#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
५०.सवाल
शरीरमा अग्नि तत्वको सन्तुलन र ज्ञानले जीवनका विविध आयामहरु व्यवस्थित गर्न मद्धत गर्दछ ।
अग्नि तत्वबारे संक्षिप्त जानकारी
सनतान वैदिक धर्ममा अग्निको महत्व र महिमा अत्यन्तै ठूलो रहेको छ किनकी अग्निबिना कुनै अनुष्ठानहरु पूरा हुदैनन् । महान सनातन शास्त्र, सबैभन्दा पूरानो तथा जेठो वेद ऋगवेदको पहिलो अध्ययायको पहिलो शव्द ‘अग्नि’ तथा अग्नि स्तुतिबाट प्रारम्भ भएको छ । सनातन शास्त्रहरुमा उल्लेख भए अनुसार भगवान यमराजले नचिकेतासंगको संवादमा भन्नु भएकोछ, “ब्रम्हाण्डका सबै तत्वहरुमा अग्नि तत्व विद्यमान रहेको हुन्छ, मनुष्यको बुद्धिमा पनि अग्नि तत्व विद्यमान रहेको छ, जव यो तत्व जाग्रित हुन्छ तव मनुष्य स्वर्गको अधिकारी हुन्छ ।” अग्नि तत्व पनि जल तत्व जस्तै भावना, ग्रहणशीलता र स्मृति भएको सजिव तत्व हो, यसकारण नै मनुष्यले गर्ने संस्कार तथा कर्म–काण्डहरुमा अग्नि र जल तत्वलाई साक्षी खाखिन्छ, सबै महत्वपुर्ण घटना तथा विषयहरुमा तथा धार्मिक अनुष्ठानहरुमा अग्नि र जल तत्वलाई साक्षी राखेर यी तत्वहरुको अगाडि राम्रा कामहरुको शुरुआतको संकल्प लिने गरिन्छ । अग्नि तत्वलाई प्रकाशको स्वरुप मानिन्छ, आत्मा र परमात्मालाई पनि प्रकाशको स्वरुपमा मानिन्छ, आत्मा र परमात्मा ब्रम्हाण्डका महाउर्जा हुन् र अग्नि तत्व पनि ब्रमहाण्डको अत्यन्तै महत्वपूर्ण उर्जा हो । व्यायाम गर्दा शरीर तात्छ, पसिना आउछ, श्वास, रक्तसंचार तथा रक्तचाप, मुटुको धड्कन बढ्छ यी सबै क्रियाहरु अग्नि तत्वको सक्रियताका कारण भएका हुन् । अग्नि तत्वको मूलश्रोत सूर्य हो, सूर्य चमत्कारिक ग्रह तथा देवता हुन जसले नराम्रा कुराहरुलाई जलाउछन् तथा दबाउछन् र राम्रा कुराहरुलाई अझ राम्रो बनाउछन् तथा बन्न बढावा दिन्छन् र मनुष्यका सबै विकारहरु नाश गरेर मनुष्यलाई शुद्ध गरिदिन्छन् किनकी अग्नि तत्व तथा सूर्यको ताप, प्रकाश स्वयंमा औषधि हो, यसको ताप, प्रकाश र किरणहरुले मनुष्यको जीवनका धेरै प्रकारका अस्वस्थता, असन्तुलनता तथा अव्यवस्थाहरुलाई सहि दिशा प्रदान गर्दछ ।
अग्नि तत्व मनुष्यको ज्ञान, वुद्धि, विवेक, जोश, जाँगर, उत्साह, साहस, प्रेरणा, इच्छाशक्ति, मनोबल, आत्मबल, आत्मविश्वास, आन्तरिक क्षमता, निडरता, क्रोध आदिको को मूलश्रोत तथा मूलकारक हो । अग्नि तत्व नै मनुष्यको प्राण उर्जा, जीवन उर्जा तथा उर्जा शरीर हो, उर्जा शरीर नै उसको आभामण्डल(औरा) तथा उर्जा क्षेत्र(इलेक्ट्रो मेग्नेटीक फिल्ड) हो । मनुष्यको शरीर हरप्रकारले स्वस्थ र जीवनका सबै आयामहरु व्यवस्थित र विकसित गर्नकालागि अग्नि तत्व अत्यन्तै प्रभावकारी र महत्वपूर्ण उर्जा हो । अग्नि तत्व मनुष्यको प्राण उर्जा तथा जीवन उर्जा भएकोले यसले स्वास्थ्य, शरीर तथा जीवनका सबै आयामहरुलाई सहि ढंगले आ–आफ्ना जिम्ममेदारीका कार्यहरु गर्न आवश्यक जीवन उर्जा प्रदान गर्दछ र शरीरका आयामहरु सहज ढंगले नियमित रुपमा सुचारु हुन्छन् । अग्नि तत्व तथा प्राण उर्जा यति सशक्त र अत्यावश्यक पौष्टिक तत्व हो जसलाई जहाँ खर्च गर्यो त्यही आयामको सहि व्यवस्थापन र विकास हुन्छ । हामीले आफ्नो अग्नि तत्व तथा प्राण उर्जालाई सहि तथा सकारात्मक ठाउँमा लगायौं भने जीवन सहज, सरल, सफल, सन्तुलित, व्यवस्थित र विकसित बन्छ तर यसको विपरित गलत, नराम्रो तथा नकारात्मक ठाउँमा लगायौ भने हम्रो जीवन असहजता, असफलता, दुःख, पिडा, असुरक्षा, अन्श्चिितता, डर, अशान्ति, अस्थिरतातिर जान्छ । प्राण उर्जा सबै मनुष्यसंग एउटै हुन्छ र उस्तै हुन्छ, प्राण उर्जालाई कुण्डलिनी उर्जा पनि भनिन्छ, यसको सदुपयोगले मनुष्य जीवनको महत्वपूर्ण उचाइमा पुग्न सक्छ र दुरुपयोगले जीवनमा असफलता तथा विनासतर्फ उन्मुख हुन्छ । उदाहरणले बुझौं, प्राण उर्जालाई सहि दिशामा लगाउने तथा सदुपयोग गर्ने व्यक्ति डाक्टर बन्छ र गलत दिशामा लगाउने तथा दुरुपयोग गर्ने व्यक्ति डाकु बन्छ, दुवैको हातमा चक्कु हुन्छ तर डाक्टरको हातको चक्कुले मानवीता तथा सर्वकल्याणको काम गर्छ र डाकुको हातको चक्कुले दानवीयता तथा सर्वविनासको काम गर्छ अर्थात प्राण तथा जीवन उर्जाले सहि दिशा पक्ड्यो भने उक्त मनुष्य मानव बन्छ र यसको विपरित गलत दिशा पक्ड्यो भने दानव बन्छ ।
संक्षिप्तमाः अग्नि तत्वको प्रकृति– गर्मी तातो, उष्ण, रंग– रातो, आकृति– त्रिकोण, चक्र– मणिपुर, मन्त्र– रं, शरीरको अंग– काँध, ग्रह– सूर्य, दिशा– दक्षिण, गुण– शात्विक र रजस, देवता– माता श्रीदेवी, वास्तु– आग्न्याय कोण(पूर्व–दक्षिण कुनो), ज्ञानइन्द्रिय– आँखा, कर्मइन्द्रिय–पाउ, स्वाद– पिरो, अंश– ४ प्रतिशत, नाडी– इडा, राशि– सिंह, मेष, धनु, शरीरको त्रिदोष– पित्त, उमेर– जवानी, त्रिगुण– शव्द, रुप, स्पर्श(सुन्न, देख्न, छुन सकिने) आदि उल्लेख गरिएको छ । औंलो– औंठा(उर्जा, इच्छाशक्तिको प्रतिक), मुद्रा– अनामिकालाई दोबारेर त्यसमाथि औंठा राख्ने तथा औंठाले दबाउने । दुवै हातका बुढी औंला तथा औंठा अग्नि तत्वका संवाहक भएकाले अत्यन्तै महत्वपूर्ण रहेका छन्, जुन तत्वको औंलासंग यसलाई जोडिन्छ यसले समान रुपमा सबैलाई प्राण उर्जा तथा जीवन प्रदान गर्दछ किनकी ब्रम्हाण्डमा स्थित सबै तत्वहरुमा अग्नि तत्वको अंश विद्यमान रहेको हुन्छ र हरेक तत्वको सक्रियताका लागि अग्नि उर्जा तथा प्राण उर्जाको आवश्यकता अधिक रहेको हुन्छ । अग्नि तत्वका मूलकारक सूर्य ग्रह तथा सूर्य देवता वुद्धि, विवेक, उर्जा, आत्माका कारक हुन् र मंगल ग्रह तथा मंग देवता साहस, उर्जा, आत्मबल, हिम्मत, क्रोधका कारक हुन् । अग्नि तत्वका पाँच प्रकृति– भोक, प्यास, निद्रा, आलस्य, क्रोध हुन् । अग्नि तत्व सन्तुलित रहदा मनुष्यका यी सबै प्रकृतिहरु सन्तुलित रहन्छन् र मनुष्यको जीवन सहज, व्यवस्थित तथा विकसित हुन्छ र अग्नि तत्व असन्तुलित भए मनुष्यका यी सबै प्रकृतिहरुमा पनि असन्तुलन आउछ र जीवन असहज, अव्यवस्थित तथा अविकसित हुन्छ । अग्नि तत्वको मनुष्यको शारीरिक शरीरको नाभि क्षेत्र अन्तर्गत पर्ने पेट, पाचन क्रिया, पाचन प्रणाली तथा उक्त क्षेत्रका अन्य प्रणालीहरुका साथै उसको मन, भावनाको स्थिति र वुद्धि–विवेकसंग पनि सिधा तथा प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ । अग्नि तत्वले मनुष्यलाई सांसारिक जीवनमा भौतिक सामग्रीहरु हासिल गर्न साहस, बल, उत्साह तथा उत्प्रेरणा प्रदान गर्दछ र हासिल गराइदिन्छ साथै अग्नि तत्वले मनुष्यको आध्यात्मिक जीवनलाई पनि अगाडि बढ्न, बढाउछ तथा विकसित गर्न मद्धत गर्दछ । अग्नि चार प्रकारका हुन्छन् र यसको प्रकृृति अनुसार नै मनुष्यहरु पनि प्राण उर्जाको दृष्टिकोणले चार प्रकारकै हुन्छन्–
(१)सम अग्नि– शरीरमा सम तथा सन्तुलित अग्नि तत्वको प्रधानता भएको मनुष्य समयको पक्का हुन्छ, उसले हरेक काम समयमा पूर्ण गर्नसक्छ र गरेर देखाउछ । यस्तो व्यक्तिमा भोक, प्यास, निद्रामा सन्तुलन रहेको हुन्छ, स्वस्थ हुन्छ, हरेक काम गर्न उत्साह, जोश, जाँगर, प्ररणा हुन्छ, काम गर्न अघि सर्छ, कामको नेतृत्व लिन्छ, कामका गंभिर हुन्छ, असावधानी, हेलचेक्राइ तथा उत्तौलोपन हुदैन ।
(२)तिसर अग्नि– शरीरमा तिसर अग्नि तत्वको प्रधानता भएको मनुष्यको पाचन क्रिया तथा जठराग्नि अत्यन्तै मजबुत हुन्छ, जे खाएको छ सबै कुराहरु राम्रोसंग समयमै पचाउछ, उसको शरीरमा पौष्टिकता अवस्था सन्तुलित रहने हुनाले सक्रिय, उत्साहित, उर्जावान, शारीरिक, मानसिक तथा भावनात्मक बल उच्च भएको हुन्छ । एकै समयमा धेरै काम गर्न, लगातार काममा खट्न सक्ने प्रकारको हुन्छ । पाचन प्रणाली तन्दुरुस्त भएकोले शरीर, मन, भावना, वुद्धिमा प्रर्याप्त उर्जा, बल, शक्ति हुन्छ, सितिमिति थाक्दैन तत्कालका लागि । नथाक्ने हुनाले आराम नै नगर्ने प्रकृतिको हुन्छ, आफूले जीवनमा यो गर्नु छ, यति कमाउनु छ, घर बनाउनु छ, प्रगति गर्नु छ भन्ने हुटहुटी भैरहन्छ, अत्यन्तै चन्चल र अधैर्य प्रकृतिको हुन्छ । आफू अत्यन्तै जागरिलो र उत्साहित भएकोले अरुलाई आलस्य र अल्छि देख्छ । आफ्नो पुरै उर्जा यस्तै प्रकारले खर्च गर्छ तर जीवनको एक अन्तरालपछि उ नराम्रोसंग थाक्छ, जीवनका अरु आयामहरुलाई बेवास्ता गरेर आफ्नो जीवनको सारा उर्जा र समय एकोहोपनमा खर्च गरेको कारण उसको जीवनमा एक्लोपन आउछ मानसिक तथा भावनात्मक रुपमा । उसको गडा सम्वन्धहरु नभएको कारण यस्तो अवस्था आउछ जीवनमा किनकी उसको एकोहोरो प्रकारको विचार तथा भावनात्मक संवेगहरुमा कसैले निरन्तर साथ दिदैनन् । यस्तो व्यक्ति जीवनमा सफल हुन्छ तर सन्तुष्ट हुदैन, उसमा सफलतासंगै घमण्ड पनि उच्चतामै बढ्दै जान्छ । आफूलाई विशेष प्रकारको र अरुभन्दा फरक तथा उच्च वर्गको ठान्छ । कसैलाई भरोसा गर्दैन, पत्याउदैन, अरुलाई आफूभन्दा कम क्षमताको आँक्छ र सबैतिर आफैं उपस्थित हुन्छ, आफैं खट्छ, म, मैले, मेरो, मलाइ भन्ने प्रवृत्ति उच्च हुन्छ र यस्तै भनिरहन्छ बारबार । यस्तो व्यक्तिको जीवन सम्पन्न, सुखी, सफल भएपनि मनमा शान्ति हुदैन, सम्वन्धहरु राम्रा हुदैनन्, जीवनमा सुखी, खुशी, शान्त, आनन्द महसुस गर्न सक्दैन ।
(३)मन्द अग्नि– तिसर अग्निको ठिक विपरित जीवनमा असफ भएको र जीवनबाट हारेको हुन्छ ।
(४)विसम अग्नि– विसम अग्नि तत्व भएको मनुष्य मौसमी प्रकारको हुन्छ, केही दिन भिडेर धेरै काम गर्छ आफ्नो क्षमता भन्दा बढि अनि केही दिन पूर्ण रुपमा सुस्त रहन्छ, केही नगरी यसै समय बिताउछ, आलस्य हुन्छ, सुतेर समय बिताउछ । एकपटक टन्न खानपिन गर्छ अनि लामो समयसम्म खादैन । कहिले अत्यन्तै उत्साहित, खुशी हुन्छ र कहिले अत्यन्तै निराश, उदाष, दुःखी हुन्छ । यस्तो हुनु अग्नि तत्वको असन्तुलित अवस्था हो, सहज, सरल, सफल जीवनयापनका लागि अग्नि तत्व सन्तुलित गर्नु आवश्यक हुन्छ ।
सन्तुलित अग्नि तत्व
अग्नि देवतालाई ज्ञान, वुद्धि, विवेकको देवताको रुपमा मानिन्छ, यसकारण शरीरमा अग्नि तत्व सन्तुलित छ भने यस्तो मनुष्य ज्ञानी, वुद्धि, विकेकले पूर्ण हुन्छ, यस्तो व्यक्तिमा सबै प्रकारका विद्याहरु जान्न तथा ग्रहण गर्ने क्षमता हुन्छ । अग्नि तत्वको उर्जाले शरीर, मन, भावना, वुद्धि र चेतनाका पुराना तथा काम नलाग्ने नराम्रा विषयहरु जलाएर नयाँ विषयहरु जाग्रित गरिदिन्छ ।
पंचतत्वहरुको प्रत्यक्ष सम्वन्ध मनुष्यको शरीरका त्रीदोष प्रकृति(वाथ, कफ, पित्त) र ज्ञान इन्द्रियहरुसंग रहेको हुन्छ । शरीरमा पंचतत्वहरु जति बढि सन्तुलित हुन्छन् त्यतिनै त्रिदोष र ज्ञान इन्द्रियहरुको कार्य क्षमता राम्रो हुन्छ र मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका सबै आयामहरु व्यवस्थित र विकसित हुन्छन् । अग्नि तत्व खासगरि मनुष्यको स्थुल शरीरमा नाभि क्षेत्रका आन्तरिक अंगहरु– जठराग्नि, पेट, पाचन क्रिया, पाचन प्रणाली, कलेजो आदिसंग प्रत्यक्ष सम्वन्धित रहेकोले शरीरमा अग्नि तत्व सन्तुलित छ भने जठराग्नि, पाचन क्रिया, पाचन प्रणाली, कलेजो मजबुत र सक्रिय हुन्छन् । भोक–प्यास समयमा लाग्छ; खाना मिठो हुन्छ, राम्ररी पच्छ, शरीर फुर्तिलो र स्वस्थ रहन्छ; शरीरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । यस्तो व्यक्ति हरप्रकारले सक्रिय हुन्छ, सफा तथा चम्किलो चेहरा भएको सुगठित तथा आकर्षक हुन्छ । उसको मन, भाव, वुद्धि, चेतना प्रवुद्ध हुन्छ; जोश, जाँगर, उत्साह, साहस, प्रेरणा, आत्मबल, आत्मविश्वास, आत्मसम्मानले भरिएको हुन्छ; इन्द्रियहरुमाथि नियन्त्रण तथा प्रत्याहारको क्षमता हुन्छ; आलस्य थकान डर कमजोरी सबै दुर हुन्छन्; शरीर, मन, भाव, वुद्धि र चेतनाका सबै क्रियाहरु सन्तुलित, नियमित र समय अनुसार परिचालित हुन्छन् । शरीरमा अग्नि तत्व सन्तुलित भएको व्यक्ति जीवनका चुनौति तथा समस्याहरुसंग लड्न हिम्मत राख्छ; सुखमा मात्तिदैन र दुःखमा आत्तिदैन; आफ्नोलागि आवश्यक विषयहरुको खोज गर्छ, नयाँ–नयाँ सिर्जना, रचना तथा आविस्कारहरु गर्छ; सबैलाई काम लाग्ने प्रकारका सर्वनजहिताय कामहरु गर्छ; आफू सकारात्मक, मेहनती हुन्छ, अरुलाई पनि यस्तै बन्ने प्रेरणा दिन्छ र त्यस्तै बनाइदिन्छ; आफू सहि बाटोमा हिड्छ र अरुलाई पनि सहि बाटोमा हिड्न प्रेरणा दिन्छ र आवश्यक मद्धत गर्दछ; आफू कहिल्यै निराश हुदैन र अरुलाई पनि निराश हुन दिदैन; अरुको सहजता तथा विकासको लागि सहयोग गर्न सदा तत्तपर रहन्छ; काम गर्ने क्रममा केही गल्ती भयो तथा नोक्सान भयो भने सामान्य रुपमा लिन्छ, त्यसैमा अड्केर बस्दैन र गल्ती सुधारेर अगाडि बढ्छ; अरुलाई पनि यो सुविधा दिन्छ, मनुष्यले गल्तीबाट नै सिक्ने हो भन्ने भाव राख्छ; गल्तीहरुलाई गुरु, पाठ तथा सिकाइ मानेर धन्यवाद दिदै नयाँ अवसरहरुको सदुपयोग गर्छ; उसका सबै सम्वन्धहरु सहज र सुमधूर हुन्छन्; घरपरिवारमा धनसम्पति, उत्साह, सुख, शान्ति, मधुरता, सदभाव, सामनजस्यता बनिरहन्छ । यस्तो व्यक्तिको आभामण्डल मजबुत हुन्छ, आभामण्डल नै अग्नि तत्व हो, अग्नि तत्व सन्तुलित भएको व्यक्तिप्रति सबैको आकर्षण हुन्छ, उसका कुरा, योजना तथा निर्णयहरु सुनिन्छन् र अनुशरण गरिन्छन्; आफ्नो आत्मबल र अरुको चाहना अनुसार सर्वकल्याणको काममा नेतृत्व लिन्छ; उसको जीवनमा कुनै प्रकारको कमीकमजोरी रहदैन; जीवन सहज, सरल तथा विकसित हुन्छ र मानप्रतिष्ठा तथा सफलताले उचाइ चुमेको हुन्छ ।
असन्तुलित अग्नि तत्व
पंचतत्व मध्य शरीरमा एउटा मात्र तत्व असन्तुलित भयो भने त्यसले बाँकी चारवटा तत्वहरु लगायत शरीरका अन्य क्रिया तथा प्रणालीहरुलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असन्तुलित गर्दछ । अग्नि तत्वको असन्तुलनले जठराग्निमा प्रत्यक्ष प्रभाव पार्दछ, अग्नि तत्वको उच्चता जठराग्निलाई बढि सक्रिय गराइदिन्छ तथा अग्नि तत्वको कमीले जठराग्निलाई कम सक्रिय गराइदिन्छ । यी दुवै अवस्थाले पाचन क्रिया र पाचन प्रणालीमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् । अग्नि तत्वले खासगरि मनुष्य शरीरको तापमान, पाचन क्रिया, पाचन प्रणाली, भोक–प्यास, निद्रालाई नियन्त्रण गर्दछ तथा सन्तुलनमा राख्दछ । अग्नि तत्वले जठर अग्नि अर्थात जठराग्नि(ग्यमस्ट्रिक ग्ल्याण्ड) मार्फत शरीरमा सहि ढंगले काम गर्दछ । जठराग्निको प्रत्यक्ष सम्वन्ध शरीरको पेट, पाचन क्रिया, पाचन प्रणाली, शरीरका आन्तरिक अंगहरुमा रहेका विषाक्तता तथा फोहमैलाहरु सफाइसंग रहेको हुन्छ । अग्नि तत्व असन्तुलित भएको कारण जठराग्नि कम सक्रिय तथा मन्द(अन्डर एक्टिभ) भयो या बढि सक्रिय(ओभर एक्टिभ) भयो भने मनुष्यको शारीरिक स्वास्थ्यमा समस्याहरु देखा पर्न थाल्छन् र यसको असहज तथा नकारात्मक प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शरीरका अन्य आयामहरु मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक स्वास्थ्यमा पनि पर्दछ । जठराग्नि मन्द भयो भने पाचन क्रिया तथा पाचन प्रणालीमा गडबडी हुने, ग्यास्ट्रिक बढ्ने, पेट डम्म भैराख्ने, समयमा भोक–प्यास नलाग्ने, खाना मिठो नलाग्ने, अपच हुने, पातलो दिशा हुने, कव्जियत हुने, रक्तचाप न्युन हुने, शरीरमा रगतको कमी हुने, पहेंले रोग(जन्डिस) लाग्ने सम्भावना बढि हुने, ग्रन्थीरसमा(हर्मोन्स) गडबडी हुने, भिटामिन डी को कमी हुने, मधुमेह राृग लाग्ने, हाड–जोर्नीहरु कमजोर हुने, हृदयघात, प्यारालाइसिस हुने सम्भावना बढि हुन्छ शरीर कमजोर तथा आलस्य हुने जस्ता अस्वस्थता तथा समस्याहरु देखिन्छन् । अग्नि तत्व रुप(दृश्य) तथा आँखाको कारक भएकोले असन्तुलित भएको अवस्थामा नेत्र ज्योति कमजोर हुन्छ । शारीरिक अंग आँखा हुनु एउटा कुरा हो तर आँखामा तिक्ष्ण देख्ने क्षमता हुनु अर्को कुरा हो जुन अग्नि तत्वको संतुलनबाट प्राप्त हुन्छ, अग्नि तत्व असन्तुलित भएको अवस्थामा आँखाको देख्ने तथा ठम्याउने क्षमतम कम हुनुको साथै आँखामा मोतिविन्दु तथा अन्य प्रकारका अस्वस्थताहरु आउन सक्छन् ।
खाना घण्टौंसम्म नपचेको कारण आवश्यक भोक–प्यास लाग्दैन, यस्तो अवस्थामा बिना भोक–प्यास जबरजस्ती खाना तथा पानी ग्रहण गर्दा मन्द भएको जठराग्निमा झन मन्दि आउछ र यससंग सम्वन्धित बिमारीहरु अझ बढेर जान्छन् । कव्जियतले पेटको स्वास्थ्यमा अत्यन्तै नकारात्मक प्रभाव पार्छ, कव्जियत धेरै रोगहरुको कारण हो र केही हदसम्म परिणाम पनि हो । खाएको खाना पचेर समयमै तथा नियमित रुपमा वाहिर जानुपर्ने फोहरहरु शरीरबाट वाहिर निस्कन नसकेको कारण पेटबाट उत्सर्जन हुने बिमारीहरुलाई कव्जियतले अझ बढावा दिन्छ । पेटबाट उत्सर्जन हुने बिमारीहरुले शरीरमा असहजता, बेचैनी, कमजोरी आलस्यता बढाउने हुनाले यसको प्रत्यक्ष तथा अप्रत्क्ष प्रभाव मन, मस्तिष्क, भावना, वुद्धि, चेतनामा पनि पर्छ जसले मनुष्यका दैनिक जीवनयापनका गतिविधिहरुलाई असन्तुलित गरिदिन्छ र जीवन असहज, अव्यवस्थित तथा अविकसित हुन्छ । अग्नि तत्व असन्तुलनले जीवन असहज, अव्यवस्थित तथा अविकसित भएको कारण आर्थिक अवस्था कमजोर हुने र यसको प्रत्यक्ष प्रभाव मनुष्यको शरीरिकसाथै मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक आयामहरुमा पनि पर्ने हुनाले यस्तो मनुष्यमा आँट, हिम्मत, जोश, जाँगर, प्रेरणा, रचनात्मकता, सिर्जनात्मकता, आत्मबल, आत्मविश्वास, आत्मसम्मानमा कमी आउन थाल्छ र व्यक्तिमा निश्क्रियता तथा आलस्यता बढ्न थाल्छ । यस्तो अवस्थाको नकारात्मक प्रभावका कारण जीवनमा धेरै प्रकारका डरहरु लागिरहन्छन्, केही नयाँ काम आँट्न नसक्ने, केही गर्न अगाडि नै नसर्ने, बोली लरबराउने, शरीर काम्ने आदि समस्याहरु देखिन्छन् । अरुसमक्ष आफ्नो कुरा स्पष्ट रुपमा राख्न, निर्धक्क भएर बोल्न, सामुहिक काम गर्न, नयाँ सम्वन्धहरु बनाउन, सम्वन्धहरु टिकाउन तथा अरुसंग मिलेर काम गर्न हिम्मत तथा उत्साह हुदैन, डर तथा धकका कारण थाके जस्तो भैरहन्छ, केही काम गर्न मन लाग्दैन, शरीर, मन, भाव, वुद्धि, चृतना सबैतिर आलस्यता छाउछ, कुनै काम थाल्नै सक्दैन र थालिहाल्यो भने पनि थालेको काम पूरा गर्न नसकेर अधूरै छोडिदिन्छ । अग्नि तत्व अति असन्तुलित तथा अति निश्क्रिय भयो भने निराश भएर जीवनबाट नै हार्ने, एक्लै बस्न रुचाउने, अन्याय सहेर बस्ने, निराश हुने, रोइरहने, हाँस्न तथा खुशी हुन नसक्ने, आफैंमाथि विश्वास हराउने, आफैंलाई गाली गर्ने, आफूलाई असफल तथा निकम्मा ठान्ने, म किन बाचिरहेको छु, म बाचेर केही अर्थ छैन भन्ने मनमा लाग्ने र आफ्नो जीवनलाई नै अन्त्य गरिदिने सोच आउने हुन्छ र आत्महत्यको प्रयास गर्छ तथा आत्महत्य नै गर्छ ।
अग्नि तत्व धेरै बढ्यो भने जठराग्नि बढि सक्रिय हुने र अमलपित्त(एसिडिटी) तथा अमिलो पानी मुखमा आउने, पेट र छाति पोल्ने तथा असहज हुने, रक्तचाप उच्च हुने, बारबार ज्वरो आइरहने, गीजाबाट रगत आउने, श्वास गन्हाउने, श्वास–प्रश्वासमा समस्या, गलामा समस्या जस्ता शारीरिक अस्वस्थताहरु देखिन्छन् । अग्नि तत्व तथा जठराग्निको असन्तुलनका कारण पेटको स्वास्थ्यमा गडबडी आउदा शरीरमा खासगरि त्वचासंग सम्वन्धित समस्याहरु देखिन्छन्– डण्डीफोर, घाउ, खटिरा, फोका, डाबरहरु आउने, रातो हुने, दाग तथा पोतो देखिने, चिलाउने तथा एलर्जी हुने आदि अस्वस्थता तथा समस्याहरु देखिन्छन् । यस्ता प्रकारका समस्याहरु सबै अपच भएका खानाका फोहरहरुको परिणाम हो । खाएको खाना पचेर सहि मार्ग अर्थात दिशा, पिसावबाट निस्कन नसकेका कारण शरीरका अन्य अंगहरुमा निस्किएका हुन् अर्थात प्रत्यक्ष रुपमा अपचको नकारात्मक प्रभाव त्वचामा देखिएको हो । अग्नि तत्व धेरै बढ्यो तथा अति सक्रिय भयो भने व्यक्ति सानो तथा ठूलो आतंककारी, हत्यारा, बलत्कारी बन्छ । यस्तो व्यक्तिमा लडाइ, झगडा, मारपिट, हिंसा, षड्यन्त्र, जालसाजी तथा अरुलाई सताउने, दुःख दिने प्रवृत्ति अधिक हुन्छ किनकी उसको शरीरका सबै आयामहरुमा प्राण उर्जाको प्रवाह अधिक हुन्छ तर समयमै यो उर्जाको सदुपयोग गर्न मद्धत मिल्ने सहि दिशानिर्देश गर्ने अभिभावक, गुरु तथा अवसर मिलेन भने यो उर्जाले खराव दिशा पक्डिने सम्भावना अधिक हुन्छ । यसकारण अत्यधिक प्राण उर्जा हुने उमेर बाल, किशोर र युवा अवस्थाका मनुष्यहरुको उर्जालाई, उचित दिशानिर्देश गर्न तथा सहि बाटो दिन सहि शिक्षा, सहि गुरु, सहि शैक्षिक प्रणाली, सहि शैक्षिक संस्था तथा सहि गुरुकुलको आवश्यकता पर्दछ । अग्नि तत्व कमजोर तथा निष्क्रिय भएको अवस्थामा आलस्यपन तथा निश्क्रियता बढि हुन्छ तर यसको ठिक विपरित अग्नि तत्व बढि सक्रिय भएको अवस्थामा मनुष्यमा अत्यन्तै एकोहोरोपन, काम टार्ने तथा पन्सिने बहना, जिद्धिपन, घमण्डीपन, अहम तथा अहंकार ज्यादा हुन्छ । आफ्नै कुरा र आफूले जानेकै मात्र सही ठान्छ, आफूलाई अरु भन्दा जान्ने, अरुभन्दा बढि काम गर्ने, अरु भन्दा माथि रहेको तथा अरुभन्दा आफू अव्वल किसिमले अलग रहेको ठान्छ र आफूलाई सबैभन्दा उच्चस्तरको देखाउने प्रयास गर्छ, लोभ–मोहले ग्रस्त हुन्छ, अरुको अत्यन्तै इष्र्या गर्छ, देखासेखी, तुलना, प्रतिस्पर्धा गर्छ, आफ्नो आलोचना पटक्कै सुन्न सक्दैन, आफ्नो कमजोरी देखाइदिनेसंग लडाइ–झगडा गर्छ, रिसाउछ, मलाई त्यस्तो भन्ने भनेर बदलाको भाव राख्छ, घृणा गर्छ, षडयन्त्र गर्छ, अरुको भावना पटक्कै बुझ्दैन, मुखमा जे आयो त्यही बोल्छ ।
अग्नि तत्व असन्तुलन हुनुको कारण
अग्नि तत्वको मूलश्रोत सूर्यको ताप, प्रकाश र किरण हो तर हिजोआज अति व्यस्तता र कृत्रिम सौन्दर्य सावधानीका कारण प्रत्यक्ष सूर्यको प्रकाश तथा तापमा बस्ने तथा सूर्य स्नान गर्ने गतिविधिहरु कम हुदै तथा हराउदै गएका छन् । यो अवस्थाले शरीरका अंगहरुले नियमित काम गर्न तथा सक्रिय रहनकालागि अत्यावश्यक पर्ने विभिन्न पोषक तत्व तथा भिटामिनहरुको कमी आएका कारण त्यसै अनुसारका अस्वस्थता तथा रोगका लक्षणहरु देखिदै आएका छन्, हिजोआज केही बिमारी तथा समस्याहरु त महामारीकै रुपमा देखिन थालेका छन् जस्तो भिटामिन डी को कमी, बिक्रित चेहरा, त्वचाको असन्तुलन र क्यान्सर आदि । शारीरिक रुपमा सूर्यको सामित्यताको कमी तथा आहारमा असन्तुलन तथा अति प्रशोधित, विषाक्त र अखाद्य आहारहरुको अत्यधिक सेवनको र अपर्याप्त व्यायामको कारण अग्नि तत्व असन्तुलित हुनेगरेको देखएिको छ । मानसिक तथा भावनात्मक रुपमा असत्य बोल्दा, गलत कार्यहरु गर्दा, आफ्नो कर्तव्य तथा जिम्मेदारीहरुबाट पन्सिदा अग्नि तत्व असन्तुलित भैरहेको छ किनकी अग्नि तत्व पनि जल तत्व जस्तै भावना, ग्रहणशीलता र स्मृति भएको साक्षी र सजिव तत्व हो । मनुष्यको जीवनमा अग्नि ज्ञान, वुद्धि, विवेक, सत्यताको कारक तत्व र साक्षी भएकोले यसले गलत सोच, अनुचित कार्य तथा अन्याय सहदैन र त्यको नकारात्मक प्रभाव व्यक्ति स्वयंले नै बेहोर्छ अग्नि तत्वको असन्तुलनका रुपमा । जन्म कुण्डलीमा अग्नि तत्वका कारक ग्रहहरु सूर्य र मंगलको स्थिति कमजोर छ भने पनि मनुष्यको शरीरका आयामहरुमा अग्नि तत्व तथा प्राण उर्जाको अवस्था कमजोर तथा असन्तुलित हुन्छ ।
अग्नि तत्व सन्तुलित गर्ने उपाय
मनुष्यको शरीरका सबै आयामहरु– शारीरिक शरीर, मानसिक शरीर, प्राणिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, चेतनात्मक शरीर, आध्यात्मिक शरीरले गर्ने सबै कामहरु मनुष्यको शरीरको उर्जाको मद्धतले गर्ने हो र उर्जाको प्राप्ति पृथ्वी उर्जा, जल उर्जा, अग्नि उर्जा, वायु उर्जा र आकाश उर्जाको रुपमा पृथ्वी तत्व, जल तत्व, अग्नि तत्व, वायु तत्व, र आकाश तत्वबाट प्राप्त हुन्छ । स्वस्थ, सरल, सहज, सफल, सुखी, खुशी, शान्त जीवन निर्माण गर्नकालागि तथा हरप्रकारले आफ्नो स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरु व्यवस्थित तथा विकसित राख्नका लागि शरीरमा पंततत्व तथा जीवन उर्जा सन्तुलित गर्नु अत्यावश्यक हुन्छ । योग साधना, चक्र साधना, तत्व साधना, बहुमूल्य पत्थरहरुको ग्रहण, रंग चिकित्साको माध्यमबाट पंचतत्व सन्तुलनमा राखेर शरीरका विविध आयामहरुका जीवन उर्जाको प्रवाह बढाउन र सन्तुलित राख्न सकिन्छ । शरीरमा अग्नि तत्व सन्तुलित राख्न सबैभन्दा भरपर्दो, प्रभावकारी, परिणाममुखी र उपलव्धि मुलक उपाय सूर्य स्नान र योग विज्ञानको योगीक साधनाको प्रमुख विषय श्वास–प्रश्वाकिो लय मिलायने क्रिया तथा प्राणको आयाम अर्थात प्राणायामको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास हो ।
अग्नि तत्वको असन्तुलन तथा उच्चता र न्यूनताले जठराग्निमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले यी दुवै अवस्थाले पाचन क्रिया र पाचन प्रणालीमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् । जठराग्नि बढि सक्रिय छ भने शरीरलाई शितलता मिल्ने प्रकारका रसयुक्त खानेकुरा, चिसो पानी सेवन गर्नु, नियमित स्नान गर्नु पर्दछ । सकेसम्म प्राकृतिक वतावरणमा प्रातः भ्रमण गर्नुपर्दछ, नाभि क्षेत्र केन्द्रित व्यायामहरु तथा योगीक साधनामा सौम्य गतिका इडा नाडी प्रधान प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गर्नु पर्दछ । अग्नि तत्व कम सक्रिय छ भने शरीरलाई तापक्रम प्रदान गर्ने खानेकुरा, तातो पानीको सेवन तथा शरीरलाई तापक्रम प्रदान गर्ने प्रकारका व्यायाम, योगासन तथा पिंगला नाडी प्रधान प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गर्नुपर्दछ । योगीक साधना प्राणायामका प्रयोगात्मक अभ्यासहरुले पेटसंग सम्वन्धित अस्वस्थताहरु र शरीरमा सबैप्रकारका अस्वस्थताहरु भित्र्याउने मूल जननी मधुमेह लगायत शरीरका अन्य ज्ञात–अज्ञात धेरै अस्वस्थताहरुको प्रकोप कम गर्न अत्यन्तै ठूलो सहयोग गर्दछ ।
शरीरमा अग्नि तत्व सन्तुलित राख्नकालागि आफ्नो शरीरको अवस्था तथा सामर्थ्य अनुसार १०-१६-२४-३६-४८-६०-७२ घण्टाका व्रत, उपवास तथा आहार ग्रहणमा अन्तराल(इन्टरमिटेन्ट फास्टींग) अत्यन्तै लाभदायक आत्म चिकित्सा(अटोफेजी) तथा शरीर आफैंले गर्ने प्राकृतिक चिकित्सा पद्धति हो । व्रत तथा उपवासको वास्तविक अर्थ र मान्यता खासगरि पेट, पाचन क्रिया तथा पाचन प्रणाली र पूरै शरीरलाई आराम प्रदान गर्नु हो । जव पेट, पाचन क्रिया तथा पाचन प्रणालीले आराम पाउछ तव यी गतिविधिहरुमा खर्च भैरहेको उर्जालाई शरीर आफैंले शरीरमा रहेका विकार, विषाक्तता, रसायन तथा फोहोरमैलाहरु सफा गर्न उपयोग गर्दछ र शरीर सफा गर्न प्रारम्भ गर्दछ । शरीरका मांसपेशी तथा कोषिकाहरुले जति बढि भोक लागेको महसुस गर्छन उतिनै तिब्रगतिमा तिनले शरीरमा रहेका विकार, विषाक्तता, रसायन तथा फोहोरमैलाहरु खान थाल्छन् र शरीर अझ छिटो र प्रभावकारी ढंगले सफा, शुद्ध, स्वस्थ, उर्जावान, सक्रिय र रोग प्रतिरोधि बन्छ । उपवासले जठराग्नि स्वस्थ, सक्रिय र मजवुत राख्न मदत गर्दछ, जति जठराग्नि स्वस्थ र सक्रिय हुन्छ उतिनै अग्नि तत्व सन्तुलित हुन्छ र नाभि क्षेत्र, पेट तथा पेटसंग सम्बन्धित सबै अस्वस्थता तथा बिमारीहरु निको हुन्छन, फेरी दोहोरिएर नआउने गरि स्थाइ समाधान हुन्छ । व्रत, उपवास, आत्म चिकित्सा तथा शरीरको प्राकृतिक चिकित्साले शरीरमा अग्नि तत्वकोसाथै सबै तत्वहरु सन्तुलन गर्न अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्दछ, यसकारण कम्तिमा हप्तामा एकदिन पेटलाई आराम पुग्नेगरि व्रत तथा उपवास गर्नु अत्यावश्यक हुन्छ ।
शरीरमा क्याससियम पचाउन तथा घोल्न(डाइलुट हुन) भिटामिन डी को पर्याप्त मात्रा आवश्यक हुन्छ र यो अग्नि तत्वको मूलश्रोत सूयको ताप तथा प्रकाशबाट प्रचुर मात्रामा प्राप्त हुन्छ । सूर्यको ताप, प्रकाश र किरणहरुले मात्र पनि मनुष्यको शरीरका धेरै विकार, विषाक्तता, फोहरमैला र यसका कारणबाट उत्पन्न भएका अस्वस्थता तथा बिमारीहरु सफा र निको हुन्छन् । प्राय हिउँदको मौसममा, अति ठण्डा हुने भौगोलिक क्षेत्रहरुमा शरीरमा अग्नि तत्व असन्तुलित तथा कम सक्रिय हुन्छ, यस्तो अवस्थामा सन्तुलित गर्न सुठो, गुढ, मरिच, ल्वांग, दालचीनी तथा सबैप्रकारका गरम मसालाहरु सेवन गर्नुपर्दछ, यसले शरीरमा गर्मी तथा तापक्रम बढाउछ र अग्नि तत्व सन्तुलनमा ल्याउछ । खाना खानुअघि, खाना खाँदा र खाना खाइसकेपछि अपनाउनै पर्ने सावधानीहरुको पालन गर्नुपर्दछ । खाना खानु एक घण्टाअघि र खाना खाएको एक घण्टापछि मात्र सादा पानी पिउनु पर्दछ, यसविचमा मोही, लस्सी, दही, ताजा फलफूलको रस थोरै सेवन गर्न सकिन्छ तरल पदार्थको रुपमा जसले जठराग्निलाई मन्द हुन दिदैन र अपचको समस्या आउदैन । खाना खाइसकेपछि सामान्य स्वास्थ्य भएका व्यक्तिहरुले ५–१० मिनेट बज्र आसनमा बस्नु पर्दछ तथा आफ्नो कक्ष तथा घरभित्र हिड्डुल गर्नुपर्दछ र पेटको समस्या भएका व्यक्तिहरुले अनिवार्य रुपमा बज्र आसनमा बस्नु पर्दछ ५–१० मिनेटसम्म ताकि पिडौलामा भएको ५०० एम.एल. रगत पेटमा जाओस् र पाचन क्रियालाई सहज गर्न मद्धत गरोस् । बज्र आसनमा बस्दा गोडा निदाउछन् तथा असहज हुन्छ भने हिप र पिडौलाको विचमा पातलो सिरानी तथा कुशन राख्न सकिन्छ ।
विहान सबेरै उठेर सूर्योदय हेरौं, सकेसम्म उदाउदो सुर्यलाई जल चढाउँ, जल चढाउदा जलको धारामा सूर्यको प्रकाशमा जलधाराबाट इन्द्रेनीका किरणहरुको रंग देख्ने प्रयास गरौं । साथै सूर्य नमस्कार योगासन गरौं; नाभि भन्दा २–३ अम्मल माथि रहेको पहेंलो रंगको मणिपुर चक्रको ध्यान गरौं; मणिपुर चक्रबाट प्राण तथा कुण्डलिनी उर्जा उठिरहेको र प्राण उर्जाले माथिका चक्रहरु भेदन गरिरहेको दृश्य कल्पना गरौं; दक्षिण दिशातिर फर्केर वायु मुद्रा लगाएर(तर्जनीलाई हत्केलातिर दोबारेर त्यसमाथि औंठाले थिचेर) ‘रं’ विज मन्त्र स्मरण तथा उच्चाहरण गरौं; तीनमुखे रुद्राक्ष धारण गरौं; गायत्री मन्त्र शुद्धसंग छन्द तथा लयमा उच्चाहरण गरौं । जन्म कुण्डली हेराएर मंगल ग्रहको मजबुतिका लागि मुगा पत्थर र सूर्य ग्रहको मजबुतिका लागि रुबि अर्थात माणिक धारण गरौं; रवीबार नुन नखाइकन, चोखो सात्विक खाएर सूर्य ग्रह तथा देवताको उपवास तथा उपासना र मंगबार मंगल ग्रह तथा देवताको उपवास तथा उपासना गरौं र आफ्नो सयन कक्ष, कार्य कक्ष तथा समग्र घरको दक्षिणपूर्वको वास्तु मिलाउँ ।
दुई हत्केलाको विचमा सानो निलो रंगको बल दिनमा पटक–पटक र कम्तिमा एकपटकमा २ मिनेट गोलागोेलो घुमाउँ । यसो गर्दा शरीरमा अग्नि तत्वको प्रवाह बढ्छ, ठण्डीका कारण हुने अस्वस्थताहरु जो शरीरमा तापक्रम बढाएर तथा सेकाइबाट निको हुन्छन् त्यस्ता प्रकारका स्वास्थ्य समस्याहरु समाधान हुन मद्धत मिल्छ । शरीरमा बढेको कोलेस्ट्रोल, टिजी, मधुमेह, कव्जियतमा निलो रंगको बलको उपचार पद्धति अपनाउनु लाभकारी हुन्छ ।
अग्नि तत्व सन्तुलित गर्ने यी उपाय तथा गतिविधिहरु गर्दा शरीरका मांसपेशी, हाड, जोर्नी, रगत तथा शरीरका द्रव्यहरु शुद्ध, स्वस्थ, सक्रिय हुन्छन्, शरीरमा जमेर रहेका नयाँ तथा पुराना सबै विकार, रसायन, विषाक्तता तथा फोहरमैलाहरु वाहिर निस्कन्छन्, शरीर भित्रबाट नै पूर्णतः सफा हुन्छ, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ, अग्नि तत्व, प्राण उर्जा तथा जीवन उर्जाको प्रवाहमा वृद्धि र सन्तुलन आउछ । यसका साथै अग्नि तत्वको सन्तुलनले व्यक्तिको सोच, विचार, मन, भाव तथा भावनात्मक संवेगहरु सकारात्मक हुन्छन् । मनुष्यको स्वभाव सौम्य, धैर्य, एकाग्र, शान्त, स्थिर, सहनशील हुन्छ, उसका सम्वन्धहरुमा सुधार आउछ तथा सम्वन्धहरु सुमधूर बन्छन् ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