डा. सिर्जना भण्डारी
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
७९.पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको छैठौं लहर: आधूनिक युग
सन् १९४७ मा दक्षिण एशियाको सनातन समाज अंग्रेजहरुको झण्डै २००(सन् १७५७–१९४७) वर्ष लामो निरंकुश औपनिबेसिक हस्तक्षेपबाट स्वतन्त्र भएपछि तथा स्वतन्त्र हुने प्रक्रियामा पूर्वीय सनातन दर्शनको विकासक्रमले फरक प्रकारको लय लियो, केही लोकप्रिय दार्शनिकहरुका दर्शनले विशेष मान्यता तथा स्थान पाउदै गए, समाजमा तिनको प्रभाव बढ्दै गयो र सनातन समाज नयाँ स्वरुपमा अगाडि बढ्न प्रारम्भ गर्यो । पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनका लागि कालखण्डमा भएका तथा वर्तमान समयमा हुदैआएका सबै गतिविधिहरु छैठौं लहर अन्तर्गत रहेका मान्दै आइएको छ यद्धपि दार्शनिकहरुको जन्म र दर्शनको प्रभाव १९औं शताव्दिमै प्रारम्भ भएर स्वतन्त्रतापछि उपलव्ध भएको सहज अवस्थामा २०औं र २१औं शताव्दीको समयावधिमा अझ बढि चर्चामा आए र तिनको प्रभाव केवल पूवी एशियामा मात्र नभएर पाश्चात्य मुलुकहरु सम्म विस्तार भयो र हुदै गैरहेकोछ । स्वतन्त्रतापछि पूर्वीय सनातन दर्शनको विकास तथा प्रवद्र्धनमा धेरै–थोरै योगदान गर्ने व्यक्तित्व तथा दार्शनिकको नाम र काम तथा योगदानहरु चर्चामा रहेकाछन् विश्वव्यापि रुपमा, ती मध्य केही नामहरु संक्षिप्तमा निम्नानुसार रहेकाछन्– रमण महर्षि (१८७९); डा. अमबेडकर (जन्म– १८९१); परमहंश योगानन्द (१८९३); जे. कृष्णमूर्ति (१८९५); श्री प्रभुपाद (१८९६); स्वामी चिन्मयानन्द सरस्वती (१९१६); महेश योगी (१९१८); स्वामी सत्यानन्द सरस्वती (१९२३); सत्य साइबाबा (१९२६); आचार्य रजनीश (१९३१); वर्तमान समयमा शरीरमै रहनुभएका श्री श्री रवीशंकर; जग्गी वासुदेव; नेपालको सन्दर्भमा स्वामी आनन्द अरुण, डा. योगी विकासानन्द; डा. स्वामी राजकुमार प्याकुरेल; स्वामी एल.पि. भानु शर्मा; स्वामी रमेश नेपाल; स्वामी चैतन्य कृष्ण आदि व्यक्तित्वहरुको नाम र वहाँहरुले पूर्वीय सनातन दर्शनको विकासको क्षेत्रमा गर्नुभएका तथा गरिरहनु भएका काम तथा योगदानहरु चर्चामा रहेकाछन् ।
डा. अमबेडकर
स्वतन्त्रतापछिको कालखण्डमा पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासका क्रममा योगदान दिने पहिलो दार्शनिक डा. अमबेडकर हुनुहुन्छ । वहाँले धेरै दर्शनहरुको अध्ययन, विचार, विमर्स गर्नुभयो, नव वेदान्त तथा नव हिन्दुवादको कालखण्ड तथा पाँचौ लहरमा राष्ट्रियतावाद र समानतावादको अभियान चलाइएको र यी अभियानहरुको मुख्य उद्देश्य नै जातिप्रथा, छुवाछुत तथा वर्गविभेदलाई हटाउने भएको भएपनि वहाँले सनातन समाजमा जातिप्रथा र जातियताका नाममा गरिने भेदभाव तथा छुवाछुतका गतिविधिहरुमा खासै सकारात्मक परिवर्तन आएको पाउनु भएन र सनातन हिन्दु धर्मलाई अंगिकार गर्नुभएन । वहाँले सबै सनातन दर्शनका साथसाथ पूर्वीय दर्शन र पाश्चात्य दर्शनहरु र यस अन्तर्गतका समुदाय तथा सम्प्रदायहरुको पनि गहन अध्ययन गर्नुभयो तर आफूले व्यक्तिगत तथा आन्तरिक रुपमा कुनैपनि दर्शन तथा सम्प्रदायको अनुशरण गर्नुभएन । एकपटक वहाँलाई शिख धर्म तथा सम्प्रदायमा अलिक रुचि भएको भएपनि पछि फेरी रुचि परिवर्तन गर्नुभयो र आफ्नो मृत्यु भन्दा दुई महिनाअघि (सन् १९५६) आफ्नै अवधारणा अनुसार नयाँ प्रकारको बौद्ध दर्शन तथा धर्म खडा गर्नुभयो बौद्ध दर्शनमा पूराना मूलधार शाखा हिनियान र महायानका मूल्य–मान्यताहरु भन्दा फरक रहेर किनकी डा. अमबेडकर परालौकिकता तथा निर्वाणमा आस्था राख्नुहुन्नथ्यो तर हिनियान र महायान दुवैमा निर्वाणको अवधारणा रहेकोछ जो मनुष्यको कर्म सिद्धान्तमा आधारित रहेको मानिन्छ तर वहाँलाई कर्म सिद्धान्तमा पनि आस्था थिएन त्यसैले वहाँले आफूले गर्नुभएका दर्शनहरुको अनुभव तथा सिकाइबाट आफैंले एउटा छुट्टै नयाँ अवधारणा तथा दर्शन प्रतिपादन गरेर बौद्ध दर्शनमा अर्को नयाँ शाखा ‘नवयान’ तथा ‘नियो बुद्धिजम’ खडा गर्नुभयो । नवयानका अन्तरविषयहरुमा पुस्तकहरु लेख्नुभयो, वहाँको सिद्धान्तलाई अनुशरण गर्ने नवयानी अनुयायिहरुको संख्या पनि ठूलो थियो । आजपर्यन्त बौद्ध दर्शनको सबैभन्दा कान्छो दर्शन नवयान एक अलग धारको रुपमा रहदै आएकोछ सनातन समाजमा र नवयान तथा नियो बुद्धिजम २०औं शताव्दीको बौद्ध दर्शनको नव परम्परा मानिन्छ किनकी यसले सबैको अनुभवमा आउन नसक्ने विषय परलोक, निर्वाण, कर्मका विषय र अवस्थाहरुलाई खारेज गरेर बौद्ध दर्शनलाई अझ व्यवहारिक, सम्यक बनाएर वास्तविक धरातलसंग जोड्ने प्रयास गरेको थियो । नवयानको प्रादुर्भावअघि तथा स्वत्रन्त्रता भन्दा केहीअघि पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा एक चिन्तनशील व्यक्तित्व अजित केश कम्बलीको नाम आएको थियो । वहाँको अवधारणा सनातन वेदका वियष तथा मूल्य–मान्यताहरुलाई प्रामाणिक नमान्ने तथा सनातन समाजले नास्तिकको रुपमा मान्ने चार्वाक दर्शनसंग नजिक रहेको तथा भौतिकवाद अर्थात सांसारिकवादमा बढि केन्द्रित रहेको थियो र वहाँकै चिन्तन तथा अवधारणाको एक विन्दुलाई आधार बनाएर नवयान बौद्ध दर्शनको प्रतिपादन गरिएको थियो डा. अम्बेडकरको नेतृत्वमा ।
जे. कृष्णमुर्ति
यसपछि पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमा अत्यन्तै प्रखर व्यक्तित्व हुनुभएका अर्का महान दार्शनिक जिद्दु (जे.) कृष्णमूर्तिको नाम अत्यन्तै सम्मानकासाथ जोएिको पाइन्छ । वहाँ भारतीय अमेरीकन हुनुहुन्थ्यो अर्थात वहाँको जन्मभूमि भारत र कर्मभूमि अमेरीका थियो । सन् १८७५ मा बेलायतमा थियोसोफिकल(अध्यात्म ज्ञान) समाजको स्थापना गरिएको थियो, यो समाज तथा संस्थाको मूल उद्देश्य संसारका मनुष्यहरुमा आध्यात्मिक चिन्तनको माध्यमबाट ब्रम्हाण्डको अन्तिम सत्यको खोज गर्ने; विश्वबन्धुत्वको भावना राख्ने; समुदाय तथा सम्प्रदायलाई भन्दा मनुष्यको मूलधर्म, कर्तव्य, उत्तरदायित्व तथा मानवीयतामा जोडदिने ब्रम्हविद्या अर्थात इश्वरिय ज्ञान(डिभाइन विजडम)का मूल्य–मान्यताहरुलाई अनुशरण गर्नु तथा गराउनु रहेको थियो । तत्कालीन समयमा भारतमा पनि थियोसोफिकल(ब्रम्हविद्या) अभियान चलिरहेको थियो । यस्तो प्रकारको अध्यात्म विद्याका अन्तरवस्तुहरुमा काम गर्ने संस्थाको अभियानमा लागेकी अमेरीकी नागरिक डा. एनिबेसन्तले अत्यन्तै तिक्ष्ण तथा प्रखर १५ वर्षका वालक जे. कृष्णमुर्तिलाई सन् १९१० मा कानूनी रुपमा धर्मपुत्र बनाएर अमेरीका लगेकी थिइन् । आध्यत्मिक पृष्ठभूमि रहेको परिवार तथा समाजमा जे. कृष्णमुर्तिको हुर्काइ र अध्ययन भएको कारण पछि गएर वहाँको व्यक्तित्व आध्यात्मिक छवि भएको दार्शनिक प्रकारको बन्यो । वहाँले आफ्ना दर्शनहरुमा पूराना मूल्य–मान्यताहरुलाई खारेज गरेर नयाँ प्रकारका आध्यात्मिक ज्ञानहरु पस्किनुभयो, नयाँ प्रकारका अवधारणाहरुमा आधारित दर्शनका पुस्तकहरु रचना र प्रतिपादन गनुैभयो । आम मानिसहरुले वहाँको नयाँ अवधारणामा आधारित नव दर्शनलाई धेरै रुचाए र अनुशरण पनि गरे खासगरि दक्षिण भारतको समाजमा, दार्शनिक जे. कृष्णमूर्ति दक्षिण भारतमा जन्मििनु भएका तथा दक्षिण भारतकै नागरिक हुनुहुन्थ्यो ।
सत्य साइबाबा
सत्य साइबाबाको नाम, व्यक्तित्व, नेतृत्व र दविक तथा परालौकी शक्ति र पूर्वीय सनातन दर्शन तथा सनातन समाजमा वहाँको परालौकिक प्रभाव र सांसारिक जीवनको उन्नती तथा परामार्थिक जीवनको विकासमा अभूतपूर्व योगदानबाट हामी सबै राम्रोसंग परिचित रहेकाछौं ।
आचार्य ओशो रजनीस
पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा अर्को अत्यन्तै लोकप्रिय र प्रसिद्ध नाम आचार्य ओशो रजनीशको आउछ । वहाँका दार्शनिक मूल्य–मान्यताहरु जे. कृष्णमूर्तिका अवधारणाहरु तथा दर्शनसंग निकै निकट रहेकाछन् । आधूनिककालमा पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रममा फरक प्रकारका अवधारणाहरु जोडेर तथा प्रतिपादन गरेर आचार्य ओशो रजनीशले आफूलाई विश्वसामु फरक प्रकारका आध्यात्मिक साधनाहरु खासगरि ध्यान साधनाका विभिन्न प्रकारहरुमा फरक प्रकारले स्थापित गराउनुभयो र वहाँद्वारा प्रतिपादित नयाँ प्रकारका योग–ध्यानका साधना विधिहरु विश्वव्यापि गराउनु भयो । आचार्य ओशो रजनीशले सनातन दर्शन संगसंगै विश्वभरिका सबै दर्शनहरु र दर्शनका विषय तथा अन्तरवस्तुहरु गहन ढंगले अनुसन्धानात्मक किसिमले अध्ययन गर्नुभयो र ती दर्शनहरुका अन्तरपषियहरु उपर गहन चिन्तन गर्नुभयो, थुप्रै दर्शनहरुको बारेमा भाष्य गर्नुभयो, केही दर्शन उपर भाष्य लेख्नुभयो र ती सबै ज्ञानहरुको निखारताबाट आफ्नो छुट्टै प्रकारको अवधारणा तथा दर्शन खडा गर्नुभयो ओशो दर्शनका रुपमा । विशौं शताव्दीका सबैभन्दा बढि पुस्तक(कतै सवालाख, कतै डेढलाख भनिएको पाइन्छ) पढेका अध्ययनशील व्यक्तित्वको रुपमा विश्वकै तथ्यांक राख्ने गिनिजबुकमा रेकर्ड समेत राखिएको छ र यो रेकर्डमा अधावधिक वहाँनै कायम रहिरहनु भएकोछ । अत्यन्तै तार्किक र प्रखर व्यक्तित्व हुनुभएका आचार्य ओशो रजनीशले सनातन धर्म, ज्ञान तथा दर्शनलाई रुढीवादी तथा अतार्किकताबाट वाहिर निकालेर उच्चतम विन्दुमा पुर्याउन निकै महत्वपूर्ण योगदान पुर्याउनु भयो । समग्र पूर्वीय दर्शन तथा सनातन दर्शनहरुमा योग–ध्यानका धेरै परम्परा तथा धेरै प्रकारका विधिहरु रहेकाछन् तर आचार्य ओशोले रजनीशले युग सान्दर्भिक हुने प्रकारले बेग्लै परम्परा स्थापित गर्नुभयो उर्जा ध्यान(डाइनामिक मेडिटेसन)का रुपमा र वहाँको यो फरक प्रकारको अवधारणा तथा नयाँ प्रयोग निकै लोकप्रिय बन्यो विश्वव्यापि रुपमा । पूर्वीय सनातन दर्शनका विषय र मूल्य–मान्यताहरुलाई पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको क्रममा आधूनिककाल तथा छैठौं लहरमा आचार्य ओशो रजनीशले सनातन ज्ञान योग तथा ध्यान साधना विज्ञानलाई विश्वव्यापि रुपमा व्यापक प्रचार र व्यवहार तथा प्रयोगात्मक अभ्यासमा ल्याउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
साथै रमण महर्षि; परमहंश योगानन्द; श्री प्रभुपाद; स्वामी चिन्मयानन्द सरस्वती; महेश योगी; स्वामी सत्यानन्द सरस्वती; र वर्तमान समयमा शरीरमै रहनुभएका श्री श्री रवीशंकर; जग्गी वासुदेव; नेपालको सन्दर्भमा वोदिसत्व स्वामी आनन्द अरुण, डा. योगी विकासानन्द; डा. स्वामी राजकुमार प्याकुरेल; स्वामी एल.पि. भानु शर्मा; स्वामी रमेश नेपाल; स्वामी चैतन्य कृष्ण आदि व्यक्तित्वहरुको नाम र वहाँहरुले पूर्वीय सनातन दर्शनको विकासको क्षेत्रमा गर्नुभएका तथा गरिरहनु भएका ऐतिहासिक काम तथा योगदानहरुले विश्वव्यापि रुपमा सकारात्मक प्रभाव पारिरहेका तथा उच्चतम योगदान गरिरहेका गैर नाफामूलक आध्यत्मिक अभियानमा समर्पित आध्यात्मिक तथा सामाजिक संस्थाहरुका रुपमा चर्चामा रहेकाछन् विश्वाव्यापि सन्दर्भमा ।
छिट्टै, विस्तारमा
पूर्वीय सनातन दर्शनले सामना गरेका चुनौतिहरु
(१)प्रारम्भिक अवस्था तथा देव र दानव प्रवृत्ति(समग्र प्रचीन कालखण्ड)
(२)नास्तिकवादको विस्तार(लगभग इशापूर्व ६००–७००)
(३)इस्लामको कहर(लगभग सन् ७००–१८००)
(४)इशाईको कहर(लगभग सन् १८००–१९५०)
(५)विस्तारवादको कहर(लगभग १९५० देखि यता...)
No comments:
Post a Comment