दका भावहरुले सहस्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछन् र सहस्रार चक्रलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछन् ।
आफूभन्दा ठूलाको आशिर्वाद लिएर- आफूभन्दा ठूला परिवारका, समाजका सदस्यहरु तथा साधु, सन्त, योगी, सदगुरुहरुको आशिर्वाद लिनु सहस्रार चक्रकालागि लाभदायक हुन्छ । ठूला व्यक्तित्वहरु खासगरि अन्तरज्ञान हासिल गरेका साधु, सन्त, योगी, सदगुरु तथा सिद्ध पुरूषहरुको हात शिरमाथि पर्दा तथा वहाँहरुको चरणमा शिर निहुर्याउदा सिद्ध पुरुषहरुको हात तथा गोडाका औंलाबाट संचारीत हुने सकारात्मक दिव्य ऊर्जाका तरङ्गहरुले सहस्रार चक्र र आज्ञा चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछन् र यस्तो उर्जाले दुवै चक्रहरुलाई सन्तुलित, स्वस्थ, सक्रिय तथा जाग्रित गर्न मद्दत गर्दछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment