Monday, 1 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -३

#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान


                                                     सवाल जवाफ श्रृंखला

 सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

५. सवालः

ध्यान साधना किन गर्ने ?

जवाफः 

मनुष्य अदृश्य तथा सुक्ष्म शरीर अर्थात आत्मा हो र वर्तमान समयमा उ दृश्य तथा स्थुल शरीरमा रहेको छ । हरेक मनुष्य अव्यक्त, निर्गुण निराकार परमात्माको अंश आत्मा व्यक्त भएर गुण र आकार स्वरुपमा शरीर र संसारको तथा जीवन र जगतको अनुभव गर्न मर्त्यलोक तथा पृथ्वी ग्रहमा मनुष्य योनीमा आएको छ माता–पिताको माध्यमबाट । 


ध्यान साधना गर्नुका प्रमुख दुईवटा उद्देश्यहरु रहेकाछन्– (१)सांसारिक मुक्ति, र (२)पारमार्थिक मोक्ष । मनुष्य सांसारिक र पारमार्थिक तथा स्थुल र सुक्ष्म दुवै प्रकारको प्राणी हो र सबैले सहजै जान्न, बुझ्न तथा मान्न सक्नेगरि दृश्य स्वरुपमा रहेको उ सांसारिक प्राणाी हो । मनुष्यको सांसारिक र पारमार्थिक स्वरुप निर्धारण गर्ने उसको शरीरका प्रमुख चार आयामहरु रहेकाछन्– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, र (४)आत्मिक अर्थात चेतनात्मक शरीर । शरीर, मन, भाव, आत्मा अर्थात चेतना यिनै चार आयामहरुको आधारमा मनुष्यको समग्र जीवन निश्चित लयमा लयवद्ध भएको हुन्छ र निरन्तर उसका यी आयामहरुको विकास प्रक्रिया चलिरहेको हुन्छ र यही नै मनुष्यको विकास हो । अघिल्ला तीन आयामहरुले मनुष्यको सांसारिक जीवनमा प्रत्यक्ष प्रभाव पार्दछन् तथा प्रत्यक्ष सरोकार राख्दछन् र चारवटै आयामहरुले मनुष्यको पारमार्थिक जीवनमा प्रत्यक्ष प्रभाव पार्दछन् तथा प्रत्यक्ष सरोकार राख्दछन् र यी मध्य चौथो आयाम आत्मिक अर्थात चेतनात्मक शरीरको विशेष प्रकारको भूमिका रहेको हुन्छ । 

ध्यान साधनाबाट मनुष्यको जीवनको समग्र आयामहरुको विकासकालागि अपरिहार्य प्राण उर्जाको आपूर्ति हुन्छ । ध्यान साधना गर्नुको पहिलो उद्देश्य सांसारिक जीवनका दुुःखहरुबाट मुक्ति प्राप्त गर्न मनुष्यको शारीरिक, मानसिक, भावनात्मक र सचेतनात्मक तथा वौद्धिक विकासकालागि ध्यान गर्ने गरिन्छ । प्राण उर्जा तथा ब्रम्हाण्डिय महाउर्जाको पर्याप्त आपूर्तिबाट मनुष्यका यी आयामहरुमा आवश्यक सकारात्मक परिवर्तन तथा प्रगति आएपछि ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जा आफैं दोस्रो उद्देश्य परमार्थिक मोक्षमा उपलव्ध हुन मनुष्यकालागि आवश्यक कडिहरु आत्मअनुभव, आत्मवोध, आत्मज्ञान तथा आत्मसाक्षातकार तर्फ उर्ध्वगमन हुन्छ तथा आत्मा अर्थात चेतना जागरणको तहमा प्रवेश गर्दछ । 

ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जाले क्रमशः सोपानमा शरीर, मन, भाव हुदै आत्मा अर्थात चेतनाको विकासमा काम गर्ने हुनाले ध्यान साधनाबाट आफूमा आएका सकारात्मक परिवर्तन तथा प्रगतिहरु हामी स्वयंंले जाँच गर्न सक्दछौं । सर्वप्रथम शरीरको तहमा, यसपछि मन र भावको तहमा आएको सकारात्मक परिवर्तन हेर्नुपर्दछ किनकी ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जा तहगत किसिमले आफ्नो काम गर्दै उर्ध्वगमन हुदै जाने प्रकृतिको हुन्छ । ध्यान साधनाले सबैभन्दा पहिला शरीरमा प्राण उर्जाको कमीका कारण देखापरेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्दछ, यसपछि मन र भावमा प्राण उर्जाको कमीका कारण अनुभवमा आएका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्दछ र यसपछि मात्र आत्मा अर्थात चेतनामा प्राण उर्जाको कमीका कारण भएका अस्वस्थता, समस्या तथा कमीकमजोरीहरुको उपचार तथा समाधान गर्दछ । यी सबै आयामहरुमा प्राण उर्जाको कमीका कारण भएका सबै अस्वस्थता, समस्या तथा कमीकमजोरीहरुको उपचार तथा समाधन भैसकेपछि मात्र ध्यान साधना गर्नुको दोस्रो उद्देश्य अन्तर्गत पर्ने अलौकिक तथा पराभौतिक प्रगति आत्मअनुभव, आत्मवोध, आत्मज्ञान, आत्मसाक्षातकार तथा आत्मजागरण भएको अनुभव हुन थाल्छ र मनुष्यको पारमार्थिक तथा आध्यात्मिक जीवनमा विकासको प्रक्रिया प्रारम्भ हुन्छ । ध्यान साधनाको दोस्रो उद्देश्य प्रमुख रुपमा म शरीर, मन, भाव, वुद्धि, चित्त, अहंकार होइन परमात्माको अंश आत्मा हुँ भन्ने आत्मज्ञान जगाउनका लागि ध्यान साधना गर्ने गरिन्छ आफैंभित्र फर्केर आफूभित्र गरिने अन्तरयात्राको माध्यमबाट । सहि प्रक्रिया तथा विधिहरुलाई निष्ठापूर्व अनुशरण गरेर गरिएको वास्तविक ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जाले आफ्नो शरीर, मन, भाव, वुद्धि, चित्त, अहंकार, आत्मा अर्थात चेतनामा आएका सकारात्मक बदलाव तथा प्रगतिहरुलाई आफू स्वयंले यसप्रकार जाँच गर्न सकिन्छ–

(१)आफ्नो शरीरका अस्वस्थता तथा समस्याहरु समाधान भएकी भएनन् ?

(२)आफ्नो सोच, विचार, बोलि, व्यवहार, आचरण, अनुशासन, कर्ममा सकारात्मक बदलाव आयोकी आएन ?

(३)आफ्नो मन तथा भावका बेचैनी, अशान्ति, अस्वस्थता तथा समस्याहरु समाधान भएकी भएनन् ?

(४)आफ्नो शरीर स्थिर, मन एकाग्र, भाव शान्त भएकी भएनन् ?

(५)आफ्ना सबैप्रकारका सम्वन्धहरु सुदृढ तथा सुमधूर भएकी भएनन् ?

(६)आन्तिरिक रुपमा शान्ति र वाहिरी रुपमा समृद्धि हासिल भयोकी भएन, जीवन रमाइलो लाग्छकी लाग्दैन, प्रकृतिमा सयर गर्दा वाउ भन्ने भाव आउछकी आउदैन र संगीतका ताल तथा तरंगहरुमा ओठ, शरीर र पैतालाहरु थरथराउछनकी थरथराउदैनन्  ?

(७)म, मेरो, मैले, मलाई भन्ने आत्मपरक अहंकारको भावमा कमी आयोकी आएन ?

(८)जन्मेपछि मृत्यु अवश्य हुन्छ, मृत्युअघि मैले मेरो समय र जीवनको भरपूर सदुपयोग गरेर आफ्नो विकास गर्नुपर्छ र अरुकालागि पनि काम लाग्ने बन्नुपर्छ भन्ने बुझाइ आयोकी आएन ?

(९)सबैप्रकारका सुख र दुःखको कारण म स्वयं नै हुँ, वाहिरका कोही होइनन् भन्ने ज्ञान भयोकी भएन ?अधिकार भन्दाअघि कर्तव्य आउछ, कर्तव्य पूरा गरेपछि मात्र आफूले 'अधिकार' खोज्ने अधिकार हुन्छ भन्ने ज्ञान भयोकी भएन ?

(१०)सुख र दुःख मभित्रै छ, सुख र दुःख मेरो मनको अवस्था हो र मेरो मनमाथि सकारात्मक बदलाव ल्याउने काम म स्वयंले नै गर्नुपर्दछ भन्ने जाग्रिति आयोकी आएन ?

(११)मैले अरुलाई जे दिन्छु त्यही पाउछु अर्थात मैले जे रोप्छु त्यही फल्छ भन्ने अकाट्य प्राकृतिक नियमको ज्ञान भयोकी भएन ?

(१२)मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, राग, द्वेष, अहंकार, घृणा, बदला, धोका, दुव्र्यसन, दुरुपयोग, तमस आदिमा कमी आयोकी आएन ?

(१३)अरुलाई आफ्नो मन, वचन, भाव, कामले सुखानुभूति दिनु असल कर्म तथा पुण्य कर्म हो भन्ने समझ भयोकी भएन ?

(१४)आफूले प्रेम पाउन अरुलाई पनि प्रेम दिनुपर्छ र आफूले सम्मान पाउन अरुलाई पनि सम्मान दिनुपर्छ भन्ने बुझाइमा आयोकी आएन ?

(१५)समग्रमा, जीवन सहज, सरल, सफल, सुखी, खुशी, समृद्ध, शान्त, आनन्दित भयोकी भएन ?

(१६)म सुक्ष्म आत्मा हुँ र स्थुल शरीरको रुपमा निरन्तर विभिन्न शरीरहरुमा यात्रा गरिरहेको छु जीवन र संसारको अनुभव गर्न र कर्मको चुक्तारा गर्न भन्ने कर्मचक्रको वोध भयोकी भएन ?

(१७)म परमात्माको अंश आत्मा हुँ भन्ने आत्मअनुभव, आत्मवोध, आत्मज्ञान, आत्मसाक्षातकार तथा आत्मजागरण भयोकी भएन ?

(१८)निष्ठापूर्वक योगीक साधना तथा गहन ध्यान साधनाबाट मात्र ब्रम्हाण्डिय महाउर्जाका प्रमुख शक्ति केन्द्र सात चक्रहरु सक्रिय तथा जाग्रीत हुन्छन् र आफ्नो आध्यात्मिक विकास हुन्छ भन्ने परालौकिक अन्तरज्ञान भयोकी भएन ?

(१९)हरिगुरु तथा परमात्माप्रतिको आस्था, विश्वास श्रद्धा, भक्ति, समर्पणबाट मात्र हरिगुरु साक्षातकार हुनसक्दछ र मोक्षको अधिकारी बन्न सकिन्छ भन्ने अन्तरज्ञान भयोकी भएन ?

(२०)परमात्मा नै सर्वोपरि हो, आफू केवल निमित्त मात्र हो र ब्रम्हाण्डको समग्रतामा आफ्नो अस्तित्व अत्यन्तै सुक्ष्म कण बराबर हो भन्ने अन्तरज्ञान भयोकी भएन ? 

यी मध्य केही उपलाव्धिहरु हासिल भएका छन् र केही हुने क्रममा रहेका छन् भने यी ध्यान साधनाबाट भएका प्रगतिहरु हुन्, यिनै सकारात्मक उपलव्धिहरु हासिल गर्न ध्यान साधना गर्ने गरिन्छ । ध्यान स्वयं एक योगीक साधना हो, ध्यान साधनालाई अझ प्रभावकारी, परिणाममुखी र उपलव्धिमूलक बनाउन र यसबाट प्राप्त हुने लाभहरु अझ छिटो, धेरै र सकारात्मक बनाउनका लागि ध्यान साधना प्रारम्भ गर्नुअघि कम्तिमा ५ मिनेट(सकेसम्म समय बढाउनु राम्रो) शरीर तताउने, खुलाउने र तन्काउने व्यायाम तथा योगासन र ५ मिनेट(सकेसम्म समय बढाउनु राम्रो) तिब्र तथा सौम्य गतिका प्राणायामका विधिहरु गरेर शरीर, मन, भावको उर्जा जगाएर ध्यान साधना गर्दा यसको प्रभाव धेरै गुणाले बढ्दछ र छोटो समयमा धेरै प्रगति हासिल गर्न सकिन्छ ।   


                                                                  शिवोहम् !

                                          डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ



No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...