#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
जीवनको मूल्य बुझ्यो भने ध्यान साधना सजिलो हुन्छ भनिन्छ, कसरी बुझ्ने ?
जवाफ तथा प्रारम्भ:
योग साधनाको तेस्रो दिनको कक्षामा हार्दिक स्वागत छ कुञ्जना !
सर्वप्रथम १० मिनेट जीवन व्यवस्थापनका
सन्दर्भमा केही सनातन ज्ञान, विज्ञानका विषयहरुबारे बुझौं त्यसपछि योग साधनाको तेस्रो
दिनको प्रयोगात्मक अभ्यासमा प्रवेश गर्नेछौं ।
मनुष्य जीवनको मूल्य
शरीर विज्ञान तथा स्वास्थ्य विज्ञान
र व्यवस्थापन
सनातन अध्यात्म दर्शन मनुष्य
जीवनको मूल्य सिकाउने र उक्त मूल्यका आधारमा जीवन जिउन सिकाउने कलाको विज्ञान (दि आर्ट
अफ लिभिंग) हो । मनुष्यको जीवन अत्यन्तै विहंगम र गहन विषय हो, यसका दुई प्रमुख आयामहरु
रहेका छन्– (१)भौतिक तथा सांसारिक जीवन, र (२)पराभौतिक तथा पारमार्थिक जीवन । मनुष्यको
भौतिक तथा सांसारिक जीवनलाई दृश्य तथा स्थुल शरीर र स्थुल शरीरसंगै सारोकार राख्ने
मन, भाव, वुद्धि, सचेतनासंग जोडेर हेरिन्छ र यसका विषयहरुको अध्ययन तथा अनुसन्धान भौतिक
विज्ञान तथा फिजिक्सले गर्दछ र पराभौतिक तथा पारमार्थिक जीवनलाई अदृश्य तथा सुक्ष्म
शरीरसंग जोडेर हेरिन्छ र यसका विषयहरुको अध्ययन तथा अनुसन्धान पराभौतिक विज्ञान तथा
मेटाफिजिक्सले गर्दछ । पराभौतिक तथा पारमार्थिक जीवनका अदृश्य तर सशक्त रुपमा अस्तित्वमा
रहेका विषयहरुको अध्ययन अध्यात्म विज्ञानले गर्दछ । आत्मा, चेतना, परमात्मा, ब्रम्ह,
ब्रम्हाण्ड, सृष्टि, जीवन, जगत, योग, ध्यान, ब्रम्हाण्डिय उर्जा, प्राण उर्जा
आदि विषयहरु अध्यात्म विज्ञान अन्तर्गत पर्दछन् । वर्तमान समयमा आफ्नो जीवन सहज, सरल,
सफल तथा व्यवस्थित बनाउनका लागि मनुष्यको जीवनको महत्व र वास्तविकता भौतिक
र पराभौतिक अर्थात स्थुल र सुक्ष्म अर्थात दृश्य र अदृश्य सबै पक्षहरुबाट बुझ्नु अत्यावश्यक
हुन्छ । सर्वप्रथम शरीर विज्ञान तथा स्वस्थ्य विज्ञान र यिनको व्यवस्थापनलाई बुझ्ने
प्रयास गरौं किनकी मनुष्यले जीवनमा प्राप्त गर्ने सबै कुरा स्वस्थ शरीरका सक्रिय क्रियाकलापहरु
तथा साधनाको माध्यमबाट मात्र हासिल गर्नसक्ने हुनाले भौतिक विज्ञान र पराभौतिक विज्ञान
दुवैले मनुष्यको शरीर विज्ञान तथा स्वास्थ्य विज्ञान र यिनको व्यवस्थापनलाई प्रमुख
मान्यता प्रदान गर्दै आइरहेका छन् ।
आधूनिक चिकित्साको ग्रन्थी विज्ञान
आधूनिक चिकित्सा विज्ञानले मनुष्यको
स्थुल शरीर र स्वास्थ्यलाई व्यवस्थित ढंगले सुचारु गर्ने सबैभन्दा प्रमुख अंगका रुपमा
शरीरका आन्तरिक अंग सात प्रकारका ग्रन्थी तथा ग्ल्याण्डहरुलाई मान्दछ– ग्रन्थी विज्ञानका
रुपमा । आधूनिक चिकित्सा विज्ञानले मनुष्यको शरीर र स्वास्थ्य सन्तुलित तथा व्यवस्थित
राख्नकालागि आवश्यक पर्ने ग्रन्थी रसहरु(केमिकल हर्मोन्स)को उत्पादन सन्तुलित हुनुपर्नेमा
जोड दिदै आएको छ । तलदेखि माथि जाने क्रममा स्थुल शरीरका प्रमुख सात ग्रन्थीहरु
क्रमशः– (१)जनेन्द्रियसंग रहेको गोनाड्स ग्ल्याण्ड, (२)नाभि भन्दा दुई–तीन इन्चमुनि
रहेको एडर्नलिन ग्ल्याण्ड, (३)नाभि भन्दा दुई–तीन इन्चमाथि रहेको पेंक्रियाज ग्ल्याण्ड,
(४)छातिमा रहेको थाइमस ग्ल्याण्ड, (५)गलामा रहेको थाइरोइड ग्ल्याण्ड, (६)आँखिभौंको
विचमा रहेको पिटियोटरी ग्ल्याण्ड, र (७)शिरको माथिल्लो भागमा रहेको पिनियल ग्ल्याण्ड
।
आयुर्वेद चिकित्साको तत्व विज्ञान
प्राचीन आयुर्वेद चिकित्सा विज्ञानले
मनुष्यको स्थुल तथा सुक्ष्म शरीर र स्वास्थ्यलाई व्यवस्थित राख्नकालागि शरीरमा पंचमहाभूत
तथा पंचतत्वको अवस्था सन्तुलित हुनुपर्नेमा जोड दिदै आएको छ– तत्व विज्ञानका रुपमा
। प्राचीन आयुर्वेद चिकित्साको तत्व विज्ञान र आधूनिक चिकित्साको ग्रन्थी विज्ञानको
अवधारणा तथा यिनका अध्ययनका विषयहरु तथा प्रयोगात्मक अभ्यासहरु करिव–करिव उस्तै–उस्तै
हुन्, नाम तथा सम्वोधन मात्र फरक हुन् । तलदेखि माथि जाने क्रममा मनुष्यको सुक्ष्म
शरीरमा रहेका तर स्थुल शरीरमा प्रत्यक्ष प्रभाव पार्ने प्रमुख सात तत्वहरु क्रमशः–
(१)पृथ्वी तत्व तथा गोनाड्स ग्ल्याण्ड, (२)जल तत्व तथा एडर्नलिन ग्ल्याण्ड, (३)अग्नि
तत्व तथा पेंक्रियाज ग्ल्याण्ड, (४)वायु तत्व तथा थाइमस ग्ल्याण्ड, (५)आकाश तत्व तथा
थाइरोइड ग्ल्याण्ड, (६)आत्मा तत्व तथा पिटियोटरी ग्ल्याण्ड, र (७)परमात्मा तत्व तथा
पिनियल ग्ल्याण्ड ।
योग चिकित्साको चक्र विज्ञान
प्राचीन योग चिकित्सा विज्ञानले
मनुष्यको स्थुल तथा सुक्ष्म शरीर र स्वास्थ्यलाई व्यवस्थित राख्नकालागि शरीरका चक्रहरु
सन्तुलित हुनुपर्नेमा जोड दिदै आएको छ– चक्र विज्ञानका रुपमा । प्राचीन योग चिकित्साको
चक्र विज्ञान, प्राचीन आयुर्वेद चिकित्साको तत्व विज्ञान र आधूनिक चिकित्साको ग्रन्थी
विज्ञानको अवधारणा तथा यिनका अध्ययनका विषयहरु तथा प्रयोगात्मक अभ्यासहरु करिव–करिव
उस्तै–उस्तै हुन्, नाम तथा सम्वोधन मात्र फरक–फरक हुन् । तलदेखि माथि जाने क्रममा मनुष्यको
सुक्ष्म शरीरमा रहेका तर स्थुल शरीरमा प्रत्यक्ष प्रभाव पार्ने प्रमुख सात चक्रहरु
क्रमशः– (१)मूलाधार चक्र तथा पृथ्वी तत्व तथा गोनाड्स ग्ल्याण्ड, (२)स्वाधिष्ठान चक्र
तथा जल तत्व तथा एडर्नलिन ग्ल्याण्ड, (३)मणिपूर चक्र तथा अग्नि तत्व तथा पेंक्रियाज
ग्ल्याण्ड, (४)अनाहद चक्र तथा वायु तत्व तथा थाइमस ग्ल्याण्ड, (५)विशुद्धि चक्र तथा
आकाश तत्व तथा थाइरोइड ग्ल्याण्ड, (६)आज्ञा चक्र तथा आत्मा तत्व तथा पिटियोटरी ग्ल्याण्ड,
र (७)सहश्रार चक्र तथा परमात्मा तत्व तथा पिनियल ग्ल्याण्ड ।
स्थुल तथा सुक्ष्म शरीरका
चक्र तथा ग्रन्थीहरु
https://www.youtube.com/post/Ugkx_ZxdZG_mFymXZe6elxo-r6e0LVVT8OeB
चक्र, तत्व र ग्ल्याण्डका रंगहरु
(१)रातो रंगः मूलाधार चक्र तथा पृथ्वी तत्व
तथा गोनाड्स ग्ल्याण्ड ।
(२)सुन्तला रंगः स्वाधिष्ठान चक्र तथा जल तत्व
तथा एडर्नलिन ग्ल्याण्ड ।
(३)पहेंलो रंगः मणिपूर चक्र तथा अग्नि तत्व
तथा पेंक्रियाज ग्ल्याण्ड ।
(४)हरियो रंगः अनाहद चक्र तथा वायु तत्व तथा
थाइमस ग्ल्याण्ड ।
(५)फिका निलो रंगः विशुद्धि चक्र तथा आकाश तत्व
तथा थाइरोइड ग्ल्याण्ड ।
(६)गाडा निलो/प्याजी रंगः आज्ञा चक्र तथा आत्मा
तत्व तथा पिटियोटरी ग्ल्याण्ड ।
(७)फिका गुलाबी रंगः सहश्रार चक्र तथा परमात्मा तत्व
तथा पिनियल ग्ल्याण्ड ।
हाम्रो स्थुल तथा सुक्ष्म शरीरमा
रहेका यी प्रमुख सात-सात चक्र, तत्व, ग्रन्थी तथा ग्ल्याण्डहरुको अवस्था शुद्ध, स्वस्थ,
सक्रिय तथा सन्तुलित छ भने हाम्रो शरीर तथा स्वास्थ्य दुवै शुद्ध, स्वस्थ, सक्रिय,
सन्तुलित तथा व्यवस्थित रहन्छ । मनुष्यको जीवनशैली खासगरि आहार–विहार–विचार(व्यवहार)
सहि छ भने यी चक्र, तत्व, ग्रन्थी तथा ग्ल्याण्डहरु शुद्ध, सक्रिय र सन्तुलित रहन्छन्
र आफ्नो कार्यहरु सहि प्रकारले गर्दछन् । यी चक्र, तत्व, ग्रन्थी तथा ग्ल्याण्डहरु
जति शुद्ध, सक्रिय र सन्तुलित हुन्छन् उति नै मनुष्यको शरीर र स्वास्थ्य लगायत उसको
जीवनका सबै आयामहरु खासगरि शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक र चेतनात्मक अवस्थाहरु
सन्तुलित तथा व्यवस्थित रहन्छन्, अन्यथा विभिन्न प्रकारका अस्वस्थता, कठिनाइ तथा समस्याहरु
आइपर्न सक्दछन् र हाम्रो जीवन अव्यवस्थित तथा तनावपूर्ण बन्दछ । जीवन अव्यवस्थित भयो
भने जीवनका कुनै पनि कार्यहरु सहि ढंगले सम्पादन गर्न सकिदैन र ध्यान साधना पनि असहज
हुन्छ तथा ध्यान लाग्दैन । आज हामी यिनै चक्र, तत्व, ग्रन्थी तथा ग्ल्याण्डहरु शुद्ध,
स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्ने योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक
ज्ञान, विज्ञानका विषयहरुको अध्ययन र केही योग साधनाका प्रयोगात्मक अभ्यासहरु गर्नेछौं
। तपाईंलाई केही जिज्ञासा लागेको छ भने सोध्नु होला कुञ्जना, कृपया ।
प्रश्नः आयुर्वेदिक चिया बनाउन मिल्ने वनस्पतिहरुको नाम भन्दिनुस् न, केके खान
मिल्छ ?
उत्तरः तुलसी, पुदिना, सिस्नु, लेमनग्रास, बाबरी, सयपत्री, गोदाबरी, धनिया, सेज, रोजमेरी, मेथी, करीपत्ता, बोजो, आँपका कलिला पात, अम्बाका कलिला पात, पारीजातको फूल–पात, दुबो, हिबिसकसको फूल, अपराजितको फूल, सौंफ, जिम्मु, कुश, अपमार्गो, घिउकुमारी, बेल, निम, बेथु, तेजपात, दालचिनी... आदि । यी वनस्पतिहरुमा अत्यन्तै उच्च गुणस्तरको औषधिय गुणहरु हुन्छन् । आयुर्वेद चिकित्सा विज्ञानको नियम तथा निर्देशन अनुसार व्यक्तिको अस्वस्थता तथा समस्या हेरेर एकै प्रकारको मात्र तथा दुई वा दुई भन्दा बढि तथा धेरै प्रकारलाई एकै ठाउँमा मिसाएर उमालेर पिउन सकिन्छ, पिसेर लेपन लगाउन सकिन्छ र थिचेर रस निकालेर शरीरको अंगमा चुहाउन तथा मालिस गर्न सकिन्छ ।
प्रश्नः मैले आफैंले ध्यान साधना गर्ने प्रयास गरेको थिएं तर फेरी पनि मेरो मन, मस्तिष्कमा अतिविचारहरु चलेर पाँच मिनेट पनि म ध्यान साधनामा टिक्न सकिन । म आफैं ध्यान साधना गर्न सक्ने हुन मैले के गर्नुपर्छ, गुरुवर ?
उत्तरः ध्यान साधना अभ्यास हो कुञ्जना, यो एकै पटक हासिल हुदैन, यसकालागि शरीर साथै मन पनि साधिनु पर्दछ । योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुको नियमित प्रयोगात्मक अभ्यासले विस्तारै शरीर, मन, भाव, वुद्धि, चेतना साधिदै जान्छन् र ध्यान साधना सहज हुनथाल्छ र तपाईं आफैं गर्नसक्ने हुनुहुनेछ ।
ध्यानमा विचार धेरै चलेमा साक्षी
भावको अभ्यास गर्नुपर्छ
वास्तवमा मनुष्य अधिकांश समय
आफ्ना विगतका स्मृति, भावना तथा भविश्यका कल्पना तथा योजनाका विषयहरुका आधारमा चल्ने
कल्पनाशील प्राणी भएको हुनाले उसको मनका विचार, भावनात्मक संवेग, वुद्धिको तर्क, बितर्क,
भविश्यको लक्ष्य तथा योजनाहरुमा आफूले चाहे अनुसार नियन्त्रण गर्न त्यति सहज हुदैन
किनकी उ तिनै विषयहरुमा अभ्यस्त भैसकेको तथा बानी परिसकेको हुन्छ र एकपटक लागिसकेको
बानी पविर्तन गर्न समय र साधना दुवैको आवश्यकता पर्दछ । अरुले यसो गर, उसो गर तथा यसो
नगर, उसो नगर भनेर वाहिरबाट दिएका सैद्धान्तिक ज्ञान तथा उपदेशहरु लिएर केही हदसम्म
मद्धत मिल्ने भइपनि त्यसरी पार लगाउन सक्ने विषय होइन यो । योग साधनाका सैद्धान्तिक
तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुको प्रयोगात्मक अभ्यासको माध्यमबाट मात्र क्रमिक
रुपमा विस्तारै नचाहिएको समयमा आफैं आउने यस्ता मनका अतिविचार तथा भावनात्मक संवेगहरुलाई नियन्त्रण
गर्न तथा आफू अनुकुल बनाउन सकिन्छ । सामान्य अवस्थामा शान्त रहेका मनुष्यका मनका विचार तथा भावनात्मक संवेगहरु
ध्यान साधनाको समयमा बढि चल्नुको प्रमुख कारण प्राण उर्जाको दिशा शरीरबाट मनमा प्रवेश
हुनु हो । जव साधक आफ्ना ज्ञान तथा कर्म इन्द्रियहरु स्थिर तथा निष्क्रिय गराएर ध्यान
साधनामा बस्छ तव उसको जागरुकता आफूतिर फर्किने तथा अन्तरयात्रा प्रारम्भ हुने हुनाले
यतिन्जेल इन्द्रियका गतिविधिहरुमा वाहिरतिर खपत भैरहेको प्राण उर्जाको दिशा तथा प्रवाह
अव साधकको मनतिर मोडिन्छ र प्राण उर्जाको शक्ति तथा सक्रियता शरीरका इन्द्रियहरुबाट
मनमा प्रवेश गर्दछ र साधकको मन सक्रिय हुनथाल्छ । मन सक्रिय भएसंगै साधकको मन, मस्तिष्क,
भाव, वुद्धिमा नयाँ तथा पुराना विचार, भावनात्मक संवेगहरु, तर्क, बिर्तक, लक्ष्य तथा
योजनाका विषयहरु चल्न प्रारम्भ हुन्छन् । यस्तो अवस्थामा साधकमा असहजता, चन्चलता, बेचैनी
बढ्ने हुनाले ध्यान साधनाको एकाग्रता भंग हुन्छ, ध्यान भड्कीन्छ तथा ध्यान लाग्दैन
। यस्ता विचार, भावनात्मक संवेगहरु, तर्क, बिर्तक, लक्ष्य तथा योजनाका विषयहरु यतिविधि
शक्तिशाली हुन्छन् कि जति प्रयास गरेपनि यिनलाई जितेर साधकलाई पुनः ध्यानको विषय, प्रक्रिया
तथा विधि पक्डिन अत्यन्तै मुस्किल हुन्छ, ध्यानमा एकाग्रता ल्याउनै सक्दैन तथा ध्यान
लाग्दैन ।
प्राय ध्यान साधनामा साधकहरुलाई
मुस्किल हुने अतिविचार तथा भावनात्मक संवेगहरु धेरै चलेर नै हो । यस्ता विचार तथा संवेगहरुलाई
आफूमाथि हावी हुन नदिन योग तथा ध्यान साधनाका विभिन्न प्रकारका प्रक्रिया, विधि तथा पद्धतिहरु
मध्य आफूलाई उपयुक्त हुने प्रक्रिया तथा विधिको अनुशरण गर्नुपर्दछ– सुमधूर संगीत बजाएर
गरिने ध्यान; निर्देशित ध्यान विधिको अनुशरण गरेर गरिने ध्यान; कल्पना तथा दृश्यावलोकन
गरेर गरिने ध्यान; श्वास–प्रश्वासमा केन्द्रित भएर गरिने ध्यान; साक्षी भावमा रहेर
गरिने ध्यान; स्थुल तथा सुक्ष्म शरीरका वाहिरी तथा आन्तरिक अंगहरुमा केन्द्रित भएर
गरिने ध्यान; आराध्यदेवको नाम जपमा केन्द्रित भएर गरिने ध्यान; संस्कृतका शक्तिशाली
मन्त्रहरुको उच्चाहरण गरेर गरिने ध्यान आदि । ध्यान साधनाका यी विभिन्न विधिहरु मध्य अतिविचार तथा भावनात्मक
संवेगहरुलाई कम गर्न तथा नियन्त्रण गर्न तथा आफू अनुकुल बनाउन साक्षी भावमा केन्द्रित
रहेर तटस्थताको विधि अपनाउनु सबै भन्दा प्रारम्भिक र सहज ध्यान विधि हो । यसलाई म उदाहरणले
बुझाउने प्रयास गर्छु–
हामी आफूसंग भएका सबै चिजवस्तुहरुलाई
मेरो भन्ने गर्दछौं र विचारलाई पनि मेरो भन्छौं, यसको सिधा अर्थ हो यहाँ
दुई पक्ष छन्, एउटा म र अर्को मेरो विचार, जसरी म र मेरा पहिरनहरु । मेरा
पहिरनहरु मेरो काठ तथा धातुको दराजमा हुन्छन् र मेरा विचारहरु मेरो मन तथा मस्तिष्कको
दराजमा हुन्छन् । मलाई वाहिर जाने समयमा दराजबाट पहिरन झिकेर लगाउनु पर्यो भने म दराजमा
सबैतिर सरर सतही रुपमा हेर्छु कुन लगाउँ भनेर, कुनैमा पनि अडिन्न, एउटा पहिरनमा
अडिन्छु र त्यही झिकेर लगाउछु । मन तथा मसितष्कमा रहेका विचारको पनि ठिक यही अवस्था
हो र यही तरिका अपनाउनु पर्दछ । मनमा आएका सबै विचारहरुलाई सरर सतही रुपमा हेर्ने
मात्र तिनमा आफू नउल्झिने तथा नअडकिने, विचारहरुको काम चलिरहनु हो, ती आउछन् र जान्छन्,
म थाहा मात्र पाइरहुँ के विचारहरु आए भनेर र गए भनेर, कस्ता, राम्रा तथा
नराम्रा, सकारात्मक तथा नकारात्मक विचारहरु भन्नेतिर विलकुल नगइकन । मानौं
खानाको विचार आयो, आफूले भन्ने ए खानाको विचार आएछ मेरो मनमा; अर्को, कहीं घुम्न गएको
विचार आयो, ए घुमघामको विचार आएछ मेरो मनमा भन्ने; त्यस्तै अर्को, कसैसंग
भनाभैरी परेर चित्त दुखेको, रिसाएको विचार आयो, ए त्यो विषयको विचार आएछ मेरो
मनमा भन्ने । फेरी अर्को विचार परिवर्तन हुन्छ त्यसलाई पनि त्यसैगरि तटस्थ भएर थाहा
पाइरहने । यसरी मनमा आइरहेका र गैरहेका विचारहरुलाई साक्षी भावमा रहेर तटस्थ भएर
हेरिरहदा तथा तिनका भाव तथा संवेगहरुमा आफू नअल्झिदा विस्तारै विचारहरु आउन आफैं कम
हुदै जान्छ । मैले मनमा आएका विचारहरुलाई वास्ता गरिन केवल तटस्थ भएर तिनलाई हेरिरहें
मात्र भने विचारले थप बल पाउदैनन् र थाक्छन् । यस्तो अवस्थामा अव यस्ता विचारहरु आफैं
आउन बन्द गर्दछन्, हराएर जान्छन्, फेरी दोहोरिएर आउदैनन् र विस्तारै मन विचार शन्यताको
अवस्थामा जान्छ र साधकलाई शारीरिक, मानसिक, भावनात्मक तथा वौद्धिक रुपमा हलुका तथा
आराम हुन प्रारम्भ हुन्छ । विचार शुन्यताको अवस्था भनेर विचारको अभाव होइन, अनावश्यक
अतिविचारहरुको अनुपस्थिति थगन निष्क्रियता हुनु र आवश्यक र चाहिने विचारहरुको उपस्थिति
तथा सक्रियता हुनु हो ।
मनोविज्ञान, विचार र सिर्जनशीलता
आधूनिक मनोविज्ञानका अनुसार विचारहरुको प्राकृतिक गुण तथा काम चल्नु हो, यी निरन्तर चलिनैरहन्छन्, २४ घण्टामा हरेक मनुष्यको मन, मस्तिष्कमा करिव ६० हजार विचारहरु आउने र जाने गर्दछन् । विचार चलेन भने अप्राकृतिक तथा अस्वस्थताको अवस्था हो । विचार निरन्तर चल्नु प्राकृतिक प्रक्रिया भएकोले यी निरन्तर बदलि भएर चलिरहन्छन्, एउटै विचार बसिरहदैन, मनुष्यले चाहेर पनि विचारहरुलाई रोक्न सक्दैन तर चाहेर विचारको दिशा, प्रकृति, गति, विषय परिवर्तन गर्न सक्दछ । विचारहरु परिवर्तन भैरहेको एकपछि अर्को विचार आएको अवस्थालाई साक्षी भावले तटस्थ भएर हेर्न र तिनलाई आवश्यक भए मन, मस्तिकमा विश्लेषणमा ल्याउन र आवश्यक नभए वेवास्ता गर्न र अर्को चाहिएको विचारलाई मनमा ल्याउन र तिनलाई आफुले चाहेको दिशा प्रदान गर्न विचारको कला जान्नु पर्दछ । विचारको दिशा, प्रकृति, गति, विषय सकारात्मकतातिर परिवर्तनन गर्न सकियो भने तिनै राम्रा तथ सकारात्मक विचारहरु ध्यान साधनाको विषय बन्न सक्दछ र ध्यान साधनामा स्वतः एकाग्रता आउछ र सहज हुन्छ तथा ध्यान लाग्छ, साथै ध्यान साधनामा रहदा आराम, खुशी, शान्ति, आनन्द आउछ तथार यस्तो सकारात्मक अवस्था बढ्दै जान्छ । तर यसको विपरित विचारको दिशा, प्रकृति, गति, विषय नकारात्मक तथा शरीर, मन, भाव, वुद्धि, चेतनामा दुःख, पिडा तथा असहजता दिनेतिर गयो भने यस्ता नराम्रा तथा नकारात्मक विचारहरुले साधकमा चन्चलता, बेचैनी तथा अशान्ति बढाउछन् र ध्यान साधनामा एकाग्रता आउन सक्दैन तथा ध्यान लाग्दैन । सिर्जनशील व्यक्तिहरु विचारलाई साक्षी भावले तटस्थ भएर हेरेर, विश्लेषण गरेर, आवश्यक तथा उपयोगी विचारहरुलाई सदुपयोग गरेर जीवनमा अगाडि बढ्दछन् र जीवनका विविध आयामहरुलाई व्यवस्थित गर्दछन् । ध्यान साधनामा एकाग्रता आउन नसक्नु तथा ध्यान नलाग्नुका अरु धेरै प्रकारका कारणहरु हुन सक्छन्, हामी ती विषयहरुका अन्तरवस्तुहरुमा पनि आउनेछौं विस्तारै, अव आजको योग साधनाको व्यवहारिक अभ्यास प्रारम्भ गरौं, आज हामी ३० मिनेट योग साधनाको प्रयोगात्मक अभ्यास गर्नेर्छौं–
रुतुतुतु रुतुतुतु सांतगीतिक धून योगासन गर्नुअघि शरीर तताउन र खुलाउनका लागि
https://www.youtube.com/watch?v=B_bI_nffLLo
(२)शरीर खुलाउन २ मिनेट उभिएर घुँडा, कम्मर, कुम, हात, गर्धन घुमाउँ, दुई हातका हत्केला भुईंतिर फर्काएर छाति अगाडि राखौं र शरीरलाई दायाँ-बायाँ घुमाउँ तथा बटारौं कम्मरसम्म जोड पर्ने गरेर । हत्केला झनन्न हुनेगरि अगाडि र पछाडि छिटोछिटो ताली बजाउँ । उच्च बास भएको संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(३)शरीर तन्काउन ३ मिनेट बसेर भू-नमन आसन गर्नेछौं । दुवै गोडा तनक्क पसारेर सिधा अगाडि पसारौं, एउटा गोडाको बुढीऔंलोको कापमा अर्को गोडाको बुढीऔंलोलाई च्यापौं ताकि योगासन गर्ने क्रममा गोडा नफट्टिओस् । श्वास भित्र भरेर छोड्दै देब्रेतिर कम्मरदेखि बटारिएर दुवै हात भुईंमा टेकेर निधारले भूईंलाई छुने प्रयास गरौं श्वास रोकेर । अव सिधा भएर श्वास भर्दैं अगाडि फर्कौं । यही प्रक्रिया तथा विधि दाहिने पट्टि पनि गरौं र पालैपालो दुवैतिर ३-३ पटक जम्मा ६ पटक गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(४) शरीर तन्काउन ३ मिनेट बसेर पश्चिमोत्तासन गर्नेछौं । दुवै गोडा तनक्क अगाडि पसारौं, देब्रे गोडालाई खुम्च्याएर पैताला तथा कुर्कुच्चालाई जनेन्द्रिय नजिक राखौं । कम्मर, ढाड,
शिर सिधा राखेर, श्वास पूरा भित्र भरेर दुवै हात तनक्क तन्काएर शिरमाथि लैजाउँ र श्वास
वाहिर छोड्दै विस्तारै अगाडि झुकेर दुवै हातले दाहिने पैताला छुने र शिरले घुँडालाई
छुने प्रयास गरौं श्वास रोकेर र केहीबेर यही अवस्थामा बसौं । अव श्वास भर्दै विस्तारै उठेर पूर्ववत अवस्थामा
आउँ । यही प्रक्रिया तथा विधि पालैपालो दुवै गोडामा ३-३ पटक जम्मा ६ पटक गरौं
।
(१)भस्त्रिका प्राणायाम- २ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र हातका विचका दुईवटा औंला र बुढी औंलाका टुप्पा जोडेर आकाशतिर फर्काएर घूँडामाथि राखौं । अव गर्धन र शिरलाई सिधा पारेर हल्का अगाडि झुकाउदै र सिधा हुदै मुख बन्द गरेर नाकबाट मात्र १०-१५ पटक छिट्टो ठूलो श्वास भित्र लिएर तुरुन्तै छिट्टो उहि गतिमा ठूलो श्वास वाहिर फालौं लगातार । यो प्रक्रिया तथा विधि शिरलाई मात्र तलमाथि गरेर पनि १०-१५ पटक तथा यो भन्दा अझ बढि पटक पनि गर्न सकिन्छ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(२)पंचतत्व प्राणायाम- शरीरमा पंचतत्व संन्तुलन गर्नु अत्यावश्यक हुन्छ तसर्थ अवको २ मिनेट दुवै हातका औंलाका टुप्पा जोडले दबाएर पंचतत्वको विज मन्त्र उच्चाहरण गरौं, हत्केला, औंलाका टुप्पा, पैताला शरीरमा मर्म बिन्दु(प्रेसर प्वाइन्ट) हुन् । यसकालागि कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं, अव दुवै हात अगाडि तनक्क तन्काएर राखौं । अव दाहिने हातको बुढी औंलाको टुप्पो तथा नंगले देब्रे हातको साहिंली तथा औंठी लगाउने औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर पृथ्वी तत्वको विज मन्त्र ‘लं~~’ उच्चाहरण गरौं एक श्वासभरि । अव कान्छि औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर जल तत्वको विज मन्त्र ‘वं~~’ उच्चाहरण गरौं । अव बुढी औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर अग्नि तत्वको विज मन्त्र ‘रं~~’ उच्चाहरण गरौं । अव चोरी औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर वायु तत्वको विज मन्त्र ‘यं~~’ उच्चाहरण गरौं । अव माझी औंलोको टुप्पो जोडले दबाएर लामो लय तानेर आकाश तत्वको विज मन्त्र ‘हं~~’ उच्चाहरण गरौं र अव दुवै हातका चोरी औंलो र बुढी औंलोका टुप्पा र नंग एकसाथ जोडेर दुवै हात अगाडि तनक्क तन्काएर लामो लय तानेर आत्मा तथा परमात्मा तत्वको विज मन्त्र ‘ॐ~~’ उच्चाहरण गरौं । अर्को हातमा पनि ठिक यही प्रक्रिया तथा विधि अनुशरण गरेर ३-५ पटक तथा अझ बढि पटक पंचतत्वको विज मन्त्र उच्चाहरण प्राणायाम गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(३)नाडीसोधन प्राणायाम- ६ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र नाडी सोधन प्राणायाम गरौं, नाडीसोधन प्राणायाम अनुलोम-विलोम प्रायायामकै अर्को अत्यन्तै प्रभावकारी र परिणाममुखी प्रकार हो । यसकालागि दाहिने हातको बुढी औंलोले दाहिने नाक बन्द गरेर देब्रे नाकबाट लामो श्वास भित्र तानौं, अव दाहिने हातको साहिंली अर्थात औंठी लगाउने औंलोले देब्रे नाक बन्द गरेर दाहिने नाकबाट गहिरो श्वास वाहिर फालौं र अव श्वास फालेकै नाकबाट लामो श्वास भित्र लिएर, केही सेकेण्ड त्यही अवस्थामा रोकिएर अर्को नाकबाट गहिरो श्वास वाहिर फालौं, फेरी फालेकै नाकबाट लामो श्वास लिएर अर्को नाकबाट गहिरो श्वास वाहिर फालौं । यही प्रक्रिया दोहोर्याइ राखौं १०-१५-२० पटकसम्म तथा अझ बढि पटकसम्म आफ्नो आवश्यकता तथा अवस्था अनुसार । प्रारम्भमा देब्रे नाक तथा शितल चन्द्र नाडीबाट श्वास लिनुपर्दछ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ, ।
(ग)१० मिनेट ध्यान साधना
१० मिनेटमा आधा समय मैले बजाएको लामो सा-रे-ग-म-प-ध-नि-सा संगीतको लय संगसंगै सा-रे-ग-म-प-ध-नि-सा उच्चाहरण गरौं-
‘सा~~’ उच्चाहरणमा जनेन्द्रियको साथमा रहेको रातो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा पृथ्वी तत्वलाई याद गरौं ।
‘रे~~’ उच्चाहरणमा नाभि भन्दा
२-३ इन्च तल रहेको सुन्तला रंगको बिजुलीको चम्किलो बल्बको रुपमा जल तत्वलाई याद गरौं
।
‘ग~~’ उच्चाहरणमा नाभि भन्दा
२-३ इन्च माथि रहेको पहेंलो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा अग्नि तत्वलाई याद
गरौं ।
‘म~~’ उच्चाहरणमा छातिको
विचमा रहेको हरियो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा वायु तत्वलाई याद गरौं ।
‘प~~’ उच्चाहरणमा गलामा रहेको फिका निलो रंगको बिजुलीको
चम्किलो बल्बको रुपमा आकाश तत्वलाई याद गरौं ।
‘ध~~’ उच्चाहरणमा आँखीभौंको विचमा रहेको गाडा निलो तथा
प्याजी रंगको बिजुलीको चम्किलो बल्बको रुपमा आत्मा तत्वलाई याद गरौं ।
‘नि~~’ उच्चाहरणमा शिरको
माथिल्लो भागमा रहेको फिका गुलाबी तथा क्रिम रंगको सूर्य जस्तो चम्किलो ठूलो प्रकाश
पञ्जको रुपमा परमात्मा तत्वलाई याद गरौं ।
‘सा~~’ यहाँ केही सेकेण्ड रोकिउँ र तलतिरै फर्कौं फेरी क्रमशः जसरी माथितिर
गइएको थियो त्यसरीनै ।
‘नि~~’ …गुलाबी तथा क्रिम
रंग…
‘ध~~’ …गाडा निलो तथा
प्याजी रंग…
‘प~~’ …फिका निलो रंग…
‘म~~’ …हरियो रंग…
‘ग~~’ …पहेंलो रंग…
‘रे~~’ …सुन्तला रंग…
‘सा~~’ …रातो रंग…
फेरी अघिकै झैं माथितिर जाउँ र फेरी तलतिर फर्कौं । ३-४ पटक तलमाथि गरेपछि बाँकी ५ मिनेट सा-रे-ग-म-प-ध-नि-सा को लामो लयात्मक आवाज ध्यान दिएर सुनिरहनुस् मन कतै नभड्काइकन सकेसम्म
तत् स्थानहरुमा तत् रंगहरु याद गर्दै । मन भड्कियो भने लामो श्वास भित्र तान्नुहोस् र गहिरो श्वास वाहिर फाल्नुस्, मन तुरुन्तै सा-रे-ग-म-प-ध-नि-सा को लयमा तथा वर्तमानमा फर्किनेछ... ।
सा-रे-ग-म-प-ध-नि-सा लयात्मक उच्चाहरण
https://www.youtube.com/watch?v=zz1pB4tV6_g
ॐकारं बिंदुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः।
कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
प्रश्नः कस्तो अनुभव भयो ३० मिनेटको योगासन, प्राणायाम र ध्यान साधनापछि ?
उत्तरः शरीरमा एकदम फरक प्रकारको अनुभव भैरहेको छ, आरामको महसुस भैरहेको छ, श्वास-प्रश्वासमा सजिलो भएको छ, कब्जियतले पेट घोच्थ्यो अहिले अलि सन्च भएको छ तर अझै सफा भैसकेको छैन । यसबारे अलि बढि जानकारी दिनुहोला अरु
कक्षाहरुमा कृपया, गुरुवर ।
उत्तरः अवश्य कुञ्जना ! खासमा कब्जियत भनेको पेटको फोहोर हो र यो असन्तुलित खानपान तथा अव्यवस्थित जीवनशैलीको कारण हुने गर्दछ । पेटको सफाई र शरीरका विषाक्तताहरु हटाउनकै लागि सनातन आयुर्वेद चिकित्सामा मनुष्यको शरीर स्वयंले गर्ने तथा प्राकृतिक वातावरणद्वारा गरिने प्राकृतिक चिकित्सा विज्ञान विषय अत्यन्तै सशक्त रहेको छ । यस विषयमा हामी अर्को कक्षामा प्रवेश गर्नेछौं, आजको योग साधनाको तेस्रो कक्षा यहीं सम्पन्न भएको छ । आजकै समयमा भोलि जुम अनलाइमा फेरी भेटौंला चौथो कक्षामा योग साधनाको सैद्धान्तिक ज्ञानको श्रवण १० मिनेट र प्रयोगात्मक अभ्यास ४० मिनेट गर्नेगरि र विस्तारै योग साधनाको समय बढाएर एक घण्टा पुर्याउनेछौं । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सफलता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो, यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको सुख, खुशी, शान्ति र आनन्द पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो तर तपाईंको जीवन अव व्यवस्थित हुदै गैरहेको छ, विस्तारै सबै सहि हुन्छ, आस्था राख्नुस् । शुभदिन !
हस्, शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!
हरि ॐ तत्सत् !
हे ॐकार स्वरुप हरि, केवल तिमी सत्य छौ !!
No comments:
Post a Comment