Friday, 28 November 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -१

#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान

                                                  सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

१. सवाल: D

ध्यान साधनाको व्यवहारिक परिभाषा के हो ?

जवाफ:

सदा सहज, सरल, सन्तुलित तथा व्यवस्थित जीवनकालागि मनुष्यको तन र मन दुवै स्वस्थ अवस्थामा रहनु अत्यावश्यक हुन्छ । स्वस्थ जीवनको कुनै तरिका तथा उपाय वाहिरको संसारमा छैन, यो क्षमता हामी भित्रै छ । आफूभित्रको क्षमता जागरुक गराउने एकमात्र भरपर्दो उपाय तथा माध्यम ध्यान साधना हो किनकी ध्यान साधना मनुष्यका सबै समस्याहरुको समाधान र सबै सवालहरुको जवाफ हो, त्यसैले भन्ने गरिन्छ समस्या अनेक तर समाधान एक ‘ध्यान’ । छोटकरीमा भन्नुपर्दा  ‘ध्यान’ शरीर र मनको उर्जा बढाउने पलपलको सजगता र सक्रियताको अभ्यास हो ताकि हरपल शरीर र मन उर्जावान अवस्थामा रहिरहुन् र हरेक काम समयमै सफलतापूर्वक सम्पन्न हुन सकुन् । सबैकालागि सहज र अत्यन्तै व्यवहारिक हुने ‘ध्यान’ प्रयोगात्मक अभ्यासको माध्यमबाट गरिने साधना पद्धति हो र आफ्नो फाइदाकालागि हरेक व्यक्तिले आफू स्वयंले नै गर्नुपर्छ अनिवार्य रुपमा, अर्काले ध्यान गरिदिएर आफूलाई फाइदा हुदैन गर्नेलाईनै फाइदा हुन्छ । 


ध्यान साधनाका केही मुख्य प्रक्रिया तथा विधिहरु 

कम्मर, ढाड, गर्धन, शिर सिधा, बन्द आँखा, हातमा ज्ञान तथा ध्यान मुद्रा, मनलाई एउटा सकारात्मक विषयमा केन्द्रित गरेर पूर्ण होस तथा सजगताको अनुशरण गर्दै आफूभित्र प्रवेश गर्नुपर्दछ तथा आफूभित्र उठेका विचारहरुलाई तटस्थ भएर नियाल्नु पर्दछ । आफूभित्रको अन्तरयात्रा गरेर मात्र आफैंभित्र उचित अवसरको अभावमा सुसुप्त अवस्थामा रहेका आफू संधै हरप्रकारले स्वस्थ, सन्तुलित र व्यवस्थित रहनसक्ने; सुखी तथा खुशी रहनसक्ने; आत्मविश्वासले भरिन सक्ने; सम्वन्ध विस्तार गर्न तथा प्रेमल रहन सक्ने; ज्ञान, वुद्धि विवेकले भरिन सक्ने; आफ्नो जीवनको लक्ष्यप्रति संकल्पकृत र एकाकार हुनसक्ने; अरुप्रति विश्वास तथा आस्था र आशावादी रहनसक्ने, अस्तित्वप्रति आस्था र विश्वास राख्नसक्ने आदि आफ्ना अमूल्य क्षमताहरु जगाएर जीवनका सबै आयामहरुलाई स्वस्थ, सन्तुलित, व्यवस्थित र विकसित बनाउन सकिन्छ । यसरी आफैंभित्र रहेका आफ्ना सबै मूल्यवान क्षमताहरु पूर्णरुपमा जाग्रीत गरेर आफ्नो तन, मन, भाव, आत्मा अर्थात चेतना तथा समग्र जीवनलाई स्वस्थ, सन्तुलित, व्यवस्थित र विकसित गर्दै आफूलाई सांसारिक जीवनको सफलताको मार्गमा अगाडि बढाउदै एकैसाथ पारमार्थिक जीवनको विकासका लागि आध्यात्मिक मार्गमा पनि अगाडि बढाउन सकिन्छ । ध्यान साधनालाई यसप्रकारले निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु नै ध्यान साधनाको व्यवहारिक परिभाषा र व्यवहारिक प्रयोग हो । ध्यान साधनाको वास्तविक परिभाषा केही क्रिया तथा प्रक्रियाहरु नगरी चुपचाप आफूभित्र र आफू रहेको स्थान वरिपरिका गतिविधिहरु सुक्ष्म रुपमा नियालेर बसिरहनु भन्ने भएपनि हिजोआजका मनुष्यहरुको अभ्यासमा ध्यान गर्ने भन्ने शव्दावली धेरै प्रचलनमा रहदै आएकोले सबैले बुझ्ने भाषा 'ध्यान गर्ने' भन्ने शव्दावली तथा भाषा नै प्रयोग गर्नु आवश्यकता भएको छ तर ध्यान गर्नु भन्ने शव्दावली खासमा धारणा गर्नु भन्ने हो, तसर्थ ध्यानको व्यवहारिक परिभाषा धारणा गर्नु हो र ध्यान नगर्नु भन्ने अर्थ तथा परिभाषा अन्तर्गत पर्दछ । ध्यानको व्यवहारिक परिभाषा धारणा गर्नु, ध्यान नगर्नु अर्थका धेरै प्रकार, क्रिया, प्रक्रिया तथा विधिहरु रहेका भएपनि प्रमुख दुई प्रकारका विधिहरु सबैकालगि सहज र व्यवहारिक मानिएका छन्– (१)आफूलाई वर्तमान गतिविधिहरुमा केन्द्रित तथा सजग राखेर गरिने 'साक्षी भाव ध्यान', र (२)कुनै सकारात्मक विषय तथा घटनामा निरन्तर आफ्नो मन टिकाएर गरिने 'विषय केन्द्रित ध्यान' । 

                                                                               डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ 


**********************************************

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

२. सवाल:

ध्यान र साक्षीमा के अन्तर छ ?

जवाफ:

प्राय धेरै ध्यान साधकहरु ध्यान र साक्षी के हो र यी दुईविचमा केके समानता तथा असमानताहरु छन् भन्ने कुरामा अल्मलिएका पाइन्छन् । शाव्दिक अर्थको दृष्टिकोणले ध्यान र साक्षीको परिभाषा एकै हो कुनै घटना तथा विषयप्रति सजग, होसपूर्ण तथा एकाग्र रहनु तर भाव र प्रक्रियाको दृष्टिकोणबाट यी दुईविच निकै गहिरो अन्तर रहेको छ । ध्यान एक अवस्था हो क्रिया तथा प्रक्रिया होइन, निश्चित प्रकारका प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर कुनै घटना तथा विषयप्रति एकाग्र भएर तथा धारणा गरेर एकाग्रता तथा धारणा गहिरिएपछि स्वतः ध्यानको अवस्था बन्दछ र ध्यान मन भन्दा माथि अमनी अवस्था तथा विचार शुन्यताको अवस्था हो । तसर्थ शुद्ध शव्द, भाषा तथा भावको प्रयोग गर्ने हो भने धारणा र साक्षीमा के अन्तर छ भन्नुपर्ने हुन्छ । 


धारणा तथा एकाग्रता के हो ? 

धारणा विशेष प्रकारको अभ्यास हो जस अन्तर्गत आफ्नो मनलाई आफूभित्र केन्द्रित गरिन्छ र आफूसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेका आफ्नो जीवनका सबै आयामका घटना तथा विषयहरुलाई सुक्ष्म रुपमा एक-एक गरि केलाएर हेर्ने तथा विश्लेषण गर्ने प्रयास गरिन्छ तथा एकपटकमा कुनै एक घटना तथा विषयमाथि मनलाई टिकाएर त्यसको सुक्ष्म निरिक्षण गरिन्छ आफू पूर्णतः तटस्थ भएर । यो प्रक्रियाले धारणा गर्दा साधना प्रारम्भ गरेको केही समयपछि(साधक र वरिपरिको अवस्था अनुसार तीनदेखि दशमिनेटमा) विस्तारै साधकको मस्तिष्क, शरीर, मन, भाव एकाग्र, स्थिर तथा शान्त हुदै अमनी अवस्था तथा विचार शुन्यताको अवस्थामा प्रवेश गर्दछ र यही अवस्था नै ध्यानको अवस्था हो जहाँ साधकलाई स्थिरता र शान्तिको अनुभूति हुन्छ। ध्यानको अवस्थामा साधकले आफ्नो अन्तरहृदय तथा अन्तरआत्माको आवाजलाई सुन्न थाल्दछ र उसलाई विस्तारै अन्तरदृष्टि, अन्तरज्ञान, आत्मवोध तथा आत्मज्ञान हासिल हुदैजान्छ । 


साक्षी भाव तथा माइन्डफुलनेस के हो ?

वर्तमान समयमा आफ्नो शरीर र मन जहाँ जुन अवस्थामा छ तथा वर्तमान समयमा शरीर र मनले सानो तथा ठूलो जे काम गरिरहेको छ त्यसप्रति साक्षी तथा एकाग्र तथा होसपूर्ण हुनु तथा वर्तमानमा स्थित रहनु साक्षी तथा माइन्डफुलनेस हो । साक्षीको अभ्यास आफूभित्र तथा आन्तरिक संसार र आफूवाहिर तथा वाहिरी संसार दुवैतिर हुनसक्ने भएपनि अधिकांशतः आन्तरिक गतिविधि भन्दा वाहिरी गतिविधिहरुमा बढि केन्द्रित र एकाग्र हुने गर्दछ आफूले थाहा नपाइकन नै । समग्रमा भन्नु पर्दा आफ्नो दैनिक जीवनयापनका तमाम गतिविधिहरुप्रति जाग्रीत, सजग तथा होसमा रहनु नै साक्षी भावको साधना हो जसले मनुष्यको सांसारिक जीवनमा सकारात्मक विकास गर्दछ । यहाँनेर आइपुग्दा धारणा र साक्षीमा ‘एकाग्रता’ तथा ‘सजगता’ को अभ्यास समान हुन आउछ, बाँकी अरु सबै प्रक्रिया तथा विधिहरु फरक रहेकाछन् । प्रभावकारिता तथा उपलव्धिको दृटिकोणबाट धारणा तथा ध्यान साधना मनुष्य मस्तिष्कको विकासका लागि गहन व्यायाम योगासन तथा प्राणायाम, जिम तथा एरोविकको अभ्यास गरे सरह हो र साक्षी भाव साधना सामान्य किसिमले प्रातः भ्रमण तथा हिडडुल गरे सरह हो अर्थात साक्षी भाव हल्का तथा सरल साधना हो र धारणा तथा ध्यान गहन तथा अलिक मुस्किल साधना हो तर साक्षी भाव साधनाका हरेक गतिविधिहरुले धारणा तथा ध्यान साधनाको विकासमा कोशे ढुंगा तथा सहयोगीको काम गर्दछन् ।


विशेषज्ञहरुको मत अनुसार

सनातन अध्यात्म विज्ञानमा आधारित रहेर युगऋषि श्रद्धेय ओशो रजनीशले गर्नुभएको व्याख्या तथा विश्लेषण अनुसार मन भन्दा माथि जानु तथा मनातीत, भावातीत अवस्थामा स्थित हुनु ध्यान हो र आधूनिक मनोविज्ञानका अनुसार मनलाई हेर्नु, मनको विश्लेषण गर्नु तथा शरीर र मन जहाँ छ त्यहाँ आफूलाई एकाग्रता पूर्वक टिकाउनु तथा केन्द्रित गर्नु तथा त्यसप्रति साक्षी हुनु ध्यान हो । तर वास्तविकतामा मनलाई हेर्नु तथा मनको विश्लेषण गर्नु ध्यान होइन, यो साक्षी भाव तथा माइन्डफुलनेस हो । आधूनिक कालको आजसम्मको अध्ययनलाई हेर्दा आधूनिक मनोविज्ञानले साक्षी भावको मात्र व्याख्या तथा विश्लेषण गर्दै आइरहेको छ र ध्यान भनेर आम मनुष्यहरुलाई त्यही सिकाउदै आइरहेको छ, वास्तविक ध्यानको विषयमा प्रवेश गरेकै छैन तथा प्रवेश गरेको भएपनि अत्यन्तै नगन्य एक–दुई प्रतिशतको अवस्थामा रहेको छ । यस सन्दर्भमा वरिष्ठ न्युरो सर्जन डा. श्वेता आदितियाले भन्नुभएको छ, “योगभूमि तथा तपोभूमि नेपाल, भारत, तिव्वतबाट प्रतिपादित भएका प्राचीन पूर्वीय सनातन ज्ञान, विज्ञान तथा महाज्ञानहरुलाई आधूनिक विज्ञान, आधूनिक चिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञानले भर्खर कोट्याउन प्रयास गरेको छ र यसलाई अनुशरण गर्दै आएको छ जो अत्यन्तै न्यून अवस्थामा रहेको छ, एक–दुई प्रतिशत मात्र, ध्यान त एक विहंगम विषय हो ।” 


                                                                                   डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


No comments:

Post a Comment

पूर्वीय सनातन दर्शनको ऐतिहासिक विकासक्रमको पाँचौ लहर: नव वेदान्त युग

  डा. सिर्जना भण्डारी                                                                                                  #अध्यात्म_विज्ञान  # ...