Friday, 23 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४४

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान       



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

९.सवाल

शरीरमा जल तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ ।

जवाफ

जल तत्वबारे संक्षिप्त जानकारी

पूरै प्रकृति र प्रकृतिमा स्थित सबै प्राणी तथा वनस्पतिहरु जलमय छन् अर्थात सबैमा दुई तिहाइ भन्दा बढि(७० प्रतिशत) जलको मात्रा रहेकोछ र सबै जलकै कारण जीवनयापन गरिरहेका तथा बाँचिरहेका छन्, यसकारण जल तत्व नै सबैको प्राण हो, अमृत तत्व तथा मूल उर्जा हो । मानसिक रुपमा जल तत्व मनुष्यको मन र भावनाको कारक हो र शारीरिक रुपमा मनुष्यको शरीरका सबै तरल अर्थात द्रव्य पदार्थहरुको कारक हो । मनुष्यको शरीरका आयामहरुमा जल तत्व मानसिक तथा भावनात्मक शरीरसंग सम्वन्धित मनुष्यका सोच, विचार, मन, भावना, भावनात्मक संवेगहरु, कल्पना, योजना, उद्देश्य, लक्ष्य, सुख, दुःख, पिडा, हँसाई, रुवाई, खुशी, प्रेम, मैत्री, दया, मायाँ, करुणा, क्रोध, घृणा, राम्रा-नराम्रा सम्वन्धहरु आदि विषयहरुको कारक रहेको तथा यी अवस्था तथा विषयहरुसंग सम्वन्धित भएकोले यसले मनुष्यको जीवनमा सुख, खुशी, शान्ति, आनन्द, सम्वन्धहरु थप्ने र घटाउने तथा जोड्ने र तोड्ने गतिविधिहरुमा प्रत्यक्ष नियन्त्रण राख्दछ र अधिकांश मनुष्यको दैनिक जीवनयापन यिनै मानसिक विचार तथा भावनात्मक संवेगहरुका वरिपरि चलिरहेको हुन्छ । शारीरिक रुपमा जल तत्व मनुष्यको शरीरका सबै तरल अर्थात द्रव्य तत्वहरु र खानपानका क्रममा जिब्रोमा आउने रस तथा स्वाद, स्वाद मिठो बनाउने र्याल र स्वादको आनन्द लिने क्षमताको कारक हो । शरीरमा रगत, वीर्य, डिम्ब, मुत्र, र्याल, बोसो, ग्रन्थीरसहरु(हर्मोन्स), सन्तान उत्पादन गर्ने क्षमता, यौन तथा प्रजनन् शक्ति, मासिक धर्म आदिमा जल तत्वको नियन्त्रण रहेको हुन्छ । भौतिक शरीरको कारक पृथ्वी तत्वले मनुष्यको शरीरमा भौतिक मस्तिष्क बनाउछ तर भौतिक मस्तिष्कमा उत्पन्न हुने तथा चल्ने सोच, विचार, भाव, वुद्धि, सचेतनाको कारक जल तत्व रहेको हुन्छ ।


सनातन अद्वेत वेदान्त र अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का अनुसार जसरी पृथ्वीको सबैतिर व्यापक रुपमा जल तत्वको उपस्थिति फैलिएको छ त्यसैगरि मनुष्यका विचार तथा भावनात्मक संवेगका अदृश्य उर्जा तरंगहरु सर्वव्यापक भएर विश्व-ब्रम्हाण्ड भरि फैलिएका छन्, यसकारण मनुष्यका विचार तथा भावनात्मक संवेगका तरंगहरुको प्रभाव केवल उसंगमात्र सीमित तथा सम्वन्धित नभएर सारा ब्रम्हाण्ड र ब्रम्हाण्डमा रहेका सबै प्राणी, वनस्पति तथा पदार्थहरुमा समेत परिरहेको हुन्छ अदृश्य किसिमले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा किनकी ब्रम्हाण्डको मूलश्रोत मनुष्यका विचार तथा भावनात्मक संवेग अर्थात चेतनाका तरंगहरु हुन्, चेतनाबिना विश्व-ब्रम्हाण्ड-संसारको अस्तित्व नै सम्भव छैन, केहीपनि निर्माण हुन सक्दैन । मनुष्यको मन-भाव-चेतनामा निरन्तर प्रष्फुटीत भैरहने सोच, विचार, भावनात्मक संवेग, ज्ञान-वुद्धिका तरंगहरु जति सकारात्मक हुन्छन् उतिनै सकारात्मक तथा राम्रो ब्रम्हाण्डको संरचना बन्छ । मनुष्यको शरीरमा जल तत्व सन्न्तुलित छ भने मात्र उसको मन-भाव-चेतनाका सोच, विचार, भावनात्मक संवेग, ज्ञान-वुद्धिका तरंगहरु सकारात्मक हुन्छन्, यसकारण सबैको शरीरमा जल तत्व सन्तुलित हुनु अपरिहार्य हुन्छ । यस सन्दर्भमा सनातन अध्यात्म विज्ञान र अत्याधूनिक प्रमात्रा भौतिक विज्ञानका पछिल्ला वैज्ञानिक अध्ययनका नतिजाहरुसंग मतैक्यता रहदै आकोछ र यी दुई सनातन र अत्याधूनिक महान खोजहरु एकआपसमा झनझन निकट आइरहेका छन् । 


संक्षिप्तमा: जल तत्वको गति– १६ मिटर, लम्बाइ– १२ अम्मल, आकार– अर्धचन्द्र, स्वाद– टर्रो, रंग– सेतो, स्थान– नाभि भन्दा २–३ अम्मल तल, नाडी– इडा, मन्त्र– वं, वायु– अपान, दिशा– पश्चिम, शरीर दोष– कफ, देवता– बरुण र चन्द्रमा, लिंग– स्त्री कारक, तन्मात्रा– रस, औंलो– कनिष्ठिका(कान्छि), मुद्रा–कान्छि र औंठाको टुप्पाको जोड, राशी– कर्कट, वृश्चिक, मीन रहेकाछन् । 


सन्तुलित जल तत्व

जल तत्वमा भावना तथा समवेदनाहरु विद्यमान रहेको पछिल्लो समयमा गरिएका वैज्ञानिक अध्ययनहरुले पुष्टी गरेका छन् । अध्ययनका अनुसार जल तत्वले उसको निकटमा प्रकट भएका विचार तथा भावनाका उर्जाका तरंगहरुलाई आफूमा ग्रहण गर्दछ, संग्रह गर्दछ, स्मृतिमा राख्दछ र त्यसै अनुसार विभिन्न आकृतिहरु माफर्त आफ्नो भावनात्मक अभिव्यक्ति प्रकट गर्दछ । जल तत्वले हाम्रा शव्द तथा हाउभाउहरु त बुझ्दैन तर हाम्रो मनमा आइरहेका विचार तथा भावनामा चलिरहेका भावनात्मक संवेगहरुबाट अदृश्य रुपमा निरन्तर प्रवाहित भैरहने उर्जाका तरंगहरुको भाव बुझ्दछ र आफ्नो स्मृतिमा संग्रहीत गरेर त्यसै अनुरुप आफ्नो आकृति देखाउछ । जल तत्वले हामीबाट प्रवाहित भैरहेका उर्जाका तरंगहरु सकारात्मक तथा सौम्य प्रकृतिका रहेको अनुभूति गर्यो भने आफूभित्र सफा, सुन्दर, अर्थपूर्ण, दिव्य आकृतिहरु बनाउछ र नकारात्मक तथा बिध्वन्सक प्रकृतिका रहेको अनुभूति गर्यो भने अर्थ नलाग्ने, कच्याककुचुक परेका गजमौरो आकृतिहरु बनाउछ । यसकारण जल तत्व भानात्मक समवेदना भएको सजिव तथा जीवित तत्व हो, हाम्रो शरीरमा दुई तिहाइ तथा ७० प्रतिशत विद्यमान रहेको सजिव जल तत्वले हाम्रो स्वास्थ्यका, शरीरका, मनका, भावनाका तथा जीवनका सबै आयामहरुमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ, यसकारण हाम्रो शरीरमा जल तत्व सन्तुलित हुनु अपरिहार्य हुन्छ । 


मनुष्यले आफ्नो जीवनमा के गर्छ तथा के गर्दैन भन्ने कुरा सबै उसको सोच, विचार, भाव, नियतमा भर पर्दछ र उसको सोच, विचार, भाव, नियत शरीरमा जल तत्वको सन्तुलित तथा असन्तुलित अवस्थामा निर्भर गर्दछ । केही मनुष्यहरु आफूसंग जे छ, जो छ त्यसैसंग सन्तुष्ट तथा खुशी रहन्छन् तर केही मनुष्यहरु आफूसंग भएका चिज–वस्तुहरुसंग पटक्कै सन्तुष्ट हुदैनन्, स्वीकार गर्दैनन् । कसैलाई त्यही चिज–वस्तुहरुले सन्तुष्टी प्रदान गर्दछन् तर कसैलाई तिनै चिज–वस्तुहरुले असन्तोष तथा दुःख दिन्छन् । वैरागी(स्वीकार भाव) तथा वितरागी जीवन व्यतीत गर्ने व्यक्ति संधै सन्तोष तथा स्वीकार भावले भरिएको हुन्छ किनकी उसको शरीरमा जल तत्व सन्तुलित हुन्छ तर रागी व्यक्ति आशक्ति भावले भरिएको हुन्छ किनकी उसको शरीरमा जल तत्व असन्तुलित अर्थात बढि सक्रिय ताथ बढि निश्क्रिय हुन्छ । सन्तोष, स्वीकार आदि सबै मनुष्यको सोच, विचार, भाव तथा भावनात्मक संवेगहरुका कारणले हुने गर्दछ, शरीरमा जल तत्व सन्तुलित भएको मनुष्यको मन तथा भावनाहरु सकारात्मक, सर्वकल्याणकारी हुन्छन् र यी विशाल तथा अनन्त भएर पुरै ब्रम्हाणभरि फैलिएका हुन्छन् र एकअर्काका मन तथा भावनाका तरंगहरुले सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछन् । व्यक्तिको सोच, विचार, भावना, कल्पना, योजना, उद्देश्य, लक्ष्य आदि सकारात्मक तथा नकारात्मक जस्ता प्रकारका छन् त्यस्तै रुपमा ब्रम्हाण्डमा संचारित हुन्छन् । मनुष्यले ब्रम्हाण्डमा जस्ता प्रकारका सोच, विचार, भावना, कल्पना, योजना, उद्देश्य, लक्ष्यहरु संचारीत गरेकोछ ब्रम्हाण्डको आकर्षणको नियम/सिद्धान्त (दि ल अफ अट्रयाक्सन) अनुसार उसलाई ब्रम्हाण्डबाट त्यस्तै प्रकारका उर्जाका तरंकहरु प्राप्त हुन्छन् र उसको सोच, विचार, भावना, कल्पना, योजना, उद्देश्य, लक्ष्यहरु हासिल गर्न मद्धत गर्दछन् । यस्तो अवस्थामा मनुष्यको शरीरमा जल तत्व सन्तुलित अवस्थामा छ भने मनुष्यको शरीरमा दुई तिहाइ अंशमा उपस्थित रहेको जल तत्वले ब्रम्हाण्डमा सकारात्मक उर्जाका तरंगहरु पठाउन र ब्रम्हाण्डले उसलाई पठाउने ती सबै सकारात्मक उर्जाहरुलाई जस्ताको तस्तै ग्रहण तथा संग्रह गरेर, स्मृतिमा राखेर मनुष्यको जीवनमा त्यस्तै परिणामहरु ल्याइदिन्छन् र उसको सांसारिक र पारमार्थिक जीवन हरप्रकारले व्यवस्थित र विकसित गराइदिन्छन् । 


शरीरमा जल तत्व सन्तुलित भएको मनुष्य शारीरिक रुपमा स्वस्थ, स्फुर्त, सक्रिय हुन्छ र मानसिक तथा भावनात्मक रुपमा सकारात्मक, एकाग्र, धैर्य, शान्त, सुखी, खुशी रहन्छ, प्रेम, सेवा भावले भरिएको हुन्छ, सहयोगी, दानी तथा सर्वकल्याणको भाव भएको हुन्छ । यस्तो मनुष्यले आफू र अरुको विचार तथा भावनाको ख्याल राख्ने, अरुका कुरा सुन्ने, सहि लागे साथ सहयोग दिने, सत्य बोल्ने, व्यवहारिक कुरा गर्ने, उपाय निकाल्ने, रचनात्मक तथा सिर्जनशील प्रकृतिको काम गरेर समस्याको समाधन खोज्ने, आफू संधै खुशी रहने, अरुलाई पनि खुशी राख्ने तथा खुशी प्रदान गर्न सक्दो प्रयत्न गर्ने, स्वयंसेवा, उपकार, दान, पुण्य, दया, करुणा भावले भरिएको हुन्छ । धन सम्पत्तिको दृष्टिकोणले कमजोर तथा आर्थिक अवस्था कमजोर भएपनि आफूसंग जे उपलव्ध छ त्यसैको माध्यमबाट अरुलाई सहयोग प्रदान गर्न प्रयत्न गर्दछ । जल तत्व सन्तुलित भएको व्यक्तिमा भोक तथा प्यास सहनसक्ने क्षमता र व्रत तथा उपवास गर्नसक्ने क्षमता अधिक हुन्छ, उपवासले शरीरमा जल तत्व लगायत अन्य तत्वहरुलाई सन्तुलन गर्न पनि सहयोग गर्दछ । यस्तो मनुष्यमा आफ्ना इच्छा, अपेक्षा, तृष्णा, आशक्ति, वासनाहरुमा नियन्त्रण गर्ने क्षमता अधिक हुन्छ, सांसारिक वस्तुहरुप्रति लगाव कम हुन्छ, सांसारिक वस्तुहरु आवश्यकता जति मात्र उपयोग गर्दछ, अधिक लगाव राख्दैन, अरुको कल्याणका लागि निवेश गर्छ निस्काम तथा निश्वर्थ भावले, उसमा अवस्था परिस्थिति तथा आवश्यकता अनुसार आफ्नो स्वभाव, सोच, विचार, भाव आफू र अरुको अनुकुल हुने गरि बदल्न सक्ने तथा समय, अवस्था तथा आवश्यकता अनुसार सान्दर्भिक बन्न सक्ने क्षमता रहेको हुन्छ र आफ्नो जीवनलाई पारमार्थिक तथा आध्यात्मिक विकासको मार्गमा लगाउछ । यसकासाथै जल तत्व सन्तुलित भएको मनुष्यको स्मरण क्षमता अत्यन्तै राम्रो हुन्छ, रचनात्मक तथा सिर्जनशील हुन्छ, वुद्धि तिक्ष्ण हुन्छ, शारीरिक रुपले सुन्दर हुन्छ, चेहरामा चमक हुन्छ, शरीर सुन्दर तथा आकर्षक हुन्छ, जल तत्वका कारक अस्वस्थताहरुबाट मुक्त हुन्छ र हरप्रकारका उपलव्धिहरुबाट युक्त हुन्छ । यस्तो व्यक्तिमा आफ्नो शरीरमा विद्यमान पंचतत्व सन्तुलन गरेर जीवनका विविध आयामहरु सन्तुलित, व्यवस्थित तथा विकसित बनाउने क्षमता रहेको हुन्छ, उसका बिग्रेका काम तथा सम्वन्धहरु सबै बन्न तथा सहि हुन थाल्छन् । निष्ठावान योग साधक, सन्त तथा योगीजनहरुमा पंचतत्वमाथि नियन्त्रण राख्न सक्ने दिव्य क्षमता रहेको हुन्छ र वहाँहरु पराभौतिक जगतका परालौकिक दिव्य रहस्य, सिद्धि तथा निधिहरु समेत प्राप्त गरेर सहज, सरल, सफल किसिमले सांसारिक र पामार्थिक जीवनयापन गरिरहनु भएको हुन्छ, हरेक मनुष्यले योग साधनाको माध्यमबाट आफ्नो जीवनमा यस्तो दिव्य अवस्था हासिल गर्न सक्दछ, यसकारण मनुष्यको शरीरमा जल तत्व सन्तुलित हुनु अपरिहार्य हुन्छ ।


असन्तुलित जल तत्व

मनुष्यका सोच, विचार, भावना, कल्पना, योजना, उद्देश्य, लक्ष्यहरु राम्रा तथा सकारात्मक प्रकारका रहेकाछन् भने उसको स्वास्थ्य, शरीर र जीवनका समग्र आयामहरु पनि सन्तुलित, व्यवस्थित तथा विकसित हुन्छन् तर यसको विपरित उसका सोच, विचार, भावना, कल्पना, योजना, उद्देश्य, लक्ष्यहरु नराम्रा तथा नकारात्मक प्रकारका रहेकाछन् भने उसको स्वास्थ्य, शरीर र जीवनका समग्र आयामहरु असन्तुलित, अव्यवस्थित तथा अविकसित हुन्छन् किनकी यस्तो अवस्थामा मनुष्यको शरीरमा जल तत्वमा असन्तुलन आउछ र शरीरमा जल तत्वको सर्वाधिक उपस्थिति(७० प्रतिशत) भएको कारण उसको स्वास्थ्य, शरीर र जीवनका सबै आयामका सबै गतिविधिहरुमा आउने सजिला तथा अप्ठ्यारा उतार-चढावहरुमा जल तत्वको सबैभन्दा अहम भूमिका रहेको हुन्छ । शरीरमा जल तत्व असन्तुलित भयो भने मानसिक तथा भावनात्मक रुपमा यसको प्रत्यक्ष प्रभाव मनुष्यको मनका सोच, विचारहरु, भावका भावनात्मक संवेगहरु र स्वभावमा पर्छ । शरीरमा जल तत्व असन्तुलित भएको अवस्थामा व्यक्ति सबैसंग रुखो भाव तथा स्वरमा झर्केर बोल्ने, अरुको भावना नबुझ्ने, अरुसंग घुलमिल हुन नसक्ने, नयाँ सम्वन्धहरु बनाउन नसक्ने, भएका सम्वन्धहरु पनि टिकाउन नसक्ने, थालेको काम पूरा गर्न नसक्ने, आधा अधुरो नै छोडिदिने, योजना गरेको काम थालनी गर्ने आँट गर्न हिम्मत नहुने, काम गर्न मन नलाग्ने, मन्द वुद्धि हुने, आलस्य हुने, भित्रैबाट मन मर्ने, काम गरेर के हुन्छ र भन्ने निराशाको भाव आउने, जीवनदेखि दिक्क हुने, आत्म समर्पण गर्ने र स्थिति धेरै बिग्रियो भने आत्महत्याको प्रयास गर्ने तथा आत्महत्या नै गर्ने गर्छ । 


शरीरमा जल तत्व असन्तुलित भएर आवश्यकता भन्दा बढि सक्रिय भएको छ भने अधिकांश मनुष्यहरु रागी तथा भौतिक सुख–सुविधाको जीवनप्रति अति आशक्त हुन्छन्, धन–सम्पत्ति संग्रह गर्ने र भोगविलास, आमोदप्रमोद तथा प्रमादको जीवन जीउने प्रकारका हुन्छन् । जल तत्व आवश्यकता भन्दा कम सक्रिय तथा निश्क्रिय भएको छ भने अधिकांश मनुष्यहरु मानसिक तथा भावनात्मक रुपले कमजोर, अधैर्य, अशान्त, दुःखी, निराश, बेचैन तथा अस्थिर हुन्छन् । जस्तोसुकै सहज तथा राम्रो अवस्थामा पनि खुशी हुन सक्दैनन्, आफूसंग संसारका जतिनै सुख, सुविधा, आराम, मनोरञ्जन प्रदान गर्ने सामग्री तथा सुख–सुविधाहरु भएपनि तिनमा खुशीको अनुभूति गर्न सक्दैनन्, उहरु ती चिज–वस्तुहरुलाई आफ्नो जीवनमा व्यकार ठान्छन्, उनीहरुलाई कुनै चिज–वस्तु, व्यक्ति, सम्वन्ध, सफलताहरुले खुशी दिन सक्दैन, केहीपनि कुराप्रति आकर्षित हुन र रमाउन सक्दैनन् । यस्ता व्यक्तिहरु संधै अशान्त, बेचैन, चिडचिडा, अस्थिर र रुखो स्वभावका हुन्छन्, आफ्नो जीवन, सम्वन्ध तथा दैनिक गतिविधिहरुदेखि दिक्क मान्छन्, एक्लो महसुस गर्छन् र एक्लै बस्न रुचाउछन्, कसैसंग घुलमिल गर्दैनन् । यो सबै मनुष्य स्वयंको असावधानीले शरीरको जल तत्व असन्तुलन भएको कारणले भएको हो, दोषि उ स्वयं नै हो तर आफूमा विचरापन देख्छ र दोष जति अरुमा मात्र देख्छ, आफ्ना समस्या, चुनौति तथा कठिनाइहरुको कारण अरुलाई ठान्छ र सबै दोष अरुमाथि थोपरेर आफूलाई निर्दोष साबित गर्न प्रयास गर्छ । जल तत्व असन्तुलित भएको मनुष्य आफ्नो जीवन, आफ्ना कर्तव्य तथा उत्तरदायित्वहरुप्रति उदासिन हुन्छ, चाहेर पनि सम्हाल्न सक्दैन, आफूले गर्नुपर्ने कार्यहरु गर्न समेत असक्षम हुन्छ । विभिन्न प्रकारका शारीरिक तथा मानसिक रोगहरुले ग्रसित भएको हुन्छ र कतिपय अवस्थामा मानसिक अस्वस्थताको अवस्था उ स्वयंलाई समेत थाहा हुदैन । आफूभित्रबाट उत्पन्न हुने तथा आफैंभित्र रहेको आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको अनुभूति गर्न नसक्नुको मूलकारण उसको शरीरको जल तत्व असन्तुलित भएकोले नै हो । यस्तो व्यक्तिले नत अरुको कल्याणका लागि केही राम्रो काम गर्न सक्छ, आफ्नो सांसारिक जीवनमा कुनै प्रगति गर्नसक्छ, न पारमार्थिक जीवनको विकासकालागि जीवनमा योग–ध्यान साधना मार्फत आध्यात्मिक प्रगति नै गर्न सक्छ, अर्थहिन जीवन जिउछ र काललाई पर्खिने काम मात्र गर्छ । 


शरीरमा जल तत्व असन्तुलित भयो भने शारीरिक रुपमा सबैभन्दा गहन र प्रत्यक्ष नकारात्मक प्रभाव मनुष्यको भौतिक शरीरको अत्यन्तै महत्वपूर्ण अंग मृगौलामा पर्दछ र मृगौलामा पत्थरी हुन्छ साथै अन्य प्रकारका कठिनाइहरु आउछन् । छालामा सुख्खापन, कपाल सुख्खा तथा जिंग्रिङ परेको, शरीरमा फुस्रोपन, शरीरमा रसजन्य तरल द्रव्यहरुमा कमी, ग्रन्थी रसहरु(हर्मोन्स)को उत्पादनमा असन्तुलन, प्रजनन् क्षतामा कमी, यौन दुर्वलता, न्युन रक्तचाप, रगतमा हेमोग्लोविनको कमी, रुद्राणु तथा रक्तकणहरुमा असन्तुलन, रगतमा कोलेस्ट्रोल तथा टिजीको मात्रा बढि, खाएको खानाको स्वाद नआउने, केहीपनि मिठो नलाग्ने, खानाको आनन्द लिन नसक्ने, तरलताको कमीका कारण शरीरमा फोहोर तथा विषक्तता जम्ने, पेट फोहोर रहने र पेटबाट उत्सर्जन हुने अनेक अस्वस्थता– मन्द जठराग्नि, ग्यास्ट्रीक, अल्सर, पातलो दिशा, कव्जियत, अपच, भोक नलाग्ने, जलअल्पता(डिहाइड्रेसन) जस्ता बिमारीकासाथै शरीरमा अन्य प्रकारका अस्वस्थताहरु पनि देखिन थाल्छन् जसले विस्तारै शरीरका सबै अंगहरुलाई शिथिल बनाउदै लान्छन्, अपांग बनाउन सक्छन् र व्यक्तिको मृत्यु समेत हुनसक्छ ।  । 


जल तत्व असन्तुलित हुनुको कारण 

खासगरि सबैभन्दा बढि मनुष्यको मानसिक तथा भावनात्मक उतार-चढाव, विचलन तथा नकारात्मकताका कारण शरीरमा जल तत्व असन्तुलित हुने गर्दछ । अरुकोलागि नकारात्मक सोच्दा; अरुको मन दुखाउदा; अरुको निन्दा गर्दा; अरुप्रति गुनासोले भरिदा; आफ्नो कमजोरी तथा गल्तीको दोष अरुमाथि लगाउदा; आफू सक्ने अवस्थामा भएपनि अरुलाई आवश्यक सहयोग नगर्दा; अरुको अधिकार खोस्दा; अरुको सम्पत्तिमाथि लोभ, इष्र्या राख्दा; अरुमाथि अन्नयाय गर्दा; आफ्नै रोजाइमा आफूले गरेका अध्ययन, पेशा, व्यवसाय र आफैंले बनाएका सम्वन्धहरु आफैंलाई मन नपर्दा; त्यसप्रति आत्मग्लानी हुदा; आफ्नै निर्णय अनुसार कुनै काम, पेशा तथा व्यवसाय गरेको भएपनि त्यसप्रति चित्त नबुझउदा तथा खुशी नलाग्दा; मैले यसो नगर्नु पर्नेथ्यो; यसो गरेको भए हुन्थ्यो; मैले जीवनमा गल्ती गरें; गलत निर्णय लिएं; नगर्नु पर्ने काम गरें भन्ने जस्ता पश्चातापको भाव आफ्नो मन तथा भावनामा उत्पन्न हुदा आफूले जानेर तथा नजानेर आन्तरिक रुपमा चलिरहने यसप्रकारका अन्तरद्वन्दहरुले शरीरमा जल तत्व असन्तुलित गराउछन् । 


शरीरमा जल तत्व असन्तुलित हुनुमा मनुष्यका मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, मद, मात्श्चर्य, मन, चित्त, वुद्धि, अहंकारको अत्यन्तै ठूलो भूमिका रहेको हुन्छ । हाम्रै विचार तथा भावनाका विचलनहरुका कारण शरीरमा असन्तुलित भएको जल तत्वले हाम्रा यस्ता विकार तथा क्लेशयुक्त अरुप्रति व्यक्त गरिका अमानवीय विचार तथा भावनाका तरंगहरु सबै सुन्छ, संग्रहीत गरेर स्मृतिमा राख्छ र अरुप्रति गरिएका यस्ता नकारात्मक विचार तथा भावनाहरु सबैभन्दा पहिला हामीतिरै फर्काइदिन्छ र आफ्ना मानवीय विकार तथा क्लेशहरुबाट हामी स्वयंनै नकारात्मक किसिमले प्रभावित तथा शिकार हुन्छौं, अर्को व्यक्तिलाई यसको प्रभाव खासै पर्दैन । हामी अरुबाट लुकीचोरी गरेका नकारात्मक कामहरु अरुलाई थाहा छैन त्यसैले यो कुराले मलाई कुनै नराम्रो असर पर्दैन भन्ने ठान्छौं तर हामीलाई थाहा छैन आफ्नै शरीरमा रहेको ७० प्रतिशत हिस्सा ओगटेको जल तत्वले ती नराम्रा कर्महरु ग्रहण, संग्रह र स्मरण गरेर हामीलाई नै नकारात्मक असर पर्नेगरि पठाइरहेको हुन्छ र हाम्रो स्वास्थ्य, शरीर तथा जीवनलाई हाम्रा आफ्नै सोच, विचार तथा भावनाहरुले असफलता, अमानवीयता तथा बरबादीतिर लगिरहेको हुन्छ । 


जल तत्व र मनुष्यको मनोदशा तथा भावदशाका अवस्थाहरुकाविच दोहोरो सम्वन्ध तथा प्रत्यक्ष आपसी प्रभाव रहेको हुन्छ । मनुष्यको शरीरमा जल तत्वको सन्तुलन तथा असन्तुलनको अवस्था उसकै मनोदशा तथा भावदशाका सोच, विचार, भावना, कल्पना, योजना, उद्देश्य, लक्ष्यहरुको प्रकृतिमा निर्भर गर्दछ र उसको मनोदशा तथा भावदशाका अवस्थाहरु जल तत्वको सन्तुलन तथा असन्तुलनको अवस्थामा निर्भर गर्दछन् । जल तत्व असन्तुलन, निश्क्रिय तथा कमजोर भएको मनुष्यको सोच, विचार, मन, भावनामा आफ्नो नियन्त्रण रहदैन । यस्तो व्यक्ति अशान्त, अधैर्य, अस्थिर, बेखुशी, असन्तोष, अरुप्रति गुनासोले भरिएको; आफ्नो असफलता तथा दुःखको कारण अरुलाई ठान्ने; भावना तथा उडकाउ, भडकाउ र अरुको प्रभावमा आएर अरु र आफ्नोलागि समेत अहित हुने निर्णय लिने; गंभिर भएर सोच्न र निर्णय लिन तथा दिन नसक्ने; आफ्नो भावना मात्र अगाडि सार्ने; अत्यन्तै भावुक तथा नकारात्मक किसिमले भावनामा डुबिरहने एकोहोरो प्रकृति भएको; अरुको मन, भावनाको भाव पटक्कै नबुझ्ने, कदर नगर्ने; संधै निाराश, उदाष, बेसहारा, बेखुशी, बेचैन रहने र आफूलाई मात्र दुःखी तथा विचरा ठान्ने; भावनामा बहेर तथा भावनात्मक पागलपनमा आफू, परिवार, समाज तथा देशलाई नै ठूलो अपुरणीय क्षति पुर्याउने आत्महत्या जस्तो जगन्य अपराधको प्रयास तथा आत्महत्या नै गर्ने निर्णय लिने गर्छ । मनुष्यका यस्ता विचार तथा भावनाको उतार-चढावमा जल तत्वको प्रत्यक्ष प्रभाव रहेको हुनाले यसप्रकारको मनोदशा तथा भावदशाको अवस्थामा शरीरमा जल तत्व अझ बढि असन्तुलित हुन्छ ।


मनुष्यको जन्म कुण्डलीमा जलको कारक ग्रह चन्द्रमाको स्थिति कमजोर छ भने शरीर जल तत्व असन्तुलित हुन्छ । त्यस्तै स्त्रीको कारक जल तत्व तथा चन्द्रमा ग्रह भएकोले स्त्रीहरु(आमा, दिदी, बहिनी, नातेदार, शुभचिन्तक, मित्र)को अपमान गर्दा, अमानवीय व्यवहार गर्दा, उनीहरुको चित्त दुखाउदा पनि शरीरमा जल तत्व असन्तुलित हुन्छ । आफूले आफ्नोलागि तथा अरुकालागि गरेको निर्णय आफैंलाई ठिक लागेन, प्रायश्चित गर्ने तथा थकथकाउने भाव आइरहेको छ भने र यसको कारण आत्मबल, आत्मसम्मान, आत्मविश्वास गुम्ने अवस्था जीवनमा भएको छ भने; जीवनमा आफू असफल भएको भाव आएको छ भने; मानसिक तथा भावनात्मक रुपमा धोका पाएको छ भने; नसोचेको अवस्था बेहोर्नु परेको छ भने; सोच, विचार, भाव, नियत गलत कामतिर लागेको छ र यसो गर्नु हुदैन मैले भन्ने जान्दाजान्दै बाध्यतावस गर्नुपरेको छ भने; मन, भावमा अरुप्रति इष्र्या, घृणा, षडयन्त्र, खराव भाव तथा नियत रहेको छ भने शरीरको जल तत्व अत्यन्तै नराम्रोसंग असन्तुलित हुन्छ र मनुष्यको जीवनमा यसको भयानक परिणाम देखिन सक्छ तथा अपुरणीय क्षति बेहोर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा व्यक्तिले जीवनबाट हारेर आत्महत्या र अरुको समेत हत्या गर्ने निर्णय लिनसक्छ र सबैलाई समस्याको दलदलमा पुर्याउन सक्छ । यस्तो व्यक्ति बाँचिरह्यो भने पनि पूरै जीवन कुनै खास उद्देश्य र उपलव्धिबिना नै बाँच्छ, शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक सबै प्रकारले अस्वस्थ हुन्छ र काल पर्खेर बस्छ। यसकारण सहज, सरल, सफल, व्यवस्थित तथा विकसित जीवनकालागि आफ्नो शरीरमा जल तत्व सन्तुलित अवस्थामा राख्नु अपरिहार्य हुन्छ । यसकालागि आफ्नो आवश्यकता अनुसार केही सामान्य र केही विशेष प्रकारका जीवनशैली सुधार तथा योग साधनाका प्रक्रिया र विधिहरु अनुशरण गर्नुपर्दछ ।


जल तत्व सन्तुलन गर्ने उपाय

जल ग्रहण

मनुष्यको शरीरमा तरल तथा जल तत्वको मात्रा अधिक(७० प्रतिशत) भएकोले हरप्रकारले स्वस्थ, सक्रिय, व्यवस्थित तथा विकसित जीवन निर्माण गर्नकालागि अन्य तत्वहरुको तुलनामा जल तत्वको सन्तुलनले विशेष महत्व राख्दछ । शरीरमा जल तत्व सन्तुलन गर्न सबैभन्दा सजिलो र छिटो उपाय मुखबाट पानी ग्रहण गर्नु हो तर पानीको सेवन त्यतिमात्र गर्नुपर्छ आफ्नो उमेर, तौल, स्वास्थ्य अवस्था, आफू रहेको भूगोलको पर्यावरणीय अवस्था अनुसार जति शरीरकोलागि आवश्यक छ तथा चिकित्सकले जति ग्रहण गर्न सल्लाह दिएका छन् । धेरै पानी पिउनु सबैको शरीरकोलागि स्वस्थकर नहुन सक्छ किनकी शरीरमा पानीको मात्रा आवश्यकता भन्दा बढि भयो भने यसले एकातिर मृगौलाको भार बढाउछ मृगौलाले धान्न नसक्नेगरि र अर्कोतिर आहारबाट प्राप्त भएका शरीरकालागि अति आवश्कीय पौष्टिक तत्वहरु(भिटामिन, प्रोटीन, कार्बोहाइड्रेड, खनिज, चिल्लो, पानी) शरीरले शोषण गर्न सक्दैन, सबै पिसाव तथा पसिनामा घोलिएर बगेर शरीरबाट वाहिर जान्छन् । त्यस्तै शरीरमा पानीको मात्रा आवश्यकता भन्दा कम भयो भने आहारबाट प्राप्त भएका पौष्टिक तत्वहरु शरीरको तरल द्रव्यहरुमा घुलेर शरीरभरि संचारित हुन सक्दैनन् र एकै ठाउमा संग्रहीत भएर बसेर शरीरमा विभिन्न प्रकारका अस्वस्थता फैलाउछन् । पानी मुखबाट पिएर मात्र शरीरमा जल तत्व सन्तुलित हुने होइन । सनातन आयुर्वेद चिकित्सा विज्ञानमा उल्लेख गरिएका जल चिकित्साका विभिन्न प्रक्रिया तथा विधिहरुको निष्ठापूर्वक अनुशरण गरेर शरीरमा जल तत्व सन्तुलन गर्न सकिन्छ । दैनिक रुपमा सामान्य तथा हल्का मनतातो पानीले स्नान गर्नु; समय–समयमा हात–गोडा–चेहरा धुनु; निधार र नाभीमा ठण्डा पानीको पट्टी लगाउनु; आफू बस्ने कक्षमा आद्रता(हावामा पानीको मात्रा) सन्तुलित राख्नु, जलाशयहरुको प्राकृतिक भ्रमण, पौडी आदि गतिविधिहरु गरेर शरीरमा जल तत्व सन्तुलन गर्न सकिन्छ । साथै आध्यात्मिक विधिहरुको अनुशरण गर्दै नदि तथा तलाउको छेउमा योग–ध्यान साधना गरेर; जल तत्वको स्थान स्वाधिष्ठान चक्र भएकोले यस चक्रको ध्यान साधना गरेर; वं विज मन्त्रोच्चाहरण तथा स्मरण गर्दै ध्यान साधना गरेर; जलका कारक वरुण देवता तथा चन्द्रमा देवताको पूजा, प्रार्थना, उपासना, नाम जप तथा मन्त्रोच्चाहरण आदि गरेर शरीरमा जल तत्व सन्तुलन गर्न सकिन्छ ।


आहार चिकित्सा

मनुष्य स्वयं पनि प्रकृतिकै अभिन्न अंश भएकोले मनुष्यको शरीर र प्रकृति तथा पृथ्वीको बनावटको ढाँचा हुबहु मिल्छ । प्रकृति तथा पृथ्वीमा ७० प्रतिशत जल तथा तरल पदार्थको मात्रा र बाँकी ३० प्रतिशत ठोस पदार्थको मात्रा भए जस्तै सबै प्राणीहरु तथा मनुष्यको शरीर पनि ठिक यस्तै बनावटको ढाँचामा रहेको छ । शरीरका रहेको तरल पदार्थ र ठोस पदार्थको यो बनावट तथा अनुपातलाई निरन्तरता दिनु नै शरीरमा जल तत्व सन्तुलन गर्नु हो । यसकालागि हामीले २४ घण्टामा आफूले ग्रहण गर्ने आहारमा ७० प्रतिशत पानी र ३० प्रतिशत अन्न हुनु अत्यावश्यक हुन्छ । फलफूल तथा सलादहरुमा ९० प्रतिशत पानीको मात्रा रहेको हुन्छ र तरकारी तथा कन्दमुलहरुमा ७० देखि ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ । यसकारण हामीले ग्रहण गर्ने खानामा फलफूल, सलाद, तरकारी, कन्दमुलको मात्रा ७० प्रतिशत र अन्नको मात्रा ३० प्रतिशत मात्र हुनुपर्दछ र यो अनुपात व्यवस्थापन गर्न सकेसम्म विहान १० बजेदेखि २ बजेसम्म अन्न ग्रहण गर्नुपर्दछ र अन्य समयका आहारहरुमा फलफूल, सलाद, तरकारी, कन्दमुलको सेवन सकेसम्म प्राकृतिक स्वरुपमै काँचै तथा थोरैबेर पकाएर तथा उसिनेर ग्रहण गर्नुपर्दछ । यसरी आहारको माध्यमबाट शरीरलाई प्राप्त भएको तरल तत्व, पौष्टिक र रेशा(फाइबर) स्वास्थको लागि अत्यन्तै अनुकुल हुने हुनाले सादा पानी पिउदा प्राप्त हुने लाभ भन्दा धेरै गुणा बढि लाभ सिधै पानीलेयुक्त रहेका फलफूल, सलाद, तरकारी, कन्दमुलहरु र अन्नको अनुपात मिलाएर सेवन गर्दा शरीरमा सहजै जल तत्व सन्तुलन हुन्छ । एशियन तथा पूर्वीय मानव सभ्यताका संस्कृतिहरु आहार चिकित्साको यही नियम तथा सिद्धान्त अनुसार निर्धारित गरिएका छन् किनकी सनातन आयुर्वेद चिकित्सा विज्ञानले आहारलाई औषधिको रुपमा मान्दछ र आहार तयार गरिने पाकशाला तथा भान्सा घरलाई औषधालयको रुपमा मान्दछ । यिनै नियम तथा मान्यताका आधारमा आयुर्वेद चिकित्सा विज्ञानले शरीरमा रोग लागेपछि उपचार गर्नु भन्दा रोगनै लाग्न नदिनु निको भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै आइरहेको छ । शरीरमा पंचतत्व संतुलनमा राख्नकालागि गरिने विभिन्न उपायहरु आयुर्वेद चिकित्सा विज्ञानको यही सिद्धान्त अन्तर्गत पर्दछन् ।  


फलफूल, सलाद, तरकारी, कन्दमुल सेवन गर्दा उपयोगी पोषक तत्व, पर्याप्त पानीसंगै शरीरमा पर्याप्त रेशा पनि जाने र रेशाले पानीको शोषण तथा बचाव गर्ने हुनाले शरीरमा पानीको कमी हुन दिदैन र शरीरमा रहेका खासगरि पेट, पाचन यन्त्र, ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्वार, मृगौला, मुत्र थैली, मुत्र नली आदि अंगहरुका फोहर मैला सबै पूर्ण रुपमा सफा गर्दछ र शरीरलाई फोहर तथा विषक्तता मुक्त बनाउछ । शरीर पूर्ण रुपमा स्वस्थ हुन्छ किनकी पोषण, पानी र रेशानै शरीरकोलागि अत्यावश्यक आहार, पौष्टिकता र औषधि सबै हुन्, यिनै तत्वहरुबाट नै शरीरलाई राम्ररी काम गर्न आवश्यक पर्ने सबै तत्वहरु प्राप्त हुन्छन् । यसका अतिरिक्त आफू बसेको स्थानको पर्यावरणीय अवस्था र आफ्नो शरीरको उमेर, अवस्था र आवश्यकता अनुसार २४ घण्टामा समय र मात्रा मिलाएर ३ देखि ५ लिटर पानी पिउदा शरीरमा जल तत्व सन्तुलित हुन्छ । शरीरमा जमेर रहेका सबैप्रकारका विषाक्तता, रसायन तथा फोहरमैलाहरु पानीले बगाएर सहजै शरीरलाई सफा गर्नसक्ने हुनाले शरीरमा जल तत्व सन्तुलन हुनु अत्यावश्यक हुन्छ । 


आत्म चिकित्सा

शरीरमा जल तत्व सन्तुलित राख्नकालागि आफ्नो शरीरको अवस्था तथा सामर्थ्य अनुसार १०-१६-२४-३६-४८-६०-७२ घण्टाका व्रत, उपवास तथा आहार ग्रहणमा अन्तराल(इन्टरमिटेन्ट फास्टींग) अत्यन्तै लाभदायक आत्म चिकित्सा(अटोफेजी) तथा शरीर आफैंले गर्ने प्राकृतिक चिकित्सा पद्धति हो । व्रत तथा उपवासको वास्तविक अर्थ र मान्यता खासगरि पेट, पाचन क्रिया तथा पाचन प्रणाली र पूरै शरीरलाई आराम प्रदान गर्नु हो । जव पेट, पाचन क्रिया तथा पाचन प्रणालीले आराम पाउछ तव यी गतिविधिहरुमा खर्च भैरहेको उर्जालाई शरीर आफैंले शरीरमा रहेका विकार, विषाक्तता, रसायन तथा फोहोरमैलाहरु सफा गर्न उपयोग गर्दछ र शरीर सफा गर्न प्रारम्भ गर्दछ । शरीरका मांसपेशी तथा कोषिकाहरुले जति बढि भोक लागेको महसुस गर्छन उतिनै तिब्रगतिमा तिनले शरीरमा रहेका विकार, विषाक्तता, रसायन तथा फोहोरमैलाहरु खान थाल्छन् र शरीर अझ छिटो र प्रभावकारी ढंगले सफा, शुद्ध, स्वस्थ, उर्जावान, सक्रिय र रोग प्रतिरोधि बन्छ । व्रत, उपवास, आत्म चिकित्सा तथा शरीरको प्राकृतिक चिकित्साले शरीरमा जल तत्वकोसाथै सबै तत्वहरु सन्तुलन गर्न अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्दछ, यसकारण कम्तिमा हप्तामा एकदिन पेटलाई आराम पुग्नेगरि व्रत तथा उपवास गर्नु अत्यावश्यक हुन्छ । 


शुद्ध व्यवहार

कसैको मन तथा चित्त नदुखाउने; कसैलाई चोट नपुर्याउने; झुठ नबोल्ने; अरुमाथि इष्र्या, क्रोध, लोभ नगर्ने; अरुलाई असहयोग नगर्ने; आफैंलाई मन नपर्ने तथा पछि पश्चाताप हुने कुनै प्रकारको व्यवहार, काम, अध्ययन, पेशा तथा व्यवसाय नगर्ने; आफूभन्दा सानालाई स्नेह, समवर्तीलाई मायाँ, मित्रसंग मैत्री भाव, कमजोर तथा निमुखाहरुलाई दया, करुणा, आवश्यकता भएकाहरुलाई सहयोग, ठूलालाई श्रद्धा, परमात्माको भक्ति, सर्वकल्याणका काममा सेवा, सहयोग, परोकार, उपकार, दान, पुण्य, स्वयंसेवा आदि पुण्यका कामहरु गरेर शरीरमा जल तत्व सन्तुलन गर्न सकिन्छ । विहान सुर्योदयसंगै खालि गोडा टेकेर शीत भएको हरियो घाँसे चौरमा हिड्दा; चौरमा बसेर दुवै हातमा जल तत्वको मुद्रा(कान्छि र औंडाका टुप्पा जोडेर) लगाएर पश्चिम दिशातिर फर्केर, नाभी क्षेत्र भन्दा २–३ अम्मल तलको क्षेत्र याद गरेर वं विज मन्त्र मनमनै दोहोर्याउदा; प्रकृतिमा बगेको तथा स्थिर रहेको जलासयको सामुन्नेमा बसेर दृश्यावलोकन गर्दा; विहान ओछ्यानबाट उठ्ने वित्तिकै कम्तिमा आधालिटर मनतातो पानी पिउदा; कौशी तथा करेसाबारीका बोटविरुवाहरुमा पानी पटाउदा; आफ्नै बारीका जैविक प्रक्रियाबाट फलाइएका पानीजन्य फलफूल, सलाद, तरकारी, कन्दमूलहरुको नियमित सेवन बढाएर शरीरमा जल तत्व सजिलै सन्तुलन गर्न सकिन्छ । 


रंग चिकित्सा

दुवै हत्केलाको विचमा हरियो रंगको सानो बललाई दिनभरिमा पटक-पटक कम्तीमा २ मिनेट गोलाइमा घुमाएर शरीरमा जल तत्व सन्तुलित गर्न सकिन्छ । 

जल तत्व सन्तुलित गर्ने यी उपाय तथा गतिविधिहरु गर्दा शरीरका मांसपेशी, हाड, जोर्नी, रगत तथा शरीरका अन्य द्रव्यहरु शुद्ध, स्वस्थ, सक्रिय हुन्छन्, शरीरमा जमेर रहेका नयाँ तथा पुराना सबै विकार, रसायन, विषाक्तता तथा फोहरमैलाहरु वाहिर निस्कन्छन्, शरीर भित्रबाट नै पूर्णतः सफा हुन्छ, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ, प्राण उर्जा तथा जीवन उर्जामा वृद्धि र सन्तुलन हुन्छ । यसका साथै जल तत्वको सन्तुलनले व्यक्तिको सोच, विचार, मन, भाव तथा भावनात्मक संवेगहरु सकारात्मक हुन्छन् । मनुष्यको स्वभाव सौम्य, धैर्य, एकाग्र, शान्त, स्थिर, सहनशील हुन्छ, उसका सम्वन्धहरुमा सुधार आउछ तथा सम्वन्धहरु सुमधूर बन्छन् । 

                                                                       शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ













No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...