Wednesday, 21 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४३

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

८.सवाल

शरीरमा पृथ्वी तत्वको सन्तुलन  ज्ञान ले जीवनका विविध आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ ।

जवाफ

पृथ्वी तत्वबारे संक्षिप्त जानकारी

पृथ्वी ग्रहमा भएका सबै पदार्थहरु पृथ्वीमा अवस्थित रहेका तथा टिकेका हुनाले पृथ्वी तत्व ब्रम्हाण्ड तथा ब्रम्हाण्डको व्यष्टि(सानो) स्वरुप मनुष्य शरीरमा रहेको ब्रम्हाण्डिय महाउर्जाको शक्तिकेन्द्र शरीरको मूलाधार चक्रसंग प्रत्यक्ष सम्वन्धित रहेको छ, तसर्थ पृथ्वी मूलाधार चक्र तथा मूलाधर तत्व दुवै हो किनकी मूलाधारको अर्थ मूल तथा प्रमुख आधार हो, सबैभन्दा महत्वपूर्ण, मूल तथा प्रमुख आधार पृथ्वी तत्व नै रहेकोले सबै तत्वहरु यसैको माध्यमबाट सक्रिय रहन सक्छन्, पृथ्वी तत्वबिना अरु तत्वहरुको उपस्थिति र अभिव्यक्त हुने प्रक्रिया सम्भव हुनसक्दैन । पृथ्वी तत्व खासगरि मनुष्यको समग्र शारीरिक शरीर र शरीरको नितम्व(हिप) तथा जांग क्षेत्रसंग सम्वन्धित रहेका मूलाधार चक्र, अन्नमय कोष तथा प्रजनन् ग्रन्थी(गोनाड्स ग्ल्याण्ड) संग सम्वन्धित रहेको छ । पृथ्वी तत्वको रंग– पहेंलो, आकृति– चारकुने, स्वाद– गुलियो, तनमात्रा– गन्ध, गति– १६ मिटर, लम्बाई– १२ अम्मल, विज मन्त्र– लं, तत्वहरु मध्य शरीरमा १२ प्रतिशत अंश, पाँच प्राण वायु– अपान वायु, नाडी– पिंगला तथा सूर्य नाडी, औंलो– अनामिका(रिंग फिंगर), मुद्रा– औंठा र अनामिका औंलाको टुप्पा जोड्नु, राशी– वृष, कन्या, मीन आदि रहेका छन् । पृथ्वी तत्वबाट सबैलाई जीवन जिउनका लागि उर्जा प्राप्त हुन्छ, शरीरमा बल प्रदान गर्ने पृथ्वी तत्व अरु सबै तत्वहरु मध्य सबैभन्दा भारी तत्व हो । पृथ्वी तत्वले हाम्रो शरीरमा शारीरिक बल तथा उर्जा प्रदान गर्ने हुनाले हामीलाई तरोताजा र सक्रिय राख्दछ, नशाहरुमा रक्त प्रवाह बढाउछ र सन्तुलित रुपमा शरीरभरि रक्त प्रवाहित हुन मद्धत गर्दछ ताकि शरीर स्वस्थ, शुद्ध, सक्रिय, उर्जावान रहिरहोस र शरीर र मन दुवै सन्तुलनमा तथा एकै लयमा रहन सकुन् । मनुष्यको शरीरमा पृथ्वी तत्वको सबैभन्दा गहिरो तथा प्रत्यक्ष सम्वन्ध पाँच ज्ञान इन्द्रियहरुसंग रहेको हुन्छ । मनुष्य शरीरका ठोस तथा कडा अंगहरु– हड्डी, दाँत, नंग, कपाल, छाला, मांसपेसी, नसनाडीहरु पृथ्वी तत्वसंग सम्वन्धित रहेका छन् तथा यी अंगहरु पृथ्वी तत्वद्वारा नियन्त्रण हुन्छन् । पृथ्वी तत्वको तनमात्रा गन्ध भएकोले यसको सिधा सम्वन्ध र प्रत्यक्ष प्रभाव नाकका नासिकाहरुसंग रहेको हुन्छ । पृथ्वी तत्व सन्तुलित छ भने मनुष्यको सुघ्ने तथा नाकको माध्यमबाट वरिपरिको अवस्था थाहा पाउने क्षमता उच्च हुन्छ । पृथ्वी तत्वले मनुष्यलाई धन, सम्पत्ति, सुख, सुविधाका चिज, वस्तुहरुसंग जोड्छ, सांसारिक सबै कुराहरु बन्न तथा चल्न, शरीर बन्न तथा चल्न आवश्यक पर्ने सबै तत्व, पदार्थ, वस्तु पृथ्वी तत्वबाट नै निर्मित हुने गर्दछन् । पृथ्वी माता सहनशक्तिकी पनि प्रतिक हुन जसले हामीले गरेका अनेक असन्तुल, अत्याचारहरुका दुःख, पिडाहरुका वावजुद यी सबै दुःख, पिडाहरु सहेर हामीलाई जीवन प्रदान गरिरहेकी छिन् । 

