#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
Wednesday, 31 December 2025
शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २३
Tuesday, 30 December 2025
शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २२
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
Monday, 29 December 2025
शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २१
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
Sunday, 28 December 2025
शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- २०
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
Friday, 19 December 2025
शिवोहम् योगपीठ: योग साधना - सातौं कक्षा(अन्तिम)
#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान
मनुष्य जीवनका मूल्य–मान्यताहरुलाई कसरी योग साधना बनाउन सकिन्छ ?
जवाफ तथा प्रारम्भ:
योग साधनाको सातौं तथा अन्तिम दिनको कक्षामा हार्दिक स्वागत छ कुञ्जना !
सर्वप्रथम १० मिनेट जीवन व्यवस्थापनका सन्दर्भमा केही सनातन ज्ञान, विज्ञानका विषयहरुबारे बुझौं त्यसपछि योग साधनाको सातौं दिनको प्रयोगात्मक अभ्यासमा प्रवेश गर्नेछौं ।
जीवनको मूल्य
“योगः कर्मशु कौशलम् ।।”(श्रीमद् भगवद् गीता २:५०) । श्रीमद् भगवद् गीतामा उल्लेखित भगवान श्रीकृष्णको यस आप्त वाणीका अनुसार कर्म नै साधना हो र आफ्नो कर्मसंग गहनतापूर्वक जोडिनु र कर्मलाई आफूले सकेजति कुशल बनाउन प्रयास गर्नुनै वास्तविक योग तथा योग साधना हो । भगवान श्रीकृष्णको यस सतवचनको भावलाई अझ स्पष्ट गरेर हेर्दा, योग अत्यन्तै विहंगम विषय हो किनकी सनातन अध्यात्मका अनुसार योग मनुष्यको सांसारिक र पारमार्थिक दुवै जीवनलाई समेट्ने महान दर्शन तथा विज्ञान हो । जीवनमा आफूले मन लगाएर कुशलतापूर्वक गरिने हरेक प्रकारका कामहरु साधना हुन् र आफ्ना सबै काम तथा कर्तव्यहरुलाई नै हरेक मनुष्यले आफ्नो जीवनको योग साधना बनाउनु पर्दछ । विद्यार्थीको कर्म अध्ययन गर्नु हो, अध्ययन नै उसको योग साधना हो र सफलताका लागि उसले अनिवार्य रुपमा अध्ययनलाई साधना बनाउनु पर्दछ; शिक्षकको कर्म अध्यापन गराउनु हो, अध्यापन नै उसको योग साधना हो र सफलताका लागि उसले अनिवार्य रुपमा अध्यापनलाई साधना बनाउनु पर्दछ; व्यवसायिको कर्म व्यवसायलाई व्यवस्थित गर्नु हो, व्यवसायनै उसको योग साधना हो र सफलताका लागि उसले अनिवार्य रुपमा व्यवसायलाई साधना बनाउनु पर्दछ; घर व्यवस्थापकको कर्म घर तथा परिवार व्यवस्थापन गर्नु हो, घर व्यस्थापननै उसको योग साधना हो र सफलताका लागि उसले अनिवार्य रुपमा व्यवस्थापनलाई साधना बनाउनु पर्दछ ।
हामी जीवनका दैनिक क्रियाकलापहरुमा जुन घटना तथा विषयहरुसंग जोडिन्छौं र त्यसमा मन लगाएर काम गर्छौं ती सबै कर्महरु हाम्रा योग साधना हुन् । जीवनमा योग साधना जति गहन हुन्छ मनुष्यको जीवनका समग्र आयामहरु उतिनै सहज, सरल, सफल, सन्तुलित तथा व्यवस्थित र विकसित हुदै जान्छन् । यसकारण मनुष्यको पूरै जीवननै योग साधना हो, आफ्नो जीवनका समग्र योग साधनाहरुलाई सहि दिशा दिनका हाम्रो जीवनशैली व्यवस्थित हुनु अपरिहार्य हुन्छ । आफ्नो जीवनलाई सहज, सन्तुलित, स्वस्थ, सक्रिय राख्नकालागि दैनिक रुपमा गरिने योगासन तथा व्यायाम, प्राणायाम तथा श्वासको क्रिया र ध्यान तथा एकाग्रताको अध्यास समग्र योग साधना तथा समग्र जीवनशैलीको एक इकाई हो तर यो अत्यन्तै महत्वपूर्ण