#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
१३. सवालः D
प्राण उर्जाका श्रोतहरु के-के हुन् र कसरी प्राप्त गर्न सकिन्छ ?
जवाफः
मनुष्यको शरीरका सबै आयामहरु नियमित रुपमा शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित ढंगले चल्नकालागि प्राण उर्जाको आपूर्ति निरन्तर हुनुका साथै उर्जा सन्तुलित तथा व्यवस्थित हुनु अपरिहार्य हुन्छ । सनातन योग चिकित्सा र आयुर्वेद चिकित्सा विज्ञानको मत अनुसार मनुष्यका शरीरका प्रमुख पाँच आयामहरु रहेका छन्– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, (५)वौद्धिक शरीर, र (५)आत्मिक अर्थात चेतनात्मक शरीर । शरीरका यी सबै आयामहरु नियमित रुपले सुचारु हुन प्राण उर्जाको पर्याप्त तथा सन्तुलित आपूर्ति हुनु अत्यावश्यक हुन्छ । मनुष्यले आफ्ना हरेक गतिविधिहरुमा खपत गर्ने उर्जा एउटै हुन्छ जो विभिन्न माध्यमहरुबाट प्राप्त हुन्छ जसलाई प्राण उर्जा अर्थात जीवनी उर्जा अर्थात कुण्डलिनी उर्जाका रुपमा जानिन्छ तथा बुझिन्छ र यो ब्रम्हाण्डिय समष्टि(विराट) महाउर्जाको व्यष्टि(सानो) स्वरुप हो । मनुष्यको सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित जीवनका लागि अत्यावश्यक प्राण उर्जाको प्राप्तिका प्रमुख दुई प्रकारका श्रोतहरु रहेकाछन्– (क)स्थुल जगतबाट प्राप्त हुने प्राण उर्जा, र (ख)सुक्ष्म जगतबाट प्राप्त हुने प्राण उर्जा । स्थुल र सुक्ष्म जगत अन्तर्गत पर्ने प्राण उर्जा प्राप्त हुने श्रोतका प्रमुख पाँच प्रकारका आयामहरु रहेकाछन्– स्थुल तथा दृश्य जगत अन्तर्गत(१)शरीर, र सुक्ष्म तथा अदृश्य जगत अन्तर्गत (२)मन, (३)भाव, (४)वुद्धि, र (५)आत्मा अर्थात चेतना रहेकाछन् । मनुष्यको शरीरका यी पाँच तह तथा आयामहरुबाट प्राप्त हुने एकमुष्ट प्राण उर्जालाई मनुष्यले आफ्नो जीवनका विविध विषय तथा गतिविधिहरुमा खर्च तथा व्यवस्थापन गर्दछ– विद्यार्थीले सिकाइ तथा अध्ययनमा बढि उर्जा खर्च गर्दछ; पेशाकर्मी तथा व्यवसायिले आफ्नो कार्यलयका कामकाजहरुमा बढि उर्जा खर्च गर्दछ; घर व्यवस्थापकले घरायसि कामकाजहरुमा बढि उर्जा खर्च गर्दछ आदि । उर्जाको आपूर्तिको व्यवस्थापन र खर्च तथा खपतको व्यवस्थापन जति कुशलतापूर्वक गरिन्छ उतिनै मनुष्यको स्वास्थ्य, शरीर र जीवनका सबै आयामहरुमा समान तथा सन्तुलित प्रगति तथा विकास, सन्तुलन तथा व्यवस्थापन, समृद्धि तथा सफलता, सुख तथा खुशी, शान्ति तथा आनन्द हासिल हुन्छ ।
हामी एकै ठाउँमा हलचल नगरी तथा निष्क्रिय भएर बसिराखे पनि हाम्रो शरीर मन, भाव, वुद्धि स्थिर रहदैन, शरीरका नियमित आन्तरिक तथा वाहिय प्रणालीका क्रियाहरु– मुटु तथा नाडीको धड्कन, श्वास–प्रश्वास, रक्तसंचार, आँखा झिम्क्याउने, ज्ञान इन्द्रियका देख्ने, सुन्ने, सुघ्ने, स्वाद लिने, अनुभव गर्ने गतिविधिहरु चलिरहेका हुन्छन्; मनमा विचारहरु चलिरहेका हन्छन्; भावमा भावनात्मक संवेगहरु खेलिरहेका हुन्छन्; वुद्धिमा तर्क, वितर्क, विश्लेषण, लक्ष्य, योजनाहरु चलिरहेका तथा बनिरहेका हुन्छन् र यी सबै दृश्य–अदृश्य तथा ज्ञात–अज्ञात विषय तथा गतिविधिहरुले प्राण उर्जा निरन्तर खपत गरिरहेका हुन्छन् हामीले चाहेर तथा नचाहेर र जानेर तथा नजानेर । यसकारण सन्तुलित तथा व्यवस्थित जीवनकालागि प्राण उर्जाको खपत भए अनुसार आपूर्तिको व्यवस्था हामी आफैंले मिलाउनु पर्दछ । प्राण उर्जाको आपूर्ति जत्तिकै तथा अझ बढि महत्वपूर्ण पक्ष प्राण उर्जाको सहि सदुपयोग तथा व्यवस्थापन गर्नु हो । केही समय अघिसम्म समय व्यवस्थापनलाई महत्वपूर्ण मान्ने गरिन्थ्यो तर त्यो भन्दा धेरै महत्व आफ्नो उर्जा व्यवस्थापन गर्नु रहेकोछ । आफूसंग पर्याप्त समय भएरपनि उर्जा पर्याप्त तथा सन्तुलित छैन भने समय व्यवस्थापनको अवस्थानै आउदैन तथा कुनै औचित्यनै रहदैन, यसकारण, उर्जाको खपत र आपूर्तिको सन्तुलन तथा व्यवस्थापन मिलाउनु नै समयको पनि सन्तुलन तथा व्यवस्थापन मिलाउनु हो । जो व्यक्तिले सहि ढंगले आफ्नो प्राण उर्जा व्यवस्थापन गर्दछ उसको सांसारिक जीवन र पारमार्थिक तथा आध्यात्मिक जीवनमा उच्चतम प्रगति तथा विकास आउछ । तसर्थ हरेक मनुष्यले प्राण उर्जा प्राप्तिका श्रोत, आयाम तथा प्रक्रियाहरु र प्राण उर्जा व्यवस्थापनका आयाम तथा प्रक्रियाहरुबारे जान्नु अत्यावश्यक हुन्छ । मनुष्यलाई प्राण उर्जा प्राप्त हुने प्रमुख श्रोतहरु निम्नानुसार रहेका छन्–
स्थुल जगतबाट प्राप्त हुने उर्जा: शरीरको माध्यमबाट
सनातन आयुर्वेद चिकित्सा विज्ञानका अनुसार पंचतत्व(पृथ्वी, जल, अग्नि, वायु, आकाश)बाट निर्मित भएको मनुष्यको स्थुल शरीरलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न र उसको दैनिक जीवनयापनका गतिविधिहरु सुचारु राख्नकालागि आवश्यक पर्ने ६० प्रतिशत उर्जा जल तत्व, वायु तत्व र अग्नि तत्व अर्थात पानी, हावा र सूर्यको प्रकाशबाट प्राप्त हुन्छ र बाँकी ४० प्रतिशत उर्जा आहार तथा पृथ्वी तत्व अर्थात सन्तुलित खाद्यशैली र विहार अर्थात सन्तुलित व्यायामबाट प्राप्त हुन्छ । ६० प्रतिशत उर्जा पानी, हावा र सूर्यको प्रकाश अर्थात प्राकृतिक पर्यावरणबाट मिल्ने हुनाले हामीले प्राण उर्जा प्रप्तिका प्रक्रियाहरुलाई सन्तुलित र सहि ढंगले व्यवस्थापन गर्नकालागि पर्यावरणका यी आयामहरुसंगका हाम्रा सबै प्रकारका क्रियाकलापहरु व्यवस्थित गर्नु पहिलो प्राथमिकता तथा आवश्यकता हो र आहार तथा खाद्यशैली, विहार तथा व्यायाम दोस्रो प्राथमिकता हो तर हिजोआजका मनुष्यहरुको जीवनशैलीमा खाद्यशैली पहिलो प्राथमिकतामा परेको छ, खाद्यशैली पूर्णतः अखाद्य तथा दुषित बमेको अवस्था छ; विहार तथा व्यायाम कम भएको छ तथा देखासेखीकामा सीमित भएको छ; र प्राकृतिक जीवनशैली पूर्ण रुपमा हराएको छ असन्तुलित भौतिक पूर्वाधारहरुको विकास तथा अव्यवस्थित शहरीकरणका कारण । मनुष्यको जीवनमा आइपर्ने अधिकांश अस्वस्थता, समस्या तथा चुनौतीहरुको मूलकारण उसको प्राकृतिक जीवनशैली असन्तुलित हुनु तथा बिग्रिनु हो अर्थात अप्राकृतिक हुनु तथा शरीरमा पंचतत्व(पृथ्वी, जल, अग्नि, वायु, आकाश)को सन्तुलनता खलबलिनु हो र यी सबै अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधानको एकमात्र उपाय प्राकृतिक जीवनशैलीमा फर्कनु नै हो, यो बाहेक अर्को कुनै विकल्प नै छैन मनुष्यसंग ।
प्राकृतिक जीवनशैली अन्तर्गत कुल प्राण उर्जाको ६० प्रतिशत हिस्सा ओगट्ने तत्वहरु पानी, वायु र सूर्यसंग सम्वन्धित हाम्रा नियमित गतिविधिहरु के कस्ता छन् भन्ने अत्यन्तै महत्वपूर्ण विषय हो- हामी कति, कसरी, कस्तो पानी पिउछौं; कति, कसरी, कस्तो पानीमा स्नान तथा सरसफाइ गर्दछौं; कति, कसरी, कस्तो हावामा श्वास लिरहेका छौंं; कति, कसरी, कस्तो प्रकारले सूर्यको प्रकाश, किरण तथा तापको सदुपयोग गरिरहेका छौं, सूर्योदय तथा सूर्यास्तको समय अनुसार कसरी दिनचर्या गरिरहेका छौं भन्ने मूल विषयहरु हुन् । यदि हाम्रा यी गतिविधिहरु सहि र सन्तुलित छन भने त्यही अनुसारनै पर्यावरणबाट प्राप्त हुने प्राण उर्जाको पर्याप्तता र गुणस्तर निर्धारित हुन्छ । आहार तथा खाद्यशैली, र विहार तथा व्यायामबाट प्राप्त हुने प्राण उर्जाको विषय पनि ठिक यस्तै नै हो । हामी कति, कसरी, कस्तो खाना खाइरहेका छौं– खाद्य(जैविक, खान योग्य, कम प्रशोधित, कम विशाक्त) आहार, पौष्टिक आहार, शुद्ध आहार, ताजा आहार, मौसमी र स्थानीय(२० की.मी. वरपर फलेका) आहार ग्रहण गरिरहेका छौं र सन्तुलित रुपमा आफ्नो शरीरको प्रकृति र आवश्यकता अनुसार विहार तथा व्यायाम तथा योगाभ्यास गरिरहेका छौं भने त्यही अनुसारनै खानपान तथा आहार, विहार तथा व्यायामबाट प्राप्त हुने प्राण उर्जाको पर्याप्तता र गुणस्तर निर्धारित हुन्छ । पर्यावरणसंगको सम्वन्ध, खानपान र व्यायामको सन्दर्भमा जो व्यक्तिको जीवनशैली सनातन आयुर्वेद चिकित्सा विज्ञानले सुझाए अनुसार सहि मार्गमा छ उसैको जीवनमा प्राण उर्जाको आपूर्तिको अवस्था सन्तुलित तथा व्यवस्थित हुन्छ र उसकै जीवन हरप्रकारले सहज, सरल, सफल र विकसित हुन्छ ।
सुक्ष्म जगतबाट प्राप्त हुने उर्जा: मन, भाव, वुद्धि, आत्मा अर्थात चेतना
सनातन अध्यात्म दर्शनका अनुसार मनुष्यको स्थुल तथा दृश्य जगत भन्दा सुक्ष्म तथा अदृश्य जगत अत्यन्तै असीम र शक्तिशाली रहेको हुन्छ र सुक्ष्म जगतबाट प्राप्त हुने प्राण उर्जाको आपूर्ति तथा गुणस्तर पनि स्थुल जगतबाट प्राप्त हुने भन्दा धेरै गुणा बढि, शक्तिशाली, प्रभावकारी, परिणामुखी र उपलव्धिमुलक हुन्छ । मनुष्यलाई श्रेष्ठतम जीवन जीउन सिकाउने कलाको महाविज्ञान(दि आर्ट अफ लिभिंग) सनातन अध्यात्म दर्शनले मनुष्यको शरीरको आयामको सोपान- शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको उर्जाको तह र शक्तिको आंकलन गरे अनुसार, शरीरको भन्दा मनको उर्जा सयौं गुणा बढि, प्रभावकारी र शक्तिशाली हुन्छ; मनको भन्दा भावको उर्जा हजारौं गुणा बढि, प्रभावकारी र शक्तिशाली हुन्छ; भावको भन्दा वुद्धि, विवेक, ज्ञान, अन्तरज्ञान, प्रज्ञा, आत्मा अर्थात चेतनाको उर्जा लाखौं गुण बढि, प्रभावकारी र शक्तिशाली हुन्छ । स्थुल शरीरलाई पर्यावरण, आहार र विहारसंग सन्तुलनता तथा सामानजस्यमा राखेर पर्याप्त र गुणस्तरिय प्राण उर्जा प्राप्त भए जस्तै मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनालाई पनि यिनकालागि प्राण उर्जा प्राप्त हुने प्रमुख श्रोतहरु– सकारात्मक व्यवहार, प्रेमलता(स्नेह, मैत्री, मायाँ, दया, करुणा, दान, सेवा, उपकार, क्षमा, कृतज्ञता, धन्यता, आस्था, श्रद्धा, भक्ति, समर्पण); पर्याप्त र गहिरो निद्रा; योग निद्रा; योग-ध्यान साधनासंग सन्तुलनता तथा सामन्जस्यता कायम गर्न सक्यौं भने मात्र सहज ढंगले पर्याप्त र गुणस्तरिय प्राण उर्जा हासिल गर्न सकिन्छ ।
सुक्ष्म जगतबाट अदृश्य तर अत्यन्तै शक्तिशाली र प्रभावकारी किसिमले प्राप्त हुने प्राण उर्जाको असीम शक्तिको प्रभावले मनुष्यको शरीरका सबै प्रणालीहरु शुद्ध, सक्रिय र स्वस्थ हुन्छन्; मनका अतिविचार तथा नकारात्मकताहरु कम हुन्छन् र मन स्थिर, एकाग्र तथा विचारशुन्य हुन्छ; भावका पिडादायि अन्त्यहिन भावनात्मक संवेगहरु, ज्यादा भावुकता तथा भावनत्मक कमजोरीहरु कम हुन्छन् र भाव स्थिर तथा शान्त हुन्छ; वुद्धि, वौद्धिकता, तर्क, सवाल तथा विश्लेषण गर्ने क्षमतामा नकारात्मकता हटेर सकारात्मकता वृद्धि हुन्छ, आफ्नो विवेकशिलता अनुसार चल्न थाल्छ; यससंगै मनुष्यको सांसारिक तथा वाहिरी जीवनमा समृद्धि, सफलता तथा सुफलता हासिल हुदैजान्छ र आन्तरिक जीवनमा सुख, खुशी, शान्ति, आनन्द हासिल हुदैजान्छ; आत्मा अर्थात चेतनाको विकास तथा जागरण हुन्छ र मनुष्यको आध्यात्मिक तथा पारमार्थिक विकास हुन प्रारम्भ हुन्छ । मनुष्यलाई सबैभन्दा वढि प्राण उर्जा ध्यान साधनाबाट प्राप्त हुन्छ जो सिधै ब्रम्हाण्डबाट मनुष्यको सुक्ष्म शरीरमा रहेका ब्रम्हाण्डिय महाउर्जाका शक्तिकेन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)को माध्यमबाट शरीरका सबै आयामहरुमा संचारित हुन्छ । यसपछि क्रमशः योग निद्रा; गहिरो तथा अटुट, सपनाबिहिन निद्रा; सकारात्मकता, सतविचार, सतकर्म; सेवा, दान, पुण्य, परोपकार; पर्यावरण तथा पंचतत्व, आहार र विहारबाट प्राप्त हुन्छ । स्वास्थ्य, शरीर र जीवनका समग्र आयामहरुको सन्तुलित तथा व्यवस्थित विकासका लागि आवश्यक पर्ने प्राण उर्जाको गुणस्तर र आपूर्ति पर्याप्त भएपछि मनुष्यको जीवन क्रमशः सहज, सरल, सफल, सन्तुलित, व्यवस्थित र विकसित बन्दै जान्छ । तसर्थ हामी सबैले पर्याप्त प्राण उर्जा हालिस गर्ने प्रयास गरौं र प्राप्त भएको प्राण उर्जालाई सहि किसिमले व्यवस्थापन गरेर आफ्नो जीवनका सबै आयामहरुको विकास गर्न क्रमशः आफ्नो शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनालाई शुद्ध, स्वस्थ, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यवस्थित राखौं र अरुलाई पनि यही सिकाइ प्रदान गरौं किनकी सनातन अध्यात्म तथा सनातन धर्मको मूल मर्मनै सर्वकल्याण गर्नु हो र सहि सर्वकल्याण त्यो हो जसले मनुष्यको जीवनका सबै आयामहरुलाई हरप्रकारले व्यवस्थित र विकसित बनाउन ज्ञान प्रदान गर्दछ र मनुष्यको जीवनलाई प्राकृतिक र सन्तुलित आहार-विहार-व्यवहारभित्र राख्न मद्धत गर्दै सांसारिक सुखहरुको प्राप्ति र दुःखहरुबाट मुक्ति दिलाउन सहयोग गर्दछ ।
शिवोहम् !
डा.सिर्जना भण्डारी, शिवोहम् योगपीठ
No comments:
Post a Comment