Thursday, 4 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -६

                                  #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान


                                                   
                                                           सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

९. सवालः D
ध्यान साधनामा बस्दा किन निद्रा लाग्छ ?

जवाफः

‘ध्यान साधनामा बस्दा किन निद्रा लाग्छ ?’ यो प्राय सबै साधकहरुको प्रतिनिधि सवाल हो किनकी अधिकांश साधकहरुलाई ध्यान साधनामा उंग तथा निद्रा लाग्छ र कतिपय ध्यान साधकहरुलाई निदाएं, ध्यान साधना भंग भयो तथा छुट्यो भनेर गल्ती गरेको जस्तो अपराधवोध भैरहेको हुन्छ तर ध्यान साधनामा उंग तथा निद्रा लाग्नु अत्यन्तै स्वाभाविक अवस्था हो तसर्थ ध्यानमा निदाएं भनेर आत्मग्लानीले विलकुल भरिनु पर्दैन किनकी यसको बडो गहिरो, तार्किक, वैज्ञानिक र सान्दर्भिक अर्थ रहेकोछ किनकी ध्यान साधनामा उंग तथा निद्रा लाग्नु ध्यान साधनाको अत्यन्तै महत्वपूर्ण र सकारात्मक उपलव्धि हो । सामान्य अर्थमा शरीरका लागि सहजता र आरामको दृष्टिकोणले ध्यान र निद्रा दुवै एकै अवस्था हुन्, निद्रा बेहोस तथा अचेत सहजता र आरामको अवस्था  हो र ध्यान होस तथा जाग्रित सहजता र आरामको अवस्था हो । स्थुल शरीर, मन, भावकालागि ध्यान र निद्रा एकै अवस्था हुन् यिनले सहजता र आराम पाउने अवस्था तर आत्मा अर्थात चेतनाकालागि भने ध्यान र निद्राको अवस्था र वास्तविकता निकै फरक हुन्छ । गहिरो, अटुट तथा सपनाबिहीन निद्रामा ब्रम्हाण्डबाट मनुष्यको समग्र जीवनको विकासका लागि अत्यावश्यक प्राण उर्जा तथा जीवन उर्जा प्राप्त हुन्छ । निद्रामा प्राप्त भएको प्राण उर्जाले मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरु– शारीरिक शरीर तथा स्वास्थ्य, मानसिक शरीर तथा स्वास्थ्य, भावनात्मक शरीर तथा स्वास्थ्य,  वौद्धिक शरीर तथा स्वास्थ्यमा अत्यन्तै प्रभावकारी सकारात्मक प्रभाव पार्दछ । तर निद्राबाट प्राप्त हुने प्राण उर्जा सीमित हुनेहुनाले यो मनुष्यको शरीर, मन, भाव र वुद्धिको विकाससम्म मात्र सीमित हुन्छ, आत्मा अर्थात चेतनाको विकासका लागि पर्याप्त हुदैन किनकी मनुष्यको आत्मा अर्थात चेतनाको विकासकालागि पर्याप्त ब्रम्हाण्डिय प्राण उर्जाको आवश्यकता पर्दछ र ध्यान साधनाबाट मात्र पर्याप्त मात्रामा ब्रम्हाण्डिय प्राण उर्जाको आपूर्ति हुनसक्दछ । 

