Friday, 12 December 2025

शिवोहम् योगपीठ: योग साधना - पहिलो कक्षा

                                  #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


योग साधना - पहिलो कक्षा

सवालकर्ता तथा सहभागीलाई धन्यवाद साथै शुभकामना !

१८. आजको विषय तथा सवाल:

जीवन अव्यवस्थित हुदा ध्यान लाग्दैन भने जीवन व्यवस्थित कसरी गर्ने ?

जवाफ तथा प्रारम्भ:

योग साधनाको – पहिलो कक्षामा हार्दिक स्वागत छ !

अनलाइन सेवा योग साधनाका क्रममा सेवाग्राही कुञ्जना अधिकारीसंग जुम अनलाइनमा योग साधना प्रारम्भ गर्ने सन्दर्भमा भएको रोचक र सन्देश मूलक कुराकानी जस्ताको तस्तै-

प्रश्नः नमस्कार, म कुञ्जना अधिकारी । म योग-ध्यान साधनामा सहभागि हुन चाहान्छु । योगासनबारे त थाहा छ शरीर मर्काउने क्रिया भनेर तर वास्तविक तथा व्यवहारिक अर्थमा ध्यान साधना गर्नु भनेको के हो, ध्यान साधना कसरी गर्नुपर्छ ?

उत्तरः अवश्य कुञ्जना !

केही पनि नगरी चुपचाप बस्नु र आफूभित्र र आफू वाहिरको अवस्था थाहा पाइराख्नु ध्यान साधना हो ।  

प्रश्नः केही पनि नगर्दा त रमाइलो लाग्छ, मजा आउछ तर ध्यान गर्दा अत्यन्तै छटपटी र बेचैनी हुन्छ, किन त्यस्तो भएको होला ? 

उत्तरः तपाईंको जीवन व्यवस्थित नभएकोले छटपटी र बेचैनी भएको हो, जीवन व्यवस्थित गर्नुपर्छ तव ध्यान साधना आफैं सहज हुन्छ। 

प्रश्नः जीवन त चलिरहेको र कटिरहेको छ त रमाइलोसंग, के हो जीवन व्यवस्थित गर्ने भनेको ? 

प्रश्नः तपाईंको सहि उमेर, उचाई, तौल, अध्ययन, पेशा, परिवार, स्वास्थ्य, सम्वन्ध, आहार, विहार, सेवा, दान... आदिबारे के–कस्तो अवस्था छ ? थोरैथोरै बताउनुस् न मलाई कुञ्जना । 

उमेर–३५ वर्ष; उचाई–४.५ फीट; तौल–६२ किलो; अध्ययन–साक्षर; पेशा–घर व्यवस्थापक; परिवार–श्रीमान विदेशमा, बच्चा होस्टलमा किनकी मैले जन्माएका बच्चा होइनन्; स्वास्थ्य अवस्था–अनिद्रा, उच्च रक्तचाप र कब्जियत; सम्वन्ध– माइती र घरमा आउजाउ छैन; आहार–मांसाहार, मद्यपान; विहार तथा व्यायाम–विहान उठ्नै सक्दिन, भर्याङ चढ्न गाह्रो हुन्छ; सेवा–काम गर्ने बानीनै छैन, अर्काको काम गर्न रुचिनै छैन; दान–आफैंलाई खर्चले पुग्दैन... ।

प्रश्नः आफ्नो र घरको खर्चको व्यवस्थापन कसरी चलाउनु हुन्छ ?

उत्तरः श्रीमानले विदेशबाट पैशा पठाउनु हुन्छ आवश्यकता भए अनुसार । 

प्रश्नः खाने कुराहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

उत्तरः आफ्नै गाडी छ, ड्राइभरसंग बजार गएर ल्याउछु कि ल्याउन अह्राउछु, भान्सकोलागि एक हप्ताको सामग्रीहरु एकै पटक किन्छु, भान्सेले खाना पकाउछिन् । 

प्रश्नः घर–कोठाको सरसफाइ तथा व्यवस्थापन कसरी गर्नुहुन्छ ? 

उत्तरः विहान आएर साँझ फर्किने दुईजना नोकर-चाकर छन् घरवाहिर र घरभित्रको सबै काम हेर्ने, उनीहरुले गर्छन घरको सबै काम, म त त्यति भ्याउदै भ्याउदिन । 

प्रश्नः के काम तथा पेशा गर्नु हुन्छ तथा के काममा व्यस्त हुनुहुन्छ धेरैजसो ? 

उत्तरः हाहाहा... काममा त होइन, साथीहरुसंग घुम्ने, खाने, रमाइलो गर्ने मात्र तर कहिलेकाहीं खर्चिलो घुमाइ हुदा, पैशा कम हुदा खर्चको कुरामा खटपट पर्छ अनि ती साथीहरु छोडिदिन्छु । 

प्रश्नः बिना उद्देश्यको जीवनशैली रहेछ, तपाईंको शरीर र स्वास्थ्य व्यवस्थित छ ? 

उत्तरः छ, ब्युटी पार्लरको सेवा-सुविधा घरमै आएर दिन्छन् र डाक्टरकोमा चेकअपको लागि पनि गैरहन्छु, उच्च रक्तचाप र अनिद्राको औषधि खाइरहेको छु । 

प्रश्नः होचो मान्छेको ३५ वर्षमा ६२ किलो तौल, अनिद्रा, उच्च रक्तचाप र कब्जियतको स्वास्थ्य समस्या र एलोपेथिक औषधि सेवनले शरीरलाई अप्ठ्यारो र अस्तव्यस्त गरेको छैन ? 

उत्तरः छ, भारी हुन्छ, आलस्य हुन्छ... । 

प्रश्नः त्यसोभए तपाईंको शरीर र स्वास्थ्य कसरी व्यवस्थित भयो त ? 

उत्तरः निरुउत्तर हेराई... !? ए..., त्यस्तो पो भन्नु भएको !!??

प्रश्नः तपाईंको मनका विचारहरु व्यवस्थित छन् ? 

उत्तरः छन्, मलाई केही कुराको पनि अभाव तथा दुःख छैन । 

प्रश्नः मनुष्यको मनको आहार धन-सम्पत्ति होइन नि कुञ्जना, मेरो पहिलो बिहे हो तर श्रीमानको दोस्रो बिहे हो, मैले जन्माएका बच्चा होइनन् त्यसैले होस्टलमा छन् र श्रीमान विदेशमा हुनुहुन्छ भन्नुभयो, के यो अवस्थाले मन भारी र अस्तव्यस्त भएको छैन ?

उत्तरः निरुउत्तर हेराई... !? ए..., त्यस्तो पो भन्नु भएको !!?? 

प्रश्नः तपाईंका वुद्धि, विवेक र भावनात्मक संवेगहरु सकारात्मक र व्यवस्थित छन्?

उत्तरः छन्, कोही आफन्त तथा निकटका व्यक्तिहरुसंग मेरो त्यति गहिरो र दुरीको सम्वन्ध छैन त्यसैले कसैबाट मेरो चित्त दुखाई हुदैन । 

प्रश्नः आफूखुशी विवाह गरेर अर्काको घर भाँडेको, माइती र घरमा आउजाउ नभएको कारणले मन, मस्तिष्क, वुद्धि, हृदय बेचैन, अशान्त तथा अस्तव्यस्त भएको छैन ? मैले यसो नगर्नु पर्थ्यो कि, मैले अरुलाई अन्याय गरें आफ्नो इच्छापूर्तिका लागि, अरुको दुःखको कारण म बनें, किन यसो गरें होला जस्तो लाग्दैन कहिलेकाहीं ??

उत्तरः निरुउत्तर हेराई... !? ए..., त्यस्तो पो भन्नु भएको !!??

प्रश्नः तपाईंका वाहिरी सम्वन्धहरु व्यवस्थित छन् ? 

उत्तरः छन्, कसैसंग म धेरै नजिक र धेरै टाढा हुदिन । 

प्रश्नः साथीहरुसंग घुम्ने, खाने, रमाइलो गर्ने मात्र तर कहिलेकाहीं खर्चिलो घुमघाममा पैशा कम हुदा खर्चको कुरामा खटपट पर्छ अनि ती साथीहरु छोडिदिन्छु भन्नुहुन्छ, यसरी साथीहरु फेरीरहदा तथा कसैसंग दिगो तथा विश्वासको सन्वन्ध नहुदा तथा नबन्दा होच्याउने, घृणा गर्ने, बदलाको भावले मनमा क्लेश, दिक्दारी तथा मन अस्तव्यस्त हुने हुदैन ?

उत्तरः निरुउत्तर हेराई... !? ए..., त्यस्तो पो भन्नु भएको !!?? 

प्रश्नः तपाईंको जीवनशैली व्यवस्थित छ ?

उत्तरः छ, सबै सुविधा छ, खानपिन, घुमघाम रमाइलो छ जीवन तर एक्लैै छु ।

प्रश्नः विहानै नउठ्दा, शरीरको नित्यकर्म समयमै नगर्दा, शरीरलाई अत्यावश्यक सामान्य शारीरिक श्रम तथा व्यायाम नगर्दा, संधै मांसाहारी तथा गरिष्ठ भोजन गर्दा शरीर, मन, भाव गरुंगो र अस्तव्यस्त हुदैन ? त्यसमाथि म एक्लै छु भन्ने एक्लोपनिको भाव पनि रहेछ..., अनि जीवन रमाइलो चाहिं कसरी भयो त कुञ्जना तपाईंको

उत्तरः निरुउत्तर हेराई... !? ए..., त्यस्तो पो भन्नु भएको !!?? 

प्रश्नः अरुको सुख, खुशी, मुस्कान, हाँसो, शान्ति देख्दा आनन्द लाग्दैन ?

उत्तरः लाग्छ, म पनि संगै रमाउछु हाँस्छु, खुशी हुन्छु ।

प्रश्नः सेवा गर्न सक्दिन, काम गर्ने बानी छैन, अर्काको काम गर्न रुचिनै छैन, दान गर्दिन आफैंलाई खर्च पुग्दैन भन्नुहुन्छ । कहिलेकाहींको आफ्नो बेकारको घुमघाम अनि बेकारको खर्च सम्झिदा यति समय र यति पैशाले निम्न आर्थिक अवस्था भएका, न्युनतम आधारभूत खर्च टार्न धनको आवश्यकता परेका, अरुको सहारा तथा सहयोग चाहिएका व्यक्ति तथा परिवारहरुलाई मद्धत हुन्थ्यो र उनीहरुको जीवनमा थोरै भएपनि राहत मिल्थ्यो होला भन्ने ग्लानी भावले तपाईंको हृदय घच्घच्याउदैन कहिलेकाहीं ?

उत्तरः निरुउत्तर हेराई... !? ए..., त्यस्तो पो भन्नु भएको !!?? 

प्रश्नः यति संवाद पश्चात अव तपाईं आफैं लेखाजोखा गरेर भन्नुस् त तपाईंको जीवन व्यवस्थित छ कि अव्यवस्थित छ ?

उत्तरः ए..., त्यस्तो पो भन्नु भएको !?

प्रश्नः लामो विश्मय..., ला..., मेरो जीवन त पूरै पो अस्तव्यस्त र अव्यवस्थित रहेछ त ! अव म के गरौं ? मलाई कहिलेकाहीं म किन बाँच्नु, कसकोलागि बाँच्न, कोही आफूसंग छैनन्, एक्लै छु, कोही मेरा छैनन्, कसैले मलाई रुचाउदैनन्, सहयोग, मायाँ, सम्मान पनि गर्दैनन्... सुंक्क... सुंक्क..., मलाई मर्न मन लाग्छ... !!

प्रश्नः तपाईंले चाहिं अरुलाई केके दिनुभयो त– साथ, सहयोग, मैत्री, मायाँ, शान्ति, प्रशंशा, खुशी, धन्यवाद, क्षमा, विनम्रता, सम्मान, श्रद्धा, सेवा, दान... ? केही फल्नलाई त केही रोप्नु पर्छ पनि त होइन र ? तजाईंले जे रोप्नुभएको छ त्यही फल्छ र जस्तो हेरचाह तथा स्याहार गर्नुभएको छ त्यस्तै तथा त्यतिनै फल्छ । अनि के मरेर मुक्ति मिल्छ र, फेरी जन्मिनु पर्दैन र ?

उत्तरः लामो श्वास..., अँह, मैले त कसैलाई केही पनि दिएको रहेनछु, अरुले मलाई दिएनन् जस्तो मात्र लागीराख्छ मलाई त !

प्रश्नः उदाष भावमा..., मलाई यो भोग–विलास, मोज–मस्ती, क्लेश–विकारको सांसारिक वाहिरी जीवन पुग्यो । अव म बदलिन चाहान्छु, मलाई मद्धत गर्नुहोस् गुरुवर, म योग-ध्यान साधनामा सहभागि हुन चाहान्छु, मेरो जीवन व्यवस्थित गर्न चाहान्छु, यसकोलागि मैले केके गर्नुपर्छ म सबैथोक गर्छु ।

उत्तरः आफ्नो जीवनलाई क्रमशः व्यवस्थित गर्दै लानुपर्छ र संगसंगै योग साधना– योगासन, प्राणायाम, ध्यान गर्नुपर्छ अवस्था, समय, प्रक्रिया र विधि मिलाएर किनकी पूर्वीय सनातन ज्ञान योग र ध्यान साधना जीवनका सबै समस्याहरुको समाधान हो र सबै अस्वस्थता तथा रोगहरुको उपचार तथा औषधि हो ।

प्रश्नः कहिलेबाट हुरु गरौं म गुरुवर ? 

उत्तरः अहिलेबाट... ।

उत्तरः हस्... ।

मैले यहाँ भनेका विषयहरु मसिनो गरि याद गर्नुहोला, बुझ्नु होला र आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु होला है कृपया

उत्तरः हस्... ।  


योग साधनाको छोटो विधि प्रारम्भ गरौं

सबैभन्दा पहिला कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर बसौं; कम्मर, ढाड, शिर तथा पुरै मेरूदण्ड सिधा गरौं; आँखा बन्द गरौं; हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर आकाशतिर फर्काएर घुँडामाथि राखौं; शुरुको एक मिनेट मुख बन्द गरेर नाकबाट छोटो-छोटो श्वास छिटो–छिटो वाहिर फा लौं मात्र श्वास फालेपछि आफैं भरिन्छ; त्यसपछिको दुई मिनेट श्वासमा मन टिकाएर लामो श्वास भित्र लिउँ र गहिरो श्वास वाहिर फालौं; त्यसपछिको दुई मिनेट मुख बन्द गरेर भमरा जस्तो मंमंमंमं... आवाज निकालेर आफ्नो आवाज आफैंले ध्यानपूर्वक सुनौं; र त्यसपछि शरीर स्थिर गरेर हलचल नगरिकन बसेर ५ मिनेट मैले बजाएको तानपूरा संगीतको तरंग धून सुनौं; सुनिरहुँ ध्यानपूर्वक, मन यताउता नभडकाइकन, मन भड्कियो भने लामो श्वास भित्र लिउँ र गहिरो श्वास वाहिर फालौं मन फेरी तानपुरा तरंग धूनमा तथा वर्तमानमै फर्कनेछ... ।
  

तानपुरा सांगीतिक तरंग धून

हाम्रो साधनाको समय पूरा भएको छ, अव विस्तारै ध्यान साधनाबाट वाहिर आउन मन र शरीरलाई तयार गरौं…, ३ पटक लामो-गहिरो श्वास लिउँ र ३ पटक लामो लयमा एक श्वासभरि नादब्रम्ह ॐकारको उच्चाहरण गरौं; ॐकारं वन्दना गरौं; हरिगुरु वन्दना गरौं; र सारा जगतको सुख र शान्तिकालागि सर्वकल्याण भाव व्यक्त गरौं-


ॐकारं बिंदुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः।

कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥

                                     गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।

गुरुः साक्षात्‌ परब्रह्म तस्मै श्री गुरवे नमः॥

 

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।

सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

 

दुवै हातका हत्केलालाई एकआपसमा रगडौं, घर्षणबाट न्यानो भएका हत्केला को दिव्य उर्जालाई हल्कासंग आँखामाथि राखौं र हत्केला का रेखाहरु हेर्दैहेर्दै विस्तार आँखा खोलौं र सामान्य बनौं, विस्तारै गोडा खोलौं, पसरौं तथा पूरै शरीर चलाउँ ।  

१० मिनेटको छोटो योग साधना सकेपछि साधकको अनुभव

प्रश्नः कस्तो अनुभव भयो यो छोटो योग साधनामा कुञ्जना ?

उत्तरः टाउको, आँखा, नाक, गला, छाति र पेटमा आराम भयो, शितल भयो । यस्तो आराम तथा शितलताको अनुभव पहिला कहिल्यै भएको थिएन, अहिले निद्रा पनि लागिरहेको छ, मलाई यसरी झुम्म भएर निद्रा कहिल्यै लाग्दैनथ्यो गुरुवर... !

उत्तरः तपाईं अहिले केहीबेरको लागि सुत्नुस् कुञ्जना, थप आराम र शितलता मिल्नेछ तपाईंलाई किनकी प्राकृतिक निद्रा आफैंमा योग साधना र अमृत समानको औषधि हो । आजकै समयमा भोलि जुम अनलाइमा फेरी भेटौंला दोस्रो कक्षामा १० मिनेट सनातन अध्यात्म दर्शनको सैद्धान्तिक ज्ञानको श्रवण  योग साधनाको प्रयोगात्मक अभ्यास २० मिनेट गर्नेगरि र विस्तारै योग साधनाको समय बढाएर एक घण्टा पुर्याउनेछौं । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सफलता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो, यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको सुख, खुशी, शान्ति र आनन्द पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो र यही कारणले तपाईंको जीवन अस्तव्यस्त तथा अव्यवस्थित भएको हो, अव सबै सहि हुन्छ विस्तारै, आस्था राख्नुस् । शुभदिन !

हस्, शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!

हरि ॐ तत्सत् !
हे ॐकार स्वरुप हरि, केवल तिमी सत्य छौ !!


                                                                  शिवोहम् !
                                              डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...