#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
१४.सवाल D
योग–ध्यान साधनाका ज्ञान गुरुकुलबाट लिनेकी व्यवसायिक संस्थाबाट ?
जवाफ
योग–ध्यान साधनाका ज्ञान गुरुकुलबाट लिनेकी व्यवसायिक संस्थाबाट भन्ने सन्दर्भलाई गहिराइमा बुझ्न सर्वप्रथम योग–ध्यान साधना सिकाउने गुरुकुल र व्यवसायिक संस्थाविचको फरक बुझ्नु अत्यावश्क हुन्छ । सदगुरु तथा सिद्ध योग गुरुहरुद्वारा संचालित योग–ध्यानका सैद्धान्तिक विषयहरुको गहन अध्ययन र व्यवहारिक ज्ञान, विज्ञानहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गर्ने तथा गराउने र मनुष्यको जीवनमा सांसारिक विकासका साथसाथ पारमार्थिक तथा आध्यात्मिक विकास गराउने शुद्ध आध्यात्मिक उद्देश्य भएका आध्यात्मिक तथा सामाजिक सेवा प्रदान गर्ने गैर नाफामूलक आध्यात्मिक, धार्मिक तथा सामाजिक संस्थाहरु गुरुकुलको श्रेणीमा पर्दछन् भने अनुभवी योग–ध्यान प्रशिक्षकहरुद्वारा संचालित मनुष्यको जीवनमा वाहिरी तथा सांसारिक जीवनको विकासका लागि हासिल गरिने योग–ध्यानका सामान्य सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानहरुको सामान्य अध्ययन तथा अनुशरण गर्ने तथा गराउने र यो सेवा प्रदान गरे बापत धन तथा नाफा कमाउने उद्देश्य भएका योग–ध्यानका संस्थाहरु व्यवसायिक योग–ध्यान संस्थाको श्रेणीमा पर्दछन् । यसकारण योग–ध्यान साधनाको ज्ञान गुरुकुलबाट लिनेकी व्यवसायिक संस्थाबाट भन्ने कुरा सेवाग्राही स्वयंको जीवनको मूल उद्देश्यमा निर्भर गर्दछ– सांसारिक जीवनको विकास गर्नकालागि कि पारमार्थिक जीवनको विकास गर्नकालागि या दुवै उद्देश्य पूरा गर्नकालागि । जो व्यक्ति आफ्नो जीवनमा सांसारिक तथा वाहिरी जीवनका विषयहरु– स्वास्थ्य, अध्ययन, पेशा, व्यवसाय, धन–सम्पत्ति, समृद्धि, सम्वन्ध, भोगको जीवनबाट क्षणिक सुख, खुशी, शान्ति, आनन्द आदि क्षेत्रहरुको व्यवस्थापन तथा विकास गर्न तथा वाहिरी उपलव्धिहरु हासिल गर्न चाहन्छ उसले योग साधना सिकाउने गुरुकुल तथा व्यवसायिक संस्था दुवै ठाउँबाट योग–ध्यानको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिन सक्छ । तर जो व्यक्ति आफ्नो जीवनमा वाहिरी तथा सांसारिक विकासका साथसाथ पारमार्थिक तथा आन्तरिक विकास तथा आत्मा अर्थात चेतनाको विकास तथा जागरणलाई बढि प्राथमिकता दिन्छ र आत्मा तथा चेतनाको जागरण गरेर आफूमा आध्यात्मिकताको विकास, परमात्मा साक्षातकार र निर्वाण तथा मोक्षमा उपलव्ध हुने चाहना राख्दछ उसले अनिवार्य रुपमा सनातन अध्यात्मका मूलभूत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका वैज्ञानिक प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासमा आधारित रहेर साधना गर्ने तथा गराइने गुरुकुलहरुमा सदगुरु तथा सिद्ध योगगुरुको सानिध्यमा रहेर निष्ठापूर्वक आफ्नो दैनिकीमा योग–ध्यान साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासको माध्यमबाट सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञान हासिल गर्नु अपरिहार्य हुन्छ किनकी सदुगुरु तथा सिद्ध गुरुको मार्गनिर्देशन बिना कहिल्यै पनि अध्यात्म दर्शनको वास्तविक पूर्ण ज्ञान हासिल गर्न र पारमार्थिक जीवनको विकासबाट निर्वाण तथा मोक्षमा उपलव्ध हुने ज्ञान, विज्ञान प्राप्त गर्न सकिदैन ।
कलियुगका मनुष्यहरुका लागि सदगुरु तथा सिद्ध गुरुहरुको आवश्कता अझ बढि रहेको छ किनकी सत्य युग, त्रेता युग, द्वापर युगमा जस्तो कलियुगका मनुष्यहरुमा धैर्यता, ज्ञान, वुद्धि, विवेक, सकारात्मकता, सत्यवादिता, अहिंसा, सेवा, प्रेम, कृतज्ञता भाव जस्ता मनुष्यका प्राकृतिक गुण तथा स्वभावहरुमा कमी आएको कारण उनीहरु सनातन अध्यात्म तथा धर्मका ज्ञान, विज्ञानका विषयहरु राम्ररी बुझ्न सक्दैनन् र ज्ञानको मूल्य र महत्व राम्ररी नबुझेका कारण दैनिक जीवनमा ती ज्ञान, विज्ञानहरुलाई चाहेर पनि अनुशरण गर्न सक्दैनन् तथा अनुशरण गर्न जान्दैनन् । कलियुगका मनुष्यको प्राकृतिक गुण तथा नैसर्गीक स्वरुपहरु– ज्ञान, ध्यान, शान्ति, प्रेम, सेवाका भावहरुमा व्यापक ह्रासउन्मुख परिवर्तन आएका कारण कलियुगमा सनातन अध्यात्म दर्शनका ज्ञान, विज्ञानहरुको बुझाइमा हदैसम्म ह्रास आएको छ, विलुप्त हुने अवस्थासम्म आइपुगेको छ । यस्तो अवस्थामा कलियुगका मनुष्यहरुले सनातन अध्यात्मका ज्ञान, विज्ञानका विषयहरु सहज र सरल ढंगले ग्रहण गरेर सन्तुलित, व्यवस्थित र सफलताउन्मुख हुनेगरि आफ्नो सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास गर्न गुरुकुलबाट योग–ध्यानका विषयहरुको ज्ञान लिनु उपयुक्त र प्रभावकारी हुन्छ किनकी कलियुगका मनुष्यहरुमा पारमार्थिक तथा आध्यात्मिक विकास ल्याउने सनातन अध्यात्म दर्शनका ज्ञान, विज्ञानका विषयहरु सहज तथा सरल र सन्तुलित तथा व्यवस्थित ढंगले प्रवाहित केवल सदगुरु तथा सिद्ध योग–ध्यान गुरुको सानिध्यबाट मात्र सम्भव हुनसक्छ, यसकारण गुरुकुलबाट योग–ध्यानका ज्ञान, विज्ञान हासिल गर्नु तथा निरन्तर सदगुरुको सानिध्यमा रहनु अत्यावश्यक हुन्छ । तसर्थ यो सवालको जवाफको निचोड रहेको छ- आफूले योग-ध्यान साधना गर्नुको उद्देश्य सांसारिक जीवनमा सुखको प्राप्ति र दुःखहरुबाट निवृत्ति तथा चुनौतिहरुबाट मुक्तिका लागि हो भने योग-ध्यान सिकाउने व्यवसायिक संस्थाहरुबाट योग-ध्यान सिकाउने प्रशिक्षकहरुको सामान्य प्रशिक्षणमा योग-ध्यान साधनाको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न सकिन्छ तर यदि योग-ध्यान साधना गर्नुको उद्देश्य सांसारिक जीवनमा सुखको प्राप्ति र दुःखहरुबाट निवृत्ति तथा चुनौतिहरुबाट मुक्तिका साथसाथ आफ्नो पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासका लागि हो भने योग-ध्यान सिकाउने गैरनाफमूलक गुरुकुलहरुबाट सदगुरु तथा सिद्ध गुरुको सानिध्यमा रहेर योग-ध्यान साधनाको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्नुपर्दछ ।
आफ्नो
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
******************************************************
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
१५.सवाल D
योग–ध्यान साधनाका गुरुकुल तथा व्यवसायिक संस्थाहरुबारे किन सचेतता अपनाउने ?
जवाफ
वर्तमान समयमा योग–ध्यान साधना व्यवसायिकरण भएको छ र यसका आफ्नै प्रकारका सवल र दुर्वल तथा सकारात्मक र नकारात्मक पक्षहरु रहेकाछन् । केही नहुनु भन्दा केही हुनु पक्कै पनि राम्रो कुरा हो तर पूर्ण नहुनु यसको दुर्वल पक्ष हो । गुरुकुलमा योग–ध्यान साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरु गहन रुपमा पूर्णताकासाथ प्रदान गर्ने गरिन्छ तर योग–ध्यानका व्यवसायिक संस्थाहरुमा योग–ध्यान साधनाका आवश्यक परेका ज्ञान, विज्ञानका विषयहरु मात्र सामान्य तथा आधा–अधूरो रुपमा प्रदान गरिन्छ सेवा प्रदान गर्ने र सेवा लिनेहरुको आ-आफ्नो सुविधा र सहजता अनुसार । यसकारण आफ्नो जीवनको उद्देश्य अनुसार योग–ध्यान साधनाका गहन ज्ञान, विज्ञान सदगुरु तथा सिद्ध गुरुद्वारा संचालित मात्र सेवाको उद्देश्य भएका गैर नाफामूलक गुरुकुलहरुबाट हासिल गर्नेकि योग–ध्यानका अनुभवी प्रशिक्षकहरुबाट संचालित योग–ध्यानका व्यवसायिक संस्थाहरुबाट काम चलाउ ज्ञान, विज्ञान मात्र हासिल गर्ने भन्ने निर्णय आफैंले बडो बुद्धिमत्तापूर्वक गर्नुपर्दछ । यो सत्य हो पूर्वीय सनातन अध्यात्मको प्रमुख र अत्यन्तै महत्वपूर्ण विषय योग–ध्यान साधनाको विश्वव्यापिकरण भएसंगै हिजोआज योग–ध्यान साधनाका ज्ञान, विज्ञानका विषयहरुको विश्वव्यापि रुपमै व्यापक व्यवसायिकरण भएको छ र यससंगै यस क्षेत्रमा अनेक प्रकारका विकृति तथा अनिमितता र असन्तुलनताहरु पनि देखिन थालेका छन् । कतिपय स्थानहरुमा त पर्याप्त सजगताबिना असन्तुलित तथा अव्यवस्थित ढंगले सनातन योग विज्ञानका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुलाई अविवेकशील भएर निर्ममतापूर्वक तोडमरोड गरेर व्यवसायिकरण गरि कमाउने निकृष्ट व्यवसाय तथा ठगीको धन्दा समेत बनाइएको छ । यसकारण हरेक व्यक्ति स्वयंले बडो वुद्धिमत्तापूर्वक योग–ध्यान साधनका ज्ञान, विज्ञानका विषयहरु हासिल गर्ने श्रोतहरु को छनोट गर्नुपर्दछ अर्थात गुरुकुल कि व्यवसायिक संस्था कुन रोज्ने आफ्नो आरोग्यता र समग्र विकासका लागि ।
योग–ध्यान साधनाका कतिपय व्यवसायिक संचालकहरुमा अनिवार्य रुपमा हुनुपर्ने योग–ध्यान तथा योगीक साधनाका न्यूनतम सैद्धान्तिक तथा व्यवहारिक बुझाइ समेत स्पष्ट नभएको हुदा योग–ध्यान साधनाका सनातन मूल्य, मान्यताहरुलाई आफ्नो सुविधा र सहजता अनुकुल हुनेगरि तोडमरोड गरेका कारण यसको प्रभावहिनता बढेको छ र केही अवस्थाहरुमा त योग–ध्यान तथा योगीक साधनाको नकारात्मक प्रभाव समेत देखिएको छ सहि विधि तथा पद्धतिहरुलाई प्रक्रियागत रुपमा अनुशरण नगरिएका तथा नगराइएका कारण । जवकी योग–ध्यान तथा योगीक साधनाका प्रयोगात्मक अभ्यासहरु पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरु भएकोले सामान्य तथा विशेष अवस्थामा पनि योग–ध्यान साधनाका कुनै प्रकारका नकारात्मक प्रभावहरु हुदैनन् । योग–ध्यान साधनाका प्रक्रिया, विधि, पद्धतिहरुलाई सहि ढंगले अनुशरण गरिएन भने यसले साधकको शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक तहमा नकारात्मक प्रभाव पार्नसक्छ र हुनुपर्ने उपलव्धि तथा विकासहरु नहुन तथा कम हुन सक्छन् । अध्यात्म साधनाको नाममा हिजोआज विश्वव्यापि रुपमा योग–ध्यान साधनाको बजार तथा व्यापार मेला लागेको छ । कुनै व्यवसायिले डिस्को मेडिटेसन, कुनैले डान्स मेडीटेसन, कुनैले ब्रिथिगं मेडिटेसन गराइरहेका छन् । ब्रिथिगं मेडिटेसन सबैभन्दा बढि गराउदै आइरहेको पाइन्छ । ब्रिथिगं मेडिटेसन तथा श्वास–प्रश्वासको आयाम मिलाउने प्राणायाम साधनाको एक अंश मात्र हो आफ्नो श्वास–प्रश्वास भित्र–वाहिर आएको र गएको हेरिरहनु । प्राणायाम मात्रको साधनाले पनि साधकको जीवनमा सात्विकता बढाउछ र सकारात्मकता आउछ; शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको तहमा विकास ल्याउछ केही हदसम्म; तनाव, चिन्ता दुर हुन्छन्; शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक लाभ तथा उपलव्धिहरु हासिल हुन्छन् केही हदसम्म; लामो समयदेखि दुःख दिरहेका धेरै प्रकारका शारीरिक तथा मानसिक अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान हुन्छ र दुःख, पिडाहरुबाट मुक्ति मिल्छ । प्राणायाम साधनाका सकारात्मक प्रभावहरुका कारण मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरुमा सुधार तथा प्रगतिहरु आउछन् र जीवन सन्तुलित तथा व्यवस्थित हुन थाल्छ किनकी सनातन योग विज्ञानका अनुसार मनुष्यको श्वास-प्रश्वास नै उसको सबैभन्दा नजिकको चिकित्सक; औषधि तथा औषधि उत्पादन गर्ने कारखना; शरीरका सबै आयामहरु सहि ढंगले व्यवस्थापन गर्ने मूल उर्जा; सहि योजनाकार तथा उत्कृष्ट व्यवस्थापक हो । ब्रिथिगं मेडिटेसन तथा श्वास–प्रश्वासको आयाम मिलाउने प्राणायाम साधनामा आधारित ध्यान साधना सिकाउने अधिकांश व्यवसायिक संस्थाहरुलाई हेर्दा जतिले पनि योग-ध्यानको व्यवसाय गरिरहेका छन् संसारभरि ती केवल प्राणायाम साधना तथा ब्रिथिगं एक्सरसाइज मात्र हुन्, श्वास भित्र आयो सकारात्मकतामा वृद्धि भयो र श्वास वाहिर गयो नकारात्मकतामा कमी आयो अर्थात श्वास भित्र आयो स्वास्थ्य हासिल भयो, श्वास वाहिर गयो विकार विसर्जन भयो केवल यही लयमा आधारित छन् र यति मात्रको अभ्यासबाट आत्मा अर्थात चेतनामा खासै प्रगति र पारमार्थिक तथा आध्यात्मिक जीवनमा विकास आउदैन ।
‘प्राणायाम’ योग विज्ञानको एक अंश मात्र हो । अनुमानित इशापूर्व २०० मा महर्षि पतंजलिले योगका सबै प्रकारहरुलाई एकै सुत्रमा बाँध्ने सुधारात्मक उद्देश्यले संकलन तथा प्रतिपादन गर्नुभएको योग दर्शनको एक महत्वपूर्ण कडी पतंजलि योगसुत्र अर्थात अष्टांग योगका आठ अंग– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, र (८)समाधि मध्य चौथो अंग हो तर ‘ध्यान’ भनेको अष्टांग योगका क्रमशः अगाडिका छ वटा अंगहरुलाई आफ्नो दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गरेपछि अन्तिममा हासिल हुने विशेष प्रकारको गहन अवस्था तथा राजयोगको प्रारम्भिक चरण हो । ध्यानको गहन अवस्थामा समाधि घटित हुन्छ जसलाई योग विज्ञानले राजयोगको रुपमा परिभाषित गरेको छ र योगध्यान साधनाबाट प्राप्त हुने उच्चतम विन्दु समाधिलाई नै मानिन्छ, समाधिका विभिन्न प्रकार र तहहरु रहेका छन् । केवल एउटा अंग प्राणायाम मात्रको अनुशरण तथा प्रयोगात्मक अभ्यास गरेर अगाडि बढियो भने सांसारिक जीवनमा केही सकारात्मक उपलव्धिहरु त हासिल हुन्छन् तर आध्यात्मिक जागरण तथा पारमार्थिक जीवनको विकासका लागि आवश्यक पृष्ठभूमि तयार हुन सक्दैन, यो विशेष अवस्थाको पूरा लाभ मिल्न सक्दैन र जीवनका सबै आयामहरुमा समान प्रकारले प्रगति तथा विकास आउदैन किनकी प्राणायाम मात्रको प्रयोगात्मक अभ्यास गर्दा योग विज्ञानको अत्यन्तै महत्वपूर्ण पाटो सैद्धान्तिक र व्यवहारिक ज्ञान, विज्ञानका नजानी नहुने र जीवनमा अनुशरण नगरि नहुने अरु महत्वपूर्ण विषयहरु छुट्छन् ।
हिजोआज सिकाइने आधूनिक योग–ध्यान साधनाका व्यवसायहरुमा योगासन तथा शारीरिक व्यायामका नाममा एरोविक गराउने गरिन्छ सनातन योगासनको नयाँ भर्सन र अझ बढि प्रभावकारि रहेको झुठो प्रलोभन दिएर तर एरोविकले योगासनले दिने जस्तो पूर्ण लाभ दिदैन र शरीर तथा स्वास्थ्यका सबै आयामहरु– शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक शरीर तथा स्वास्थ्यमा खासै प्रगति आउदैन किनकी एरोविक तथा केही आधूनिक योगासनका कक्षाहरुमा योगासनका केही सजिला र आकर्षक विधिहरुलाई मात्र समावेश गरेर व्यवसायिकरण गरिएको छ सिर्फ बजार बढाउने उद्देश्यले । योगासनका अत्यन्तै महत्वपूर्ण, प्रभावकारी, परिणाममुखी तथा अत्यन्तै राम्रा उपलव्धिहरु प्रदान गर्ने अत्यावश्यक केही मुस्किल आसनहरुलाई समावेश गराएका छैनन् तथा आफ्नो लिस्टमा राखेका छैनन् र यदि छन् भने पनि योग विज्ञानको नियम विपरित तोडमरोड गरेर आफूखुशी समावेश गरेका छन् । यसो गर्दा योगीक साधनाबाट जति लाभ मिल्नु पर्ने हो तथा जति लाभ लिन सकिन्थ्यो त्यति लिन सकिदैन, साधकमा धारणा तथा ध्यानको गरिराइ आउन सक्दैन र उसका उपलव्धिहरु अत्यन्तै सीमित सांसारिक प्रगतिहरुमा मात्र सीमित रहन्छ तथा अड्किरहन्छ र मनुष्यको पारमार्थिक तथा आध्यात्मिक जीवनमा उल्लेख्य मद्धत मिल्न सक्दैन । सहभागीहरुको प्रत्यक्ष अनुभव अनुसार एरोविक मात्र एकोहोरो गराउदा, र एरोविकका आसनहरुसंग श्वासप्रश्वासको लय नमिलाइकन गर्दा यसका थुप्रै नकारात्मक प्रभावहरु पनि देखिएका छन्, विशेषगरि शारीरिक तथा स्थुल शरीरका कोषिका, मांसपेशी, हाड, जोर्नी, नशा तथा ग्रन्थी र ग्रन्थीका रस, रसायन तथा हर्मोनको उत्पादनमा असन्तुलनहरु देखिएको पाइएका छन् जवकी सहि प्रक्रिया तथा विधिहरु अन्तर्गत रहेर गरिने योगासनका प्रयोगात्मक अभ्यासहरुबाट सकारात्मक लाभहरु मात्र हासिल भएको पनि सहभागिहरुकै प्रत्यक्ष तथा प्रामाणिक अनुभवहरु रहेका छन् । व्यवसायिक ध्यान साधना सिकाउने संस्थाहरुले एरोविक गराइसकेपछि श्वास–प्रश्वास भित्र आएको र वाहिर गएको हेर्ने सामान्य विधि गराउछन् र आफैंले परिभाषा गरेको ध्यानको अभ्यास पूरा गर्दछन्, साधनामा सहभागिहरुलाई धारणा, ध्यान, समाधिसम्म जाने तथा लाने विधिसम्म पुर्याउदै पुर्याउदैनन् र साधकमा वास्तविक ध्यानको गहिराइ तथा विशेष अवस्था घटित हुनै सक्दैन कहिल्यै पनि ।
योग-ध्यानका व्यवसायिक संस्थाहरुले प्रदान गर्ने योगीक साधनाको सेवामा सन्तुलित तथा व्यवस्थित ढंगले जीवनका सबै आयामहरुको विकास गर्न मार्गनिर्देश गर्ने तथा मानव जीवनको अनुशासन, नैतिकता, कर्तव्य परायणता, मूल्य–मान्यता सिकाउने यम, नियम, प्रत्याहारका सैद्धान्तिक ज्ञान, विज्ञानका वियषहरुको पाटो छुट्ने हुनाले मनुष्यको जीवनमा चाहे अनुरुपको सांसारिक तथा पारमार्थिक विकास हासिल हुन सक्दैन । साथै योग विज्ञानको अर्को अत्यन्तै महत्वपूर्ण व्यवहारिक तथा विशेष प्रकारले शरीर तन्काउने प्रयोगात्मक विषय ‘योगासन’ पनि छुट्छ जसले शरीरका वाहिरी तथा आन्तरिक अंगहरु र शरीरका महत्वपूर्ण क्रिया, प्रक्रिया, तन्त्र तथा प्रणालीहरुलाई हरप्रकारले स्वस्थ, शुद्ध, चुस्त, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न मद्धत गर्दछ । एकाग्रताको अभ्यास गरिने धारणाको साधना पनि छुट्छ जसले मनुष्यको मनका सोच, विचार, भावका भावनात्मक संवेगहरुलाई सन्तुलित, एकाग्र, शान्त तथा व्यवस्थित राख्न मद्धत गर्दछ । योग विज्ञानका यम, नियम, आसन, प्रत्याहार, धारणाको साधनाबाट हासिल गरिने महत्वपूर्ण उपलव्धिहरुको अभावका कारण केवल शारीरिक व्यायाम र प्राणायाम मात्रको साधनाले ध्यान तथा समाधि साधनाको गहिराई भेट्न सकिदैन । ध्यान तथा समाधिको गहिराई भेट्न र यसका सबै प्रकारका सांसारिक तथा पारमार्थिक लाभहरु हासिल गर्न पतंजलि अष्टांग योगका आठवटै अंगका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गर्नुपर्दछ र यसप्रकारको योगीक साधनाको पूर्ण ज्ञान केवल गुरुकुलबाट मात्र प्राप्त हुन सक्दछ । यसकारण आफ्नो जीवनमा सांसारिक विकासको साथसाथ पारमार्थिक विकास पनि गर्न चाहने व्यक्तिहरुको रोजाई गुरुकुल नै हुनु अत्यावश्यक हुन्छ ।
योग–ध्यानका साधना केन्द्रहरु खासगरि योग–ध्यानशाला, योग–ध्यानका प्रयोगशाला, गुरुकुल तथा योगपीठहरुले नियमपूर्वक योग विज्ञान तथा पतंजलि अष्टांग योगका सबै अंगहरुको निष्ठापूर्वक अनुशरण गर्दै सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुको प्रयोगात्मक अभ्यास गराउदै तथा सिकाउदै आएका हुनाले साधकको सांसारिक तथा पारमार्थिक दुवै जीवनमा उल्लेख्य प्रगति हासिल भएका थुप्रै उदाहरणहरु यी संस्थाहरुमा सहभागी भएर योग-ध्यानको साधना पूरा गरेका सहभागिहरुको प्रत्यक्ष तथा प्रामाणिक अनुभवहरुमा सुन्न पाइन्छन् किनकी गुरुकुलहरुले ज्ञानको व्यवसाय गर्नु हुदैन, मनुष्यले हरेक कर्महरु निस्वर्थ भएर सेवा भाव राखेर गर्नुपर्दछ भन्ने सनातन अध्यात्म दर्शन तथा सनातन धर्म विज्ञानको मूलमर्मलाई आत्मसाथ गरेका हुन्छन् र उनीहरुले यही भावमा दिनरात निरन्तर अध्यात्म क्षेत्र र अध्यत्म मुमुक्षुहरुको सेवा गर्ने गर्दछन् । गुरुकुलहरुको भित्रि मनोकांक्षामा एक मात्र ध्याउन्न रहेको हुन्छ कि कसरी अध्यत्म मुमुक्षु तथा सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने तथा जतिसक्दो बढि उनीहरुलाई लाभ पुर्याउने भन्ने भाव रहेको हुन्छ । तसर्थ गुरुकुलहरुमा आफ्नो न्यनुतम दैनिकी धान्न सामान्य खर्च उठाउनु बाहेक नाफा कमाउने उद्देश्य रहेको हुदैन । पुर्खाको अमूल्य ज्ञानको संरक्षण गर्नु, सनातन अध्यात्म, सनातन धर्मको प्रचार–प्रसार, विकास तथा प्रवर्धन गर्नु मूलध्यय रहेको हुन्छ । सबै योग–ध्यान साधना सिकाउने योगशाला तथा गुरुकुलहरुमा सनातन योग विज्ञानका नियमहरुलाई नबिगारीकन तथा तोडमरोड नगरिकन जस्ताको तस्तै तथा बरु मिल्नेसम्म अझ सूधार गरेर सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुका प्रयोगात्मक अभ्यासहरु गराइन्छन् ।
योग-ध्यान साधना सिकाउने तथा सेवा प्रदान गर्ने व्यवसायिक संस्थाहरु प्राय होटल, रिसोर्ट तथा मसाज सेन्टरहरुमा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले उनीहरुको सुविधा र सहजता अनुकुल हुनेगरि जे खोजेका छन् त्यही अनुसार सेवा उपलव्ध गराइने हुनाले एक दृष्टिकोणबाट योग–ध्यानका सीमित तथा खोजि गरिएका विधिहरु मात्रको सेवा प्रदान गर्नु सहि पनि हो आरोग्य पर्यटनको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले किनकी जुन ग्राहकले घुमघामको क्रममा केही फरक अनुभव, सीमित परिवर्तन, आराम तथा लाभ मात्र हासिल गर्न चाहेका हुन्छन् त्यस्ता ग्राहकहरुलाई योगशाला तथा गुरुकुलमा जसरी योग विज्ञानका सबै विधिहरु सिकाउनु आवश्यक हुदैन र सिकाएर साध्य पनि हुदैन । केही नगर्नु भन्दा व्यवसायिक योग–ध्यान साधना संस्थाहरु चलाउनु पनि अत्यतै राम्रो हो किनकी केही नगर्नु भन्दा कम्तिमा मनुष्यको शरीरमा स्थिरता, मनमा एकाग्रता, भावनामा शान्ति, वौद्धिक विकास जस्ता लाभहरुबाट मात्र भएपनि उनीहरु लाभान्वित हुन सक्छन् । प्राय हिजोआजका अधिकांश मनुष्यहरुको मूल उदेश्य तथा प्राथमिकता नै वाहिरी जीवन तथा सांसारिक आयामहरुको सहि व्यवस्थापन तथा विकास गर्नु मात्र रहेको हुन्छ । उनीहरुलाई आफ्नो आन्तरिक विकास गर्ने भन्नेबारे चासो नै हुदैन तथा कतिपयलाई त थाहा नै हुदैन । उनीहरुलाई मनुष्यको आध्यात्मिक विकास गर्ने अष्टांग योग विज्ञानका सबै अंगका वास्तविक प्रक्रिया तथा विधिहरु यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिप्रति मतलव नै हुदैन । तर जसलाई पुरै अष्टांग योगको निष्ठापूर्वक अनुशरण गरेर आफ्नो सांसारिक लगायत पारमार्थिक तथा आध्यात्मिक जीवनको विकासमा रुचि छ त्यस्ता व्यक्तिहरु योग–ध्यान साधनाका व्यवसायिक प्रयोगात्मक अभ्यासका कार्यक्रमहरुमा सहभागि हुनु उनीहरुका लागि विलकुल लाभकारी हुदैन । तसर्थ यस्ता सहभागिहरुले अनिवार्य रुपमा गुरुकुलका योग–ध्यान साधनाका सिकाइ कक्षाहरुमा सहभागि हुनुपर्दछ जीवनमा पारमार्थित तथा आध्यात्मिक विकास गर्न र परमात्मा प्राप्ति तथा मोक्षमा उपलव्ध हुनकालागि ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment