#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
४५.सवाल
आनन्दमय कोशले मनुष्यको आत्मा अर्थात चेतनाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।
जवाफ
सनातन वेदको मूलसार पूर्णतः व्रज्ञानिक ग्रन्थ श्रीमद् भगवद गीतामा भगवान श्रीकृष्णले भन्नु भएकोछ, “मनुष्यको वास्तविक स्वरुप आत्मा हो र आत्माको मूलस्वरुप परमात्मा हो ।” मनुष्यको शरीरका पाँचवटै कोशहरुको प्रमुख उद्देश्य उसको वास्तविक स्वरुप आत्मा अर्थात चेतनाको उच्चतम विकास गरेर आत्मा अर्थात चेतनाको मूलस्वरुप परमात्मा अर्थात परमचेतनामा एकाकार गराउनु हो र यहीनै मनुष्य जीवनको अन्तिम लक्ष्य तथा उच्चतम उपलव्धि हो । योग साधनाको माध्यमबाट आनन्दमय कोश भन्दा वाहिरका चार प्रकारका कोशहरुको विकास हुदै जानेक्रममा विस्तारै मनुष्यको शरीर, प्राण, मन, भाव, वुद्धिको पनि विकास हुदै जान्छ, यहीक्रमसंगै आत्मा अर्थात चेतना विस्तारै सांसारिक भवसागरबाट मुक्त हुदै जान्छ र अन्ततः उसको आत्मा अर्थात चेतना त्यो अवस्थामा पुग्छ जहाँ केवल आन्तरिक शान्ति र आनन्द मात्र शेष रहेको हुन्छ । जव मनुष्यको शान्ति र आनन्द बढ्दै जान्छ, उ उच्चतम अर्थात परम+आनन्द=परमानन्द तथा सतचितआनन्दमा उपलव्ध हुन्छ । यही अवस्था नै आनन्दमय कोशको उच्चतम विकास तथा उपलव्धि हो, आनन्दमय कोश भन्दा माथि तथा यसको अतिरिक्त केही पनि बाँकी रहदैन, परमानन्द तथा सचिदानन्दमा उपलव्ध हुनु नै हरेक मानवको मनुष्य योनीमा जन्मनुको अन्तिम लक्ष्य हो । आनन्दमय कोशको पूर्ण विकास भएपछि हरेक मनुष्य उसको जीवनका सबै प्रकारका कठिनाइ, चुनौति तथा उतार–चढाउहरुबाट मुक्त हुन्छ र मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ, जन्म र मरणको दुःखदायी चक्र तथा सांसारिक जीवनको भवसागरबाट सदाकालागि पार हुन्छ र उसको इहलोक तथा परलोक दुवै सुदृढ हुन्छ । मनुष्यको आनन्दमय कोशलाई हृदय आकाश तथा कारण शरीर पनि भनिन्छ किनकी आनन्दमय कोशको पूर्ण विकास भएपछि उ प्रत्यक्ष रुपमा परालौकिकता र दिव्यताले भरिएको आफ्नै आन्तरिक जगतसंग पूर्णरुपमा एकाकार हुन्छ र उसको आन्तरिक जगत पराभौतिक जगतका रहस्यमय र चमत्कारिक दिव्य तथा परालौकिकताका अन्तरविषयहरु तथा ब्रम्हाण्ड सृष्टि हुनुको मूलकारण परमात्मा–परब्रम्ह–परमचेतनासंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ अनन्त अद्वेत स्वरुपमा ।
हरेक मनुष्यको शरीरका आयामहरुमा सबैभन्दा केन्द्रमा रहेको आनन्दमय कोशको पराभौतिक जगतका परालौकिक रहस्यमय विषयहरुसंग अत्यन्तै निकटको अद्वेत प्रकारको अन्तरसम्वन्ध रहेको भएपनि आनन्दमय कोश भन्दा वाहिरका अन्य चार प्रकारका कोशहरुको आवश्यक विकास नभएको कारण व्यक्तिलाई आनन्दमय कोशको वास्तविक अनुभव तथा अनुभूति हुदैन । अधिकांश मनुष्यहरुले आफ्नो आनन्दमय कोशलाई गहिराइमा बुझ्न तथा यो अवस्थाको वास्तविक अनुभव तथा अनुभूति कस्तो हुन्छ भनेर थाहा पाउन नसक्ने हुनाले उनीहरु पराभौतिक जगतका विषयहरुलाई काल्पनिक, मनगणन्त, कथा, अन्धविश्वास आदि मान्दछन् र केव आफ्ना पाँच ज्ञान इन्द्रियहरुले प्रत्यक्ष अनुभव गर्न सक्ने भौतिक जगत तथा सांसारिक जीवनप्रति विश्वास राख्ने र यसबाट प्राप्त हुने सुख, सुविधा, रमझम, मनोरञ्जनहरुको आनन्द प्राप्तिमा आशक्त भएर पूरा जीवन त्यसैको पछाडि लागिरहन्छन्, अज्ञानताका कारण जीवनको वास्तविक आन्तरिक शान्ति तथा पारमार्थिक परमआनन्द लिनबाट चुक्छन् र यही आन्तरिक शान्ति र पारमार्थिक परमआनन्द लिनकालागि बारबार जन्म र मरणको श्रृंखलामा घुमिरहन्छन् । किनकी हरेक मनुष्यले आफ्नमे जीवनबाट खोजेको वास्तविक, दिगो, आन्तरिक सुख, खुशी, शान्ति, आनन्द भौतिक जगतमा तथा वाहिरी संसारमा छैन, यो आफैंभित्र रहेको आफ्नो आन्तरिक जगत तथा आनन्दमय कोशमा अवस्थित रहेकोछ जुन आनन्दमय कोशको विकास पश्चात मात्र अनुभव गर्न सकिन्छ ।
सबैभन्दा केन्द्रमा रहेको आनन्दमय कोश भन्दा वाहिर रहेका चार प्रकारका कोशहरुले गर्ने वाहिरी संसारका सम्पूर्ण गतिविधि तथा कामहरु प्रत्यक्ष रुपमा आनन्दमय कोशसंग नै सम्वन्धित रहेका हुन्छन् किनकी मनुष्यका शरीर, प्राण, मन, भाव, वुद्धि सबै आनन्दमय कोश तथा आत्मा अर्थात चेतनाले आफूलाई प्रकट गर्ने साधन मात्र हुन्, साध्य त आत्मा अर्थात चेतनाको आध्यात्मिक विकास गर्नु र मोक्षमा उपलव्ध हुनु हो । आनन्दमय कोश जति विकसित हुन्छ, मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु त्यतिनै बढि सन्तुलित, व्यवस्थित र विकसित हुन्छन् । मनुष्यको सांसारिक र पारमार्थिक जीवन तथा इहलोक र परलोक सबै सहज तथा सुदृढ हुन्छन् । तर आनन्दमय कोशमा उपलव्ध हुन सबै मनुष्यहरुलाई त्यति सहज हुदैन, केही एक्का–दुक्का हरप्रकारले जीवन र जगतप्रति निष्ठावान योगी तथा साधकहरु मात्र यो अवस्थामा उपलव्ध हुन सक्छन् र आनन्दमय कोशको विकासबाट हासिल हुने परम शान्ति र परमानन्दको अनुभव गर्न सक्छन् किनकी आफूभित्र यस्तो आध्यात्मिक अवस्था हासिल गर्न मनुष्यको पारमार्थिक तथा पराधौतिक जीवनले उसको भौतिक तथा सांसारिक जीवनको लामो समय, निष्ठा, सात्विकता, लगनशिलता, इमान्दारिता, वितरागी जीवनशैली, निष्काम कर्महरु र निरन्तर तप तथा साधनाको माग गर्दछ । मनुष्यका शरीरका सबै कोश तथा शरीरका सबै आयामहरुको सहि व्यवस्थापन तथा उच्चतम विकास गर्नकालागि सन्तुलित जीवनशैली अर्थात सहि आहार–विहार–विचार अपनाएर र योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरु– यम, नियम, योगासन, प्राणायाम, क्रिया, वन्द, मुद्रा, प्रत्याहार, धारणा, ध्यान, समाधिलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गर्नु अत्यावश्यक हुन्छ । सनातन अध्यात्म दर्शनको प्रमुख विद्या योग विज्ञान अत्यन्तै विहंगम विषय हो, योग साधनाको शुरुआति चरणमा योगासन, प्राणायाम र ध्यानको प्रयोगात्मक अभ्यास गर्न प्रारम्भ गरेर विस्तारै क्रमिक रुपमा योग विज्ञानका दार्शनिक अन्तरविषयहरुमा प्रवेश गरेर आफ्नो आत्मा अर्थात चेतनाको उच्च्तम विकास गरेर आनन्दमय कोशमा उपलव्ध हुन सकिन्छ । सनातन योग साधनाका अन्तिम सिढि ध्यान र समाधिको गहन अवस्थाहरुमा साधक आनन्दमय कोशमा उपलव्ध हुन्छ र उ स्वस्फुर्त मौनको अवस्थामा पुग्छ, जुन परब्र्रम्ह र उसले सृष्टि गरेको ब्रम्हाण्डको अलौकिक भाषा हो किनकी मौनमा मात्र परमात्मा प्रकट हुन्छ जहाँ केवल परमशान्ति र परमानन्द मात्र रहेको हुन्छ । यो अवस्थामा साधकले आफ्नो कारण शरीर तथा आफू हुनुको, आफ्नो अस्तित्वको अन्तिम विन्दु तथा अद्वेत परमचेतनाको महासागरको प्रत्यक्ष अनुभूति गर्दछ जुन समुच्चा ब्रम्हाण्ड सृष्टिको मूलकारण तथा मूलश्रोत हो र परब्रम्ह तथा ब्रम्हाण्डका यी अन्तरवस्तुहरुबारे जान्नुनै सदाकालागि मुक्ति, वास्तविक मोक्ष, निर्वाण तथा इटरनल लिवरेसन हो ।
छिट्टै,
तत्व विज्ञानका अन्तरविषयहरुले जीवनका सबै आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment