#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
१६.सवाल D
हरिगुरु आफूभित्रै अन्तरहृदयमा स्थित छ भने वाहिरको गुरु किन आवश्यक हुन्छ ?
जवाफ
“कलियुगमा गुरुबिना अन्तरज्ञान सम्भव छैन । परमपद तथा परमात्मा गुरु कृपा तथा गुरुको प्रसाद हो ।” –श्रद्धेय गुरुनानक देवजी
हिजोआज आधूनिक भौतिक विज्ञानमा भएको सूचना प्रविधिको उच्चतम विकासले सबैप्रकारका ज्ञानका श्रोतहरुको दायरा र पर्याप्तता बढाएको कारण यदि आन्तरिक गुरु आफूभित्रै छ भने, अध्यात्मका सबै ज्ञान, विज्ञानहरु सहजै लाइब्रेरी तथा इन्टरनेटमा उपलव्ध छन् भने वाहिरको गुरु किन आवश्यक छ ? के स्वाध्याय, गुरुकुल आश्रमहरुमा गरिने तथा गराइने योग-ध्यान साधनाका गतिविधि तथा सतसंगहरु काफी छैनन् र ? भन्ने सवाल धेरै मुमुक्षु व्यक्ति तथा साधकहरुको रहदै आएको छ । यो सवाल वुद्धिकोलागि सहि लाग्न सक्छ किनकी जव परमात्मा मेरै अन्तरहृदयमा स्थित छ भने म आफैं किन उसलाई नखोजौं, म आफैं किन उसंग साक्षातकार नगरौं, किन गुरुको लफडामा परेर समय, श्रम, उर्जा नोक्सान गरौं !? तर हिजोआजको मनुष्य यही सवाल र जवाफमा उल्झिएको छ किनकी को छ यहाँ खोज्नेवाला र खोजेर भेटिनेवाला, सबैभन्दा पहिला उसलाई यही विषयमा भयानक भ्रम रहेको छ यो द्वेतवादको । श्रद्धेय रमण महर्षिलाई कसैले के तपाईं मलाई परमात्मासंग साक्षातकार गराइदिन सक्नुहुन्छ भनेर सोध्दा जवाफमा वहाँले भन्नुभएको थियो, “तिमी स्वयं परमात्मा हौ, तिमी स्वयंसंग तिम्रो साक्षातकार गराउन म अध्यात्म साधनाको मार्ग मात्र बताउन सक्छु जुन तिमीलाई राम्ररी ज्ञान नभएको हुन सक्छ तर साधना गर्ने र आफूभित्रको परमात्मा जो तिमी स्वयंनै हो उसको साक्षातकार गर्ने काम तिमी स्वयंले नै गर्नुपर्दछ अनिवार्य रुपमा किनकी दृश्य र द्रष्टा दुवै तिमी स्वयंनै हौ र गुरु केवल माध्यम मात्र हो ज्ञान तथा साधनाको मार्ग पहिल्याइदिने ।”
तर आजको मनुष्यमा थोरबहुत तथा सतही अध्यात्म ज्ञानको आडमा आफूभित्र रहेको आन्तिरिक गुरु अर्थात हरिगुरु अर्थात स्वयं परमात्मा म आफैं खोज्छु तथा खोज्न सक्छु भन्ने यही ‘म’ को अहंकार नै सबैभन्दा ठूलो वाधा भएको छ आफ्नै अन्तरहृदयमा रहेको परमात्मा साक्षातकारका लागि किनकी यो ‘म’ को अहंकार यति कडा र जिद्धि हुन्छ कि यसलाई पगाल्न तथा गिराउन अत्यन्तै गाह्रो हुन्छ, जो कोहीले यो ‘म’ को अहंकारलाई पगाल्ने काम गर्ननै सक्दैनन् जन्म-जन्मसम्म पनि । सामान्य मनुष्यहरु आफ्ना अनेक जन्म–जन्ममा लाखौं–लाख प्रयत्न गररे पनि सफल हुन सकेका छैनन् किनकी खासगरि कलियुगका मनुष्यहरुका लागि आफ्नो ‘म’ नामक अहंकारलाई पगाल्नु तथा गिराउनु भनेको आफ्नो कपाल बाँधेर आफूलाई अग्लो सिलिंगमा झुन्ड्याउनु सरह हो । यदि कसैले यस्तो कडा र जिद्धि ‘म’ रुपि आफ्नो अहंकारलाई आफू स्वयंले पगाल्न तथा गिराउन सक्छ भने उसलाई वाहिरको गुरु तथा सदगुरु आवश्यक पर्दैन । तर यो अत्यन्तै मुस्किल काम हो किनकी यो ‘म’ अर्थात म–मेरो–मैले–मलाई भन्ने अहंकार यतिविधि सुक्ष्म तथा अतिसुक्ष्म हुन्छकि जस्तासुकै आफूलाई साधक, योगी, सन्त, सदगुरु, भिक्षु हुँ भन्नेले समेत आफ्नो सुक्ष्म अहंकारलाई सितिमिति पक्डिन सक्दैनन् बरु उल्टै आफू ‘म’ को अहंकारको पकडमा रहेर म यस्तो हुँ, उस्तो हुँ भनेर ठालुपन र बजासुपन(बढ्ता–जान्ने–सुन्ने) को मृदंग बजाइरहन्छन्, आफ्नै तालमा नाचिरहन्छन्, यसक्रममा परमात्मा साक्षातकार गराउने अध्यात्म साधना उबाट अलग भएर कोशौं दुरीको यात्रा तय गरिसकेको हुन्छ तर उसलाई थाहा नै हुदैन ‘म’ भन्ने अहंकारको झूठो न्यानोको कारण । उ कहिल्यै अहंकारको दलदलबाट वाहिर आउन नै सक्दैन जन्म-जन्मसम्म पनि किनकी मैले अहंकार छोडें अव म यस्तो व्यक्ति हुँ भन्नु पनि अर्को नयाँ अझ ठूलो अहंकार हो र यो अघिल्लो अहंकार भन्दा झन सुक्ष्म र अझ प्रगाढ हुन्छ ।
वाहिरको गुरु तथा सदगुरु यही सुक्ष्म तथा अतिसुक्ष्म अहंकार पगाल्न तथा गिराउनका लागि आवश्यक मात्र होइन अत्यावश्यक पर्दछ किनकी सदगुरुले शिष्यको पुरानो अहंकारलाई पगाल्छ तथा गिराउछ र उभित्र अर्को नयाँ अहंकारलाई जन्म लिन दिदैन । सदगुरुको सानिध्यमा रहेर शिष्य साधना गर्छ र उसको मनमा हरपल यो भाव रहिरहन्छ कि म भन्दा माथि कोही छ, म भन्दा जान्ने र अनुभवी कोही छ, मेरो सदगुरु छ, यो भावले उभित्र कहिल्यै पनि नयाँ अहंकारको जन्म हुन दिदैन । सनातन वैदिक कालमा गुरु तथा गुरुकुलको अवधारण यही कारण आएको तथा विकसित गरिएको हो र यो अधावधिक निरन्तर चल्दै आइरहेको छ र पछिल्लो समयमा त गुरु–शिष्य परम्मरा अझ विस्तार र विकसित हुदै गैरहेको छ विश्वव्यापि रुपमा मनुष्यको भौतिक जीवन र पराभौतिक तथा आध्यात्मिक जीवन दुवै क्षेत्रमा उच्चतम विकास ल्याउनका लागि । गुरु तथा सदगुरु त्यो हो जसले शिष्यमा रहेको अन्तरज्ञान तथा परमात्मालाई छेक्ने हरप्रकारका ठूला, साना, सुक्ष्म तथा अतिसुक्ष्म अहंकार तथा अन्धकारहरुलाई पगालिदिन्छ, घोलिदिन्छ, गिराइदिन्छ, हटाइदिन्छ तथा मेटाइदिन्छ । जुन शिष्य झुक्न तयार हुन्छ तथा अरुसंग सामनजस्य हुन सहज मान्छ उसकै अहंकार सबैभन्दा छिटो पग्लिन्छ तथा गिर्छ र उसमा परमात्मा साक्षातकारको पात्रता भरिदै आउछ किनकी मूल कुरा झुक्न सक्नु हो, स्वीकार गर्न सक्नु हो, वैराग्य(स्वीकारपूर्ण त्याग) साध्न सक्नु हो, सन्तोष गर्न सक्नु हो तथा गुनासोरहित हुन सक्नु हो, क्षमाशील हुन सक्नु हो र हरेक अध्यात्म साधकमा अनिवार्य रुपमा हुनैपर्ने यी सबै सदगुणहरु केवल सदगुरुको सानिध्य, सदगुरुको ज्ञान र मार्गदर्शन तथा सदगुरुको कृपाबाट मात्र प्राप्त हुन सक्दछ यद्धपि शिष्यको अन्तरहृदयमा बिराजमान रहेको आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात परमात्मा साक्षातकार गर्ने प्रक्रियामा सदगुरु केवल माध्यम मात्र हो, यसमा उसको प्रत्यक्ष भूमिका रहदैन, किनकी यो हरेक शिष्यहरुले आफू स्वयंले नै आफ्नोलागि गर्नुपर्ने अनिवार्य आध्यात्मिक कर्म हो । जहाँ निरअहंकारिता तथा वुद्धिमा जागरुकता आएको हुन्छ त्यहाँ यो कुरा शिष्य र गुरु दुवैलाई राम्रोसंग थाहा हुन्छ र जव साधक तथा शिष्यको अहंकार पग्लेर उभित्र निरअहंकारिता र स्वच्छता आउछ तव उसको आध्यात्मिक विकास हुन प्रारम्भ हुन्छ ।
युग ऋषि श्रद्धेय ओशो रजनीशले भन्नुु भएकोछ, “आफूभित्र रहेको सुक्ष्म तत्व आत्मा अर्थात चेतना न कहिल्यै बदलिन्छ न कहिल्यै मर्छ, जुनदिन यसको वास्तविक ज्ञान हुन्छ त्यसदिन गुरु नानक देवजीको युग सान्दर्भिक ‘गुरुबिन ज्ञान न होवे’ अर्थात गुरुबिना ज्ञान तथा अन्तरज्ञान हुदैन भन्ने अमृत वाणीको भाव राम्ररी बुझ्न सकिन्छ कि माता–पिता मेरो भौतिक शरीरका जन्मदाता हुन् तर म भौतिक शरीर र यस शरीरसंग रहेको मन, वुद्धि, चित्त, अहंकार होइन; म शुद्ध, बुद्ध, नित्य, अमर आत्मा अर्थात चेतना हुँ र मेरो वास्तविक जन्मदाता तथा मुलश्रोत तथा परमपिता परमआत्मा अर्थात परमचेतना हो, म उसको अंश हुँ जो सम्पूर्ण हो, समष्टि हो, सम्पूर्ण हो, शाश्वत र सनातन छ, जसको न उत्पत्ति हुन्छ न विलय हुन्छ । सबैकुरा सम्पूर्णभित्रै अटाउछ, सम्पूर्ण भन्दा वाहिर केही पनि रहदैन जो सम्पूर्णको उत्पतिको कारण बन्न सकोस् । यही दिव्य ज्ञान जान्नकालागि वाहिरको गुरु तथा आफू परमसत्य तथा परमचेतनामा स्थित भैसकेको सदगुरुको अपरिहार्यता हुन्छ । सदगुरुको माध्यमबाट जुन दिन मनुष्यको अन्तरहृदयमा यो शाश्वत सत्यको व्यवहारिक ज्ञान तथा स्वअनुभूतिको झलक घटित हुन्छ त्यसदिन मनुष्य संसारको भवसागरबाट मुक्त हुन्छ, उ स्वयं परमात्मा बन्दछ र मोक्ष तथा निर्वाणमा उपलव्ध हुन्छ ।”