  

सन्तुलित पृथ्वी तत्व     

मनुष्यको शरीरमा पंचतत्व सन्तुलित छन् भने शरीर, मन, प्राण उर्जा, भाव, वुद्धि, चेतनाका सबै आयामहरु सन्तुलित, व्यवस्थित र विकसित हुन्छन् तर पंचतत्व सन्तुलित छैनन्, कम सक्रिय तथा बढि सक्रिय भएका छन् भने स्वास्थ्यका, शरीरका तथा जीवनका आयामहरुमा असन्तुलन्, अस्वस्थता, बिमारी तथा असफलताका लक्षणहरु देखिन्छन् । पृथ्वी तत्व सन्तुलित छ भने मनुष्यको स्वभावमा शान्ति, धैर्यता, सहनशीलता, स्थिरता, निडरता, सुरक्षा भाव आउछ साथै उसको आर्थिक अवस्था पनि राम्रो हुन्छ । आफ्नो भैरहेको आर्थिक अवस्थाप्रति उति आशक्ति नहुने तथा आफूसंग भएको कुरामा प्रसन्न हुने प्रकारको प्रकृति हुने हुनाले उसमा सन्तोष र स्वीकार भाव रहेको हुन्छ र जीवन सहज महसुस गर्छ । मनुष्यको जीवनका इच्छा, अपेक्षा, चाहना, चिज–वस्तुहरुप्रति आशक्ति तथा वासना, काम वासनाप्रति भोग वृत्ति आदि व्यावहारहरु मुलाधार चक्र तथा पृथ्वी तत्वसंग सम्वन्धित रहेका हुन्छन् । पृथ्वी तत्व सन्तुलित छ भने यिनै आशक्ति तथा वासनाहरु जीवनको उच्चम विकासका लागि महत्वपूर्ण विषय तथा साधन बन्न सक्छन् । उसको जीवनका इच्छा, अपेक्षा, चाहना, चिज-वस्तुहरुप्रति आशक्ति तथा वासना, काम वासनाप्रति भोग वृत्तिहरु सकारात्मक र स्थिर हुन्छन् । यस्तो व्यक्तिमा भएपनि ठिकै छ नभए पनि ठिकै छ भन्ने सन्तोष तथा स्वीकार भावको विकास हुन्छ । पृथ्वी तत्व सन्तुलित भएको मनुष्यको जीवनमा आवश्यक धन प्राप्ति सहजै हुन्छ तर उसमा धन–सम्पत्ति तथा सुख–सुविधाप्रति कुनै आशक्ति हुदैन, जति आवश्यक छ उसको आफ्नो सुविधा तथा सहज, सरल जीवनकालागि त्यति मात्र उपयोग गर्छ र बाँकी अरुको सहजता, भलाई, सहयोग, सेवा, उपकार, दान, पुण्यका कामहरुमा खर्च गर्छ निश्वार्थ भावले ।  


