#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
मनुष्यको जीवननै साधना रहेछ, साधनाका अरु आयामहरु केके हुन् ?
जवाफ तथा प्रारम्भ:
योग साधनाको छैठौं दिनको कक्षामा हार्दिक स्वागत छ कुञ्जना !
सर्वप्रथम १० मिनेट जीवन व्यवस्थापनका सन्दर्भमा केही सनातन ज्ञान, विज्ञानका विषयहरुबारे बुझौं त्यसपछि योग साधनाको छैठौं दिनको प्रयोगात्मक अभ्यासमा प्रवेश गर्नेछौं ।
मनुष्यको जीवननै योग साधना हो
मनुष्यको पूरा जीवन नै साधना तथा अभ्यासको अनुभव हो र यी गतिविधिहरुलाई योग साधना भनिन्छ किनकी मनुष्यले आफ्नो जीवन सहज, सरल, सफल तथा व्यवस्थित बनाउनाका लागि दैनिक जीवनयापनमा आफूलाई जीवनका विविध पक्ष तथा आयामहरु- सम्वन्ध, अध्ययन, पेशा, व्यवसाय, मनोरञ्जन आदिसंग योग गरिरहेको तथा जोडिरहेको हुन्छ र यो अनिवार्य छ, बिना योग तथा जोड उसको जीवन चल्ननै सक्दैन । आमरुपमा योग शव्दलाई योगासन तथा व्यायामसंग मात्र जोडेर बुझ्ने गरिन्छ तर योगासन तथा व्यायाम योग विषयको अत्यन्तै सानो अंश तथा एक इकाई मात्र हो । सनातन अध्यात्म दर्शनमा योग शव्द तथा भावको निकै ठूलो अर्थ तथा परिभाषा रहेको छ । संस्कृत व्याकरणमा योगलाई विभिन्न धातुहरुसंग जोडेर विभिन्न प्रकारले अझ गहन तथा फराकिलो परिभाषा गरिएको छ योग दर्शन तथा योग विज्ञानका रुपमा । योगको शाव्दिक, सरल र व्यवहारिक परिभाषा जोड्नु हो । सनातन अध्यात्मका अनुसार मनुष्य तथा सबै प्राणीहरुको जन्म र मृत्युको चक्र निरन्तर चलिरहन्छ, यो चक्रमा मनुष्य प्रमुख रुपमा दुई प्रकारका शरीर– (१)स्थुल तथा भौतिक शरीर, र (२)सुक्ष्म तथा पराभौतिक शरीर तथा दुई प्रकारका जीवन– (१)लौकिक तथा सांसारिक जीवन, र (२)परालौकिक तथा पारमार्थिक जीवन बाँचिरहेको हुन्छ । स्थुल तथा भौतिक शरीरमा मनुष्य लौकिक तथा सांसारिक जीवन जिरहेको हुन्छ आफूलाई जीवनका विभिन्न पक्ष तथा आयामहरुसंग जोडेर र सुक्ष्म तथा पराभौतिक शरीरमा मनुष्य परालौकिक तथा पारमार्थिक जीवन जिरहेको हुन्छ आफूलाई ब्रम्हाण्ड तथा परमात्माका विभिन्न पक्ष तथा आयामहरुसंग जोडेर । यी दुवै प्रकारका जुडाउहरु योग हुन् जीवन र जगतसंग अर्थात एउटा भौतिक संसार तथा सांसारिक जीवनसंगको जोड र अर्को परमात्माको संसार तथा पारमार्थिक जगतसंगको जोड ।
मनुष्यले आफ्नो जीवनको उच्चतम विकास तथा सहि व्यवस्थापन गर्नकालागि योगका यी दुवै आयामसंग जोडिनु तथा उसको सांसारिक र पारमार्थिक जीवनलाई एकसाथ अगाडि बढाउनु अनिवार्य हुन्छ किनकी एक आयाम बिना अर्को आयामको विकास हुनै सक्दैन । भौतिक तथा सांसारिक जीवन मनुष्यको कर्मको संसार हो जहाँ शरीर तथा शरीरका अरु आयामहरु मन, भाव, वुद्धि, सचेतनाले गर्ने कर्महरुको माध्यमबाट जीवन विकसित र व्यवस्थित हुन्छ, मनुष्यका सबै इच्छा, आंकाक्षाहरु शरीरको माध्यमबाट प्राप्त तथा पूरा हुन्छन् तर अत्यन्तै महत्वपूर्ण र भुल्नै नहने ध्रुवसत्य मनुष्यको शरीरलाई सक्रिय बनाउने र व्यवस्थितसंग चलाउने उसको आत्मा अर्थात चेतनाले हो । आत्मा अर्थात चेतनाको उच्चतम विकास तथा व्यवस्थापन शरीरको माध्यमबाट योग साधना गरेर मात्र गर्न सकिन्छ किनकी मनुष्यले जीवनभर राम्रो–नराम्रो तथा सकारात्मक–नकारात्क जे गर्न त्यो सबै नै योग नै हो, उसले नराम्रो तथा नकारात्मक कर्म पनि कुनै योग तथा जोड तथा लाभकैलागि गरेको हुन्छ र उसकालागि त्यो योग नै हो अरुकालागि वियोग भएपनि । विकसित आत्मा अर्थात चेतनाबिना शरीर, मन, भाव, वुद्धि, सचेतनाको सहि विकास तथा व्यवस्थापन हुन सक्दैन र शुद्ध, स्वस्थ, सक्रिय, विकसित शरीर, मन, भाव, वुद्धि, सचेतनाबिना आत्मा अर्थात चेतनाको सहि विकास तथा व्यवस्थापन हुन सक्दैन, भौतिक शरीर अर्थात स्थुल शरीर र पराभौतिक शरीर अर्थात सुक्ष्म शरीर एकअर्काका परिपूरक हुन्, एकको भरथेगले मात्र अर्को सक्रिय, विकसित, सन्तुलित तथा व्यवस्थित हुन सक्ने । मनुष्यको जीवन सन्तुलित, व्यवस्थित तथा विकसित गर्नकालागि उसको जीवनका यी दुवै महत्वपूर्ण सांसाररिक र पारमार्थिक आयामहरुलाई सहि ढंगले एकसाथ योग गरेर अगाडि बढाउन तथा वियोग हुन नदिन प्राचीन वैज्ञानिक हाम्रा पूर्खा ऋषिहरुले सनातन अध्यात्मको क्षेत्रमा योग दर्शन तथा योग विज्ञानको सैद्धान्तिक र व्यवहारिक साधना विधि तथा पद्धतिहरु प्रतिपादन गर्नु भएको हो । तर विडम्वना आजको मनुष्यले आफूलाई भौतिक तथा सांसारिक जीवनसंग मात्र जोडेर नितान्त एकांकी भएर जीवन जिरहेको छ र पराभौतिक तथा पारमार्थिक जीवनलाई चटक्कै छोडेको छ, भूलेको छ र उसलाई मनुष्यको पारमार्थिक जीवन छ भन्नेसम्म पनि ज्ञान छैन वर्तमान समयको तिब्रगतिमा बद्लिरहेको एकोहोरो परिवेश तथा अति भौतिकी तथा अति भौतिकवादमा आधारित जीवनशैलीका कारण ।
योग विज्ञान र योग साधनाको पृष्ठभूमि
सनातन अध्यात्म दर्शनको अत्यन्तै विहंगम विषय योग दर्शन सैद्धान्तिक तथा व्यवहारिक विभिन्न ज्ञान र विज्ञानहरुको अनन्त खजानाले भरिपूर्ण महाज्ञान तथा महाविज्ञान हो । जीवनबाट वियोग भएकाहरुलाई जीवनसंग योग गराउने विज्ञान हो र आफ्नो वास्तविक जन्मदाता तथा मूलश्रोत परमपिता परमात्माबाट वियोग भएका हामी मनुष्यहरुलाई परमात्मामा योग गराउने महाविज्ञान हो । मनुष्य योनीको रुपमा प्राप्त भएको अत्यन्तै महत्वपूर्ण र मूल्यवान जीवनसंग तथा आफ्नो मूलश्रोत परमात्मासंग योग हुनकालागि सनातन योग दर्शन तथा योग विज्ञानमा धेरै प्रकारका अत्यन्तै प्रभावकारी, परिणाममुखी र उपलव्धिमुलक योग साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरु धेरै प्रकारका वैज्ञानिक अध्ययन, खोज, अनुसन्धान तथा प्रयोगात्मक खोज गरेर प्रामाणिक मान्यताका आधारमा प्रतिपादन गरिएका छन् । योग विज्ञानका सबै योग साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरु मनुष्यको समग्र शरीरका आयामहरु– शरीर, मन, भाव, वुद्धि, सचेतनालाई आधार, माध्यम तथा प्रयोगशाला बनाएर प्रयोगात्मक अभ्यास गर्नेगरि निर्माण गरिएका छन् ।
मानव जीवन तथा मानव सभ्यतालाई विकसित गर्न तथा गराउन आदि योगी तथा पहिलो योग गुरु भगवान श्रीशिवद्वारा प्रतिपादित योग साधनाका ‘विज्ञान भैरव तन्त्र’, ‘स्वर विज्ञान’ तथा साधनाका अन्य विधिहरुका श्रृंखलावद्ध ग्रन्थहरुलाई मूलश्रोत तथा योग विज्ञानको प्राचीन विकासक्रम मानिन्छ । यस पश्चात योग विज्ञानको प्रामाणिक रुपमा लिखित प्रमाण भएको इतिहास तथा पृष्ठभूमिलाई हेर्दा, अनुमानित इशापूर्व २०० मा महर्षि पतंजलिद्वारा संकलित तथा प्रतिपादित ग्रन्थ ‘पतंजलि योगसुत्र’ले विभिन्न नाम तथा साधनाका विधि तथा पद्धतिहरुमा छरिएर रहेका योगका सैद्धान्तिक तथा व्यवहारिक सबै विषय, ज्ञान, विज्ञान तथा साधनाका प्रक्रिया, विधि, पद्धतिहरुलाई एकै ठाउँमा समेटेर तथा एकैसुत्रमा बाधेर योगलाई एक अलग दर्शन तथा विज्ञानका रुपमा स्थापित गराउने अत्यन्तै महत्वपूर्ण महानकार्य गरेकोछ । पतंजलि योगसुत्रका अनुसार योग विज्ञानलाई आठ महत्वपूर्ण अंगमा विभाजन गरिएको छ– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, र (८)समाधि । आठ अंगमा विभाजित भएकै कारण पतंजलि योगसुत्रलाई अष्टांग योग पनि भन्ने गरिन्छ ।
मानव सभ्यताको विकास हुने क्रममा मनुष्यको जीवन सहज, सरल, सफल, विकसित तथा व्यवस्थित गर्न विभिन्न कालखण्डहरुमा तत्कालीन मानव समाजको परिस्थिति र आवश्यकता अनुसार समकालीक रुपमा व्यवाहारिक हुनेगरि धेरै प्रकारका योग तथा योग साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरु प्रतिपादन गरिएका थिए, ती मध्य सात प्रकारका योग– (१)कर्म योग(मूलाधार चक्रसंग बढि सम्वन्धित), (२)तन्त्र योग(स्वाधिष्ठान चक्रसंग बढि सम्वन्धित), (३)हठ योग(मणिपुर चक्रसंग बढि सम्वन्धित), (४)भक्ति योग(अनाहद चक्रसंग बढि सम्वन्धित), (५)ज्ञान योग(विशुद्धि चक्रसंग बढि सम्वन्धित), (६)ध्यान योग(आज्ञा चक्रसंग बढि सम्वन्धित), (७)सांख्य योग(सहश्रार चक्रसंग बढि सम्वन्धित) तथा राज योग(सम्पूर्ण प्राप्तिपछिको परमानन्द तथा मोक्षमा उपलव्ध)लाई प्रमुख मानिदै आइएको छ । योग तथा योग साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरु जति प्रकारका भएपनि ती सबैको अन्तर वस्तु तथा मूल विषय मनुष्यको जीवनलाई उत्कृष्ट ढंगले जीवनयापन गर्न अध्यात्म, धर्मका मूल्य, मान्यताहरुका आधारमा सैद्धान्तिक तथा व्यवहारिक रुपमा सकारात्मक जीवनशैली सिकाउने यम, नियम, आसन, प्रायायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिको सहि ढंगले सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका अभ्यासहरु अनुशरण गर्न सहजता प्रदान गर्नु हो । योगका सबै प्रकारहरुको प्रमुख उद्देश्य तथा अन्तिम गन्तव्य अन्तत्वगत्वा मनुष्यलाई हरप्रकारले उसको जीवनसंग र जीवनको मूलश्रोत परमात्मासंग योग गराउनु नै हो । पतंजलि योगसुत्र तथा अष्टांग योगले यही महान उद्देश्यलाई एकसुत्रमा बाधेर हामी पछिल्लो पुस्तालाई योग विज्ञानको सैद्धान्तिक अध्ययन र व्यवहारिक अभ्यासमा सहजता प्रदान गरेर अमूल्य गुण लगाएको छ ।
रुतुतुतु रुतुतुतु सांतगीतिक धून योगासन गर्नुअघि शरीर तताउन र खुलाउनका लागि
https://www.youtube.com/watch?v=B_bI_nffLLo
(४)शरीर तन्काउन १० मिनेट उत्तोलन पश्चिमोत्तान आसन गर्नेछौं । दुवै गोडा तनक्क पारेर अगाडि पसारौं र दुवै हातलाई पनि तनक्क तन्काएर अगाडि पसारौं । अव विस्तारै हिपको बलले दुवै गोडा र दुवै हातलाई आकाशतिर उठाउँ श्वास छोड्दै, केहीबेर यही अवस्थामा अडिउँ र विस्तारै सामान्य बनौं । जम्मा ३-४ पटक यो प्रक्रिया तथा विधि गरौं । अर्को आसन गर्नलागि दुवै गोडा तनक्क अगाडि पसारौं र दुवै हातका हत्केला हिप पछाडि लगेर भुईंमा टेकौं । अव दुवै हत्केला र दुवै कुर्कुच्चाको बलले श्वास वाहिर छोड्दै हिपलाई विस्तार आकाशतिर उठाउँ, केहीबेर यही अवस्थामा बसौं र श्वास भर्दै सामान्य बनौं । जम्मा ३-४ पटक यो प्रक्रिया तथा विधि गरौं । अर्को आसन गर्नलागि ढाड सिधा गरेर गोडा तनक्क तन्काएर बसौं, दुवै गोडा जति सकिन्छ दुईतिर फट्याउँ र दुवै हातलाई घुँडामाथि राखेर शिरले भुईं ढोग्ने प्रयास गरौं । जम्मा ३-४ पटक यो प्रक्रिया तथा विधि गरौं ।मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ । योगासनको साधनापछि अव प्रायाणाम साधनाकालागि तयार बनौं ।
(ख)१५ मिनेट प्राणायाम
(१)श्वान प्राणायाम- ४ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र हातका हत्केला घुँडामाथि राखौं घोप्टो पारेर । अव हल्का शिर अगाडितिर झुकाएर जोडले श्वास वाहिर फ्याक्दै जिब्रो सकेसम्म धेरै वाहिर निकालौं र एक श्वासभरि जिब्रो वाहिरै राखिराखौं । यो प्रक्रिया तथा विधि १० पटक तथा अझ बढि पटकसम्म गर्न सकिन्छ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(२)पूरक-कुम्भक-रेचक प्राणायाम- ४ मिनेट पूरक-कुम्भव-रेचक प्राणायाम स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिन्छ । यसकालागि कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर ज्ञान मुद्रा बनाएर आकाशतिर फर्काएर घुँडामाथि राखौं । लामो श्वास भित्र लिनु पूरक क्रिया हो; श्वास भित्र रोक्नु अन्तर कुम्भक क्रिया हो; गहिरो श्वास वाहिर फाल्नु रेचक क्रिया हो; र श्वासलाई वाहिर फालेर रोक्नु वहिर कुम्भक हो । सबैभन्दा पहिला लामो श्वास भित्र लिएर ४-५ सेकेण्ड वा बढि समय श्वासलाई भित्र रोकौं र गहिरो श्वास वाहिर फालौं लिएको भन्दा डेढ गुणा बढि तथा ४-६ को अनुपातमा । गहिरो श्वास वाहिर फ्याकेपछि ४-५ सेकेण्ड वा बढि समय श्वासलाई वाहिरै रोकौं । फेरी यही प्रक्रिया अनुसार लामो श्वास भित्र लिउँ, रोकौं, गहिरो श्वास वाहिर फालौं र फेरी श्वास वाहिर रोकौं । यही प्रक्रिया तथा विधि आफ्नो अवस्था र आवश्यकता अनुसार दोहोर्याइ राखौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ ।
(३)पंचतत्व प्राणायाम- ४ मिनेट शरीरमा पंचतत्व संन्तुलन गर्नु अत्यावश्यक हुन्छ तसर्थ दुवै हातका औंलाका टुप्पा जोडले दबाएर पंचतत्वको विज मन्त्र उच्चाहरण गरौं, हत्केला, औंलाका टुप्पा, पैताला शरीरमा मर्म बिन्दु(प्रेसर प्वाइन्ट) हुन् । यसकालागि कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं, अव दुवै हात अगाडि तनक्क तन्काएर राखौं । अव दाहिने हातको बुढी औंलाको टुप्पो तथा नंगले देब्रे हातको साहिंली तथा औंठी लगाउने औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर पृथ्वी तत्वको विज मन्त्र ‘लं~~’ उच्चाहरण गरौं एक श्वासभरि । अव कान्छि औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर जल तत्वको विज मन्त्र ‘वं~~’ उच्चाहरण गरौं । अव बुढी औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर अग्नि तत्वको विज मन्त्र ‘रं~~’ उच्चाहरण गरौं । अव चोरी औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर वायु तत्वको विज मन्त्र ‘यं~~’ उच्चाहरण गरौं । अव माझी औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर आकाश तत्वको विज मन्त्र ‘हं~~’ उच्चाहरण गरौं र अव दुवै हातका चोरी औंलो र बुढी औंलोका टुप्पा र नंग एकसाथ जोडेर दुवै हात अगाडि तनक्क तन्काएर लामो लय तानेर आत्मा तथा परमात्मा तत्वको विज मन्त्र ‘ॐ~~’ उच्चाहरण गरौं । अर्को हातमा पनि ठिक यही प्रक्रिया तथा विधि अनुशरण गरेर ३-५ पटक तथा अझ बढि पटक पंचतत्वको विज मन्त्र उच्चाहरण प्राणायाम गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ ।