इकाइ तथा पाटो हो जसले हाम्रो जीवन कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्दछ । हामी जति पतंजतिल योगसुत्र तथा अष्टांग योगका अंगहरु– यम, नियम, योगासन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिका अन्तर विषय तथा ज्ञान, विज्ञानहरुलाई आफ्नो जीवनमा अनुशरण गरेर सैद्धान्तिक तथा व्यवहारिक साधना तथा प्रयोगात्मक अभ्यास गर्दछौं उतिनै हामी शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक रुपमा शुद्ध, स्वस्थ, सक्रिय, सचेत, जागरुक, सन्तुलित तथा व्यवस्थित हुन्छौं । जति बढि शुद्ध, स्वस्थ, सक्रिय, सचेत, जागरुक, सन्तुलित तथा व्यवस्थित हुन्छौं उतिनै प्रभावकारी ढंगले जीवनका सबै आयामहरुसंग जोडिन तथा योग हुन सक्छौं र आफ्नो जीवनलाई विकासउन्मुख तथा सफलताउन्मुख बनाउन सक्छौं । आफ्नो जीवनलाई हरप्रकारले सरल, सहज, सक्रिय, सफल, सन्तुलित तथा व्यवस्थित र विकसित बनाउन हरेक मनुष्यले मुख्य रुपमा निम्न पाँच आयामहरुमा अत्यन्तै बढि ध्यान पुर्याउनु पर्दछ र पलपल सम्यमित भएर जीवनका महत्वपूर्ण निर्णयहरु लिनुपर्दछ– (२)स्वास्थ्य, (२)सम्वन्ध, (३)समृद्धि, (४)मानप्रतिष्ठा, र (५)शान्ति किनकी हरेक मनुष्यको समग्र जीवन यिनै आयामका अन्तरवस्तुहरुको वरिपरि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा घ’मिरहेको हुन्छ । जीवनका यी प्रमुख महत्वपूर्ण आयामहरु संतुलित तथा व्यवस्थित ढंगले अगाढि बढाउनका लागि हरेक मनुष्यले जीवन र जगतसंग सम्वन्धित सबै घटना, विषय, क्षेत्रहरुलाई सहि ढंगले अत्यन्तै संयमतापूर्वक बुझ्नु र यसउपर काम गर्नुपर्दछ ।
मनुष्यलाई योग साधक बनाउने पाँच प्रकारका मानव धर्म
सनातन अध्यात्मका अनुसार मनुष्यका पाँच प्रकारका कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु रहेका हुन्छन् र यिनै कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु लाई सनातन धर्मले मनुष्यको वास्तविक धर्म मान्दछ । वर्तमान समयमा हामीले धर्म भनेर जे विषयलाई बुझिरहेका छौं त्यो मनुष्यको धर्म नभएर सम्प्रदाय तथा पन्थ हो जो मनुष्यको एक प्रकारको समुह तथा समुदायकालागि मात्र मान्य हुने गर्दछ, जस्तो हिन्दु सम्प्रदायका मुल्य–मान्यताहरु हिन्दु मार्गीले अनुशरण गर्दछ; बौद्ध सम्प्रदायका मुल्य–मान्यताहरु बौद्ध मार्गीले अनुशरण गर्दछ; त्यस्तै शिख, ज्युस, इशाइ, इस्लाम आदि सम्प्रदायका मुल्य–मान्यताहरु तिनमा आस्था रहेका मनुष्यहरुले अनुशरण गर्दछन् । तर धर्म साझा हुन्छ किनकी यो प्रकृति हो, धर्म सबैकालागि हो र धर्मलाई सबैले अनिवार्य रुपमा अनुशरण गर्नु पर्दछ । मनुष्यका पाँच प्रकारका मानवीय धर्म, कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु निम्न प्रकारका रहेका छन्– (१)आफूप्रतिको कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु, (२)परिवारप्रतिको कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु, (३)समाज तथा मातृभूमिप्रतिको कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु, (४)पर्यावरण तथा प्रकृतिप्रतिको कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु, र (५)जगत तथा सृष्टि र सृष्टि निर्माता परमात्माप्रतिको कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु । आफ्नो जीवनमा यी पाँच प्रकारका धर्महरुको निष्ठापूर्वक पालना तथा अनुशरणले मनुष्यलाई वास्ताविक मानव र वास्तविक योग साधक बनाउछ । पाँच प्रकारका धर्म मध्य मनुष्यको पहिलो धर्म आफूप्रतिको कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु पूरा गर्नु रहेको छ किनकी उ आफू हरप्रकारले शुद्ध, स्वस्थ, सक्रिय, जागरुक, सन्तुलित तथा व्यवस्थित र विकसित छ भने मात्र उसले परिवार, समाज, प्रकृति, परमात्माप्रतिको आफूले नगरी नहुने धर्म, कर्तव्य तथा अनिवार्य जिम्मेदारिहरु सहजतापूर्वक र सफलतापूर्वक निर्वाह गर्न सक्दछ । तसर्थ पहिला आफूलाई केन्द्रमा राख्नु पर्दछ शुद्ध र सकारात्मक भावले ताकि आफ्ना कुनैपनि प्रकारका क्रियाकलापहरुले आफू र अरु कसैलाई पनि कसैगरि पनि हानि नपुर्याओस् ।
सर्वप्रथम आफैंलाई केन्द्रमा राख्नु पर्दछ
यस संसारमा कोही पनि कसैकोलागि पूर्णरुपमा बनेको तथा बनाइएको होइन, सर्बको आ–आफ्नो प्रकारको जीवन हुन्छ, कसैको प्रकृति तथा स्वभाव कसैसंग मिल्दैन र सबै एकअर्कोबाट स्वतन्त्र छन् । आफ्नालागि आवश्यक सबै काम तथा गतिविधिहरु सबैले आफू स्वयंले नै गर्नुपर्दछ अनिवार्य रुपमा । हरेक मनुष्यको जीवनको सबैभन्दा महत्वपूर्ण र अन्तिम उद्देश्य तथा लक्ष्य जीवनमा सुखको प्राप्ति गर्नु र दुःखबाट मुक्त हुनु हो । यसकालागि हरेक मनुष्यले आफ्नो जीवनमा पंचप्रगतिको अपेक्षा राखेको हुन्छ–(१)सुदृढ स्वास्थ्य, (२)सुमधूर सम्वन्ध, (३)आवश्यक समृद्धि, (४)सन्तोजनक मानप्रतिष्ठा, र (५)आन्तरिक शान्ति । यसलाई उदाहरणबाट अझ स्पष्ट हुनेगरि बुझौं– अरुले खाएको आहारले मलाई पौष्टिकता मिल्दैन; अरुले गरेको व्यायामले मलाई तन्दुरुस्ती मिल्दैन; अरुले गरेको राम्रो बोलि–वचन, व्यवहार तथा आचरणले मेरो सम्वन्ध राम्रो बन्दैन; अरुले मेहनेत गरेर कमाएको समृद्धिमाथि मेरो सन्तोषजनक स्वामित्व हुदैन र यो समृद्धिले मेरो सहि किसिमले विकास गर्दैन; अरुले आफ्नो जीवनमा गरेको पुरुषार्थले मेरो जीवनमा मानप्रतिष्ठा बढ्दैन; र अरुको सकारात्मकता तथा योग, ध्यान, अध्यात्म साधना, दया, करुणा, सेवा, दान, उपकार, पुण्यले मलाई आन्तरिक शान्ति प्राप्त हुदैन । आफ्नो जीवनका यी सबै आयामहरुको सन्तोषजनक तथा विकसित अवस्थाहरु हासिल गर्न सबै काम तथा क्रियाकलापहरु म स्वयंले नै गर्नुपर्दछ र मेरो वरिपरि रहेका अरुले मलाई यी गतिविधिहरुमा सहजता प्रदान गर्न सक्दछन् । यो सत्यको कि मनुष्यको जीवन पारस्परिक सम्वम्धमा टिकेको हुन्छ किनकी उ सामाजिक प्राणी हो, परिवार तथा समाजबिना मनुष्य एक्लै रहन सक्दैन, यसकारण मैले अरुबाट केही पाउछु तथा पाउनु छ भने त्यहाँ आवश्यकता अनुसारको मेरो मेहनतको लगानी पनि अनिवार्य रुपमा भएकै हुनुपर्दछ तव मात्र मैले अरुबाट अपेक्षा गर्ने अधिकार पाउछु, मेरो अपेक्षा पूरा हुनपनि सक्छ र यो पूर्तिले मलाई आत्मसन्तुुष्टि प्रदान गर्छ किनकी जहिलेपनि अधिकार भन्दा पहिला कर्तव्य आउछ जुन मैले अनिवार्य रुपमा निर्वाह गर्नुपर्दछ । यसरी प्राप्त गरेको आत्मसन्तुष्टिले मेरो जीवनमा उत्साह, सुख, खुशी, शान्ति, आनन्द थप्छ र यही आत्मसन्तुष्टि नै मनुष्यको पंचप्रगतिको मूल श्रोत तथा प्रमुख कच्चा पदार्थ हो । आत्मसन्तुष्टि र सफलता दुई अलग अवस्था तथा फरक विषय हुन् । आत्मसन्तुष्टि आन्तरिक हुन्छ, सफलता वाहिरी हुन्छ, सफल मनुष्यले आत्मसन्तुष्टि हासिल नगरेको पनि हुन सक्दछ तर आत्मसन्तुष्टि हासिल गरेको व्यक्ति अनिवार्य रुपमा सफल हुन्छ किनकी सफलता भनेको अरु केहि नभएर हाम्रै मनको अवस्था तथा खेल हो, हामी जे मा आत्मसन्तुष्टिको अनुभूति गर्छौं वास्तविक सफलता त्यहि नै हो हरेक मनुष्यको जीवनको ।
मेरो वर्ण– ब्र्राम्हण(ज्ञान, वुद्धि), क्षेत्रिय(बाहुबल, साहस), वैश्य(व्यवसाय, सिर्जनशीलता), शुद्र(सेवा, दया–करुणा), प्रकृति तथा नैसर्गिक स्वभाव अनुुसारको कर्महरु मैले जीवनमा गरें भने म आत्मसन्तुष्टितिर उन्मुख भैरहेको हुन्छ आफ्नो स्वभावमा जीवन जिएका कारण तर यदि म अरुको सिको गरेर आफ्नो प्रकृति तथा स्वभाव अनुसारको व्यवहार नगरेर अरुको प्रभावमा तथा नक्कलमा जीवनयापन गरें भने म एक त सफल हुननै सक्दिन सफल भैहालें भनेपनि यो सफलताबाट आत्मसन्तुष्टि हासिल गर्न सक्दिन र जहाँ तथा जुन काममा आत्मसन्तुष्टि हासिल हुदैन त्यस्तो अवस्थालाई सनातन अध्यात्मले सफलता मान्दैन किनकी कुनै क्षणमा यसप्रकारको सफलताले जीवनलाई ह्रासतिर तथा असफलतातिर लिएर जान्छ र आजका अधिकांश मनुष्यहरुको धेरै हदसमम सबैप्रकारका मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक र केही हदसमम शारीरिक अस्वस्थता तथा सबैप्रकारका कठिनाइहरु उसले आफ्नो जीवनका विविध आयामहरुबाट अपेच्छित आत्मसन्तुष्टि हासिल गर्न नसकेकै कारणले भएका हुन् । तसर्थ जहिले पनि आफूलाई केन्द्रमा राख्नु पर्दछ र आफूलाई आत्मसन्तुष्टि दिने प्रकारले जीवनका महत्वपूर्ण निर्णहरु गर्नुपर्दछ नकि अरुलाई खुशी पर्ने उद्देश्यले तथा अरुको प्रभाव, दबाव, भड्कावमा आएर, जसले कालान्तरमा आफू लगायत परिवार, समाज, देश, विश्व, मानवीयता, प्रकृति तथा परमान्मा सबैलाई कुनैनकुनै किसिमले हानि पुर्याउदछ र मनुष्यको जीवन र जगत अर्थात सांसारिक जीवन र पामार्थिक जीवन सबैतिर खलबलिन्छ र उसको परिणामस्वरुप मनुष्यको जीवनमा अशुद्धता, निष्क्रियत तथा अव्यवस्थाका असहज तथा जटिल अवस्थाहरु देखा पर्दछन् र सनातन अध्यात्म विज्ञानले यही अवस्थालाई नर्कको रुपमा मानेकोछ तथा व्याख्या गरेको छ । सहि ढंगले तथा कलात्मक किसिमले जीवन जिउन जान्नु जीवनलाई स्वर्ग बनाउनु हो र सनातन अध्यात्म विज्ञान जीवन जिउने कलाको विज्ञान भएकोले यसले जति मनुष्यको जीवनका आयामहरुको परिभाषा तथा व्याख्या अरु कुनै विज्ञानहरु गर्न सकेका छैनन् । आज हामी १ घण्टा योग साधनाको प्रयोगात्मक अभ्यास गर्नेर्छौं–
रुतुतुतु रुतुतुतु सांतगीतिक धून योगासन गर्नुअघि शरीर तताउन र खुलाउनका लागि
https://www.youtube.com/watch?v=B_bI_nffLLo
(२)शरीर खुलाउन ३ मिनेट उभिएर घुँडा, कम्मर, कुम, हात, गर्धन घुमाउँ, दुई हातका हत्केला भुईंतिर फर्काएर छाति अगाडि राखौं र शरीरलाई दायाँ-बायाँ घुमाउँ तथा बटारौं कम्मरसम्म जोड पर्ने गरेर । हत्केला झनन्न हुनेगरि अगाडि र पछाडि छिटोछिटो ताली बजाउँ । उच्च बास भएको संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(३)शरीर तन्काउन ५ मिनेट उभिएर ताड र वृक्ष आसन गर्नेछौं । सिधा उभिाउँ, दुवै हातलाई तनक्क पारेर शिरमाथि सिधा राखौं, एकअर्को हातका औंला आपसमा फसाएर दुवै हात तनक्क तन्काएर हत्केलालाई आकाशतिर फर्काउँ र अव दुवै कुर्कुच्चा एकसाथ उठाउदै एकछिन अडिदै टेक्दै गरौं । २०-२५ पटक यही प्रक्रिया तथा विधि गरेर कुर्कुच्च उठाउदै टेक्दै गरि राखौं । अव वृक्ष आसनका लागि सिधा उभिउँ, दाहिने गोडाको पैतालाले देब्रे जांग तथा घुँडा भन्दा थोरैमाथि टेकौं, दुवै हातलाई तनक्क तन्काएर शिरमाथि राखेर नमस्कार गरौं, केहीबेर यही अवस्थामा अडिउँ । अव हात र गोडा विस्तारै झारेर सामान्य बनौं । यही प्रक्रिया तथा विधि दाहिने गोडामा पनि गरौं दुवैतिर पालैपालो ३-३ पटक गरि जम्मा ६ पटक । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
(४)शरीर तन्काउन १० मिनेट आंशिक सूर्य नमस्कार आसन, बक्र आसन र उत्कट आसन गर्नेछौं । सिधा उभिउँ, दुवै हातलाई तनक्क तन्काएर, दुवै कुम जकड्दै उचालेर हृदय अगाडि नमस्कार अवस्थामा राखौं । अव ढाड सिधा राखेर हिपलाई चुच्चो पारेर पछाडितिर ठेल्दै थोरै अगाडितिर झुकेर दुवै हातलाई अगाडि तनक्क तन्काउँ । अव दुवै हातलाई तनक्क तन्काउदै श्वास भर्दै शिरमाथि लैजाउँ सिधा पारेर र घुँडा नखुम्च्याइकन विस्तारै कम्मरदेखि माथिको भागलाई पछाडितिर सकेजति झुकाउँ कम्मरमा जोड पर्नेगरि । अव श्वास भर्दै सिधा बनौं र श्वास वाहिर छोड्दै ढाड, कुम सिधा राखेर, घुँडा नखुम्च्याइकन विस्तारै कम्मरदेखि शिरसम्मको भागलाई अगाडि भुईंतिर झुकाउँ र दुवै हातले दुवै गोडा तथा भुईं छुने प्रयास गरौं । अव श्वास भित्र भर्दै दुवै हातलाई तनक्क तन्काएर फेरी उसैगरि शिरमाथि लैजाउँ र अघिकै जसरी पछाडितिर झुकौं, फेरी अगाडि झुकौं । यही प्रक्रिया तथा विधि ३-४ पटक गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ ।
बक्र आसन गर्नका लागि सिधा उभिउँ, देब्र हातलाई देब्रेतिरबाट कम्मर पछाडि लगेर राखौं हत्केलो वाहिर फर्काएर, दाहिने हात देब्रे कुममाथि राखौं र अव श्वास वाहिर छोड्दै मुन्टो देब्रतिर घुमाएर आफ्नो कुर्कुच्चा तथा हिपलाई हेर्न तथा देख्न प्रयास गरौं, केही सेकेण्ड यही अवस्थामा अडिउँ र श्वास भित्र भर्दै विस्तारै अगाडि फर्कौं । यही प्रक्रिया तथा विधि दाहिने पट्टि पनि गरौं, दुवैतिर पालैपालो ५-५ पटक गरि जम्मा १० पटक गरौं ।
उत्कट आसन गर्नकालागि सिधा उभिउँ, गोडा १-२ फिट फारेर, दुवै हातलाई छाति अगाडि ल्याएर औंलाहरु एकआपसमा फसाएर दुई हातको एकै मुठ्ठि बनाउँ र कम्मर, ढाड, शिर सिधा राखेर विस्तारै हिपलाई भुईंतिर झारौं र कुर्शीमा बसेजस्तो गरौं र दुवै जांगमा आएको खिचाव तथा तन्काइलाई याद गरौं । केही सेकेन्ड यही अवस्थामा बसौं र विस्तार सिधा बनौं । यही प्रक्रिया तथा विधि ६-८ पटक गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस् पृष्ठभूमिमा, संगीतले मनलाई एकाग्र बनाउन मद्धत गर्दछ । योगासनको साधनापछि अव प्रायाणाम साधनाका लागि तयार बनौं ।
१५ मिनेट प्राणायाम
(१)भस्त्रिका प्राणायाम- ४ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र हातका विचका दुईवटा औंला र बुढी औंलाका टुप्पा जोडेर आकाशतिर फर्काएर घूँडामाथि राखौं । अव गर्धन र शिरलाई सिधा पारेर हल्का अगाडि झुकाउदै र सिधा हुदै मुख बन्द गरेर नाकबाट मात्र १०-१५ पटक छिट्टो ठूलो श्वास भित्र लिएर तुरुन्तै छिट्टो उहि गतिमा ठूलो श्वास वाहिर फालौं लगातार । यो प्रक्रिया तथा विधि शिरलाई मात्र तलमाथि गरेर पनि १०-१५ पटक तथा यो भन्दा अझ बढि पटक पनि गर्न सकिन्छ । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ ।
(२)पूरक-कुम्भक-रेचक प्राणायाम- ४ मिनेट पूरक-कुम्भव-रेचक प्राणायाम स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिन्छ । यसकालागि कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर ज्ञान मुद्रा बनाएर आकाशतिर फर्काएर घुँडामाथि राखौं । लामो श्वास भित्र लिनु पूरक क्रिया हो; श्वास भित्र रोक्नु अन्तर कुम्भक क्रिया हो; गहिरो श्वास वाहिर फाल्नु रेचक क्रिया हो; र श्वासलाई वाहिर फालेर रोक्नु वहिर कुम्भक हो । सबैभन्दा पहिला लामो श्वास भित्र लिएर ४-५ सेकेण्ड वा बढि समय श्वासलाई भित्र रोकौं र गहिरो श्वास वाहिर फालौं लिएको भन्दा डेढ गुणा बढि तथा ४-६ को अनुपातमा । गहिरो श्वास वाहिर फ्याकेपछि ४-५ सेकेण्ड वा बढि समय श्वासलाई वाहिरै रोकौं । फेरी यही प्रक्रिया अनुसार लामो श्वास भित्र लिउँ, रोकौं, गहिरो श्वास वाहिर फालौं र फेरी श्वास वाहिर रोकौं । यही प्रक्रिया तथा विधि आफ्नो अवस्था र आवश्यकता अनुसार दोहोर्याइ राखौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ ।
(३) अ-ऊ-म ॐकार प्राणायाम- ७ मिनेट कुर्शीमा गोडा झारेर तथा भुईंमा आसन ओछ्याएर पलेटी कसेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं र दुवै हातका बुढी र चोरी औंलाका टुप्पा जोडेर ज्ञान मुद्रा बनाएर आकाशतिर फर्काएर घुँडामाथि राखौं । अव लामो लय तानेर एक-एक श्वासभरि अ-उ-म अक्षर ॐकार उच्चाहरण प्राणायाम छुट्टा-छुट्टै गरि ३ पटक तथा अझ बढि पटक गरौं । यसपछि अ-उ-म तीनबटै अक्षर ॐकार उच्चाहरण प्राणायाम एउटै श्वासमा एकसाथ गरौं र यसपछि लामो लयमा आधा श्वासमा ओ... र आधा श्वासमा म्... हुनेगरि ॐ उच्चाहरण गरौं । मधूरो ध्वनिमा सुमधूर सौम्य संगीत बजिरहोस्, पृष्ठभूमिमा, संगीतले मन एकाग्र हुन मद्धत गर्दछ । प्राणायाम साधनापछि अव ध्यान साधनाका लागि तयार बनौं ।
२५ मिनेट ध्यान साधना
(१)शुरुमा १० मिनेट मैले बजाएको मध्यम लयमा रहेको अनाहद चक्रको ‘यं~~’ विज मन्त्र एकसाथ उच्चाहरण गरौं र अनाहद चक्र स्थित रहेको स्थान छातिको विच भागमा तथा त्यहाँनेरको मेरुदण्डको भित्रि भागमा हरियो रंगको बिजुलीको चम्किलो बल्बको रुपमा अनाहद चक्र तथा वायु तत्वलाई याद गरौं ।
(२) बाँकी समय तथा १५ मिनेट मैले बजाएको अर्को लामो लयमा रहेको अनाहद चक्रको ‘यं~~’ विज मन्त्र सुन्दै अनाहद चक्र स्थित रहेको स्थान छातिको विच भागमा तथा त्यहाँनेरको मेरुदण्डको भित्रि भागमा हरियो रंगको फुटबल आकारको चम्किला किरणहरु प्रज्वलित भैरहेको प्रकाश पुञ्जको रुपमा अनाहद चक्र तथा वायु तत्वलाई याद गरौं अत्यन्तै ध्यान दिएर मन कतै नभड्काइकन, मन भड्कियो भने लामो श्वास भित्र तान्नुहोस् र गहिरो श्वास वाहिर फाल्नुहोस्, मन तुरुन्तै अनाहद चक्रको ‘यं~~’ विज मन्त्रको लयमा तथा वर्तमानमा फर्किनेछ... ।
‘यं~~’ विज मन्त्र लयात्मक उच्चाहरण र तरंग ध्वनि
https://www.youtube.com/watch?v=MHBADD6vW_U
‘यं~~’ विज मन्त्र लयात्मक उच्चाहरण र तरंग ध्वनि
https://www.youtube.com/watch?v=I2jWi5_V5rk
हाम्रो साधनाको समय पूरा भएको छ, अव विस्तारै ध्यान साधनाबाट वाहिर आउन मन र शरीरलाई तयार गरौं…, ३ पटक लामो-गहिरो श्वास लिउँ र ३ पटक लामो लयमा एक श्वासभरि नादब्रम्ह ॐकारको उच्चाहरण गरौं; ॐकारं वन्दना गरौं; हरिगुरु वन्दना गरौं; र सारा जगतको सुख र शान्तिका लागि सर्वकल्याण भाव व्यक्त गरौं-
कामदं मोक्षदं चैव ॐकाराय नमो नमः॥
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
दुवै हातका हत्केलालाई एकआपसमा रगडौं, घर्षणबाट न्यानो भएका हत्केला को दिव्य उर्जालाई हल्कासंग आँखामाथि राखौं र हत्केला का रेखाहरु हेर्दैहेर्दै विस्तार आँखा खोलौं र सामान्य बनौं, विस्तारै गोडा खोलौं, पसरौं तथा पूरै शरीर चलाउँ ।
प्रश्नः कस्तो अनुभव भयो आजको एक घण्टा विगत ७ दिनदेखिको योगासन, प्राणायाम र ध्यान साधनापछि ?
उत्तरः म सहज भैरहेको छु, म शरीरले भन्दा बढि मनका विचार, भावनात्मक संवेग, बेचैनी, अशान्ति, खराव सम्वन्धहरु, भविश्यको असुरक्षाबाट बढि पिडित थिएं अरुले मेरोलागि केही गरि दिएनन् भनेर तर वास्तविकतामात मैले पो अरुकोलागि केही नगरेको रहेछु । मेरो शरीर र जीवनशैलीमा त परिवर्तन आएको स्पष्ट थाहा भैरहेको छ, साथसाथ मेरो सोच, विचार, भाव, नियतमा पनि फरक प्रकारले परिवर्तन आएको छ गुरुवर ।
उत्तरः अवश्य आउनेछ कुञ्जना, योग साधनालाई जीवनको एक महत्वपूर्ण अंगका रुपमा नियमित बनाउनुस् अझै तपाईंले कल्पनानै नगर्नु भएका उपलव्धिहरु हासिल गर्नुहुनेछ । जव निरन्तर योग साधनाबाट प्राप्त हुने प्राण उर्जा तथा जीवन उर्जा शरीर, मन, भाव, वुद्धिको तहमा अभाव तथा अपर्याप्त भएको उजाको अपूर्ति पुर्याएर आत्मा अर्थात चेतनाको तहमा पुग्छ र आत्मा अर्थात चेतनाको विकास हुन प्रारम्भ हुन्छ तव जीवनमा आध्यात्मिक प्रगति हुन प्रारम्भ हुन्छ र साधकलाई पराभौतिक संसारका चमत्कारिक रहस्यहरु अनुभव तथा अनुभूतिमा आउन थाल्छन् र जीवनमा अझ आन्तरिक शान्ति र आनन्द बढ्दै जान्छ, सांसारिक जीवनप्रतिको लगाव तथा आशक्ति स्वतः कम भएर जान्छ, सन्तोष् र स्वीकार भावमा वृद्धि हुन्छ र व्यक्तिले आफू स्वयंभित्र रहेका आन्तरिक सुख, खुशी, ऐश्वर्य, शान्ति, आनन्द महसुस गर्नथाल्छ जो दिगो हुन्छन् वाहिरका विषय तथा गतिविधिहरुले आन्तरिक उपलव्धिहरुलाई कुनै प्रकारले प्रभाव पार्न सक्दैनन् ।
योग साधनाका थप विधि र सामान्य नियमहरु तपाईंलाई दिन्छु, आफ्नो समय, अवस्था, परिस्थिति विचार गरेर आफैंले दैनिक रुपमा एकदेखि डेढ घण्टाको योग साधना प्याकेज बनाउन सक्नुहुन्छ र यसबाट अझ बढि लाभ हासिल गर्न सक्नु हुन्छ शारीरिक तथा मानसिकका साथसाथ भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक रुपमा र सांसारिक जीवनको विकाससंगै पारमार्थिक तथा आध्यात्मिक जीवनमा पनि परिवर्तन आएको तथा विकास भएको अनुभव गर्न सक्नु हुनेछ । ज्ञान बाडियो भने अझ बढ्छ कुञ्जना त्यसैले आफूले जानेका सनातन ज्ञानगुनका कुराहरु अरुलाई पनि सिकाउनु होला, यो सेवा हो र सेवा नै धर्म हो, धर्म नै पुण्य हो, पुण्य नै मुक्ति हो, मुक्तिनै मोक्ष तथा परमात्मा प्राप्ति हो, जन्म र मृत्युको चक्रबाट माथि उठ्नु हो । यो एक हप्ताको कक्षा समापनपछि पनि आवश्यकता महसुस भयो भने तपाईं तथा योग साधनाको अवसर तथा सेवा खोजिरहेका जोकोहीले पनि मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
योगासनका सामान्य नियमहरु
स्थुल शरीर तताउन शरीर चलायमान गराउने तथा हल्का उफ्रिने प्रकारका कदमचाल व्यायाम पाँच मिनेट र शरीर खुलाउन शरीरका हरेक अंग–अंगको सुक्ष्म व्यायाम पाँचदेखि दश मिनेट गरिसकेपछि मात्र उभिएर, बसेर, घोप्टेर तथा उत्तानो पल्टेर गर्ने योगका आासनहरु गर्न प्रारम्भ गर्नु पर्दछ ताकि योगासन गर्न शरीर र मन हरप्रकारले लचिलो, फुर्तिलो भएर तयार भएको होस् र आसनहरु लगाउदा सामान्य बाहेक जटिल प्रकारका असहजता, पिडा तथा अस्वस्थताहरु नआउन् । आमरुपमा प्रयोगमा ल्याउदै आइएका र सबै उमेर तथा लिंगका व्यक्तिहरुलाई उपयुक्त हुने प्रकारका र कुनै प्रकारका नकारात्मक प्रभाव नभएका उभिएर गरिने योगका केही आसनहरु र शरीर तताउन गरिने कदमचाल व्यायाम तथा शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम निम्नप्रकारका रहेका छन्–
शरीर तताउन गरिने कदमचाल व्यायाम
सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, सानो हाते बल उफार्दै खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।
शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम
कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं ।
सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णताले भरिन थाल्छ ।
आजको योग साधनाको सातौं तथा अन्तिम कक्षा यहीं सम्पन्न भएकोछ । संधै सुखी, खुशी र शान्त रहनुस्, वास्तविक समृद्धि तथा सम्पन्नता आन्तरिक सुख, खुशी, शान्ति र आनन्द हो यो आफैंभित्र छ, वाहिर खोजेर पाइदैन, वाहिर खोज्ने प्रयास गर्यौं भने हामीसंग भएको पनि क्षय भएर जान्छ, तपाईंलाई त्यही भएको हो र क्रमिक रुपमा तपाईंको स्वास्थ्य र शरीर व्यवस्थित हुदै गैरहेको छ, सबै सहि हुन्छ अव विस्तारै, आस्था राख्नुस् । शुभदिन !
हस्, शुभदिन ! गुरुवर !! धेरै धन्यवाद !!!
हरि ॐ तत्सत् !
हे ॐकार स्वरुप हरि, केवल तिमी सत्य छौ !!
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
++
योग साधना सम्वन्धि शिवोहम् योगपीठका केही लिंकहरु-
सबैलागि उपयुक्त योग साधनाको एकघण्टाको पूर्णप्याकेज
https://bsirjana.blogspot.com/2025/09/blog-post_22.html
योगीक साधनाको प्रयोगात्मक अभ्यास
https://bsirjana.blogspot.com/2025/10/blog-post.html
प्राणायामको वैज्ञानिकता र प्रभावकारिता
https://bsirjana.blogspot.com/2025/11/blog-post_30.html
श्वास तथा प्राणको वास्तविकता र योगीक महत्व
https://bsirjana.blogspot.com/2025/10/blog-post_9.html
उत्तानो पल्टेर गरिने योगका आसनहरु
https://bsirjana.blogspot.com/2025/08/blog-post_31.html
घोप्टो परेर गरिने योगका आसनहरु
https://bsirjana.blogspot.com/2025/08/blog-post_29.html
बसेर गरिने योगका आसनहरु
https://bsirjana.blogspot.com/2025/08/blog-post_27.html
उभिएर गरिने योगका आसनहरु
https://bsirjana.blogspot.com/2025/08/blog-post_24.html
जुनसुकै अवस्थामा गर्न सकिने योग साधनाका विधिहरु
https://bsirjana.blogspot.com/2025/09/blog-post_13.html
आकस्मिक अवस्थामा गरिने योग साधनाका विधिहरु
https://bsirjana.blogspot.com/2025/09/blog-post_4.html
योगीक षटक्रियाहरुको साधना र प्रभावकारिता
https://bsirjana.blogspot.com/2025/09/blog-post_16.html
अध्यात्म विज्ञानका त्रिरत्न– योगासन, प्राणायम, धारणा
https://bsirjana.blogspot.com/2025/08/blog-post_22.html
पूर्ण जीवनको विज्ञान
https://bsirjana.blogspot.com/2025/08/blog-post_20.html
चेतना तथा उर्जाको विकासमा ध्यान साधनाको प्रभावकारिता
https://bsirjana.blogspot.com/2025/08/blog-post_13.html
https://bsirjana.blogspot.com/2025/08/blog-post_15.html
https://bsirjana.blogspot.com/2025/08/blog-post_18.html
ध्यान साधना र उर्जा शुद्धि
https://bsirjana.blogspot.com/2025/08/blog-post_11.html
उर्जाको तह बढाउन सनातन अध्यात्म दर्शनमा उल्लेखित विधिहरु
https://bsirjana.blogspot.com/2025/07/blog-post_31.html
https://bsirjana.blogspot.com/2025/08/blog-post_4.html
https://bsirjana.blogspot.com/2025/08/blog-post_6.html
https://bsirjana.blogspot.com/2025/08/blog-post_8.html
रेकी तथा ब्रम्हाण्डिय महाउर्जाले कसरी काम गर्छ
https://bsirjana.blogspot.com/2025/07/blog-post_24.html
https://bsirjana.blogspot.com/2025/07/blog-post_29.html
अध्यात्म विज्ञानको दृष्टिकोणमा उर्जा क्षेत्र अर्थात आभामण्डल
https://bsirjana.blogspot.com/2025/07/blog-post_7.html
https://bsirjana.blogspot.com/2025/07/blog-post_18.html
मेरो चेतनाको तह जस्तो छ मेरो जीवन त्यस्तै हुन्छ
https://bsirjana.blogspot.com/2025/05/blog-post_9.html
https://bsirjana.blogspot.com/2025/05/blog-post_17.html
https://bsirjana.blogspot.com/2025/05/blog-post_31.html
समुच्चा ब्रम्हाण्डको सर्जक हामी स्वयं हौं
https://bsirjana.blogspot.com/2025/05/blog-post.html
https://bsirjana.blogspot.com/2025/05/blog-post_6.html
मस्तिष्क र मुटु तथा
मन र हृदयको सह-सम्वन्ध
-
#अध्यात्म_विज्ञान # धर्म_विज्ञान #जीवन_विज्ञान योग साधना - चौथो कक्षा स...
-
#अध्यात्म_विज्ञान # धर्म_विज्ञान #जीवन_विज्ञान सवाल जवाफ श्रृंखला सवाल...
-
#अध्यात्म_विज्ञान # धर्म_विज्ञान #जीवन_विज्ञान योग साधना - दोस्रो कक्षा सवाल...