Thursday, 8 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३१

                                     #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

३६.सवाल

मणिपुर  चक्र मनुष्यको आत्मविश्वासको मूल आधारशिला हो ।

जवाफ

मनुष्यको साहसपूर्ण, सफल, सम्मानित, समृद्ध, शान्त र आनन्दित जीवनकालागि मणिपुर चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ, दोस्रो स्वाधिष्ठान चक्र मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । 


मणिपुर चक्रको परिचय

संस्कृत वांगमयको शव्द  ‘मणिपुर’ मणि+पुर दुई शव्दको संयोगले बनेको छ । यसको शाव्दिक परिभाषालाई विश्लेषण गर्दा, एक दृष्टिकोणका अनुसार ‘मणि’को अर्थ मूल्यवान गहना(मणि/माणिक) हो ‘पुर’को अर्थ नगर, शहर तथा स्थान हो अर्थात गहनाको शहर तथा गहना रहेको स्थान हो । अर्को दृष्टिकोणका अनुसार ‘मणि’को अर्थ सूर्य हो र ‘पुर’को अर्थ स्थान हो अर्थात सूर्य रहेको स्थान । मणिपुर चक्रलाई नाभि चक्र र सूर्य चक्रको नामले पनि चिनिन्छ । पहिलो दृष्टिकोणमा भनिए अनुसार, मणिपुर चक्र मनुष्य शरीरको गहना नै हो किनकी मनुष्यको शरीरको नाभि तथा नाभि क्षेत्र भौतिक र पराभौतिक दुवै दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण भाग हो तथा बहुमूलय गहनाको स्थान हो । मणिपुर चक्रलाई मनुष्य शरीरलाई आवश्यक पर्ने ऊर्जाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण श्रोत केन्द्रको रुपमा मानिन्छ । नाभि क्षेत्रबाट नै स्थुल(शारीरिक) शरीर र सुक्ष्म(मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक) शरीरभरि प्राण उर्जा तथा जीवन उर्जाको संचार तथा वितरण हुन्छ । मणिपुर चक्रवाट प्रवाहित भएको प्राण उर्जाले भौतिक तथा पराभौतिक रुपमा मनुष्यको शरीर र शरीरका स्वास्थ्यका आयामहरु स्वस्थ, सक्रिय, स्फूर्त तथा सन्तुलित रहन्छन् र पराभौतिक रुपमा ब्रम्हाण्डका परालौकिक दिव्य उपलब्धिहरु  समेत अनुभूतिमा आउन थाल्छन् । दोस्रो दृष्टिकोणमा भनिए अनुसार, मणिपुर चक्र सूर्य रहेको स्थान हो किनकी नवग्रहमध्य सूर्य ग्रह र पंचतत्वमध्य अग्नि तत्व मणिपुर चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन्, अग्नि तत्वको मूलश्रोत सूर्य नै हो र मणिपुर चक्रको देवता पनि सूर्य नै हो तसर्थ मणिपुर चक्र सूर्य रहेको स्थान हो, त्यसैले यस चक्रलाई शरीरको उर्जाको मूलश्रोत(पावर हाउस) पनि भनिन्छ ।


मणिपुर तेस्रो चक्र हो, यो मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेको दोस्रो स्वाधिष्ठान चक्र भन्दा चार अम्मल माथि तथा नाभि भन्दा दुई अम्मल माथि शरीरको मध्य भाग(करंगको आसपास- डायफ्राम)को सिधा पछाडि मेरुदण्डको विचमा स्थित हुन्छ । मणिपुर चक्रलाई दशवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र ‘रं’ हो । मणिपुर चक्रले सात प्रमुख योगमध्य हठ योग, पंचकोषमा प्राणमय कोष, बाह्र राशिमा मेष र वृश्चिक राशि, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमध्य पाचन ग्रन्थी(पेंक्रियाज ग्ल्यान्ड)को प्रतिनिधित्व गर्दछ । मणिपुर चक्रको स्वरूप त्रिकोण आकारको हुन्छ । मणिपुर चक्रसंग अग्नि तत्त्वको प्रत्यक्ष सम्वन्ध भएकोले यो चक्र राजसिक गुणले सम्पन्न हुन्छ तथा राजसिक गुण भएको कर्म प्रधान पराक्रमी चक्र मानिन्छ । यो चक्रको रङ्ग पहेंलो हो, पहेंलो रंगलाई खुशी, स्फुर्ति, जोश, जाँगर, उत्साह, अठोट, पराक्रम, आशावादी, आत्मविश्वास आदिको प्रतिकको रुपमा मानिन्छ । मुख्य रूपमा मनुष्यका इच्छाशक्ति, संकल्पशक्ति, आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान आदि यस चक्रसँग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । मनुष्यको आँट, जोश, जाँगर, उत्साह, प्रेरणा, हिम्मत, साहस, जोखिम लिने क्षमता, निर्णय लिने क्षमता, प्रतिभा, रचनात्मकता, सिर्जनशीलता आदिमा मणिपुरचक्रको प्रत्यक्ष नियन्त्रण रहेको हुन्छ । शारीरिक अंगहरुमा ढाडको मध्य भाग, अगाडिको मध्य भाग तथा नाभि क्षेत्रका अंगहरु आमासय, ठूलो आन्द्रा, सानो आन्द्रा, पाचनक्रिया तथा पाचनप्रणाली, कलेजो, मृगौला आदि मणिपुर चक्र अन्तर्गत पर्दछन् ।


