Wednesday, 14 January 2026

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३७

                                    #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान        



    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

४२.सवाल D

अन्नमय कोषले शारीरिक शरीरको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।

जवाफ

अन्नमय कोशको शाव्दीक अर्थ अन्नबाट युक्त तथा अन्न ग्रहण गरेर निर्माण भएको परत तथा तह हो । मनुष्यको शारीरिक तथा स्थुल शरीर उसले दैनिक रुपमा ग्रहण गरेको भोजनबाट निर्मित भएको हुन्छ त्यसैले यो अन्नमय कोश हो र यो मनुष्य शरीरको सबैभन्दा वाहिर दृश्य रुपमा रहेकोे परत तथा तह हो । मनुष्यको शारीरिक शरीर लगायत ब्रम्हाण्डमा स्थित सबै पदार्थ तथा दृश्य विषयवस्तुहरु अन्नमय कोशका हिस्सा हुन्  किनकी ती सबै ब्रम्हाण्डमा स्थित रहेका अर्काथरिका प्रदार्थहरुबाट युक्त भएका तथा निर्मित भएका हुन्छन् । मनुष्यको भौतिक शरीर(मांसपेशी, अस्थि, अस्थिमज्जा, नशा, रगत आदि) अन्नहरुको सेवनबाट निर्मित भएको हुन्छ र अन्न ब्रम्हाण्ड तथा प्रकृतिको स्थुल भाग पृथ्वीमा उत्पादन हुन्छ, यसकारण अन्नमय कोशले पृथ्वी तत्वको प्रतिनिधित्व गर्दछ । मनुष्यको वास्तविक स्वरुप आत्मा अर्थात चेतना हो, आत्मा अर्थात चेतना मनुष्यका कोश तथा शरीरका आयामहरुको सबैभन्दा केन्द्र तथा चुरो भागमा स्थित रहेको हुन्छ र यो विभिन्न कोश तथा तहहरु, केन्द्रबाट वाहिर क्रमशः आनन्दमय(चेतना) कोश, विज्ञानमय(प्रज्ञा) कोश, मनोमय(मन, भाव) कोश, प्राणमय(जीवन उर्जा) कोश र सबैभन्दा वाहिरी तह तथा परत अन्नमय(दृश्य शरीर) कोशको माध्यमबाट वाहिरको संसारमा अभिव्यक्त तथा प्रकट हुन्छ उर्जा, विचार, भावनात्मक संवेग, तर्क तथा योजना, अन्तरज्ञान, संकल्प, आस्था आदिका रुपमा । मनुष्यको शरीरका पाँच आयाम तथा कोशहरु मध्य एउटा आयाम तथा कोश हो अन्नमय कोश तथा शारीरिक शरीर । सनातन अध्यात्मका अनुसार यी सबै कोश तथा शरीरका आयामहरुको आ–आफ्नै प्रकारका काम, गतिविधि, प्रभावकारिता तथा महत्व रहेका छन् र सबै एकसेएक महत्वपूर्ण र शक्तिशालि रहेका छन् । शरीरको बल, उर्जा तथा प्रभावकारिता भन्दा प्राण उर्जाको बल, उर्जा तथा प्रभावकारिता सयौं गुणा बढि रहेको मानिन्छ; प्राण उर्जाको बल, उर्जा तथा प्रभावकारिता भन्दा मन र भावको बल, उर्जा तथा प्रभावकारिता हजारौं गुणा बढि रहेको मानिन्छ; मन र भावको बल, उर्जा तथा प्रभावकारिता भन्दा प्रज्ञा तथा अन्तरज्ञानको बल, उर्जा तथा प्रभावकारिता दशौं हजार गुणा बढि रहेको मानिन्छ; र प्रज्ञा तथा अन्तरज्ञानको बल, उर्जा तथा प्रभावकारिता भन्दा आत्मा अर्थात चेतना तथा चैतन्यताको बल, उर्जा तथा प्रभावकारिता लाखौं गुणा बढि रहेको मानिन्छ । 


जुन कोश तथा आयामको जति बल, उर्जा, प्रभावकारीता र महत्व भएपनि यी सबै एकअर्काका अनन्य परिपूरक हुन्, एक कोशको कमजोरी तथा अनुपस्थितिमा अर्को कोशले आफ्नो काम तथा गतिविधि राम्ररी गर्न सक्दैनन् किनकी मनुष्य भनेको केबल शरीर, केवल जीवन उर्जा, केवल मन तथा भाव, केवल वुद्धि, र केवल आत्मा अर्थात चेतना मात्रले बनेको होइन यी सबै कोश तथा तत्वहरुको समिश्रणको समग्र स्वरुप हो । पाँच कोश मध्य चार कोशहरु अदृश्य तथा सुक्ष्म स्वरुपमा छन्, केवल अन्नमय कोश मात्र दृश्य तथा स्थुल स्वरुपमा छ र बाँकी चार प्रकारका सुक्ष्म कोशहरु अन्नमय कोशबाट वाहिरको संसारमा अभिव्यक्त तथा प्रकट हुन्छन् । अन्नमय कोशबिना बाँकी चार प्रकारका कोश तथा सुक्ष्म शरीरहरुको कुनै अस्तित्वनै रहदैन र चार प्रकारका कोश तथा सुक्ष्म शरीरहरुबिना अन्नमय कोश तथा शारीरिक शरीर पूर्णतामा वाहिरी संसारमा अभिव्यक्त हुन सक्दैन, यसकारण यी सबै एकआपसका परिपूरक हुन् र सबैको समान प्रभावकारिता तथा महत्व रहेको हुन्छ । मनुष्यको चार प्रकारका कोशहरु सबैभन्दा वाहिरी कोश तथा तह अन्नमय कोश तथा शारीरिक शरीरको माध्यमबाट मात्र वाहिरी संसारमा अभिव्यक्त हुन सक्ने भएकोले सनातन ज्ञान अध्यात्म विज्ञान, योग विज्ञान, कोश विज्ञान, तत्व विज्ञान, ग्रन्थी विज्ञान तथा आधूनिक विज्ञान सबैले मनुष्यको स्थुल शरीर तथा अन्नमय कोशलाई विशेष प्रकारले महत्व तथा प्राथमिकता प्रदान गरेका छन् । 


आजभन्दा हजारौं वर्षअघि रचना गरिएका सनातन अध्यात्म विज्ञानका शास्त्र तथा आध्यात्मिक साहित्यहरुमा भनिएको छ, “शरीर माध्यम खलु धर्म साधनम कर्म वा ।” अर्थात मनुष्य यस धर्तीमा सबैको कल्याण हुने सकारात्मक धर्म र कर्मका कार्य तथा गतिविधिहरु गरेर, आफ्नो शरीर, मन, प्राण, भाव, वुद्धि, चेतना शुद्ध गरेर, आफ्नो वास्तविक स्परुप आत्माको वोध तथा ज्ञान र आफ्नो आत्माको पनि वास्तविक मूलस्वरुप परमात्मा साक्षातकार गरेर आफूलाई मोक्षमा उपलव्ध गराउन तथा जन्म र मृत्युको दुःखदायी चक्र तथा सांसारिक जीवनको भवसागरबाट सदाकालागि पार हुन आएको हो र उसले गर्ने धर्म र कर्मका सबै प्रकारका क्रिया तथा गतिविधिहरु सुक्ष्म कोश तथा शरीरहरुको सशक्त सहायतामा अन्नमय कोश तथा शारीरिक शरीरको माध्यमबाट गर्दछ यसकारण शारीरिक शरीर तथा अन्नमय कोश अधिक महत्वपूर्ण छ र यहीनै सांसारिक मुक्ति तथा पारमार्थिक मोक्षको पहिलो आधार हो । मनुष्यले शारीरिक शरीरको माध्यमबाट अध्यात्म, योग तथा ध्यान साधना नगरिकन उसको प्राण उर्जा, मन तथा भाव, वुद्धि, आत्मा अर्थात चेतनाको शुद्धिकरण तथा विकास हुन सक्दैन र उसको जन्मको मूल उद्देश्य धर्म तथा कर्मका गतिविधिहरु गर्ने अनिवार्य कार्य पूरा हुन सक्दैनन् तसर्थ हरेक मनुष्यले आफ्नो अन्नमय कोश तथा शारीरिक शरीरको स्वास्थ्य, शुद्धता, सन्तुलनता तथा विकासका लागि अत्यावश्यक आहार–विहार–व्यवहार, उपचार, हेरविचार, सुख, सुविधा आदिको व्यवस्था पर्याप्त मात्रामा गर्नु अपरिहार्य हुन्छ । तर अन्नमय कोश तथा शारीरिक शरीर सबै धर्म रकर्महरु गर्ने एकमात्र प्रमुख माध्यम तथा मूलआधार हो भन्दैमा यसैको मात्र हेरविचार तथा विकासमा लागिपर्नु भन्ने कदापि होइन जुन वर्तमान समयमा हिजोआजका मनुष्यकहरुमा देखिदै आइएको छ, उनीहरु म तथा आफू भनेको केवल यही शारीक शरीर तथा अन्नमय कोश मात्र हो भन्ने मानेर यसैको मात्र हरप्रकारले स्याहार, हेरविचार तथा उपचार गर्दै आइरहेका छन् तर यो अपूर्ण तथा असन्तुलित अवस्था हो । जीवनलाई पूर्ण, सन्तुलित, व्यवस्थित तथा हरप्रकारले विकसित बनाउन हरेक मनुष्यले अन्नमय कोश तथा शारीरक शरीरको हेरविचार तथा विकासको साथ प्राणमय कोश तथा प्राणीक शरीर(जीवन उर्जा), मनोमय कोश तथा मानसिक र भावनात्मक शरीर(मनोविज्ञान), विज्ञानमय कोश तथा वौद्धिक शरीर(ज्ञान, प्रज्ञा) र आनन्दमय कोश तथा अत्मिक अर्थात चेतनात्मक शरीर(परमज्ञान, ब्रम्हज्ञान)को हेरविचार र विकासमा पनि उत्तिकै काम गर्नु अत्यावश्यक हुन्छ । 


यी सबै कोश तथा शरीरका आयामहरुको सहि व्यवस्थापन तथा उच्चतम विकास सन्तुलित जीवनशैली अर्थात आहार–विहार–व्यवहार अपनाएर र योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका आठ प्रकारका प्रक्रिया, विधि तथा पद्धतिहरु– यम, नियम, योगासन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर गर्न सकिन्छ । योग विज्ञान अत्यन्तै विहंगम विषय हो शुरुआति चरणमा योगासन, प्राणायाम र ध्यानको प्रयोगात्मक अभ्यास गर्न प्रारम्भ गरेर विस्तारै क्रमिक रुपमा योग विज्ञानका दार्शनिक अन्तरविषयहरुमा प्रवेश गर्न सकिन्छ । यसप्रकार सन्तुलित जीवनशैली र योग साधनाका विधिहरुको माध्यमबाट पाँचवटै प्रकारका कोश तथा शरीरका आयामहरुको उचित विकास भएको छ भने मात्र मनुष्य पूर्ण मानव बन्न सक्दछ र उसको जीवन हरप्रकारले सन्तुलित, व्यवस्थित तथा विकसित हुन्छ, उसको जीवनमा सुख, खुशी, समृद्धि, ऐश्वर्य, मानप्रतिष्ठा, शान्ति, आनन्द आउछ र उसको इहलोक र परलोक दुवै सुदृढ हुन्छ, नमरी स्वर्गको अनुभव गर्छ, उसको आध्यात्मिक विकास हुन्छ र मोक्षको अधिकारी हुन्छ । मनुष्यको जीवनमा यस्तो दिव्य अवस्था हासिल गर्न अन्नमय कोश भन्दा माथि तथा भित्रको अर्को दोस्रो प्राणमय कोश, प्राणीक शरीर, प्राण उर्जा तथा जीवन(भाइटल फोर्स)को अत्यन्तै महत्वपूर्ण तथा प्रभावकारी भूमिका रहेको हुन्छ ।  


छिट्टै,

प्राणमय कोषले मनुष्यको प्राण उर्जाको उच्चतम विकास गर्ने ज्ञान, विज्ञान सिकाउछ ।


शिवोहम् !

डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




No comments:

Post a Comment

पूर्वीय सनातन दर्शन तथा धर्मले सामना गरेका चुनौतिहरु- १

  डा. सिर्जना भण्डारी                                                                                              #अध्यात्म_विज्ञान  # धर्म...