(४)नाडीसोधन प्राणायाम- ३ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र नाडी सोधन प्राणायाम गरौं, नाडीसोधन प्राणायाम अनुलोम-विलोम प्रायायामकै अर्को अत्यन्तै प्रभावकारी र परिणाममुखी प्रकार हो । यसकालागि दाहिने हातको बुढी औंलोले दाहिने नाक बन्द गरेर देब्रे नाकबाट लामो श्वास भित्र तानौं, अव दाहिने हातको साहिंली अर्थात औंठी लगाउने औंलोले देब्रे नाक बन्द गरेर दाहिने नाकबाट गहिरो श्वास वाहिर फालौं र अव श्वास फालेकै नाकबाट लामो श्वास भित्र लिएर, केही सेकेण्ड त्यही अवस्थामा रोकिएर अर्को नाकबाट गहिरो श्वास वाहिर फालौं, फेरी फालेकै नाकबाट लामो श्वास लिएर अर्को नाकबाट गहिरो श्वास वाहिर फालौं । यही प्रक्रिया दोहोर्याइ राखौं १०-१५-२० पटकसम्म तथा अझ बढि पटकसम्म आफ्नो आवश्यकता तथा अवस्था अनुसार । प्रारम्भमा देब्रे नाक तथा शितल चन्द्र नाडीबाट श्वास लिनुपर्दछ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ । प्राणायाम साधनापछि अव ध्यान साधनाका लागि तयार बनौं ।
(ग)२५ मिनेट ध्यान साधना
(१)शुरुमा १० मिनेट मैले बजाएको मध्यम लयमा रहेको मणिपुर चक्रको ‘रं~~’ विज मन्त्र एकसाथ उच्चाहरण गरौं र मणिपुर चक्र स्थित रहेको स्थान नाभि भन्दा २-३ इन्च माथिको क्षेत्र तथा त्यहाँनेरको मेरुदण्डको भित्रि भागमा पहेंलो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा मणिपुर चक्र तथा अग्नि तत्वलाई याद गरौं ।
(२)बाँकी समय तथा १५ मिनेट मैले बजाएको अर्को लामो लयमा रहेको मणिपुर चक्रको ‘रं~~’ विज मन्त्र सुन्दै मणिपुर चक्र स्थित रहेको स्थान नाभि भन्दा २-३ इन्च माथिको क्षेत्र तथा त्यहाँनेरको मेरुदण्डको भित्रि भागमा पहेंलो रंगको फुटबल आकारको चम्किला किरणहरु प्रज्वलित भैरहेको प्रकाश पुञ्जको रुपमा मणिपुर चक्र तथा अग्नि तत्वलाई याद गरौं अत्यन्तै ध्यान दिएर मन कतै नभड्काइकन, मन भड्कियो भने लामो श्वास भित्र तानौं र गहिरो श्वास वाहिर फालौं, मन तुरुन्तै मणिपुर चक्रको ‘रं~~’ विज मन्त्रको लयमा तथा वर्तमानमा फर्किनेछ... ।
‘रं~~’ विज मन्त्र लयात्मक उच्चाहरण र तरंग ध्वनि
https://www.youtube.com/watch?v=_6XEseyv68E
‘रं~~’ विज मन्त्र लयात्मक उच्चाहरण र तरंग ध्वनि
https://www.youtube.com/watch?v=LgRq9MOP6Uw&t=117s
हाम्रो साधनाको समय पूरा भएको छ, अव विस्तारै ध्यान साधनाबाट वाहिर आउन मन र शरीरलाई तयार गरौं…, ३ पटक लामो-गहिरो श्वास लिउँ र ३ पटक लामो लयमा एक श्वासभरि नादब्रम्ह ॐकारको उच्चाहरण गरौं; ॐकारं वन्दना गरौं; हरिगुरु वन्दना गरौं; र सारा जगतको सुख र शान्तिका लागि सर्वकल्याण भाव व्यक्त गरौं-
कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
दुवै हातका हत्केलालाई एकआपसमा रगडौं, घर्षणबाट न्यानो भएका हत्केला को दिव्य उर्जालाई हल्कासंग आँखामाथि राखौं र हत्केला का रेखाहरु हेर्दैहेर्दै विस्तार आँखा खोलौं र सामान्य बनौं, विस्तारै गोडा खोलौं, पसरौं तथा पूरै शरीर चलाउँ ।
१ घण्टाको योग साधना सकेपछि साधकको अनुभव
प्रश्नः कस्तो अनुभव भयो १ घण्टाको योगासन, प्राणायाम र ध्यान साधनापछि ?
उत्तरः शरीरमा एकदम फरक प्रकारको अनुभव भैरहेको छ, आरामको महसुस भैरहेको छ, श्वास-प्रश्वासमा सजिलो भएको छ, मन अलि सहज र हलुका भएको छ, जीवनशैली पनि पहिलाको भन्दा सकेसम्म परिवर्तन गर्ने प्रयास गरिरहेको छु । राति सुत्ने र विहान उठ्ने, विहान आफ्नोलागि समय दिने गर्न थालें, खानपानमा सुधार गर्दैछु, नचाहिने साथीसंगत, भेटघाट, अनावश्यक खर्च तथा नगरे पनि हुने कामकुराहरु कम गर्ने प्रयास गरिरहेको छु, मेरो समय वचत भैरहेको छ । योग साधना प्रारम्भ गर्नुभन्दा पहिला र अहिले म आफैंले महसुस् गर्नेगरि फरक र राम्रो अनुभूति भैरहेको छ । म मा आएको यो सकारात्मक परिवर्तन योग साधनाले मात्र होइन गुरुवर, हजूरका प्रवचनका सहज र सरल जीवन जिउने ज्ञानगुनका कुराहरुले पनि हो ।
पक्कै पनि, सहि बुझाई कुञ्जना, त्यसैले सनातन धर्ममा सतसंग अर्थात सत् तथा सत्यको संगत गर्नु भनिएको हो नि त ! एउटा कुरामा आफूपनि स्पष्ट हुनुस् र अरुलाई पनि स्पष्ट पार्ने प्रयास गर्नुस् है- प्रवचन र योग साधना अलग-अलग विषय होइनन्, प्रवचन श्रवण गर्नु पनि योग साधना गर्नुनै हो । प्रवचनले मन, वुद्धि, चित्त, अहंकारलाई सकारात्मक बनाउछ र त्यही सकारात्मकता हाम्रो सोच, विचार, बोलि, वचन, व्यवहार, आचरण, शरीर तथा शरीरका हाउभाउ, अभ्यास तथा साधना र कर्ममा उत्रिन्छन् । यिनै ज्ञानगुनका कुराहरुको आधारमा शरीरले प्रयोगात्मक रुपमा योग साधना तथा शारीरिक अभ्यास गर्दछ र यसको लाभ शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतना सबैलाई एकमुष्ट रुपमा प्राप्त हुन्छ । तसर्थ प्रवचन तथा सतसंग सैद्धान्तिक योग साधना हो र शरीरले गर्ने शारीरिक अभ्यास व्यवहारिक योग साधना हो । भोलिको सातौं तथा अन्तिम कक्षामा हामी अलि लामो समय सवाल-जवाफ गर्नेछौं, आफूलाई सोध्न मन लागेका जिज्ञासाहरु नोट गरेर राख्नु होला कुञ्जना । आजको योग साधनाको छैठौं कक्षा यहीं सम्पन्न भएको छ । आजकै समयमा भोलि जुम अनलाइमा फेरी भेटौंला, भोलिको सातौं तथा अन्तिम कक्षामा योग साधनाको सैद्धान्तिक ज्ञानको श्रवण १० मिनेट र प्रयोगात्मक अभ्यास ६० मिनेट तथा पूरै एक घण्टा र १० मिनेट योग साधना गर्नेछौं । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सफलता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो र क्रमिक रुपमा तपाईंको स्वास्थ्य र शरीर व्यवस्थित हुदै गैरहेको छ, सबै सहि हुन्छ अव विस्तारै, आस्था राख्नुस् । शुभदिन !
हस्, शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!
हरि ॐ तत्सत् !
हे ॐकार स्वरुप हरि, केवल तिमी सत्य छौ !!
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment