Friday, 5 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -७

                                  #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान


          

                                                           सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !


सवालः D
११.ध्यान साधनाबाट प्राप्त प्राण उर्जाले कसरी काम गर्छ ?

जवाफः
मनुष्यको जीवन शरीरका विभिन्न आयामहरु, कोष, मांसपेसी तथा दृश्य–अदृश्य तत्वहरु सबै एकैठाउँमा समेटिएर तयार भएको एकमुष्टमा ‘शरीर’ भनेर सम्वोधन गरिने अत्यन्तै चमत्कारिक श्रृंखलाहरुको रहस्यमय कडी हो । मनुष्यको शरीरलाई विभिन्न आयाम, तह तथा परतको रुपमा पनि बुझिन्छ जसलाई सनातन अध्यात्म दर्शनले शरीर तथा कोषका रुपमा विश्लेषण गरेको छ । सनातन अध्यात्म दर्शनले मनुष्यको समग्र शरीर तथा चेतनाको आयामलाई शरीर तथा कोषहरुको माध्यमबाट सम्झाउने तथा बुझाउने प्रयास गरेको छ । मनुष्यको शरीरका आयामहरु तथा कोषका तहहरुको अवधारणा आफ्नो शरीरका सबै आयामहरुलाई तथा आफैंले आफूलाई बुझ्ने सबैभन्दा सरल, प्रभावकारी र महत्वपूर्ण तरिका हो । मनुष्यको शरीर तथा कोषहरुलाई वाहिरि परतबाट क्रमशः भित्र-भित्र हुदै सबैभन्दा केन्द्रको भाग गरि पाँच तह तथा परतमा विभाजन गरिएको छ– (१)स्थुल शरीर तथा अन्नमय कोष, (२)प्राणीक शरीर तथा प्राणमय कोष, (३)मानसिक शरीर तथा मनोमय कोष, (४)वौद्धिक शरीर तथा विज्ञानमय कोष, र (५)आध्यात्मिक शरीर तथा आनन्दमय कोष । मनुष्यको जीवन अनन्त जन्मको श्रृंखला हो, जन्म–जन्ममा जीवनयापन गरिएका असन्तुलित जीवनशैलीका कारण उसको शरीरका आयामहरु, कोषका तहहरु तथा समग्र जीवनमा प्राण उर्जामा असन्तुलन तथा कमी आएको हुन्छ उ आफूले थाहा पाएपनि थाहा नपाएपनि र यसैकारण उसको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतना हरपल उति ताजा, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित अवस्थामा हुदैन जति र जसरी हुनुपर्ने हो । मनुष्यको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनालाई शुद्ध, चुस्त, सक्रिय, जाग्रित सन्तुलित तथा व्यवस्थित गर्नकालागि पर्याप्त मात्रामा ब्रम्हाण्डिय प्राण उर्जा तथा जीवन उर्जा उपलव्धताको आवश्यकता पर्दछ र प्राण उर्जाको प्रचुर उपलव्धता केवल योग निद्रा तथा ध्यान साधनाबाट मात्र प्राप्त हुन्छ । मनुष्यको जीवन जन्म–जन्मको श्रृंखला भएकोले यदि उसले यस जन्म भन्दा अघिका जन्महरुमा कहिल्यै ध्यान साधना गरेको छैन र यस जन्ममा पनि भर्खर ध्यान साधना गर्न प्रारम्भ गरेको छ भने उसको समग्र जीवनमा जन्म–जन्मदेखि नै प्राण उर्जाको कमी तथा असन्तुलन रहदै आएको हुन्छ र परिणाम स्वरुप उसको शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको अवस्था आवश्यक मात्रामा शुद्ध, स्वस्थ, चुस्त, सक्रिय, जाग्रित, सन्तुलित तथा  व्यवस्थित अवस्थामा हुदैन । ध्यान साधना प्रारम्भ गरेपछि साधकलाई पर्याप्त मात्रामा ब्रम्हाण्डिय प्राण उर्जा प्राप्त हुन प्रारम्भ हुन्छ र यो दिव्य उर्जा सर्वप्रथम मनुष्यको शरीर तथा कोषको वाहिरी तह तथा परत ‘स्थुल शरीर तथा अन्नमय कोष’मा प्रवेश गर्दछ र जन्म-जन्मदेखि प्राण उर्जाको पर्याप्त उपलव्धताको अभावका कारण स्थुल शरीरमा संग्रहित भएर रहेका सबैप्रकारका असन्तुलन, अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्दै क्रमिक रुपमा स्वतः भित्रका तह तथा परतहरुमा अर्थात केन्द्रतिर प्रवाहित हुदै जान्छ र ती तहहरुमा पनि प्राण उर्जाको पर्याप्त उपलव्धताको अभावका कारण जन्म-जन्मदेखि संग्रहित भएर रहेका सबैप्रकारका असन्तुलन, अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्दै जान्छ । योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त ब्रम्हाण्डिय प्राण उर्जाले क्रमशः मनुष्यको शरीर तथा कोषका निम्न पाँच आयाम तथा तहहरुमा काम गर्दछ– 

(१)स्थुल शरीर तथा अन्नमय कोष

मनुष्यको पंचभौतिक शरीर प्रकृतिका पंचतत्व तथा पंचमहाभूत– पृथ्वी, जल, अग्नि, वायु र आकाश तत्वहरुको समिश्रणबाट निर्मित भएको हुन्छ । पृथ्वीमा उब्जिएका अन्नहरुको सेवन गरेर बनेको हुनाले मनुष्यको स्थुल शरीर तथा सबैभन्दा वाहिरको तहलाई अन्नमय कोश भनिएको हो । दैनिक जीवनयापन गर्ने क्रममा उमेर, अनुभवहरु बढ्दै जाँदा; परिवार, समाज, प्रकृतिसंगको सम्वन्ध तथा अन्तरक्रियाहरु बढ्दै जाँदा मनुष्यको स्थुल शरीरमा धेरै प्रकारका परिवर्तन, उतार-चढाव तथा विचलनहरु आउने गर्दछन् । विशेष गरिकन ध्यान साधना नगर्ने व्यक्तिहरुमा स्थुल शरीरका दैनिक गतिविधिहरु सुचारु राखिराख्न र शरीर स्वस्थ, सक्रिय, संतुलित तथा व्यवस्थित रहनका लागि अत्यावश्यक पर्ने प्राण उर्जाको पर्याप्त आपूर्तिको अभाव हुनेहुनाले विभिन्न समस्या, अस्वस्थता तथा बिमारीहरु आइपर्दछन् । जीवनमा हरक्षण विभिन्न घटना तथा विषयहरुमा शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक रुपमा व्यस्त रहनु परेका कारण मनुष्यको प्राण उर्जाको खपत अत्यन्तै धेरै हुने गर्दछ र उसको शरीर, मन, भाव, वुद्धि, चेतना थकित तथा गलित हुने गर्दछ, जुन सबै मनुष्यहरुमा हुने अत्यन्तै स्वभाविक अवस्था हो । थाकेको तथा गलित भएको शरीर, मन, भाव, वुद्धि, चेतनाका सुक्ष्म प्रणाली, कोष तथा तत्वहरु अतिक्रमणमा परेका, टुटफुट भएका, चुडिएका, च्यातिएका, क्षतविक्षत भएका तथा नष्ट भएका हुन्छन् । यसरी थाकेको शरीर, मन, भाव, वुद्धि, चेतनालाई स्वस्थ तथा सन्तुलित राख्न र पुनरताजा गर्न तथा पूर्ववत स्फुर्तिको अवस्थामा ल्याउन पर्याप्त प्राण उर्जाको आवश्यकता पर्दछ । योग निद्रा तथा ध्यान साधनाको प्रयोगात्मक अभ्यास प्रारम्भ गरेपछि साधकलाई पर्याप्त मात्रामा गुणस्तरीय प्राण तथा जीवन उर्जा प्राप्त हुन प्रारम्भ हुन्छ । प्राण उर्जाको प्रकृति तलबाट माथि जाने तथा वाहिरबाट भित्र जाने प्रकारको हुनेहुनाले तल तथा वाहिरका क्षेत्रहरुमा जहाँ–जहाँ र जता–जता आवश्यकता छ पहिला त्यतै–त्यतै प्रवाह हुने उर्जाको सिद्धान्त अनुसार सबैभन्दा पहिला स्थुल शरीर तथा अन्नमय कोषको तहमा प्रवाहित हुन्छ र त्यस क्षेत्रमा उर्जाको आवश्यकता परिपूर्ति गरिसकेपछि क्रमशः प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र अन्तिममा आनन्दमय कोषमा प्रवाहित हुन्छ, यसपछि साधकलाई क्रमिक रुपमा ध्यान लाग्न प्रारम्भ हन्छ र उसको आत्मा अर्थात चेतनाको विकास हुन प्रारम्भ हुन्छ, यससंगै विस्तारै उसको आध्यात्मिक मार्ग खुल्न थाल्छ । 

योग निद्रा तथा ध्यान साधनामा रहेको अवस्थामा साधकले पर्याप्त प्राण उर्जा ग्रहण गर्न थालेपछि उसको शरीरका आयामहरु तथा कोषका तहहरुले स्वतः ध्यान साधनाबाट प्राप्त भएको प्राण उर्जा आवश्यकता भएतिर माग गर्दछन् र शरीरमा प्राप्त भएको उर्जा आफूतिर शोषण गरेर लिन्छन् । उर्जाको नैसर्गीक गुण तलबाट माथितिर तथा वाहिरबाट भित्र तथा केन्द्रतिर प्रवाह हुने भएकोले प्राकृतिक नियम अनुसार प्राण उर्जा शरीरमा आवश्यकता भएकैतिर दौडिन्छ र त्यहाँको आवश्यकता पूरा गर्दछ जसरी पानी आफ्नो नैसर्गीक गुण अनुसार माथिबाट तलतिर अर्थात ओरालोतिर बग्दछ र पहिला खाल्डा-खुल्डीहरुमा आफ्नो आपूर्ति र उर्जा प्रदान गर्दछ र त्यसपछि मात्र सम्म भागमा चढ्छ र बहन्छ । यसरी ध्यान साधनाबाट पर्याप्त मात्रामा प्राण उर्जाको आपुर्ति प्राप्त गरेपछि मनुष्यको थाकेको तथा गलेको स्थुल शरीरका तथा अन्नमय कोषका अतिक्रमणमा परेका, टुटफुट भएका, चुडिएका, च्यातिएका, च्यापिएका, क्षतविक्षत भएका तथा नष्ट भएका अंगहरु, सुक्ष्म प्रणाली, कोष तथा दृश्य–अदृश्य तत्वहरु पर्याप्त प्राण उर्जाको आपूर्ति भएसंगै मर्मत हुन, जोडिन, पुनरनिर्मत हुन तथा पुनरताजगी हुन थाल्छन् अर्थात रिपेयर–रिकनेक्ट–रिबिल्ड–रिफ्रेस हुन थाल्दछन् अर्थात स्थुल शरीरका सबै प्रकारका फोहरहरु सफा हुन प्रारम्भ हुन्छन् र स्थुल शरीरको अत्यावश्यक उपचार प्रक्रिया प्रारम्भ हुन्छ । यस्तो प्रकारको प्रक्रिया तथा ढंगले ध्यान साधनाबाट प्राप्त ब्रम्हाण्डिय प्राण उर्जाले मनुष्यको स्थुल शरीर तथा अन्नमय कोषको सन्तुलन, व्यवस्थापन तथा विकासका लागि काम गर्दछ । 

मनुष्यको जीवनका सबै आयामहरुको सन्तुलित तथा व्यवस्थित विकासका लागि स्थुल शरीर तथा अन्नमय कोशको अत्यन्तै धेरै महत्व रहेको छ । सनातन अध्यात्मका प्रमुख शास्त्रहरुमा भनिएको छ, 'शरीरमाद्यं खलु धर्म साधनम्', 'शरीरं सर्वम धन साधनं' अर्थात सबै साधना गर्ने माध्यम शरीरनै हो र शरीरनै सर्वश्व तथा प्रमुख धन हो किनकी मनुष्यको मन, भाव, वुद्धि, आत्मा अर्थात चेतना सबैले शरीरको माध्यमबाट आफूलाई अभिव्यक्त गर्दछन् । ध्यान साधनाले मनुष्य जीवनका समग्र आयामहरुमा उच्चतम विकास ल्याउछ र ध्यान साधना केवल स्थुल शरीरको माध्यमबाट मात्र सम्भव हुन सक्दछ, ध्यानकासाथै शरीरबिना मनुष्यको जीवनका कुनै पनि काम सम्भव नै हुदैनन् । यसकारण सनातन अध्याम विज्ञानमा मनुष्यको स्थुल शरीर तथा अन्नमय कोशलाई अत्यन्तै धेरै महत्व प्रदान गरिएको हो ।


(२)प्राणीक शरीर तथा प्राणमय कोष

मनुष्यको स्थुल शरीर तथा अन्नमय कोषले नै जीवनका सबै गतिविधिहरु गर्दछ तर सनातन अध्यात्म विज्ञानले मनुष्यको स्थुल शरीरलाई जडवत तथा निर्जिव पदार्थ तथा तत्वको रुपमा मान्दछ । यसकारण स्थुल शरीर आफैंले केही गर्न सक्दैन, स्थुल शरीरलाई विभिन्न गतिविधिहरु गर्न तथा विभिन्न क्रियाकलापहरुमा सहभागि हुन, निर्णय लिन इन्धन तथा उर्जाको आवश्यकता पर्दछ जसरी मेसीनरी सवारी साधनको इन्जिन चल्न ब्याट्री, डिजेल तथा पेट्रोलको आवश्यकता पर्दछ । मनुष्यको स्थुल शरीर उसको सुक्ष्म शरीर तथा आत्मा अर्थात चेतनाको सवारी साधन हो जडवत मेसीनरी सवारी साधन जस्तै, यसको इन्जिन तथा प्रणाली चल्न प्राण उर्जा, जीवन इन्धन तथा जीवन उर्जा(लाइफ फोर्स तथा भाइटल इनर्जी)को आवश्यकता पर्दछ । मनुष्यलाई गहिरो निद्रा, योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जानै उसको शरीर चलाउने मूल जीवन उर्जा तथा कुण्डिलिनी उर्जा हो । मनुष्यलाई प्राकृतिक निद्राबाट भन्दा धेरै गुणा बढि, छिटो र थोरै समयमा गुणस्तरिय प्राण उर्जा योग निद्रा र ध्यान साधनाबाट प्राप्त हुन्छ । 

कहिलेकाहीं आफूलाई अत्यन्तै उर्जावान, उत्साहप्रद, जोश, जाँगरले भरिएको, सकारात्मक सोच, केही गरौं भन्ने भाव उत्कट भएर आउछ र कहिलेकाहीं एकदम थाकेको, गलेको, अल्छी तथा आलस्य भएको, केही गर्न मन नलाग्ने, निराश भएको जस्तो महसुस हुन्छ । यस्तो अवस्था प्राण उर्जाको कमी, अपर्याप्तता तथा असन्तुलनका कारणले हुने गर्दछ । मनुष्यको जीवनमा प्राणमय कोषको अत्यन्तै प्रभावकारी र महत्वपूर्ण भूमिका रहेको हुन्छ किनकी खासगरि यही तहबाटनै उसको स्वास्थ्य, शरीर र समग्र जीवनका सारा आयामहरु सन्तुलित तथा व्यवस्थित रुपमा चलिरहेका हुन्छन् । प्राण नै मनुष्यको आभामण्डल(इलेक्ट्रो मेग्नेटीक इनर्जी) तथा उर्जा क्षेत्र(क्वान्टम फिल्ड) हो; प्राण नै मनुष्यको मांसपेशी–अस्थी–नशा–नाडी–चक्रहरुमा प्रवाहित भएका कारण मनुष्यको जीवन सन्तुलित रुपमा संचालित भएको हुन्छ; प्राण उर्जा नै मन, भाव, वुद्धि, चेतनामा प्रवाहित भएको कारणले उसको जीवनका सबै आयामहरु सन्तुलित किसिमले चलिरहेका हुन्छन् । यसप्रकार प्राणमय कोषबाट नै मनुष्यको समग्र जीवन निर्देशित तथा नियन्त्रित भैरहेको हुन्छ र उ जीवित रहेको हुन्छ । मनुष्यको शरीरका अन्य भाग तथा अंगहरु यथावत रुपमा चलिरहेका भएपनि जव प्राण उर्जा उसको शरीरबाट छुट्छ तव उसको अन्त्य तथा मुत्यु हुन्छ फेरी कहिल्यै जीवनमा नफर्कने गरि । यदि प्राणमय कोष सन्तुलित तथा मजबुत छ भने मनुष्यको आभामण्डल तथा उर्जा क्षेत्र शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित हुन्छ र उसको जीवनमा अस्वस्थता, कठिनाइ, चुनौति तथा समस्याहरु सितिमिति आइपर्दैनन्, आइहाले पनि आफूमा प्रतिरक्षा प्रणालीको विकास भएको कारण तिनको सहजै उपचार तथा समाधान गर्न उ हरप्रकारले सक्षम हुन्छ तर प्राणमय कोष सन्तुलित तथा मजबुत छैन भने व्यक्तिको जीवनमा शारीरिक अस्वस्थताका साथै मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक अस्वस्थता, कठिनाइ, चुनौति तथा समस्याहरु आउछन् र यस्तो अवस्थाले उसको जीवन कष्टकर बनाउछ । मनुष्यको प्राणमय कोषमा जतिजति प्राण उर्जाको पर्याप्तता र प्रवाह बढ्दै जान्छ उतिनै मनुष्यको जीवनका सबै आयामहरुको विकास उच्चस्तरमा हुदै जान्छ र उसको आध्यात्मिक विकासमा पनि तिब्रता आउन प्रारम्भ हुन्छ।  यसप्रकार ध्यान साधनाबाट प्राप्त ब्रम्हाण्डिय प्राण उर्जाले मनुष्यको प्राणीक शरीर तथा प्राणमय कोषको विकासका लागि काम गर्दछ ।    


(३)मानसिक शरीर तथा मनोमय कोष

मनुष्यको समग्र जीवनमा अन्नमय कोषको आफ्नै प्रकारको महत्व तथा प्रभावकारिता रहेको छ र प्राणमय कोषको आफ्नै प्रकारको महत्व तथा प्रभावकारिता रहेको छ तर यतिले मात्र मनुष्यको जीवन चल्दैन किनकी उ सामाजिक प्राणी हो, यसकारण हरक्षण परिवार, समुदाय, समाजसंग विभिन्न प्रकारले शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक रुपमा उसका जुडाउ र अन्तरक्रियाहरु चलिरहेका हुन्छन् । यी अन्तरक्रियाहरुका कारण मनुष्यको मन तथा भावमा चल्ने सोच, विचार, भावनात्मक संवेग, बोलि, वचन, हाउभाउ, व्यवहार, आचरण, अनुशासन, कर्म र यसबाट उत्पन्न हुने सम्झना, कल्पना, प्रेम, श्रद्धा, सेवा, घृणा, क्रोध, लोभ, मोह, इख, अहंकार, राग, द्वेश आदि मानवीय स्वभावहरु उत्पन्न भैरहेका हुन्छन् र उसको जीवनको अधिकांश महत्वपूर्ण समय र उर्जा यिनै घटना तथा विषयहरुले ओगटेका हुन्छन् । मनुष्यको जीवनको यो अत्यन्तै महत्वपूर्ण भाग तथा पाटो उसको मानसिक शरीर, भावनात्मक शरीर तथा मनोमय कोष अन्तर्गत पर्दछ । अघिल्ला जन्महरुमा तथा यही जन्ममा सानै उमेरदेखि योग निद्रा तथा ध्यान साधनाका प्रयोगात्मक अभ्यासहरु गर्दै आएको छ भने मनुष्यको मानसिक शरीर तथा मनोमय कोष शुद्ध, सक्रिय, सकारात्मक, सन्तुलित तथा व्यवस्थित भएको हुन्छ पर्याप्त प्राण उर्जाको आपूर्तिका कारण किनकी पर्याप्त मात्रामा उपलव्ध भएको प्राण उर्जाले मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनामा जन्म–जन्मदेखि संग्रहित भएर रहेका अशुद्धि, फोहर, विकार, विषाक्तता, नकारात्मक स्मृति तथा विजातिय तत्वहरु सफा गर्दछ र मनोमय कोषलाई शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित बनाउछ । मनुष्यको मनोमय कोष जति शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित रहेको हुन्छ उ त्यतिनै सकारात्मक, प्रेमल, दया, करुणा, सेवा, क्षमा, कृपा, कृतज्ञता, धन्यता. दान, पुण्य, सबैको भलाई गर्ने भावले भरिएको हुन्छ, उसले आफ्नो जीवन आफू लगायत सबैकालागि काम लाग्ने सर्वकल्याणको दिशातिर लगाउछ, उसको व्यक्तित्व विस्तारै आध्यात्मिक बन्दै जान्छ र उभित्र नेतृत्वको विकास हुदैजान्छ । मनुष्यमा जतिजति प्राण उर्जाको आपिूर्ति र प्रवाह बढ्दै जान्छ उतिनै उसको व्यक्तित्व आध्यात्मिक बन्दै जाने हुनाले आध्यात्मिक व्यक्तिको मानसिक र भावनात्मक शरीर तथा मनोमय कोष संधै शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित रहन्छ र यससंगै आत्मा अर्थात चेतनाको पनि विकास हुदै जाने हुनाले  उसको आध्यात्मिक मार्गमा प्रगति हुदै जान्छ ।

योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त भएको प्राण उर्जाले अन्नमय कोष, प्राणमय कोषहरुमा प्राण उर्जाको आवश्यकता पूर्णरुपमा उपलव्ध गराइसकेपछि प्राण उर्जाको प्रवाह अव अदृश्य तथा अनस्थुल मानसिक शरीर तथा मनोमय कोषको तह तथा परतमा प्रवेश गर्दछ । मनोमय कोषको तहमा प्राण उर्जाको प्रवाह बढेपछि पर्याप्त प्राण उर्जाको अभावका कारण मनुष्यले नचाहेर पनि उसको मनोमय कोष तथा मन र भावमा चलिरहने अनावश्यक, नकारात्मक, असीमित, अनियन्त्रित अतिविचारहरु तथा भावनात्मक संवेगहरुले अस्थिर, बेचैन, अशान्त बनिरहेको, केही विषयमा पनि स्थिर र एकाग्र रहन नसक्ने तथा लामो समय टिक्नै नसक्ने, एकछिन पनि खुशी र शान्त रहन नसक्ने मनस्थिति तथा भावास्थितिमा विस्तारै स्थिरता, एकाग्रता, शान्तपन आउन प्रारम्भ हुन्छ । यस्तो अवस्थामा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाको पर्याप्त प्रवाह बढेका कारण मनुष्यको मनोदशा तथा भावदशा स्थिर, एकाग्र, शान्त हुदै विस्तारै विचार शुन्यता तथा भाव शुन्यताको अवस्थामा स्थित हुन पुग्दछ । सनातन अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान दुवै विद्या पूर्णतः मान्दछन् कि संसारमा सबैभन्दा चन्चल, अस्थिर, बेलगाम तथा नियन्त्रण गर्न मुस्किल विषय मनुष्यको मन तथा भावना हो किनकी मनमा निरन्तर चलिरहने अनियन्त्रित अतिविचारहरु र भावमा निरन्तर खेलिरहने अनियन्त्रित भावनात्मक संवेगहरुले मनुष्यलाई एकक्षण पनि स्थिर, एकाग्र, स्वस्थ, सुखी, खुशी, शान्त, आनन्दित, सन्तुलित, व्यवस्थित रहन दिदैनन् र उसको जीवनका समग्र आयामहरुमा अस्तव्यस्तता ल्याइदिन्छन् । तर योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाले मनुष्यको मनोदशा र भावदशालाई सहजै शुन्य, स्थिर, एकाग्र, शान्त, सन्तुलित तथा व्यवस्थित हुन मद्धत गर्दछ किनकी योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जा का शक्तिशाली दिव्य तरंगहरुले सिधै मनुष्यको मन तथा भावनामा सकारात्मक प्रभाव पार्दछन् र विस्तारै सकारात्मक सुधार आउन प्रारम्भ हुन्छ । वास्तविक अर्थमा भन्ने हो भने व्यवहारिक रुपमा मनुष्यको मन तथा भावनालाई स्थिर, एकाग्र, शान्त बनाएर विचार तथा भावनात्मक संवेग शुन्यता तथा अमनि अवस्थामा पुर्याउनु नै ध्यान साधनाको प्रमुख उद्देश्य हो र यो अवस्था हासिल गर्न सक्नु योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाको अत्यन्तै महत्वपूर्ण काम र उपलव्धि हो । यसप्रकार योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाले मनुष्यको मानसिक शरीर, भावनात्मक शरीर तथा मनोमय कोषको विकासमा काम गर्दछ ।


(४)वौद्धिक शरीर तथा विज्ञानमय कोष

मनोमय कोषको तहमा आवश्यक प्राण उर्जाको आपूर्ति पर्याप्त भएर मनुष्यको मन तथा भाव सन्तुलित भएपछि योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाको प्रवाह उसको सचेतना, वौद्धिक शरीर तथा विज्ञानमय कोषको तहमा प्रवेश गर्दछ । वौद्धिक शरीर तथा विज्ञानमय कोषमा प्राण उर्जाको प्रवाह बढेपछि साधकको वुद्धि, विवेक, वौद्धिकता, विवेकशीलता, तार्किकता, सचेतता सक्रिय र जाग्रीत हुन प्रारम्भ हुन्छ । मनुष्यको वुद्धिले संवाद, तर्क, वितर्क, योजना निर्माण, घटना तथा विषयहरुको व्याख्या तथा विश्लेषण आदि कार्यहरु गर्दछ । सचेतना तथा वुद्धिका यी गतिविधिहरुले मनुष्यको जीवनका महत्वपूर्ण आयामहरुमा आफूलाई सहज ढंगले अरु समक्ष प्रस्तुत गर्न; आफ्ना विषयहरु अरु समक्ष स्पष्ट रुपमा राख्न तथा विषयको गहनता बुझाउन; र जीवनका महत्वपूर्ण निर्णयहरु लिन तथा निर्णय सुनाउन महत्वपूर्ण र प्रभावकारी ढंगले सहयोग गर्दछन् । मनुष्यको सचेतना तथा वुद्धि सहज ढंगले सक्रिय, जाग्रित र सन्तुलित रुपमा चलिरहन प्राण उर्जाको पर्याप्त उपलव्धता अनिवार्य हुन्छ । मनुष्यको वौद्धिक शरीर तथा विज्ञानमय कोषमा जतिजति प्राण उर्जाको पर्याप्त आपूर्ति र प्रवाह बढ्दै जान्छ उतिनै उभित्र सुसुप्त अवस्थामा रहेका उसका जन्म-जन्मदेखिका वौद्धिक क्षमता, प्रतिभा, र रचनात्मकता, सिर्जनशीलता, नवप्रवर्तन क्षमता, सकारात्मक गुणहरु उसको जीवनमा प्रष्फुटित हुदै आउछन् र उ आफ्नो जीवनका हरेक आयामहरुमा समृद्ध, अव्वल, विकसित तथा सफल बन्दै जान्छ । जीवनमा हरप्रकारले विकसित भएको तथा सफलता हासिल गरेको व्यक्तिको मात्र वौद्धिक शरीर तथा विज्ञानमय कोष स्वस्थ, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित हुनेहुनाले यो अवस्थामा स्वस्फुर्त रुपमा उसको आत्मा अर्थात चेतनाको विकासमा समेत मद्धत पुग्दछ र वौद्धिक जीवनसंगै मनुष्यको आध्यात्मिक जीवनमा पनि सकारात्मक परिवर्तन तथा विकासका लक्षणहरु देखापर्न थाल्छन् र उर्जाको प्रवाह सबैभन्दा केन्द्रमा रहेको आनन्दमय कोषमा प्रवेश गर्दछ । यसप्रकार योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाले मनुष्यको वौद्धिक शरीर तथा विज्ञानमय कोषको विकासमा काम गर्दछ ।

(५)आध्यात्मिक शरीर तथा आनन्दमय कोष

योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय प्राण उर्जा मनुष्यको शरीर तथा कोषका आयामहरु क्रमशः वाहिरबाट भित्र सोपान भएको अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोषमा प्राण उर्जाको आवश्यक आपूर्ति पूरा भएपछि अव प्राण उर्जाको प्रवाह मनुष्यको आध्यात्मिक जीवन तथा आनन्दमय कोषमा प्रवेश गर्दछ । आनन्दमय कोषमा प्राण उर्जाको प्रवाह बढेसंगै यो अवस्थामा मनुष्यको आत्मा अर्थात चेतनाको विकासमा यसले बल प्रदान गर्न थाल्छ र विस्तारै उसको आत्मिक अर्थात चेतनात्मक जागरण प्रारम्भ हुन्छ । साधकको आत्मिक तथा चेतनात्मक जागरणसंगै उसमा आध्यात्मिक गुणहरु बढ्न थाल्छन्, अव विस्तारै उभित्र क्रमिक रुपमा आत्मअनुभव, आत्मवोध, आत्मज्ञान, आत्मसाक्षातकारका चरणहरु प्रारम्भ हुन्छन् जसलाई सनातन अध्यात्म दर्शनले परमात्मा साक्षातकारको पहिलो सिढीका रुपमा मान्दछ । परमात्मा साक्षातकारको पहिलो सिढीमा कदम राखेपछि साधक अव भावातीत तथा ट्रान्सको दिव्य क्षणमा स्थित हुन पुग्दछ, साधक भित्र विस्तारै परमशान्ति तथा परमानन्दमा स्थित हुन्छ र यो अवस्थामा उसलाई गहन ध्यान तथा समाधि घटित हुन्छ । ध्यान तथा समाधिका गहन अवस्थाहरुमा साधकलाई परालौकिक संसारका दिव्य अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ हुन्छन् र आफ्नो आन्तरिक गुरु, हरिगुरु अर्थात स्वयं परमात्मासंग साक्षातकार र दोहोरो संवाद प्रारम्भ हुन्छ । आफ्नो अन्तरहृदयमा रहेको आन्तरिक गुरु तथा हरिगुरु जो स्वयं परमात्मा हो, परमात्मासंग साक्षातकार र दोहोरो संवाद प्रारम्भ भएपछि अव साधकका अगाडिका सबै गतिविधिहरु उ स्वयंमले नै मार्गनिर्देश गर्दै साधकको आध्यात्मिक यात्रा अगाडि बढाउछ र साधकलाई असीम, अनन्त सुक्ष्म संसार तथा आत्मलोक, स्वर्गलोक, वैकुण्ठधाम तथा समुच्चा ब्रम्हाण्डको सयर गराइदिन्छ र हरेक मनुष्यको जन्मको आत्यन्तिक लक्ष्य परमसत्य, परमचेतना तथा परमात्मामा एकाकार तथा मोक्षमा उपलव्ध गराएर जन्म र मृत्युको दुःखदायि दुष्चक्रबाट सदाकालागि मुक्त गरिदन्छ । यसप्रकार योग निद्रा तथा ध्यान साधनाबाट प्राप्त हुने प्राण उर्जाले मनुष्यको आध्यात्मिक शरीर तथा आनन्दमय कोषमा काम गर्दछ । 
 
                                                                         शिवोहम् !
                                                     डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको छैठौं लहर: आधूनिक युग

  डा. सिर्जना भण्डारी                                                                                             #अध्यात्म_विज्ञान  # धर्म_...