असन्तुलित पृथ्वी तत्व

पृथ्वी तत्व प्रत्यक्ष रुपमा मनुष्यको शारीरिक शरीरसंग सम्वन्धित भएको पृथ्वी तत्व असन्तुलित भयो भने शरीरमा अनेक प्रकारका अस्वस्थता तथा बिमारीका लक्षणहरु देखा पर्दछन्– अति मोटोपन तथा अति दुव्लोपन, कमजोर हाड–जोर्नी, अति खुकुलो तथा फस्के मांसपेशी, शरीरमा बलको कमी, आलस्य, फुस्रो छाला, निन्याउरो चेहरा, छालामा चाउरी, कपाल तथा नंग फुल्ने, कपाल झर्ने, हेमोग्लोबिन घट्ने, रगतका रुद्राणु तथा प्लेटलेटको मात्रा घट्ने, रगत सम्वन्धि रोगका लक्षणहरु देखिने जस्ता समस्या तथा अस्वस्थताहरु देखिन्छन् । पृथ्वी तत्व सन्तुलित नभएको मनुष्यले धन सम्पत्ति संग्रह मात्र गरिरहन्छ, अरुको सुविधा तथा भलाइका लागि उपयोग गर्दैन, कतिपय अवस्थामा त आफ्नै सुविधा तथा भलाइका लागि समेत उपयोग गर्दैन किनकी यस्तो व्यक्ति लोभ, मोह र बेढंगले ग्रसित हुन्छ । पृथ्वी तत्व ज्यादा बढ्यो तथा बढि सक्रिय भयो भने यस्तो व्यक्तिमा भोग, विलासको लालसा बढ्छ, सुख सुविधाका विषय, धन, सम्पत्ति, जग्गा–जमिन, गरगहना, भौतिक वस्तुहरु संकलन गर्नमा, प्रतिस्पर्धा गर्नमा, अरुलाई फूर्ति देखाउनमा शरीर र मनको पूरा उर्जा, पूरा समय तथा पूरा जीवन लगाउछ । यस्तो मनुष्यले आफ्नो स्वास्थ्यको बारेमा, आफ्नो मन तथा भावनाको बारेमा, आफ्ना सम्वन्धहरु, परिवार, मित्रता, समाज, राज्य, सदभाव, सहयोग, सतविचार, सतकर्म, सेवा, दान, पुण्य आदिबारे सोच्दैन केवल धन, सम्पत्ति जोड्नेतिर लागिरहन्छ, यिनै क्रियाकलापहरुमा जीवनभरिनै उसको मन, भावना केन्द्रित रहिरहन्छ । कुनै विरोध छैन, धन सम्पत्ति अवश्य चाहिन्छ सबैलाई सरल, सजह तथा सफल जीवनका लागि तर कति चाहिन्छ, कति भए पुग्छ त्यो आफ्नो वुद्धि, विवेकले नै छुट्याउनु पर्दछ किनकी ठिक्क धन सम्पत्तिले सुख, खुशी, शान्ति लिएर आउछ तर बढि धन सम्पत्तिले दुःख, अशान्ति, झगडा लिएर आउछ । पृथ्वी तत्व असन्तुलित छ भने यस्तो व्यक्ति मानसिक तथा भावनात्मक रुपमा अशान्त, अधैर्य, अस्थिर, अल्छी तथा आलस्य, सहनशीलतामा कमी, असन्तोष, अस्वीकार भावले भरिएको हुन्छ र यही कारणले उसको आर्थिक अवस्था झन कमजोर हुदै जान्छ । 


पृथ्वी तत्व असन्तुलित हुनुको कारण

पृथ्वी अर्थात माटोमा मनुष्यको शरीरलाई फाइदा गर्ने असंख्य सुक्ष्म जीव र तत्वहरु रहेका हुन्छन् तर हिजोआज बिनासोची सम्झि अत्यधिक रसायन तथा विषादीहरुको अन्धाधुन्द प्रयोग र अनियन्त्रित शहरीकारणका कारण माटो, पानी, सूर्यको ताप र प्रकाश, वायु, आकाश तथा समग्र पर्यावरण तथा प्रकृतिनै सबै अशुद्ध, अस्वस्थ, विषाक्त र अस्तव्यस्त भएका छन् । आधूनिक भौतिकवादमा आधारित जीवनशैली बढ्दै गएका कारण अधिकांश मनुष्यहरुका लागि घर, आगन, खेतबारी, पर्यावरण, प्रकृतिको अवधारणा नै हराइसकेको छ । सबै साँघुरो घर, फ्ल्याट तथा कोठामा बाधिएका तथा सिमीत भएका छन् । अधिकांश मनुष्यहरुको माटो, पानी, सूर्यको ताप र प्रकाश, वायु, आकाश तथा समग्र पर्यावरण तथा प्रकृतिको स्पर्श तथा सानिध्यता टुट्दै, छट्दै तथा शुन्य हुदै गैरहेको छ र यिनै कारणहरुले मनुष्यको शरीरमा तत्वहरुको मात्र असन्तुलित हुने प्रक्रिया झनझन बढ्दै गैरहेको छ र मनुष्य झनझन अस्वस्थ र ज्ञात–अज्ञात रोगहरुको महामारीको भवसागरमा फस्दै गैरहेको छ । यी सबै समस्याहरुबाट मुक्ति पाउनका लागि सबैभन्दा पहिला मनुष्यको शरीरमा पृथ्वी तत्व सन्तुलन गर्ने प्रभावकारी उपायहरु गर्नु अपरिहार्य हुन्छ । 


पृथ्वी तत्व सन्तुलित गर्ने उपाय

सर्वप्रथम सबै मनुष्यहरुले पृथ्वी तत्वको ज्ञान, विज्ञान र संरचना बुझ्नु अत्यावश्यक हुन्छ । पृथ्वीमा ७० प्रतिशत तरल र ३० प्रतिशत ठोस पदार्थ रहेको छ यही संरचना मनुष्यको शरीरको बनावटमा पनि रहेको छ । यसकारण हामीले २४ घण्टामा लिने आहारमा ७० प्रतिशत तरल र ३० प्रतिशत ठोस पदार्थ हुनु अनिवार्य हुन्छ । तरल र ठोस कुरा तुरुन्तै नमिसाइकन खानु पर्दछ अन्यथा पेटको जठर अग्निमा सुस्तता आउछ तथा मन्द हुन्छ र पेटसंग सम्वन्धित अनेक बिमारीहरु देखा पर्न सक्छन् । एकपटक टन्न खाना खाइसकेपछि अघिल्लो र पछिल्लो खानाको विचमा कम्तिमा ४ घण्टा तथा सकेसम्म अझ बढि समयको अन्तराल राख्नु पर्दछ । दैनिक रुपमा खाना खाने समय तालिका सकेसम्म एकै बनाउनु पर्दछ, सकेसम्म ठोस खाने कुरा तथा अन्नका परिकारहरु विहान १० बजेदेखि दिउसो २ बजेको विचमा खाइसक्नु पर्दछ । सकेसम्म अन्न २४ घण्टामा एकपटक मात्र ग्रहण गर्नुपर्दछ र अरु समयमा कन्दमुल, फलफूल, तरकारी, सलाद, घरैमा स्वस्थ किसिमले तयार पारिएका खानेकुराहरुको सेवन गर्नुपर्दछ । साँझको खाना सूर्यास्त अघिनै ग्रहण गरिसक्नु पर्दछ र सूर्यास्तपछि सकेसम्म खाना ग्रहण गर्नु हुदैन । निद्रा पुग्नेगरि कम्तिमा ६–७ घण्टा सुत्नु पर्दछ र विहान सूर्योदय अगाडि उठेर आफ्ना नित्य कर्महरु गरिसकेर योग साधनाको प्रयोगात्मक अभ्यासबाट दिनको प्रारम्भ गर्नुपर्दछ । यसप्रकारको जीवनशैलीले पृथ्वी तत्वसंग सम्वन्धित शारीरिक शरीरका सबै प्रकारका समस्या तथा अस्वस्थताहरु सन्चो हुन्छन्, शरीरमा बल तथा उर्जा बढ्छ, शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र नासिकाको सुघ्ने क्षमताका साथै सबै ज्ञान इन्द्रियहरुको कार्यक्षमतामा वृद्धि हुन्छ । मानसिक तथा भावनात्मक शरीरमा एकाग्रता, शान्ति, धैर्य, सहनशीलता, स्थिरता बढ्छ, जीवनमा आइपर्ने समस्या तथा चुनौतिहरुको सामना गर्ने क्षमतामा पनि वृद्धि हुन्छ । 