ध्यान साधनामा साधकलाई उंग तथा निद्रा लाग्नु स्वभाविक प्रक्रिया हो किनकी जीवनयापनका क्रममा क्षणक्षण सक्रिय भएर विभिन्न प्रकारका शारीरिक, मानसिक, भावनात्मक, सचेततात्मक तथा वौद्धिक गतिविधिहरुमा समलग्न रहेका कारण प्राण उर्जाको खपत अत्यन्तै धेरै भएको हुन्छ र उसको शरीर, मन, भाव, वुद्धि थाकेको तथा गलेको हुन्छ । थाकेको तथा गलेको शरीर, मन, भाव, वुद्धिका सुक्ष्म प्रणाली, कोष तथा दृश्य-अदृश्य तत्वहरु अतिक्रमणमा परेका, टुटफुट भएका, चुडिएका, च्यातिएका, चयापिएका, क्षतविक्षत भएका तथा नष्ट भएका हुन्छन् । यसरी थाकेको शरीर, मन, भाव, वुद्धिलाई पुनरताजा गर्न तथा पूर्ववत स्फुर्तिको अवस्थामा आउन पर्याप्त प्राण उर्जाको आवश्यकता पर्दछ । ध्यान साधनामा बसेपछि साधकलाई ब्रम्हाण्डिय महाउर्जाका शक्तिकेन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)को माध्यमबाट गहिरो निद्रामा भन्दा धेरै गुणा बढि र गुणस्तरीय प्राण उर्जा प्राप्त हुन प्रारम्भ हुन्छ । प्राण उर्जाको प्रकृति तलबाट माथि जाने प्रकारको हुनेहुनाले जहाँ–जहाँ र जता–जता आवश्यकता छ पहिला त्यतै–त्यतै प्रवाह हुने उर्जाको सिद्धान्त अनुसार क्रमशः तलबाट माथि जाने क्रममा सबैभन्दा पहिला स्थुल शरीरको तहमा प्रवाहित हुन्छ ध्यान साधनाबाट प्राप्त भएको प्राण तथा जीवन उर्जा र क्रमशः मन, भाव, वुद्धिको तहमा प्रवाहित हुदै जान्छ एकएक तहको उर्जाको आवश्यकता पूरा गर्दैैगर्दै । ध्यान साधनामा रहेको अवस्थामा साधकले पर्याप्त प्राण उर्जा ग्रहण गर्न थालेपछि उसको थाकेको तथा गलेको शरीर, मन, भाव, वुद्धिका अतिक्रमणमा परेका, टुटफुट भएका, चुडिएका, च्यातिएका, च्यापिएका, क्षतविक्षत भएका तथा नष्ट भएका सुक्ष्म प्रणाली, कोष तथा दृश्य-अदृश्य तत्वहरु पर्याप्त प्राण उर्जाको आपूर्ति भएसंगै मर्मत हुन, जोडिन, पुनरनिर्मत हुन तथा पुनरताजगी हुन थाल्छन् अर्थात रिपेयर–रिकनेक्ट-रिबिल्ड–रिफ्रेस हुन थाल्दछन्, साधकलाई सहजता तथा आराम मिलेको अनुभूति हुन्छ र यो अवस्थामा उसलाई उंग तथा निद्रा लाग्छ जुन अत्यन्तै सामान्य र प्राकृतिक प्रक्रिया हो ।


यसरी प्राण उर्जाको अत्यधिक खपत भएर पर्याप्त प्राण उर्जाको अभाव भएको कारण शरीरको तहमा आएका विचलन, टुटफुट, थकानको अवस्थालाई ध्यान साधनाबाट प्राप्त भएको पर्याप्त  प्राण उर्जाले विस्तारै हटाउदै शरीरका सबै आयामहको मर्मत तथा उपचार गर्न प्रारम्भ गर्ने हुनाले ध्यान साधनाबाट प्राप्त प्राण उर्जा शरीरको उपचारपछि क्रमशः मन, भाव, वुद्धिको तहमा गएर शरीर र स्वास्थ्यका सबै आयामहरुको मर्मत तथा उपचार प्रक्रिया शुरु गर्दछ र यस्तो अवस्थामा मनुष्यको शरीरका सबै आयामहरुले आराम, स्थिरता, एकाग्रता, शान्ति तथा आनन्दको महसुस गर्दछन् र साधकले निद्रा लागेको जस्तो अनुभव गर्दछ तर योग विज्ञानको भाषामा यो अवस्था निद्रा नभएर 'योग निद्रा' हो, प्राण उर्जाको आपूर्तिको दृष्टिकोणले निद्रा भन्दा योग निद्रा अत्यन्तै धेरै महत्वपूर्ण र उपलव्धिमूलक मानिन्छ । शरीरका सबै आयामहरुमा आराम, स्थिरता, एकाग्रता, शान्ति तथा आनन्दको महसुस भएको कारण साधकलाई उंग लाग्न थाल्छ र उ योग निद्रामा प्रवेश गर्दछ । विभिन्न वैज्ञानिक खोजमूलक अध्ययनका तथ्यांकहरुका अनुसार ध्यान साधनामा रहेको बेला लागेको योग निद्राको समयमा ब्रम्हाण्डिय प्राण उर्जा हासिल गर्ने दृष्टिकोणबाट हेर्दा निद्राको अवस्थामा प्राप्त हुने प्राण उर्जा आपूर्तिको तुलनामा योग निद्राबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जा तीन गुणा भन्दा बढि शक्तिशाली, प्रभावकारी तथा लाभकारी रहेको पाइएको छ । यसकारण ध्यान साधनामा साधकलाई उंग तथा निद्रा लाग्नु स्वभाविक प्रक्रिया हो र यो सामान्य तथा राम्रो अवस्था हो किनकी निद्रा मनुष्यको सबैभन्दा ठूलो चिकित्सक र अमृतपूर्ण औषधि हो र यो अवस्था हिजोआजका अधिकांश मनुष्यहरुमा अनिद्राको समस्या चलिरहेको विषम परिस्थितिमा आफूमा निदाउन सक्ने स्वास्थ्यको क्षमता रहेछ भन्ने प्रत्यक्ष प्रमाण पनि हो । यसकारण म ध्यान साधनामा उंगे, निदाएं, ध्यान भंग भयो, पूरा भएन भनेर आत्मग्लानी तथा अपराधवोध मानेर ध्यान तथा योग निद्राबाट प्राप्त भएको प्राण उर्जाको यो अभुतपूर्व लाभलाई हानि पुर्याउनु हुदैन किनकी आत्मग्लानी तथा अपराधवोधले प्राण उर्जाको तहलाई तिब्रगतिमा ह्रास गर्दछ तथा तलतिर झारिदिन्छ र फेरी शरीर तथा स्वास्थ्यका सबै आयामहरुलाई थकित तथा गलित अवस्थामा पुर्याइदिन्छ । ध्यान साधनाको उपलव्धिका सन्दर्भमा विभिन्न समयमा गरिएका प्रामाणिक खोजमूलक अध्ययनका तथ्यांकहरुले उजागर गरेका नतिजाहरुका अनुसार थाकेको तथा गलेको शरीर र स्वास्थ्यका सबै आयामहरुमा फेरी प्राण उर्जा भरिन सामान्य अवस्थामा लामो समय लाग्छ निद्राको प्रकृति तथा गहिराइ अनुसार तर ध्यान साधना तथा योग निद्राको समयमा साधकको शरीर तथा स्वास्थ्यमा मा उर्जा भरिन उसको शरीर तथा स्वास्थ्यको अवस्था अनुसार औषतमा १५ मिनेट देखि आधा घण्टासम्म लाग्न सक्दछ । यसकारण ध्यान साधनामा रहदा निद्रा लाग्नु अत्यन्तै सामान्य, प्राकृतिक र राम्रो अवस्था हो, आफूलाई ध्यान साधनामा उंग तथा निद्रा लाग्यो भनेर ग्लानी नगरौं, बरु खुशी होउँ आफूसंग भएको अमूल्य औषधि निद्राको क्षमतासंग ।
 
                                                                               शिवोहम् !
                                                     डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


***********************************************


सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

१०. सवालः D
सामान्य निद्रा भन्दा योग निद्रा किन महत्वपूर्ण हुन्छ ?

जवाफः

निद्रा पछिको समयमा भन्दा योग निद्रा पछिको समयमा मनुष्यको शरीर, मन, भाव, वुद्धि अधिक स्फुर्त र उर्जावान बन्दछ किनकी सामान्यतया निद्रामा प्रवेश गर्नुअघि अधिकांश मनुष्यको चेतन मन उसले थाहा नै नपाइकन बेहोसीमा विगतका अनावश्यक तथा अनुपयोगी र तनाव दिने नकारात्मक सोच, विचार, भावनात्मक संवेगका स्मृतिहरुमा र भविश्यका अनिश्चितता, डर तथा असुरक्षाका कल्पनाहरुमा रुमल्लिरहेको हुन्छ र उ यही अवस्थामा निदाउछ । आधुनिक मनोविज्ञानका अनुसार निदाउनु अघि मनुष्यको चेतन मनमा जे–जस्ता घटना तथा विषयहरु चलिरहेका तथा खेलिरहेका हुन्छन् निदाएपछि उसको चेतन मन त अचेत तथा बेहोस हुन्छ तर अर्धचेतन मन तथा पूर्णचेतन मन कहिल्यै नसुत्ने हुनाले यो निरन्तर चलिरहन्छ र निद्रा अवधिभर यसले निदाउनुअघि स्मृतिमा आएका तिनै अनावश्यक नकारात्मक अतिविचार, भावनात्मक संवेग तथा असुरक्षाका कल्पनाका घटना तथा विषयहरुमा निरन्तर चलाईरहन्छ तथा तिनै विषयहरुलाई प्रक्रिया तथा प्रशोधन अर्थात प्रोसेस गरिरहन्छ, मनलाई पुनरसंरचना अर्थात रिप्रोग्राम गरिरन्छ, मस्तिष्कमा अनुभवका रेखाहरु अर्थात प्याट्रन बनाइरहन्छ र निदाएको समयमा सपनाका रुपमा अभिव्यक्त गरिदिन्छ । यस्तो अवस्थामा मनुष्यको अर्धचेतन तथा पूर्णचेतन मनमा निरन्तर चलिरहेका विचार, भावनात्मक संवेगहरु तथा सपनामा अभिव्यक्त भएका घटना तथा विषयहरुले निद्राबाट प्राप्त भएको प्राण उर्जाको ठूलो हिस्सा सोसेर लिन्छन् । अनावश्यक तथा अनुपयोगी घटना तथा विषयहरुले निद्राबाट प्राप्त भएको प्राण उर्जाको ठूलो हिस्सा सोसेर लिएका कारण शरीर, मन, भाव, वुद्धिको मर्मत तथा उपचारका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति अपर्याप्त हुन्छ र यस्तो अवस्थामा शरीर तथा स्वास्थ्यका सबै आयामहरु जति र जसरी हुनुपर्ने हो त्यसरी पूनरताजा हुन सक्दैनन् र सक्रिय तथा स्फुर्त रहन सक्दैनन् । पर्याप्त प्राण उर्जाको अभावका कारण व्यक्ति पुनः थकित, गलित, आलश्य नै रहिरहन्छ, यस्तो अवस्थामा उसले आफ्ना नियमित उत्तरदायित्वहरु सहि ढंगले निभाउन सक्दैन र उसको जीवनमा असहजता, कठिनाई तथा चुनौतिहरु आइपर्न थाल्छन् जसले अन्ततः उसलाई बारबार उही अस्वस्थता, तनाव, चिन्ता, बेचैनी, विषाद, अवषाद, थकित, गलितको अवस्थामा पुर्याइदिन्छ । 

तर योग निद्रामा मनुष्यको चेतन मन ध्यानका प्रक्रिया तथा विधिहरुका सकारात्मक घटना तथा विषयहरुको धारणामा एकाग्र हुने, सकारात्मक भावमा रहेर राम्रा, उपयोगी तथा उर्जा प्रदान गर्ने प्रकारका विषयहरुको धारणा गर्ने, आफ्नो आराध्यदेवको छवि स्मरण, नाम जप तथा मन्त्र उच्चाहरणमा रहने हुनाले यो अवस्थामा साधक निदाएर उसको चेतन मन बेहोस भएपनि अर्धचेतन तथा पूर्णचेतन मन तिनै सकारात्मक, उपयोगी तथा उर्जा प्रदान गर्ने दिव्य घटना तथा विषयहरुमा निरन्तर चलिरहन्छ तथा तिनै विषयहरुलाई प्रोसेस, प्याट्रन, रिप्रोग्राम गरिरहन्छ । ध्यान साधनाका प्रक्रिया तथा विधिहरुमा अनुशरण गरिने घटना तथा विषयहरु स्वयं परमात्मासंग प्रत्यक्ष सम्वन्धित हुनेहुनाले आध्यात्मिक रुपमा यी अत्यन्तै शक्तिशालि, प्रभावकारी, परिणाममुखी र उपलव्धिमूलक हुन्छन् र यस्तो महत्वपूर्ण समय तथा अवस्थामा अर्धचेतन तथा पूर्णचेतन मनमा चलेका दिव्य घटना तथा विषयहरुले सबैभन्दा धेरै ब्रम्हाण्डिय प्राण उर्जा प्रदान गर्दछन् । जति बढि प्राण उर्जा प्राप्त हुन्छ उतिनै शरीर, मन, भाव, वुद्धिको मर्मत तथा उपचारका लागि आवश्यक पर्ने प्राण उर्जाको आपूर्ति पर्याप्त हुनेहुनाले शरीर तथा स्वास्थ्यका सबै आयामहरु छिट्टै नै पूनरताजा हुन्छन्, हरपल स्फुर्त रहन्छन् र व्यक्तिको सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक जीवनमा सकारात्मक रुपान्तरण आउन प्रारम्भ हुन्छ । ध्यान साधना तथा योग निद्राबाट प्राप्त भएको पर्याप्त ब्रम्हाण्डिय प्राण उर्जाले जव साधकको शरीर, मन, भाव, वुद्धिको विकासका लागि आवश्यक पर्ने पर्याप्त प्राण उर्जाको परिपूर्ति भैसक्छ तव उर्जाको प्रवाह आत्मा अर्थात चेतनाको विकासको तहमा प्रवाहित हुन थाल्छ, र यसपश्चात बल्ल साधकको वास्तविक आध्यात्मिक विकास हुन प्रारम्भ हुन्छ र उसलाई ध्यान साधनाका क्रममा दिव्य परालौकिक अनुभूतिहरु हुन प्रारम्भ हुन्छन् जो स्वयं हरिगुरु तथा परमात्माको कृपा हो, आशिर्वाद हो, मोक्ष मार्गको मार्गनिर्देशन हो । सामान्य निद्रा भन्दा योग निद्रा महत्वपूर्ण र उपलव्धिमूलक  हुन्छ ।

                                                                            शिवोहम् !
                                                     डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ




No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको छैठौं लहर: आधूनिक युग

  डा. सिर्जना भण्डारी                                                                                             #अध्यात्म_विज्ञान  # धर्म_...