#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
२८.सवाल
सनातन योग दर्शनको साधना नै मुक्ति र मोक्ष प्राप्तिको मूल मार्ग हो ।
जवाफ
सबै जिवीत प्राणी तथा वनस्पतिहरुले आ–आफ्नो जीवनमा गर्ने सबैप्रकारका संघर्ष तथा लडाईहरु स्वातन्त्रता तथा मुक्तिकालागि गरिएका हुन्छन् किनकी स्वतन्त्रता तथा मुक्तिले हरकोहीको जीवनमा सहजता प्रदान गर्छ, हरप्रकारले आफ्नो सहजतामा जीवन जिउने अवसर प्रदान गर्दछ र सहजतामै सबैले सुख, खुशी, शान्ति, आनन्दको महसुस गर्दछन् । यसकारण हरेक मनुष्यलाई हरहालमा आफ्नो जीवनमा स्वतन्त्रता तथा मुक्ति प्राप्त गर्ने अपेक्षा रहेको हुन्छ र त्यसकालागि उसले जीवनभर भरमग्दुर प्रत्यत्न गरिरहन्छ जानेर तथा नजानेर र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा । स्वतन्त्रता दुईप्रकार रहेकाछन्– (१)मुक्ति, र (२)मोक्ष । संस्कृति वांगमयका मुक्ति र मोक्ष यी दुई शव्दको अर्थ सामान्य प्रयोगमा उस्तै हो कि जस्तो लाग्छ र कहिलेकाहीं पर्यायवाची शव्दका रुपमा पनि प्रयोग गर्ने गरिन्छ । तर गहनतामा हेर्ने हो भने सनातन अध्यात्म विज्ञानले यी दुई शव्दलाई फरक अर्थ र फरक भावमा प्रयोग तथा परिभाषित गरेको छ । हरेक मनुष्यको जीवनको प्रमुख उद्देश्य आफ्नो दैनिक जीवनयापनमा सुखको प्राप्ति गर्नु र दुःखबाट निवृत्त हुनु हो, यो अवस्था मनुष्यको जीवनमा तवमात्र आउछ जव उसले आफ्नो जीवनमा मुक्ति र मोक्ष प्राप्त गरेको अनुभव तथा अनुभूति गर्दछ । मनुष्यका शरीर र जीवनका आयामहरु विविध भएपनि उ समग्रतामा दुईप्रकारको शरीर तथा दुईप्रकारको जीवन जिरहेको हुन्छ– (१)स्थुल शरीरको माध्यमबाट सांसारिक जीवन, र (२)सुक्ष्म शरीरको माध्यमबाट पारमार्थिक जीवन । मनुष्यको स्थुल शरीर अन्तर्गत उसको देखिने तथा दृश्यमा रहेको भौतिक शरीर पर्दछ र सूक्ष्म शरीर अन्तर्गत उसको मन, भाव, वुद्धि, अहंकार, चित्त, आत्मा अर्थात चेतना सबै अदृश्य शरीर तथा आयामहरु पर्दछन् । स्थुल र सुक्ष्म शरीरकालागि सुखको अवस्था प्राप्त गर्ने र दुःखबाट निवृत्त हुने तथा स्वतन्त्रता तथा मुक्ति र मोक्ष प्राप्त गर्ने अवस्थाहरु फरक–फरक प्रकारका रहेका हुन्छन् । सांसारिक जीवनयापन गर्ने क्रममा खासगरि स्वास्थ्य, सम्वन्ध, समृद्धि, मानप्रतिष्ठा, सन्तुलन, व्यस्थापन, शान्ति, आनन्द आदि विषयहरुको विशेष प्रभाव रहेको हुन्छ मनुष्यले आफ्नो दैनिक जीवनमा सुख, खुशी, शान्ति, आनन्दको अनुभूति गर्छ कि दुःख, पिडा, चुनौति, कठिनाईहरुको अनुभूति गर्छ भन्ने सन्दर्भमा । हरकोही मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक स्वास्थ्य राम्रो छ; सम्वन्धहरु सुमधूर छन्, दैनिक आफ्ना आवश्यकताहरु पूरा हुने सम्पन्नता छ; आफ्नो तह, दर्जा तथा अवस्था अनुसारको परिवार, साथीसंगी, समाज तथा राज्यमा मानप्रतिष्ठा छ भने उसले आफ्नो जीवनमा सुख, खुशी, शान्ति, आनन्दको महसुस गर्दछ र दुःखबाट निवृत्त भएको तथा मुक्त भएको अनुभव गर्दछ । समग्रतामा भन्नुपर्दा सांसारिक जीवन जिउने क्रममा जीवनका विविध आयामहरुमा आइपर्ने उतारचढाव, संघर्ष, दुःख, पिडा, चुनौति तथा कठिनाइहरुबाट छुटकारा पाउनु वास्तविक मुक्ति हो जुन हरप्रकारले आफ्नो तथा आफूसंग सम्वन्धित रहेकाहरुको जीवनशैली सहि ढंगले व्यवस्थापन गर्न आवश्यक पर्ने जीवनका प्रयास, कोशिस, तप तथा साधनाहरुको माध्यमबाट हासिल गर्न सकिन्छ । यसकारण मुक्ति मनुष्यको स्थुल शरीर तथा सांसारिक जीवनसंग बढि तथा प्रत्यक्ष सम्वन्धित रहेकोछ र केही हदसम्म सुक्ष्म तथा पारमार्थिक जीवनसंग पनि सम्वन्धित रहेकोछ किनकी सांसारिक जीवन सहज, सुखमय, खुशीयाली पूर्ण, सहज, सरल, समृद्ध, सफल छ भने मात्र मनुष्य वाहिरी र केही हदसम्म आन्तरिक(आत्मा अर्थात चेतनाको विकास) दुवै किसिमले विकसित र शान्त तथा आनन्दित रहन सक्दछ । उसको यस्तो सुदृढ तथा विकसित अवस्थाले उसको आन्तरिक प्रगति गर्न भरपूर मद्धत गर्दछ र आन्तरिक प्रगतिसंगै उसको पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासमा मद्धत मिल्दछ ।
आफ्नो सांसारिक जीवनका सबै आयामहरुको सहि व्यवस्थापन र विकास गरेको मनुष्यले सहजै पारमार्थिक जीवनको पनि व्यवस्थापन र विकास गर्न सक्दछ किनकी उसले सांसारिक जीवनका हरप्रकारका विषय तथा आयामहरुबाट मुक्त भएर पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासलागि अत्यावश्यक पर्ने आवश्यक सनातन योग विज्ञानका पूर्णतः वैज्ञानिक प्रामाणिकतामा आधारित साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुमा पर्याप्त समय दिन सक्दछ र साधनाको नियमित अनुशरण तथा प्रयोगात्मक अभ्यासबाट शरीरमा स्थिरता, मनमा एकाग्रता, भावमा शान्ति, वुद्धिमा सिर्जनशीलता, आत्मा अर्थात चेतनामा जाग्रिती हासिल गर्न सक्दछ । योग साधनाको माध्यमबाट मनुष्यको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको विकास हुने क्रममा उसको पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासले गति लिन प्रारम्भ गर्दछ र विस्तारै मनुष्य मोक्षको मार्गमा अग्रसर हुदै जान्छ । योग साधनाको माध्यमबाट आफूभित्र मोक्षमा उपलव्ध हुने पात्रता हासिल गर्दै जाने क्रममा क्रमशः उसलाई आत्मावोध तथा आत्मसाक्षातकार हुन्छ, विस्तारै उ आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानमा उपलव्ध हुन्छ र उसलाई परमात्मा साक्षातकार हुन्छ, उ परमात्मामा एकाकार तथा योगस्थ हुन्छ र सदाकालागि जन्म र मृत्युको चक्रबाट वाहिर निस्कन्छ तथा माथि उठ्छ । योग साधनाको माध्यमबाट प्राप्त यही परम अवस्थालाई सनातन अध्यात्म विज्ञानले मोक्षको अलौकिक अवस्था भनेर परिभाषित गरेकोछ । समग्रतामा बुझ्दा सांसारिक जीवनका उतार–चढावहरुबाट स्वतन्त्र हुनु तथा सुख प्राप्त गर्नु र दुःखबाट निवृत्त हुनु ‘मुक्ति’ को अवस्था हो र फेरी सांसारिक जीवनमा पूनरजन्म लिएर आउनु नै नपर्नेगरि सदाकालागि जन्म र मुत्युको चक्रबाट वाहिर आउनु तथा माथि उठ्नु ‘मोक्ष’ हो ।
योग साधना, आध्यात्मिक विकास र मोक्ष
सनातन अध्यात्म विज्ञान मनुष्यलाई हरप्रकारले उत्कृष्ट तथा विकसित जीवन जीउन सिकाउने कला (दि आर्ट अफ लिभिंग) को विज्ञान हो जसले मनुष्यलाई स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, मानप्रतिष्ठा, शान्ति, आनन्द, स्वतन्त्रता, मुक्ति, मोक्ष प्रदान गर्दछ । सनातन अध्यात्म विज्ञानका मनुष्यलाई हरप्रकारले उत्कृष्ट तथा विकसित जीवन जीउन सिकाउने कलाका विज्ञानहरु मध्य सबैभन्दा महत्वपूर्ण विषय योग विज्ञान अन्तर्गत गरिने योगीक साधनाहरु हुन् । सांसारिक जीवनका दुःख, पिडा, चुनौति तथा कठिनाइहरुबाट मुक्ति पाउन जीवन व्यवस्थापनका लागि उपयोगी प्रक्रिया तथा विधिहरु अपनाए जस्तै पारमार्थिक जीवनको विकास गरि जन्म र मत्युको चक्रबाट माथि उठेर मोक्षमा उपलव्ध हुनकालागि योग साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक प्रक्रिया, विधि तथा पद्धतिहरुको निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गर्नु अपरिहार्य हुन्छ किनकी बिना योग साधना पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास हुन सक्दैन; बिना पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास पराभौतिक तथा परालौकिक रहस्यमय तथा चमत्कारिक दिव्य विषयहरु– आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान हासिल हुन सक्दैन; र बिना आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान ब्रम्हाण्डको मूलश्रोत, परब्रम्हको अन्तिम सत्य तथा अध्यात्मको अन्तिम गन्तव्य परमात्मा साक्षातकार हुदै परमात्मामा एकाकार तथा योगस्थ भएर मोक्षमा उपलव्ध हुन सम्भव हुदैन ।
सनातन योग दर्शन तथा योग विज्ञान अन्तर्गत प्रमुख रुपमा सात प्रकार योग रहेकाछन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग । योगका नाम, प्रकार र केही हदसम्म यिनका साधना विधि तथा पद्धतिहरु फरक–फरक रहेका भएपनि समग्रतामा यी सबैको मूल उद्देश्य एउटै हो मनुष्यलाई हरप्रकारले उच्चस्तरीय तथा विकसित जीवन जीउन सिकाउने कलाको ज्ञान तथा विज्ञान सिकाउनु । अनुमानित इशापूर्व २०० मा महर्षि पतंजलिले छरिएर रहेका योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा विज्ञानहरुलाई एकसुत्रमा बाँधेर सबैकालागि योग साधना सहज गराउने उद्देश्यले पतंजलि योगसुत्र ग्रन्थ संकलन तथा प्रतिपादन गर्नुभयो र यस ग्रन्थमा योगका सबै विधि तथा पद्धतिहरुहरुलाई क्रमवद्ध तरिकाले सूचीकरण गर्दै योगका सबै प्रक्रिया, विधि तथा पद्धतिहरुलाई समेटेर एकसुत्र बनाएर चारपाद(अध्ययाय) र आठ अंगमा विभाजन गर्नुभयो । योग विज्ञानका साधना विधि तथा पद्धतिहरुलाई आठ अंगमा विभाजन गरिएको हुनाले पतंजलि योगसुत्रलाई अष्टांग योग पनि भन्ने गरिन्छ ।
अष्टागं योगका चारपाद र आठ अंग
चारपाद(अध्याय)
१)समाधिपाद– पहिलो अध्यायमा योगको परिभाषा, अर्थ, अन्तिम लक्ष्य(समाधि) हासिल गर्न चित्तका वृत्तिहरुलाई शान्त गर्ने उपायहरुबारे व्याख्या तथा विश्लेषण गरिएको छ ।
(२)साधनपाद– दोस्रो अध्यायमा योगका आठ अंगहरुको अर्थ, परिभाषा र निष्ठापूर्वक सैद्धान्तिक र व्यवहारिक अभ्यासको प्रयोग गर्दै योग साधना गर्नेबारे व्याख्या तथा विश्लेषण गरिएको छ ।
(३)विभूतिपाद– तेस्रो अध्यायमा योग साधनाबाट हासिल हुने पराभौतिक, परालौकिक, रहस्यमय, चमत्कारिक, दिव्य शक्ति, सिद्धि तथा निधिहरुको उपलव्धि र यी उपलव्धिहरुको भावनतीत, समयातीत अनुभव तथा अनुभूतिबारे व्याख्या तथा विश्लेषण गरिएको छ ।
(४)कैवल्यपाद– चौथो अध्यायमा योग साधनाबाट हासिल हुने आत्म साक्षातकार, मुक्ति, मोक्ष, चेतनाको सर्वोच्च अवस्था(कैवल्य) बारे व्याख्या तथा विश्लेषण गरिएको छ ।
आठ अंग(अष्टांग)
(१)यम(सामाजिक अनुशासनः अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह)– आफूले संसारप्रति गर्नुपर्ने बोलि, वचन, व्यवहार तथा आचरणहरुमा सुधार गर्नु र नराम्रा कर्महरु छोड्नु ।
(२)नियम(व्यक्तिगत अनुशासनः सौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान)– आफूले आफैंप्रति गर्नुपर्ने बोलि, वचन, व्यवहार तथा आचरणहरु मा सुधार गर्नु र राम्रा कर्महरु गर्न प्रारम्भ गर्नु ।
(३)आसन(शरीर नियन्त्रण)– उभिएर, बसेर, घोप्टो परेर, उत्तानो पल्टेर गरिने योगासनहरुको प्रयोगात्मक अभ्यासहरु गरेर स्थुल शरीरका वाहिरी तथा आन्तरिक अंगहरु स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्नु ।
(४)प्राणायाम(श्वास नियन्त्रण)– तिब्र तथा सौम्य गतिका श्वास–प्रश्वासका प्रयोगात्मक अभ्यासहरु गरेर शरीरका आन्तरिक अंगहरु र शरीरका आन्तरिक क्रिया तथा प्रणालीहरु स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्नु ।
(५)प्रत्याहार(इन्द्रिय नियन्त्रण)– आफ्ना ज्ञान तथा कर्म इन्द्रियका नराम्रा बानी तथा व्यवहारहरु सुधार गरेर तथा छोडेर राम्रा बानी तथा व्यवहारहरु अपनाउन प्रारम्भ गर्नु ।
(६)धारणा(एकाग्रता)– आफ्नो मन तथा चित्तलाई कुनै एउटा सकारात्मक विषयमा केन्द्रित गरेर त्यही विषयमा निश्चित समयसम्म एकाग्र भएर रहिरहनु ।
(७)ध्यान(केन्द्रित ध्यान)– कुनै एउटा सकारात्मक तथा दिव्य विषयमा केन्द्रित भएर त्यही विषयमा आफूले चाहेजतिको समयसम्म तथा लामोबेर एकाग्र भएर रहिरहनु र विचारशुन्य, भावातीत अवस्थामा स्थित हुनु ।
(८)समाधि(आत्म साक्षातकार)– ‘म’ शरीर, मा, भाव। वुद्धि, अहंकार होइन, परमात्माको अंश ‘आत्मा’ हुँ भन्ने आत्मवोध र आफ्नै आत्मासंग साक्षातकार हुनु ।
योग साधना नै मनुष्यको सांसारिक जीवनको विकास गरेर सबै दुःखहरुबाट मुक्ति दिलाउने र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकार गरेर मोक्षमा उपलव्ध गराउने अत्यन्तै भरपर्दो, वैज्ञानिक, प्रभावकारी, व्यवहारिक, परिणाममुखी र उपलव्धिमूलक सनातन ज्ञान तथा विज्ञान हो । यसकारण विश्वभरिका हरेक मनुष्यले विश्वको सरकार संम्युक्त राष्ट्रसंगले दिएको सुझाव तथा आदेश अनुसार आफ्नो जीवनमा स्वास्थ्य, सुख, खुशी, समृद्ध, सफलता, सरलता, सहजता, शान्ति, आनन्द, मुक्तिको अवस्था हासिल गरि सांसारिक जीवन व्यवस्थित तथा विकसित बनाउदै पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गरेर सदाकालागि परमात्मामा योगस्थ भई मोक्षमा उपलव्ध हुनकालागि सनातन योग दर्शनका पूर्णतः वैज्ञानिक प्रामाणिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुका सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा विज्ञानहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्दै योग तथा ध्यान साधना आफू पनि गारौं, अरुलाई पनि गर्न सिकाउँ, प्रेरणा प्रदान गारौं र मानवीय धर्म निर्वाह गरौं ।
छिट्टै,
जीवनका सबै आयामहरुको उच्चतम विकास गर्न योग साधना गर्नु अपरिहार्य हुन्छ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment