Monday, 29 December 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २१

                                       #अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान                      



     सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

२६.सवाल
अध्यात्म, धर्म, संस्कृतिमा के समानता छ र के फरक छ ? 

जवाफ

‘अध्यात्म’ आत्मा, परमात्मा, परब्रम्ह, सृष्टि, सृष्टिकर्ता, अस्तित्व, ब्रम्हाण्डको मूलश्रोत तथा अन्तिम सत्य जस्ता पराभौतिक विषयहरुको अन्तरविषयहरुको खोज तथा अनुसन्धान गर्ने र प्रयोगात्मक अभ्यासको माध्यमबाट ब्रम्हाण्डको मूलश्रोत, अन्तिम सत्य तथा अन्तिम गन्तव्यसम्म पुग्न मद्धत गर्ने सबै विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो । अध्यात्मका विषयहरुको अन्तिम गन्तव्यसम्म पुग्न हरप्रकारले मनुष्यका पाँचै प्रकारका शरीरहरु– (१)भौतिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, (४)वौद्धिक शरीर, र (५)चेतनात्मक शरीर शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित र विकसित हनु अपरिहार्य हुन्छ । ‘धर्म’ हरप्रकारले मनुष्यको शरीर, मन, भाव, वुद्धि, चेतनालाई स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित र विकसित गराएर अध्यात्मका अन्तरविषयहरुको खोज गर्दै ब्रम्हाण्डको अन्तिम सत्य तथा अन्तिम गन्तव्यसम्म पुर्याउन मार्गनिर्देश गर्ने मूल मार्ग हो र ‘संस्कृति’ धर्मको मार्गमा निष्ठापूर्वक चल्न सहयोग गर्ने प्रमुख साधन तथा माध्यम हो । कोही पनि मनुष्य एकैपटक आध्यत्मिक बन्न कठिन हुने हुनाले उसले ब्रम्हाण्डको अन्तिम सत्य तथा अन्तिम गन्तव्यमा पुग्नकालागि अत्यावश्यक चरणवद्ध तयारीहरु पूरा गर्दै अगाढि बढ्नु अपरिहार्य हुन्छ क्रमशः रहनसहन, चालचलन, परम्परा, संस्कार हुदै संस्कृति, धर्म र अध्यात्मप्रतिका आस्था तथा विश्वासहरुको अनुशरण गरेर । 


धर्म र सम्प्रदायविच रहेको अस्पष्टता

‘धर्म’ संस्कृत वांगमयको शव्द हो, यो शव्दको अंग्रेजीमा ठ्याक्क उस्तै अर्थ लाग्ने शव्द छैन । रिलिजिओस साइन्स तथा सम्प्रदाय विज्ञान सम्प्रदायहरुको अध्ययन गर्ने विज्ञान हो, यो धर्म विज्ञान होइन किनकी धर्म एक अलग सनातन दर्शन हो जसले मनुष्यको नैसर्गिक तथा प्राकृतिक गुण शान्त, प्रेमल, कृतज्ञ, क्षमाशिल, सेवा भाव, नैतिकवान, मानवीय, सत्यवादी, अहिंसक आदि अन्तरविषयहरुको अध्ययन गर्दछ र मनुष्यलाई हरप्रकारले आफ्नो मूल प्रकृति तथा नैसर्गिक स्वभावमा स्थित रहन प्रेरणा र ज्ञान तथा विज्ञान प्रदान गर्दछ । निश्चित प्रकारको रहनसहन, चालचलन, परम्परा, संस्कार, संस्कृति मान्ने मनुष्यहरुको सानो तथा ठूलो समुहलाई सम्प्रदाय भनिन्छ । वर्तमान समयमा विश्वको भूगोलको पूर्वीय क्षेत्रमा रहेका ‘ॐकार’ परिवार अन्तर्गत पर्ने– (१)वैदिक तथा हिन्दु सम्प्रदाय(सनातन कालदेखि, भगवद् गीता ५५०० वर्षदेखि यता), (२)बौद्ध सम्प्रदाय(२५०० वर्षदेखि यता), (३)जैन सम्प्रदाय(२५०० वर्षदेखि यता), (४)शिख सम्प्रदाय(५०० वर्षदेखि यता) र विश्वको भूगोलको पश्चिमी क्षेत्रमा रहेका ‘अब्राहमिक’ परिवार अन्तर्गत पर्ने– (५)ज्यूस सम्प्रदाय(४००० वर्षदेखि यता), (३)इशाई सम्प्रदाय (२००० वर्षदेखि यता) र (७)इस्लाम सम्प्रदाय(१३०० वर्षदेखि यता) गरि जम्मा सात प्रकारका मुख्य सम्प्रदायहरु रहेकाछन् । यी सबै सम्प्रदायहरुका रहनसहन, चालचलन, परम्परा, संस्कार, संस्कृति, धर्म र अध्यात्मप्रतिको आस्था, विश्वास, प्रक्रिया तथा विधिहरु अलग–अलग प्रकारका रहेकाछन् । हरेक मनुष्य जुन सम्प्रदायमा जन्मिएको तथा हुर्किएको छ भित्रबाट उसमा त्यही सम्प्रदायका रहनसहन, चालचलन, परम्परा, संस्कार, संस्कृति, धर्म र अध्यात्म सम्वन्धि आस्था तथा विश्वासहरुको छाप परेको हुन्छ तथा प्रभावित भएको हुन्छ । सबै सम्प्रदायहरुका रहनसहन, चालचलन, परम्परा, संस्कार, संस्कृति, धर्म र अध्यात्मप्रतिका आस्था तथा विश्वासका सबै तौरतरिका तथा गतिविधिहरु हरप्रकारले मनुष्यलाई अनुशासित, नैतिकवान तथा मानवीय मूल्य–मान्यतामा जीवन जिउन तथा पूर्ण मानव सिकाउने र उसको मूल प्रकृति तथा नैसर्गीक स्वाभावमा फर्कन मद्धत गर्ने प्रक्रियाहरु हुन् जसले उसलाई संस्कारिक तथा सांस्कृतिक मनुष्य बनाउछ । संस्कारिक तथा सांस्कृतिक मनुष्य नै विस्तारै मानवीय मूल्यका आधारमा जीवनयापन गर्ने धार्मिक मनुष्य बन्दै जान्छ र धार्मिक मनुष्यनै विस्तारै आध्यात्मिक मनुष्य बन्दै जान्छ चरणवद्ध रुपमा र अध्यात्मका अन्तरविषयहरुको खोज, अनुसन्धान तथा प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट ब्रम्हाण्डको मूलश्रोत, अन्तिम सत्य तथा अन्तिम गन्तव्यसम्म पुग्न सक्षम हुन्छ । 


सनातन धर्म र संस्कृतिविच रहेको अस्पष्टता

धर्म शव्दको मूल अर्थ मानवीय कर्तव्य तथा अनिवार्य उत्तरदायित्व हो, निश्चित सम्प्रदायका निश्चित प्रकारका रहनसहन, चालचलन, परम्परा, संस्कार, संस्कृतिको अनुशरण गर्नु धर्म होइन, संस्कृति हो । सम्प्रदायका मूल्य-मान्यतामा आधारित संस्कृतिहरु निश्चित प्रकारको आस्था तथा विश्वास राख्ने मनुष्यकहरुको समुहसम्म मात्र सीमित हुन्छ तर धर्मको कुनै सीमा हुदैन यो संसारभरिका सबै मनुष्यहरुकालागि समान हुन्छ । सनातन अध्यात्मका अनुसार मनुष्यका पाँच प्रकारका मूल धर्म रहेका छन् जसले उसलाई धार्मिक हुदै आध्यात्मिक व्यक्तिमा रुपान्तरण गरेर ब्रम्हाण्डको अन्तिम श्रोत तथा परब्रम्हको अन्तिम सत्य तथा अस्तित्वको अन्तिम गन्तव्यसम्म पुग्न मद्धत गर्दछन् । ‘सनातन’ शव्दको शाव्दिक अर्थ अनादि अर्थात आदिकाल तथा प्रारम्भिक समयको ज्ञात नभएको र अन्त्यकाल तथा समापनकालको पनि ज्ञात नभएको भन्ने हो । धर्म ऋत हो, प्रकृति हो किनकी ब्रम्हााण्डमा स्थित हरेक प्राणी, वनस्पति तथा पदार्थहरुको आ-आफ्नै प्रकारका धर्म हुन्छन् । प्राणीहरुमा कुकुरको धर्म सुरक्षा प्रदान गर्नु, घोडाको धर्म सेवा प्रदान गर्नु, मनुष्यको धर्म प्रेम, सेवा, क्षमा, दान, पुण्यका सकारात्मक कार्यहरु निस्वार्थ भावले प्रदान गर्नु हो; वनस्पतिहरुमा कागतिको धर्म अमिलो हुनु, खुर्सानीको धर्म पिरो हुनु, उखुको धर्म गुलियो हुनु हो; पदार्थहरुमा सूर्यको धर्म ताप, प्रकाश प्रदान गर्नु, चन्द्रमाको धर्म शितलता प्रदान गर्नु, पानीको धर्म ठण्डा तथा शिलतता प्रदान गर्नु आदि हो । सनातन अध्यात्म तथा सनातन धर्मका अनुसार मनुष्यको धर्म अन्तर्गतका अन्तरविषयहरुको विश्लेषण तथा मनन् गर्दा निम्न पाँच प्रकारका मानवीय मूल्य–मान्यतामा आधारित मूल धर्महरु तोकिएका छन् जो मनुष्यका कर्तव्य तथा अनिवार्य उत्तरदायित्व अन्तर्गत पर्दछन्– (१)आफूप्रतिको धर्म, (२)परिवारप्रतिको धर्म, (३)समाज तथा मातृभूमिप्रतिको धर्म, (४)प्रकृति तथा पर्यावरणप्रतिको धर्म, र (५)जगत तथा परमात्माप्रतिको धर्म । सनातन अध्यात्म तथा सनातन धर्मका अनुसार यी पाँच प्रकारका धर्म पालन गर्ने मनुष्य मात्र पूर्ण मानव तथा धार्मिक मानव हो, संस्कृति मान्ने मनुष्य सांस्कृतिक हो, यो अनिवार्य छैन कि सांस्कृतिक मनुष्य धार्मिक भएकै होस् तर धार्मिक मनुष्य सांस्कृतिक हुनसक्छ किनकी धार्मिक मनुष्यले प्राकृतिक नियम तथा मूल्यलाई महत्व दिन्छ, सबै सम्प्रदाय तथा सम्प्रदायका संस्कृतिहरुलाई समान मूल्य तथा माम्यता प्रदान गर्दछ, कसैमाथि सानो–ठूलो तथा राम्रो–नराम्रो भनेर भेदभाव गर्दैन र आफ्नो पाँच प्रकारका मूल धर्महरुको निष्ठापूर्वक अनुशरण र पालना गर्दछ । धार्मिक मनुष्यमा आध्यत्मिक बन्नसक्ने पात्रता हुन्छ र ब्रम्हाण्डको मूलश्रोत, परमात्माको अन्तिम सत्य तथा अन्तिम गन्तव्यसम्म पुग्न सक्षम हुन्छ ।


संस्कृति: रहनसहन, चालचलन, परम्परा, संस्कार

मनुष्य जन्मदा सफा, सेतो कोरा कागज जस्तो हुन्छ, हुर्कदै जाने क्रममा उसमा आफू जन्मिएको तथा हुर्किएको सम्प्रदायको रहनसहन, चालचलन, परम्परा, संस्कार, संस्कृति, धर्म, अध्यात्म सबै विषयका अन्तरविषयहरुको प्रभाव पर्दै जान्छ । मनुष्यको सभ्यताको विकासक्रमलाई हेर्दा उसले सहज जीवनयापनका लागि प्रयोगात्मक अभ्यासबाट सबैलाई सहज र व्यवहारिक हुने रहनसहन, चालचलन, परम्पराहरुलाई जीवनको पद्धति बनाउदै लग्यो र यी रहनसहन, चालचलन, परम्पराहरु विस्तारै मनुष्यका संस्कारहरु बन्दै गए, जव यी संस्कारहरु युगौंयुगदेखि युग सान्दर्भिक हुने प्रकारले परिमार्जन तथा विकास गर्दै बारबार व्यक्ति, परिवार, समाज, राज्य, प्रकृतिमा दोहोरिए तव ती मानव सभ्यता तथा समाजका संस्कृति बने । मनुष्यको सभ्यतासंग यसरी खारिएर युगौंयुगदेखि चल्दै आएका सबै संस्कृतिहरु अत्यन्तै वैज्ञानिक र प्रामाणिक छन् । विश्वका सबै सम्प्रदायहरुको संस्कारका मन्दिर जाने, पवित्र स्थलमा जाने, प्रार्थना, पूजापाठ तथा कर्मकाण्ड गर्ने, व्रत गर्ने, चोखोनितो तथा सफासुग्गर गर्ने, विशेष दिनमा विशेष खानेकुरा ग्रहण गर्ने, पहिरन लगाउने तथा विशेष प्रकारका चिजवस्तु, वनस्पति, खनिज तत्वहरुको प्रयोग गर्ने आदि सबै सांस्कृतिक गतिविधिहरु मनुष्यका पाँच प्रकारका शरीरलाई स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित र विकसित बनाएर चरणवद्ध रुपमा उसलाई संस्कृतिको पालक ‘सांस्कृतिक’, धर्मको पालक ‘धार्मिक’ र अध्यात्मको पालक ‘आध्यात्मिक’ बनाएर ब्रम्हाण्डको मूलश्रोत, परब्रम्हको अन्तिम सत्य तथा अन्तिम गन्तव्यसम्म पुर्याउनका लागि अत्यन्तै संयमता र कुशलतापूर्वक निर्माण गरिएका र चलनचल्तीमा निष्ठाका साथ अनुशरण गरिएका तथा गराइएका हुन् अत्यन्तै वैज्ञानिक तवरले हाम्रा होनहार पुर्खा, प्राचीन वैज्ञानिक ऋषिमुनिहरु द्वारा । 
 
छिट्टै,
मनुष्यको जीवनको मूल लक्ष्य परमात्मा साक्षातकार तथा मोक्षमा उपलव्ध हुनु हो ।

 
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ

No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...