कम्तिमा हप्तामा एकदिन अनिवार्य रुपमा व्रत तथा उपवास गर्नुपर्दछ पेट, पाचन क्रिया तथा पाचन प्रणालीलाई आराम हुनेगरि । उपवासमा २४ घण्टा सकेसम्म सादा तथा मनतातो पानी मात्र पिएर, नसके तरल पदार्थहरु मात्र पिएर, नसके फलफूलहरु मात्र खाएर, नसके ठिक्क पकाइएका तरकारीहरु मात्र खाएर, नसके कन्दमूलहरु मात्र खाएर, नसके प्रसस्त फाइबर तथा चोकर भएको गिलो पारेर पकाएको अन्न मात्र खाएर उपवास गर्नु स्वास्थ रहन र शरीरमा पृथ्वी तत्व सन्तुलन गर्न अत्यन्तै उपयोगी हुन्छ । यसका साथै प्राकृतिक चिकित्सा, प्रकृति चिकित्सा, आयुर्वेदिक चिकित्सा, माटोबाट गरिने चिकित्सा, औषधिजन्य वनस्पति तथा खनिजहरुको प्रयोग गरेर गरिने चिकित्सा गर्नु पर्दछ । यससंगै पृथ्वी तत्व तथा प्रकृतिसंग नजिक रहन माटोमा काम गरौं, फुलबगैचा, करेसाबारी लगाउँ, खालि हातगोडा घाँस तथा माटोमा हिडौं, सकेसम्म माटोका, काठका भाँडा तथा सामग्रीहरु प्रयोग गरौं, घरभित्र सुविधायुक्त मुलायम जुत्ता-चप्पल नलगाउँ, सोफा तथा फोममा नबसौं तथा नसुतौं, भुईमा केही ओछ्याएर बसौं तथा सुतौं । पृथ्वी तत्व, मूलाधार चक्र, अन्नमय कोश तथा प्रजनन् ग्रन्थी सक्रिय गराउने विशेष प्रकारका योगासन, प्राणायाम, क्रियायोग, बन्द, मुद्राहरुको प्रयोगात्मक अभ्यास गरौं । अनामिका र औंठाका टुप्पा जोडेर पृथ्वी मुद्रा लगाउँ, खाना खानु भन्दा ४५ मिनेट अघि र खाना खाएको ४५ मिनेट पछि मात्र मुद्रा लगाउने अभ्यास गर्नुपर्दछ, खाना खाने वित्तकै बस्ने तथा पल्टने नगरौं, केहीबेर यताउता हिडौं तथा घुँडा मारेर बज्र आसनमा बसौं ५-१०-१५ मिनेट । आध्यात्मिक तथा धार्मिक गतिविधिहरुमा पृथ्वी तत्वका कारक दिव्य शक्तिहरु- श्रीशिव भगवान, श्रीगणेश भगवान, श्रीहनुमान भगवान, मंगल ग्रहको पूजा, उपासना, स्तुति, नाम जप तथा मन्त्रोच्चाहरण गरौं । यी सबै गतिविधिहरुले शरीरमा पृथ्वी तत्व संन्तुलन गर्न भरपूर मद्धत गर्दछन् । 


                                                                   शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ











No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...