#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
६. सवालः D
ध्यान साधनामा साधकहरुमा किन समान प्रगति हुदैन ?
जवाफः
“...अरु साधकहरुलाई ध्यान साधनामा दिव्य तथा अलौकिक अनुभवहरु भए रे तर मलाई त केही पनि फरक अनुभव भएन, किन भएन... !?” यो प्रतिनिधि जिज्ञासा हो, अधिकांश साधकहरुको सवाल प्राय यस्तै रहने गरेको पाइन्छ किनकी सबैलाई ध्यान साधना प्रारम्भ गरेपछि दिव्य तथा अलौकिक अनुभवहरु भैदिओस भन्ने अपेक्षा रहेको हुन्छ तर ध्यान साधनामा हुने प्रगति र यसका अनुभव तथा अनुभूतिहरु तहगत रुपमा प्रक्रियागत किसिमले हुने गर्दछन् र यो तहगत तथा प्रक्रियागत प्रगति एक हप्ता, महिना, वर्ष, दशक जन्मको मात्र नभएर जन्म–जन्मको श्रृंखला हो ।
ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जा तथा जीवन उर्जा तहगत रुपमा क्रमशः शरीर, मन, भाव, सचेतना तथा वुद्धिको विकास गर्दै तथा आफ्नो काम गर्दै उर्ध्वगमन हुदै जाने प्रकृतिको हुन्छ । ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाको माध्यमबाट सर्वप्रथम मनुष्यको शारीरिक शरीर, मानसिक शरीर, प्राणिक शरीर, भावनात्मक शरीर र वौद्धिक शरीर अर्थात शरीर, मन, भाव, वुद्धि र आत्मा अर्थात चेतनामा प्राण उर्जाको कमीका कारण देखापरेका सबैप्रकारका अस्वस्थता, समस्या तथा कमी कमजोरीहरुको उपचार तथा समाधान हुनेक्रम प्रारम्भ हुन्छ । यी आयामहरुमा सकारात्मक परिवर्तन तथा विकास आउदै जानेक्रममा ब्रम्हाण्डिय प्राण उर्जा स्वस्फुर्त रुपमा क्रमशः शरीर, मन, भाव, वुद्धि हुदै माथितिर उर्ध्वगमन हुन्छ र आत्मा अर्थात चेतनाको उच्चतम विकास गर्न प्रारम्भ गर्दछ । ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय उर्जाको पर्याप्त उपलव्धताले आत्मा अर्थात चेतनाको उच्चतम विकास हुन प्रारम्भ भएपछि मात्र ध्यान साधनामा साधकलाई अलौकिक तथा पराभौतिक प्रगतिहरु– आत्मअनुभव, आत्मवोध, आत्मज्ञान, आत्मसाक्षातकार तथा आत्मजागरण भएको अनुभव तथा अनुभूतिहरु आउन थाल्छन् र यसपछि बल्ल साधकको पारमार्थिक तथा आध्यात्मिक जीवनमा विकासको वास्तविक प्रक्रिया प्रारम्भ हुन्छ । ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जाको माध्यमबाट मनुष्यको पारमार्थिक तथा आध्यात्मिक जीवनमा विकासको प्रक्रिया प्रारम्भ भएपछि ध्यान साधनामा दिव्य आत्मा अर्थात चेतनाहरु– भगवान, देवी–देवता, सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु देखिन तथा दर्शन, आशिर्वाद र सन्देश दिन थाल्नु हुन्छ ताकि ती सन्देशहरुलाई साधकले आफ्नो साधनारत तथा सामान्य जीवनमा अनुशरण गरेर पारमार्थिक तथा आध्यात्मिक जीवनमा प्रगति तथा विकास हासिल गर्न सकोस् । तर साधकले दिव्य आत्मा अर्थात सिद्ध तथा चैतन्य चेतनाहरुको दर्शन प्राप्त गर्न, वहाँहरुबाट सन्देश ग्रहण गर्न र ती सन्देशहरुलाई बुझेर आफ्नो साधनारत जीवनमा अनुशरण गर्न सर्वप्रथम साधकलाई सांसारिक जीवन नै सबैथोक हो तथा अन्तिम हो भन्ने प्रकारको भ्रमबाट मुक्ति दिलाउन ध्यान साधनाबाट प्राप्त हुने पर्याप्त ब्रम्हाण्डिय प्राण उर्जाको सहयोगले तहगत रुपमा उसको शरीर, मन, भाव, वुद्धिमा आवश्यक प्रगति तथा विकास भएर ब्रम्हाण्डिय प्राण उर्जा उसको आत्मा अर्थात चेतनाको विकासमा खर्चिन प्रारम्भ भएको हुनुपर्दछ अन्यथा ध्यान साधनामा दिव्य तथा परालौकिक अनुभव तथा अनुभूतिहरु हुदैनन् किनकी यो अवस्था ध्यान साधनाको पहिलो उद्देश्य सांसारिक दुःखहरुबाट मुक्ति प्राप्त भएपछि विकास हुन प्रारम्भ हुने दोस्रो उद्देश्य तथा अर्को विशिष्ट तहको उद्देश्य हो साधकलाई 'पारमार्थिक मोक्ष'मा उपलव्ध गराउने ।
ध्यान साधनामा दिव्य तथा परालौकिक अनुभव तथा अनुभूतिहरु हासिल गर्न एक हप्ता, एक महिना, एक वर्ष, एक दशक, एक शताव्दी, एक जीवन तथा एक जन्म मात्र होइन जन्म–जन्म लाग्छ । मनुष्य योनीको स्थुल शरीर उसको आत्मा अर्थात सुक्ष्म शरीरभित्र रहेकोछ, स्थुल शरीर जडवत छ र यो केवल आत्मा अर्थात सुक्ष्म शरीरले आफूलाई संसार समक्ष प्रकट गर्न प्रयोग गर्ने साधन तथा माध्यम मात्र हो, स्थुल शरीरले आत्माको इच्छा अनुसार काम गर्ने गर्दछ यसको आफ्नै गतिविधि केहीपनि हुदैन । आत्मा सदा शाश्वत, अमर, नित्य, अमिट हुन्छ, मृत्यु शरीरको हुन्छ आत्माको हुदैन; न आत्माको उमेर तथा आयु हुन्छ; न आत्माको जन्म र मुृत्यु हुन्छ; न आत्मा समयको पावन्दीमा हुन्छ, यो त समयातीत हुन्छ; न आत्मा कसैको नियन्त्रणमा हुन्छ, यो त परमस्वतन्त्र हुन्छ । मनुष्यले हरेक जन्ममा उसको शरीर, मन, भाव, वुद्धिको माध्यमबाट गरेका तथा भएका प्रगति र दुर्गतिहरु सबै आत्माका प्रगति र दुर्गतिहरु हुन् किनकी शरीरलाई चलाउने स्वयं आत्मा हो र शरीर निमित्त मात्र हो आत्माको आदेश मान्ने, आत्माका अपेक्षाहरु पूरा गर्ने तथा आत्मालाई संसार समक्ष प्रकट हुन सहयोग गर्ने । आत्माको प्रगति र दुर्गति मनुष्य योनीमा मर्त्यलोकमा प्रकट तथा जन्म हुने मनुष्यको शरीरले जन्म–जन्ममा गरेका सकारात्मक तथा नकारात्मक कर्म तथा गतिविधिहरुका कारण हुने गर्दछ । मनुष्यले सकारात्मक काम तथा सतकर्महरु गरेको छ भने आत्माको प्रगति हुन्छ र नकारात्मक काम तथा दुष्कर्महरु गरेको छ भने आत्माको दुर्गति हुन्छ । दुर्गतिमा परेको आत्माको विकास सुस्त गतिमा हुन्छ, कहिलेकाही त विकास रोकिन्छ पनि किनकी उसैका दुष्कर्महरुले उसलाई पछाडि धकेल्दछन् र कहिलेकाहीं त उसको प्रगति लामो समयसम्म शुन्य रहिरहन्छ तथा रोकिन्छ र अझ नराम्रो अवस्थामा भैरहेको अवस्था भन्दा पनि पछाडि धकेलिन सक्छ । यस्तो अवस्थामा वर्तमान जन्ममा ध्यान साधना जतिनै निष्ठापूर्वक मन लगाएर गरेको भएपनि साधकलाई दिव्य तथा परालौकिक अनुभव तथा अनुभूतिहरु हुन सक्दैनन् किनकी ध्यान साधनाबाट प्राप्त भएको ब्रमहाण्डिय प्राण उर्जा उसको खराव कर्महरुका कारण भएको आत्मा अर्थात चेतनाको दुर्गति, अस्वस्थता, समस्या तथा कमीकमजोरीहरुको उपचार तथा समाधान गर्नमा खपत भैरहेको हुन्छ । साधकको आत्मा अर्थात चेतनाको जागरणका लागि अपरिहार्य ब्रम्हाण्डिय उर्जाका मूल शक्तिकेन्द्र प्रमुख तीन नाडीहरु(इडा, पिंगला, सुषुम्ना) र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)को सन्तुलनता, सक्रियता, जागरण तथा विकासमा खपत हुननै पाउदैन र नाडी तथा चक्रहरुको सन्तुलनता तथा जागरणबिना आत्मा अर्थात चेतनाको आवश्यक विकास सम्भव हुदैन ।
मनुष्यको सुक्ष्म शरीरमा रहेका प्रमुख तीन नाडी र प्रमुख सात चक्रहरु सन्तुलन हुन, सक्रिय हुन, जाग्रित हुन तथा जाग्रित गराउन एक हप्ता, एक महिना, एक वर्ष, एक दशक, एक शताव्दी, एक जीवन तथा एक जन्मको ध्यान साधना मात्र पर्याप्त हुदैन, यसकालागि जन्म–जन्म लाग्न सक्दछ । अध्यात्म साधना तथा ध्यान साधनाको माध्यमबाट अघिल्ला जन्महरुमा नाडी तथा चक्रहरु सन्तुलन, सक्रिय तथा जाग्रित गरेर आत्मा अर्थात चेतनाको विकास कति तथा कहाँसम्म पूगेको छ वर्तमान जन्ममा त्यही विन्दुबाट साधकको आत्मा अर्थात चेतनाको जागरण प्रक्रिया तथा विकासको श्रृंखला प्रारम्भ हुन्छ । ध्यान साधनाको क्रममा दिव्य आत्मा तथा चैतन्य चेतनाहरुको दर्शन हुने; वहाँहरुबाट दिव्य आशिर्वाद र दिव्य सन्देश मिल्ने; नाडी तथा चक्रहरु सक्रिय तथा जाग्रित हुने; परालौकिक दिव्य अनुभव तथा अनुभूतिहरु त्यस्ता साधकहरुलाई हुन्छ जसले आफ्ना अघिल्ला जन्महरुमा अध्यात्म साधना तथा योग-ध्यान साधना गरेर आफ्नो सुक्ष्म शरीरका ब्रम्हाण्डिय उर्जाका शक्ति केन्द्रहरु नाडी तथा चक्रहरु सन्तुलित, सक्रिय तथा जाग्रित गरेर आफूले आत्मअनुभव, आत्मवोध, आत्मज्ञान, आत्मसाक्षातकार तथा आत्मजागरण हासिल गरेर प्रथम तहको परालौकिक अनुभव तथा अनुभूति गरिसकेका हुन्छन् र आफूमा परमात्मा, भगवान, देवीदेवता, सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुको सानिध्य हुनसक्ने प्रात्रताको विकास गरिसकेका हुन्छन् । आफ्नो आत्मा अर्थात चेतनामा उल्लेख्य प्रगति गरिसकेका विकसित ध्यान साधकहरुमा वर्तमान जन्ममा ध्यान साधना प्रारम्भ गरेको केही दिन, केही हप्ता तथा केही महिनाभित्र नाडी तथा चक्रहरु स्वस्फूर्त रुपमा खुल्न, सक्रिय हुन तथा जाग्रीत हुन थाल्छन् र पराभौतिक संसारका दिव्य परालौकिक अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ हुन्छन् किनकी अघिल्लो जन्ममा नै उसका नाडी तथा चक्रहरु सन्तुलित, सक्रिय तथा जाग्रित भैसकेका हुन्छन् । यी सन्दर्भहरु भगवान गौतम बुद्ध, युग ऋषि ओशो रजनीश लगायत अरु धेरै सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुको जीवनीमा लेखिएका धार्मिक तथा आध्यात्मिक पाठ्य सामग्रीहरुमा उल्लेख गरिएका छन् कि, अघिल्लो जन्ममै वहाँहरुका सबै चक्रहरु सन्तुलित, सक्रिय तथा जाग्रित भैसकेका, खुलिसकेका तथा उच्चतामा विकसित भैसकेका थिए र पछिल्ला जन्महरुमा वहाँहरुको आध्यात्मिक विकास तिब्रगतिमा भएको कारण वहाँहरु अध्यात्मको उपल्लो उचाइसम्म पुग्न सफल हुनुभयो । यसकारण यस सन्दर्भमा हामी स्पष्ट हुनु आवशयक छ कि सबै अध्यात्म साधकहरुमा अध्यात्म साधनाको यही नियम लागू हुन्छ ।
यस सन्दर्भको पंक्तिकार(सिर्जना भण्डारी) स्वयंलाई पनि डेढ दशकदेखि निरन्तर चल्दै आइरहेको ध्यान साधनाका क्रममा प्रत्यक्ष रुपमा अनुभव भएको थियो । सन् २०११ को नोभेम्बर महिनामा नेपालबाट टाढा विदेशी भूमि(साउदी अरव)मा ध्यान साधना प्रारम्भ गरेको चौथो दिनमै मलाई परालौकिक संसारका चमत्कारिक र रहस्यमय दिव्य अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ भएका थिए । दिव्य आत्माहरु– भगवान, देवी–देवता, नाग देवता, योगी, सन्त, साधुहरुको दर्शन, आशिर्वाद र सन्देशहरु प्राप्त हुन थाले र मैले तिनै सन्देशहरुलाई ग्रहण गर्दै बिना कोही स्थुल शरीरमा रहेका सदगुरुको निर्देशन स्थुल शरीरमा नरहनु भएका आफ्नो आराध्यदेव अर्धनारेश्वर भगवान श्रीशिव-शक्तिलाई सदगुरु मानेर साधनालाई निरन्तर अगाडि बढाउन प्रारम्भ गरें । प्रारम्भमै मैले ब्रम्हाण्डिय अलौकिक गतिविधिहरु प्रकाश, तरंग, आकासिय यात्राका अनुभूति; सबै सम्प्रदायका भगवान, देवी–देवता, नाग देवता, योगी, सन्त, साधुहरुको दर्शन, आशिर्वाद र सन्देशहरु ग्रहण; आत्मलोकमा रहेका सकारात्मक र नकारात्मक दुवै प्रकारका आत्मा/चेतना/उर्जाहरुको सन्देश ग्रहण र उनीहरुसंग दोहोरो संवाद गर्न थालें । मैले आफूलाई आजभन्दा २५०० वर्षअघि भगवान गौतम बुद्ध शरीरमा रहनु भएका बेला वहाँका दिव्य उपदेश, दिव्य देशना तथा प्रवचन, आध्यत्मिक कार्यक्रमहरुमा सहभागि भएको, वहाँको अनुयायी भएको र अन्य भिक्षुहरुसंग विहारमा बसेर ध्यान साधना गरेको देखें । सनातन वैदिक धर्मको प्रचार–प्रसार, विकास तथा प्रवद्र्धनका कामहरुमा अरु साधकहरुसंग हिडेको र काम गरेको देखें । भगवान जिससको अत्यन्तै निकट सानिध्यता प्राप्त गरें, वहाँले आफ्नो हृदयमा मध्यदिनको सूर्य जस्तो प्रज्वलित, चम्किलो ज्योति बालेर मेरो हात समातेर आइज म तँलाई सत्कर्म गर्नेहरु र दुष्कर्म गर्नेहरुको शरीर छुटेपछिको उनीहरुको आत्माको यात्रा विवरण देखाउछु भनेर हावामा वेगमा उडाएर धेरैमाथि कञ्चन निलो आकाशमा पुर्याउनु भयो र तल धर्तीमा हेर भन्नु भयो । जिसस प्रभुले मेरो हात समातिरहनु भएकै अवस्थामा माथि आकाशबाट मैले धर्तीमा शरीर छुटेका आत्माहरुको ठूलो भिड देखें । कोही एकदम सुकिला र गोरा थिए र उनीहरु बडो सहजताकासाथ तेज गतिमा आकाशमा उचाइ लिरहेका थिए; केही अलि घुर्मैला थिए र कष्टसाथ आकाशतिर अत्यन्तै सुस्त गतिमा उचाइ लिरहेका थिए; र केही अत्यन्तै मैला र काला थिए र उनीहरु केही जमिनमै थचक्क बसेका, केही लडेका, केही कष्टमा छटपटाइरहेका थिए, उनीहरुको ढाडमा ठूला–साना पोका–पन्तेराहरु पनि थिए र शरीर छुटेपछिको अगाडिको गन्तव्य के हो, कता हो थाहा नपाएर बिलखबन्धनमा परेका जस्ता देखिन्थे । उनीहरुको बारेमा विवरण दिदै जिसस प्रभुले मलाई अझ प्रष्टसंग बुझाउन भन्नुभयो, “ती सुकिला र तिब्रगतिमा आकाशतिर बढिरहेका आकृतिहरु पुण्य कर्म गरेका मनुष्यहरुका आत्मा अर्थात चेतना हुन्; घुर्मैला र सुस्तगतिमा आकाशतिर बढिरहेका आकृतिहरु मध्यम कर्म गरेका मनुष्यहरुका आत्मा अर्थात चेतना हुन्; र ती अत्यन्तै मैला र जमिनमै टाँसिएका आकाशतिर बढ्न नसकेका आकृतिहरु दुष्ट कर्म गरेका मनुष्यहरुका आत्मा अर्थात चेतना हुन् ।” मलाई प्राप्त भएका यी सबै अलौकिक अनुभवहरु दिव्य आत्माहरुका दिव्य सन्देशहरु थिए जुनलाई मैले मेरो जीवनमा अनुशरण गर्नुपर्ने थियो, आफूले यो विषय बुझ्नुपर्ने थियो र अरुलाई बुझाउनु पर्ने थियो, मलाई यो जिम्मेदारी दिनुभएको थियो प्रभुहरुले र म आज प्रभुहरुले मलाई दिनु भएका यिनै जिम्मेदारी पूरा गर्ने क्रममा आफूलाई सनातन अध्यात्मको सेवामा समर्पित गरेर अगाडि बढिरहेको छु आफ्नो जिविकोपार्जको पेशा अन्वेषण र लेखन भएको भरपनि ।
यी परालौकिक दिव्य अनुभव तथा अनुभूतिहरुको सिधा अर्थ हो मनुष्यको आत्मा अर्थात चेतनाको विकास जन्म–जन्मदेखिको निरन्तरताको श्रृंखला हो, कुनै एक जन्मको अपर्याप्त अध्यात्म साधनाबाट मात्र परालौकिक दिव्यता हासिल गर्न सकिदैन तथा साधनाले गति लिएको छैन तथा अपर्याप्त छ भने परालौकिक उपलव्धिहरु हासिल हुन सक्दैनन् । अघिल्लो जन्ममा शरीरमा रहदा अध्यात्म साधना जहाँ पुर्याएर छुटेको तथा छोडिएको छ वर्तमान जन्ममा त्यहि विन्दुबाट आफ्नो आत्मा अर्थात चेतनाको आध्यात्मिक विकास हुन प्रारम्भ हुन्छ, जस्तो कि हामीले विद्यालय परिवर्तन गर्दा पढिसकेको तथा पाश गरिसकेको कक्षा दोहोर्याउदैनौं, त्यो भन्दा माथिल्लो कक्षामा भर्ना हुन्छौं । जन्म–जन्ममा मनुष्यले गर्ने अध्यात्म साधनामा पनि ठिक यही नियम लागू हुन्छ र एउटा कक्षा बराबर मनुष्य योनीको एक जन्म सरह मानिन्छ । मनुष्यको आत्माले यस्ता जन्म तथा कक्षाहरु हजारौ–हजार पार गरेर अगाडि बढ्दै आइरहेको हुन्छ । यस सन्दर्भमा युग ऋषि श्रद्धेय ओशो रजनीशले आफ्नो प्रवचनमा भन्नु भएको छ, “आज भन्दा ६०० वर्षअघि म मनुष्य शरीरमा रहदा मेरो आज्ञा चक्रसम्मका सबै चक्रहरु सन्तुलित, सक्रिय तथा जाग्रित भैसकेका थिए, त्यो जन्मको शरीरको मृत्यु पश्चात उपयुक्त गर्भ, माता-पिता तथा संस्कार उपलव्ध नभएको कारण मैले फेरी तुरुन्तै जन्म लिन सकिन र सुक्ष्म जगत तथा आत्मलोकमै बसिरहें उपयुक्त गर्भको पर्खाइमा किनकी उपयुक्त गर्भ तथा जीवन प्राप्त भएन र आफूले जीसकेको जीवन भन्दा न्यूनस्तरको जीवनमा जन्म लिइयो भने अहिलेसम्मको साधनाको उपलव्धि र प्रभावकारीतामा ह्रास आउन सक्छ र फेरी अरु जन्महरु खर्च गर्नुपर्छ साधनालाई त्यही उचाइमा पुर्याउन । जव यो जन्ममा माता–पिताको माध्यमबाट सन् १९३१ डिसेम्बर, ११ मा म फेरी मनुष्य योनीमा जन्मिएं, सक्रिय तथा जाग्रित हुन बाँकी रहेको सहश्रार चक्र जाग्रित गरें र परमात्माको सन्देश वाहक भएर आफूलाई सनातन अध्यात्मको सेवा र सर्वकल्याणका कार्यहरुमा समर्पित गरें ।”
धेरै मनुष्यहरु हुन्छन् जसमध्य केहीले यही जन्ममा ध्यान साधना प्रारम्भ गरेका हुन्छन् र केहीले अलि अघिल्लो जन्मदेखि ध्यान साधना प्रारम्भ गरेका हुन्छन् त्यसैले उनीहरुलाई ध्यान साधनामा परालौकिक दिव्य अनुभव तथा अनुभूतिहरु हुदैनन् किनकी ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जाले पर्याप्त प्राण उर्जाको अभावका कारण मनुष्यको शरीर, मन, भाव, तथा वुद्धिमा भएको असन्तुलन, अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गरेर उसको आत्मा अर्थात चेतनाको विकास प्रक्रियाकालागि उर्ध्वगमन भएकै हुदैन, ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय उर्जाको पर्याप्ताको अभावका कारण आत्मा अर्थात चेतनाको विकास गर्नेगरि उनीहरुको ध्यान साधनाको समय पुगेकै हुदैन तथा ध्यान पाकेकै हुदैन अर्थात उर्जाको पर्याप्त आपूर्ति आत्मा अर्थात चेतनासम्म पुगेकै हुदैन । यसैकारण ध्यान साधनामा साधकहरुलाई हुने अनुभव तथा अनुभूतिहरुमा असमानता र अनन्त विविधता हुन्छ; हरेक साधकलाई फरक-फरक प्रकारका अनुभव तथा अनुभूतिहरु हुन्छन्; र एक साधकको अनुभव तथा अनुभूतिहरु अर्को साधकको अनुभव तथा अनुभूतिहरुसंग मेल खादैनन् । यहीकारण कतिपय शुरुआति साधकहरुमा ध्यान साधनाका क्रममा आफूलाई भएका परालौकिक दिव्य अनुभव तथा अनुभूतिहरु अर्कोलाई भएको छैन, अर्कोमा साधनाको गहिराइ छैन, म गहिरो साधक हुँ, म सबै कुरा जान्दछु, मेरा अनुभव तथा अनुभूतिहरु महान छन् र यी मात्र परमसत्य छन्, म आध्यात्मिक जगतको उच्चतहमा पुगिसकें, अरु सबै म भन्दा पछाडि छन्, उनीहरु अध्यात्म–धर्म, जीवन–जगत, आत्मा–परमात्माबारे केही पनि जान्दैनन्, उनीहरुले मलाई सदगुरु मान्नु पर्दछ र अरुले मेरा अनुभव तथा अनुभूतिहरुलाई अनुशरण गर्नु पर्दछ.... जस्ता अहंकारहरुले उ स्वयंले नै थाहा नपाउने गरि उसको पारमार्थिक तथा आध्यात्मिक विकासमा बाधा गरिरहेको हुन्छ र उ आफ्नो अहंकारमै दंग परिरहेको हुन्छ, अरुलाई होच्याउने र आफूलाई उचाल्ने प्रयासमा गरिरहन्छ बारबार तर यही कारण आफ्नो आध्यात्मिक अवनति भैरहेको कुरा उसले चालै पाउदैन तथा बुझ्दैन । यस्तो अवस्थामा उसको आध्यात्मिक प्रगति जहाँको तहीं रहिरहन्छ र उसको आध्यत्मिक प्रगति हुन पूर्णतः बन्द हुन पनि सक्दछ या भैरहेको स्थानबाट अझ तल खस्किन पनि सक्दछ ।
सामान्यतया अध्यात्म साधनाका अनुभवीहरुको अनुभव अनुसार भनिन्छ मनुष्यले निरन्तर अध्यात्म साधना गर्दा उसको आज्ञा चक्रसम्मका सबै चक्रहरु सहि प्रकारले सन्तुलित, सक्रिय तथा जाग्रीत हुन औषतमा पाँच जन्म लाग्दछ । तसर्थ ध्यान साधनामा परालौकिक दिव्य अनुभूतिहरुकाबारे धेरै अपेक्षा गर्नु हुदैन यसले आफूलाई दुःखी बनाउछ, ध्यान साधनामा अवरोध पुर्याउदछ र आध्यात्मिक प्रगति रोकिदिन पनि सक्दछ किनकी अपेक्षा नै आध्यात्मिक प्रगतिको मूल बाधक हो । यसैकारण श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥ २-४७ ॥” अर्थात हे मनुष्य तिमी आफ्नो कर्म निष्ठापूर्वक गर, कर्म गर्नमा तिम्रो अधिकार र नियन्त्रण छ, कर्मको फलमा छैन, कर्मको फलप्रति आशक्ति नराख, कर्मको फल जे आउनु छ, जहिले आउनु छ आफ्नो प्रक्रिया अनुसार तहगत रुपमा आउछ, वर्तमानमा साक्षी भएर आफ्ना सबै कर्महरु कुशलतापूर्वक सम्पन्न गर्यौ भने अवश्य तिम्रो कर्मको फल तथा परिणाममा श्रेष्ठता आउनेछ । श्रद्धेय ओशो रजनीशले आफ्नो प्रवचनमा भन्नु भएको छ, “राजकुमार सिद्धार्थ गौतम केवल त्यो जन्मको तपको बलले ‘भगवान गौतम बुद्ध’ हुनु भएको होइन, वहाँको अन्तरज्ञानमा अध्यात्म साधनाको स्फुरणा भएको ५०० वटा जन्मको अध्यात्म साधनापछि ‘भगवान बुद्ध’ हुनुभएको हो ।” हामी सबै अध्यात्म तथा ध्यान साधकहरुले यी विषय तथा प्रसंगहरुलाई आत्मसाथ गर्नुपर्दछ र आफ्नो ध्यान साधनालाई बिना कुनै अपेक्षा तथा परिणामको आशक्ति निरन्तरता दिनुपर्दछ, ध्यान साधना जहिले पाक्छ तहिले परिणाम पनि आउनेछ, यो जन्ममा नआए अर्को जन्ममा आउनेछ, अर्को जन्ममा नआए अर्को–अर्को–अर्को... जन्ममा आउनेछ तर अवश्य आउनेछ किनकी प्रकृतिको नियम यही नै हो, विज रोपेपछि वृक्ष बन्छ र त्यसमा ढिलो चाँढो फल लाग्छ नै र परमात्मा अरु कोही नभएर स्वयं प्रकृति हो, सृष्टि हो, समुच्चा ब्रम्हाण्ड हो, निराकार आकाश हो, हामी सबै उसका अभिन्न अंश तथा सन्तानहरु हौं । परमात्मा तथा परमपिताले संधै आफ्ना सन्तानहरुको भलाई मात्र चाहान्छ र उसकोलागि कहिले, के, कति, कसरी प्रदान गर्नु उपयुक्त छ उसले सबै जान्दछ र त्यसै अनुसार प्रदान गर्दछ किनकी उसले आफ्नो सन्तानलाई के चाहिएको छ त्यो चाहिं दिन्छ, सन्तानले के चाहेको छ त्यो दिदैन तसर्थ परमात्माको प्रार्थना तथा उपासना गर्दा कहिल्यै पनि आफ्ना माग तथा इच्छाहरु प्रकट गर्नु हुदैन, हे प्रभु तिमी अन्तरयामी छौ, मेरोबारे सबैकुरा म भन्दा बढि तिमीले जान्दछौ त्यसैले मेरो होइन तिम्रो इच्छा पूरा होस्, मलाई सबै स्वीकार हुनेछ भन्नु पर्दछ । यसप्रकारको इश्वरप्रतिको आस्था, विश्वास तथा इश्वर प्रणिधानबाट आफ्नो अध्यात्म सामधनामा अवश्य प्रगति आउनेछ र साधनामा परिपक्वता आएपछि अवश्यमेव परालौकिक उपलव्धिहरु हासिल हुनेछन् ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment