Saturday, 29 November 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -२

#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान

                                                     सवाल जवाफ श्रृंखला


सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

३. सवालः

गुरुको परिचय र तह केके हुन् ?

जवाफः

भगवान श्रीदत्तात्रयले भन्नु भएको छ, “सामान्य अर्थमा मनुष्यको जीवन सहज तथा सरल ढंगले सुचारु राख्नकालागि सबै प्रकारका वाहिरी सूचना, जानकारी, ज्ञान, विज्ञान तथा अविद्या प्रदान गर्ने हरेक व्यक्ति, प्राणी, वनस्पति, पदार्थ तथा समग्र प्रकृति नै गुरु हो हरेक सामान्य मनुष्यका लागि तर अलिक आत्मा अर्थात चेतनाको विकास भएका मनुष्यका लागि गुरुको वास्तविक अर्थ, महत्व र तहको विशेष भूमिका रहन्छ ।” 

तहगत आधारमा गुरुका तीन प्रकार तथा तह रहेका छन्– (१)गुरु तथा शिक्षक, (२)सदगुरु तथा सिद्ध आत्मा, र (३)हरिगुरु तथा स्वयं परमात्मा । 

(१) गुरु 

गुरु त्यो हो जसले मनुष्यको सांसारिक जीवन विकसित गराउनका लागि विभिन्न पक्षहरुका आवश्यक भौतिक तथा फिजिकल ज्ञान तथा विज्ञान प्रदान गर्दछ । माता–पिता, विद्यालयका शिक्षक–शिक्षिका, अनुभवी अग्रजहरु, साथीसम्वन्धि तथा समग्र प्रकृति गुरु हुन सक्दछन् ।

(२) सदगुरु 

सदगुरु त्यो हो जो परमसत्यमा स्थित भैसकेको हुन्छ र उसले आफ्ना शिष्यहरुको पारमार्थिक तथा आध्यात्मिक जीवन विकसित गराउनका लागि धर्म–अध्यात्म, जीवन–जगत, आत्मा–परमात्माको पराभौतिक तथा मेटाफिजिकल ज्ञान, विज्ञान, प्रज्ञा तथा विद्या प्रदान गर्दछ । आफू स्वयं परमात्मामा एकाकार तथा योगस्थ भैसकेको सिद्ध आत्मा तथा चैतन्य चेतना कोही योगी, सन्त, साधू, भिक्षु, पादरी, मौलाना मात्र सदगुरु हुन सक्दछन् । वाहिरी आवरणले सदगुरुको पहिचान हुन सक्दैन अर्थात उ सिद्ध आत्मा तथा चैतन्य चेतना हो कि होइन भनेर चिन्न सकिदैन । उसको आत्मा अर्थात चेतनाको विकासका आधारमा मात्र उ शिद्ध आत्मा तथा चैतन्य चेतना कहलाउछ तसर्थ यस सन्दर्भमा कसैले कसैलाई सदगुरुको उपाधि दिइदैन, यो हरेक आत्मा अर्थात चेतनाको आ–आफ्नै आध्यात्मिक इमान्दारिता हो आफू गुरु हो या सदगुरु हो भनेर अरु समक्ष सार्वजनिक हुने र परमात्मा प्रदत्त अधिकार सम्पन्नताका साथ परमात्मा साक्षातकारका मुमुक्षुहरुलाई धर्म–अध्यात्म, जीवन–जगत, आत्मा–परमात्माको सम्वन्धमा आफू स्वयंले गहन अध्यात्म साधनाबाट हासिल गरेका ज्ञान, विज्ञान, प्रज्ञा, विद्या, अनुभव, तथा अनुभूतिहरु प्रदान गर्ने । माता–पिता स्वयं पनि सदगुरु हुन सक्नुहुन्छ यदि वहाँहरुको प्रज्ञा चक्षु उघ्रेको छ तथा आत्मा अर्थात चेतनाको समुचित विकास भएको छ भने । पंक्तिकार(म सिर्जना भण्डारी)को सदगुरु मेरो जन्मदाता मेरो पिताजी आध्यात्मिक तथा धार्मिक व्यक्तित्व श्रद्धेय श्री भुवनेश्वर भण्डारी स्वयं नै हुनुहुन्छ । वहाँले प्रदान गर्नु भएका अमूल्य धर्म–अध्यात्म, जीवन–जगत, आत्मा–परमात्मा सम्वन्धि पराभौतिक तथा परालौकिक ज्ञान तथा विज्ञानहरुले मलाई आफ्नो अन्तरहृदयमा स्थित आन्तरिक गुरु तथा हरिगुरुसम्म पुग्न अत्यन्तै ठूलो मद्धत मिल्यो । बारबार शिर झुकाएर नमन गर्दछु परमात्माका अनन्य भक्त तथा सेवक श्रद्धेय पिताजीप्रति ।


(३) हरिगुरु

हरिगुरु त्यो तत्वलाई मानिन्छ तथा भनिन्छ जो हरि अर्थात इश्वर पनि हो र गुरु पनि उ स्वयं नै हो जसले जीवनको उच्चतम विकासका उपायहरु सिकाउछ । हरिगुरु वाहिर कतै नभएर हरेक व्यक्तिको अन्तरहृदयमा स्थित रहेको हुन्छ सदा । हरेक व्यक्तिको अन्तरहृदयमा रहेको आन्तरिक गुरु नै स्वयं हरिगुरु अर्थात परमात्मा अर्थात परब्रह्म हो । मनुष्यको अन्तरहृदयमा रहेको यही आन्तरिक गुरु तथा हरिगुरुप्रति समर्पित गरिएको हो गुरु स्तोत्र तथा गुरु महामन्त्र, ‘गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः । गुरुर साक्षात परब्रह्मा तस्मै श्री गुरवे नमः ।।‘ वाहिरका सबै गुरु तथा सदगुरुहरु साधकको आन्तरिक गुरु तथा हरिगुरुसम्म पुर्याउने सिढी तथा माध्यमहरु मात्र हुन् । आफ्नो आन्तरिक गुरु तथा हरिगुरुको खोजी सनातन अध्यात्मको गहन साधनाहरुका माध्यमबाट हरेक साधकले अनिवार्य रुपमा आफू स्वयंले नै गर्नुपर्दछ, अरु कसैको आशिर्वाद तथा कृपाले हरिगुरुसंगको साक्षातकार सम्भव हुदैन । साधकको प्रत्यत्न र स्वयं हरिगुरु अर्थात परमात्माको दिव्य कृपा तथा आशिर्वादबाट मात्र आफ्नो अन्तरहृदयमा स्थित रहेको आन्तरिक गुरु तथा हरिगुरु साक्षातकार सम्भव हुन सक्दछ ।


                                                                  शिवोहम् !

                                                   डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


*****************************************************


सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

४. सवालः

हरिगुरुको दिव्य कृपा तथा आशिर्वादको सन्दर्भ के हो ?

जवाफः

हामी सबैले हाम्रो दैनिक दिनचर्यामा बारबार सुन्दै आइरहेका र बोलिचालिको भाषामा प्रयोग पनि गर्दै आइरहेका छौं एउटा अत्यन्तै लोकप्रिय र प्रशिद्ध शव्दावली, ‘भगवानको लीला’ अर्थात ‘परालौकिक रहस्य’ । थुप्रै दिव्य भक्तहरुले आफ्ना प्रत्यक्ष अनुभव तथा अनुभूतिहरु सुनाएका छन् कि भगवान उनीहरुसंग अदृश्य रुपमा संवाद गर्नुहुन्छ; दृश्य रुपमा देखिनु हुन्छ तथा दर्शन दिनुहुन्छ; एकसाथ हिड्नु हुन्छ तथा भोजन गर्नुहुन्छ; दुःखमा शान्त्वना दिनुहुन्छ; सुखमा भक्तसंगै खुशी र उमगंमा नाच्नु हुन्छ आदि । हो, यी सबै अनुभव तथा अनुभूतिहरु सत्य हुन्, भगवान साक्षात हुनुहुन्छ र यसै गर्नुहुन्छ आफ्ना अनन्य भक्तहरुसंग किनकी यी अनुभव तथा अनुभूतिहरुको प्रत्यक्ष साक्षी पंक्तिकार(म सिर्जना भण्डारी) स्वयं पनि रहदै आएको छु । ‘भगवान’ तथा ‘देवी–देवताहरु’ स्वयं निराकार, निर्गुण तथा अव्यक्त ‘परमात्मा’ को साक्षात आकार, गुण तथा व्यक्त रुवरुप हुनुहुन्छ । साक्षात भगवान तथा देवी–देवताहरुको साक्षातकार निष्ठापूर्वक गहन अध्यात्म साधनाका विधिहरु– योगीक साधना, साक्षी, मौन, धारणा, ध्यान, समाधि, नाम जप, मन्त्र उच्चाहरण, नाम तथा मन्त्र स्मरण, भक्तिगान, भजन, किर्तन, परमात्माका सिर्जनहरुको निस्काम सेवा आदि गरेर हासिल गर्न सकिन्छ, परमात्मालाई आफ्नो समिप बनाउन सकिन्छ तथा आफू परमात्माको समिप हुन सकिन्छ । यही शाश्वत ज्ञान हामीमाझ सनातन कालदेखि निरन्तर पुस्तानतरण हुदै आइरहेको छ । अध्यात्म साधनाका विधिहरु खासगरि धारणा, ध्यान, समाधि, नाम जप तथा मन्त्र उच्चाहरण साधना गर्दाको समयमा भगवान आफूसंग भएको, भगवानसंग आफू हिडेको, बोलेको, रमाएको गहन कल्पना तथा दृश्यावलोकन गर्दा स्वयं परमात्माका आकार, गुण तथा व्यक्त स्वरुप भगवान तथा देवी–देवताहरु साधकको समिपमा आउनुहुन्छ र साधकलाई हरिगुरुको दिव्य कृपा तथा आशिर्वाद प्रदान गर्नुहुन्छ । 


छिमेकी देश देवभूमि भारतमा श्रीकृष्ण भक्तहरुको समुह स्कोनको एक भजन मण्डलीका सदस्यहरुले प्रत्यक्ष अनुभव गरेका थिए आफूलाई भगवान तथा देवी–देवताहरुको प्रत्यक्ष सानिध्यमा पाएको तथा भगवानको साक्षातकार भएको र भगवानको दिव्य कृपा तथा आशिर्वाद प्राप्त भएको । ‘हरे कृष्ण, हरे राम’ महामन्त्र नाम जप ध्यान साधनामा राखेर श्रीकृष्ण भजन मण्डलीका केही सदस्यहरुलाई भगवान श्रीकृष्ण र माता राधारानीसंग सुन्दर प्रकृतिमा एकसाथ सयर गरेको; राधा–कृष्ण एकसाथ पिंग खेलिरहनु भएको; राधा–कृष्ण तलाउको किनारको कञ्चन सफा पानीमा खालि गोडा हिडिरहनु भएको काल्पनिक दृश्यावलोकन गर्न लगाइएको थियो । नाम जप ध्यान साधनाका सहभागिहरुलाई साधनाका क्रममा यो काल्पनिक दृश्यावलोकन वास्तविक र प्रत्यक्ष जस्तो अनुभूति भैरहेको थियो प्रभुहरु राधा–कृष्णको सयर, पिंग खेलाई, पानीमा खालि गोडाको हिडाई आदि । तलाउ किनारको कञ्चन सफा पानीमा माता राधारानीले खालि गोडा हिड्दै गोडाले पानी छ्याप्ल्याक पार्नुहुदा पानी छल्केर एक साधकले आफ्नो शरीरमा आएको, आफू भिजेको र चिसो अनुभूति भएको प्रत्यक्ष अनुभव गरेका थिए । उनी नाम जप ध्यान साधनामा मग्न रहेर आनन्दमा यो अनुभूतिमा पुलकित भएर मुस्कुराइ रहेका थिए । छेउका अरु साधकहरुले हेर्दा उनको शरीर र पहिरन साँच्चै भिजेको थियो तर साधक नाम जप ध्यानमा राधा–कृष्ण प्रभुको सानिध्यतामा मस्तीमा डुबिरहेका थिए । यो श्रीकृष्ण भगवानका अनन्य भक्तहरुको प्रत्यक्ष अनुभव तथा अनुभूतिमा आधारित सत्य घटना तथा विवरण हो । यस्तो घडिमा परमात्मा स्वयं साधकको अन्तरहृदयबाट आन्तरिक गुरु तथा हरिगुरुका रुपमा प्रकट भएर आफ्नो भक्त तथा साधकलाई यस्तो दिव्य, अलौकिक कृपा तथा आशिर्वाद प्रदान गर्नुहुन्छ । हरिगुरुका दिव्य कृपा तथा आशिर्वादका यस्ता प्रत्यक्ष दिव्य घटनाहरु धेरै अंकित रहेका छन् भक्तहरुमो अनुभव तथा अनुभूतिहरुमा । भगवान साईबाबाका अनन्य भक्त तथा अनुयायीहरुमा यस्ता अनुभवहरु धेरै रहेका छन् । पंक्तिकार स्वयंले पनि अनेरिकाको फ्लोरीडामा रहदै आउनु भएका जोशी परिवारमा साइबाबाको चोरी औंलाबाट अमृत जल टप्केको; भगवानको तस्वीरमा र पुस्तकभित्र सेतो सुगन्धित बिभूत उत्पन्न भएको; चढाइएका फलमा ॐकार लेखिएको र उक्त माहोलमा परमशन्तिको   अनुभूति भएको...     

                                                                         शिवोहम् !

                                                    डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


Friday, 28 November 2025

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला -१

#अध्यात्म_विज्ञान #धर्म_विज्ञान #जीवन_विज्ञान

                                                  सवाल जवाफ श्रृंखला

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

१. सवाल:

ध्यान साधनाको व्यवहारिक परिभाषा के हो ?

जवाफ:

मनुष्यको सहज, सरल, सन्तुलित तथा व्यवस्थित जीवनकालागि तन र मन दुवै स्वस्थ अवस्थामा रहनु अत्यावश्यक हुन्छ । स्वस्थ जीवनको कुनै तरिका तथा उपाय वाहिरको संसारमा छैन, यो क्षमता हामी भित्रै छ । आफूभित्रको क्षमता जागरुक गराउने एकमात्र भरपर्दो उपाय तथा माध्यम ध्यान साधना हो किनकी ध्यान साधना मनुष्यका सबै समस्याहरुको समाधान र सबै सवालहरुको जवाफ हो, त्यसैले भन्ने गरिन्छ समस्या अनेक तर समाधान एक ‘ध्यान’ । छोटकरीमा भन्नुपर्दा ध्यान शरीर र मनको उर्जा बढाउने पलपलको सजगता र सक्रियताको अभ्यास हो ताकि हरपल शरीर र मन उर्जावान अवस्थामा रहिरहुन् र हरेक काम सफलतापूर्वक सम्पन्न हुन सकुन् । सबैकालागि सहज र अत्यन्तै व्यवहारिक हुने ध्यान प्रयोगात्मक अभ्यासको माध्यमबाट गरिने साधना हो र आफ्नो फाइदाकालागि हरेक व्यक्तिले आफू स्वयंले नै गर्नुपर्छ अनिवार्य रुपमा, अर्काले ध्यान गरिदिएर हुदैन । ध्यान साधनाका केही मुख्य प्रक्रिया तथा विधिहरु– कम्मर, ढाड, गर्धन सिधा, बन्द आँखा, हातमा ज्ञान तथा ध्यान मुद्रा, एउटा विषयमा केन्द्रित र पूर्ण होस तथा सजगताको अनुशरण गर्दै आफूभित्र प्रवेश गर्नुपर्दछ । आफूभित्रको अन्तरयात्रा गरेर मात्र आफैंभित्र सुसुप्त अवस्थामा रहेका हरप्रकारले आफू संधै स्वस्थ, सन्तुलित र व्यवस्थित रहनसक्ने; सुखी तथा खुशी रहनसक्ने; आत्मविश्वासले भरिन सक्ने; सम्वन्ध विस्तार गर्न तथा प्रेमल रहन सक्ने; ज्ञान, वुद्धि विवेकले भरिन सक्ने; आफ्नो लक्ष्यमा संकल्पकृत र एकाकार हुनसक्ने; अरुप्रति विश्वास तथा आस्था र आशावादी रहनसक्ने आदि आफ्ना अमूल्य क्षमताहरु जगाएर जीवनका सबै आयामहरुलाई स्वस्थ, सन्तुलित तथा व्यवस्थित बनाउन सकिन्छ । यसरी आफ्ना सबै क्षमता पूर्णरुपमा जाग्रीत गरेर आफ्नो तन, मन, भाव, आत्मा अर्थात चेतना तथा समग्र जीवनलाई स्वस्थ, सन्तुलित तथा व्यवस्थित र विकसित गर्दै आफूलाई सांसारिक जीवनको विकास गर्दै पारमार्थिक जीवनको विकासका लागि आध्यात्मिक मार्गमा पनि अगाडि बढाउन सकिन्छ । ध्यान साधनालाई यसप्रकारले निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु नै ध्यान साधनाको व्यवहारिक परिभाषा हो । ध्यान साधनाका धेरै प्रकार र प्रक्रिया तथा विधिहरु रहेका भएपनि प्रमुख दुई प्रकारका विधिहरु सबैकालगि सहज र व्यवहारिक मानिएका छन्– (१)साक्षी भाव ध्यान, र (२)विषय केन्द्रित ध्यान । 

                                                                               डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ 


**********************************************

सवालकर्तालाई धन्यवाद साथै शुभकामना !

२. सवाल:

ध्यान र साक्षीमा के अन्तर छ ?

जवाफ:

प्राय धेरै ध्यान साधकहरु ध्यान र साक्षी के हो र यी दुईविचमा केके समानता तथा असमानताहरु छन् भन्ने कुरामा अल्मलिएका पाइन्छन् । शव्दिक अर्थको दृष्टिकोणले ध्यान र साक्षीको परिभाषा एकै हो कुनै घटना तथा विषयप्रति सजग, होसपूर्ण तथा एकाग्र रहनु तर भाव र प्रक्रियाको दृष्टिकोणबाट यी दुईविच अन्तर रहेको छ । ध्यान एक अवस्था हो क्रिया तथा प्रक्रिया होइन, निश्चित प्रकारका प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर कुनै घटना तथा विषयप्रति एकाग्र भएर तथा धारणा गरेर एकाग्रता तथा धारणा गहिरिएपछि स्वतः ध्यानको अवस्था बन्दछ र यो मन भन्दा माथि अमनी अवस्था तथा विचार शुन्यताको अवस्था हो । तसर्थ शुद्ध शव्द, भाषा तथा भावको प्रयोग गर्ने हो भने धारणा र साक्षीमा के अन्तर छ भन्नुपर्ने हुन्छ । 


धारणा तथा एकाग्रता के हो ? 

धारणा विशेष प्रकारको अभ्यास हो जस अन्तर्गत आफ्नो मन तथा ध्यानलाई आफूभित्र केन्द्रित गरिन्छ र आफूसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेका आफ्नो जीवनका सबै आयामका घटना तथा विषयहरुलाई सुक्ष्म रुपमा एक एक गरि केलाएर हेर्ने तथा विश्लेषण गर्ने प्रयास गरिन्छ तथा एकपटकमा कुनै एक घटना तथा विषयमाथि मन तथा ध्यानलाई टिकाएर त्यसको सुक्ष्म निरिक्षण गरिन्छ आफू तटस्थ भएर । यो प्रक्रियाले धारणा गर्दा साधना प्रारम्भ गरेको केही समयपछि(साधक र वरिपरिको अवस्था अनुसार तीनदेखि दशमिनेट) विस्तारै साधकको मस्तिष्क, शरीर, मन, भाव एकाग्र, स्थिर तथा शान्त हुदै अमनी अवस्था तथा विचार शुन्यताको अवस्थामा प्रवेश गर्दछ र यही अवस्था नै ध्यानको अवस्था हो । ध्यानको अवस्थामा साधकले आफ्नो अन्तरहृदयको आवाजलाई सुन्न थाल्दछ र उसलाई विस्तारै अन्तरदृष्टि, अन्तरज्ञान तथा आत्मवोध हासिल हुदै जान्छ । 


साक्षी तथा माइन्डफुलनेस के हो ?

वर्तमान समयमा आफ्नो शरीर र मन कहाँ छ तथा वर्तमान समयमा शरीर र मनले सानो तथा ठूलो जे काम गर्दै छ त्यसप्रति साक्षी तथा एकाग्र तथा होसपूर्ण हुनु तथा वर्तमानमा स्थित हुनु साक्षी हो । साक्षी तथा माइन्डफुलनेसको अभ्यास आफूभित्र र आफूवाहिर तथा वाहिरी संसार दुवैतिर हुनसक्ने भएपनि अधिकांशतः वाहिरी गतिविधिहरुमा बढि केन्द्रित र एकाग्र हुने गर्दछ । समग्रमा भन्नु पर्दा आफ्नो दैनिक जीवनयापनका तमाम गतिविधिहरुमा जाग्रीत, सजग तथा होसमा रहनु नै साक्षी भावको साधना हो जसले मनुष्यको सांसारिक जीवनमा सकारात्मक विकास गर्दछ । यहाँनेर आइपुग्दा धारणा र साक्षीमा ‘एकाग्रता’ तथा ‘सजगता’ को अभ्यास समान हुन आउछ बाँकी अरु सबै प्रक्रिया तथा विधिहरु फरक रहेकाछन् । प्रभावकारिता तथा उपलव्धिको दृटिकोणबाट धारणा तथा ध्यान साधना मनुष्य मस्तिष्कको विकासका लागि गहन व्यायाम योगासन तथा प्राणायाम, जिम तथा एरोविकको अभ्यास गरे सरह हो र साक्षी भाव साधना सामान्य किसिमले प्रातः भ्रमण तथा हिडडुल गरे सरह हो अर्थात साक्षी भाव हल्का तथा सरल साधना हो र धारणा तथा ध्यान गहन तथा अलिक मुस्किल साधना हो तर साक्षी भाव साधनाका हरेक गतिविधिहरुले धारणा तथा ध्यान साधनाको विकासमा कोशे ढुंगा तथा सहयोगीको काम गर्दछन् ।


विशेषज्ञहरुको मत अनुसार

सनातन अध्यात्म विज्ञानमा आधारित रहेर ओशो रजनीशले गर्नुभएको व्याख्या तथा विश्लेषण अनुसार मनभन्दा माथि जानु तथा मनातीत, भावातीत अवस्थामा स्थित हुनु ध्यान हो र आधूनिक मनोविज्ञानका अनुसार मनलाई हेर्नु, मनको विश्लेषण गर्नु तथा शरीर र मन जहाँ छ त्यहाँ आफूलाई एकाग्रता पूर्वक टिकाउनु तथा केन्द्रित गर्नु तथा त्यसप्रति साक्षी हुनु ध्यान हो । तर वास्तविकतामा मनलाई हेर्नु तथा मनको विश्लेषण गर्नु ध्यान होइन, यो साक्षी भाव तथा माइन्डफुलनेस हो । आधूनिक कालको आजसम्मको अध्ययनलाई हेर्दा आधूनिक मनोविज्ञानले साक्षी भावको मात्र व्याख्या तथा विश्लेषण गर्दै आइरहेको छ, ध्यानको विषयमा प्रवेश गरेकै छैन तथा प्रवेश गरेको भएपनि अत्यन्तै नगन्य एक–दुई प्रतिशतको अवस्थामा रहेको छ । यस सन्दर्भमा वरिष्ठ न्युरो सर्जन डा. श्वेता आदितियाले भन्नुभएको छ, “योगभूमि तथा तपोभूमि नेपाल, भारत, तिव्वतबाट प्रतिपादित भएका प्राचीन पूर्वीय सनातन ज्ञान, विज्ञान तथा महाज्ञानहरुलाई आधूनिक विज्ञान, आधूनिक चिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञानले भर्खर कोट्याउन प्रयास गरेको छ र यसलाई अनुशरण गर्दै आएको छ जो अत्यन्तै न्यून अवस्थामा रहेको छ, एक–दुई प्रतिशत मात्र ।” 


                                                                                   डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ


शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...