Thursday, 15 February 2024

स्वास्थ्य उपचार, आधुनिक स्वास्थ्य चिकित्सा विज्ञान र अध्यात्म स्वास्थ्य चिकित्सा विज्ञानविच अन्तरसम्वन्ध

 (Inter-relationship between Health Treatment, Modern Health Science and Spiritual Health Science)

(पूर्वीय अध्यात्म दर्शनको शोधमा आधारीत लेख)

                                        डा. सिर्जना भण्डारी*




अध्यात्म स्वास्थ्य चिकित्सा विज्ञान (Spiritual Health Science)

अध्यात्म विज्ञान आफैंमा मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक र व्यवहारीक सबै किसिमका स्वास्थ्य समस्याहरुको उपचार तथा समाधान गर्न सक्ने एक विराट स्वास्थ्य चिकित्सा विज्ञान हो। गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक आधुनिक स्वास्थ्य चिकित्सा विज्ञानको जननी अध्यात्म स्वास्थ्य चिकित्सा विज्ञान नै हो। अध्यात्म चिकित्सा विज्ञानका विभिन्न शाखाहरु छन् र ति मध्य योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान प्रमुख मानिन्छन्। यिनै प्राचीन स्वास्थ्य उपचार तथा चिकित्सा पद्धतिहरुको अनुशरण गर्दै र समयको आवश्यकता अनुसार सकारात्मक परिमार्जन हुँदै आधुनिक चिकित्सा विज्ञान आजको यो अवस्थासम्म आइपुगेको हो र अवस्था, परिस्थिति तथा आवश्यकता अनुसार आधुनिक चिकित्सा विज्ञानका उपचार पद्धतिहरुमा, उपकरणहरुमा र औषधीहरुमा नयाँ-नयाँ खोज तथा अनुसन्धान गरी तिनमा सकारात्मक परिमार्जन तथा विकासको क्रिया निरन्तर चलिरहेकै छ। आधुनिक चिकित्सा विज्ञानले यस किसिमका नयाँ-नयाँ उपचार पद्धति, उपकरण तथा औषधीहरुको खोज तथा आविस्कार गरि मानवसेवामा ठूलो योगदान पुर्याउदै आइरहेको छ।


आधुनिक स्वास्थ्य चिकित्सा विज्ञान 

एउटा प्रसिद्ध भनाई हामी सुन्दै आइरहेका छौं- ‘स्वास्थ्य नै पहिलो सम्पत्ति हो अर्थात पहिलो प्राथमिकता स्वास्थ्यलाई दिइनु पर्दछ त्यसपछि मात्र सम्पत्ति तथा अरु चिजहरुलाई प्राथमिकता दिइनु पर्दछ’ यस अकाट्य भनाइलाई मूल प्राथमिकतामा राखेर आधुनिक चिकित्सा विज्ञानले मानव स्वास्थ्यको क्षेत्रमा ठूलो धनराशी र समय लगानी गर्दै आइरहेको छ। महान वैज्ञानिक अलवर्ट आइन्सटाइनले भनेका छन्- “कुनै पनि नयाँ खोज तथा आविस्कार पुरानो पुस्ताको ज्ञानको बुइ तथा काँध चढेर आएको हुन्छ र यो सत्य समाजका सबै क्षेत्र तथा विषयहरुमा भएका विकासक्रममा लागू हुन्छ”। तसर्थ हामी यो बुझौं कि आधुनिक चिकित्सा विज्ञान, प्राचीन चिकित्सा विज्ञानकै बुइ तथा काँध चढेर यहाँसम्म आइपुगेको हो अर्थात सहज भाषामा भन्नुपर्दा आज हामीलाई शारीरिक तथा मानसिक स्वास्थ्य उपचारमा अत्याधुनिक स्वरुपमा प्राविधिक सेवा प्रदान गरिरहेको आधुनिक चिकित्सा विज्ञान प्राचीन चिकित्सा विज्ञानकै परिमार्जित तथा विकसित स्वरुप हो।

 

प्राचीन स्वास्थ्य चिकित्सा विज्ञान

स्वास्थ्य चिकित्सा विज्ञानको इतिहासमा प्रवेश गर्दा समग्र स्वास्थ्य चिकित्सा विज्ञानमा पूर्वीय दर्शनको उल्लेख्य प्रभाव देख्न सकिन्छ। प्राचीन इतिहासमा भगवान श्रीहरी विष्णुका वाहन आदी शेषनागका अवतारको रुपमा मानिदै आइएका महान दार्शनिक, वैज्ञानिक तथा तन र मनका चिकित्सक महर्षि पतन्जलिले समग्र मानव जातिको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य सन्तुलनमा राख्न र सनातन पूर्वीय दर्शनलाई विश्वसामु फैलाउन थुप्रै महत्वपूर्ण ग्रन्थहरु प्रतिपादन गरे र यि मध्य तीन ग्रन्थहरु- पतन्जलितन्त्र, महाभाष्यम र योगशुत्र प्रमुख तथा सर्वाधिक लोकप्रिय र प्रचलित मानिन्छन्। यि तीन महत्वपूर्ण ग्रन्थहरु प्रतिपादन गरेर महर्षि पतन्जलिले सनातन पूर्वीय दर्शनको वैज्ञानिक विकासक्रममा अत्यन्तै महत्वपूर्ण र गरिमामय योगदान पुर्याएका छन्। महर्षि पतन्जलिले मानिसको शारीरिक स्वास्थ्यकालागि आयुर्वेद चिकित्सा पद्धतिलाई प्रमुखतामा राखेर ‘पतन्जलितन्त्र(समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान श्रीहरि विष्णुका अवतार कविराज धनवन्तरीको ज्ञानलाई लिपिवद्ध गरिएको)’, सामाजिक स्वास्थ्यकालागि ‘महाभाष्यम(अग्रज दार्शनिक गुरु पाणिनीको संस्कृत व्याकरण अष्टाध्यायिमाथि भाष्य लेखिएको)’ र मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक स्वास्थ्यलाई प्रमुखतामा राखेर आध्यात्मिक स्वास्थ्यकालागि ‘योगशुत्र’ जस्ता महानतम ग्रन्थहरुको प्रतिपादन गरि यि ग्रन्थका विधिहरु मानवको जीवनशैलीमा स्थापित गराइदिए र समग्र स्वास्थ्यको क्षेत्रमा आजसम्मनै सम्पूर्ण मानव जातिले यस वैज्ञानिक महाज्ञानको अभूतपूर्व लाभ लिदै आइरहेका छन्। यिनै प्राचीन ग्रन्थहरुका आधारशिलामा टेकेर समयक्रमसंगै विभिन्न चिकित्सा पद्धतिहरुले गति लिदै आएका छन् र आधुनिक वैज्ञानिक चिकित्सा पद्धति पनि प्राचीन वैज्ञानिक चिकित्सा पद्धतिकै विकसित स्वरुप हो। महर्षि पतन्जलिले भगवान श्रीहरि विष्णु र भगवान श्रीशिवबाट प्राप्त गर्नुभएको यो महाज्ञान क्रमशः आफ्ना शिष्यहरु जगतगुरु आदी शंकराचार्य लगायत अन्य शिष्यहरुमा सम्प्रेसित गरे र गुरुकुलको गुरु-शिष्य परम्परा मार्फत पछिल्ला पुस्ताहरुमा हस्तानतरण हुदै र आवश्यकता अनुसार परिमार्जित तथा विकसित हुदै मानवको स्वास्थ्य उपचारकालागि विभिन्न चिकित्सा पद्धतिहरु आजको यो अवस्थामा आइपुगेका छन् र यस क्षेत्रमा आजपनि परिवर्तन तथा विकासको श्रृंखलाहरु निरन्तर चलिरहेकाछन् र चलिनैरहनेछन् किनकी सृष्टिको सिद्धान्त अनुसार विश्व-ब्रह्माण्ड हरपल चलायमान तथा परिवर्तनशील छ, यहाँ केही पनि कहिल्यै पनि स्थिर तथा यथास्थितिमा रहदैन।

 

समग्र मानव जातिको पूर्ण स्वास्थ्यकालागि महर्षि पतन्जलिद्वारा प्रतिपादित पतन्जलितन्त्रपछि पूर्वीय दर्शन अन्तर्गत आयुर्वेद चिकित्सा पद्धतिमा पछिल्लो पुस्ताका महान चिकित्सकद्वय आचार्य सुश्रुत र आचार्य चरकको अत्यन्तै महत्वपूर्ण योगदान रहेको पाइन्छ। आयुर्वेद चिकित्सा पद्धतिमा आचार्य सुश्रुतद्वारा लिखित ‘सुश्रुत सम्हिता’ र आचार्य चरक द्वारा लिखित ‘चरक सम्हिता’को अत्यन्तै महत्वपूर्ण योगदान रहेको पाइन्छ। सुश्रुत सम्हितामा चिकित्सा पद्धतिका आठ प्रकारका विशिष्ठीकृत सेवाहरुका बारेमा विस्तृतमा वर्णन गरिएको छ र आधुनिक चिकित्सा विज्ञानले पनि यिनै आठ प्रकारका विशिष्ठीकृत चिकित्सा सेवाहरु परिवर्तित समयको आवश्यकता तथा माग अनुसार परिमार्जन र विकास गरि उही, उस्तै तथा फरक नाम राखेर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। आधुनिक चिकित्सा विज्ञान र प्राचीन चिकित्सा विज्ञान दुवैले चिकित्सा पद्धतिमा अनुशरण गर्दै आएका आठ प्रकारका विशिष्ठीकृत चिकित्सा सेवाहरु निम्न रहेका छन्- (१) सल्य चिकित्सा, (२) सालाक्य चिकित्सा, (३) काया चिकित्सा, (४) ग्राह चिकित्सा, (५) विष चिकित्सा, (६) वजिकरण चिकित्सा, (७) रशायन चिकित्सा, र (८) वाल चिकित्सा। यि आठ प्रकारका विशिष्टीकृत हरेक चिकित्सा पद्धतिहरुका पाँच-पाँच आयाम, निर्देशन तथा प्रक्रियाहरु छन्- सुत्र, निदान, शरीर, चिकित्सा, र कल्प। यि आयाम, निर्देशन तथा प्रक्रियाहरुले कुन किसिमको स्वास्थ्य समास्याको उपचार कुन किसिमले गर्ने भन्नेबारे पूर्ण जानकारी प्रदान गरि अध्यापन गराइ चिकित्सकलाई उक्त विषयको विशेषज्ञ बनाइने गरेको उल्लेख पाइन्छ।  

सल्य चिकित्सा (Surgery)-  आयुर्वेद चिकित्सा विज्ञानमा सल्य चिकित्सालाई छुट्टै विशिष्ठ शाखाको रुपमा स्थापित गरि आठ फरक-फरक प्रकारका सल्य चिकित्सा उपचार पद्धति र सल्यक्रियामा प्रयोग गरिने वैज्ञानिक स्वास्थ्य उपकरणहरु र प्रयोग गरिने औषधीहरुकोबारेमा विस्तृतमा उल्लेख गरिएको छ।

सालाक्य चिकित्सा (ENT- Ear-Nose-Throat)- आयुर्वेद चिकित्सा विज्ञानले स्वास्थ्य क्षेत्रमा कान-नाक-गला/घाँटी यि तीन अंगहरुको एकअर्कासंग अत्यन्तै नजिकको अन्तरसम्वन्ध तथा प्रभाव रहने गरेको पहिचान गरेर छुट्टै विशिष्ठ शाखाको रुपमा स्थापित गरि यस विषयमा अध्यापन गराइ विशेषज्ञहरु तयार गरेर नाक-कान-गला/घाँटी को स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरेको उल्लेख छ। यसकासाथै स्वास्थ्य उपचारमा प्रयोग गरिने वैज्ञानिक स्वास्थ्य उपकरण र प्रयोग गरिने औषधीहरुकोबारेमा विस्तृतमा उल्लेख गरिएको छ।

काया चिकित्सा (General Medicine)- आयुर्वेद चिकित्सा विज्ञानले मानिसको काया अर्थात शरीरका मौसमी तथा सामान्य रुपमा उत्पन्न हुने स्वास्थ्य समस्याहरुको स्वास्थ्य उपचार गर्न काया चिकित्सा अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको उल्लेख छ।

ग्राह चिकित्सा (Psychology)- मानिसको मानसिक, भावनात्मक तथा व्यवहारगत असन्तुलन (Mental, Emotional, Behavioral disorders) भई स्वास्थ्यमा आउने समस्याहरु सम्वन्धि बिमारी ठिक गर्ने स्वास्थ्य उपचार सेवा ग्राह चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

विष चिकित्सा (Antidotes)- मानिसको शरीरमा विभिन्नकारणले शरीरका भित्री तथा वाहिरी अंगहरुमा फैलिएको विष(Poison) कम तथा निर्मुल गरी बिमारी ठिक गर्ने स्वास्थ्य उपचार सेवा विष चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

वजिकरण चिकित्सा (Reproductive)- महिला पुरुष दुवैको शरीरमा देखिने यौन दुर्वलता तथा असक्षमता (Sexual Disorder) र प्रजनन् दुर्वलता तथा असक्षमता (Infertility) सम्वन्धि स्वास्थ्य समस्याहरु ठिक गर्ने स्वास्थ्य उपचार सेवा वजिकरण चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

रशायन चिकित्सा (Chemo)- मानिसको शरीर तथा स्वास्थ्य सन्तुलनमा राख्न शरीरका विभिन्न ग्रन्थीहरुद्वारा स्वस्फुर्त रुपमा उत्पन्न हुने रशायनको उत्पादनमा असन्तुलन भएकोकारण विभिन्न अंगहरुमा देखिएका स्वास्थ्य समस्याहरु ठिक गर्ने स्वास्थ्य उपचार सेवा रशायन चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ। सबै प्रकारका फिजियो थेरापीहरु, अकुपन्चर, अकुप्रेशर, मसाज आदि स्वास्थ्य सेवाहरु रशायन चिकित्सा अन्तर्गत पर्दछन्।

वाल चिकित्सा (Paediatric)- भर्खर जन्मिएका नावालक, शिशु तथा वालालिकाहरुको स्वास्थ्य समस्याहरु ठिक गर्ने स्वास्थ्य उपचार सेवा वाल चिकित्सा अन्तर्गत प्रदान गर्ने गरिएको उल्लेख छ।

 

आधुनिक चिकित्सा विज्ञानले पनि स्वास्थ्य उपचारको यही प्राचीन चिकित्सा पद्धतिकै ढाँचाको अनुशरण गर्दै यसमा समयको माग र आवश्यकता अनुसार समग्र स्वास्थ्य उपचारका केही नियम, विधि तथा प्रकृतिमा सुधार तथा परिमार्जन गरेर स्वास्थ्य सम्वन्धि विभिन्न नयाँ-नयाँ विषयहरु, स्यास्थ्य उपचार गर्ने नयाँ-नयाँ उपकरणहरु तथा नयाँ-नयाँ औषधीहरुमा खोज तथा अनुसन्धान गरेर विशिष्ठता र विशेषज्ञता हासिल गरी वर्तमान समयमा समस्त मानव जातिलाई अति विशिष्ठ किसिमको स्वास्थ्य सेवाहरु प्रदान गर्दै आइरहेको छ।

 

मानव स्वास्थ्य विज्ञान

मानव स्वास्थ्यको परिभाषा स्वास्थ्य सेवासंग सम्वन्धित विभिन्न संघ-संस्थाहरुले आफ्नो उदेश्य तथा स्वास्थ्य सेवाको प्रकृति अनुसार फरक-फरक किसिमले दिने गरेको पाइने भएपनि सबै परिभाषाहरुको समग्र उदेश्य तथा अन्तिम लक्ष्य मानव स्वस्थ्यलाई सबै किसिमले चुस्त-दुरुस्त बनाउन मद्धत गर्नु नै हो।

 

अध्यात्म चिकित्सा विज्ञानका अनुसार स्वास्थ्यको परिभाषा

स्वास्थ्यको शाव्दिक अर्थ स्व+स्थ हो अर्थात आफ्नो स्वरुपमा स्थित हुनु। जो व्यक्ति आफ्नो स्वरुपमा स्थित छ उसलाई स्वस्थ व्यक्ति मानिन्छ। कस्तो व्यक्ति आफ्नो स्वरुपमा स्थित हुन्छ? जो व्यक्ति शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक, व्यवहारिक, सामाजिक तथा आध्यात्मिक आदि सम्पूर्ण रुपले स्वस्थ हुन्छ उ आफ्नो स्वरुपमा स्थित रहेको तथा पूर्णरुपमा स्वस्थ रहेको मानिन्छ। अध्यात्म चिकित्सा विज्ञानका अनुसार मानिसको स्वास्थ्यका चार आयाम रहेका छन्- शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य र चेतनात्मक तथा आत्मिक स्वास्थ्य। अध्यात्म चिकित्सा विज्ञानले हाम्रो शरीरमा रहेका उर्जा तथा शक्तिका केन्द्र प्रमुख सात चक्रहरु र तिनमा निरन्तर संचारित भैरहने कुण्डलीनी उर्जा र यस उर्जाको वितरण तथा कार्यका आधारमा अझ विस्तृत व्याख्या गर्दै मानिसका सात किसिमका स्वास्थ्यबारे उल्लेख गरेको छ। 

 

आयुर्वेद चिकित्सा विज्ञानका अनुसार स्वास्थ्यको परिभाषा

आयुर्वेद चिकित्साका ज्ञाता आचार्य सुश्रुतको सुश्रुत संहिता अनुसार-

समदोषः समाग्निश्च समधातुमलक्रिया:

प्रसन्नात्मेन्द्रियमनाः स्वस्थ एत्यभिधीयते।।

अर्थात दोष, धातु, अग्नि, मल क्रिया आदि जो व्यक्तिको सम अर्थात सन्तुलनमा हुन्छ साथै व्यक्तिको इन्द्रिय, मन र आत्मा प्रसन्न हुन्छ उही पूर्णरुपमा स्वस्थ मानिन्छ।

समदोष- मानिसको शरीरका सबै प्रक्रियाहरुलाई संचालित गर्ने तीन दोष- वाथ, पित्त  कफ सम अवस्थामा छन् भने शरीर स्वस्थ मानिन्छ।

समधातु तथा समाग्नि- मानव शरीरमा तेह्र प्रकारका अग्निहरु पंच-भूताग्नि, सप्त-धात्वाग्नि तथा जठराग्निको सम अर्थात सन्तुलित स्थितिमा रहेको छ भने मात्र खाएको खानाको सम्यक पाचन गर्न सक्छ र शरीर स्वस्थ हुन्छ।

सममल क्रिया- शरीरले अनावश्यक तत्वको रुपमा वाहिर निस्कासन गर्ने मल, मूत्र तथा पसीना सम रहेको अवस्थामा मात्र शरीर स्वस्थ मानिन्छ।

इन्द्रियहरुको प्रसन्नता- मानव शरीरका पंच-ज्ञानइन्द्रियहरु तथा पंच-कर्मइन्द्रियहरुले आफ्ना सबै कार्यहरु समरुपमा गरिरहेका छन् भने मात्र मानिसको शरीर स्वस्थ रहन्छ।

मनको प्रसन्नता- मनमा सात्विक, राजसिक र तामसिक तीन अवस्थाहरुको प्रधानता रहन्छ, यि अवस्थाहरु सम अवस्थामा छन् भने मानिसको मन सदा प्रसन्न तथा सकारात्मक रहन्छ र मानिस स्वस्थ रहन्छ।

आत्माको प्रसन्नता- निश्वार्थ भावले सामाजिक कार्य गर्दा र परोपकारको भावले आवश्यकतामा रहेकाहरुलाई दान, सेवा तथा सहयोग प्रदान गर्दा र एक मात्र परमशक्तिमाथि आस्था राख्दा आत्मा प्रसन्न हुन्छ र मानिस स्वस्थ रहन्छ।

 

माथि उल्लेखित कुनैपनि पक्षमा सम तथा सन्तुलनको अवस्था छैन अर्थात यि अंगहरुमा अनियमितता छ भने मानिसको शरीर पूर्णतः स्वस्थ रहदैन। योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानले पनि स्वास्थ्यको परिभाषा यही सेरोफेरोमै दिएका छन् र हरप्रकारले मानिसका स्वास्थ्यका सबै आयामहरु पूर्णरुपमा स्वस्थ रहनु पर्ने कुरानै प्रमुख प्राथमिकतामा राखेका छन्।


विश्व स्वास्थ्य संगठन(WHO)का अनुसार स्वास्थ्यको परिभाषा

सम्युक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनले दिएको पुरानो परिभाषामा मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई मात्र समावेस गरिएको तथा जोड दिइएको थियो। तर वास्तविक व्यवहारमा केवल यि तीन पक्षमा मात्र जोड दिदा मानिस पूर्णरुपमा स्वस्थ रहन नसकेको र उसको भावनात्मक र चेतनात्मक तथा आत्मिक अर्थात आध्यात्मिक स्वास्थ्य कमजोर रहेकोकारण उ पुर्णरुपमा स्वस्थ हुन र उसको स्वास्थ्यका सबै आयामका समस्याहरु समाधान नभएको स्वास्थ्य सम्वन्धि गरिएका विभिन्न वैज्ञानिक अनुसन्धानका तथ्यांकहरुले देखाएकाकोकारण मानिस पूर्णरुपमा स्वस्थ रहन उसको आध्यात्मिक स्वास्थ्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने आवश्यकता महसुस गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको पुनर परिभाषा गर्यो र आध्यात्मिक स्वास्थ्यलाई पनि स्वास्थ्यको परिभाषामा समावेस गर्यो। यो स्पष्ट छ कि अध्यात्म तथा प्राचीन चिकित्सा विज्ञान, आधुनिक चिकित्सा विज्ञान र विश्व स्वास्थ्य संगठन सबैले दिएको स्वास्थ्यको परिभाषा अनुसार यदि कुनै व्यक्ति शारीरिक रुपमा पूर्णतः स्वस्थ छ तर उसको स्वास्थ्यका अन्य पक्षहरु मानसिक, भावनात्मक, चेतनात्मक तथा आत्मिक अर्थात उसको व्यवहार, बोलीचाली तथा सामाजिक सम्वन्धहरु मध्य कुनै एक मात्र पनि सहि छैन भने उलाई पूर्णरुपमा स्वस्थ व्यक्ति मानिदैन।

 

विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको पुनर परिभाषा अनुसार मानिसको शरीर र मन सामाजिक तथा आध्यात्मिक दृष्टिले स्वस्थ रहुनु नै पूर्ण स्वास्थ्य हो। विश्व स्वास्थ्य संगठनले अध्यात्म तथा प्राचीन चिकित्सा विज्ञानका प्रमुख अंगहरु योग चिकित्सा विज्ञान, आयुर्वेदिक चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानले दिएका परिभाषाहरुलाई नै आधार मानेर स्वास्थ्यको यस्तो समग्र परिभाषा प्रस्तुत गरेको हो। यिनै प्राचीन चिकित्सा विज्ञानका परिभाषाहरुलाई आधार मानेर हाल संचालनमा आएका स्वास्थ्य सेवासंग सम्वन्धित भिन्न-भिन्न संध-संस्थाहरु तथा स्वास्थ्य पेशाकर्मीहरुले स्वास्थ्यको परिभाषा गर्दै आएका छन्। विभिन्न स्वास्थ्य संध-संस्थाहरुले आ-आफ्नो उदेश्य तथा सेवाको प्रकृति अनुसार फरक-फरक किसिमले स्वास्थ्यको परिभाषा गर्ने गरेका भएपनि समग्रतामा सबैले भन्न तथा दिन खोजेको कुरा एउटै हो मानव सेवा र मानवको पूर्ण स्वास्थ्य।

 

वर्तमानमा स्वास्थ्यका सम्वन्धमा मनन् नगरी नहुने महत्वपूर्ण विषय

प्राचीन चिकित्सा विज्ञानले मानिसलाई पूर्णरुपमा स्वस्थ रहनकालागि योग चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानका विधिहरुलाई जीवनमा अनुसरण गर्न गुरुकुल तथा सामाजिक शिक्षा मार्फत योगका सबै अभ्यासहरु गर्न; असन्तुलित खानपानकाकारण शरीरमा रोग लाग्न नदिन स्वस्थ तथा शुद्ध खानपान गर्न; शरीर तथा वरपरको वातावरण अशुद्धिकाकारण रोग लाग्न नदिन उचित सरसफाइ गर्न; मन, भावना, चेतना तथा आत्म अशुद्धिकाकारण रोग लाग्न नदिन सकारात्मक सोचविचार तथा निश्वार्थ सेवाभाव राख्न प्रेरित गर्दै मानिसको जीवनशैली सहज तथा सक्रिय बनाउन सिकाइन्थ्यो र अवस्था अनुसार यि आचरणहरु अनुशरण गर्न अनिवार्य पनि गरिन्थ्यो जसले मानिसलाई रोगी हुनबाट बचाउँथ्यो र सानोतिनो स्वास्थ्य समस्या भैहाल्यो भनेपनि सहजै स्वस्थ गराउन सकिन्थ्यो किनकी प्राचीन चिकित्सा पद्धति रोग लागेपछि उपचार गर्नु भन्दा आफ्नो जीवनशैली सहज र सक्रिय राखेर रोग नै लाग्न नदिनु निको भन्ने आर्दशलाई आत्मसाथ गरेर चलेको पद्धति हो। 

 

तर यो अकाट्य तथ्यगत सत्यताका वावजुद अज्ञानतावस आधुनिक चिकित्सा क्षेत्रमा आधुनिक चिकित्सा विज्ञानको चमकदकम, आधुनिकता, व्यवसायिक सोच, होडबाजी, आडम्वर आदि बिकृतिहरु अत्यधिक हाबी भएकोकारण प्राचीन चिकित्सा विज्ञान र मानिसलाई पूर्ण रुपमा स्वस्थ राख्न मद्धत गर्ने यसका सहज तथा अति उपयोगी विधिहरु ओझलमा परेका छन्। यही कारणले आजको मनुष्यले स्वास्थ्य सेवा क्षेत्रमा झेलिरहेको विडम्वना कति दुखदायि छ भने सनातन अध्यात्म चिकित्सा विज्ञान अन्तर्गत रहेका प्रमुख चिकित्सा पद्धतिहरु आयुर्वेद चिकित्सा विज्ञान, योग चिकित्सा विज्ञान, प्राकृतिक चिकित्सा विज्ञानकै काँध तथा बुई चढेर अस्तित्वमा आएको र हालको समयमा बहुचर्चित रहेको आधुनिक चिकित्सा विज्ञानले प्राचीन चिकित्सा विज्ञानका मानव जीवनकालागि नभइ नहुने, अतिउपयोगी, अतिआवश्यक तथा अतिमहत्वपूर्ण सबै आदर्शहरु लगभग बिर्सिसकेको छ र आधुनिक चिकित्सा विज्ञान पद्धतिलाई लंगडो बनाएको छ। प्राचीन चिकित्सा विज्ञानले मानिसको स्वास्थ्यका चारवटै महत्वपूर्ण आयामहरु शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक तथा आत्मिक स्वास्थ्य र विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार मानिसको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका सबै आयामहरुको उपचारमा समान प्राथमिकता प्रदान गरिनु पर्दछ भन्नेकुरामा जोड दिएको छ तर आधुनिक चिकित्सा विज्ञानले मानिसको केवल शारीरिक स्वास्थ्य र केही मात्रामा मानसिक स्वास्थ्यलाई मात्र आफ्नो प्राथमिकतामा राख्दै आएको छ। त्यस्तै प्राचीन चिकित्सा विज्ञानको अर्को अति महत्वपूर्ण आदर्श रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिने उपायहरुलाई मानिसको दैनिक व्यवहारमा अनुशरण गर्नुपर्छ जस्तो कि योग अभ्यास तथा व्यायाम, प्राणायाम, ध्यान, सकारात्मक सोच, निश्वार्थ सेवा, मनोरन्जन आदिलाई मानिसको जीवनशैली वनाउनु पर्छ भन्ने पक्षमा पछिल्लो समयमा केही हदसम्म आधुनिक चिकित्सिा विज्ञानले आफ्नो मत राख्दै आएको भएतापनि यसलाई प्राथमिकता राखेर यि गतिविधिहरुलाई किन मानिसको जीवनशैली बनाउने र कसरी मानिसको जीवनशैलीमा अनिवार्य गर्न सकिन्छ भनेर स्वास्थ्य सेवाग्राहीहरुलाई सिकाउने सम्वन्धमा आफ्नो उत्तरदायित्व भित्र राखेको समेत छैन, केवल भन्नकोलागि मात्र स्वास्थ्य सेवाग्राहीहरुलाई आफ्नो जीवनशैली सुधार्नुस भन्ने गरेका छन्, कस्तो जीवनशैली अपनाउने र कसरी त्यसलाई सम्भव गराउने भन्ने सम्वन्धमा मौन रहने गरेको तथा कुन विधिले जीवनशैली सुधार गर्ने भन्ने पक्षमा त्यति चासो नदिइएको देखिन्छ। 

 

तसर्थ वर्तमान समयमा ठूलो समस्याको स्वरुप लिदै गैरहेको मानिसहरुको समग्र स्वास्थ्य सबै किसिमले सन्तुलनमा राख्न प्राचीन चिकित्सा विज्ञानले अनुशरण गर्दै आएका योग अभ्यास, प्राणायाम, ध्यान, खानपान, सरसफाइ, सकारात्मक सोविचार, निश्वार्थ सेवाभाव जस्ता उपयोगी आचरण र आदर्शहरु तथा आध्यात्मिक जीवनशैलीलाई आधुनिक चिकित्सा विज्ञानले पनि अनुशरण गर्नु आवश्यक छ र यसकालागि आधुनिक चिकित्सा विज्ञानका पाठ्यक्रहरुलाई पुनःपरिमार्जन गरि प्राचीन चिकित्सा विज्ञानका उपयोगी विषयहरुलाई समावेश गर्नुपर्ने आवश्यकता टडकारो देखिएको छ अन्यथा आगामी दिनहरुमा आधुनिक चिकित्सा विज्ञानले स्वास्थ्यको समस्या खासगरि मानसिक स्वास्थ्य समस्या धान्न नसक्ने गरि बढेर जाने विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले देखाइसकेको छ।

 

तर यस सम्वन्धमा स्वास्थ्य क्षेत्रमा केही हुदै नभएको भने अवश्य होइन, हाम्रो वरीपरि भएका सकारात्मक कुरालाई हामीले साथ दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ र त्यसको सिको गर्न अझ बढि फैलाउन मद्धत गर्नुपर्छ। पछिल्लो समयमा मानिसलाई पूर्णरुपमा स्वस्थ राख्नकालागि शारीरिक तथा मानसिक स्वास्थ्यका साथसाथ मानिसको भावनात्मक, चेतनात्मक तथा आत्मिक अर्थात सामाजिक, आध्यात्मिक स्वास्थ्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ भनेर बुझ्न सक्षम तथा आध्यात्मिक रुपले जाग्रीत स्वास्थ्यकर्मीहरुले प्राचीन चिकित्सा विज्ञानले सुझाएका तथा प्राथमिकतामा रोखेका मानिसको शारीरिक र मानसिकका स्वास्थ्यकासाथै सामाजिक तथा आध्यात्मिक स्वास्थ्य पनि सही गर्न मद्धत गर्ने प्राचीन चिकित्सा पद्धतिका विधिहरुलाई आफ्नो स्वास्थ्य संस्था तथा पेशाहरुमा अनुशरण गर्न प्रारम्भ गरेका छन्। अव यो क्रमलाई स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीहरुले मात्र नभई व्यक्ति, समाज तथा राष्ट्रका सरकारी तथा नीजि हरेक अंग तथा निकायहरुले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान पर्याउनु पर्ने आवश्यकता टडकारो देखिन्छ किनकी समग्र विकास सामुहिक प्रक्रिया तथा उत्तरदायित्व हो एक्लैले गरेर सम्भव हुदैन। यो सुविचार सबैको हृदयमा प्रकाशित होस्।

 

--------------------------------------------

*जीवन विज्ञान प्रशिक्षक 

Monday, 5 February 2024

मनका समस्याहरुको समाधानमा ध्यान अति प्रभावकारी चिकित्सा पद्धति हो

 Meditation is an Effective Therapy on Problems Solution of Mind

नवयुग निर्माणको आयाम: अध्यात्म जागरण तथा स्वजागरण!

                                        डा. सिर्जना भण्डारी*



मानव शरीरका चार आयाम (Four Dimensions of Human Body)

हाम्रो शरीरका चार आयामहरु छन्- स्थुल शरीर, मनश शरीर, भाव शरीर र चेतन तथा आत्मिक शरीर। स्थुल शरीर दृश्य शरीर हो र बाँकी तीन प्रकारका नदेखिने तर सर्वाधिक महत्व राख्ने अदृश्य तथा सुक्ष्म शरीरहरु हुन्। शरीरका यि चारवटै आयामहरु विच एकअर्कासंग प्रत्यक्ष सम्वन्ध तथा प्रभाव रहेको हुन्छ। स्थुल शरीरमा भएका सकारात्मक तथा नकारात्मक परिवर्तनहरुले सुक्ष्म शरीरलाई प्रभाव पार्दछन्, त्यसैगरि सुक्ष्म शरीरमा भएका सकारात्मक तथा नकारात्मक परिवर्तनहरुले स्थुल शरीरलाई प्रभाव पार्दछन्। स्थुल शरीरमा हुने लगभग सबै किसिमका गतिविधि तथा परिवर्तनहरुलाई आधुनिक विज्ञानले आविस्कार गरेका अत्याधुनिक विभिन्न उपकरणहरुको माध्यमबाट देख्न तथा थाहा पाउन सकिन्छ तर बाँकी तीनवटा सुक्ष्म शरीरमा हुने सबै खालका गतिविधिहरुबारे थाहा पाउन सक्ने उपकरण हालसम्म हामी माझ उपलव्ध छैन। केही हदसम्म पछिल्लो चरणमा विकास भएका मनोविज्ञानका सिद्धान्तहरु र यस अन्तर्गत प्रयोग गरिने विभिन्न विधि तथा उपकरणहरुको माध्यमबाट मनस शरिरका मानसिक तथा मनोवैज्ञानिक गतिविधिहरु जान्न र तिनको आवश्यक उपचार गर्न सम्भव भएको त छ तर यो आवश्यकताको तुलनामा अत्यन्त अपर्याप्त छ। बाँकी दुईवटा भाव तथा चेतन शरीरसम्म आधुनिक विज्ञानको सोच समेत पुग्न सकेको छैन। एउटा प्रसिद्ध भनाई छ- ‘जहाँ विज्ञानको सिमा सकिन्छ त्यहाँबाट अध्यात्म शुरु हुन्छ’। यो भनाई सत्य हो किनकी अध्यात्म विज्ञानहरुको पनि विज्ञान ‘महाविज्ञान’ हो र दर्शनहरुको पनि दर्शन ‘महादर्शन’ हो। यो भनाइलाई पूर्वीय सभ्यताका प्राचीन वैज्ञानिक, हाम्रा पुर्खा, परमतपश्वी ऋषिमुनिहरुले लामो समय लगाएर गरेका आफ्ना विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धानहरुबाट दशौं हजार वर्षअघि नै प्रमाणित गरिसकेका थुप्रै प्रमाणहरु हामी समक्ष छन्। आधुनिक विज्ञान अध्यात्म विज्ञानको एउटा सानो साखा हो जसले दशौं हजार वर्षअघि अध्यात्मले गरेका प्रत्यक्ष वैज्ञानिक खोज तथा अनुसन्धानहरुलाई आधुनिक युगमा आविस्कार गरिएका नयाँ-नयाँ अत्याधुनिक प्रविधिहरुको माध्यमवाट पुनःखोज तथा अनुसन्धान गरेर प्रमाण सहित हाम्रा सामु राख्दै आइरहेको छ र आधुनिक भौतिक विज्ञान कहलाएको छ तर अत्यन्तै कम अंशमा यो काम भएको छ र सनातन अध्यात्म विज्ञानले खोजमा आएका अधिकांश विषयहरु आधुनिक भौतिक विज्ञानले पत्ता लगाउन बाँकी नै छ, भौतिक विज्ञानले पत्ता लगाउन बाँकी रहेका सत्य-तथ्यहरुलाई पराभौतिक विज्ञान भन्ने गरिन्छ। कम अंशमा भएको भएपनि भौतिक विज्ञानले अध्यात्म विज्ञानले गरेको खोजमाथि गरेको पुनःखोज तथा अनुसन्धानको कामले निरन्तरता पाइरहेको छ। अव आउने दिनहरुमा हाम्रा पुर्खाले गरेका प्राचीन वैज्ञानिक खोज तथा अनुसन्धानबाट उपलव्ध अभिलेखहरुको उत्खनन् गरि तिनको संरक्षण तथा प्रवद्र्धन गर्दै सबैको कल्याण हुने किसिमले व्यापक ढंगले तिनलाई उपयोगमा ल्याउने काममा अग्रसर भई आधुनिक भौतिक विज्ञानले गरेका खोज तथा आविश्कारका तथ्यांकहरुलाई बढि प्राथमिकता दिने तथा प्रामाणिक मान्ने पुस्ताहरुले बुझ्ने र अनुशरण गर्नेगरि व्यवहारमा तथा दृश्यमा ल्याउनु आज हामी सबैको उत्तरदायित्व बनेको छ।

 

मन तथा मनोविज्ञान के हो? (What is Mind and Psychology)

व्यवहारीक परिभाषा अनुसार हाम्रो दैनिक व्यवहार तथा जीवनशैलीमा हाम्रा ज्ञानइन्द्रियहरुबाट प्राप्त सूचनाहरुका कारण दिमागका स्नायुहरु चलायमान हुन्छन् र विचारहरु उत्पन्न हुन्छन्, यिनै विचारहरुको समुह मन हो। विचारहरुका कारण मानिसको मनमा बनेका भाषा, व्यवहार तथा प्रकृति मनोविज्ञान हो जसले मानिसको मानसिकता र उसले गर्ने हरेक किसिमका क्रिया, व्यवहार तथा गतिविधिहरुमा प्रत्यक्ष प्रभाव पार्दछ। वास्तवमा भन्ने हो भने मन नै अति महत्वपूर्ण सुक्ष्म अंग हो अर्थात सबैथोक हो जो भौतिक विज्ञान तथा पराभौतिक विज्ञान दुवै आयामसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ र हाम्रा शरीरका चारवटै आयामहरुमा हाम्रो मन तथा मनोविज्ञानले प्रत्यक्ष प्रभाव पार्दछ। आधुनिक मनोविज्ञानका अनुसार हाम्रो मनका तीनतह छन्- चेतन, अवचेतन र अचेतन। अध्यात्म विज्ञानका अनुसार हाम्रो मनका साततह छन्, यि हाम्रो शरिरका सुक्ष्म उर्जा केन्द्र सात चक्रहरुसंग जोडिएका छन् र मनका यि साततहहरु योग साधनाका माध्यमबाट सक्रिय तथा जाग्रीत हुन्छन्। मनोविज्ञान भन्छ चेतन मन हाम्रो समुच्चा मनको केवल १० प्रतिशत अंश मात्र हो, बाँकी ९० प्रतिशत अंश अवचेतन र अचेतन मनले ओगटेको हुन्छ र प्राय हामीले दैनिक रुपमा गर्ने सबै किसिमका गतिविधिहरु अवचेतन र अचेतन मनबाट नै संचालित तथा नियन्त्रित हुन्छन्। मनोविज्ञान तथा अध्यात्म विज्ञानका अनुसार मनका सबै तहहरुको सिमा तथा क्षमता असिमित हुन्छ हाम्रो मनमा जन्म-जन्मदेखिका स्मृतिहरु संग्रहीत हुन्छन् र यिनै जन्म-जन्मदेखिका संग्रहीत स्मृतिहरुलाई नै हाम्रो प्रारब्ध तथा भाग्यको रुपमा लिने गरिन्छ जुन हामीले भौतिक संसारमा जीवन जीउने क्रममा सकारात्मक तथा नकारात्मक परिणामका रुपमा हाम्रो दैनिक व्यवहारमा घटित भएर देखापर्ने गर्दछन् ।

 

प्राविधिक तथा वैज्ञानिक परिभाषा अनुसार प्रमात्रा भौतिक विज्ञानको भाषामा उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह मन हो अध्यात्म विज्ञान  प्रमात्रा भौतिक विज्ञान दुवै भन्छन् उर्जाका परमाणुहरूद्वारा निर्मित संधै उर्जाको तरंगमा चलिरहने ब्रम्हाण्ड हरपल परिवर्तनशील यहाँ केही पनि स्थिर छैन। ब्रह्माण्ड यिनै उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह हो र हाम्रो मन पनि यिनै विचारका उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह हो। किनकी हाम्रो विचार पनि उर्जा हो जो निरन्तर हाम्रो दिमागका स्नायुहरुवाट निस्किएर ब्रह्माण्डमा तरंगीत भइरहन्छ र हाम्रो मन यिनै विचारका उर्जाका तरंगहरुबाट निर्मित हुने हुनाले स्थिर छैन किनकी हरेक प्राणीहरुको मनलाई ब्रह्माण्डमा चलिरहने उर्जाका तरंगहरुले हरपल प्रभावित गरिरहेका हुन्छन्। अझ स्पष्ट भाषाका भन्नु पर्दा हामी भित्र लगातार प्रवाहित भैरहने यिनै विचारका उर्जा तरंग तथा सूचनाहरुको आदान-प्रदान नै हाम्रो मन हो जसलाई ब्रह्माण्ड भरि तरंगीत भैरहेका उर्जाका एलोक्ट्रो मेग्नेटीक तरंगहरुले प्रत्यक्ष रुपमा प्रभावित गरिरहेका हुन्छन् र हाम्रो मन, व्यवहार, भाषा, जीवनयापन, जीवनशैली  कुनै घटना तथा विषयप्रति हेर्ने हाम्रो दृष्किोणको निरन्तर निर्धारण र निर्माण गरिरहेका हुन्छन्। अव प्रश्न उठ्छ त्यसोभए हामीले हाम्रा ज्ञान इन्द्रियहरुबाट कस्ता सूचनाहरु ग्रहण गरिरहेका छौं, दिमागमा कस्ता विचारहरु आउन दिरहेका छौं, हाम्रो मन कस्तो बनाइहेका छौं, हाम्रो व्यवहार तथा भाषा कस्ता बनिरहेका छन् र हाम्रो जीवनयापन तथा जीवनशैली कस्तो बनाउने। यो पाठको सिकाइ र सिकाइको विधि हाम्रा पुर्खा, प्रचीन वैज्ञानिक ऋषिमुनिहरुले दशौं हजार वर्ष अघि नै पूर्वीय अध्यात्म दर्शनमा समावेश गरेर हामीलाई यो प्रज्ञाको धनी बनाइसकेका छन्। यसको तात्पर्य यो हो कि हाम्रो मनको सही व्यवस्थापन गर्ने सिकाइ हाम्रो सनातन अध्यात्म ज्ञान भित्रै छ तसर्थ यस सिकाइ को सही उपयोग गर्दै सबै माझ पुर्याउनु अति आवश्यक छ।

 

मनोविज्ञान- हाम्रा विचारहरुले हाम्रो मनमा कुनै विषय तथा घटनाप्रति बनाएको छवि तथा नक्शाको आधारमा वास्तविक सत्य मानेको मानसिक अवस्था मनोविज्ञान हो। मानिसले कुनै पनि विषय तथा घटनाको सम्वन्धमा आफ्नो मनोविज्ञान अनुसार नै प्रतिक्रिया तथा व्यवहार प्रकट गर्ने गर्दछ। मानिसको मनोभाव अर्थात मानसिक तथा भावनात्मक अवस्था, मानसिक प्रक्रिया, अनुभव, व्यक्त-अव्यक्त व्यवहारहरुको क्रमवद्ध तथा वैज्ञानिक तवरले अध्ययन गर्ने विज्ञानलाई मनोशास्त्र अर्थात मनोविज्ञान भनिन्छ र यो अनुभवको विज्ञान हो। 

 

मनका समस्याहरु (Problems of Mind)

जीवन जिउने क्रममा मानिसका सामु विभिन्न किसिमका शारीरिकमानसिक तथा व्यवहारीक सजिला-अप्ठ्यारा परिस्थितिहरु आइपर्ने गर्दछन्। यस्ता परिस्थितिहरुलाई हेर्ने हरेक मानिसको आ-आफ्नो मनोविज्ञान अनुसार फरक-फरक दृष्टिकोण हुन्छ। मानिसले कुनै विषय तथा घटनालाई हेर्ने दृष्टिकोणमा उसले आफ्नो दिमाग, मन र भावमा सम्वन्धित घटना तथा विषयप्रतिको भोगाइ तथा अनुभव र त्यसका आधारमा तयार गरेको छवि तथा नक्शाको प्रत्यक्ष प्रभाव रहेको हुन्छ र उसले बनाएको छवि तथा नक्शामा उसको मनमा संग्रहित जन्म-जन्मका स्मृति तथा संस्कारहरु तथा वर्तमानमा उ रहदै आएको परिवेश, वातावरण तथा संस्कारको प्रत्यक्ष प्रभाव रहेको हुन्छ। यहीकारण हरेक व्यक्तिले एकै किसिमका घटना तथा विषयलाई फरक-फरक किसिमले लिने, त्यसउपर आफ्नो प्रतिक्रिया दिने तथा फरक किसिमले व्यवहार गर्ने गर्दछन्। यस्ता प्रतिक्रिया तथा व्यवहारहरु उनीहरुको आन्तरीक बुझाइ, क्षमता, साहस, आत्मचेतना, आत्मसम्मान तथा आत्मविश्वासको अवस्थामा पनि निर्भर गर्दछ। मानिसले कुनैपनि घटना तथा विषयमाथि आफ्नो दिमाग, मन र भावमा बनाएको छवि तथा नक्शा कतिको सत्य तथा वास्तविक हो या होइन भन्ने कुरामा त्यति विश्लेषण गर्दैन र तिनै पस्थितिहरुलाई सतप्रतिशत वास्तविक सत्य मानेर त्यसैलाई आफ्नो वास्तविक पहिचान मान्दछ र त्यही पस्थितिभित्र आफूलाई अभ्यस्त गर्दै मनपरे पनि मननपरे पनि जीउन बाध्य गराउँछ र यहीकारण जीवनमा विभिन्न किसिमका शारीरिक, मानसिक, व्यवहारीक समस्याहरु र अशान्त तथा अस्थिरताको अवस्था बेहोर्दछ।

 

वास्तविकता के हो र केलाई वास्तविक सत्य मान्ने? (What is Reality?)

मानिस आफूले जीवनयापन गरिरहेको भौतिक  संसार तथा भौतिक जीवनशैलीमा जे देख्छ, जे भोग्छ तथा जे अनुभव गर्छ त्यसैलाई वास्तविक सत्य हो भन्ने ठान्दछ किनकी यि दृश्य, भोगाई र अनुभवहरुका छवि तथा नक्शाहरुले उसको दिमाग, मन, भाव र चेतनामा गहिरोगरी छाप छोडेका हुन्छन् जसलाई उ सहजै होइन भनेर इन्कार गर्न, मनबाट हटाउन, मेटाउन तथा त्यसलाई नमान्न र परिवर्तन गर्न सक्दैन  यसो गर्दा उ परिवार तथा समाजबाट अलग्निु पर्छ, परिवार तथा समाजले अस्वीकार गर्छ भन्ने डरले त्यसैको मुनि दबेर जीवन जीउन बाध्य हुन्छ। तर अध्यात्मले यो ब्रह्माण्ड पुरै माया होभ्रम हो, यहाँ केही पनि वास्तविक तथा सत्य छैनयो सपना नगरी हो  अनित्य  छ भनेर परिभाषित गर्दछ। वास्तविक सत्यलाई हेर्ने तथा बुझ्ने भौतिक विज्ञान र अध्यात्म विज्ञानको यही दृष्टिकोणलाई राम्ररी बुझ्न नसकेर आजका मनुष्य जीवनमा विभिन्न किसिमका कठिनाइहरु भोग्दै आइरहेका छन्।

 

वास्तवमा अध्यात्म विज्ञानले परिभाषित गरे जस्तै वास्तविक सत्य भन्ने केही पनि छैन, सबै घटना तथा विषयहरु भ्रम र हामी आफैं-आफैंले आ-आफ्नो दिमाग, मन, भाव र चेतनामा निर्माण गरेका छवि तथा नक्शाहरु हुन् जसलाई व्यक्तिपिच्छे, संस्कारपिच्छे, आयामपिच्छे फरक-फरक दृष्टिकोणबाट हेरिन्छ र फरक किसिमले परिभाषित गरिन्छ। उदाहरणकोलागि प्राकृतिक प्राणीहरु जस्तै ‘पेंटेड लेडी’ प्रजातिको पुतलीले यो प्रकृति तथा संसारलाई फरक किसिमले कलाइडोस्कोप(Kaleidoscope) अर्थात 3D ढाँचामा देख्छ, रातिमात्र आँखा देख्ने चरो लाटोकोसेरोले फरक किसिमले देख्छ, अरु प्राणीहरुले पनि फरक-फरक किसिमले देख्छन् र मानिसहरुले पनि फरक-फरक किसिमले देख्छन्। यि सबै प्राणीहरुकालागि आ-आफ्नै किसिमका वास्तविक सत्य छन्। मानिस प्राणीहरु मध्य सर्वोत्कृष्ट चेतनशील प्राणी भएकोले उसले हरेक भौतिक तथा पराभौतिक विषयहरुलाई आफ्नो समझ, बुझाइ, चेतनाको स्तर, अनुभव, भूगोल, समाज, धर्म तथा संस्कार अनुसार अझ फराकिलो ढंगले फरक देख्छ यो संसारलाई र झन धेरै प्रकारका वास्ताविक सत्यहरु निर्माण गर्दछ आफ्नो दिमाग, मन, भाव, चेतना अर्थात मनोविज्ञानमा। तसर्थ केलाई वास्ताविक सत्य मान्ने यो पहिलो प्रश्न हो। यदि वास्तविक सत्य अवस्था अनुसार फरक-फरक हुन्छ भने हामी किन हामीले मानेकै छवि, नक्शा तथा मान्यतालाई वास्तविक सत्य मानेर संधै दु:खी भैरहने यो दोस्रो प्रश्न हो। यदि वास्तविक सत्य फरक-फरक हुन्छ भने हामी वास्तविक ‘वास्तविक सत्य’को खोजी किन नगर्ने र भ्रमको जीवनबाट किन मुक्त नहुने यो तेस्रो प्रश्न हो। यसवोच्च सत्य यो हो कि र दुनियाको सर्वोच्च वास्तविक ‘वास्तविक सत्य’को खोजी केवल सनातन अध्यात्म विज्ञानका विधिहरुले मात्र सिकाउन तथा मद्धत गर्न सक्छ।

 

वास्तविक सत्यलाई मानिसको व्यवहारीक परिवेशमा हेर्दा

स्वश्थ नाता-सम्वन्ध बेहोरेको व्यक्तिले हरेक नातेदार तथा सम्वन्धीहरुलाई खराव देख्छ र शंकाको दृष्टिले हेर्छ तर अर्कोकोलागि यो वास्तविक सत्य नहुन सक्छ, कुनै क्षेत्रमा सफलता पाउन नसकेको व्यक्तिले उक्त क्षेत्रलाई मुस्किल र सफलतालाई असम्भव देख्छ तर अर्कोकोलागि यो पनि वास्तविक सत्य नहुन सक्छ। त्यस्तै परिवारमा एकजनालाई नराम्रो किसिमको रोग लागेको छ भने परिवारको अर्को सदस्यले मलाई पनि यस्तै हुन्छ होला भनेर चिन्तित हुन थाल्छ तर उसकालागि यो पनि वास्तविक सत्य नहुन सक्छ। यो सबै मानिसको मनको भ्रम हो किनकी मानिसको मन नै सबैथोक हो, मनमा गहिरोसंग स्थापित भएको छवि तथा नक्शाले उसका हरेक गतिविधिहरुमा प्रत्यक्ष रुपमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्दछ। मानिसको मन स्वश्थ, सन्तुलित तथा सकारात्मक छ भने बिना कुनै ठूलो तथा विशेष मेहनत उसको जीवन सुखी, खुशी, शान्त, समृद्ध, सफल र आनन्दित हुन्छ। तर मन स्वश्थ, सन्तुलित तथा सकारात्मक छैन भने उसले विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारिक कठिनाइहरु बेहोर्दै बेखुशी र अशान्त जीवन जीवन बाध्य हुन्छ।

 

तसर्थ, मानिसको मनलाई दु:खी, असफल, अशान्त तथा रोगी बनाउने विविध कारणहरु पत्ता लगाएर त्यसको निदान खाोज्नु आजको विश्वमा हामी सबैको सबैभन्दा महत्वपूर्ण काम तथा उत्तरदायित्व भएको छ। भौतिक विज्ञान तथा आधुनिक चिकित्सा विज्ञानका पद्धतिहरुले जतिसुकै प्रगति गरेको भएपनि यि पद्धतिहरु मानिसको मनको धेरै भित्रसम्म पुग्न सकेका छैनन् तर अध्यात्म विज्ञान दशौं हजार वर्ष अगाडि देखि नै मानिसका मनका सबै तहहरुका साथसाथ, भावना र चेतनाका सबै तहहरुमा समेत पुगिसकेको छ र अध्यात्मसंग मन, भावना र चेतना शुद्ध राख्ने तथा उपचार गर्ने पर्याप्त विधिहरु पनि छन्। मानिसको मन सन्तुलित राख्नकालागि अध्यात्म विज्ञानमा सबैभन्दा बढि अनुशरण गरिने विधि योग हो, पातन्जल शुत्रका अनुसार योगका आठवटा अंगहरु छन्। प्रकृतिका आधारमा यि आठ अंगहरुलाई दुई भागमा विभाजन गरिएको छ, वहिरंग अंग र अन्तरंग अंग। वहिरंग अंग अन्तर्गत- (१)यम (२)नियम (३)आसन (४)प्राणायाम (५)प्रत्याहार रहेका छन् र अन्तरंग अंग अन्तर्गत- (६)धारणा (७)ध्यान र (८)समाधि रहेका छन्। योगका आठ अंगमा वहिरंग अंगका पाँच अंगहरु मानिसले आफू र संसारप्रति गर्नुपर्ने सद्व्यवहारहरुसंग समवन्धित छन् र अन्तरंग अंगका तीन अंगहरु आफैंभित्र आफूलाई खोजी आफ्नो चेतनाको स्तर बढाउने ध्यान साधनासंग सम्वन्धित छन्।

 

योगका यि आठ महत्वपूर्ण अंगहरुमध्य अध्यात्म विज्ञान र आधुनिक चिकित्सा विज्ञान दुवैले मानिसको शारीरिक, मानसिक र व्यवहारीक कठिनाइ तथा समस्याहरुको समाधान गर्न सबैभन्दा बढि योगासन, प्राणायाम र ध्यान साधनाका विधिहरुलाई व्यवहारमा प्रयोग गर्दै आइरहेको छ। योगासन र प्राणायाम बहिरंग विधि हुन जसको अभ्यासले अन्तरंग विधि ध्यान साधनालाई मानिसको जीवनमा अनुशरण गर्न सहज बनाउने हुनाले ध्यानको सहयोगी विधिको रुपमा अभ्यास गर्ने गरिन्छ तर ध्यान साधना गर्नकालागि योग तथा प्राणायाम गर्नुनै पर्छ भन्ने अनिवार्यता भने छैन। योगासन तथा प्राणायामको अभ्यास नगरीकन पनि ध्यान साधना गरेर हाम्रो शरीर, मन, भावना तथा चेतनाको सन्तुलीकरण गर्न सकिन्छ तर योगासन तथा प्राणायामको अभ्यास गर्नु अत्यन्त लाभदायक मानिन्छ जसले मानिसको शरीरका चारवटै आयामहरुलाई सन्तुलित राख्न मद्धत गर्दछ र ध्यान साधनामा प्रवेश गर्न सहज वातावरण तयार गर्दछ। मनिसको शरीर, मन, भावना तथा चेतनाको सन्तुलीकरण गर्न सर्वाधिक रुपमा ध्यानका विधिहरु अनुशरण गर्दै आइएको सन्दर्भमा ध्यानलाई एक महत्वपूर्ण मनोचिकित्सा पद्धतिको रुपमा मान्यता दिदै आइएको छ। वास्तवमा मानिसका सबै रोगहरु, असहज अवस्थाहरु, अप्ठ्यारा व्यवहार तथा गतिविधिहरु उसले आफ्नो मनमा कुनैपनि घटना तथा विषयहरुलाई हेर्न बनाएको छवि तथा नक्शाहरुको आधारमा हुने हुनाले साधनाका क्रममा ध्यानले थाहा नै नपाइकन मनुष्यको मनलाई क्रमिक रुपमा विस्तारै फकाउदै भन्छ- ‘हे भ्रमित मनुष्य तैंले यो दृश्य अर्थात भौतिक जगतमा जे देखिरहेको, भोगिरहेको तथा अनुभव गरिरहेको छस् ति सबै माया हुन, यहाँ केही पनि वास्तविक सत्य छैन, वास्तविक सत्य केवल म हुँ ‘ध्यान’, म तँलाई तेरो आत्मा, चेतना र त्यो परालौकिक अद्वेत सम्म पुर्याउने पथप्रदर्शक हुँ जो तेरो शरीर रहदा र नहरँदा दुवै अवस्थामा तँ संगै रहन्छ त्यसैले भौतिक संसारको पछि लाग्न छोड र मलाई अभ्यास गर्ने क्रियामा लाग भन्दै हाम्रो विचार, मन, भावना र चेतनामा गढेर रहेका भ्रमित, नकारात्मक तथा असन्तुलित छवि तथा नक्शाहरुलाई निर्मुल गरिदिन्छ र अन्त्यमा साधकको शरीर, मन, भावना र चेतनालाई पूर्णरुपमा सकारात्मक, निर्मल र सम्पूर्ण किसिमले स्वश्थ बनाइदिन्छ।

 

मनका समस्याहरुको समाधानमा ध्यान चिकित्सा पद्धतिको भूमिका

(Role of Meditation Therapy on Problems Solution of Mind)

हाम्रा ज्ञानइन्द्रियहरुले पाएको सूचनाका आधारमा हाम्रो दिमागका स्नायु/न्यूरोन्सहरु चलायमान हुन्छन् र हाम्रो विचार बन्दछ। यो विश्वास गरिदै आइएको छ कि हामी जस्तो विचार गर्छौं त्यस्तै नै बन्दै जान्छौं किनकी विचारले मन बनाउँछ, मनले हाम्रो व्यवहार तथा भाषा बनाउँछ र हाम्रो व्यवहार तथा भाषाले हाम्रो सम्वन्ध, जीवनयापन तथा जीवनशैली बनाउँछ। तसर्थ हामी कस्तो हुने तथा बन्ने भन्ने निर्णय गर्ने अधिकार हामीलाई नै छ अर्थात हामीले हाम्रो मनको सही व्यवस्थापन गरेर चाहे अनुसारको जीवनशैली निर्माण गर्ने अधिकार हामीलाई नै छ। 

 

ध्यान चिकित्सा पद्धति (Meditation Therapy)

व्यवहारीक प्रयोगका आधारमा चिकित्सा अर्थात थेरापीलाई फिजियो थेरापी र साइको थेरापी दुइ किसिममा विभाजन गरिएको छ। सामान्यतया चिकित्सा शव्दलाई शारीरिक तथा मानसिक रोगहरुको उपचारसंग मात्र जोडेर बुझ्ने गरिन्छ तर वास्तविकतामा यसको दायरा फराकिलो रहेको छ। शारीरिक तथा मानसिक रोगहरुको मात्र नभएर सबै किसिमका समस्याहरुको समाधान तथा उपचार गर्नु पनि चिकित्सा नै हो भनेर बुझ्नु आवश्यक छ। मानिसको शरीर, मन, भावना, चेतनाका तथा व्यवहारीक समस्याहरुको समाधान गर्ने विभिन्न प्रकारका उपचार पद्धतिहरुमा प्राचीन सनातन योग तथा ध्यान चिकित्सा पद्धति देखि लिएर हालसम्मको वैज्ञानिक खोजको सबैभन्दा नयाँ आविस्कार तथा उपलव्धि आधुनिक चिकित्सा पद्धतिसम्म धेरै प्रकारका चिकित्सा पद्धतिहरु र तिनका विधिहरु उपलब्ध छन्। मानिसको समस्याको प्रकृति अनुसार फरक-फरक मानिसकालागि फरक-फरक चिकित्सा पद्धति तथा तिनका विधिहरु प्रभावकारी हुन सक्छन्। प्राय सबै चिकित्सा पद्धतिहरुको उदेश्य समस्याको सर्वोत्कृष्ट समाधान तथा उपचार उपलव्ध गराउनु भएपनि तिनका विषेशता तथा उपचार गर्ने पद्धति, विधि तथा तौर-तरिकाहरु फरक-फरक किसिमका छन्। यि विभिन्न प्रकारका चिकित्सा पद्धतिहरु मध्य ध्यान चिकित्सा पद्धतिलाई सबैभन्दा प्राचीन र वर्तमान समयमा विश्वभरिनै आधुनिक चिकित्सा पद्धतिसंग समन्वय गर्दै मानिसकका शारीरिक, मानसिक, भावनात्म, चेतनात्मक तथा व्यवहारीक समस्याहरुको उपचारमा सर्वाधिक उपयोगमा ल्याइएको अत्यन्त प्रभावकारी मनोचिकित्सा पद्धतिको रुपमा मानिन्छ।

योगासन तथा प्राणायामको प्रयोगबाट फिजियो थेरापी र ध्यान साधनाको प्रयोगबाट साइको थेरापी अर्थात चिकित्साका दुवै पद्धति अपनाइने 'ध्यान' साधनामा अधारीत एकप्रकारको मनोचिकित्सा पद्धति हो जसमा साधकले साधनाको माध्यमबाट आफ्ना विचार, मन, भावना र चेतनालाई ब्रह्माण्डीय चेतनाको एक विशेष अवस्थामा पुर्याउने प्रयास गर्दछ। ध्यान साधनाका विभिन्न विधिहरु छन्, व्यक्तिको आवश्यकता हेरी ति विधिका नियम अनुसार उपयुक्त किसिमले अनुसरण गरेर इच्छ्याइएको उदेश्य तथा उपलव्धि हासिल गर्न सकिन्छ। प्रयोगका आधारमा ध्यान साधनालाई दुइ किसिमले उपयोग गर्दै आइएको पाइन्छ (१) ध्यान साधनाको भावातीत प्रयोग र (२) ध्यान साधनाको व्यवहारीक प्रयोग। ध्यान साधनाको भावातीत प्रयोग पराभौतिक अर्थात अध्यात्म विज्ञान अन्तर्गत गर्ने गरिन्छ। भावातीत ध्यान साधनामा साधकले आफ्नो चेतनाको रुपान्तरण गरि ब्रह्मको यात्रा गर्ने क्रममा परालौकिक तथा पराभौतिक अनुभूतिहरु हासिल गर्दछ जसमा साधकले आफूभित्र आन्तरिक रुपान्तरण तथा आत्मिक नवीनीकरण को दिव्य अनुभूति गर्दछ यस्ता अनुभूतिहरु शव्द तथा भावहरुमा व्यक्त गर्न नसकिने भावातीत (भाव-अतीत, भावभन्दा पर) किसिमका हुन्छन् अर्थात जसले यस्ता अनुभूतिहरु हासिल गरेको छ उसैले मात्र जान्दछ ति अनुभूतिहरु अरु समक्ष बोलेर तथा इशारा गरेर जस्ताको तस्तै बुझाउन सकिदैन। प्राचीन कालमा प्राचीन वैज्ञानिक अर्थात पूर्वीय ऋषिमुनिहरुले ध्यान साधनाको भावातीत प्रयोग बढि गर्नुभयो तर वर्तमान समयमा ध्यान साधनाको भावातीत प्रयोग कम र व्यवहारीक प्रयोग बढि गर्दै आइरहेको देखिन्छ खासगरि शारीरिक तथा मानसिक स्वाश्थ्य लाभकालागि। ध्यान साधनाको व्यवहारीक प्रयोगमा मानिसको आवश्यकता हेरी ध्यानका विभिन्न विधिहरु मध्य केहीको उपयोग गरि उनीहरुको विचार, मन, भाव तथा चेतनामा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउने प्रयास गरिन्छ र यस किसिमको पूर्णताउन्मुख परिवर्तनहरुले विस्तारै मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक समस्याहरुको समाधान गर्न सहयोग गर्दछन्। यस आलेखको उदेश्य ध्यान साधनाको व्यवहारीक प्रयोगबाट मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक समस्याहरुको समाधानका विषयहरुलाई प्रकाश पार्नु रहेको छ।

ध्यान साधना कसरी एक विशिष्ठ चिकित्सा पद्धति हो र यसले कसरी काम गर्छ?

ध्यान साधनाको व्यवहारीक प्रयोग (Practical Meditation)

अध्यात्म विज्ञान भन्छ मानिस आँखाले देख्न सक्ने पदार्थहरुको जोडले बनेको भौतिक शरीरको पिण्ड मात्र नभएर उ भित्र हाम्रा नांगा आँखा तथा आधुनिक विज्ञानले आविश्कार गरेका कुनैपनि उपकरणहरुको माध्यमबाट स्थुल तथा चित्र रुपमा देख्न नसकिने सुक्ष्म तत्वहरु मन, भावना, चेतना तथा उर्जाका केन्द्र चक्रहरुको अझ ठूलो फैलावट तथा उपस्थिति छ र हाम्रो स्थुल शरीर यिनै सुक्ष्म तत्वहरुबाट नै निरन्तर परिचलित भइरहेको हुन्छ। प्रमात्रा भौतिक विज्ञान भन्छ ब्रह्माण्डका हरेक वस्तुहरु उर्जाको तरंगबाट निर्मित छन्, हरवखत चलायमान छन् र यहि नियम अनुसार मानिसका शरीरका भौतिक तथा सुक्ष्म चारवटै आयामहरु पनि उर्जाका तरंगहरुबाट निर्मित, चलायमान र परिवर्तनशील छन्। हर समय मानिसको मस्तिष्कका स्नायसहरुमा चलिरहने विचारका तरंगहरु सवभन्दा महत्वपूर्ण र प्रभावकारी उर्जाका तरंगहरु हुन् जसलाई चेतनाको रुपमा बुझिन्छ, यही चेतनाको उर्जाबाट हाम्रो ब्रह्माण्डको निर्माण भएको हो। हाम्रा विचारका उर्जाका तरंगहरुले ब्रह्माण्डमा भएका अन्य उर्जाका तरंगहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछन् र ब्रह्माण्डमा रहेका उर्जाका तरंगहरुले हाम्रो विचार, मन, भाव तथा चेतनामा चलिरहेका उर्जाका तरंगहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछन्। ब्रह्माण्डको आकर्षणको नियमको प्रभावका कारण हाम्रो मस्तिष्कबाट जस्तो प्रकारका विचारका चुम्बकिय विद्युत तरंगहरु ब्रह्माण्डमा पठाउँछौं समले समलाई आकर्षित गर्ने नियम अनुसार ब्रह्माण्डबाट त्यस्तै किसिमका विचारका उर्जाका तरंगहरु आफूतिर आकर्षित गर्दछौं र यिनै आकर्षित उर्जाका तरंगहरुले हाम्रा क्रिया, गतिविधि, व्यवहारहरु तथा समग्र जीवनमा सकारात्मक तथा नकारात्मक परिणामहरु ल्याउँदछन्। त्यसैले भन्ने गरिन्छ ‘यथा पिण्डे तथा ब्रह्माण्डे’ अर्थात हामी जस्तो विचार गर्दछौं त्यस्तै बन्दछौं र त्यसै अनुसार हाम्रा भाषाको प्रयोग, व्यवहार तथा क्रियाहरु गर्दछौं। ब्रह्माण्डको यो नियम अनुसार हामी सुखी, खुशी, सफल, समृद्ध, शान्त र आनन्दित बन्न हामीले गर्ने विचारहरुलाई हर प्रकारले सकारात्मक बनाउनु अति आवश्यक छ र हाम्रो विचार शुद्ध, सकारात्मक तथा सहयोगी बनाउन ध्यान साधना सबैभन्दा महत्वपूर्ण र उपयोगी विधि हो किनकी ध्यान साधना सम्पूर्ण रुपमा ब्रह्माण्डमा तैरिरहेका उर्जाका तरंगहरुसंग जोडिने र ब्रह्माण्डका सकारात्मक तरंगहरु आफूतिर कर्षित गर्ने हालसम्मकै सवोत्कृष्ट साधना पद्धति हो।

ध्यान साधनाका लाभहरु अनन्त छन्, ध्यानका विधिहरुको उपयुक्त अनुसरणबाट मानिसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको समाधान गर्न सकिन्छ। मानिस जव आफ्ना ज्ञान इन्द्रियहरुलाई वाहिरको संसारबाट अलग गरि आफूतिर फर्काएर मेरुदण्ड(कम्मर, ढाड, गर्धन) सिधा गरेर ध्यानस्त हुन्छ तव उ भित्र आन्तरीक रुपमा सकारात्मक परिवर्तनहरु हुन शुरु हुन्छन्। आन्तरीक रुपमा उ भित्र भएका सकारात्म परिवर्तनहरुले सुक्ष्म तरिकाले विस्तारै उसका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको समाधान तथा उपचार गर्न शुरु गर्दछन्। ध्यान साधना मानिसका सबै किसिमका समस्याहरुको समाधान गर्ने अचुक उपचार पद्धति हो भन्ने विषयमा स्वास्थ्य तथा व्यवस्थापनको विषय हेर्ने तथा अध्ययन गर्ने विभिन्न विशिष्ठ व्यक्तित्वहरु तथा संघसंस्थाहरुले गरेका थुप्रै वैज्ञानिक अध्ययन तथा अनुसन्धानका तथ्यांकहरुले प्रमाणित गरिसकेका छन्।

मानिस ध्यानस्त रहदा ज्ञान इन्द्रियहरुले वाहिरबाट प्राप्त गर्ने सूचनाहरुको प्रवाह बन्द हुन्छ र हाम्रा चेतन मस्तिष्कका स्नायुहरु सूचनाको अभावमा चल्न बन्द हुन्छन् र विचारहरुको प्रवाह पनि विस्तारै कम हुदै जान्छ र मन शान्त हुन्छ। र ध्यानस्त रहदा अवचेतन मनबाट पनि विचारहरु उठ्ने हुनाले तिनलाई निस्तेज गर्न ध्यान साधनाको समयमा विशेष गरिकन चेतनालाई श्वास-प्रश्वासमा केन्द्रित गर्ने, आफ्नो शरीरका सम्पुर्ण अंगहरुको सुक्ष्म निरीक्षण तथा याद गर्ने, कुनै सकारात्मक कल्पनाको धारणामा चेतनालाई केन्द्रित गर्ने, आफ्नोलागि सकारात्मक भावहरु मनमा दोहोर्याइरहने, कुनै विशेष भगवानको मन्त्रो उच्चाहरण गर्ने तथा जप्ने आदि विधिहरु अपनाइन्छ जसले साधकको चेतन तथा अवचेतन मनमा उठ्ने अतिविचारहरु खासगरि नकारात्मक विचारहरुलाई निर्मुलिकरण र विस्तारै निर्मलिकरण गर्दछ। यो अवस्थामा साधकमा भौतिक र अभौतिक अर्थात शारीरिक र मानसिक दुइ किसिमका सकारात्मक परिवर्तनहरु देखापर्न थाल्छन्। जव साधकको मन शान्त र सकारात्कम बन्छ यस्तो अवस्थामा हाम्रो शरीरका उर्जा केन्द्रहरु अर्थात हाम्रा सात चक्रहरुसंग सम्वन्धित रहेका ग्रन्थीहरुले शारीरिक र मानसिक स्वस्थकालागि सन्तुलित मात्रामा आवश्यक पर्ने तर धेरै उत्पादन भयो भने हानीकारक हुने रश तथा हर्मोनहरु जस्तै कोर्टिसोल(Cortisol), एल्डोस्टीरोन(Aldosterone), एण्ड्रोजेन(Androgens), एड्रेनालाईन(Andrenaline) सन्तुलित मात्रामा उत्पादन गर्दछन् र शारीरिक र मानसिक स्वस्थकालागि अतिआवश्यक पर्ने रश तथा हर्मोनहरु जस्तै खुशी तथा आनन्द प्रदान गर्ने डोपामिन(Dopamine- Reward Chemical), ओक्सीटोसिन(Oxytocin- Love Hormone), सेरोटोनिन (Serotonin- Mood Stabilister), एन्डोर्फिन(Endorphin- Painkiller Hormone) उत्पादन गर्दछन् जसले रोग लागेका अंगहरुको रोग निको पार्न मद्धत गर्दछन् र रोग नलागेका अंहरुहरुलाई रोगसंग लड्ने क्षमता प्रदान गरेर अझ मजबुत तथा निरोगी बन्न मद्धत गर्दछन्। शरीरका भौतिक अंगहरुका साथै यि रशहरुले मन, भावना, चेतनामा लागेका मानसिक रोगहरुको उपचार गर्न तथा रोग लाग्न नदिन महत्वपूर्ण भूमिका खेल्दछन्। विभिन्न संस्थाहरुले गरेका वैज्ञानिक खोज तथा अनुसन्धानका तथ्यांकहरुले शारीरिक तथा मानसिक स्वाश्थ्यमा ध्यान साधनाका असिमित सकारात्मक लाभहरु रहने गरेको वृहद तथ्य उजागर गरेका छन्, ध्यान साधनाबाट हुने प्रमुख लाभहरु मध्य केही निम्न रहेका छन्- 

 

ध्यान साधनाका शारीरिक स्वाश्थ्य लाभहरु (Physical Health Benefits of Meditation)

दैनिक नियमित रुपमा गरिने योगआसन, प्राणायाम तथा ध्यान साधनाले आस्तमा, माइग्रेन, क्रोनिक पेन, मुटुको रोग, उच्च तथा न्युन रक्तचाप, अपच, हाड-जोर्नी-मांसपेसी, क्यानसर, अनिद्रा जस्ता शररीरिक रोग तथा समस्याहरुमा सन्तुलन प्रदान गर्दछ; पाचनक्रिया मजबुत बनाउँछ; मुटुको धड्कन सन्तुलित राख्दछ; शरीरमा कुनै रोगकाकारण तथा बिनाकारण हुने दुखाइहरु, तथा दुखाइका भ्रमहरु हटाउँदछ; शरीर तथा मनमा लागेका रोगहरु निको पार्दछ र रोगसंग लड्ने क्षमता बढाउँछ; शरीर तथा मनमा उर्जाको प्रवाह बढाउँछ र जीवनशैली श्वस्थ बनाउँछ; नराम्रा बानी तथा एडिक्सनबाट मुक्त गराउँछ; बुढ्यौली सुस्त गर्दछ आदि।

 

ध्यान साधनाका मानसिक स्वाश्थ्य लाभहरु (Psychological Health Benefits of Meditation)

दैनिक नियमित रुपमा गरिने योगआसन, प्राणायाम तथा ध्यान साधनाले तनाव, डर तथा डिप्रेसनबाट मुक्त गर्दछ; सोच तथा व्यवहार सकारात्मक बनाउँछ; सुखी, खुशी, शान्त तथा आनन्दित रहन मद्धत गर्दछ र सुदृढ जीवनशैली बनाउँछ; आत्मचेतना तथा सुझबुझ क्षमता अभिवृद्धि गरि कुनै घटना तथा विषयप्रति हेर्ने दृष्टिकोणमा स्पष्टता प्रदान गर्दछ; आत्मसम्मान, आत्विश्वास, उत्साह तथा प्रोत्साहन बढाउँछ; स्मरणशक्ति, ध्यानाकर्षणको क्षमता अभिवृद्धि गरी कामको प्रतिफल वृद्धि गर्दछ; जीवन तथा ब्रह्माण्डप्रति आशावादी र आस्तिक बनाउँछ; सेवा, प्रेम, दया, करुणा भाव बढाइ सम्वन्ध सुधार तथा वृद्धिमा मद्धत गर्दछ र सबैकालागि म भन्ने भावकासाथ स्वयंसेवा तथा परोपकारका काममा लाग्न प्रोत्साहन गर्दछ आदि।

 

ध्यान साधनाको भावातीत प्रयोग (Transcendental Meditation)

इस्वी १६ औं शताव्दीदेखिनै मनोविज्ञानले दर्शनशास्त्रसंग नजिक रहेर मानिसको मनोविज्ञानको अध्ययन कार्य अघि बढाउँदै आएको छ र आधुनिक मनोविज्ञानका सिद्धान्तहरुले पनि दर्शनशास्त्रका कुराहरुलाई आत्मसाथ गर्दै आइरहेका छन्। आधुनिक मनोविज्ञानका सिद्धान्तहरुले गतिको आधारमा मानिसको चेतनालाई पाँच तहमा विभाजित गरेका छन्- (क)गामा, (ख)विटा, (ग)अल्फा, (घ)थिटा, र (ङ)डेल्टा जसलाई अध्यात्मले सात तह तथा अवस्थामा विभाजित गरेको छ- (क)चेतन, (ख)स्वप्न, (ग) सुषुप्ति (घ)तुरीय, (ङ)तुरीयातीत, (च)भगवत् चेतना र (छ)ब्राह्मी चेतना। यि पाँचवटै तथा सातवटै तहहरुका विचारका उर्जाका चुम्बकिय विद्युत तरंगहरु ब्रह्माण्डमा पठाउने र ब्रह्माण्डबाट आफूले उर्जाका चुम्बकिय विद्युत तरंगहरु प्राप्त गर्ने गति तथा गुणस्तर फरक-फरक रहेका हुन्छन्। साधक जति-जति ध्यानमा गहिरिदै जान्छ उति-उति उ क्रमश: गामा तह तथा चेतना अवस्थाबाट डेल्टा तह तथा ब्राह्मी चेतना अवस्थामा प्रवेश गर्दै जान्छ अर्थात तर्क गर्ने, सोचमग्न हुने तथा अतिविचार चल्ने अवस्थाबाट शुन्यतातिर प्रवेश गर्दछ र उसको विचार, मन, भावना, चेतनामा सकारात्मक परिवर्तन तथा प्रगति आउँदै जान्छ। साधकको सोच, क्रिया, गतिविधि तथा व्यवहारमा सकारात्मक परिवर्तन आएकैकारण विस्तारै उसको व्यक्तित्व आध्यात्मिक बन्दै जान्छ। यही क्रममा यदि अति गंभिर अवस्थामा छैनन् भने साधकका सम्पूर्ण शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक रोगहरु तथा व्यवहारीक समस्याहरु समाधान तथा पूर्ण रुपमा निर्मुल हुदै जान्छन् र साधक पूर्ण रुपमा स्वश्थ बन्दछ। यस्तो क्रमिक वदलावको अवस्थामा साधकभित्र भौतिक परिवर्तनहरुका साथसाथ पराभौतिक रुपमा विशिष्ठ अलौकिक तथा दिव्य परिवर्तनहरु घटित हुदै जान्छन् र विस्तारै भावातीत अनुभूतिहरुमा प्रवेश गरी चेतनाको उच्च तह हासिल गर्दछ र प्रकाशित हुन्छ। अध्यात्मको भाषामा आत्मज्ञान तथा वुद्धत्व प्राप्त गर्दछ अर्थात ब्रह्मतत्वमा समाहित भई जन्म-मृत्युको चक्रबाट सदाकालागि मोक्ष प्राप्त गर्दछ। 

--------------------------------------------

*जीवन विज्ञान प्रशिक्षक


शिवोहम् योगपीठका प्रकाशनहरु

शिवोहम् योगपीठका प्रकाशनहरु https://drive.google.com/file/d/1317SzIJV2bXkTra7Z8xjoSoZq17ow53d/view https://drive.google.com/file/d/19_aidwzt...