Saturday, 17 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४०

                                        #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

विज्ञानमय कोशले मनुष्यको वुद्धि-विवेक तथा प्रज्ञाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।    

जवाफ

विज्ञानमय कोशको सांसारिक पाटो

मनुष्यको मनोमय कोशसम्म दैनिक जीवनयापनका गतिविधिहरुको सम्वन्ध तथा सरोकार बढि रहेको हुन्छ र विज्ञानमय कोशदेखि वुद्धि, विवेक, ज्ञान, प्रज्ञा, अन्तरज्ञानको विकास हुन प्रारम्भ हुन्छ । मनुष्यको उमेर १५ देखि २० वर्षको उमेरमा उसको विज्ञानमय कोशको विकास हुन प्रारम्भ हुन्छ २१ वर्षासम्म र २१ वर्षपछि आनन्दमय कोशको विकास हुन प्रारम्भ हुन्छ । विज्ञानमय कोश ज्ञान, वुद्धि, विवेक, वुद्धिमत्ता, प्रज्ञा, अन्तरज्ञानसंग सम्वन्धित रहेको हुन्छ र हरकोही व्यक्तिकालागि विज्ञानमय कोशका आयामहरुलाई बुझ्न त्यति सहज हुदैन, यसकारण आम मनुष्यहरुलाई विज्ञानमय कोशको आभास अत्यन्तै कम हुन्छ । विज्ञानमय कोश तथा यसका अन्तरवस्तुहरुलाई सहज ढंगले जान्नकालागि निष्ठापूर्वक योग साधना गरेर मनुष्य मनोमय कोश तथा मन र भावको पारि पुगेको हुनुपर्दछ तवमात्र उसलाई आफ्नो आत्मा अर्थात चेतनाबारे अन्तरज्ञान तथा वास्तविक ज्ञान हासिल गर्न र विज्ञानमय कोशका अन्तरविषयहरु महसुस गर्न सक्दछ । विज्ञानमय कोशको वास्तविक अनुभव योग साधनाका निष्ठावान योगी, साधक, सन्त तथा चैतन्य चेतनाहरुले मात्र स्पष्टरुपमा गर्न सक्दछन् । जो मनुष्य आफ्नो अन्तरज्ञान तथा प्रज्ञाको विकास गरेर विज्ञानमय कोशलाई राम्ररी बुझेर आफ्नो जीवनमा यसको उचित उपयोग गर्दछ उ यस जन्म र सबै पुनरजन्महरुमा अन्तरज्ञान तथा प्रज्ञामा उपलव्ध हुन्छ । उसलाई ब्रम्हाण्डका पराभौतिक तथा अलौकिक दिव्य विषयहरुको अन्तरज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हुन्छ । अन्तरज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानमा उपलव्ध भएका योगी, साधक, सन्त तथा चैतन्य चेतनाहरु आफ्नो, अरुको र जगतको भूत–वर्तमान–भविश्य सबै देख्न तथा सजिलै थाहा पाउन र सर्वकल्याणकालागि सहि निर्णय लिन तथा उचित निर्ण दिन सक्षम हुन्छन् ।  


विज्ञानमय कोशले सहि–गलत, राम्रो–नराम्रो छुट्याउछ । योग विज्ञान अन्तर्गत रहेको अष्टांग योगको दोस्रो अंगको अन्तरविषय स्वाध्याय साधनाको माध्यमबाट विज्ञानमय कोशको विकास सहजै गर्न सकिन्छ । स्वाध्याय आफूभित्रको अन्तरयात्रा गरेर आफ्ना सबै प्रकारका आन्तरिक गतिविधिहरुलाई विस्तारपूर्वक नजिकबाट सुक्ष्म ढंगले नियालेर आफ्नोबारे जान्ने प्रक्रिया हो । आफ्नो मनको रोजाइ, भावनात्मक संवेग तथा संवेगको प्रवाह, नीजि लाभ भन्दा माथि उठेर सबैकोलागि लाभदायक हुने प्रकारका कल्याणकारी निर्णय लिन सक्नु मनुष्यको विज्ञानमय कोशको विकास भएको लक्षण तथा अवस्था हो । विज्ञानमय कोशले मनुष्यको जीवनलाई सहि दिशा प्रदान गर्दछ किनकी जव मनुष्य स्वयंले आफ्नो तथा आफूसंग सम्वन्धित विषयहरुको सन्दर्भमा राम्रोसंग सहि–गलत, राम्रो–नराम्रो, सकारात्मक–नकारात्मक छुट्याउन सक्छ तवमात्र उसको जीवनका सबै आयामहरुको सहि व्यवस्थापन र उच्चतम विकास हुन सम्भव हुन्छ । विज्ञानमय कोशमा पुगेपछि बल्ल मनुष्य र प्राणीहरुको भेद छुट्टीन्छ किनकी हरेक प्राणीहरुको जीवनचक्र अन्नमय कोश, प्राणमय कोश र मनोमय कोशकै आधारमा चलिरहेको हुन्छ गास, वास, सहवास, सुरक्षा, मानप्रष्ठिा, प्रेम आदि सांसारिक जीवनका अन्तरविषयहरु अन्तर्गत रहेर तर विज्ञानमय कोश चेतनाको विकास हो र ज्ञान, वुद्धि, विवेक, प्रज्ञा, अन्तरज्ञान चेतनाका अन्तरवस्तुहरु हुन् । ज्ञान, वुद्धि, विवेक, प्रज्ञा, अन्तरज्ञान तथा चेतनाको विकास अरु प्राणीहरुमा हुदैन केवल मनुष्य मात्रमा हुने गर्दछ किनकी जीवन विकासको अन्तिम योनी मनुष्य चोला हो र मनुष्य चोलाको अन्तिम र एकमात्र लक्ष्य तथा उद्देश्य योग साधना(योगासन, प्राणायाम, ध्यान)को माध्यमबाट चेतनाको उच्चतम विकास गरेर आफूमा आध्यत्मिक पात्रता जगाएर अधि+आत्मा=अध्यात्म अर्थात परम+आत्म=परमात्मामा योगस्थ, साक्षतकार तथा एकाकार हुनु र मोक्षमा उपलव्ध हुनु होे । 


विज्ञानमय कोशको परामार्थिक पाटो

मनुष्यको चेतनाले पृथ्वीलोकमा जन्म लिनकालागि सुक्ष्मसंसार, आत्मलोक तथा पराभौतिक जगतबाट नै आफ्नो चैतन्य चेतनाको वुद्धिमत्ताले लिंग, शरीर, माता–पिता, परिवार, समुदाय, सम्प्रदाय, भूगोलको छनौट गर्दछ र मनुष्यको चैतन्य चेतना विज्ञानमय कोशको अभिन्न अंग हो । मनुष्यले धर्तीमा जन्मेर हुर्कदै जानेक्रममा आफू र आफ्नो जीवनबारे बुझ्ने भएपछि गर्ने सबै रोजाइ, छनौट तथा निर्णयहरु विज्ञानमय कोशकै माध्यमबाट लिने गर्दछ । उसको रोजाई सहि भयो भने मात्र जीवन सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दमय बन्नसक्छ र उसको इहलोक र परलोक दुवै सुदृढ हुनसक्छ । पारमार्थिक तथा आध्यात्मिक जीवनको दृष्टिकोणबाट विज्ञानमय कोश मनुष्यको चैतन्य चेतनासंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको कोश हो जसले चेतनाका सबै अन्तरविषयहरु अति सुक्ष्मरुपमा जान्दछ जुन हाम्रो चेतन मनले जानेको हुदैन तथा जान्न नै सक्दैन जति प्रयत्न गरेपनि किनकी चेतन चेतनाको दायरा सिमीत हुन्छ तर चैतन्य चृतना तथा विज्ञानमय कोशको दायरा अनन्त हुन्छ जुन ब्रम्हाण्डको परमचेतना(सुपर कन्सस) तथा अस्तित्वसंग अभिन्न भएर जोडिएको हुन्छ, अद्वेत हुन्छ । विज्ञानमय कोशले मनुष्यको अर्धचेतन तथा पूर्णचेतन मनमा(सब कन्सस एण्ड सुपर कन्सस) उसका जन्म–जन्मका जीवनका अनुभव, स्मृति तथा संस्कारहरुका बारेमा सबैकुरा विस्तारमा जान्दछ । निष्ठापूर्वक गरिने योग साधनाको माध्यमबाट विज्ञानमय कोशमा प्रवेश पाउन सकिन्छ र विज्ञानमय कोशमा प्रवेश गरेपछि साधकको दिव्य चक्षु तथा आज्ञा चक्र खुल्न प्रारम्भ हुनेहुनाले साधकलाई आफ्नो पूर्वजन्मका स्मृतिहरु क्रमिक रुपमा जानकारीमा आउन थाल्छन्, साधक आफ्ना पूर्वजन्महरु देख्न सक्षम हुन्छ, यसकासाथै निकट भविश्य र दुरको भविश्यमा के हुनेवाला छ भन्ने जानकारी समेत अन्तरज्ञान मार्फत उसलाई विस्तारमा ज्ञात हुन्छ । विज्ञानमय कोशमा मनुष्यका वर्तमान जन्मका क्रियमाण कर्म र पूर्वजन्मका संचित र प्रारव्ध कर्महरुका खाताहरु संग्रहीत भएर रहेका हुन्छन् । 


सबै कोशहरुको अन्तिम लक्ष्य मनुष्यको आत्मा अर्थात चेतनाको उच्चतम विकास गर्नु हो र अहंकार मनुष्यको आत्मा अर्थात चेतनाको विकासको प्रमुख वाधा हो । विज्ञानमय कोशको विकास प्रक्रियासंगसंगै मनुष्यको अहंकार कम हुदै जान्छ र यो कोषको विकास भैसकेपछि मनुष्य पूर्णतः निरअहंकारितामा उपलव्ध हुन्छ र उसलाई आनन्दमय कोशमा प्रवेश मिल्छ । आनन्दमय कोशको विकाससंगै साधक परमानन्दमा उपलव्ध हुन्छ र उसको भौतिक जीवनका सबै कठिनाइहरु सकिन्छन्, सांसारिक जीवनको भवसागरबाट पार हुन्छ, मोक्षमा उपलव्ध हुन्छ सदाकालागि ब्रम्हाण्डमा प्रकाश स्वरुप भएर रहन्छ । 


छिट्टै,

आनन्दमय कोशले मनुष्यको आत्मा अर्थात चेतनाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।



                                                                      शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


                                             

No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ४०

                                          #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान               सवाल जवाफ श्रृंखला सवालकर्तालाई धन्य...