डा. सिर्जना भण्डारी
मुख्य विषयः
गुरु तथा सदगुरु को हो;
गुरु पूर्णिमा र गुरु तथा सदगुरुको महत्व;
अध्यात्म साधनाकालागि वास्तविक सदगुरु चिन्नु पहिलो प्राथमिकता;
यूवाहरुमा अध्यात्म जागरण गर्न सदगुरुको अपरिहार्यता र भूमिका;
वास्तविक सदगुरु कसरी चिन्न सकिन्छ;
शिष्यमा पात्रता तथा शिष्यत्वको अपरिहार्यता;
अध्यात्म साधनामा सदगुरुको स्थुल तथा सुक्ष्म सानिध्यताको आवश्यकता।
विषय प्रवेश
अध्यात्म आफैंभित्र अन्तरयात्रा गरेर आफूलाई पूर्णतामा जान्ने तथा चिन्ने र आफूभित्र रहेका आफ्ना अनन्त सम्भावनाहरुलाई उजागर गर्ने आन्तरीक साधनाको सहज तथा सरल विज्ञान हो। अध्यात्म विज्ञानको साधना सबै उमेर, लिंग, धर्म, सम्प्रदाय, समुह, वर्ग, जातजातिहरुकालागि उत्तिकै महत्वपूर्ण र आवश्यक छ। विशेषगरि साना उमेरका बालबालिका, किशोर तथा यूवा पुस्ताकालागि अध्यात्म साधना सर्वाधिक महत्वपूर्ण र अपरिहार्य मानिन्छ। उनीहरुभित्र सुसुप्त अवस्थामा उचित वातावरण तथा अवसरको अभावका कारण दबेर रहेका प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरुको अनन्त सम्भावना उजागर गरेर पूर्णतामा उनीहरुको व्यक्तित्व विकास गरि आफू स्वयं, परिवार, समाज, राष्ट्र तथा समग्र मानवीयतामा सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द स्थापित गरी विश्वमा शान्ति तथा अमनचयन हासिल गर्नु अध्यात्मको मूल ध्यय हो। अध्यात्मको परिभाषामा यूवा त्यो हो जो मानसिक रुपले सक्रिय छ, सिर्जनशील छ र आफ्नो प्रतिभा तथा क्षमतामा नयाँ–नयाँ कुराहरु सिक्न र नयाँ–नयाँ कामहरु गर्न अग्रसर हुन्छ चाहे उसको शरीरको आयुको अंक जतिसुकै होस्। अध्यात्म विज्ञानको साधनाको माध्यमबाट नयाँपुस्ता– बालबालिका, किशोर तथा यूवाहरुको प्रतिभा, क्षमता तथा अन्य सकारात्मक सम्भावनाहरु उजागर गरि उनीहरुलाई पूर्ण मानव बनाउन वास्तविक अध्यात्म गुरु तथा सदगुरुको आवश्यकता पर्दछ। हरेक मानिस आ–आफ्नो जीवनमा ऐश्वर्यवान बन्न चाहन्छ, मानवको प्रमुख ऐश्वर्य अर्थात मूल सम्पत्ति उसले जीवनमा हासिल गर्न चाहेको सुख, खुशी, समृद्धि, शान्ति, आनन्द हो। अध्यात्म विज्ञानको साधनामा यिनै ऐश्वर्यहरुको विज्ञान सिकाउने तथा बुझाउने र प्राप्तिकालागि अध्यात्मको वैज्ञानिक साधना पद्धतिहरुको अनुशरण गर्ने तथा गराउने गरिन्छ। सदगुरुले अध्यात्म विज्ञानको प्रमुख र महत्वपूर्ण विषय योग–ध्यान साधनाका वैज्ञानिक विधिहरु– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरु निष्ठापूर्वक सिकाएर मानिसभित्र रहेका उसका क्षमता, प्रतिभा तथा अन्य अनन्त सम्भावनाहरु जगाउने प्रयास गर्दछ। तसर्थ यस्तो महत्वपूर्ण कामकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सदगुरुको चयन तथा पहिचानमा सबै अभिभावक तथा साधकहरु विशेष चनाखो हुनु अति आवश्यक हुन्छ।
गुरु तथा सदगुरु को हो
त्यसो त संसारका हरेक वस्तु, विषय, घटना तथा परिस्थितिहरु कुनैनकुनै प्रकारले हाम्रा गुरु नै हुन् जसले हामीलाई सहज र सरल जीवन जीउन सहि मार्गदर्शन गर्दछन् र यी हाम्रा प्राकृतिक गुरु हुन्। तर जीवन र जगतको फैलावट तथा गहिराई जान्न, व्यक्तित्व विकास गर्न, पूर्ण मानव बनेर जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द प्राप्त गर्न प्राकृतिक गुरुबाट प्राप्त ज्ञान मात्र पर्याप्त हुदैन, यसकालागि हामीलाई विषयगत गुरुको आवश्यकता पर्दछ। मुख्य रुपमा गुरुका प्रकृति दुई किसिमले बुझ्न सकिन्छ– प्राकृतिक गुरु र विषयगत गुरु। हरेक मानिसको पहिलो गुरु माता–पिता हुन् र क्रमशः परिवार, साथीसंगी, समाज, पर्यावरण, अध्ययन क्षेत्र, कर्म क्षेत्र आदि सबै प्राकृतिक गुरु हुन्।प्राकृतिक गुरुले मानिसलाई दैनिक जीवनयापन, व्यवहार, आचरण, नैतिकता, धर्म, संस्कृति, संस्कार तथा अनुशासनसंग सम्वन्धित ज्ञानहरु सिकाउँछन् भने विषयगत गुरुले समग्रतामा जीवन र जगतको फैलावट तथा गहिराईबारे ज्ञान प्रदान गरि जीवनलाई सफलताउन्मुख बनाउन मार्गदर्शन गर्दछन्। विद्यालयका गुरुबा–गुरुआमा, धर्म–संस्कृति तथा संस्कार सिकाउने पंडित–पुरोहित र अध्यात्म साधना सिकाउने अध्यात्म गुरु तथा सदगुरु विषयगत गुरु हुन्। यो आलेख असार शुक्ल पूर्णिमामा पर्न गएको गुरु पूर्णिमा पर्व आध्यात्मिक आदीगुरु तथा सदगुरु भगवान शिव र सदगुरु महर्षि व्यास जयन्तिसंग सम्वन्धित भएकोले यस आलेखमा अध्यात्म विज्ञानको प्रभावकारी साधनामा सदगुरुको महत्वपूर्ण भूमिका हुन्छ भन्ने सन्दर्भमा गहिराइकासाथ प्रकाश पार्ने प्रयास गरिनेछ।
गुरु पूर्णिमा र गुरु तथा सदगुरुको महत्व
संस्कृत भाषाको ‘गुरु’ शव्द संज्ञा हो, गुरु शव्दको अर्थ ज्ञान हो तसर्थ ज्ञान प्रदान गर्ने व्यक्तिलाई गुरु भनिएको हो। मानिसको जीवनको वाहिरी पर्दा उघार्ने व्यक्ति गुरु हो भने जीवनको भित्रि पर्दा उघार्ने व्यक्ति सदगुरु हो जसले परब्रह्म अर्थात परमात्माको सत्यलाई अध्यात्म साधनाको माध्यमबाट व्यवहारीक रुपमा जानेको हुन्छ। सदगुरु आत्मज्ञानी, ब्रह्मज्ञानी, तत्वद्रष्टा तथा सत्यदर्शी हुन्छ। सनातन धर्मका अनुसार शिष्यको जीवनमा सदगुरुको महत्वपूर्ण स्थान रहेको हुन्छ। सदगुरुलाई भगवान त्रिदेव ब्रम्हा, विष्णु, महेशको स्वरुप मानेर पूजा गर्ने गरिन्छ किनकी मानिसको जीवनमा सदगुरुको महिमा अपरम्पार छ, भनिन्छ गुरुबिना ज्ञान हुदैन, ज्ञान बिना जीवन पूर्ण हुदैन र जीवनमा पूर्णता बिना मुक्ति हुदैन। मानिसलाई मुक्तिका साश्वत परमसत्य परमात्मासम्म पुर्याउने एकमात्र सहज माध्यम तथा मार्ग सदगुरु हो। सदगुरु शिष्य तथा साधकलाई परमात्मासंग योग गराउने साधक र परमात्माविचको पुल हो। गुरु तथा सदगुरु भक्ति गर्नु निराकार परमात्माका आकार स्वरुप साक्षात भगवान त्रीदेव ब्रह्मा, विष्णु, महेशको भक्ति गर्नु सरह मान्यता दिइएको छ। गुरु तथा सदगुरुप्रति समर्पित केही श्लोक–
“यो गुरुः स शिवः प्रोक्तो । यः शिवः स गुरुः स्मृतः ।।” अर्थात ‘भगवान शिव नै गुरु हुन् र गुरु नै भगवान शिव हुन्।’ सनातन धर्मको इतिहासमा भगवान शिवले असार शुक्ल पूर्णिमाका दिन सप्तऋषिहरुलाई पहिलो पटक सनातन अध्यात्म विज्ञानका प्रमुख विषय योग र ध्यानको दिक्षा प्रदान गर्नु भएको थियो। यसैकारण असार शुक्ल पूर्णिमाको दिन पहिलो पटक अध्यात्म ज्ञान प्रदान गर्ने सदगुरु तथा आदीगुरुको सम्मानमा गुरु पूर्णिमा पर्व मनाउने परम्पराको रुपमा शुरुआत गएिको हो। आजकै दिन महान सदगुरु महर्षि वेदव्यासको जन्मदिन पनि पर्ने हुनाले गुरु पूर्णिमालाई व्यास जयन्तिको रुपमा पनि मनाउने गरिन्छ।
“गुरुर्ब्रह्मा गुरर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुर्साक्षात परब्रह्म तस्मै श्रीगुरवे नमः ।।” अर्थात ‘गुरु ब्रह्मा, विष्णु, महेश्वर हुन्, र गुरु स्वयं परब्रह्म अर्थात परमात्माका स्वरुप हुन्’।
“गुकाच्श्राँधाकारो हि रुकारस्तेज उच्चते । अज्ञान ग्रासकम ब्रह्मगुरवे न संशय ।।” अर्थात ‘गुरु शव्दको अर्थः ‘गु’– अन्धकार तथा अज्ञानता र ‘रु’– प्रकाश तथा ज्ञान हो। गुरु त्यो हो जसले शिष्यलाई अन्धकारबाट प्रकाशतिर लान्छ र अज्ञानताबाट ज्ञानतिर लान्छ।’
“गुकारच्श्र गुणातीतो रुपातीतोरुकारकः । गुणरुप बिहीनत्वात गुरु रीत्य भिधियते ।।” अर्थात ‘गुरु शव्दको अर्थ ‘गु’– गुणातीत र ‘रु’– रुपातीत हो। गुरु गुण र रुपबाट अतित अर्थात पर हुन्छ, गुण र रुपले गुरुलाई छुदैन।’
गुरुका छ लक्षण–
“ज्ञान वैराग्यं ऐश्वर्यं यशः श्रीः समुदमहतं । षड गुणौश्वर्यं युक्तो हि भगवान् श्री गुरु प्रिय ।।” अर्थात ‘ज्ञान, वैराग्य, यश, लक्ष्मी, मधूरवाणी भएको व्यक्ति गुरु हो अर्थात जसमा यी गुणहरु छैनन् उ गुरु हुन योग्य व्यक्ति मानिदैन।’
सदगुरु अध्यात्मको पथप्रदर्शक भएकोले सदगुरुलाई अध्यात्म गुरुको मान्यता दिइएको हो। सदगुरुले शिष्यहरुलाई आध्यात्मिक तथा धार्मिक विषयका विद्या प्रधान ज्ञान, प्रज्ञा, विवेक सिकाउछ। सदगुरुले अध्यात्म साधनाबाट प्राप्त आफ्नो आन्तरीक दिव्य शक्तिले शिष्यहरुलाई दिक्षा प्रदान गरि अज्ञानता तथा अन्धकारबाट वाहिर ल्याउदछ र दिव्य शक्तिको दिक्षा लिने शिष्यहरुलाई ज्ञान तथा प्रज्ञाको प्रकाश, सत्य र परमात्माको परम आनन्दतिर लैजान्छ। सदगुरुले प्रदान गर्ने ज्ञानकै कारणले मानिसको जीवन पूर्ण अर्थात सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित हुने भएकोले सदगुरुको ज्ञानदान तथा सेवादानलाई श्रद्धा प्रदान गर्न सम्मान स्वरुप गुरुपूर्णिमा पर्व मनाउने संस्कारको प्रारम्भ गरिएको हो। गुरु पूर्णिमामा गुरुको श्रद्धा तथा पूजा गुरुबाट पाएको ज्ञान, शक्ति, शान्ति, आनन्द, योग र ध्यानको सम्मान स्वरुप गुरुप्रति श्रद्धा, प्रेम तथा भक्ति प्रकट गर्नकालागि गरिएको हो। असार महिना वर्षा ऋतु भएको कारण न धेरै गर्मी न धेरै ठण्डा हुने औषत प्रकारको शितल वातावरण हुने हुनाले यो समय अध्ययन तथा अध्यापनकालागि उचित ठहर गरि यही समय गुरु दिक्षाकालागि चयन गरिएको हो।
अध्यात्म साधनाकालागि वास्तविक सदगुरु चिन्नु पहिलो प्राथमिकता
खास भन्ने हो सदगुरु वास्तविक तथा अवास्तविक भन्ने नै हुदैन, कि सदगुरु हुन्छ कि ढोंगी तथा नक्कली हुन्छ। हरेक विषयवस्तु व्यवसायिकीकरण गरिएको आजको उपभोक्तावादी २१औं शताव्दीको मानव समाजमा धर्म र अध्यात्म पनि यो संस्कृति तथा धेरै हदसम्म विकृतिबाट अछुतो छैन। यहाँ एकजना सदगुरु भेटिन्छ भने बाँकी ९९ जना ढोंगी तथा नक्कली भेटिन्छन् त्यसैले वास्तविक सदगुरु चिन्नु अपरिहार्य हुन्छ भन्ने भाषा प्रयोग गर्नु आवश्यक भएको हो। ढोंगी तथा नक्कलीहरुबाट पर रहेर सर्वप्रथम गुरु र सदगुरुविचको फरक जान्नु महत्वपूर्ण हुन्छ। गुरु र सदगुरु दुवैको कामको विषय तथा जिम्मेदारी शिष्यहरुलाई ज्ञान प्रदान गर्नु भएपनि ज्ञानका विषयहरु फरक–फरक हुन्छन्। गुरुको प्रकृति दुईप्रकारको भए जस्तै ज्ञानको प्रकृति पनि दुईप्रकारका छन्– अविद्या र विद्या। गुरुले शिष्यलाई वाहिरी जीवनको वहिरयात्रा सिकाउँछन् तर सद्गुरुले आन्तरीक जीवनको अन्तरयात्रा सिकाउँछन्। समग्रमा भन्नु पर्दा गुरुले अविद्या प्रधान ज्ञान सिकाउँछन् भने सद्गुरुले विद्या प्रधान ज्ञान सिकाउँछन्। गुरुबा–गुरुआमा तथा पंडित–पुरोहितहरुको माध्यमबाट सिकिएका सबै वाहिरी ज्ञान हुन् र यस किसिमका वाहिरी ज्ञान अविद्या प्रधान ज्ञान हुन्। अधिकांश अविद्या प्रधान ज्ञान मानिसको शरीरको अन्त्य अर्थात मृत्युसंगै नष्ट भएर जान्छन् भने अध्यात्म गुरु तथा सद्गुरुको सानिध्यमा अध्यात्म विज्ञानको वैज्ञानिक साधना पद्धतिको माध्यमबाट आफूभित्रको अन्तरयात्रामा डुवेर सिकिएका ज्ञान विद्या प्रधान ज्ञान हुन्, यसलाई प्रज्ञा तथा विवेक पनि भनिन्छ जुन शरीरको उपयोग तथा आयु पुगेर हुने मृत्यु पश्चात पनि मानिसको आत्मा अर्थात सुक्ष्म शरीरसंगै जान्छन् र उसका सबै पूनरजन्मका जीवनहरुमा यी विद्या प्रधान ज्ञान, प्रज्ञा तथा विवेक उसको व्यवहार र आचरणमा सकारात्मक संस्कार बनेर झल्किन्छन्। यसैकारण एकै माता–पिता, एकै परिवार, एउटै हुर्कने वातावरण भएपनि एक मानिस अर्को मानिसबाट भिन्न प्रकारको सोच, विचार, व्यवहार, आचरण, दृष्टिकोण, प्रतिभा, क्षमता, साहस भएका हुन्छन् साथै उनीहरुको जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोण, गहिराइ र क्षमता पनि फरक–फरक हुन्छन्। त्यसैले कोही मानिस सानै उमेरदेखि जीवन र जगतको विज्ञानलाई बुझेर अनुशासित भइ धार्मिक तथा आध्यात्मिक आचरणमा बस्दछ भने कोही प्रौढ तथा वृद्ध भइसक्दासम्म पनि जीवन र जगतको विज्ञानलाई बुझेकै हुदैन, यसै लहैलहै तथा देखासेखीमा विषयको गहिराइ नै नबुझिकन धार्मिक तथा आध्यात्मिक देखिने प्रयास गर्दछ अरुलाई देखाउनकैलागि भएपनि, कि भने ‘म नास्तिक हुँ, भगवान, इश्वर भन्ने कोहीपनि केहीपनि छैन’ भनेर बिना मतलवको बहस गरेर वरिपरिको वातावरण प्रदुषण मात्र गर्दछ।
गुरुले विगतमा अरुले प्रतिपादन गरेका विभिन्न विषयका सैद्धान्तिक तथा व्यवहारीक ज्ञानहरु आफूले जानेको तथा सिकेको आधारमा शिष्यहरुलाई सिकाउछ तथा मार्गनिर्देश गर्दछ र सैद्धान्तिक पाटोमा बढी जोड दिन्छ किनकी अर्काले उत्पादन गरेको ज्ञान सिकेको हुनाले उसलाई त्यस विषयप्रति स्वयंको व्यवहारीक ज्ञान हुदैन तर सदगुरुले अध्यात्म साधनाको माध्यमबाट आफू स्वयंले गरेको जीवन र जगतबारे वाहिय तथा आन्तरीक अनुभव तथा भावातीत अनुभूतिहरुको आधारमा शिष्यहरुलाई मार्गनिर्देश गर्दछ र आफूभित्र आफैं डुवेर हासिल गरेको जीवन र जगतको विज्ञानबारे वास्तविक ज्ञानको ऐना देखाउछ। गुरुले आफूले वाहिरबाट सिकेको ज्ञान तथा अनुभव प्रवचनको रुपमा अविद्या प्रधान ज्ञान सिकाउछ भने सदगुरुले आफू स्वयंले अध्यात्म विज्ञानको वैज्ञानिक साधना पद्धतिहरुको अनुशरण गरेर हासिल गरेको लौकिक अनुभव तथा अलौकिक भावातीत दिव्य अनुभूतिहरु स्ववचनको रुपमा विद्या प्रधान ज्ञान सिकाउछ। गुरुले शिष्यलाई ज्ञान दिन्छ, आफ्नो जिम्मेदारी पूरा गर्छ र जिम्मेदारी पूरा भएपछि ओझल हुन्छ तर सदगुरु आफू स्वयं बलेको दियो तथा प्रकाशको प्रतिक भएकोले शिष्यलाई आफैं जस्तो उज्यालो तथा प्रकाशित बनाउन हर प्रकारले शिष्यको जीवनकाल भरि प्रयत्न गरिरहन्छ। गुरु पूर्णतः स्थुल शरीरमा हुन्छ, उसले आफूलाई शरीर ठान्दछ र शरीरको सेवा र सुन्दरतामा बढि प्राथमिकता दिन्छ तर सदगुरु आत्मज्ञनी तथा ब्रह्मज्ञानी हुने हुनाले उ स्थुल शरीरमा कम, सुक्ष्म शरीरमा ज्यादा स्थित रहेको हुन्छ र दिव्य द्रष्टाको भएर भौतिक रुपमा एकसाथ तथा दुर रहेर भएपनि हरसमय शिष्य र उसका सबै वाहिय तथा आन्तरिक हरेक गतिविधहरुको सुक्ष्म अवलोकन गरिरहेको हुन्छ र त्यसै अनुसार मार्गनिर्देश गरेर स्थुल शरीरको साथसाथ सुक्ष्म शरीरको सेवा र सुन्दरताको विकासमा जोड दिन्छ। गुरुले जीवन र जगतमा भौतिक तथा सांसारीक विषय, वस्तु तथा सुविधाहरुका राग र भोगको सलिका तथा तरिका र महत्वबारे सिकाउछ तर सदगुरुले जीवन र जगतमा भौतिक तथा सांसारीक विषय, वस्तु तथा सुविधाको भोग जति आवश्क छ त्यतिमात्र उपभोग गर्न सुझाव दिन्छ र यी भोग तथा सुविधाहरुबाट वैराग तथा वियोग गराइ परमात्मासंग योग गर्ने अध्यात्मका वैज्ञानिक विधिहरुबारे सिकाउछ।
गुरुले जीवनमा दैनिक अपनाउनु पर्ने बानी, व्यवहार, आचरण, नैतिकता तथा अनुशासनका सामान्य पाठहरु सिकाउछ तर सदगुरुले शिष्यलाई योग–ध्यानका सबै चरणहरु– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि; दिव्य नवब्रत– सत्यता, स्वाध्याय, निरअहंकारीता, क्षमाशिलता, सर्वकल्याण भाव, सेवा भाव, मधूर वाणी, लक्ष्यसंग एकाकार, मुमुक्षा आदिको चरणवद्ध ज्ञान प्रदान गरेर शिष्यको ‘म’, ‘मेरो’, ‘मलाई’ भन्ने भाव र म केवल शरीर हुँ भन्ने भावको अन्त्य गरेर शिष्यलाई सरल, सौम्य र प्रज्ञावान बनाउछ र म स्थुल शरीर मात्र होइन सुक्ष्म शरीर अर्थात आत्मा हुँ, स्थुल शरीर मेरै आत्माको फैलावट हो भन्ने परम शाश्वत ज्ञानमा दृढ गराउछ र परमात्मा प्राप्तिको मार्ग सुगम बनाएर शिष्यको अध्यात्म साधनालाई सफल तुल्याउछ। गुरुले शिष्यलाई स्थुल शरीरको ज्ञान र यसको विज्ञान तथा महत्वबारे र केही हदसम्म मानसिक शरीरको ज्ञान र यसको विज्ञान तथा महत्व र अवस्थाबारे सिकाउछ तर सदगुरुले मानव जीवन र उसका शरीरका चारवटै आयामहरु– स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरको विज्ञान र यसको अवस्थाबारे सिकाउछ। सदगुरुले अध्यात्म विज्ञानका योग–ध्यानका वैज्ञानिक विधिहरुको सैद्धान्तिक ज्ञान सिकाएर र व्यवहारी अभ्यास गराएर शरीरका यी चारै आयामहरुलाई तन्दुरुस्त बनाइ एकआपसमा तिनको योग गराएर अन्ततः साधकलाई परमात्मामा योग हुन र मोक्ष प्राप्त गर्न सक्ने ज्ञान सिकाउछ। गुरुले जीवन र जगतका वाहिरी विषयहरुबारे विभिन्न सैद्धान्तिक मूल्य–मान्यता अनुशरण गर्न र मान्यता दिने तथा मान्ने ज्ञान सिकाउछ तर सदगुरुले अर्काले प्रतिपादन गरेको सिद्धान्तलाई मान्ने नभइ आफू स्वयंले व्यवहारीक अभ्यास गरेर प्रत्यक्ष अनुभव तथा भावातीत अनुभूति गरेर जान्ने ज्ञानमा जोड दिन्छ र त्यसै अनुरुपका योग–ध्यानका विधिहरु प्रदान गर्दछ र अरुले भनेको नमान्न, आफू स्वयंले जानेको तथा अनुभव गरेको मान्न सिकाउछ। गुरुले शिक्षा प्रदान गर्दछ जो नाशवान र अनित्य छ तर सदगुरुले दिव्य दिक्षा प्रदान गर्दछ जो अटल, दिगो र नित्य छ। शिक्षाले जीवनका केही निश्चित विषयहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्दछ भने दिव्य दिक्षाले जीवन र जगतका समग्र विषयहरुलाई प्रत्यक्ष प्रभाव पार्दछ किनकी शिक्षा ज्ञानको व्यष्टि स्वरुप हो तर दिव्य दिक्षा ज्ञानको समष्टि स्वरुप हो।
यूवाहरुमा अध्यात्म जागरण गर्न सदगुरुको अपरिहार्यता र भूमिका
'सद' को शाव्दिक अर्थ सत्य हो, जसले अन्तिम शाश्वत सत्य 'परमात्मा' को विज्ञानको ज्ञान तथा दिव्यता जान्दछ उ नै सदगुरु हो। सदगुरुले हाम्रा पुर्खा ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले मानिसको जीवनमा सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द ल्याउन हजारौं वर्ष लगाएर गरेका वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारीत सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग–ध्यानका वैज्ञानिक विधिहरुका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यासहरु सिकाएर उचित अवसर तथा वातावरणको अभावमा मानिसभित्रै अवस्थित सुसुप्त अवस्थामा दवेर रहेका उसका जन्म–जन्मका प्रतिभा, क्षमता तथा सकारात्मक गुणका संस्कारहरु प्रष्फुटन गर्न मद्धत गरि मानिसमा विद्या प्रधान ज्ञान, प्रज्ञा तथा विवेकको भण्डार बढाएर प्रभावकारी ढंगले मानिसको वाहिय र आन्तरीक जीवनको विकास गर्न सहयोग गर्दछ। खासगरि वर्तमान परिप्रेक्षमा उचित मार्गनिर्देशनको अभावका कारण आफ्नो रुचिको विषय के हो, के पढ्ने तथा के काम गर्ने भन्ने जीवनको लक्ष्य तथा उदेश्य चयन गर्न नसकेर अलमलमा परेका नवपुस्ता किशोर र यूवाहरुको प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरु साथसाथ सिर्जनशीलता, जोश, जाँगर, साहस, आत्मविश्वास, आत्मसम्मान जगाउन र प्रभावकारी ढंगले उनीहरुको व्यक्तित्व विकास तथा नेतृत्व विकास गरि उनीहरुको जीवन समृद्ध, सफल, सुखी, खुशी, शान्त र आनन्दित बनाउन अध्यात्म विज्ञानको साधना अपरिहार्य विषय हो। यसकालागि ढोंगी तथा नक्कलीहरुबाट सतर्क हुदै वास्तविक सदगुरुबाट अध्यात्म विज्ञानको साधनाका सैद्धान्तिक ज्ञान र व्यवहारीक विधिहरु ग्रहण गर्नु अपरिहार्य हुन्छ। जानेर तथा अन्जानमा ढोंगी तथा नक्कली अध्यात्म व्यवसायिहरुको चंगुलमा परियो भने अध्यात्म साधन सहज ढंगले अघि बढाउन सकिदैन र यसबाट अपेक्षित लाभ लिन तथा उपलव्धि हासिल गर्नबाट वन्चित भइन्छ।
सदगुरुले अध्यात्म विज्ञानको वैज्ञानिक साधना पद्धति सिकाइको माध्यमबाट शिष्यको आत्मा अर्थात चेतनाको आन्तरीक विकास गरेर उसको चेतनालाई परमात्मा अर्थात प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) को भाषामा ब्रह्माण्ड(युनीभर्स), सर्वव्यापक(ओम्नीप्रेजेन्ट), सर्वशक्तिमान(अलमाइटी) मूल अस्तित्व अर्थात ब्रम्ह चेतना अर्थात मूल चेतना(सुपर कसमिक पावर) अर्थात विश्व चेतना(सुपर इन्टेलीजेन्स) अर्थात इश्वरसंग योग तथा एकाकार गराइ साधकको क्षमता, प्रतिभा तथा उसका अनन्त सम्भावनाहरु जागरण गर्न प्रत्यक्ष भूमिका खेल्दछ। सदगुरुको उत्तरदायित्व शिष्यको चेतनाको विकास गर्नु हो, सदगुरुले भौतिक तथा सांसारीक दुनियासंग सरोकार राख्दैन। जव सदगुरुले योग-ध्यानका वैज्ञानिक विधिहरुको प्रभावकारी सिकाइबाट शिष्यको बानी, व्यवहार, बोलीचाली, आचरणमा सकारात्मक बद्लाव ल्याएर उसमा सहि संस्कार भरिदिन्छ तव त्यही चेतना चैतन्य भएर भौतिक तथा सांसारीक विषयहरुलाई हेर्न थाल्छ र शिष्यको भौतिक तथा पराभौतिक जीवन सन्तुलित, अर्थपूर्ण र सफलताउन्मुख हुदै जान्छ। सदगुरुले सिधा सांसारीक दुनियालाई देखाउदैन अर्थात सांसारीक विषयहरु सिकाउदैन, सर्वप्रथम शिष्यको चेतनालाई उ भित्रै अर्थात आफ्नै आत्मातिर र विस्तारै परमात्मातिर फर्काएर त्यसपछि संसारतिर फर्काउँछ तव शिष्यको दृष्टि दुवै संसारतिर सन्तुलित हुन्छ र उसको जीवन सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित हुन्छ र पूर्णताले भरिन पुग्दछ। जव साधक अध्यात्म साधनाका सबै वैज्ञानिक पद्धतिहरु चरणवद्ध रुपमा पार गर्दैजान्छ र ब्रह्माण्डको ब्रह्म चेतना(सुपर इन्टेलीजेन्स अफ युनीभर्स)संग एकाकार हुदै जान्छ तव युनीभर्सका तमाम सकारात्मक शक्तिहरु आकर्षणको नियम(ल अफ अट्रयाक्सन) को सिद्धान्त अनुसार उतिर आकर्षित हुदै जान्छन् र उसको जीवनमा चाहे अनुसारका इच्छा तथा आकांक्षाहरु फलिभूत हुदै जान्छन् र उ जीवनमा सफल हुनुकासाथै सुखी, खुशी, समृद्ध, शान्त र आनन्दित हुदै जान्छ। तर अध्यात्म साधनामा वास्तविक सदगुरुको सानिध्य प्राप्त भएन भने साधक साधनाको सही मार्गबाट भड्किन सक्छ, पाखण्डको जालमा तथा अध्यात्म व्यवसायिको चंगुलमा फस्न सक्छ र उसको साधनाको गति अवरुद्ध हुनसक्छ र माथि उल्लेखित सकारात्मक उपलव्धिहरु हासिल हुनुको साटो विपरीत परिणाम आउन सक्छ। ढोंगी, नक्कली तथा पाखण्डी अध्यात्म व्यवसायिबाट साधक धेरै भड्कीएको तथा भड्काइएको अवस्था छ भने कमसेकम समयमा सहज किसिमले उसको अध्यात्म साधना पूरा हुन सक्दैन र बढिमा यस जन्ममा साधकको साधना पार नलाग्न पनि सक्छ। त्यसैले वास्तविक सदगुरुको पहिचान गर्नु अति आवश्यक हुन्छ। ढोंगी, नक्कली तथा पाखण्डी अध्यात्म व्यवसायिका साथसाथ सांसारीक माया अर्थात असत्य अर्थात मिथ्या जगतले पनि साधकलाई पर्याप्त भ्रम दिनसक्छ र साधक सत्यलाई असत्य र असत्यलाई सत्य मान्न पुग्दछ र शाश्वत सत्य परमात्माबाट दुर हुदै जान्छ त्यसैले पूर्ण शव्दभेदी परमात्माको शाश्वत सत्य मार्गदर्शन गर्न तथा गराउन सक्ने वास्तविक सदगुरु कै आवश्यकता पर्दछ सबै साधकहरुकालागि अध्यात्म साधना सहि ढंगले अगाडि बढाउन र समयमै पूरा गरि यही जीवनमा त्यसको अधिकतम लाभ लिन।
वास्तविक सदगुरु कसरी चिन्न सकिन्छ
शास्त्र ज्ञानी, अपुर्ण, ढोंगी तथा नक्कली अध्यात्म व्यवसायिहरुले साधनाको गलत मार्ग तथा विधिहरु सिकाउछन्; परमात्मा प्राप्त गर्न अत्यन्त कठिन छ, आफूले लामो सयमसम्म यस्तो–यस्तो कठिन प्रयत्न गरेर परमात्मा प्राप्त गरेको; परमात्मा प्राप्त गर्ने व्यक्ति सामान्य व्यक्ति भन्दा निकै ठूलो मान्छे हो; उ अन्तर्यामी हुन्छ, भौतिक आँखाले नदेखी अन्तरदृष्टिबाट नै सबै देख्ने र जान्ने भगवान सरह हुन्छ; उसलाई सामान्य व्यक्तिहरुलाई भन्दा फरक विशिष्ठ प्रकारको मानसम्मान गर्नुपर्छ आदि इत्यादी भनेर आफ्नो मान आफैं बढाइरहन्छन्, अति अहंकारी हुन्छन्, अरुलाई आफूभन्दा निचो ठान्दछन् र प्रकृतिका त्रिगुण– सत्व, रजस, तमस; र पंचक्लेस– काम, क्रोध, इष्र्या, अस्मिता, अहंकार, भयका नकारात्मक गुणहरुले भरिएका हुन्छन् किनकी उनीहरु न त जिवज्ञानी (जीवनको विज्ञान जान्ने) हुन्छन्, न त आत्मज्ञानी हुन्छन्, न त ब्रह्मज्ञानी हुन्छन्, न त तत्वदर्शी हुन्छन्, न त सत्यनिष्ठ नै हुन्छन्। यिनीहरुले अरुबाट लुकेर कुकर्म र अकर्म समेत गरेका हुन सक्छन् किनकी आर्थिक पक्षलाई बढी प्राथमिकता दिने गर्दछन्; यिनीहरुले सबैभन्दा सहज, सरल र सुलभ अध्यात्म ज्ञानलाई सवैभन्दा कठिन र सवैभन्दा महंगो बनाइदिएका छन्। यिनीहरु इश्वरको सत्तालाई स्वीकार नगर्ने, देखावा मात्र गर्ने खराव कर्म गर्नबाट नडराउने, इश्वरको नियम विरोधी काम गर्ने घोर नास्तिक पनि हुनसक्छन्। यिनीहरु टालटुले शास्त्र ज्ञानी हुन्छन् र आत्मज्ञानी तथा ब्रह्मज्ञानी सदगुरुहरुले सार्वजनिक गरेका अनुभव तथा भावातीत अनुभूतिका दिव्य ज्ञानहरुलाई टालटुले किसिमले नै अरुलाई सिकाउने प्रयत्न गर्दछन्। यिनीहरुले पूजा–पाठ, ब्रत–तिर्थ, कर्म–काण्ड गराएर, जन्मकुण्डलीको वास्तविक अवस्था भन्दा अर्थ बंग्याएर, डर देखाएर तथा तर्साएर दक्षिणा, दान-दातव्य, उपहारतिर साधकको ध्यान मोडिदिन्छन् र सम्पत्ति कमाउने तथा हडप्नेतिर मात्र उनीहरुको तकाइ रहन्छ जसले साधकको अध्यात्म साधनामा कुनै किसिमको प्रगति गराउदैन बरु यथास्थितिबाट समेत साधक अझ पछाडि धकेलिन सक्छ। तर वास्तविक तथा पूरा सदगुरुले पूजा–पाठ, ब्रत–तिर्थ, कर्म–काण्डको मार्ग देखाउदैन, अध्यात्म ज्ञान पश्चात यी त सबै पछि आउने र पछि कामलाग्ने विषय हुन्, मानिसको जीवनको मूल विषय त अध्यात्म विज्ञानको ज्ञान प्राप्त गर्नु हो भन्ने भाव जगाएर साधनाकालागि प्रोत्साहन गर्दै-गर्दै अध्यात्म विज्ञानको साधनामा अगाडि बढाउछ। सदगुरुले परमात्मा प्राप्त गर्नु कठिन कार्य हो पनि भन्दैन किनकी उ स्वयंलाई परमात्मा प्राप्तिको भलीभाति ज्ञान हुन्छ तसर्थ उसले आफ्नै स्वज्ञानबाट आफ्ना शिष्यहरुको वर्तमानको वास्तविक तह तथा अवस्था, परमात्मा प्राप्तिको प्यास तथा पात्रता हेरेर त्यसै अनुसार अध्यात्मका वैज्ञानिक विधिहरुको सैद्धान्तिक ज्ञान र व्यवाहारीक ज्ञानहरुको अभ्यास गराएर परमात्मा प्राप्त गर्नु जीवनको सबैभन्दा सहज तथा सरल काम हो भन्दै फकाउदै, साधकमा साहस भर्दै, यो क्षमाता हामी भित्रै रहेको छ, सदगुरुले मार्गदर्शन मात्र गर्ने हो, हामीले एक कदम बढायौं भने परमात्माले हामीतिर हजार कदम बढाउँछ भन्दै उत्प्रेरणा भर्दै शिष्यहरुलाई साधनाको मार्गमा अगाडि बढ्न भरपूर मद्धत गर्दछ। सच्चा सदगुरु प्रकृतिका त्रिगुण तथा पंचक्लेशहरुको नकारात्मक प्रभावबाट पर हुन्छ, सौम्य र सबैलाई आफू सरह वरावर ठान्दछ। तसर्थ ढाेंगी र नक्कलीहरुबाट बचेर आफ्नो अध्यात्म साधानालाई सहज किसिमले अगाडि बढाउन सच्चा सदगुरुको सानिध्यमा रहेर अनिवार्य रुपमा अध्यात्म विज्ञानको प्रमुख विषय योग–ध्यानका वैज्ञानिक विधिहरुको सही ढंगले अनुशरण तथा व्यवहारीक अभ्यास गर्नु पर्दछ। साथसाथ आफूमा पूर्ण शिष्यत्व हुनु पनि आवश्यक छ किनकी सदगुरुमात्र पूर्ण भएर साधना अघि बढ्दैन, शिष्यमा पनि आवश्यक मात्रामा पात्रताका लक्षणहरु तथा शिष्यत्व हुनु अझ बढि आवश्यक हुन्छ।
अध्यात्म विज्ञानको सही तथा वैज्ञानिक साधना गर्नकालागि वास्तविक सदगुरु चिन्नु पर्छ भनेर यसरी जोड दिनुको प्रमुख कारण वर्तमान समयमा अध्यात्म तथा धर्मलाई असम्वन्धित र अध्यात्म विज्ञानको पर्याप्त योग्यता नभएका व्यक्तिहरुले असान्दर्भिक किसिमले अत्यधिक व्यवसायिकरण गरिएकोले हो। वुद्धत्व प्राप्त प्राज्ञ पुरुषहरु(मुक्त आत्मा अर्थात चेतनाहरु लिंग भन्दापर)का अनुसार हाल विश्वमा जम्माजम्मी एक प्रतिशत भन्दा कम वास्तविक सदगुरुले अध्यात्मको सच्चा साधना गराइरहेका छन् भने बाँकी ९९ प्रतिशत भन्दा बढी ढोंगी तथा नक्कली अध्यात्म व्यवसायिहरुबाट गलत किसिमले अध्यात्मको झुठो साधना सिकाउदै आइएको छ। कति यस्ता अध्यात्म व्यवसायिहरुले त हामीले पूर्वीय योग–ध्यानका जटिल र नबुझिने विधिहरुलाई निकालेर तथा त्यसमा तोमरोड गरेर अर्थात उनीहरुको औपचारीक भाषामा स्यानीटाइज गरेर शुद्ध बनाएर सिकाइरहेका छौं भनेर गौरवकासाथ भन्न समेत पछि परेका छैनन्!
शिष्यमा पात्रता तथा शिष्यत्वको अपरिहार्यता
अवश्य पनि अध्यात्म साधनाबाट परमात्मा प्राप्ति मुस्किल काम तथा विषय होइन तर यस सन्दर्भमा वाहिय तथा आन्तरीक धेरै कुराहरुले साधकलाई साधनामा अगाडि बढ्न सकारात्मक तथा नकारात्मक किसिमले प्रभाव पार्दछ तथा विभिन्न किसिमका वाधाहरु उत्पन्न गर्दछ। वास्तविक सदगुरु प्राप्त गरेर मात्र अध्यात्म साधना सहज ढंगले अगाडि बढ्न सक्छ नै भन्ने छैन। सदगुरुबिना बरु अध्यात्म साधना आफ्नै किसिमले अगाडि बढ्न सक्छ तर शिष्यमा शिष्यत्व तथा पात्रताको अभाव छ भने साधना जसरी अगाडि बढ्नु पर्ने हो त्यसरी अगाडि बढ्न सक्दैन। सहज अध्यात्म साधनाकोलागि सदगुरुमा हुनुपर्ने गुरुतत्व भन्दा शिष्यमा शिष्यत्व अर्थात शिष्यमा अध्यात्म साधनाकालागि हुनुपर्ने आवश्यक पात्रताको आवश्यकता र महत्व अपरिहार्य हुन्छ। शिष्यमा परमात्मा प्राप्तिको प्यास, गुरुप्रति श्रद्धा, भक्ति, प्रेम, विश्वास, आस्था जस्ता पात्रता कति छन् त्यसमा पूर्ण रुपमा भर पर्दछ अध्यात्म साधनाको प्रगति। जो पूर्णरुपमा शिष्य हुन जान्यो तथा सक्षम भयो उसकालागि सदगुरु को हो, उसको क्षमता के कति छ, उसले अध्यात्मका विधिहरु कसरी सिकायो यो विषयले अध्यात्म साधनामा गौण महत्व राख्दछ अर्थात यसले त्यति ठूलो प्रभाव पार्दैन। पात्रता भएको साधककालागि समष्टि सृष्टि नै गुरु बन्दछ र उ स्वयं नै गुरु बन्दछ, यस्तो अवस्थामा गुरु र शिष्यविच धेरै ठूलो अन्तर पनि हुदैन, गुरु र शिष्यको भेद नै विलय हुन्छ र एकमात्र परम बाँकी रहन्छ र यस्तो अवस्थामा शिष्यमा समाधि घटित हुन्छ।
शिष्यत्व तथा पात्रता के हो
छोटकरीमा भन्नुपर्दा शिष्यमा हुने नैतिकता, अनुशासन, सामाजिक व्यवहार, आचरण, सोच, विचार, सत्यता, निष्ठा, प्रकृतिका त्रिगुण तथा पंचक्लेशबाट मुक्त, श्रद्धा, प्रेम, भक्ति, आस्था, विषय बुझ्ने तत्परता, परमात्मा प्राप्तिको प्यास आदि शिष्यमा हुनुपर्ने पात्रताका योग्यताहरु हुन्। शिष्यको सदगुरुप्रतिको श्रद्धा, भक्ति, आस्था कस्तो छ र कति गहिराइमा छ त्यसै अनुसार अध्यात्म साधना सहज ढंगबाट अगाडि बढ्न सक्छ। वास्तविक सदगुरुलाई शिष्यको पात्रताको ज्ञात हुन्छ र त्यसैअनुसार अध्यात्म साधनाका नियम तथा विधिहरु शिष्यलाई प्रदान गर्दछ। शिष्यमा शिष्यत्व तथा पात्रता जति बढि छ उति नै उसमा गुरुले प्रदान गरेको ज्ञानको ग्रहणशिलता बढि हुन्छ र परमात्मा पनि शिष्यको पूर्ण ग्रहणशीलता, शिष्यत्व र पात्रतामा सहज र सरल किसिमले अवतरण हुन्छ। उदाहरणले बुझौं- हामी जत्रो आकारको पात्र तथा भाँडो लिएर महासागरमा पानी भर्न जान्छौं, महासागरमा पानी अथाह भएपनि उक्त भाँडोको अटाउने क्षमता अनुसार नै पानी ल्याउन सक्छौं। त्यस्तै सदगुरु पनि अध्यात्म ज्ञानको महासागर हो, शिष्य र सदगुरुको सानिध्य जतिनै नजिक भएपनि तथा शिष्यले सदगुरुसंग जति लामो समय व्यतित गरे पनि शिष्यले आफ्नो ज्ञान ग्रहण गर्नसक्ने क्षमता भरिको मात्र ज्ञान ग्रहण गर्न सक्दछ। अझ कतिपय परिस्थितिमा त शिष्यमा शिष्यत्व तथा पात्रता विकास भएको छैन भने अनेक प्रयासका वावजुद सदगुरुसंग भेट हुन समेत मुस्किल हुन्छ।
अध्यात्म साधनामा सदगुरुको स्थुल तथा सुक्ष्म सानिध्यताको आवश्यकता
दृश्य तथा अदृश्य र स्थुल तथा सुक्ष्म अस्तित्वगत मान्यता अनुसार गुरु अनिवार्य रुपमा स्थुल शरीरमा तथा दृश्य रुपमा हुनैपर्ने हुन्छ तर सदगुरु स्थुल शरीरमा कम, सुक्ष्म शरीरमा ज्यादा रहने आत्मज्ञानी, ब्रम्हज्ञानी, तत्वज्ञानी र सत्यद्रष्टा हुने हुनाले सदगुरुका दुवै प्रकारका दृश्य तथा अदृश्य र स्थुल तथा सुक्ष्म सानिध्यताको समान मान्यता रहेको हुन्छ। सदगुरुको दुवै प्रकारको अवस्थाबाट शिष्यहरुले अध्यात्म साधनाको ज्ञान तथा लाभ लिन सक्छन् तर अधिकांश अध्यात्म साधकहरुमा शिष्यमा हुनुपर्ने पात्रता न्यून तथा अपर्याप्त हुने हुनाले उनीहरु अदृश्य तथा सुक्ष्म शरीरमा रहेका सदगुरुलाई अनुभव, श्रद्धा, प्रेम तथा भक्तिभाव दर्शाउन असमर्थ हुने र अध्यात्म साधना प्रभावकारी ढंगले अगाडि बढाउन नसक्ने हुनाले दृश्य तथा स्थुल शरीरमा रहेको सदगुरुको महत्व र आवश्यकता ज्यादा रहेको हो। यस्ता शिष्यहरुले केवल सदगुरुको स्थुल उपस्थिति तथा प्रत्यक्ष सानिध्यमा मात्र अध्यात्म साधना अघि बढाउन सक्दछन्। तर शिष्यमा हुनुपर्ने आवश्यक पात्रता विद्यमान छ भने सदगुरु देहधारी नै हुनु पर्दछ भन्ने अनिवार्यता छैन। साधकले स्थुल शरीर अर्थात देहमा नहरनु भएका अर्थात देह छोडिसक्नु भएका सदगुरुहरुलाई आस्था तथा निष्ठापूर्वक गुरु मानेर अध्यात्म साधना अगाडि बढाउन सक्दछन्। शिष्यता तथा पात्रता भएका साधकहरुकालागि सृष्टिको समष्टि नै गुरु बन्न सक्दछ। हाम्रा सामु यस्ता थुप्रै उदाहरणहरु छन्। कसैकोलागि प्रकृति नै महत्वपूर्ण गुरु बन्न सक्दछ जस्तै भगवान दत्तात्रय, वहाँले प्रकतिका २४ तत्व तथा विषयहरुबाट ज्ञान लिएर परमात्मा प्राप्त गर्नु भयो। कसैकालागि प्रकृतिका आयामहरु– नदि, हिमाल, पहाड, वनस्पति, प्राणी तथा पंछीहरु पनि गुरु बन्न सक्दछन् जस्तै रमण महर्षि, वहाँले अरुणाचल पर्वतलाई साक्षत शिव भगवान आदीगुरुको रुपमा मान्नु भएको थियो। चैतन्य महाप्रभु, गुरु नानकले पनि प्रकृतिलाई साक्षात गुरुस्वरुप मान्नु भएको थियो। कसैकालागि निराकार तथा शुन्यता पनि गुरु बन्न सक्दछ। तोतापूरी योगीले सुन्दर पंक्षी सुगालाई गुरु मान्नु भएको थियो। रामकृष्ण परमहंसले कालीमातालाई गुरु मानेर आफ्नो अध्यात्म साधना पूरा गर्नु भएको थियो। यस आलेखको पंतिकार(सिर्जना भण्डारी) स्वयं पनि आदीगुरु भगवान शिवलाई सदगुरु मानेर आजभन्दा १३ वर्ष अघिदेखि अध्यात्म साधना अगाडि बढाइरहेको छु। तसर्थ यदि शिष्यमा शिष्यत्व तथा शिष्यमा हुनुपर्ने सबै प्रकारको पात्रता विद्यमान छ भने सदगुरु देहधारी नै अर्थात गुरुको स्थुल शरीरकै सानिध्यता हुनु पर्दछ भन्ने आवश्यक छैन।
सन् २०११ देखि हालसम्म, अविरल अध्यात्म यात्रा !
शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!

No comments:
Post a Comment