(१)मणिपुर चक्रको असन्तुलित अवस्थाका परिणामहरु

यदि मणिपुर चक्र सामान्य रुपमा असन्तुलित, निष्क्रय तथा कमजोर(पावर डाउन) भएको अवस्थामा छ भने मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्यका आयामहरुमा सामान्य प्रकारका लक्षण तथा प्रभावहरु देखा पर्दछन् र गंभिर रुपमा असन्तुलित, निष्क्रय तथा कमजोर भएकोछ भने गंभिर प्रकारकै लक्षण तथा प्रभावहरु देखा पर्दछन् । मणिपुर चक्रले शरीरको अग्नि तत्वलाई प्रतिनिधित्व गर्ने हुनाले यस चक्रको असन्तुलन तथा निष्क्रयताले सर्वप्रथम अग्नि उर्जासंग सम्वन्धित अंग तथा विषयहरुमा असन्तुलन पैदा हुन्छ र शरीर, मन, भावना, वुद्धि, चेतनामा अग्नि तत्वसंग सम्बन्धित शारीरिक तथा मानसिक समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् । मणिपुर चक्र तथा यस चक्रसंग सम्वन्धित नाभि र नाभिक्षेत्रका आन्तरीक अंगहरु अत्यन्त समवेदनशील हुन्छन् । मणिपुर चक्र असन्तुलित तथा निष्क्रय भएको छ भने नाभि क्षेत्र अझ कमजोर हुन्छ । यस क्षेत्रमा कुनै कारणवस केही घटना घट्यो, दवाब पर्यो तथा चोटपटक लाग्यो भने यो प्राणघातक पनि हुन सक्छ र मणिपुर चक्रको उर्जा प्रवाहमा नकारात्मक प्रभाव पर्छ । मणिपुर चक्रसंग मनुष्य शरीर संचालनका अति महत्वपूर्ण पंचवायुमध्य(प्राण, समान, उदान, अपान, व्यान) समान वायु प्रत्यक्ष रूपमा सम्वन्धित छ । समान वायु नाभिदेखि हृदय क्षेत्रसम्म रहन्छ, पाचन प्रणाली समान वायुद्वारा नियन्त्रित हुन्छ र समान वायुलाई मणिपुर चक्रले नियन्त्रण गर्छ । समान वायुको काम खाएको खाना पचाउने क्रिया अन्तर्गत पाचन प्रणाली तथा पाचन क्रियाद्वारा उत्पन्न भएको रस, पोषण तथा रगतलाई शरीरभरि अंगअंगमा आवश्यकता अनुसार समान रुपले पुर्याउनु तथा वितणर गर्नु हो । समान वायु मणिपुर चक्रको सन्तुलन/असन्तुलन तथा सक्रिय/निष्क्रय अवस्था अनुसार स्वस्थ तथा अस्वस्थ अर्थात आफ्नो काम सही ढंगले गर्नसक्ने तथा नसक्ने हुन्छ । मणिपुर चक्र असन्तुलित तथा निष्क्रय अवस्थामा छ भने समान वायुमा गडबडी हुन्छ, समान वायुमा गडबडी भयो भने पाचन प्रणालीमा गडबडी हुन्छ र भौतिक शरीरमा यससंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरु उत्पन्न हुन्छन् । मनुष्य शरीरको मध्य स्थान अर्थात नाभि क्षेत्रका आन्तरिक अङ्गहरू आमाशय, पाचनक्रिया तथा पाचन प्रणाली, ठूलो आन्द्रा, सानो आन्द्रा, कलेजो, मृगौला भएको यही महत्वपूर्ण स्थानमा समान वायु स्थित हुन्छ । यही हिस्सामा पाचन ग्रन्थी रहेको हुन्छ, यसको काम शरीरकोलागि आवश्यक पर्ने पाचन रस(पेंक्रियाज हर्मोन) उत्पादन गर्नु हो जसलाई इन्सुलिन भनिन्छ । पाचन रस तथा इन्सुलिनको उत्पादनमा असन्तुलन भयो भने सबै रोगहरुको जननी मधुमेह जस्तो घातक रोग उत्पन्न हुन्छ र शरीरका सबै अंगहरुमा यसको नकारात्मक प्रभाव पर्छ । मणिपुर चक्र असन्तुलन तथा निष्कृय अवस्थामा छ भने पाचन क्रिया असन्तुलन हुन्छ र यससंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरु खानामा रुची नहुने, पेटमा ग्यास भरिने, अम्लपित्त हुने, वाकवाक लाग्ने, पातलो दिशा लाग्ने, कब्जियत तथा मल निष्काशनमा समस्या देखिने, साथै गानो, शुल आदि प्रकारका अप्ठ्याराहरु शरीरमा देखा पर्दछन् ।


मणिपुर चक्र असन्तुलित निष्क्रय तथा जकडिएको अवस्थामा छ भने मनुष्यको मानसिक स्वास्थ्य तथा भावनात्मक अवस्थाहरुमा नकारात्मक प्रभावहरु देखा पर्दछन् । यस्तो अवस्थामा व्यक्तिलाई केही काम गर्ने उत्साह तथा प्रेरणा आउदैन; काम गर्ने इच्छाशक्ति, संकल्पशक्ति हराउँछ तथा कमजोर हुन्छ; नयाँ काम गर्ने आँट आउदैन; निर्णय लिने क्षमता कमजोर हुन्छ; कुनै पनि कार्य गर्न पर्याप्त जाँगर, उत्साह प्रेरणा हुदैन; जोखिम लिने क्षमता हुँदैन; वैचारिक, मानसिक तथा भावनात्मक असन्तुलन आउछ; काम गर्ने इच्छाशक्ति, संकल्पशक्ति, आत्मविश्वास, आत्मबल कमजोर हुदै जान्छ र व्यक्तिमा यस्तो अवस्था बढ्दै जादा उसको नाता-सम्वन्ध तथा जीवनशैलीमा समेत नकारात्मक प्रभाव पर्दछ । यस्तो अवस्थामा व्यक्तिको मानसिक शक्ति तथा भावनात्मक शक्ति अत्यन्तै कमजोर हुन्छ; ज्यादा उदासिनता छाउछ; नयाँ काम थाल्न जोखिम लिनै नसक्ने; काम गर्ने उत्साह हिम्मत, जोश, जाँगर, आँट विलकुल नहुने; जोखिम लिन मन नै नलाग्ने; सानो कुरामा पनि निर्णय लिन नसक्ने; सुरक्षित कामहरु मात्र गर्न खोज्ने; आफूले आफूलाई हरेक अप्ठयारा परिस्थितिहरुबाट बचाउन खोज्ने; अरु समक्ष जान नखोज्ने; अकारण तथा सानो कारणमै डराउने र आक्रोसित हुने; मानसिक तथा शारीरिक रुपले थकान हुने; घर वाहिर निस्किन, समूहमा घुलमिल हुन, अरूसंग कुराकानी गर्न, आफना कुरा भन्न तथा आफूलाई अरु समक्ष व्यक्त गर्न लज्जा हुने, हिच्किचाहट हुने; अरु समक्ष खासगरि धेरै मानिसको अगाडि प्रस्तुत हुन नसक्ने, बोल्न डराउने तथा आत्तिने(नर्भस); असहज मान्ने, बोल्नै नसक्ने प्रकारका प्रवृत्तिहरु व्यक्तिमा देखिन थाल्छन् । बिनाकारण कुनै विषय, घटना तथा वस्तुसंग अत्यन्तै घृणा तथा डर(फोबिया) लाग्ने जस्ता गंभिर प्रकारका समस्याहरु देखिन्छन् जसले व्यक्तिको व्यक्तिगत जीवन, पारिवारीक जीवन, नाता-सम्वन्ध, सामाजिक जीवन तथा उसको पुरै जीवनशैलीमै अपुरणिय प्रभाव तथा नोक्सान पार्न सक्दछ ।


(२)मणिपुर चक्रको सन्तुलित अवस्थाका परिणामहरु

मनुष्यको ऊर्जा मणिपुर चक्रमा सन्तुलित, सक्रिय तथा जाग्रित अवस्थामा रहेको छ भने व्यक्तिमा सबै प्रकारका काम गर्न सक्ने आँट, जोश, जाँगर, उत्साह, प्रेरणा पर्याप्त मात्रामा हुन्छ, यस्ता व्यक्ति राजसिक प्रकृतिका हुन्छन् र यस्ता प्रकृतिका व्यक्तिलाई कर्मयोगी भनिन्छ । मनुष्य शरीरको अत्यन्तै संवेदनशील क्षेत्र मणिपुर चक्र तथा नाभिक्षेत्र सम्पूर्ण शरीर र शरीरको स्वास्थ्यका आयामहरुको मूलकेन्द्र, मूलस्थान तथा धुरी हो । एकपटक मणिपुर चक्र राम्रोसंग तथा पूर्णरूपमा सन्तुलनमा आयो, सक्रिय तथा जाग्रित भयो भने व्यक्तिमा यस चक्रसंग सम्वन्धि सकारात्मक गुणका लाभहरु प्राप्त हुन थाल्छन् र शरीर र स्वास्थ्यका सबै आयामहरूलाई पूर्णरुपमा यसका धेरै लाभहरू प्राप्त हुन थाल्छन् । यसका साथै पराभौतिक संसारका परालौकिक दिव्य अनुभूतिहरु पनि अनुभूतिमा आउन थाल्छन् । मणिपुर चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएको व्यक्तिको शरीरका वाहिरी तथा आन्तरीक अंगहरु विशेषगरी यस चक्रसंग सम्वन्धित शारीरिक स्वास्थ्य मजबुत हुन्छ । शरीरको मध्य क्षेत्रमा पर्ने प्रमुख अंगहरु खासगरि पेट क्षेत्रसंग सम्वन्धित आमासय, ठूलो आन्द्रा, सानो आन्द्रा, पाचनक्रिया तथा पाचनप्रणाली, कलेजो, मृगौलाको स्वास्थ्य अवस्था राम्रो हुन्छ, शरीर बलिष्ठ, हट्टकट्टा, स्वस्थ, सक्रिय र फुर्तिलो हुन्छ र चेहरामा उज्यालो चमक भएको एकदम सुखी, खुशी, शान्त, आनन्दित, ठाडो शिर भएको गरिमामय व्यक्तित्व भएको देखिन्छ । यस्तो व्यक्तिको शरीर, मन, भावनामा प्रशस्त सकारात्मक उर्जा हुन्छ, फूर्तिलो, प्रोत्साहित र प्रेरणादायि हाउभाउ भएको, सबैप्रति सम्मानपूर्ण सदभाव व्यक्त गर्ने र व्यवहारमा प्रसस्त सन्तुलन भएको हुन्छ ।


मणिपुर चक्र सन्तुलित, सक्रिय तथा जाग्रित भएको व्यक्तिमा प्रमुख रुपमा आत्मविश्वास, आत्मसम्मान, आत्मशक्ति, इच्छाशक्ति, संक्ल्पशक्ति, निर्णय क्षमता, पराक्रमको प्रवलता हुन्छ । यस्तो व्यक्ति उत्साह, प्रेरणा, साहस, आँट, जोश, जाँगर, वीरता, कार्य पुरा गर्ने क्षमता, सही समयमा सही निर्णय लिनसक्ने क्षमता, जोखिम लिनसक्ने क्षमता, नयाँ केही गर्ने जागरूकताले भरिएको हुन्छ । मणिपुर चक्रको अग्नि तत्त्व तेज प्रधान भएकोले यो चक्रसंग सम्वन्धित माथि उल्लेखित क्षमता तथा प्रतिभाका प्रबलताहरु अझ फलिभूत हुदै जान्छन् र यसका  लाभहरु व्यक्तिको जीवनमा देखिन थाल्छन् । व्यक्तिको जीवनशैलीमा प्रभवाकारी परिवर्तन आउछ, उसको वाहिय व्यक्तित्वमा र आन्तरिक जीवनमा अद्भुत विकास हुन थाल्छ, जीवनमा सफलता आउन थाल्छ । व्यक्तिको शरीर, मन, भावना तथा चेतनामा स्वतःस्फुर्त यस चक्रका सकारात्मक गुणहरुको प्रवाह हुने भएकोले उसले जीवनका हरपाइलामा पराक्रम गर्दछ र सफलता हासिल गर्दछ । यस्तो व्यक्तिमा सही समयमा सही निर्णय लिने क्षमता बलियो हुन्छ र कुनै पनि गौरवपूर्ण काम गर्न स्वतः प्रोत्साहीत हुन्छ, उसलाई  आफैंबाट र अरुबाट उसाह, प्रोत्साहन तथा प्रेरणा मिल्छ र अरुलाई पनि हर कामकालागि प्रोत्साहित गर्छ । आफूले आफूलाई सम्मान गर्ने तथा प्रेम गर्ने, आफू जस्तो छु र आफूसंग जे छ, जस्तो अवस्था छ, धनसम्पत्ति, सुख-सुविधा, चिजवस्तु जे छ जति  छ त्यही अनुसार जस्ताको तस्तै आफूलाई स्वीकार गर्ने, आफूमा भएका क्षमताहरुलाई स्वीकार गर्ने र त्यही अनुसार आफ्नो जीवनशैली अगाडि बढाउने, हरपल आशावादी हुने, सबै व्यक्ति, विषय, घटना, परिस्थितिप्रति सकारात्मक भाव राख्ने प्रकारको हुन्छ । नियमित रुपमा व्यक्तिको मन तथा भावनामा यसप्रकारका सकारात्मक सोच, बानी, व्यवहारहरुको प्रवाह भइरहदा व्यक्तिमा सकारात्मक उर्जाको प्रवाह बढ्न थाल्छ र उसका माथि उल्लेखित सकारात्मक गुणहरूमा अझ बढि निखारता तथा परिपक्वता आउन थाल्छ र यस्तो अवस्थामा उत्पन्न हुने सकारात्मक उर्जाले मणिपुर चक्रलाई सन्तुलित, सक्रिय तथा जाग्रित हुन मद्धत गर्दछ ।


(३)मणिपुर चक्र सन्तुलित गर्ने उपाय

योगासन– धनुर आसन, नौका आसन, सर्वांग आसन, भुजंग आसन, हलासन, पश्चिमोत्तान आसन, अर्धमत्स्येन्द्र आसन। मयूर आसन आदिको अभ्यास गर्नु पर्दछ । 
प्राणायाम– कपालभाति, भस्त्रिका आदिको अभ्यास गर्नु पर्दछ ।
मुद्रा– सूर्य मुद्रा, अपान मुद्रा, प्राण मुद्रा आदिको अभ्यास गर्नु पर्दछ ।
बन्द– उडियान बन्द, पेटलाई भित्र खिचेर एक श्वासभरि त्यही अवस्थामा रहेर छोड्ने अभ्यास गर्नु पर्दछ । 
ध्यान– ‘ रं’ वीज मन्त्रको ध्वनि उच्चाहरण गर्दै तथा सुन्दै मन्त्रमा एकाग्र भएर ध्यान गर्नु पर्दछ । 
चक्रको रंगको कल्पना– पहेंलो रंग, पहेंलो रंगका फूल–फल–तरकारी, पहेंलो रंगका पहिरनको प्रयोग र ध्यान साधनामा रहदा यिनै विषयहरुको याद गर्नु पर्दछ ।
आनापान सती– लामो श्वास मणिपुर चक्रसम्म लिनु पर्दछ चक्रलाई याद गरेर र मणिपुर चक्रबाटै लामो गहिरो श्वास वाहिर छोड्नु पर्दछ ।
जीवनशैली– शुद्ध, ताजा, पोषणयुक्त आहार ग्रहण र पर्याप्त व्यायाम तथा विहार गर्नुका साथै विहानको सूर्यको ताप, प्रकाश, किरणको सम्पर्कमा आउनु पर्दछ विभिन्न प्रकारका काम तथा गतिविधिहरु गर्दै तथा फुर्सद निकालेर घाममा बसेर । संधै सकारात्मक सोच, विचार, भाव, बोलि, कर्म, व्यवहार, चरित्र तथा आचरण गर्नु पर्दछ ।

छिट्टै,
अनाहद चक्र मनुष्यको भावनात्मक स्थिरता तथा आन्तरिक शान्तिको मूल आधारशिला हो ।

शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...