Sunday, 7 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -८

                      #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



     सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

१२.सवाल D

ध्यानका सैद्धान्तिक तथा व्यवहारिक साधना र यसका तहगत लाभहरु के–कस्ता हुनसक्छन् ?

जवाफ:

मनुष्यको पुरै जीवन नै साधना हो र साधना दुई प्रकारले गरिन्छन्– (१)सैद्धान्तिक तथा मानसिक साधना, र (२)व्यवहारिक तथा शारीरिक साधना । हुनत सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारका ज्ञान तथा विज्ञानका साधनाहरुले मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनालाई समग्रतामा जीवनको उत्कृष्टतातिर अग्रसर गराउदछन्, यसका बाबजुद विषयगत रुपमा प्रभावकारिता, परिणाम तथा उपलव्धिहरुको अवस्थालाई मध्यनजर गर्दा सैद्धान्तिक ज्ञान तथा विज्ञानका मानसिक साधनाहरुले मनुष्यको सुक्ष्म शरीर(मन, भाव, वुद्धि, चेतना)लाई पूर्णतः चेतनशील र जागरुक बनाएर जीवनको उत्कृष्टतातिर अग्रसर गराउन मद्धत गर्दछन् र व्यवहारिक ज्ञान तथा विज्ञानका शारीरिक साधनाहरुले मनुष्यको स्थुल शरीरलाई पूर्णतः सक्रिय र आरोग्य बनाएर जीवनको उत्कृष्टतातिर अग्रसर गराउन मद्धत गर्दछन् । तसर्थ सैद्धान्तिक साधना र व्यवहारिक साधना एकअर्काका परिपुरुक हुन् तथा एकै सिक्काका दुई पाटा हुन् किनकी दुवै प्रकारका साधनाहरुको सन्तुलित अनुशरणबाट मात्र जीवनमा सांसारिक र पारमार्थिक प्रगति तथा वाहिर समृद्धि भित्र शान्ति हासिल गर्न सकिन्छ । सैद्धान्तिक र व्यवहारिक दुवै साधनाका आ–आफ्नै प्रकारका महत्व, प्रभावकारिता र लाभहरु भएका भएतापनि सनातन अध्यात्म विज्ञानमा व्यवहारिक साधना तथा स्थुल शरीरको साधना तथा प्रयोगात्मक अभ्यासलाई प्रमुख मानिएको छ र हरप्रकारले स्थुल शरीरको आरोग्यता तथा विकासलाई विशेष जोड दिइएको छ किनकी यो भौतिक छ, दृश्य छ, प्रामाणिक छ, चाहे अनुसार बदल्न तथा निर्माण गर्न सकिन्छ र मनुष्यलाई जीवनमा सबै कुरा हासिल गराउने तथा गर्ने एकमात्र माध्यम स्थुल शरीर हो । सनातन धर्म तथा संस्कृतिका महाकवि श्रद्धेय कालिदाषज्यूको महान किर्ति महाकाव्य ‘कुमारसंभव’ संस्कृत भाषाको साहित्यमा वहाँले स्थुल शरीरलाई बडो प्राथमिकता दिएर उल्लेख गर्नुभएको छ, 'शरीरमाद्यं खलु धर्म साधनम् कर्म वा', 'शरीरं सर्वं धन साधनं' अर्थात सबै प्रकारका धर्म र कर्महरुको साधना तथा प्रयोगात्मक अभ्यासहरु गर्ने माध्यम मनुष्यको शरीरनै हो र शरीरनै सर्वश्व तथा प्रमुख धन हो किनकी मनुष्यको सुक्ष्म शरीर- मन, भाव, वुद्धि, आत्मा अर्थात चेतना सबैले शरीरको माध्यमबाट आफूलाई संसार समक्ष अभिव्यक्त गर्दछन् र आफ्नो विकास गर्दछन्, स्थुल शरीरबिना सुक्ष्म शरीरको कुनै प्रकारको विकास सम्भव हुन सक्दैन, यसकारण सनातन अध्यात्म दर्शनमा ध्यान साधनाको सन्दर्भमा यसको सैद्धान्तिक पक्षलाई भन्दा व्यवहारिक पक्ष अर्थात ध्यानको व्यवहारिक साधना तथा प्रयोगात्मक अभ्यासमा बढि जोड दिइएको छ ।


‘ध्यान+साधना’, बोलि तथा व्यवहारको भाषामा ‘ध्यान’ कुनै विषयप्रति एकाग्रता हो र ‘साधना’ कुनै विषयप्रति एकाग्र हुने र यही क्रियाको नियमित अभ्यास हो । तर सनातन योग विज्ञानको भाषामा ‘ध्यान’ कुनै क्रिया नभएर यो एक विशेष ‘अवस्था’ हो र ‘साधना’ ध्यानको अवस्थामा पुग्नकालागि शरीर, मन, भाव, वुद्धि, चेतनाको शुद्धिकरण, सक्रियकरण, सन्तुलिकरण गर्ने प्रक्रिया हो । यसकारण शव्दबाटै स्पष्ट हुन्छ कि ध्यान धेरै व्यवहारिक साधना तथा प्रयोगात्मक अभ्यास हो र थोरै मात्र सैद्धान्तिक साधना हो । ध्यानका सैद्धान्तिक साधना र व्यवहारिक साधनाको सन्दर्भ बुझ्न सनातन योग दर्शन तथा विज्ञानलाई बुझ्नु आवश्यक हुन्छ । योग विज्ञान विहंगम दर्शन तथा सनातन अध्यात्म दर्शनको ज्ञान र विज्ञानको केन्द्रमा रहेको अत्यन्तै महत्वपूर्ण महाज्ञानको अत्यन्तै महत्वपूर्ण विषय हो । ध्यान स्वयं योग विज्ञानको महत्वपूर्ण विषय योगीक साधनाको एक अंश भएकोले यसलाई सहि ढंगले व्यवहारमा अनुशरण गर्न मार्गनिर्देश गर्ने वैज्ञानिकतामा आधारित विविध प्रक्रिया, विधि तथा पद्धतिहरु सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानमा उल्लेख गरिएका छन् । अनुमानित इशापूर्व २०० मा महर्षि पतंजलिद्वारा संकलित तथा प्रतिपादित महाग्रन्थ 'पतंजलि योगसुत्र'ले योगलाई एक अलग दर्शन तथा विज्ञानका रुपमा स्थापित गरेको छ र यसका अनुसार योग विज्ञानलाई प्रमुख आठ अंगहरुमा विभाजन गरिएको छ– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, र (८)समाधि । यी आठ प्रमुख अंगहरु मध्य पहिलो र दोस्रो अंग यम र नियम मात्र सैद्धान्तिक ज्ञान तथा सैद्धान्तिक साधना अन्तर्गत पर्दछन्; तेस्रो, चौथो, पाँचौं र छैठौं प्रयोगात्मक अभ्यास गरेर मात्र हासिल गर्न सकिने व्यवहारिक ज्ञान तथा व्यवहारिक साधना अन्तर्गत पर्दछन् र अन्तिमका दुई ध्यान र समाधि विशेष अवस्था हुन् जो ध्यानको गहिराइमा मनातीत तथा भावातीत विशेष अवस्थामा मात्र महसुस, अनुभव तथा अनुभूतिमा गर्न सकिन्छ । धारणा एक समयमा कुनै निश्चित विषयप्रति एकाग्र भएर होसपूर्वक त्यस विषयलाई निरन्तर जानिरहने तथा थाहा पाइरहने मानसिक अभ्यासको प्रक्रिया हो । धारणाको गहन अवस्थामा साधकलाई ध्यान घटित हुन्छ र ध्यानको विशेष अवस्थामा समाधि घटित हुन्छ । सनातन योग विज्ञानका यम र नियमका सैद्धान्तिक ज्ञानलाई बुझेर तिनलाई मन, भाव, वुद्धि र शरीरको तहमा उतारेर व्यवहारिक रुपमा निष्ठापूर्वक तिनको अनुशरण गर्न सुझाइएको छ । पाँच प्रकारका यमहरु (सत्य, अहिंसा, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह)ले आफूले संसारप्रति गर्नुपर्ने सोच, विचार, बोलि, वचन, व्यवहार, आचरण, अनुशासन, कर्तव्य, कर्म आदिबारे त्यसका ज्ञान तथा विज्ञानहरु सिकाउछन् । पाँच प्रकारका नियमहरु (शौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान)ले आफूले आफैंप्रति गर्नुपर्ने सोच, विचार, बोलि, वचन, व्यवहार, आचरण, अनुशासन, कर्तव्य, कर्म आदिबारे त्यसका ज्ञान तथा विज्ञानहरु सिकाउछन् । योगासन, प्राणायामका विधिहरुले शरीरका वाहिय तथा आन्तरिक अंगहरु र मनलाई हरप्रकारले शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्ने साधना तथा प्रयोगात्मक अभ्यासका ज्ञान र विज्ञानहरु सिकाउछन् । प्रत्याहार र धारणाका विधिहरुले  मन, भाव, वुद्धि, चित्त, अहंकारलाई स्थिर, एकाग्र, शान्त, सन्तुलित तथा व्यवस्थित राख्ने साधना तथा प्रयोगात्मक अभ्यासका ज्ञान र विज्ञानहरु सिकाउदछन् । यी सबै साधनाहरुबाट प्राप्त हुने अन्तिम प्रतिफल ध्यान र समाधिको गहन अवस्था हो जो शव्दातीत, इन्द्रियातीत, मनातीत, भावनतीत, समयातीत ज्ञान तथा विज्ञानका रुपमा साधकको अनुभव तथा अनुभूतिमा प्रकट हुन्छन् साधकको अन्तरहृदयमा जीवन र जगतका अनुपम विषयका परालौकिक दिव्य उपलव्धिहरुका रुपमा । 

सनातन अध्यात्म दर्शन मनुष्यलाई उच्चस्तरीय जीवन जिउन सिकाउने महान कलाको महा विज्ञान(दि आर्ट अफ लिभिंग) हो, यसकारण मनुष्यले स्वस्थ, सरल, सहज, सफल जीवनयापन गर्नकालागि योग विज्ञानका सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा विज्ञानहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्दै सैद्धान्तिक साधना र व्यवहारिक साधना दुवै प्रकारले साधना गर्नुपर्दछ । समग्रमा भन्नुपर्दा योगीक साधनाको एक प्रमुख अंग ‘ध्यान’ सनातन योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुलाई आफ्नो दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर हासिल गरिने चेतनाको निश्चित प्रकारको विकसित विशेष अवस्था हो । ध्यानको यो विशेष अवस्थामा साधकले आफ्नो स्थुल शरीर र सुक्ष्म शरीरमा इच्छ्याए अनुसारको सकारात्मक परिवर्तन तथा प्रगति हासिल गर्न सक्दछ र उसको सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक जीवनको उच्चतम विकास हुन प्रारम्भ हुन्छ । ध्यानको सैद्धान्तिक तथा व्यवहारिक साधनाबाट मनुष्यको सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने निम्नप्रकारका तहगत रुपमा शरीरको तहमा, मनको तहमा र चेतनाको तहमा सकारात्मक लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ–

शरीरको तहमा ध्यान साधनाबाट हुने लाभहरु

@श्वास–प्रश्वासको गति सन्तुलित हुन्छ र लय बदलिन्छ, स्वतः लामो–गहिरो हुन्छ; 
@शरीरमा अक्सिजनको मात्र तथा तह बढ्छ र आन्तरिक तथा वाहिय अंगहरु सन्तुलित हुन्छन्; 
@शरीरमा नयाँ कोषहरु बन्छन्, शरीर शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुन्छ; 
@मांसपेशी बलिया हुन्छन्, हड्डि बलियो हुन्छ, जोर्नी खुकुला हुन्छन्;
@नश–नाडीहरु मजबुत हुन्छन्, रक्तचाप सन्तुलित तथा नियन्त्रणमा रहन्छ; 
@मुटुको धड्कन तथा नाडी(पल्स)को गति सन्तुलित हुन्छ; 
@भोक लाग्छ, पाचन क्रिया तथा पाचन प्रणाली सहि तथा सन्तुलित हुन्छ;
@स्नायु प्रणाली सक्रिय र मजबुत हुन्छ, स्मरण शक्ति बढ्छ, कार्य सम्पादन क्षमता बढ्छ;
@मस्तिष्कका वेभ तथा तरंगहरु विटा, अल्फा, थिटा, डेल्टा सन्तुलित हुन्छन्;
@पुराना दोषयुक्त तथा नकारात्मक स्नायुहरु नष्ट हुन्छन् र नयाँ सकारात्मक स्नायुहरु बन्छन्;
@मस्तिष्कमा भिटामिन बि१२ बन्छ;
@न्युरो जेनिसिस समस्या समाधान हुन्छ; 
@सिम्पथेटिक(पिंगला), प्यारा–सिम्पथेटिक(इडा) र भेगस(सुषुम्ना) नर्भस शुद्ध, सक्रिय र सन्तुलित हुन्छन्;
@शरीरका रसायन ग्रन्थीहरु स्वस्थ तथा सक्रिय हुन्छन् र ग्रन्थीरसहरुको उत्पादनमा सन्तुलनता आउछ;
@वंशाणुगत शारीरिक असन्तुलन तथा समस्याहरु समाधान हुन्छन्;
@निद्रा सहज हुन्छ, गुणस्तर बढ्छ, आयु बढ्छ, बुढ्यौली घट्छ तथा सुस्त हुन्छ;
@शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ;  
@ठूलो दुर्घटना, चोटपटक  तथा बिमारीबाट चाँढै र सहजै निको हुन सकिन्छ ।



मन तथा भावको तहमा ध्यान साधनाबाट हुने लाभहरु

@मन तथा भावमा स्थिरता, एकाग्रता र शान्ति बढ्छ; 
@अतिविचार तथा अनियन्त्रित भावनात्मक संवेगहरु कम हुन्छन् तथा रोकिन्छन् र मन तथा भाव विचार शुन्यता तथा संवेग शुन्यता घटित हुन्छ;
@मानवीय विकार-काम, क्रोध, लोभ, मोह तथा क्लेशमा कमी आउछ र मनमाथि आफ्नो नियन्त्रण बढ्छ;
@नराम्रा आदत, बानी, व्यवहार तथा दुर्व्यसनहरु हट्छन् र राम्रा बानी लाग्छन्;
@प्रेम, दया, करुणा, सहानुभूति, दान, पुण्य, सेवा, परोपकारका भावहरु जाग्रित हुन्छन्;
@सर्वकल्याणका कामहरुमा रुचि बढ्दै जान्छ र व्यक्तित्व तथा नेतृत्वको विकास हुन्छ; 
@मन तथा भाव शुद्ध हुन्छ, सम्वन्ध बढाउने क्षमता बढ्छ, सम्वन्धहरु सुमधूर हुन्छन्; 
@धैर्यता बढ्छ, सहसम्वन्ध, सहकार्यता तथा साझेदारीको क्षमता राम्रो हुन्छ; 
@मनको चुनौति तथा समस्या समाधान गर्ने क्षमता बढ्छ तथा मन बलियो हुन्छ;
@तनाव कम हुन्छ, चिन्ता नियन्त्रित हुन्छ र जीवन व्यवस्थित हुदै जान्छ;
@सुखमा मात्तिने र दुःखमा आत्तिने बानी कम हुन्छ तथा हट्छ;
@साइकोसोमाटीक अर्थात मन तथा भावबाट शरीरमा रुपान्तरण हुने अस्वस्थताहरु कम हुन्छन् तथा हट्छन्;
@सबै प्रकारका मानसिक तथा भावनात्मक बिमारीहरु ठिक हुन्छन्;
@नकारात्मक किसिमले लयवद्ध(प्रोग्राम्ड) भएको अर्धचेतन तथा पूर्णचेतन मन सकारात्मक किसिमले पुनःलयवद्ध(रिप्रोग्राम्ड) हुन प्रारम्भ हुन्छ; 
@मानसिक तथा भावनात्मक आघात पुग्ने ठूला शोक तथा दुर्घटनाहरुको सामना गर्न र चाँढै वाहिर आउन सहज हुन्छ तथा चुनौतिहरुसंगको प्रतिरोधात्मक शक्ति बड्छ र समाधानको क्षमता बढ्छ;
@भौतिकवादमा आशक्त भोगउन्मुख जीवनलाई योगउन्मुख बनाउछ;
@मनलाई राग तथा लोभ र मोहबाट तटस्थ गराएर वैराग तथा स्वीकारयुक्त त्यागमा स्थित गराउछ;
@आत्मनियन्त्रण, आत्मविश्वास, आत्मशक्ति, आत्मबल, आत्मरक्षाको क्षमता बढ्छ;
@प्रत्याहार तथा इन्द्रिय निग्रह/नियन्त्रणको क्षमतामा वृद्धि हुन्छ;
@जीवनमा मानवीयताको मूल्य बुझाइमा आउछ र आफ्नो अस्तित्वको पहिचान हुन्छ;
@कर्तव्यनिष्ठताको भाव आउछ र कर्तव्यसहितको अधिकार प्राप्तिको भाव जाग्रित हुन्छ;
@जीवन रमाइलो लाग्छ, आँट, जोश, जाँगर बढ्छ, केही नयाँ गर्ने सिर्जनशीलताको सोच आउछ; 
@जीवनको उद्देश्य तथा लक्ष्य निर्धारण, लक्ष्यमा एकाकारको क्षमता  र प्राप्तिको दृढतामा वृद्धि हुन्छ;
@जीवनमा आरोग्यता, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द आउछ;
@सकारात्मक गुणहरुको विकास हुन्छ र नकारात्मकता कम हुन्छ तथा हट्छ;
@सबै प्राणीहरु तथा प्रकृतिप्रति प्रेम, सहानुभूति तथा समानुभूतिको भाव बढ्दै जान्छ;
@आहार–विहार–व्यवहारमा सन्तुलन आउछ र जीवनमा सात्विकता बढ्छ;
@स्वतः जीवनशैली प्राकृतिक बन्दै जान्छ र सहज, सरल, सफल बन्दै जान्छ;
@जीवनमा आध्यात्मिक गुणहरुको विकास हुन्छ ।


वुद्धि तथा चेतनाको तहमा ध्यान साधनाबाट हुने लाभहरु

@शरीरका सबै आयामहरुमा सकारात्मक ब्रम्हाडिय दिव्य उर्जाको प्रवाह बढ्छ;
@सुक्ष्म शरीरका नाडी र चक्रहरु स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित हुन्छन्;
@उचित अवसरको अभावका कारण आफुभित्र सुसुप्त अवस्थामा रहेका जन्म–जन्मका क्षमता, प्रतिभा, सिर्जनशीलता, नवप्रवर्तन, सकारात्मक गुण, प्रेरणा, उत्साह, जाँगर, प्रष्फुटित हुन्छन् र जीवन व्यवस्थित, सफल, सुफल तथा विकसित हुन्छ;
@वौद्धिकता, तार्किकता, विवेकशीलता, अन्तरज्ञान, प्रज्ञा तथा विवेकशील ज्ञानमा प्रगति हुन्छ;
@ध्यान साधना, भक्ति साधना, ज्ञान साधना, कर्म साधनामा मन लाग्दै जान्छ;
@जीवनमा हरप्रकारका नकारात्मकता तथा खराव आत्मा तथा उर्जाहरुबाट सुरक्षित गराउछ; 
@अस्तित्व तथा परमात्माप्रति दिव्य प्रेम, आस्था, विश्वास, श्रद्धा, भक्ति, समर्पण बढ्छ; 
@जीवनका सबै प्रश्न तथा सवालहरु सकिन्छन् र अन्तरहृदयमा सबै सवालहरुको जवाफ स्वस्फुर्त प्रकट हुन्छ;
@जन्म–जन्मदेखिका सबै कर्मबन्धनहरु फुक्छन्, खुल्छन् तथा जलेर सकिन्छन्;
@सबै प्राणी, वनस्पति तथा पदार्थहरुप्रति समानुभूतिको भाव बढ्छ; 
@सबैमा आफूलाई र आफूमा सबैलाई देख्नसक्ने विहंगम दृष्टि बन्छ;
@बसुधैव कुटुम्वकमको भाव बढ्छ र विश्व वन्धुत्वको भावमा एकाकार भइन्छ;
@म शरीर, मन, वुद्धि, चित्त, अहंकार होइन, शुद्ध, बुद्ध, नित्य, अमर आत्मा अर्थात चेतना हुँ भन्ने आत्म ज्ञान हुन्छ;
@आत्मा अर्थात चेतनाको विकास तथा जागरण हुन्छ र आध्यत्मिक मार्ग खुल्दै जान्छ;
@सुक्ष्म जगतमा प्रवेश हुन्छ र परालौकिक दिव्य अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ हुन्छन्;
@आत्मअनुभव, आत्मवोध, आत्मज्ञान, आत्मसाक्षातकार हुन्छ;
@तत्वज्ञान, ब्रम्हज्ञानका साथै अलौकिक शिद्धि तथा निधिहरु हासिल हुन्छन्;
@आफ्नो आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात स्वयं परमात्मासंग साक्षातकार हुन्छ;
@आफ्नो आत्मा अर्थात चेतनामा वुद्धत्वको विकास हुन्छ;
@आफ्नो आत्मा शिद्ध तथा चेतना चैतन्य हुन्छ;
@परमात्मासंग साक्षातकार, संवाद, एकाकार तथा योगस्थ भइ निर्वाण तथा मोक्षमा उपलव्ध भइन्छ ।


माथि उल्लेखित केही प्रत्यक्ष रुपमा अनुभव तथा अनुभूतिमा आउने लाभ तथा उपलव्धिहरु मात्र हुन् । ध्यान साधनाबाट प्रत्यक्ष अनुभवमा नआउने तर अप्रत्यक्ष रुपमा शरीर, मन, भाव, वुद्धि, चेतनाको विकासमा योगदान पुर्याउने अनन्त सुक्ष्म लाभ तथा उपलव्धिहरु निरन्तर भैरहेका हुन्छन् । मनुष्यको जीवनमा यस्ता सकारात्मक परिणाम, लाभ तथा उपलव्धिहरु हासिल हुने अवस्था प्रत्यक्ष रुपमा ध्यान साधनाको गहनता तथा गुणस्तरमा निर्भर गर्दछ र ध्यान साधना जति गहन तथा गहिरो हुन्छ उति नै बढि सुक्ष्म तथा प्रत्यक्ष लाभहरु निरन्तर बढ्दै जान्छन् । ध्यान साधनाको अवस्था तथा गहनता साधकको शरीरको स्थिरता, मनको एकाग्रता, भावनाको शान्ति, वौद्धिक सन्तुलन, आत्मा अर्थात चेतनाको जागरणमा निर्भर गर्दछ । साधकको शरीरको स्थिरता, मनको एकाग्रता, भावनाको शान्ति, वौद्धिक सन्तुलन, आत्मा अर्थात चेतनाको जागरण उसको शरीर स्वास्थ्यका सबै आयामहरुको आरोग्यता, उसको इच्छाशक्ति, अठोट तथा संकल्पशक्तिमा निर्भर गर्दछ । साधकको आरोग्यता, इच्छाशक्ति, अठोट तथा संकल्पशक्ति उसको आहार–विहार–व्यवहारमा प्रत्यक्ष रुपमा निर्भर गर्दछ । ध्यानको अवस्था घटित हुनुपूर्व तयारी स्वरुप गरिने कुनै विषयमाथिको एकाग्रता तथा धारणाको साधना गर्दा साधकमा सकारात्मकता, आस्था, विश्वास, श्रद्धा, भक्ति, समर्पण, कल्पना शक्ति, दृश्यावलोकन, आत्मसन्देश जति शुद्ध र बढि तथा गहिरो हुन्छन् ध्यानको प्रभावकारीता र सकारात्मक लाभ तथा उपलव्धिहरु त्यति नै बढि हुन्छन् । ध्यान तथा समाधिमा घटित भएका गहन अवस्थाहरुले साधकलाई सुक्ष्म तथा अतिसुक्ष्म अवस्थातिर लान्छन् निरन्तर र साधकको जीवनमा सांसारिक र पारमार्थिक तथा आध्यत्मिकताका चमत्कारिक, रहस्यमय, दिव्य परालौकिक सबै प्रकारका उपलव्धिहरु अझ धेरै हासिल हुदै जान्छन् पत्ययाउनै नसक्ने किसिमले तर शास्वत र अकाट्य हुन्छन् ।

                                                               शिवोहम् !
                                             डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...