Tuesday, 13 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३६

                                 #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

.सवाल

कोष विज्ञानका अन्तरविषयहरुले जीवनका सबै आयामहरुलाई व्यवस्थित गर्न मद्धत गर्दछ

जवाफ

संस्कृत वांगमयको शव्द ‘कोश’ का शाव्दिक अर्थ तथा परिभाषाहरु विभिन्न रहेका भएपनि सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग दर्शनको कोश विज्ञान अन्तर्गत यसको अर्थ तथा परिभाषा ‘तह तथा परत’को अर्थमा लगाइएको छ । सनातन अध्यात्म दर्शनका मूलग्रन्थ तथा विज्ञानहरुका अनुसार मनुष्यको वास्तविक स्वरुप परमात्मा अर्थात परमचेतनाको अभिन्न अंश आत्मा अर्थात चेतना हो । आत्मा अर्थात चेतनाका पाँच प्रमुख कोश, तह तथा परतहरु रहेका छन् र आत्मा सबैभन्दा भित्र केन्द्रमा रहेको छ, यसैकारण मनुष्यको शरीरलाई पंचकोशिय शरीर भन्ने गरिन्छ किनकी मनुष्यको समग्र शरीर निम्न पाँच प्रकारका कोशहरुको समिश्रणबाट निर्मित भएको छ– (१)अन्नमय कोश तथा शारीरिक शरीर, (२)प्राणमय कोश तथा प्राणीक शरीर, (३)मनोमय कोश तथा मानसिक–भावनात्मक शरीर, (४)विज्ञानमय कोश तथा वौद्धिक शरीर, र (५)आनन्दमय कोश तथा आत्मिक अर्थात चेतनात्मक शरीर ।


मनुष्यको वास्तविक स्वरुप आत्मा अर्थात चेतना सबैभन्दा भित्र तथा केन्द्रमा रहेको छ जसलाई आनन्दमय कोश भनिन्छ । आनन्दमय कोश भन्दा वाहिर विज्ञानमय कोश रहेको छ, विज्ञानमय कोश भन्दा वाहिर मनोमय कोश रहेको छ, मनोमय कोश भन्दा वाहिर प्राणमय कोश रहेको छ, र प्राणमय कोश भन्दा वाहिर अन्नमय कोश तथा शारीरिक शरीर रहेको छ । मनुष्यको शरीरका तह, परत तथा आयामहरुलाई उदाहरणले बुझ्न प्याजको गानो तथा केराको थामलाई लिन सकिन्छ, जसरी प्याजको गानो तथा केराको थाममा वाहिरबाट भित्र तह–तह तथा परतभित्र परतहरु रहेका हुन्छन् र केन्द्रमा गुबो तथा चुरो रहेको हुन्छ त्यसैगरि मनुष्यको शरीरका तहहरु पनि कोश तथा परतहरुले बनेका छन् र सबैभन्दा भित्र तथा केन्द्रमा गुभो तथा चुरोका रुपमा आत्मा अर्थात चेतना रहेको छ आनन्दमय कोशको रुपमा । मनुष्यको आत्माको मूलस्वरुप प्रकाश हो तर यसको वाहिर क्रमशः विज्ञानमय, मनोमय, प्राणमय र अन्नमय कोशका परतहरु रहेकाले सामान्य मनुष्यले आत्माको वास्तविक तथा मूलस्वरुप प्रकाशलाई देख्न तथा अनुभव सक्दैन । निष्ठापूर्वक योग साधना गर्ने योगी तथा अध्यात्म साधक जसले आत्मा अर्थात चेतनाको विकास गरेर कोशका यी परतहरुलाई भेदन गरेको छ उसले मात्र आफ्नो आत्माको वास्तविक तथा मूलस्वरुप प्रकाशलाई देख्न तथा अनुभव गर्न सक्दछ ।


पंचकोश र सामान्य बुझाई

आम मनुष्यहरुको बुझाइमा ‘म’ तथा ‘आफू’ भनेको केवल शारीरिक शरीर हुँ भन्ने गलत बुझाई रहदै आएको छ । सनातन ज्ञान, विज्ञानका अन्तरविषयहरुको अज्ञानताका कारण केवल दृश्यमा रहेको शारीरिक तथा स्थुल शरीर तथा अन्नमय कोशनै आफू हो भन्ने गलत बुझाइ तथा भ्रम रहदै आएको हो । यही भ्रमका कारण अधिकांश मनुष्यहरु दृश्यमा रहेको यही देखिने शरीरलाई नै जतिसक्दो ख्वाउने, प्याउने, सेवा–सुविधा प्रदान गर्ने, पहिर्याउने, सिगार्ने तथा जतसिक्दो राम्रो देखाउने प्रयासमा तल्लीन रहेका छन् र यति गरे जीवन सहज तथा सरल ढंगले चलिहाल्छ भन्ने भ्रममा आफ्नो जीवनको अमूल्य समय खर्च गरिरहेका तथा खेर फालिरहेका छन् । यो अधूरो तथा अपूर्ण बुझाई हो, वास्तविकतामा अन्नमय कोश तथा शारीरक शरीर मनुष्यका कोश तथा हरीरका तह तथा परतहरुको सबैभन्दा वाहिरी हिस्सा तथा आयाम हो, यसभित्र अझै चार प्रकारका परत तथा आयामहरु रहेका छन् र ती सबै ‘म’ तथा ‘आफू’लाई प्रतिनिधित्व गर्ने तह तथा  प।तहरु हुन् जो शारीरिक शरीरको माध्यमबाट वाहिरी संसारमा अभिव्यक्त हुन्छन्, यसकारण शारीरिक शरीर तथा अन्नमय कोश आत्मा तथा आत्माका अरु चार प्रकारका कोश तथा सुक्ष्म आयामहरु वाहिरी संसारमा अभिव्यक्त हुन मद्धत गर्ने साधन तथा माध्यम मात्र हो । दृश्यमा रहेको शारीरिक शरीर तथा अन्नमय कोश भन्दा यसभित्र रहेका अदृश्य शरीर तथा कोशहरु अझ महत्वपूर्ण र शक्तिशाली हुन्छन् । अन्नमय कोशभित्र रहेका अदृश्य कोश तथा सुक्ष्म शरीरहरु सन्तुलित, व्यवस्थित तथा विकसित भए मात्र अन्नमय कोश तथा शारीरिक शरीरको सहि उपयोग हुन सक्दछ तथा शारीरिक शरीरको मूल्य तथा महत्व रहन्छ किनकी मनुष्यको शारीरिक शरीर केवल जन्म–जन्मको यात्रामा रहेको मनुष्यको आत्माको सवारी साधन मात्र हो जसमा आत्माको वास्तविक मूलस्वरुप प्रकाश अर्थात ठूला ‘म’ सवार भएको हुन्छ र यसले सानो म अर्थात शरीरलाई आफ्नो किसिमले चलाउदछ तथा आफ्नो नियन्त्रणमा राख्दछ । यसकारण अन्नमय कोश तथा शारीरिक शरीरलाई ‘म’ तथा ‘आफू’ मान्नु मनुष्यको केवल अहंकार र अज्ञानता मात्र हो किनकी वास्तविकतामा शारीरिक शरीर आत्माकै फैलावट तथा वाहिरी परत हो जुन आत्माको सन्तुलन, तथा विकास राम्रो भएको छ भने मात्र उच्चतामा वाहिरी संसारमा प्रकट हुन्छ दृश्य स्वरुपमा आफ्नो र अरु सबैको अनुभवमा आउने गरि । वास्तविक ‘म’ केवल मनुष्यको आत्मा अर्थात चेतना हो जो आनन्दमय कोश हो, बाँकी सबै कोश तथा शरीरहरु आत्मा अर्थात चेतनाका साधनहरु मात्र हुन् जसको माध्यमबाट आत्मा अर्थात चेतना वाहिरी संसारमा आफ्नो प्रकारले अभिव्यक्त तथा मुखरीत हुन्छ ।


सबै कोश तथा शरीरहरुको आ–आफ्नै प्रकारका काम र महत्व भएपनि यी सबै एक अर्काका परिपुरक हुन्छन् किनकी कुनै एक कोशको अभाव तथा असन्तुलन भएको अवस्थामा अर्का कोश तथा शरीरहरुले आ–आफ्ना काम तथा गतिविधिहरु राम्ररी गर्न सक्दैनन् । शारीरिक शरीर तथा अन्नमय कोशबिना प्राणमय कोश तथा प्राणीक शरीर, मनोमय कोश तथा मानसिक शरीर, विज्ञानमय कोश तथा वौद्धिक शरीर, आनन्दमय कोश तथा आत्मिक शरीरको केही अर्थ तथा महत्व रहदैन र यी कोशहरुबिना अन्नमय कोश तथा शारीरिक शरीरको केही अर्थ तथा महत्व रहदैन किनकी प्राण, मन तथा भाव, वुद्धि तथा ज्ञान, आत्मा अर्थात चेतनाको सन्तुलित तथा विकसित अवस्थामा मात्र अन्नमय कोश तथा शारीरिक शरीरले राम्ररी आफ्ना काम तथा गतिविधिहरु गर्न सक्दछ र अन्नमय कोश तथा शारीरिक शरीर सन्तुलित तथा विकसित छ भने मात्र यसभित्रका अरु कोश तथा शरीरहरु वाहिरी संसारमा अभिव्यक्त भएर आफ्ना काम तथा गतिविधिहरु राम्ररी गर्न सक्दछन् । सबै कोश तथा शरीरहरुको उत्तिकै तथा क्रमशः अझ बढि–बढि महत्व रहेको भएपनि सनातन अध्यात्म दर्शनले अन्नमय कोश तथा शारीरिक शरीरलाई विशेष महत्व तथा प्राथमिकता प्रदान गरेको छ, सनातन शास्त्रहरुमा भनिएको छ, “शरीर माध्यम खलु धर्म साधनम कर्म वा । अर्थात शरिरीक शरीर सबै धर्म र कर्म साधनाको माध्यम हो ।”


छिट्टै,

अन्नमय कोषले शारीरिक शरीरको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।

शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ






No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...