Tuesday, 30 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २२

                                          #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      


    सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

२७.सवाल
मनुष्य जीवनको मूल लक्ष्य परमात्मा साक्षातकार तथा मोक्षमा उपलव्ध हुनु हो ।

जवाफ
हरेक मनुष्यको जीवनको मूल उदेश्य सुखको प्राप्ति र दुःखबाट निवृत्ति हो । मनुष्यका जीवनका विविध आयामहरु रहेका छन्, ती मध्य पाँच आयामहरु प्रमुख रहेका छन्– (१)स्वास्थ्य, (२)सम्वन्ध, (३)समृद्धि, (४)मानप्रतिष्ठा, र (५)शान्ति । यी पाँच आयामहरु नै मनुष्ययको जीवनमा उसले इच्छ्याएको सुख प्रदान गर्ने र दुःख दिने प्रमुख आयामहरु हुन् किनकी हरेक मनुष्यको जीवनको अधिकांश समय यिनै पाँच आयामहरुको वरिपरि तथा यी विषयहरुका गतिविधहरुमा घुमिरहेको हुन्छ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा । हरेक मनुष्य दुई प्रकारका शरीर– (१)भौतिक शरीर, र (२)सुक्ष्म शरीरमा दुई प्रकारका जीवन– (१)सांसारिक जीवन, र (२)पारमार्थिक जीवन जिरहेको हुन्छ । भौतिक शरीर तथा सांसारिक जीवन मनुष्यको दैनिकीको दृश्य स्वरुपसंग सम्वन्धित रहेको हुन्छ र सुक्ष्म शरीर तथा पारमार्थिक जीवन उसको अदृश्य स्वरुपसंग सम्वन्धित रहेको हुन्छ जसले मनुष्यको भौतिक शरीर तथा सांसारिक जीवनलाई संचालन गरिरहेको हुन्छ । मनुष्यको भौतिक तथा दृश्य स्वरुपबारे त धेरैलाई थाहा छ तर उसको सुक्ष्म तथा अदृश्य स्वरुपबारे धेरै मनुष्यलाई थाहा छैन खासगरि वर्तमान समयका आफूलाई भौतिकवादी तथा विज्ञानवादी भन्न रुचाउने तथा मान्ने आधुनिक तथा उत्तरआधूनिक जीवनशैली अनुशरण गरिरहेका नयाँ पुस्ताहरुलाई आफ्नो जीवनको सुक्ष्म पाटो राम्ररी थाहा छैन । 


जीवनको सुक्ष्म पाटोका विषयहरुका भौतिक प्रयोगशालामा प्रयोग गरिएका दृश्य तथा प्रत्यक्ष महसुस गर्न सकिने किसिमका प्रामाणिक तथ्यांकहरु नभएका कारण आधुनिक तथा उत्तरआधूनिक जीवनशैली अनुशरण गरिरहेका नयाँ पुस्ताहरु मनुष्यको सुक्ष्म जीवनबारे ज्ञान तथा विज्ञान प्रदान गर्ने सनातन अध्यात्म तथा सनातन धर्मका विषयहरुलाई रुढीवाद तथा अन्धविश्वासको रुपमा मान्दछन् । आजको नयाँ पुस्ताले भौतिकवाद तथा भौतिक विज्ञानका प्रामाणिक तथा भौतिक प्रयोगशलामा प्रयोगात्मक अभ्यासको मार्फतबाट प्रमाणित गरेर हासिल गरिएका उपलव्धि तथा तथ्यहरुलाई मात्र सत्य मान्दछ । तर आधूनिक भौतिक विज्ञानले मनुष्यका पाँच ज्ञानइन्द्रियहरुले देख्न, महसुस तथा अनुभव गर्नसक्ने विषयहरुलाई मात्र भौतिक प्रयोगशलामा प्रयोग गरेर त्यसलाई प्रामाणिकता दिन सक्दछ मनुष्यको जीवनको सुक्ष्म पाटो अन्तर्गत पर्ने अदृश्य तथा बिना योग साधना त्यति सजिलै मनुष्यको दृश्य, महसुस तथा अनुभवमा आउन नसक्ने विषयहरुलाई भौतिक प्रयोगशालामा प्रयोग गरेर त्यसलाई प्रामाणिकता दिन सक्दैन । 


पूर्वीय महाज्ञान सनातन अध्यात्म विज्ञानले हजारौं वर्षदेखि भन्दै आइरहेको छ कि ब्रम्हाण्डमा दृश्यमा आउने, महसुस तथा अनुभव गर्न सकिने चिजवस्तुहरु भन्दा दृश्यमा नआउने, महसुस तथा अनुभव गर्न नसकिने चिजवस्तुहरु धेरै रहेकाछन् र जे विषयवस्तुहरु हामी हाम्रा वरिपरि देखिरहेका छौं, महसुस तथा अनुभव गरिरहेका छौं ती सबै हाम्रो नजरका भ्रम हुन्, वास्तविकतामा ती देखिएका चिजवस्तुहरु त्यही स्वरुपमा छैनन्, सबै चिजवस्तुहरु तरंग(वेभ) स्वरुपमा छन् र सबैसंग सबै एकआपसमा अन्योन्यास्रित किसिमले गाँसिएका तथा अन्तरसम्वन्धित रहेकाछन् तथा अद्वेत(एकत्व) छन् । जगतगुरु आद्य शंकराचार्यको महान सत्यवाणी “ब्रम्ह सत्यं जगन मिथ्या” को वास्तविक अर्थ तथा परिभाषा पनि यही नै हो जे देखिदैन तथा सुक्ष्म छ त्यही सत्यको र जे देखिन्छ पदार्थ स्वरुपमा छ त्यो मिथ्या तथा भ्रम हो । पूर्वीय सभ्यताका प्राचीन महावैज्ञानिक हाम्रा होनहार पुर्खा ऋषिमुनिहरुले गर्नुभएको महानतम खोजको लिपिवद्ध विद्या सबै विज्ञानहरुको पनि विज्ञान महाविज्ञान सनातन अध्यात्म विज्ञानको प्रमुख शाखा ‘अद्वेत वेदान्त(मोनिजम)’को यही प्राचीन प्रयोगात्मक खोजको तथ्यलाई नै आज २१ औं शताव्दीमा अत्यन्तै प्रामाणिक मानिने विश्वविख्यात आधूनिक भौतिक विज्ञानको अत्याधूनिक शाखा प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)ले थप अध्ययन गरेर उही नजितामा पुगेको छ । अत्याधूनिक प्रमात्रा भौतिक विज्ञानको सबैभन्दा पछिल्लो ब्रम्हाण्डको मूलश्रोत तथा अन्तिम सत्यको सन्दर्भमा गरिएको सनसनीपूर्ण वैज्ञानिक खोजमूलक अध्ययन ‘बायोसेन्ट्रिजम तथा जैवकेन्द्रवाद’ को नतिजा पनि ब्रम्हाण्डको मूलश्रोत तथा अन्तिम सत्यको सन्दर्भमा सनातन अध्यात्म विज्ञानको मूल विषय अद्वेत वेदान्तकै कित्तामा पुगेको छ । जैवकेन्द्रवाद अध्ययनको नतिजाका तथ्यांकहरुले पनि उही विषय उजागर गरेका छन्, “समुच्चा ब्रम्हाण्ड तंरगले बनेको छ, यहाँ केही पनि ठोस छैन, यहाँ कोहीबाट कोही अलग छैन एकअर्कोसंग अन्योन्यास्रित ढंगले गाँसिएका छन् तथा अद्वेत छन्, ब्रम्हाण्डमा रहेका सबै चिजवस्तुहरुको मूलश्रोत तथा अन्तिम कच्चा पदार्थ चेतना हो, चेतना नै उर्जा बन्छ र चेतना नै पदार्थ तथा भौतिक चिजवस्तुहरु बन्छ ।” प्रमात्रा भौतिक विज्ञानले ब्रम्हाण्डको मूलश्रोत, अन्तिम सत्य तथा अन्तिम कच्चा पदार्थ मानेको ‘चेतना’लाई नै सनातन अध्यात्म विज्ञानले ब्रम्ह अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात परमचेतना(सुपरकन्सस) अर्थात इश्वर(भगवान–गड–अल्ला–वाहेगुरु) अर्थात अस्तित्व अर्थात ब्रम्हाण्ड(युनीभर्स) अर्थात प्रकृति(नेचर) का रुपमा परिभाषित गरेको छ । 


सनातन वेदको मूलसार मानिने श्रीमद् भगवद् गीतामा सर्वश्रेष्ठ धनुरधर अर्जुनको मनुष्य जीवनको प्रमुख लक्ष्य के हो प्रभु भन्ने जिज्ञासाको जवाफ दिदै भगवान श्रीकृष्णले भन्नु भएको छ, “मनुष्य योनीमा जन्म लिनुको प्रमुख लक्ष्य योग साधनाको माध्यमबाट परमात्मा साक्षातकार गरेर आफूलाई परमात्मामा योगस्थ गराउनु तथा मोक्षमा उपलव्ध हुनकालागि हो ।” यसकारण सबै मनुष्यको जीवनको अन्तिम उदेश्य तथा लक्ष्य योग साधना(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि)को माध्यमबाट ब्रम्हाण्डको मूलश्रोत तथा ब्रम्हाण्डको अन्तिम सत्य जो अदृश्य छ, बिना योग साधना सहजै मनुष्यको महसुस तथा अनुभवमा आउन सक्दैन, पराभौतिक तथा परालौकिक, रहस्यमय तथा चमत्कारिक र दिव्य छ त्यसलाई प्रत्यक्ष जान्नु तथा उक्त अन्तिम सत्यसंग प्रत्यक्ष साक्षातकार हुनु हो जसलाई सनातन अध्यात्म दर्शनले आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानमा उपलव्ध हुनु मान्दछ र यही नै मोक्ष तथा निर्वाण(इटरनल लिबरेसन)को अवस्था हो जसपश्चात मनुष्यको जन्म र मुत्युको निरन्तर चलिरहने चक्रको श्रृंखला सदाकालागि अन्त्य हुन्छ तथा मनुष्यको वैकुण्ठमा वास हुन्छ । हरेक मनुष्य ब्रम्हाण्डको मूलश्रोत तथा अन्तिम सत्यसंग साक्षातकार हुन तथा यो पराभौतिक तथा परालौकिक अवस्थामा उपलव्ध हुनकालागि मनुष्य योनीमा जन्म लिएर बारबार मत्र्यलोक(पृथ्वी ग्रह) तथा मनुष्य जीवनको वास्तविक प्रयोगशालामा आइरहन्छ जहाँ उसकै शरीरका आयामहरु(शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक शरीर)लाई प्रयोगशालाका रुपमा प्रयोग गरेर योग साधना(मुख्यतः योगासन, प्राणायाम, ध्यान)का पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको अभ्यासबाट उसलाई क्रमशः सांस्कृतिक, धार्मिक हुदै आध्यात्मिक व्यक्तिमा रुपान्तरण गरेर ब्रम्हाण्डको मुलश्रोत तथा ब्रम्हाण्डको अन्तिम सत्य तथा मोक्षमा उपलव्ध हुन योग्य गराइन्छ सदगुरुद्वारा संचालित गुरुकुलमा प्रदान गरिने ब्रम्हाण्ड तथा ब्रम्हाण्डको सर्जक परब्रम्हका विषयहरु समावेश गर्रिका अध्यात्म दर्शनका ज्ञान तथा विज्ञानहरुको माध्यमबाट । 


ब्रम्हाण्ड तथा ब्रम्हाण्डको सर्जक परब्रम्हको ज्ञान अत्यन्तै सुक्ष्म, रहस्मय र चमत्कारिक हुन्छ, यो कहीं अदृश्य स्थानबाट कोही अदृश्य परमशक्तिले प्रदान गर्ने महाज्ञान हो । यस्तो परमज्ञानमा पुग्न तथा उपलव्ध हुन आधूनिक भौतिक विज्ञान, भौतिक विज्ञानवादी तथा भौतिकवादीहरुलाई अझै हजारौं तथा लाखौं वर्ष लाग्न सक्छ या यस पराभौतिक तथा परालौकिक ज्ञानमा कहिल्यै पनि पुग्दै नपुग्न पनि सक्छन् किनकी ब्रम्हाण्डको मुलश्रोत तथा ब्रम्हाण्डको अन्तिम सत्य पराभौतिक, परालौकिक हुनुको साथै यति सुक्ष्म र दुर्लव छकि यसको वास्तविकतालाई केवल योग साधनाको माध्यमबाट आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानमा उपलव्ध भएका योगी, सन्त, ऋषि, मनिषि, भिक्षुहरुले मात्र अनुभव तथा अनुभूति गर्न सक्दछन् । ब्रम्हाण्ड तथा परब्रम्हको अन्तिम सत्यको यो ज्ञान शव्दातीत, इन्द्रियातीत, मनातीत, भावातीत, समयतातीत, दुरीयातीत हुनेहुनाले यहाँसम्म पुग्नु हरकोहीको सामथ्र्य नपुग्न सक्दछ, जन्म–जन्मको अथक योग साधनाको अनुशरणको प्रयासबाट योगीहरुले यो अवस्था हासिल गरेका हुन्छन् । 

प्रेरक प्रसंगहरु

सनातन अध्यात्म दर्शनका सन्दर्भमा प्रेरणा प्रदान गर्ने केही थप प्रेरक प्रसंगहरु–
आजसम्मका विश्वका सबैभन्दा ठूला मानिदै आइएका र मनुष्य मस्तिष्कको सबैभन्दा धेरै हिस्सा(अनुमानित १०–१२% भनिएकोछ) सदुपयोग गरेका महान वैज्ञानिक अल्वर्ट आइन्स्टीनले पनि ब्रम्हाण्डको अदृश्य शक्ति, परमचेतना, परमात्मा, परब्रम्ह, अस्तित्व, इश्वर, भगवान, अवतार चेतना श्रीकृष्ण, श्रीमद् भगवद् गीता, सनातन धर्म, आफ्नो समकालीन महान व्यक्तित्व महात्मा गान्धी, गान्धीका पुस्तक तथा किर्तिहरुलाई पढ्नु हुन्थ्यो, मान्नु हुन्थ्यो, विश्वास गर्नुहुन्थ्यो र अनुशरण गर्ने प्रयास पनि गर्नुहुन्थ्यो । आइन्स्टीनले अदृश्य ब्रम्हाण्डको परमशक्तिलाई विश्वास नगर्ने आफ्ना वैज्ञानिक मित्रहरुलाई पनि परमात्मा तथा ब्रम्हाण्ड र ब्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रम्हाण्डमा रहेका हामीहरुलाई यसरी व्यवस्थित ढंगले चलाउने कुनै परमशक्ति छ भनेर उदाहरणले विश्वास दिलाउनु भएको थियो । यही उद्देश्यले एकदिन वहाँले आफ्ना वैज्ञानिक मित्रहरुलाई विहानको भोजनमा डाक्नु भएको थियो । वहाँको भान्साको टेवलमा पृथ्वी ग्रह तथा हामीहरु स्थित रहेको सौर्यमण्डलको पेपरमसेबाट बनाइएको बडो आकर्षक वास्तुचित्र सजाएर राख्नु भएको थियो । वहाँका मित्रहरुले भोजन लिदै उक्त वास्तुचित्रको खुव प्रशंशा गर्दै कसले बनाएको कति राम्रो रहेछ भनेर सोध्नु भएको थियो तर आइन्स्टीन कसैले पनि बनाएको होइन, यो यसै खै कहाँबाट आयो मेरो टेवलमा भनेर मित्रहरुलाई जवाफ दिनुभयो तर वहाँका मित्रहरुले हामीलाई उल्लु नबनाउ भनेर पत्याउनु भएन । आइन्स्टीन फेरी पनि यो वास्तुचित्र कसैले पनि बनाएको होइन, यो यसै खै कहाँबाट आयो मेरो टेवलमा भन्नुभयो । वहाँका मित्रहरु आफूहरुसंग नचाहिदो मजाक गरेको भनेर रिसाएर हिड्न लाग्नुभयो तव आइन्स्टीन स्पष्ट पार्दै भन्नुभयो, “यो एउटा सानो वास्तुचित्रको कोही न कोही सर्जक हुन्छ भन्ने एकीन छ तिमीहरुलाई तर यत्रो ब्रम्हाण्डको सिर्जना भएको र कहीं कतै कत्तिपनि नरड्कीकन नित्य–निरन्तर आफ्नो गतिमा अनन्तकालदेखि अत्यन्तै व्यवस्थित ढंगले चलिरहेको यति ठूलो ब्रम्हाण्ड चाहिं बिना सर्जक कसरी खडा हुन सक्छ त ।” आइन्स्टीनको यो वौद्धिक तर्कपछि वहाँका वैज्ञानिक मित्रहरु स्तब्ध र गंभिर हुनुभएको थियो र अदृश्य कुनै परमशक्ति अवश्य छ यो समुच्चा ब्रम्हाण्डको सर्जक र परिचालक भन्ने स्वीकारोक्ति स्वरुप शिर हल्लाएर नतमस्तक भएर शिर झुकाउनु र्भको थियो । 


महान वैज्ञानिक आइन्स्टीनले भगवान श्रीकृष्णद्वारा प्रतिपादित, वर्तमान समयमा विश्मै सर्वाधिक विख्यात रहेको, पूर्णतः वैज्ञानिकतामा आधारित रहेको मान्यता प्राप्त ‘कितावहरुको पनि किताव श्रीमद् भगवद् गीता’बाट प्रभावित भएर आफूले प्रतिपादन गरेको सापेक्षतावाद सिद्धान्तको Mass-Energy Equivalence formula ‘𝐸=𝑚𝑐2’ सुत्र पत्ता लगाएको हुँ भन्नुभएको थियो । आफूले नोवेल पुरस्कार पाउदा वहाँले विश्वविख्यात मञ्चबाटै सनातन धर्मका अनुयायी, श्रीमद् भगवद् गीताका अनन्य उपाशक सन्त राजनेता श्रद्धेय महात्मा गान्धीको सरहाना गर्दै भन्नुभएको थियो, “यो नोवेल पुरस्कार मलाई भन्दा महात्मा गान्धीलाई प्रदान गरिएको थियो भने वहाँको नाम र कामको गरिमाले नोवेल पुस्कारको नाम र कद अझ उच्च हुने थियो ।” आफ्नो जीवनको अन्तिम समयमा आइन्स्टीनले भन्नु भएको थियो, “मैले मेरो जीवनको मूल्यवान समय यसै खेर फालेछु, म यस धर्तीमा मनुष्य योनीमा आफूलाई आत्मस्वरुपमा चिनेर आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानमा उपलव्ध भएर आफ्नो मूलस्वप परमात्मा साक्षातकार गर्न तथा ब्रम्हाण्ड र ब्रम्हाण्डका सर्जक परब्रम्हको अन्तिम सत्य जानेर हरेक मनुष्यको अन्तिम गन्तव्य रहेको मोक्ष तथा निर्वाणमा उपलव्ध हुन आएको रहेछु तर मैले यो ज्ञान जानिन र त्यतातिरको कर्म नै गरिन, त्यसैले हे परमात्मा, यदि तिम्रो कृपाले मैले फेरी मनुष्य योनी पाएं भने म मेरो सारा जीवन श्रीमद् भगवद् गीताको सेवामा लगाउनेछु र आफूलाई यही मार्गमा समर्पित गर्नेछु ।” श्रद्धेय रवीन्द्रनाथ टैगोर र श्रद्धेय महात्मा गान्धीले पनि आफ्नो जीवनको अन्मि घडिमा यस्तै भाव व्यक्त गर्नु भएको रहेछ, हे परमात्मा मैले यो जीवन कस्तो जिएं तिमीलाई राम्ररी थाहा छ, यदि मलाई तिम्रो कृपाले फेरी मनुष्य योनी प्राप्त भयो भने म तिम्रा सृष्टिहरुको सेवा गर्दै तिमीसम्म पुग्न सकौं, तिमीसंग साक्षातकार गर्न सकौं र तिमीमै एकाकार भै मोक्षमा उपलव्ध हुनसकौं । नेपालकालागि वेलायती राजदुतले तत्कालीन समयमा काठमाडौं नेपालको हालको शिवपुरी क्षेत्र(शिवपुरी बाबालाई सम्मान प्रदान गर्न राखिएको नयाँ नाम)मा रहनु भएका शिवपुरी बाबाको सेवा गर्ने क्रममा शिवपुरी बाबासंग भएको कुराकानीका क्रममा बाबाले भन्नु भएको थियो, “अघिल्लो जन्ममा अल्वर्ट आइन्स्टीन र म समकक्षी तपस्वी तथा ऋषि रहेका थियौं, पछिल्लो जन्ममा उनी युरोपमा जन्मिए र म एशियामा जन्मिएं (वोदिसत्व स्वामी आनन्द अरुणज्यूसंगको तीन श्रृंखलाको अन्तरवार्तामा आधारित रहेको तथ्य) ।  

क्षमा चाहान्छु

यी भनाइ तथा विषयहरुको ज्ञान कुनै पुस्तक तथा भरपर्दा सन्दर्भ सामग्रहरुबाट लिइएका होइनन्, तसर्थ कतै यसको प्रामाणिकता भेटिएको छैन तर श्रद्धेय शिवपुरी बाबा, श्रद्धेय ओशो रजनीश, श्रद्धेय रवीन्द्रनाथ टैगोर, श्रद्धेय महात्मा गान्धी, श्रद्धेय आनन्द अरुण आदि महान चेतनाहरुको जीवनीको प्रसंगहरुमा उल्लेख गरिएको इन्टरनेटमा भेटिएका सामग्रीहरु यहाँ प्रस्तुत गरिएको हो ताकि यी सनातन अध्यात्म दर्शनसंग प्रत्यक्ष सम्वन्ध राख्ने ज्ञानबाट अरु अध्यात्म साधक तथा मुमुक्षु पाठकहरुलाई पनि थप आध्यात्मिक प्रेरणा मिलोस् र वहाँहरुको आध्यात्मिक विकास होस् भन्ने भावले मैले यहाँ उल्लेख गर्ने प्रयास गरेको हुँ ।      

 
छिट्टै,
योग साधना नै मोक्ष प्राप्तिको मूल मार्ग हो ।

 
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...