Wednesday, 19 June 2024

योग शव्दको अन्तर्य बुझौं: ‘योग’ योग र वियोग दुवै हो

        नवयुग निर्माणको आयाम: अध्यात्म जागरण तथा स्वजागरण!

       डा. सिर्जना भण्डारी

प्रमुख विषय: योग र अध्यात्म; योगको शाव्दिक अर्थ; क्रियात्मक गतिविधिको रुपमा 'योग'; अध्यात्म दर्शनको रुपमा 'योग'; आधूनिककालमा युग सान्दर्भिक परिभाषामा 'योग'; व्यवहारीक परिभाषामा 'योग'; योगीक परिभाषामा 'योग'; वियोगको अर्थमा ‘योग’


योग र अध्यात्म 

हाम्रा ऋषिमूनिहरुले खोज गरेको योगको विज्ञान मानव जीवनमा खुशी, शान्ति र समृद्धि ल्याउनकालागि वरदान हुन्। योग अध्यात्मको अति महत्वपूर्ण विषय हो। अध्यात्म मानव जीवनको मूलआधार तथा मौलिक आवश्यकता हो। अध्यात्मले हामीमा पूर्णताले भरिएको जीवन जीउन आवश्यक पर्ने हामीभित्रै स्थित हाम्रा क्षमता, प्रतिभा तथा गुणहरु- स्वस्थ, सुखी तथा खुशी रहनसक्ने; साहसले भरिएको; प्रेमपूर्णभावले भरिएको; सिर्जनशील; दृढ निश्चयी; शान्त तथा आनन्दित रहन सक्ने क्षमता जागृत गर्दछ; हामीलाई हरेक किसिमले जीवनमा सफल हुन र धार्मिक, सामाजिक, संस्कारी, परोपकारी बन्न मद्धत गर्दछ। हाम्रो जीवनमा यी क्षमता, प्रतिभा तथा गुणहरु जगाउन हाम्रो दैनिक जीवनमा अपनाउनु पर्ने अध्यात्मको मूल विधि योग हो। योग दर्शनको सबैभन्दा प्रभाकारी ग्रन्थ पतंनजलि योग सुत्रले मूलतः प्रयोग र प्रभावकारीताका आधारमा योगका आठ मध्य तीन प्रमुख विधिहरु- योगासन, प्राणायाम, ध्यानलाई मान्यता दिएकोछ। योगका यी प्रमुख तीन विधिहरुको अनुशरण गरेर मानिसले जीवनमा महत्वपूर्ण शारीरिक, मानसिक तथा आध्यात्मिक उपलव्धिहरु हासिल गर्नसक्छ। हिजोआज स्वास्थ्यको क्षेत्रमा योगलाई मानिसका शारीरिक तथा मानसिक रोगको उपचारकालागि फिजियोथेरापि तथा साइकोथेरापिको रुपमा अभ्यास गर्दै आइएकोछ। यसका अलावा योगको आध्यात्मिक पाटो बृहत, फराकिलो र महत्वपूर्ण छ।

 

योगको शाव्दिक अर्थ

संस्कृत भाषाको ‘युज्’ धातुबाट बनेको ‘योग’ शव्दको सरल शाव्दिक अर्थ जोड्नु हुन्छ। संस्कृत व्याकरणका दशमध्य तीन गणमा तीन प्रकारका युज् धातु छन्, ती धातुका अनुसार योगको परिभाषा यसप्रकार गरिएको छ: पहिलो हो- दिवादीगणमा ‘युज् समाधौ’ जसको अर्थ योग समाधितर्फ लाने मार्ग हो। दोस्रो हो- रुधादीगणमा ‘युजीर योगे’ जसको अर्थ दुइ चिजलाई मिलाउनु तथा जोड्नु योग हो। तेस्रो हो- चोरादीगणमा ‘युज् संयमने’ जसको अर्थ संयमपूर्वक साधना गर्नु योग हो। तर योग शव्दको परिभाषा यतिमा मात्र सिमित नभएर निकै फराकिलो अर्थमा प्रयोग गरिन्छ र अध्यात्ममा योगलाई दर्शनको रुपमा लिइन्छ। महर्षि पतंजलिले संग्रहीत गर्नुभएको योग शास्त्र ‘योग दर्शन’ हो मुख्यरुपमा योगका सात प्रकारहरु रहेकाछन्- १.कर्म योग, २.तन्त्र योग, ३.हठ योग, ४.भक्ति योग, ५.ज्ञान योग, ६.ध्यान योग, ७.सांख्य योग तथा राज योग आदि अध्यात्म साधना गर्ने योगका विधि हुन्। सरल भाषामा योगलाई दुई किसिमबाट बुझ्न सकिन्छ- १. क्रियात्मक गतिविधिको रुपमा 'योग', २. दर्शनको रुपमा 'योग'

 

क्रियात्मक गतिविधिको रुपमा 'योग'

मानव शरीरका चार आयाम छन्- स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर र चेतनात्मक तथा आत्मिक शरीर र चार किसिमका स्वास्थ्य छन्- शारीरिक स्वास्थ्य, मानसिमक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, आत्मिक स्वास्थ्य। चारै किसिमका शरीर र तिनको स्वास्थ्य अवस्था पूर्णरुपमा सन्तुलनमा राख्न हजारौं वर्षदेखि योगका विभिन्न विधिहरुलाई क्रिया तथा अभ्यासको रुपमा शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक दृष्टिकोणले सकारात्मक परिवर्तन हासिल गर्न व्यवहारिक र प्रयोगात्मक अभ्यासहरु गरिदै आइएको छ। योगको व्यवहारिक र प्रयोगात्मक अभ्यास मध्यकालमा विविध कारणहरुले अलि सुस्त भएको भएपनि आधूनिककाल अर्थात वर्तमानमा योगको शारीरिक, मानसिक तथा आध्यात्मिक (भावनात्मक, चेतनात्मक तथा आत्मिक) महत्व र प्रभावकारीता बुझेर हाल संसारभरि नै प्राथमिकतासाथ योगको व्यवहारिक र प्रयोगात्मक अभ्यास गर्ने/गराउने गरिएकोछ। तर केही समुह तथा समुदायहरुमा योगबारे विस्तृत ज्ञानको अभावमा योगलाई केवल स्थुल शरीर मर्काउने तथा तन्काउने क्रियाकलापको रुपमा बुझ्ने गरिएको पाइन्छ, यो अपूर्ण बुझाइ हो, यस्ता समुह तथा समुदायहरुमा रहेको यो अज्ञानता हटाएर योग समुच्चा दर्शन हो, सनातन अध्यात्मका महत्वपूर्ण विषयहरु योगकै वरीपरि घुमेकाछन् साथै योगको वास्तविकता र अन्य पक्षहरुबारे बुझाउनु आवश्यक छ।

 

अध्यात्म दर्शनको रुपमा 'योग'

जोड्नु भन्ने अर्थ योगको संकिर्ण परिभाषा हो। योग बृहत्तर विषय तथा दर्शन हो। योग अनेकार्थक शव्द हो, योग शव्दको अर्थ धेरै किसिमले लाग्छ, त्यसैले यसको परिभाषा विभिन्न किसिमले गरिएकोछ। सनातन अध्यात्म दर्शनका सबै ग्रन्थहरुमा योगको चर्चा गरिएको छ। सबैभन्दा वढि योगको चर्चा श्रीमद्भगवत् गीतामा गरिएकोछ। अध्यात्म दर्शनका भिन्न-भिन्न शाखाहरुले योगलाई आ-आफ्नै परिवेशमा परिभाषित गरेकाछन्। सांख्य दर्शनमा योगलाई ‘अथ योग अनुशासनम’ अर्थात योग अनुशासन हो भनेर परिभाषित गरिएकोछ। वेदान्त दर्शनको ब्रह्मसुत्रमा योगलाई ‘अथातो ब्रह्म जिज्ञासा’ अर्थात योग ब्रह्मको ज्ञान तथा दर्शनबारे जान्ने आकांक्षा हो भनेर परिभाषित गरिएकोछ। पूर्व-मिमांसा दर्शनमा योगलाई ‘अथातो धर्म जिज्ञासा’ अर्थात योग धर्मको ज्ञान तथा दर्शनबारे जान्ने आकांक्षा हो भनेर परिभाषित गरिएकोछ। पतंजलि योग दर्शनमा योगलाई ‘अथ योग अनुशासनम’ अर्थात योग अनुशासन हो अर्थात जीवनलाई नियमन तथा आफ्नो नियन्त्रणमा राख्नु हो भनेर परिभाषित गरिएकोछ।

 

महर्षि पतंजलिले योग शास्त्रमा कसरी आत्मानुशासित हुन सकिन्छ भन्ने सन्दर्भमा भन्नु भएको छ- "योगश्चित्तवृत्तिनिरोधः"(पतंजलि यो सुत्र अध्याय -१, सुत्र -२)। चित्तका वृत्तिहरुको निरोध, मनको समाप्ति अर्थात अमनी अवस्था योग हो। चञ्चल चित्तका वृत्तिहरुको निरोध गरेर आत्मानुशासित बन्न सकिन्छ। मानिसको चित्त जहाँ-जहाँ दौडिन्छ त्यो चित्तको वृत्ति हो। यिनै चित्तका वृत्तिहरुलाई निरोध तथा निषेध गर्ने विधिलाई योग भनिन्छ। पतंजलिका अनुसार मानिसको दौडिरहने मनको वृत्ति निरोध भयो भने मानिसको मन शान्त हुन्छ र उ आफ्नो वास्तविक स्वरुप आत्म अर्थात पुरुषस्वरुपमा स्थित हुन्छ। मानिसको चित्त वृत्तिको कारणले उसको चारवटै शरीरका आयामहरुमा आएका सबै किसिमका रोग, समस्या तथा अन्य गडबडीहरुको उपचार र समाधान योगका मूल तीन विधि योगासन, प्राणायाम र ध्यान साधनाको सही किसिमको अनुशरणबाट गर्न सकिन्छ। योगासनले विशेषगरि मानिसको शरीरका रोगहरुको निवारण गर्दछ साथसाथ मानसिक, भावनात्मक र आत्मिक समस्याहरुको पनि समाधान गर्दछ। त्यस्तै प्राणायामले विशेषगरि मानिसको मानसिक रोग तथा समस्याहरुको निवारण गर्दछ साथसाथ शारीरिक, भावनात्मक र आत्मिक समस्याहरुको पनि समाधान गर्दछ। र ध्यानले विशेषगरि मानिसको शरीरको भावनात्मक र आत्मिक समस्याहरुको निवारण गर्दछ साथसाथ शारीरिक र मानसिक समस्याहरुको पनि समाधान गर्दछ किनकी मानिसका शरीरका चारैवटा आयामहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा एकआपसमा जोडिएका हुन्छन् तथा अन्तर-सम्वन्धित हुन्छन् र कुनै एक शरीरमा आएको सकारात्मक तथा नकारात्मक परिवर्तनको प्रभाव अर्को शरीरमा त्यही किसिमले ढिलो-चाँढो स्वतः पर्दछ। योगको महत्व र प्रभावकारीताका सन्दर्भमा हार्वड विश्वविद्यालयले सन् २०१५ मा गरेको एक खोजका अनुसार मानिसको रीरका चारवटै आयामहरुमा आइपर्ने यस्ता कुनै रोग, समस्या तथा गडबडीहरुहरु छैनन् जुन योगासन, प्राणायाम र ध्याान साधनाका विधिहरुले समाधान गर्न सक्दैनन्।

 

आधूनिककालमा युग सान्दर्भिक परिभाषामा 'योग'

योगेश्वर भगवान श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भन्नु भएको छ- “योग: कर्मसु कौशलम्” (श्रीमद्भगवत् गीता अध्याय- २, श्लोक- ५०) अर्थात कर्ममा कुशलता नै योग हो। कर्ममा लगाव हुनु तथा कर्मलाई पूजा बनाउनु योग हो। आफ्नो कर्मप्रति निरन्तर साधना गरेर मानिसले जीवनमा उत्कृष्ठता हासिल गर्नसक्छ, यसको कर्मप्रतिको निरन्तर साधना नै योग हो। समान्यतया आम बुझाइमा जीवनमा योग अनुशरण गर्नु भनेको जोगी, सन्यासी, वैरागी हुनु हो भन्ने किसिमले बुझ्ने गरिन्छ तर यो विलकुल गलत र अति शंकिर्ण बुझाई हो। समुच्चा अध्यात्म दर्शन तथा अध्यात्म विज्ञानको सार बोकेको पूर्णतः प्रयोगात्मक विज्ञानमा आधारित महान शास्त्र श्रीमद्भगवत् गीता स्वयंले योगलाई कर्ममा कुशलता भर्ने विज्ञानको रुपमा मान्यता प्रदान गरेर यसको वैज्ञानिक परिभाषा दिएकोछ कि कुनै पनि कर्ममा पूर्णरुपेण पारंगत हुनु योग हो जो आधूनिक मनोविज्ञानले दिएको प्रवाह(Flow) को परिभाषासंग मेल खान्छ। योगको अभ्यासले केही नजानेको आम मानिसलाई उसको जीवनमा केही गहिराइ दिन्छ र अलि मेहनेत गर्ने तथा गहिराइ भएको मानिसलाई उत्कृष्ठतामा पुर्याउँछ। केही खोज र तथ्यांकहरुले उजागर गरेकाछन् कि सामान्य व्यक्तिले १५-१६ घण्टा लगाएर बल्ल-बल्ल गर्ने काम आफ्नो कर्ममा कुशल व्यक्तिले ४-५ घण्टामा सहजै गर्न सक्दछ। अझ विशेष सीपको माग गर्ने क्षेत्रहरु जस्तो प्रविधि, खेलकुद, गायन, नृत्य आदिमा त योगको अझ विशेष महत्व हुन्छ। बिना योग अभ्यास कोही नारायण गोपाल बन्न सक्दैन, कोही लक्ष्मी प्रसाद देवकोटा बन्न सक्दैन, कोही पारश खड्का, कोही अनुराधा कोइराला बन्न सक्दैन। तसर्थ कर्ममा कुशलता, पूर्णता(Perfection) नै योगको वास्तविक परिभाषा हो। हामी कर्मको कुशलतामा योगस्त कसरी हुन सक्छौं? योगको आधूनिक, युग सान्दर्भिक र सुन्दरतम परिभाषा के हुन सक्छ, कसरी परिभाषित गर्न सकिन्छ?? 

 

एउटा प्रसिद्ध भनाइ छ- यदि तिमीले नयाँ कुरा सिक्न छोड्यौ भने तिम्रो आधारभूत प्रगति समेत रोकिनेछ (If you stop learning new things, your basic growing also will be stopped)। तिमीले जीवनमा नयाँ कुरा सिकिराख्यौ भने तिमीभित्र चुनौतीसंग लड्ने क्षमताको विकास भइरहन्छ। जीवनमा जति पनि चुनौतीहरु छन् पूर्ण क्षमताकासाथ त्यसको समाधान गर्यौ भने तिमी आफ्नो कर्ममा कुशल बन्न सक्छौ। जीवनमा जति बढि सकारात्मक चुनौतीहरु (प्रगति गराउने समस्याहररु) आउँछन् र कुशलतापूर्वक तिनको समाधान गरिन्छ जीवनमा त्यतिनै बराबरको प्रगति तथा उन्नती हुन्छ। हामी जति बढि आफूमा चुनौतीको सामना गर्नसक्ने तथा समाधान गर्नसक्ने क्षमताको विकास गर्छौं उति नै कर्ममा कुशलता तथा पूर्णता आउँछ र कर्मको कुशलतामा योगस्त हुनसक्छौं। आफ्नो कर्ममा कुशलता हासिल गरेको, मनका वृत्तिहरु शान्त तथा निरोध भएको खुशी, शान्त, समृद्ध र आनन्दित तथा पूर्ण योगस्त मानिस नै योगको उच्चतम विन्दु परमात्माको योग तथा जोडसम्म पुग्न सक्षम हुन्छ र जीवनबाट मोक्ष प्राप्त गर्दछ। 

 

योगको युग सान्दर्भिक आधुनिक परिभाषा गर्न तथा योगलाई नयाँ पुस्ताहरुमाझ अझ सहज किसिमले पुर्याउन यस विषयमा अझै धेरै काम गर्न बाँकी छ। वर्तमान समयमा प्राय नयाँ पुस्ताले योगका सबै आयामहरुलाई समग्र रुपमा राम्ररी नबुझि केवल शारीरिक व्यायामको रुपमा गर्ने योगासन क्रियाको रुपमा मात्र लिदै आइरहेका छन्। शारीरिक व्यायामको रुपमा गर्ने योगासनले विशेषगरि मानिसको वाहिरी तथा शारीरिक क्षमताको विकास गर्दछ। मानिसको आन्तरीक क्षमताको विकास गर्नकालागि योगका विधि योगासनको साथसाथ प्राणायाम  ध्यान साधनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। आधूनिक भौतिक विज्ञानको विकासले मानिसको जीवनमा सोचेभन्दा पनि बढि सुख, सुविधा बढाएकोछ र वाहिरबाट आउने चुनौतीहरुसंग लड्नसक्ने तथा ती चुनौतीहरुको सहज समाधान गर्नसक्ने वाहिरी क्षमता प्रदान गरेकोछ र यसैका आधारमा विश्व संगठन संयुक्त राष्ट्रसंघले मानिसको सक्षमता मापन गर्न मानव विकास सूचकांक निर्धारण गरेकोछ र हरेक वर्ष त्यसको नतिजा प्रकाशित गर्ने गर्दछ। मानिसको मानसिक, भावनात्मक र चेतनात्मक तथा आत्मिक क्षमताको विकासबिना केवल शारीरिक क्षमता र बुद्धिको क्षमतालाई मात्र बढि प्राथमिकता प्रदान गरिएको मानव विकास सुचकांकका आधारमा मानिस जतिनै विकसित तथा क्षमतावान भएको देखिएतापनि यस किसिमको क्षमताले मानिसको भित्रबाट आएका चुनौतीहरुसंग लड्नसक्ने तथा ती चुनौतीहरुको सहज समाधान गर्नसक्ने आन्तरीक क्षमता बढाउन र त्यसको मापन गर्न सक्दैन र मानिस जीवनको एउटा विन्दुमा पुगेर जीवनबाट थकित हुन्छ। थकानका कारण उसको जीवनमा अनेक किसिमका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक समस्याहरु आइपर्छन र अन्तत्वगत्वा उ जीवनबाट हारखान्छ… त्यसको परिणाम …डिप्रेसन, हिंसा, हत्या, आत्महत्या हामी विश्वव्यापि रुपमा देखिरहेकै छौं। आजको विश्व समाजले मूलतः यही समस्या झेलिरहेकोछ र यस्तो समस्या जतिनै प्रयास गरिएपनि दिनदिनै घट्नुको साटो बढेर गैरहेको छ। योगका मूल तीन विधिहरु योगासन, प्राणायाम र ध्यान साधनाको सही, अनुशासित र नियमित अनुशरणबाट मानिसमा वाहिरी र आन्तरिक दुवै किसिमका क्षमताहरुको पूर्ण विकास गर्न सकिन्छ र यस्ता समस्याहरुको समाधान गर्न सकिन्छ। तसर्थ योगका विधि योगासन, प्राणायाम र ध्यान साधनाको माध्यमबाट मानिस भित्रै स्थित रहेको उसको आन्तरीक प्रतिभा तथा क्षमता जागरण गरेर विश्व समाजबाट यस किसिमका समस्याहरुको न्यूनिकरण गर्न योगासन, प्राणायाम र ध्यान साधनाका सैद्धान्तिक ज्ञान र प्रयोगात्मक व्यवहारीक अभ्यासहरुलाई हामीले मानव विकास सूचकांकमा समावेस गर्न यथाशिघ्र आवश्यक पहल कदमी लिनु अपरिहार्य भएकोछ।

 

व्यवहारीक परिभाषामा 'योग'

योग अध्यात्मको व्यवहारिक पाटो हो, योगले दुःखको निवृत्ति गर्छ। योगको ज्ञानले दुःखबाट सदा वियोग गर्छ र जीवनमा फेरी दुःख आउदैन। आधूनिक मनोविज्ञानको खोजका अनुसार कुनैपनि काम कसैले एकदम राम्रोसंग तथा पारंगत किसिमले गरेको छ र उ जीवनमा खुशी छ भने त्यसलाई मनोविज्ञानले प्रवाह(Flow) भन्छ र अध्यात्मले त्यसलाई योग भन्छ। जीवनका सबै किसिमका गतिविधहरु कहाँ-कहाँ टुटेका छन् त्यो वियोग हो र स्वस्थ, सहज, समृद्ध र शान्त जीवनकालागि ती टुटेका कुराहरुलाई जोड्नु योग हो। यी समस्याहरुलाई सानो-सानो प्रयासले सूधार्न तथा जोड्न खोज्नु योग हो। आध्यात्मिक मानिसले मात्र योग गर्छ भन्ने आम बुझाइ गलत हो, मानव-मानवबिचको पारिवारीक तथा सामाजिक जुडाव पनि योग हो। ऋषिहरुका अनुसार मानिसले आफ्नो जीवनको विकास गर्न गरिरहेका हरप्रकारका काम तथा प्रयासहरु योग हुन्। तर योगको यो ढिलो प्रक्रिया हो, योगको आत्यन्तिक लक्ष्य तथा उच्चतम अवस्था दुःख निवृत्ति र परमात्मासंग जोड तथा मोक्षको प्राप्ति हो। यस किसिमका योगका कामहरुबाट योगको उच्चतम अवस्था अर्थात आत्मालाई परमात्मासंग जोड्न मानिसलाई धेरै जन्म लाग्न सक्छ। योगको उच्चतम अवस्थामा चाँढो पुग्ने विधिहरु ऋषिहरुले खोज गरेर योगका विधिहरुलाई विभिन्न शास्त्रहरुमा विस्तृत रुपमा लिपिवद्ध गरिदिएर हामीलाई सहजता प्रदान गरेकाछन्। सहज मानव जीवनकालागि योग ऋषिहरुको परम प्रसाद हो, परम वरदान हो। 


महर्षि पतंजलिले योगका आठ अंग- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि बताउनु भएको छ, ती मध्य योगासन, प्राणायाम र ध्यान महत्वपूर्ण, लोकप्रिय र बहुप्रचलित छन् संसारभरि। ठिक प्रकारले योगका विधिहरु अनुशरण गर्ने मानिस पूर्णरुपमा स्वस्थ हुन्छ अर्थात उसका शरीरका चारवटै आयामहरु सन्तुलनमा हुन्छन् र त्यसको परिणामस्वरुप अन्त्यमा उ योगको उच्चतम विन्दु अर्थात परमात्मासंग जोडिन पुग्दछ तथा मोक्ष प्राप्त गर्दछ। योग प्रयोगात्मक अभ्यास हो, सैद्धान्तिक रुपमा यसका विषयहरु बुझेर कसैलाई कुनैपनि मिकसिमको लाभ हुदैन। यसलाई उदाहरणले बुझौं- योगका शास्त्र पढनु, गुरुहरुका वाणी तथा प्रवचनहरु सुन्नु खाना पकाउन सिक्नु तथा खाना पकाउनु जस्तो हो र खाना खानु योगलाई प्रयोगात्मक व्यवहारमा ल्याउनु हो। जसरी खाना खाएपछि मात्र हाम्रो पेट भरिन्छ र शरीरलाई पौष्टीक तत्व प्राप्त हुन्छ त्यसैगरि योगका ज्ञानलाई प्रयोगात्मक व्यवहारमा उतारेपछि मात्र यसबाट आवश्यक लाभ प्राप्त गर्न सकिन्छ। योगलाई व्यवहारीक बनाउने प्रमुख तीन विधिहरु योगासन, प्राणायाम र ध्यान साधना हुन्। योगासन मानिसको स्थुल शरीरसंग सम्वन्धित छ, प्राणायाम मानसिक शरीरसंग सम्वन्धित छ र ध्यान भावनात्म र चेतनात्मक तथा आत्मिक शरीरसंग सम्वन्धित छ।

 

योगीक परिभाषामा 'योग'

अध्यात्ममा योगको अर्थ जोड अर्थात जोड्नु हो। आधूनिक मनोविज्ञानका पिता मानिने अब्राहम मास्लोले भनेका छन्- मानिसको जीवन पूर्णरुपमा स्वस्थ हुन त्यतिखेर प्रारम्भ हुन्छ जव उसको शरीर र मन एकसाथ हुन्छन् तथा योगमा हुन्छन्। उसको जीवनका प्रगतिका सबै कुरा यहींबाट शुरु हुन्छन्। यदि मानिसको शरीर र मन संगै छैनन् भने यो वियोग हो र वियोगको अवस्थामा उसको प्रगतिको सम्भावना न्यून तथा नगन्य हुन्छ। योगको योगीक परिभाषा अनुसार हाम्रो शरीरका चार आयाम- स्थुल शरीरलाई मानसिक शरीरसंग; मानसिक शरीरलाई भाव शरीरसंग; भाव शरिरलाई चेतनात्मक तथा आत्मिक शरीर अर्थात आत्मासंग र आत्मालाई परमात्मा तथा सर्वव्यापि इश्वर, परब्रह्म, सम्पूर्ण अस्तित्व, ब्रह्माण्डको चेतनासंग जोड्नु वास्तविक योग हो। मुख्यतया योगका सात प्रकार छन्- कर्म योग, तन्त्र योग, हठ योग, भक्ति योग, ज्ञान योग, ध्यान योग, सांख्य योग तथा राज योगको ज्ञान र यिनका विविध विधिहरुको सही अनुशरण गरेर शरीरका चारवटै आयामहरु एक आपसमा जोडिएपछि मानिसको जीवन पूर्णताउन्मुख हुन्छ। सनातन अध्यात्मको मत अनुसार हाम्रो जीवन पूर्णताउन्मुख भएपछि आत्माको जोड परमात्मासंग हुन्छ र मानिस सदाकोलागि जन्म-मृत्युको चक्रबाट मुक्त भइ मोक्ष प्राप्त गर्दछ। पूर्वीय तथा पश्चिमि दर्शन अर्थात मेटाफिजिक्सले अध्यात्म साधनाको प्रमुख विधि योगको मार्गबाट प्राप्त गर्न सकिने मोक्षको विषय वरीपरी घुमेर विभिन्न दर्शन शास्त्रहरु प्रतिपादन गरेकोछ।


वियोगको अर्थमा ‘योग’

‘योग वियोग हो’, सुन्दै अचम्म लाग्ने यो वाक्यांश अध्यात्म साधनाको अत्यन्तै चाखलाग्दो र जान्नै पर्ने विषय तथा महत्वपूर्ण पाटो हो। सनातन अध्यात्म दर्शनको बृहत्तर फैलावटलाई अध्ययन गर्दा वास्तवमा योग दर्शनमा योगको गुह्य परिभाषा यसको शाव्दिक अर्थ 'जोड्नु' भन्ने भन्दा विपरीत वियोग गर्नु भनेर गरिएको छ। यसअनुसार अध्यात्म साधनामा ‘योग’ शव्द योग अर्थात जोड्नुमा भन्दा वियोग अर्थात अलग गर्नुमा केन्द्रित रहेको पाइन्छ। सांसारीक जगतका विषय, वस्तु र सुविधाहरुको भोग तथा आशक्तिबाट वियोग तथा वैराग्यको अवस्था वियोग हो र योगका सबै विधिहरुको अन्तिम लक्ष्य मानिसलाई सांसारीक मोहबाट वियोग गराएर परमात्मामा योग गराउनु हो। छोटकरीमा भन्नु पर्दा समुच्चा अध्यात्म साधनाको एकमात्र उदेश्य मानिसलाई ‘स्वत्व’ अर्थात उसको वास्तविक स्वरुप आत्मा अर्थात पुरुषतत्वमा स्थित गराउने अभ्यास हो। अध्यात्म दर्शनको अत्यन्तै महत्वपूर्ण विषय योगको आत्यन्तिक लक्ष्य पनि मानिसभित्र सुक्ष्म रुपमा रहेको पुरुष अर्थात आत्मालाई प्रकृति अर्थात भौतिक जगतप्रतिको मोह तथा आशक्तिवाट वियोग गराएर उसको आत्मालाई परमात्मामा योग गराउनु तथा उसको वास्तविक स्वरुप आत्मा अर्थात पुरुषतत्वमा स्थित गराउनु हो। वियोगको अवस्था कस्तो हुन्छ भन्ने सन्दर्भमा उर्दूमा एउटा प्रसिद्ध भनाइ छ- "दुनियामें हुँ पर दुनियाकी तलवदार नहीं हुँ; बाजारमें हुँ पर बाजारकी खरीदार नहीं हुँ"! यो भनाइको अर्थ हो म भौतिक जगतमा त छु तर त्यसको भोगप्रति आशक्त छैन, तटस्थ छु, जति सामान्य जीवनयापनकोलागि आवश्यक पर्छ त्यति मात्र भोग गर्छु र बजारमा छु तर बजारको रमझम तथा आकर्षणमा लिप्त छैन, त्यसलाई प्रकृतिको नियम तथा प्रकृतिको सुन्दरता मानेर तटस्थ भएर हेर्छु र जति आवश्यक त्यति मात्र खरीद गर्छु, प्रकृतिको त्रिगुण र पंचक्लेसबाट मुक्त छु। 


सनातन अध्यात्मको आदीकालका कथनहरुका अनुसार जव शुन्यमा निराकार स्वरुपमा रहेको अव्यक्त ब्रह्म तथा परमात्माले आफूलाई पुरुष र प्रकृति स्वरुपमा व्यक्त गरेर यो ब्रह्माण्डको रुप धारण गर्यो तव पुरुषतत्व त्रिगुणमयि(सत्व-रजस-तमस) पकृतिको मोहजाल र पंचक्लेस(राग, द्वेश, अंहकार, अविद्या, भय)मा फस्दै राम्रा, नराम्रा कर्म गर्दै गयो। आफ्नो वास्तविक मूलस्वरुप परमात्माबाट टाढा हुदै गयो र विस्तारै परमात्मा छ, म परमात्माको अंश हुँ भन्ने समेत बिर्सियो सांसारीक जगतको मोहमा मुर्छित भएकाकारण र अनेकौं दुःखका जन्जालहरुबाट घेरिएर पकृतिमै जन्म-मृत्युको चक्रभ्युमा जन्मौं-जन्म घुमिरह्यो। तव आफ्नो मूल सनातन स्वरुप परमात्माबाट टाढा भएको मानिसभित्र सुक्ष्म तथा निराकार रुपमा रहेको आत्मा अर्थात पुरुषतत्वलाई पुनः मूलस्वरुपमा फर्काउने उपाय तथा विधिहरुको खोजी हुन थाल्यो, यस्तो खोज गर्ने व्यक्तिहरु ऋषिमूनिका नाम तथा विशेषणबाट परिचित भए। यही विषयको खोज गर्ने क्रममा ऋषिमूनिहरुले विभिन्न शास्त्रहरुको रचना गर्दैगए र तिनै शास्त्रहरु आज सनातन अध्यात्म दर्शनका ग्रन्थहरुको रुपमा हामी अध्ययन/अध्यापन गर्दै/गराउदै आइरहेका छौं। 


आफ्नो मूलस्वरुप परमात्माबाट टाढा हुदै गएको पुरुषतत्वलाई पुनः मूलस्वरुपमा फर्काउने उपाय तथा विधिहरुको सबैभन्दा सुन्दरतम र प्रभावकारी व्याख्या इसापूर्व २०० मा महर्षि पतंजलिद्वारा संग्रहित योग दर्शनले दिएकोछ। योग दर्शनले पुरुषतत्वलाई आफ्नो मूलस्वरुमा पुनरस्थापित हुन तथा परमात्मासंग योग हुन प्रकृतिको भोगवृत्तिबाट वियोग हुनुपर्ने पहिलो मान्यता राख्दछ र यही विषय वरिपरी योग दर्शनका चार पादहरुको विस्तृत व्याख्या रहेकोछ कि पुरुषलाई प्रकृतिमोहबाट कसरी वियोग गर्ने। यसकालागि महर्षि पतंजलिले योग दर्शनमा योगका बहिरंग पाँच- यम(आफूले संसारप्रति गर्नुपर्ने आचरण), नियम(आफूले आफैंप्रति गर्नुपर्ने आचरण), आसन, प्राणायाम, प्रत्याहार  अन्तरंग तीन- धारणा, ध्यान र समाधि गरि आठ प्रकारका विधि, चरण तथा नियमहरु बताउनु भएकोछ। पतंजलि योग सुत्रले भनेको छ मानिस नैतिकवान, अनुशासित तथा इमान्दार नभइकन आध्यात्मिक बन्न सक्दैन, आत्मज्ञान तथा तत्वज्ञानमा उपलव्ध हुन सक्दैन। आत्मज्ञान तथा तत्वज्ञान प्राप्त गर्नकालागि आफ्नो जीवनकालमा अन्य प्रकारका योगहरुको अनुशरणको साथसाथ विशेषगरि पतंजलि योगसुत्रका अष्टांग योगका सबै बहिरंग र अन्तरंग चरणहरु अनुशरण गरेर पहिला मानिस अनुशासित र नैतिकवान बन्नु आवश्यक हुन्छ तव मात्र उ आत्मवोध तथा तत्ववोधमा पुग्नसक्छ अर्थात आफ्नो मूलस्वरुप परमात्मा अवस्थित हुनसक्छ। योगका विधि, चरण तथा नियमहरुको अनुशरण गर्दै वहिरंग चरण पार गरेर अन्तरंग चरण धारणा, ध्यान हुदै समाधिमा अवस्थित भएपछि मानिसमा सांसारीक विषय भोगबाट आफैं वियोग तथा वितराग उत्पन्न हुन्छ, उ तटस्थ तथा सम्यक भएर विषयभोगप्रति आशक्तिवस नभई आवश्यकतावस विषयहरुको भोग गर्दछ र उ हलुका, पवित्र, शान्त, आनन्दित भएर मुक्ति, निर्वाण अर्थात मोक्ष प्राप्तितिर दिशाउन्मुख हुन्छ र आफ्नो मूलस्वरुप परमात्मा अवस्थित हुन पुग्दछ। 

bsirjana@gmail.com


No comments:

Post a Comment

शिवोहम् योगपीठ: सवाल जवाफ श्रृंखला- ३८

                                                                                   #अध्यात्म_विज्ञान  # धर्म_विज्ञान #जीवन_विज्ञान          ...