सवाल जवाफ श्रृंखला
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
३. सवालः D
गुरुको परिचय र तह केके हुन् ?
जवाफः
भगवान श्रीदत्तात्रयले भन्नु भएको छ, “सामान्य अर्थमा मनुष्यको जीवन सहज तथा सरल ढंगले सुचारु राख्नकालागि सबै प्रकारका वाहिरी सूचना, जानकारी, ज्ञान, विज्ञान अर्थात अविद्या(वाहिरी ज्ञान) प्रदान गर्ने हरेक व्यक्ति, प्राणी, वनस्पति, पदार्थ तथा समग्र प्रकृति नै गुरु हो हरेक सामान्य मनुष्यका लागि तर थोरै भएपनि आत्मा अर्थात चेतनाको विकास भएका मनुष्यहरुका लागि गुरुको वास्तविक अर्थ, महत्व र तहको विशेष भूमिका रहेको हुन्छ ।”
सनातन अध्यात्म दर्शनका अनुसार तहगत आधारमा गुरुका तीन प्रकारहरु रहेका छन्– (१)गुरु तथा शिक्षक/शिक्षिका, (२)सदगुरु तथा सिद्ध आत्मा अर्थात चैतन्य चेतना, र (३)हरिगुरु तथा स्वयं परमात्मा/परब्रम्ह अर्थात अश्तित्व ।
(१) गुरु
गुरु त्यो हो जसले मनुष्यको सांसारिक जीवन विकसित गराउनका लागि विभिन्न पक्षहरुका आवश्यक भौतिक तथा फिजिकल ज्ञान तथा विज्ञान प्रदान गर्दछ । माता–पिता, विद्यालयका शिक्षक–शिक्षिका, अनुभवी अग्रजहरु, साथीसम्वन्धि तथा समग्र प्रकृति गुरु हुन सक्दछन् ।
(२) सदगुरु
सदगुरु त्यो हो जो परमसत्यमा स्थित भैसकेको हुन्छ र उसले आफ्ना शिष्यहरुको पारमार्थिक तथा आध्यात्मिक जीवन विकसित गराउनका लागि धर्म–अध्यात्म, जीवन–जगत, आत्मा–परमात्माको पराभौतिक तथा मेटाफिजिकल ज्ञान, विज्ञान, प्रज्ञा तथा विद्या(आन्तरिक ज्ञान) प्रदान गर्दछ । आफू स्वयं परमात्मामा एकाकार तथा योगस्थ भैसकेको सिद्ध आत्मा अर्थात चैतन्य चेतना कोही योगी, सन्त, साधु, भिक्षु, पादरी, मौलाना मात्र सदगुरु हुन सक्दछन् । वाहिरी आवरणले सदगुरुको पहिचान हुन सक्दैन, देखेर तथा सुनेर कोही व्यक्ति सिद्ध आत्मा अर्थात चैतन्य चेतना हो कि होइन भनेर चिन्न तथा जान्न सकिदैन । उसको आत्मा अर्थात चेतनाको विकासका आधारमा मात्र उ शिद्ध आत्मा अर्थात चैतन्य चेतना कहलाउछ, तसर्थ यस सन्दर्भमा कसैले कसैलाई सदगुरुको उपाधि दिइदैन, यो हरेक आत्मा अर्थात चेतनाको आ–आफ्नै आध्यात्मिक इमान्दारिता हो आफू गुरु हो या सदगुरु हो भनेर अरु समक्ष सार्वजनिक हुने र परमात्मा प्रदत्त अधिकार सम्पन्नताका साथ परमात्मा साक्षातकारका मुमुक्षुहरुलाई धर्म–अध्यात्म, जीवन–जगत, आत्मा–परमात्माको सम्वन्धमा आफू स्वयंले गहन अध्यात्म साधनाबाट हासिल गरेका ज्ञान, विज्ञान, प्रज्ञा, विद्या, अनुभव, तथा अनुभूतिहरु प्रदान गर्ने र नव साधकहरुमा उत्प्रेरणा जगाउन मद्धत गर्ने । माता–पिता स्वयं पनि सदगुरु हुन सक्नुहुन्छ यदि वहाँहरुको प्रज्ञा चक्षु उघ्रेको छ तथा आत्मा अर्थात चेतनाको समुचित विकास भएको छ भने । पंक्तिकार(म सिर्जना भण्डारी)को सदगुरु मेरो जन्मदाता मेरो पिताजी आध्यात्मिक तथा धार्मिक व्यक्तित्व श्रद्धेय श्री भुवनेश्वर भण्डारी स्वयं नै हुनुहुन्छ । वहाँले प्रदान गर्नु भएका अमूल्य धर्म–अध्यात्म, जीवन–जगत, आत्मा–परमात्मा सम्वन्धि पराभौतिक तथा परालौकिक ज्ञान तथा विज्ञानहरुले मलाई आफ्नो अन्तरहृदयमा स्थित आन्तरिक गुरु तथा हरिगुरुसम्म पुग्न अत्यन्तै ठूलो मद्धत मिल्यो । बारबार शिर झुकाएर नमन गर्दछु परमात्माका अनन्य भक्त, सेवक तथा सनातन धर्म र अध्यात्म विषयका वरिष्ठ लेखक श्रद्धेय पिताजीप्रति ।
(३) हरिगुरु
हरिगुरु त्यो तत्वलाई मानिन्छ तथा भनिन्छ जो हरि अर्थात इश्वर पनि हो र गुरु पनि उ स्वयं नै हो जसले जीवनको उच्चतम विकासका उपायहरु सिकाउछ । हरिगुरु वाहिर कतै नभएर हरेक व्यक्तिको अन्तरहृदयमा स्थित रहेको हुन्छ सदा, यसकारण इश्वार अर्थात परमात्मा उपरवाला होइन अन्दरवाला तत्व हो, सदा मेरो अन्तरहृदयमा वास गर्ने । हरेक व्यक्तिको अन्तरहृदयमा रहेको आन्तरिक गुरु नै स्वयं हरिगुरु अर्थात परमात्मा अर्थात परब्रह्म हो । मनुष्यको अन्तरहृदयमा रहेको यही आन्तरिक गुरु तथा हरिगुरुप्रति समर्पित गरिएको हो गुरु स्तोत्र तथा गुरु महामन्त्र, 'गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः । गुरुर साक्षात परब्रह्मा तस्मै श्री गुरवे नमः ।।' वाहिरका सबै गुरु तथा सदगुरुहरु साधकलाई उ स्वयंभित्र अन्तरहृदयमा स्थित रहेको आन्तरिक गुरु तथा हरिगुरुसम्म पुर्याउने सहयोगी, सिढी तथा माध्यमहरु मात्र हुन् । आफ्नै अन्तरहृदयमा स्थित रहेको आन्तरिक गुरु तथा हरिगुरुको खोजी गर्न सनातन अध्यात्म विज्ञानका गहन साधना विधिहरु खासगरि योग साधनाका प्रमुख विषयहरु योगासन, प्राणायम, ध्यानको माध्यमबाट हरेक साधकले अनिवार्य रुपमा आफू स्वयंले नै गर्नुपर्दछ । वाहिरबाट प्राप्त हुने अरुकसैको ढोग-भेट, कृपा, आशिर्वाद तथा तथास्तुले हरिगुरुसंगको साक्षातकार सम्भव हुदैन । साधक स्वयंको प्रत्यत्न, तप तथा साधना र स्वयं हरिगुरु अर्थात परमात्माको दिव्य कृपा तथा आशिर्वादबाट मात्र आफ्नो अन्तरहृदयमा स्थित रहेको आन्तरिक गुरु तथा हरिगुरु साक्षातकार हुन सम्भव सक्दछ, आफू र परमात्माको विचमा अर्को तेस्रो कोहीपनि हुदैन र छैन ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ
******************************
सवालकर्तालाई धन्यवाद साथै शुभकामना !
४. सवालः D
हरिगुरुको दिव्य कृपा तथा आशिर्वादको सन्दर्भ के हो ?
जवाफः
हामी सबैले हाम्रो दैनिक दिनचर्यामा बारबार सुन्दै आइरहेका र बोलिचालिको भाषामा प्रयोग पनि गर्दै आइरहेका छौं एउटा अत्यन्तै लोकप्रिय र प्रशिद्ध शव्दावली, ‘भगवानको लीला’ अर्थात ‘परालौकिक रहस्य’ । थुप्रै दिव्य भक्तहरुले आफ्ना प्रत्यक्ष अनुभव तथा अनुभूतिहरु सुनाएका छन् कि भगवान उनीहरुसंग अदृश्य रुपमा संवाद गर्नुहुन्छ; दृश्य रुपमा देखिनु हुन्छ तथा दर्शन दिनुहुन्छ; एकसाथ हिड्नु हुन्छ तथा भोजन गर्नुहुन्छ; दुःखमा शान्त्वना दिनुहुन्छ; सुखमा भक्तसंगै खुशी र उमगंमा नाच्नु हुन्छ आदि । हो, यी सबै अनुभव तथा अनुभूतिहरु सत्य हुन्, भगवान साक्षात हुनुहुन्छ र यसै गर्नुहुन्छ आफ्ना अनन्य भक्तहरुसंग किनकी यी अनुभव तथा अनुभूतिहरुको प्रत्यक्ष साक्षी पंक्तिकार(म सिर्जना भण्डारी) स्वयं पनि रहदै आएको छु । ‘भगवान’ तथा ‘देवी–देवताहरु’ निराकार, निर्गुण तथा अव्यक्त ‘परमात्मा’ स्वयंका साक्षात आकार, गुण तथा व्यक्त रुवरुप हुनुहुन्छ । साक्षात भगवान तथा देवी–देवताहरुको साक्षातकार निष्ठापूर्वक गहन अध्यात्म साधनाका विधिहरु– योग साधना, साक्षी, मौन, धारणा, ध्यान, समाधि, नाम जप, मन्त्र उच्चाहरण, नाम जप तथा छवि स्मरण, भक्तिगान, भजन, किर्तन, परमात्मा ले सृष्टि गरेका सिर्जनहरुको निस्काम सेवा आदि गरेर हासिल गर्न सकिन्छ, परमात्मालाई आफ्नो समिप बनाउन सकिन्छ तथा आफू परमात्माको समिप हुन सकिन्छ । यही शाश्वत ज्ञान हामीमाझ सनातन कालदेखि निरन्तर पुस्तानतरण हुदै आइरहेको छ । अध्यात्म साधना तथा योग-ध्यानका विधिहरु खासगरि धारणा, ध्यान, समाधि, नाम जप तथा मन्त्र उच्चाहरण साधना गर्दाको समयमा भगवान आफूसंग भएको, भगवानसंग आफू हिडेको, बोलेको, रमाएको गहन कल्पना तथा दृश्यावलोकन गर्दा स्वयं परमात्माका आकार, गुण तथा व्यक्त स्वरुप भगवान तथा देवी–देवताहरु साधकको समिपमा आउनुहुन्छ र साधकलाई हरिगुरुको दिव्य कृपा तथा आशिर्वाद प्रदान गर्नुहुन्छ भौतिक तथा पराभौतिक दुवै किसिमले । यस सन्दर्भमा छिमेकी देश देवभूमि भारतमा एउटा प्रयोगात्मक अभ्यास तथा खोज गरिएको थियो, खोज को नतिजामा उल्लेख भए अनुसार-
श्रीकृष्ण प्रभुका भक्तहरुको समुह स्कोनको एक भजन-किर्तन मण्डलीका सदस्यहरुले प्रत्यक्ष अनुभव गरेका थिए आफूलाई भगवान तथा देवी–देवताहरुको प्रत्यक्ष सानिध्यमा पाएको तथा भगवानको साक्षातकार भएको र भगवानको दिव्य कृपा तथा आशिर्वाद प्राप्त भएको । ‘हरे कृष्ण, हरे राम’ महामन्त्र नाम जप ध्यान साधनामा राखेर श्रीकृष्ण भजन-किर्तन मण्डलीका केही सदस्यहरुलाई भगवान श्रीकृष्ण र माता राधारानीसंग सुन्दर प्रकृतिमा एकसाथ सयर गरेको; राधा–कृष्ण एकसाथ पिंग खेलिरहनु भएको; राधा–कृष्ण तलाउको किनारको कञ्चन सफा पानीमा खालि गोडा हिडिरहनु भएको काल्पनिक दृश्यावलोकन गर्न लगाइएको थियो ।
साधनाको क्रममा सहभागिहरुको अनुभवमा प्रभुको लीला तथा परालौकिक रहस्य घटित भयो प्रत्यक्ष तथा भौतिक रुपमा । नाम जप ध्यान साधनाका सहभागिहरुलाई साधनाका क्रममा ती काल्पनिक दृश्यावलोकनहरु वास्तविक र प्रत्यक्ष जस्तो अनुभूति भैरहेको थियो, राधा–कृष्णको प्रभुहरु प्राकृतिक सयर, पिंग खेलाई, पानीमा खालि गोडाको हिडाई… आदि । तलाउ किनारको कञ्चन सफा पानीमा माता राधारानीले खालि गोडा हिड्दै गोडाले पानी छ्याप्ल्याक पार्नुहुदा पानी छल्केर एक साधकले आफ्नो शरीरमा आएको, आफू भिजेको र चिसो अनुभूति भएको प्रत्यक्ष अनुभव गरेका थिए । उनी नाम जप ध्यान साधनामा मग्न रहेर आनन्दमा यो अनुभूतिमा पुलकित भएर मुस्कुराइ रहेका थिए । छेउका अरु साधकहरुले उनलाई हेर्दा छेउछाउमा पानीको कुनै श्रोत तथा उनी भिज्न सक्ने कुनै संभावना थिएन भौतिक रुपमा तर पराभौति तथा परालौकिक रुपमा यो दृश्य घटित भयो । उनको शरीर र पहिरन साँच्चै भिजेको थियो तर साधक श्रीकृष्ण प्रभुको नाम जपको ध्यान साधनामा राधा–कृष्ण प्रभुको सानिध्यमा मस्तीमा डुबिरहेका थिए । यो श्रीकृष्ण भगवानका अनन्य भक्तहरुको प्रत्यक्ष अनुभव तथा अनुभूतिमा आधारित सत्य घटना तथा विवरण हो । यस्तो घडिमा परमात्मा स्वयं साधकको अन्तरहृदयबाट आन्तरिक गुरु तथा हरिगुरुका रुपमा प्रकट भएर आफ्ना अनन्य भक्त तथा साधकहरुलाई यस्तो दिव्य, अलौकिक कृपा तथा आशिर्वाद प्रदान गर्नुहुन्छ । हरिगुरुका दिव्य कृपा तथा आशिर्वादका यस्ता प्रत्यक्ष दिव्य घटनाहरु धेरै अंकित गरिएका छन् भक्तहरुमो अनुभव तथा अनुभूतिहरुमा । भगवान साईबाबाका अनन्य भक्त तथा अनुयायीहरुमा यस्ता अनुभवहरु धेरै रहेका छन् । पंक्तिकार म सिर्जना भण्डारी स्वयंले पनि अमेरिकाको फ्लोरीडामा रहदै आउनु भएका भगवान साइबाबाका अनन्य भक्त रहेका जोशी परिवारमा साइबाबाको चोरी औंलाबाट अमृत जल टप्केको २०० एम.एल.को स्टीलको गिलासमा झण्डै आधा भएको; भगवानको तस्वीरको फ्रेममा र भगवान लीला वर्णन गरिएको पुस्तकभित्र सेतो सुगन्धित बिभूत उत्पन्न भएको; चढाइएका कमला बोक्रा भएका फलहरुमा ॐकार लेखिएको र उक्त माहोलमा त्यहाँ उपस्थित सबैलाई परमशान्ति तथा परमआनन्दको अनुभूति भएको थियो । भगवानहरुका यस्ता परालौकिक लीला तथा रहस्यका घटना तथा विषयहरु धेरै उल्लेख गरिएका छन् ।
शिवोहम् !
डा. सिर्जना भण्डारी, शिवोहम् योगपीठ