आजको मनुष्य बाधिएको छ किनकी आफ्नो अन्तरहृदयमा परमात्मा छ, म स्वयं नै परमतत्व हुँ, सम्पूर्ण हुँ, समष्टि हुँ भन्ने उसलाई ज्ञान नै छैन जुन ज्ञान केवल सदगुरुले मात्र प्रदान गर्न सक्दछ । आफ्नो अन्तरहृदयमा स्थित रहेको आफ्नो मूलश्रोत परमपिता परमात्माको ज्ञान नभएको कारण मनुष्य डराउछ, हराउछ, असुरक्षा महसुस गर्छ, चिन्ता गर्छ । आफूलाई कुनै आधारमा टिकेको ठान्दछ र त्यही आधार आफूबाट खोसिएलाकी, आफूबाट छुट्लाकि, टाढा होलाकि, भोलि आफ्नो सुरक्षाको लागि नरहलाकि भनेर डराइरहन्छ किनकी उ धन तथा वाहिरका श्रोत–साधनहरुले धनी भएको छ तर आफूभित्रबाट मनले गरिव नै रहेको छ । कसैले खोस्न नसक्ने आफ्नो वास्तविक धन ‘मन–भाव–वुद्धि–आत्मा–चेतना’को जागरण तथा विकास गर्नुपर्छ भन्ने शास्वत ज्ञानबाट उ दुर तथा बन्चित भएको छ आफैं, र जीवनभर डर तथा असुरक्षाको अनुभव गरिरहन्छ । यसैकारण हिन्दीमा एउटा प्रसिद्ध भनाइ अत्यन्तै लोकप्रिय रहेको छ, ‘सोनेकी चेन तो है पर चेनका सोना नहीं है’ अर्थात धन त प्रसस्त छ तर यसकै कारण आरामको निद्रा चाहिं छैन । आजको युग कलियुग हो र वर्तमान समयमा अधिकांश मनुष्यहरुको वास्तविकता यही हो सम्पति छ तर शान्ति छैन, धन छ तर ध्यान छैन र यसको मूलकारण हामीले जन्मजात लिएर आएको आफ्नो प्राकृतिक गुण तथा नैसर्गिक स्वरुप सुखी, खुशी, शान्त, सकारात्मक, प्रेम, सेवा अर्थात अध्यात्म, धर्मका मर्म, मूल्य, मान्यताहरुलाई भुल्नु तथा छोड्नु हो । वाहिरको गुरु तथा सदगुरुले सर्वप्रथम मनुष्यलाई उसको प्राकृतिक गुण तथा नैसर्गिक स्वरुपमा फर्काउछ र विस्तारै आत्मवोध, आत्मसाक्षातकार, आत्मज्ञान हुदै उसको वास्तविक जन्मदाता तथा मूलश्रोत परमपिता परमात्मामा योगस्थ गराइदिन्छ उसको अन्तरहृदयमा रहेको आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात सवयं परमात्मासंग साक्षातकार गराएर । यसकालागि सदगुरुले सनातन योग विज्ञानका योगीक साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरु खासगरि ध्यान साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित प्रयोगात्मक अभ्यास गराउदछ किनकी सनातन योग विज्ञानको अत्यन्तै महत्वपूर्ण विषय ‘ध्यान’ केवल दर्शन मात्र होइन, यो दर्शन तथा सैद्धान्तिक ज्ञान भन्दा धेरै माथि र धेरै बढि ‘साधना’ हो, सशक्त विज्ञान हो जसले मनुष्यलाई साधना हुदै सिद्धिसम्म पुर्याउछ, यसैकारण सदगुरुले प्रदान गर्ने अध्यात्म ज्ञानलाई सनातन अध्यात्म विज्ञानमा ‘साधनादेखि सिद्धिसम्म’को परालौकिक मार्गको यात्राका रुपमा परिभाषित गरिदै आइएको पाइन्छ । सदगुरुको सानिध्यमा रहेर मनुष्य जति-जति योगीक साधनामा अभ्यस्त र लय हुदै जान्छ उतिनै परमात्मा साक्षातकार र मोक्ष तथा निर्वाणको निकट हुदै जान्छ र विस्तारै उसको अन्तरहृदयमा परमात्मा आन्तरिक गुरु तथा हरिगुरु भएर गुञ्जिन प्रारम्भ गर्दछ तथा प्रकट हुन्छ र उसंग दोहोरो संवाद गर्न प्रारम्भ गर्दछ । ध्यान साधकलाई यस्तो स्वयम्भु, अयोनी, अकाल, अमृत, अमर, सर्वशक्तिमान, सर्वव्यापक, परमकरुणाकर परमात्माको ज्ञान तथा साक्षातकार केवल सदगुरुको ज्ञान, मार्गदर्शन तथा सदगुरु कृपाबाट मात्र हासिल हुन सक्दछ ।
कहिलेकाही यस्तो हुन्छकि केही साधकहरु स्थुल शरीरमा रहेका सदगुरु बिनानै आफूभित्रको ‘म’ रुपि अहंकारलाई पगाल्न तथा गिराउन सक्दछन् तर यसकोलागि साधकमा अत्यन्तै गहिरो साधना र गहन समझको विकास भएको हुनुपर्दछ । उभित्र यस्तो दृष्टि चाहिन्छ जसले आफ्ना सुक्ष्म तथा अतिसुक्ष्म अहंकारहरुलाई पनि आफ्नो सामुन्नेमा स्पष्ट रुपमा देख्न सकोस् र यही देख्ने गतिको तिब्रतामै उसका सबै अहंकारहरु जलेर भस्म हुन सकुन् । यही क्षमता हो भगवान शिवको तेस्रो आँखा तथा आज्ञा चक्रको शक्ति जसले कामदेवलाई एक नजरमै भष्म गरिदिएको थियो । यदि साधकको अध्यात्म साधनामा तेस्रो आँखाको शक्ति अर्थात उसको सुक्ष्म शरीरमा रहेका ब्रम्हाडिय महाउर्जाका शक्तिकेन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार) जाग्रित भएका छन् भने स्थुल शरीरमा रहेको वाहिरी सदगुरु बिनानै साधकले आफूमा रहेका सबैप्रकारका अहंकारिताहरुलाई जलाएर भष्म पार्न सक्दछ र आफूलाई निरअहंकारिताको शुद्ध, कञ्चन जलले स्नान गराएर आफैंले आफूलाई शरीरमा रहेको वाहिरी सदगुरु बिना परमपदमा तथा परमात्मामा योगस्थ गर्न सक्दछ । यस सन्दर्भमा वाहिरको सदगुरु स्थुल शरीरमा रहेकै हुनुपर्दछ या स्थुल शरीरमा नरहनु भएका तथा स्थुल शरीर छोडिसक्नु भएका तथा सुक्ष्म शरीरमा रहनु भएका सदगुरुलाई पनि आफ्नो मार्गदर्शक बनाउन सकिन्छ भन्ने बडो सान्दर्भिक विषय उठ्दै आएको छ हिजोआज अध्यात्म साधनाको सन्दर्भमा । लामो समयदेखि साधनारत गहन अध्यात्म साधकहरुको स्वअनुभवहरुका अनुसार अध्यात्म साधना गर्नकालागि सदगुरु स्थुल शरीरमा रहेको तथा स्थुल शरीरमा नरहेको दुवै प्रकारको हुन सक्नुहुन्छ तर कलियुगका अधिंकाश मनुष्य तथा साधकहरुले निराकार तथा शरीरमा नभएको सुक्ष्म सदगुरुलाई आन्तरिक रुपमा महसुस गर्न नसक्ने हुनाले उनीहरुलाई स्थुल शरीरमा रहेको सदगुरुको आवश्यकता पर्दछ । यस सन्दर्भमा केही समयअघि टि.भी.को अन्तरवार्ता मार्फत सार्वजनिक हुनुभएकी सनातन अध्यात्म साधक निशा कबीरले भन्नु भएको थियो, "आफू सुदुरपश्चिम नेपालको मुस्तागं जिल्लामा गुफामा वर्षौंसम्म साधनारत रहदा निकै अघिनै स्थुल शरीर छोडिसक्नु भएका श्रद्धेय सन्त कबीर र श्रद्धेय ओशो रजनीशले क्षण-क्षण मार्गनिर्देश गर्नुभएको थियो ।" यो सत्य हो किनकी यसको ज्वलन्त उदाहरण तथा प्रमाण पंक्तिकार(म सिर्जना भण्डारी) स्वयं पनि हुँ । मेरो अहिलेसम्म स्थुल शरीरमा रहनु भएको वाहिरी सदगुरु कोही पनि हुनुहुन्न, मैले अध्यात्म साधनाको प्रारम्भदेखि नै ‘ध्यान’ गुरु देवादिदेव आदिगुरु भगवान श्रीशिवलाई मानेर आफ्नो अन्तरहृदयमा विराजमान गराएं र ‘ज्ञान’ गुरु युग ऋषि श्रद्धेय ओशो रजनीशलाई मानेर आफ्नो अन्तरहृदयमा विराजमान गराएं । मेरो अध्यात्म साधनामा क्षण-क्षणमा आदिगुरु स्वयं भगवान श्रीशिवले र श्रद्धेय ओशो रजनीशले मार्गनिर्देश गर्नुभएको थियो र अद्यावधिक गरिनैरहनु भएको छ ।
तर आजको कलियुगका अधिकांश मनुष्यहरुमा साधनाको यस्तो शक्ति र संकल्प छैन त्यसैले उनीहरुलाई वाहिरको गुरु तथा सदगुरुको आवश्यकता पर्दछ । कलियुगका मनुष्यहरुमा सत्य युग, त्रेता युग, द्वापर युगमा जस्तो सनातन अध्यात्मका ज्ञान, विज्ञानका विषयहरुबारे बुझाइ, मूल्य, मान्यता, अनुशरणको संकल्प शक्तिनै छैन किनकी ती युगहरुमा ज्ञान, चेतना, जाग्रिती अधिक थियो तर कलियुगमा त्यस्तो छैन । कलियुगको वास्तविक मतलव तथा अर्थ हो गहिरो निद्रा, मृत्युको नजिकको निद्रा, अन्धकार, मुर्छा, बेहोस, आलस्य, प्रमाद, तमस आदि । कलियुगका मनुष्यहरु गहिरो निद्रामा छन्, अन्धकारमा छन्, बेहोस तथा मुर्छित छन्, आलस्य, प्रमाद, तमसमा छन् । तसर्थ उनीहरुलाई सनातन ऋषिहरु, श्रीकृष्ण, बुद्ध, महवीर, गुरु नानकहरुको मार्गदर्शनको अनुशरण गर्न अहिलेको समयमा कठिन छ । यी दिव्य पुरुषहरुको युगका अधिकांश मनुष्यहरु सहज, सरल, निर्मल, सकारात्मक, प्रेम, सेवा, उपकार भावले भरिएका हुन्थे । तर कलियुग ठिक यसको विपरित अवस्थामा खडा भएको छ, कलियुगका मनुष्यहरुको मन, भाव, नियत, सोच, विचार, व्यवहार, आचरण धमिलो छ, उनीहरु अत्यन्तै जटिल छन्, अनेक समस्याहरुमा उल्झेका छन्, भ्रमित छन् त्यसैले यस युगमा अर्कै प्रकारको युग सान्दर्भिक मार्गदर्शन र मार्गदर्शकको आवश्यकता भएको छ र युग सान्दर्भिक सदगुरुको मार्गदर्शन अनिवार्य भएको छ । कलियुगमा नानकले भन्नु भएको ‘गुरुबिन ज्ञान न होवे’ अर्थात गुरुबिना ज्ञान तथा अन्तरज्ञान हुदैन भन्ने अमृत वचन सत्य सावित र शतप्रतिशत चरितार्थ भएको छ र वर्तमान समयकालागि गुरु नानक देवजीको यो अमृत वचन, विचार तथा अवधारणा झन-झन अत्यन्तै जीवन्त र व्यवहारिक हुदै आएको छ । कलियुगको मनुष्य गहिरो निद्रामा रहेकाले उसलाई जोडको झकझक्याइको आवश्यकता रहेको छ, गहिरो निद्रामा रहेको व्यक्तिलाई झकझक्याएर उठाउनु जस्तै हो सदगुरुले शिष्यलाई दिने ज्ञान तथा साधनाका विषयहरु किनकी वर्तमान समयका मनुष्यहरुको मन, भाव, वुद्धि, चित्त, चेतना गहिरो निद्रा, निस्पट्ट अन्धकार, मुर्छा, बेहोस, आलस्य, प्रमाद, तमसमा डुबिरहेको छ । केवल सदगुरुको ज्ञान तथा झकझक्याइबाट मात्र उनीहरुको यो अवस्था टु्टन तथा हट्न सक्छ, उनीहरुमा अन्तरज्ञान तथा विवेकशील प्रज्ञाको मूल फुट्न सक्छ र अहंकार पग्लिन तथा गीर्न सक्छ । वर्तमान समयमा कलियुगका मनुष्यहरुको गहिरो निद्रा तथा मुर्छाका कारण ज्ञानको अभावमा अनेक विकृति, विसंगती तथा अन्धविश्वासहरु फस्टाएका छन् । अर्कोले पूजा, प्रार्थना, साधना गरिदिएर स्वर्ग, मुक्ति, मोक्ष पुर्याइदिने नत्र नर्क हुने; संस्कार, संस्कृति, पूजा अनुष्ठानहरुमा देखिने साम्प्रदायिकता; म ठूलो, मेरो गुरु ठूलो, मेरो धर्म ठूलो, मेरो संस्कृति राम्रो, मेरो सम्प्रदाय तथा पन्थ उत्कृष्ट आदि जस्ता ढोंग, साम्प्रदायिकता, विकृतिहरु चलिरहेका छन् जोडतोडले विश्वका सबैजसो धर्म तथा सम्प्रदायहरुमा । यस्ता गलत सोच तथा गतिविधिहरुका कारण सनातन अध्यात्म तथा धर्मका वास्तविक तथा प्राकृतिक मूल्य, मान्यताहरुमा हदैसम्म ह्रास आइरहेको छ ।
यस्ता गतिविधिहरु चलाइरहेका र परमात्मालाई आफू भन्दा वाहिर खोज्ने तथा खोजिमाग्ने प्रयास गरिरहेका कलियुगीन मनुष्यहरुलाई अझ बढि वाहिरको सदगुरुको मार्गदर्शनको आवश्यकता परेको छ । उनीहरुमा सफलतापूर्वक सनातन अध्यात्म ज्ञान सहज र सरल ढंगले प्रवाहित गर्न सदगुरुको सानिध्य अत्यावश्यक हुन्छ । यसकारण १५ औं शताव्दिका परमपूज्य श्रद्धेय श्री गुरुनानक देवजीले कलियुगका मनुष्यहरुको आध्यात्मिक विकासका लागि सदगुरुको ज्ञान अनिवार्य हुन्छ भन्ने कुरामा निकै जोड दिनु भएको हो र जैनधर्मी परिवारमा जन्म लिनुभएका युग ऋषि श्रद्धेय ओशो रजनीशले मनुष्यको आध्यात्मिक जीवनको विकासका लागि गुरु नानक देवजीको यो जोडलाई सबै माझ अझ प्रभावकारी ढंगले उजागर गरिहनुभयो आफू स्थुल शरीरमा रहुन्जेलसम्म । गुरुबिना ‘ज्ञान’ न होवे, अर्थात गुरुबिना ‘ज्ञान’ हुदैन, यहाँ भनिएको ज्ञान त्यस्तो ज्ञान हो जसले साधकलाई परमात्मामा योगस्थ गराउदछ र मोक्ष तथा निर्वाणमा उपलव्ध गराउदछ । किनकी कलियुगका मनुष्यहरुले आफूभित्रको आन्तरिक गुरु तथा हरिगुरु अर्थात स्वयं परमात्मा आफैंले चिन्न तथा खोज्न सक्दैनन्, त्यहाँसम्म पुर्याउने सम्वाहकको काम केवल वाहिरको गुरु तथा सदगुरुले मात्र गर्न सक्दछ । वास्तविक ज्ञान त्यो जो व्यवहारमा आउछ तथा ल्याइन्छ र यसले मनुष्यलाई हरप्रकारका कठिनाइहरुबाट मुक्त गर्दछ, जन्म–जन्मका कर्मवन्धनहरु जलाउछ र साधकलाई जन्म–मृत्युको कष्टकर श्रृंखलाबाट वाहिर निकालेर मोक्ष तथा निर्वाणमा उपलव्ध गराउछ । व्यवहारमा नआएका ज्ञानहरु सबै सूचना तथा जानकारीहरु मात्र हुन् जो मनुष्यको मन, मस्तिष्कमा केलव संग्रहित भएर मात्र रहन्छन् र कतिपय अवस्थामा त तिनै ज्ञान बन्न नसकेका सूचना तथा जानकारीहरुले मनुष्यको जीवननै शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक रुपमै कष्टकर बनाइदिन्छन् । मनुष्यका चेतन मन, अवचेतन मन, अचेतन मनका तहहरुमा संग्रहित भएर रहेका जन्म–जन्मका सूचना तथा जानकारीहरुलाई सदगुरुले सनातन अध्यात्म साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका विधिहरु खासगरि योगासन, प्राणायाम र ध्यान साधनाका सैद्धान्तिक र व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुको प्रयोगात्मक अभ्यास गराएर ज्ञान, अन्तरज्ञान तथा विवेकशील प्रज्ञामा रुपान्तरित गराइदिन्छ यसकारण सदगुरुको आवश्यकता अनिवार्य हुन्छ किनकी मनुष्य एक्लैले यो प्रयत्न गर्यो भने लामो समय तथा जन्म–जन्म लाग्न सक्छ तर सदगुरुले सहि मार्गनिर्देश गरेर अलमलिन नदिकन सिधै गन्तव्यमा पुग्न मद्धत गर्ने हुनाले साधकको आध्यात्मिक विकास छिटो र प्रभावकारी हुन्छ, वर्तमान जन्ममै उ परमात्मा साक्षातकार गरेर मोक्षमा उपलव्ध हुन सक्दछ । यसको अर्थ सदगुरुले छोटो तथा छिटो हुने बाटोबाट शिष्यको अध्यात्म यात्रा अगाडि बढाउने होइन, सदगुरुले अत्यन्तै प्रभावकारी ढंगले सोझो बाटोबाट मुमुक्षु अर्थात परमात्मा साक्षातकार र मोक्ष तथा निर्वाणको चाहना राख्ने साधकलाई अन्तिम गन्तव्यमा पुर्याउने भरपूर प्रयत्न गर्दछ, यसकारण आन्तरिक गुरु अर्थात हरिगुरु आफूभित्रै भएपनि त्यहाँसम्म पुग्न साधनाको मार्ग सहज गराउन वाहिरको गुरु तथा सदगुरुको अनिवार्य आवश्यकता पर्दछ ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment